कांग्रेसमा नवोदित नेतात्रयको परीक्षा- विचार - कान्तिपुर समाचार

कांग्रेसमा नवोदित नेतात्रयको परीक्षा

राजाराम गौतम

नेपाली कांग्रेसको प्रधानमन्त्री म्याराथनमा एउटा लोभलाग्दो र विरल दृश्य देखिएको छ । एक महामन्त्री विश्वप्रकाश शर्माको अर्का महामन्त्री गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान ! नेपाली समाजले दलहरूका समकक्षी नेताहरूको इगो, ईर्ष्या अनि अस्वस्थ गुटबन्दी देखेको छ ।

त्यसकारण पनि नेतृत्वपंक्तिमा यो स्तरको सहकार्य र मिलाप दुर्लभ लाग्छन् । यस्तो सुन्दर परम्परा थालेर विश्वप्रकाशले नवीन राजनीतिक संस्कारको बीजारोपण गरेका छन् । यो एउटा उदाहणीय कर्म हो । जुन दिन गगनले कान्तिपुर टेलिभिजनको एउटा कार्यक्रममा प्रधानमन्त्रीमा आफूले ‘क्लेम’ गर्ने बताए, त्यसको केही दिनमै विश्वप्रकाशले भने, ‘प्रधानमन्त्रीमा गगनको दाबीले राजनीतिमा प्रकाश दिएको छ ।’ (कान्तिपुर दैनिक, २०७९ साउन ५)

शालीन मिजासका विश्वप्रकाशले जे बोले, त्यो तत्कालको राजनीतिक खपतका लागि बोलिएको ‘सामान्य’ अभिव्यक्ति थिएन, विशिष्ट राजनीतिक महत्त्व बोकेको ‘स्टेटमेन्ट’ थियो । त्यो स्टेटमेन्टले कांग्रेसको अधबैंसे पुस्तामा हुर्किरहेको नवीन राजनीतिक संस्कार प्रतिविम्बित गर्छ । चरम गुटबन्दी र अस्वस्थ प्रतिस्पर्धा, घात–प्रतिघातको इतिहास बोकेको पुरानो लोकतान्त्रिक पार्टी कांग्रेसभित्र यस्तो संस्कार पल्लवित हुनु सकारात्मक पक्ष हो । विश्वप्रकाशसँग पनि प्रधानमन्त्री अथवा पार्टी सभापति हुने महत्त्वाकांक्षा होला तर उनले गगनलाई प्रोत्साहित गरेर प्रशंसनीय संस्कार देखाएका छन् ।

नेपाली राजनीतिले ‘डेलिभरी’ दिन नसक्नुका थुप्रै पक्ष छन् । तीमध्ये एउटा हो- समकक्षी नेताहरूबीचको अस्वस्थ होडबाजी र व्यक्तित्वको ‘टसल’ । कांग्रेसमा विश्वप्रकाश र गगन महामन्त्री भएपछि धेरैले अडकल काटेका थिए- यी दुवै सभापति र प्रधानमन्त्रीको दौडमा आ–आफ्नै गुट बनाएर अघि बढ्नेछन् । तर, दुवैले एकै ठाउँमा उभिएर त्यस्तो अडकलबाजीलाई गलत साबित गरिदिएका छन् ।

चौधौं महाधिवेशनअघि मिडिया विश्लेषणहरूमा एउटा भाष्य निर्माण भयो, ‘कांग्रेसको नेतृत्व गगन र विश्वप्रकाशको काँधमा आउनुपर्छ ।’ कांग्रेसमा हावी वृद्धतन्त्रबाट निराश कार्यकर्ता पंक्ति त्यो भाष्यप्रति आकर्षित भयो र अन्ततः महाधिवेशनले नवोदित नेतृत्वलाई अनुमोदन गर्‍यो । मूल नेतृत्वमा शेरबहादुर देउवा दोहोरिए पनि लोकप्रिय मतसहित गगन र विश्वप्रकाश महामन्त्रीका रूपमा उदाए ।

