जो गतिशील उसकै नेतृत्व- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जो गतिशील उसकै नेतृत्व

हामी जहाँ उभिएका छौं, त्यहीँ ठाउँमा पत्थरको सालिकजस्तो कति वर्षसम्म गाडिएर बसिरहने ? यो प्रश्नको गतिशील जवाफ जसले दिन सक्छ, नेतृत्व उसैको हातमा सुहाउँछ ।
किशोर नेपाल

संघीय गणतन्त्र नेपालको दोस्रो महानिर्वाचनका परिणाम निथारपिथारमा रहेको यो समयमा नेपाली सहरिया समाजका ‘प्रतिष्ठित’ मानिएका व्यक्तित्वहरूका मनमा स्वाभाविक जिज्ञासा उठेको छ— ओहो, अबको सरकार पनि प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा बन्ने भो त ! घटनाक्रमको ‘स्वतःस्फूर्त’ विकासक्रम देखेर प्रधानमन्त्री देउवा आफैं आश्चर्यजनक द्विविधामा परेका होलान् । भाग्यमा छ भने दूध डोकामा दुहे पनि अडिन्छ ! 

राणा शासनको अन्त्यदेखि नै नेपाल लामो र पट्यारलाग्दो संक्रमणकालीन समयबाट गुज्रिइरहेको छ । २०१५ सालको महानिर्वाचन, २०१७ सालको प्रतिक्रान्ति, २०३६ सालको विद्यार्थी जागरण, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन, २०५८ सालमा भएको राजा वीरेन्द्र र उनको सम्पूर्ण परिवारको वंशनाश, २०६२–६३ सालको अर्को निर्णायक जनआन्दोलन — आँखाको नानीजस्तो महत्त्वपूर्ण र सानो यो देशका निर्धन जनताले थरीथरीका दुर्घटना बेहोर्नुपरेको छ । यति बेला नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री पदमा छन् । भर्खरै सम्पन्न चुनावमा कांग्रेसले ‘उल्लेख्य’ विजय हासिल गरेपछि आगामी ‘प्रधानमन्त्री’ पनि उनी आफैं बन्नुपर्ने परिस्थिति किन बन्न थालेको छ ? आजको विषय यो होइन ।

देउवा पहिलो पटक प्रधानमन्त्री बन्दा तत्कालीन प्रजातान्त्रिक राजनीतिमा ‘अछुत’ ठानिएको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग समीकरणमा थिए । दोस्रो पटक प्रधानमन्त्री बनेपछिको समयमा उनले माओवादीसँग शान्तिवार्ताको प्रस्ताव गर्दै जनयुद्धका कमान्डर प्रचण्डको ‘साहसिक’ व्यक्तित्वको सम्मान गरेका थिए । तर, माओवादीसँग कुरा मिलाउन उनी असफल भए ।

राजनीतिक विश्लेषकहरू देउवाले दोस्रो पटक प्रधानमन्त्री भएको समयमा ती सबै ‘वर्जित’ काम गरेको आरोप लगाउँछन्, जसको सम्पूर्ण रूपमा आकलन गर्नु निकै कठिन छ । त्यति बेला देउवा नेतृत्वको ‘नागरिक’ सरकार शाही सेनाको मातहतमा रहेको भान हुन्थ्यो । सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालय सिंहदरबार परिसरभित्रै रहेको राष्ट्रिय सुरक्षा परिषद्को छायामा परेको अनुभव हुन्थ्यो । माओवादी जनयुद्धका पाँच वर्ष बित्दा–नबित्दै तत्कालीन शाही सेना पैंतालीस हजार जवानबाट दोब्बर बढेर नब्बे हजार जवानको संगठित फौज बनेको थियो । त्यही समयमा गठन भएको थियो, पन्ध्र हजार जवान भएको सशस्त्र प्रहरी बल । शान्ति क्षेत्रका रूपमा कहलिएको नेपालजस्तो सानो देशका लागि कति ठूलो सुरक्षा बल !

त्यस बेला प्रधानमन्त्रीका रूपमा देउवाले अमेरिकाका राष्ट्रपति जर्ज डब्लू बुस र बेलायतका प्रधानमन्त्री टोनी ब