कांग्रेसमा आशा जगाउने पात्रका रूपमा उदाएका महामन्त्रीद्वय पार्टी शिविरबाहिर पनि अधिक रुचाइएका नेतामा पर्छन् । त्यसको पुष्टि कांग्रेसको चौधौं महाधिवेशन र हालैको आम निर्वाचन–२०७९ ले गरिसक्यो । निर्वाचनले दुवै महामन्त्रीलाई बलियो मतसहित अनुमोदन गरेको छ । गगन लगातार तेस्रो पटक मतदाताबाट अनुमोदित भएका छन् भने विश्वप्रकाश पहिलो पटक भारी मतान्तरले संसद् छिरेका छन् ।

निर्वाचनले चौधौं महाधिवेशनमा महामन्त्रीका अर्का प्रत्याशी प्रदीप पौडेललाई पनि गगन र विश्वप्रकाशजस्तै आशा गरिएका पात्रको पंक्तिमा खडा गरेको छ । महामन्त्रीको दौडमा पछि परे पनि आम निर्वाचनमा मतदाताबाट अनुमोदित भएपछि कांग्रेसको नेतृत्व पंक्तिमा उनको ‘कमब्याक’ भएको छ ।

समग्रमा निर्वाचन परिणाम कांग्रेसका लागि सुखद रहेन । पाँचदलीय गठबन्धन बनाएर निर्वाचन लडेको कांग्रेस संसद्को सबैभन्दा ठूलो दल त भयो तर अपेक्षा गरिएजस्तो जित हात पार्न सकेन । उसले समानुपातिकतर्फ यसअघि पाएको लोकप्रिय मत मात्रै गुमाएन, प्रत्यक्षतर्फ पनि सोचेजति जितेन । यसका बावजुद कांग्रेसमा केही आशालाग्दा पात्रहरू निर्वाचित भए । तिनमा पनि गगन, विश्वप्रकाश र प्रदीपको जितले कांग्रेस युवा पंक्ति उत्साहित छ ।

त्यो उत्साहको एउटै कारण हो- नेतृत्वमा पुस्तान्तरणको अपेक्षा । जसरी पार्टीको नेतृत्व यो पुस्ताको काँधमा आयो, सरकारको नेतृत्व पनि यही पुस्ताले गरोस् भन्ने कांग्रेसको युवा पंक्ति चाहन्छ । सम्भवतः त्यो चाहना बुझेरै गगनले कांग्रेसमा पुस्तैनी टकरावको जोखिम उठाएका छन् । उनले प्रधानमन्त्री एवं पार्टी सभापति देउवालाई चुनौती दिँदै संसदीय दलको नेताको उम्मेदवारी घोषणा गरेका छन् ।

अंकगणितको अनुकूलता–प्रतिकूलता नहेरी गगनले संसदीय दलको नेतृत्वमा पुगेर सरकार हाँक्ने जुन अठोट लिए, काठमाडौं क्षेत्र नम्बर ४ का मतदाताले उनलाई तेस्रो पटक मत हाल्ने कारण पाए । पटक–पटक एउटै व्यक्तिलाई किन जिताउने भनेर गम खाइरहेका मतदातालाई गगनले भने, ‘म सांसद हुन मात्रै होइन, यस पटक संसदीय दलको नेता हुन चुनिन चाहन्छु ।’ मतदाताले यसलाई ‘पोलिटिकल स्टन्ट’ भन्ठानेनन् र गगनलाई फेरि एक पटक विश्वासको मत दिए । उनी अहिले त्यही विश्वासमा खरो उत्रने अभ्यासमा जुटेका छन् ।

निर्वाचन परिणामले मिलीजुली सरकार बनाउने म्यान्डेट दिएको छ । कुन–कुन दल मिलेर सरकार बन्छ भन्ने प्रस्ट तस्बिर बनिनसक्दै कांग्रेसमा सुरु भएको प्रधानमन्त्री म्याराथनका दुई पाटा छन् । यो म्याराथनमा शारीरिक अनि राजनीतिक हिसाबले थकित वृद्ध पुस्ताको बाहुल्य हुनु यसको अँध्यारो पक्ष हो भने, कांग्रेसको वृद्धतन्त्रलाई चुनौती दिँदै प्रतिस्पर्धामा एक ऊर्जावान् अधबैंसे सामेल हुनु उज्यालो पाटो हो ।

गगनसँग संसदीय दलमा अंकगणितको अनुकूलता छैन, जति देउवासँग छ । अथवा, देउवाले चाहेको अर्को कुनै उम्मेदवारसँग हुन सक्ला । तर गगनसँग प्रधानमन्त्री दाबी गर्ने प्रशस्त राजनीतिक जमिन छ । पहिलो आधार हो- उनमा देखिएको ऊर्जा र आत्मविश्वास । संसदीय दलमा अंकगणितको सुविधा भएका देउवाले निर्धक्क ‘यसकारण फेरि प्रधानमन्त्री हुन्छु’ भन्न सकिरहेका छैनन् । जनमानसमा उनी प्रधानमन्त्री दोहोरिने कुराले रत्तीभर उत्साह छैन । न उनमा आफ्नो उम्मेदवारीप्रति आम आशा जगाउने खुबी छ न त उनी छैटौं पटक प्रधानमन्त्री बन्नुको औचित्य पुष्टि गर्न सक्छन् । तर, गगन पूर्ण आत्मविश्वाससहित सरकारको ड्राइभिङ सिटमा बस्ने दृढता व्यक्त गरिरहेका छन् । सरकारमा गएर के गर्ने भनेर विज्ञहरूसँगको सहकार्यमा कार्ययोजना (प्रोजेक्ट गभर्नमेन्ट) नै तयार गरिसकेको उनले बताउँदै आएका छन् ।

दोस्रो, उनले केही शासकीय अनुभव पनि बटुलिसकेका छन् । डेढ दशकदेखि संसद्मा क्रियाशील उनले छोटै भए पनि आशालाग्दा स्वास्थ्यमन्त्रीको जिम्मेवारी निर्वाह गरेका छन् । तेस्रो, राजनीतिक परिवर्तनपछिको नेतृत्वका उनी एक हकदार पनि हुन् । त्यो किनभने, कांग्रेसलाई अहिलेको राजनीतिक परिवर्तनसँग एकाकार गराउने एउटा श्रेय उनलाई पनि जान्छ । कांग्रेसभित्र गणतन्त्र, संघीयताजस्ता अग्रगामी राजनीतिक मुद्दाका हिमायती हुन् उनी । सबैजसो राजनीतिक आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेसले जन्मसँगै राजासहितको जनउत्तरदायी शासन व्यवस्थाको पक्षपोषण गर्थ्यो, गर्दै आयो । तर, राजा स्वेच्छाचारी हुँदै जाँदा कांग्रेसलाई संविधानसभा र गणतन्त्रका पक्षमा उभ्याउन नरहरि आचार्य, गगन थापाहरूले महत्त्वपूर्ण भूमिका खेले । त्यस अर्थमा उनी संघीय गणतन्त्रको नेतृत्वका एक हकदार हुन् ।

चार, गगनप्रति व्यापक जनआकर्षण छ । विद्यार्थी राजनीतिदेखि नै आफूलाई प्रखर सम्भावना भएका नेताका रूपमा उभ्याउँदै आएका उनी आशा र भरोसाका पात्र हुन् । जनता उनलाई सुन्न र कार्यकारी शासकीय भूमिकामा परीक्षण भएको हेर्न चाहन्छन् । संसदीय दलको नेतामा प्रतिस्पर्धाको घोषणासँगै सामाजिक सञ्जालमा ओइरिरहेका सद्भाव र समर्थनले उनको आकर्षण पुष्टि गर्छन् । पाँच, उनमा अद्भुत नेतृत्व क्षमता छ । जनतासँग सरल ढंगले साक्षात्कार गर्न सक्ने गुण छ ।

राजनीतिशास्त्रका पण्डितहरू भन्छन्- मूलतः नेता तीन किसिमले स्थापित हुन्छ । एक, जो निरन्तर राजनीतिक रूपमा क्रियाशील हुन्छ । दुई, मिथबाट जन्मिन्छ । तेस्रो, चामत्कारिक गुणसहित सृजनशील हुन्छ । गगन मिथबाट बनेका नेता होइनन् । उनीसँग तीन दशक लामो निरन्तर राजनीतिक क्रियाशीलतासँगै सृजनशीलता पनि छ ।

संसदीय दलको नेतामा गगनको ‘एटम्ट’ ले कांग्रेसमा मात्रै होइन, अरू राजनीतिक दलमा पनि पुस्तान्तरणको ढोका खोल्छ । जित्दा त उनी प्रधानमन्त्री उम्मेदवार नै हुनेछन्, संसद्मा बहुमत जुटाउन सके प्रधानमन्त्री पनि होलान्; अंकगणितले साथ नदिएर पराजित नै भएछन् भने पनि उनी नेता बन्नेछन् । तेह्रौं महाधिवेशनमा पहिलोपल्ट महामन्त्रीको उम्मेदवार हुँदा धेरैले उनलाई खिसिट्युरी गरेका थिए । कालान्तरमा चौधौं महाधिवेशनले उनी मात्रै होइन, विश्वप्रकाशसहितको नवोदित नेतृत्वलाई नै स्थापित गर्‍यो ।

यो बेला गगन–विश्वप्रकाशहरूको नेतृत्व लोकप्रियताको उचाइमा छ । यो नेतृत्वले आकर्षण र लोकप्रियताको चमकधमकमा रम्दै गर्दा आत्मसमीक्षा गर्नचाहिँ भुल्नु हुन्न । किनभने, गगन र विश्वप्रकाशले पार्टी नेतृत्वमा पुगेर के गर्न सके वा सकेनन्, समाजले त्यसको पनि लेखाजोखा राख्छ । महामन्त्रीद्वयको नेतृत्वमा निर्वाचन घोषणापत्र बन्यो । गगनले स्थानीय तह निर्वाचनको घोषणापत्र बनाउने जिम्मेवारी लिए र विश्वप्रकाशले आम निर्वाचनकै घोषणापत्र निर्माणको नेतृत्व गरे । यद्यपि घोषणापत्रमाथि जुन स्तरको विमर्श हुनुपर्थ्यो, भएन । र, ती कर्मकाण्डमा सीमित भए । राजनीतिलाई मुद्दाप्रधान बनाउन नसक्नु नवोदित नेतृत्वको कमजोरी रह्यो ।

महामन्त्रीद्वयले पार्टीको मूल नेतृत्वको कार्यशैलीमा प्रश्न उठाएका छन् तर निर्णय प्रक्रियामा चाहिँदो हस्तक्षेप गर्न सकेनन्, चुके । जस्तो कि, कांग्रेसको तल्लो तहसम्म निर्वाचन गठबन्धन गरेर होइन, एक्लै लड्नुपर्छ भन्ने मत बलियो थियो । त्यो बलियो मत महामन्त्रीद्वयले बलियो गरी बोक्न सकेनन् ।

अर्को कमजोरी, कांग्रेसको नीतिगत पुनर्जागरणमा महामन्त्रीद्वयले अपेक्षित भूमिका खेल्न सकेका छैनन् । चौधौं महाधिवेशनको तीन महिनामै नीति महाधिवेशन गर्ने भनियो तर महामन्त्री थापाले पेस गरेको दस्तावेज अझै बेवारिसे छ । सबैलाई ज्ञात छ, कांग्रेसको मूल समस्या नेता र नीतिमै छ । लामो समययता प्रतिक्रियाको राजनीतिमा रुमलिएको कांग्रेसमा नेतृत्वको पुस्तान्तरणसँगै राजनीतिक पुनर्जागरणको खाँचो छ । महामन्त्रीद्वयले आफ्नो प्रबल भूमिका यहाँनेर देखाउन सक्थे, सक्छन् । पार्टीलाई सही ढंगले पुनर्जागरण गर्न तलैदेखि राजनीतिक, सैद्धान्तिक विमर्श गर्ने कि भीडले घेरिनुमै रमाइरहने ? ढिलोचाँडो नेताद्वयलाई यी प्रश्नले लखेट्नेछन् ।

नेपालका राजनीतिक नेतृत्वहरूको नकारात्मक पक्ष के हो भने, यी लोकरिझ्याइँमा रमाउँछन्, रचनात्मक आलोचना सुन्दैनन् र प्रचारमुखी चरित्रका हुन्छन् । अवसरवाद र चरम उपयोगितावादले तिनलाई राजनीतिक रूपमा भुत्ते बनाइदिन्छ । प्रचण्ड यसको ज्वलन्त उदाहरण हुन् । कुनै बखत मिथबाट नेता बनेका प्रचण्डप्रति नेपाली समाजमा कम्ती आकर्षण थिएन । रक्तरञ्जित इतिहासको राजनीतिबाट उदाएका प्रचण्डको नेतृत्वमा समाज तरंगित नै भयो । अनेक सामाजिक–राजनीतिक मुद्दा अगाडि आए । राजनीतिको कोर्स पनि फेरियो तर आज प्रचण्ड कहाँ छन् ? उनको छवि सत्ताको दाउपेच र अवसरवादको प्रतीकजस्तो बनेको छ । आशा गरिएका गगन, विश्वप्रकाश र प्रदीपहरूको पुस्ताको सजगता यहाँनेर आवश्यक छ ।

कांग्रेसको निर्णायक तहमा अहिले पनि पाकाहरूकै वर्चस्व छ । अहिले उदाएको पुस्ताले त्यो निर्णायक वर्चस्व आफूमा कसरी रूपान्तरित गर्छ ? अहिलेको मुख्य प्रश्न यही हो । कांग्रेसको निर्णय प्रक्रियामा नेतात्रयको निर्णायक भूमिका हुने गरेको इतिहास छ । बीपीको अवसानपछि कांग्रेसमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला नेतात्रयको स्थानमा विराजमान थिए । एउटा समयसम्म नेतात्रय निर्णायक तहमा हुन्थे । पार्टीको अन्तर्कलह र गुटबन्दीका कारण पछि सिंह र भट्टराईले कांग्रेस नै छोडे ।

गिरिजाप्रसाद कोइरालाको निधनपछि पनि शेरबहादुर देउवा, सुशील कोइराला र रामचन्द्र पौडेल नेतात्रयको स्थानमा थिए । सुशील कोइरालाको निधनपछि कांग्रेसमा नेतात्रयको अवधारणा ओझेलमा परेको छ । के गगन, विश्वप्रकाश र प्रदीपले आफूलाई कांग्रेसमा नवोदित नेतात्रयको स्थानमा पुर्‍याउन सक्लान् ?

धेरै कांग्रेसीजनको नजर नेतृत्वमा उदाएका यी पात्रहरूतिर परेको छ । कांग्रेसमा सुरु भएको नेतृत्व पुस्तान्तरणको मुद्दालाई यो नेतृत्वले कसरी बोक्छ ? कति निर्णायक हुन्छ ? यी नेताबीचको ‘ट्युनिङ’ उपयोगितावाद र अवसरवादमै गएर टुंगिन्छ कि त्यसले सार्थक परिणाम दिन्छ ? विश्वप्रकाशको इमान र गगनको आत्मविश्वासको सारथि प्रदीप बन्न सके मात्रै कांग्रेस नेतृत्वमा हावी वृद्धतन्त्र किनारा लाग्नेछ । नवोदित नेतात्रयको असली फरीक्षा अब सुरु हुन्छ ।

प्रकाशित : मंसिर १६, २०७९ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्

‘कम खराब’ चुन्ने बाध्यता

राजाराम गौतम

मेरी ब्राजिलियन साथीले हालैको राष्ट्रपति चुनाव प्रकरणमा मतदाताको बाध्यताका बारेमा लेखेकी छन् । उनी लेख्छिन्, “ब्राजिलमा यस पटकको राष्ट्रपति चुनावमा ‘क’ र ‘ख’ उम्मेदवार थिए । मैले ‘क’ लाई मतदान गरें । वास्तवमा दुवै असल वा राम्रा उम्मेदवार होइनन् । ‘क’ भ्रष्ट छ भने ‘ख’ भ्रष्ट त छ नै, डिक्टेटर टाइपको सन्की पनि छ । त्यसैले भ्रष्ट, सन्की र डिक्टेटर टाइपकोलाई भन्दा मलाई भ्रष्टलाई मत दिनु राम्रो लाग्यो । किनकि त्योभन्दा राम्रो र अर्को इमानदार विकल्प थिएन । हुन्थ्यो भने म त्यसैलाई मत दिन्थें । प्रजातन्त्रमा मतदाताको बाध्यता हेर न, खराबहरूमध्येबाटै छान्नुपर्ने ! मैले विवेक पुर्‍याएँ नि, कम खराबलाई छानेर ? कि मैले मतदानमै अनुपस्थित हुनु बेस हुन्थ्यो ? तिमीलाई के लाग्छ ?”

अवकाश जीवन बिताइरहेका नेपाल प्रहरीका पूर्वडीआईजी देवेन्द्र सुवेदीले केही दिनअघि फेसबुक वालमा माथिको घतलाग्दो पोस्ट गरे । घतलाग्दो यसकारण कि, सुवेदीकी ब्राजिलकी साथीको मनोदशा चुनावको मुखमा रहेका नेपाली मतदाताको जस्तै रहेछ ।

नेपाल र ब्राजिलको राजनीतिक परिवेश, पृष्ठभूमि, सन्दर्भहरू मिल्दैनन् । तर, प्रवृत्तिगत हिसाबले करिब–करिब ब्राजिलका मतदाताकै नियति हामी पनि बेहोर्दै छौं । भ्रष्ट नेतृत्व छान्ने कि भ्रष्टसँगै ‘दम्भी र डिक्टेटर’ टाइपको ? धर्मसंकटमा रहेका नेपाली मतदातालाई पनि यो प्रश्नले लखेटिरहेको छ ।

खासमा, यति बेला सामान्य मतदाता (कमन भोटर) मत हाल्ने कि नहाल्ने, हाल्नैपर्दा कसलाई हाल्ने भन्ने द्विविधामा छन् । तिनलाई निर्वाचनको उल्लासले छोएकै छैन ।

प्रश्न उठ्न सक्छ, मतदाता पनि सामान्य अथवा असामान्य हुन्छन् र ? चुनावी परिदृश्यमा देखिएका थरीथरी मतदातालाई वर्गीकरण गर्दा कमन भोटरको पहिचान हुन्छ । यसबारे संक्षिप्त चर्चा गरौं ।

अहिले मूलतः तीन किसिमका मतदाता देखिन्छन् ।

विभिन्न दलमा आबद्ध नेता–कार्यकर्ता मतदाता : मतदाताको यो पंक्तिलाई हेरेर चुनावी चहलपहल छैन भनियो भने त्यो गलत विश्लेषण हुन जान्छ । यो पंक्तिलाई औधी चुनाव लागेको छ । चुनावी चहलपहलमा सरिक यो पंक्ति आफूसम्बद्ध दललाई मत हाल्नेमा प्रस्ट छ, जुन स्वाभाविक पनि हो ।

उम्मेदवारनिकट मतदाता : यो पंक्तिमा उम्मेदवारका आफन्त, इष्टमित्र, साथीसर्कल आदि पर्छन्, जो

आफ्नालाई मत हाल्न तम्तयार छन् । यो पंक्तिलाई पनि निर्वाचनले छोएको छ ।

सामान्य मतदाता : उम्मेदवारसँग प्रत्यक्ष सम्बन्ध/सम्पर्क नभएका मतदाताहरूको ठूलो हिस्सा सायद यही पंक्तिमा पर्छ, जो ब्राजिलका मतदाताकै जस्तो मनोविज्ञानमा छन् । यो पंक्तिलाई न चुनावले छोएको छ न त दलहरूले ढिलो गरी सार्वजनिक गरेका कर्मकाण्डी वाचाहरूले नै आकर्षित गरेका छन् ।

उम्मेदवार मतदाताका घरआँगन पुगेका छन् । अनेक रंगीन सपना देखाएका छन् । चाहे दलीय उम्मेदवार होऊन् वा स्वतन्त्र, सबैको एउटै दाबी छ, ‘म अरूभन्दा योग्य, म परिवर्तनको वाहक, त्यसैले भोट मलाई ।’ असफल प्रमाणित भइसकेका पात्रसमेत अनेक संकल्प र वाचापत्र लिएर सामान्य मतदातालाई आकर्षित गर्न लागिपरेकै छन् ।

नवोदित उम्मेदवारहरूले त शंकाको सुविधा पाउने नै भए, उनीहरू झन् चर्को स्वरमा पुरानाको आलोचना गर्दै निराशा र असन्तुष्टिको जगमा आफूलाई उभ्याउने कसरतमा छन् । तर, सामान्य मतदाता बिलखबन्दमै छन् । यतिखेर सबैभन्दा सकसमा यही मतदाता पंक्ति छ । को असल ? को योग्य ? खुट्याउनै मुस्किल छ । सामान्य मतदाताले राजनीतिक नेतृत्वबाट यति धोका पाइसके कि उनीहरूलाई लाग्छ, ‘जुन जोगी आए पनि कानै चिरेको !’

विकल्प धेरै, विश्वासिला थोरै

निर्वाचन आयोगका अनुसार, यो चुनावमा ५७ राजनीतिक दल प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनतर्फ दल र स्वतन्त्र गरी २,४१२ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै, प्रदेशसभाका लागि ३,२२४ जनाको उम्मेदवारी परेको छ । उल्लेखनीय के छ भने, यी दुवै तहका लागि स्वतन्त्र ढंगबाट उम्मेदवारी दिने पनि त्यत्तिकै छन् । प्रतिनिधिसभाका लागि ८६७ र प्रदेशसभाका लागि १,२७८ जना स्वतन्त्र हिसाबले चुनावी प्रतिस्पर्धामा छन् ।

संख्यात्मक दृष्टिले मतदातासामु चुनावी बजारमा छनोटका अनेकौं विकल्प छन् । तर, गुणात्मक हिसाबले विश्वसनीय विकल्पको अभाव महसुस हुन्छ । सायद त्यसैले, विकल्पहरूको लामो सूची हुँदा पनि सामान्य मतदाता कसलाई चुन्ने भनी रनभुल्लमा देखिन्छन् । आफूलाई योग्य दाबी गर्दै प्रतिस्पर्धामा उत्रिएका दलीय र गैरदलीय (स्वतन्त्र) उम्मेदवार कस्ता छन् ? एकै छिन तिनको चर्चा गरौं ।

चुनावी मैदानमा तीन प्रकारका दलीय उम्मेदवार छन् ।

एक, परीक्षणमा असफल प्रमाणित भएका शीर्ष नेताहरू जो शारीरिक हिसाबले दुर्बल र उमेरको उत्तरार्द्धमा छन् । यीसँग राजनीतिक संघर्षको इतिहास र अनुभव छ तर यिनको योग्यतामा प्रश्नचिह्न लागेको छ । सम्मानजनक अवकाश लिएर अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने वृद्ध पुस्ता पुनः सत्ताको आकांक्षा राखेर चुनावी मैदानमा होमिएको छ । यो पुस्ताप्रति सामान्य मतदाताको खासै आकर्षण छैन । कतिसम्म भने, ‘नो नट अगेन’ भनेर यिनलाई मत नदिन आह्वान गर्दै अभियान नै चलेको छ ।

दोस्रो, एकाध पटक परीक्षण भइसकेका ‘मिडियोकर’ नेताहरू, जसलाई दलको दोस्रो वा तेस्रो पुस्ताका रूपमा वर्गीकरण गर्न सकिन्छ, यी पनि प्रतिर्स्धामा छन् । योग्यताका हिसाबले औसत भूमिका निर्वाह गर्दै आएको यो पुस्ता मूलतः अवसरवादी चरित्रको छ । व्यक्तिगत राजनीतिक करिअरलाई केन्द्रमा राखेर लाभहानिको हिसाबकिताब गर्दै राजनीतिमा सक्रिय यो पुस्ता जोखिम मोल्ने आँट गर्दैन । यद्यपि, यही उम्मेदवार पंक्तिमा केही राम्रा र आशालाग्दा पात्र पनि छन्, जसलाई मतदाताले चिन्न सक्नुपर्छ ।

तेस्रो, दलहरूले हालसम्म परीक्षण हुन नपाएका ‘भर्जिन’ उम्मेदवारहरूलाई पनि अघि सारेका छन् । तर, नेतृत्वको अलोकप्रियता र तीप्रतिको असन्तुष्टिका कारण नवोदित उम्मेदवारले आफूतिर आकर्षण जगाउन सकेका छैनन् । उनीहरू दलीय नेतृत्वप्रतिको निराशाको घानमा परेका छन् । परीक्षण हुन नपाएका उम्मेदवारतिर मतदाताको नजर पर्नुपर्छ ।

दलीय नेतृत्वप्रतिको असन्तुष्टिको जगमा टेकेर स्वतन्त्र उम्मेदवारी दिनेहरूको बिगबिगी छ । पेसागत हिसाबले सफल मानिएका व्यक्तिहरूसमेत स्वतन्त्र ढंगले राजनीतिक मैदानमा ओर्लिएका छन् । पत्रकार रवि लामिछानेले दल घोषणा गरेर प्रतिस्पर्धामा आए पनि उनी र अरू स्वतन्त्र उम्मेदवारले टेक्ने जमिन एउटै हो । अर्थात्, दलका शीर्ष नेताप्रति हुर्कंदो वितृष्णा । पालैपालो सत्तामा बसेर पनि सुशासनको प्रत्याभूति दिन नसकेको नेतृत्वको विकल्पमा स्वतन्त्रहरूको बाढी आएको हो ।

अर्को, यी स्वतन्त्रहरूको ‘इन्स्पिरेसन’ का स्रोत बालेन शाहहरू हुन् । गएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिका लगायत केही स्थानमा स्वतन्त्र उम्मेदवारले पाएको सफलताले धेरैमा नेतृत्वमा पुग्ने हुटहुटी जन्माइदियो । राजनीतिमा छिटो स्थापिन हुने महत्त्वाकांक्षा पालेका पात्रहरू यो समय अनुकूल हुने आकलन गरेर मैदानमा ओर्लिएका हुन् ।

स्वतन्त्रहरूले ‘दलका नेता अयोग्य भए, अब हामी परिवर्तनका संवाहक बन्छौं’ भनेर दाबी गरे पनि तिनले मतदातालाई भरोसा दिलाउन सकेका छैनन् । शीर्ष नेतृत्वको अयोग्यता र तीप्रतिको आम निराशा बेचेर एकाधले ‘लोकप्रियतावाद’ अँगाल्दै मतदाता आकर्षित गर्न खोजेको देखिन्छ । तर, जब मतदाता स्वतन्त्रको स्टलमा पुग्छन्, ढुक्क हुन सकेको देखिँदैन । यहाँनेर पनि मतदाता अन्योलमै, बाध्यतामै छन् ।

परीक्षा : मतदाता कि उम्मेदवारको ?

त्यसो त निर्वाचन उम्मेदवारको परीक्षा हुनुपर्ने हो किनकि पास वा फेल दल अनि उम्मेदवार नै हुने हुन् । तर, मतदातालाई ‘न्यायाधीश’ भनिए पनि, तीचाहिँ खासमा परीक्षार्थी हुने रहेछन् । किनभने तिनले गर्ने छनोट नै निर्वाचनको मुख्य आधार हो । तिनको छनोटले नै राजनीतिक प्रणाली कति बलियो वा कमजोर हुन्छ, तय गर्ने रहेछ । शासन व्यवस्थाले सही दल/पात्र पाउने वा नपाउने निर्क्योल पनि मतदाताले गर्ने निर्णयमा निर्भर हुने रहेछ ।

निर्वाचनको सौन्दर्य लोकतन्त्रमा हुन्छ भन्ने विश्वास गरिन्छ । यद्यपि लोकतन्त्रमा सत्ता र पद मात्रै प्रधान भइदिँदा निर्वाचन फगत राजनीतिको हतियारमा सीमित हुँदै गएको छ । लोकतन्त्रका नाममा केही सीमित व्यक्तिको हालीमुहाली र हैकम चल्दा निर्वाचनबाटै ‘डेमागग’ हरूको उदय हुने जोखिम हुन्छ । मतदाताले कसलाई किन चुन्छन् ? त्यसले लोकतान्त्रिक विधि र प्रणालीको स्थायित्व अनि दिगोपनाको आधार निर्माण गर्छ । त्यसकारण मतदाताको भूमिका महत्त्वपूर्ण छ ।

ब्राजिलका मतदाताको ‘कम खराब’ रोज्नुपर्ने बाध्यताजस्तै हाम्रा लागि पनि यति बेला ‘योग्य’ उम्मेदवारको खोजी कम चुनौतीपूर्ण छैन । असफल वृद्ध पुस्ता रोज्ने कि पुस्तान्तरण पक्षधर युवा पुस्ता ? सत्तामोहमा लिप्त नेतृत्वलाई अनुमोदन गर्ने कि भिजन र योजना भएका स्वप्नद्रष्टा ? विधिमा विश्वास गर्ने कि विधि मिच्ने दम्भी शासक ? स्वतन्त्रको बाढीमा बहने कि दलभित्रबाटै विकल्प खोज्ने ? लोकरिझ्याइँ र राजनीतिक ‘स्टन्ट’ को पछि लाग्ने कि साँच्चिकै राजनीतिमा थिति बसाल्ने नेतृत्व खोज्ने ? मतदातासामु अनेक प्रश्न छन् । तिनको सही निरूपण त्यति बेला हुनेछ, जब उपलब्ध विकल्पमध्ये मतदाताले तुलनात्मक रूफमा योग्य खोज्न र रोज्न सक्नेछन् ।

प्रकाशित : मंसिर १, २०७९ ०८:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×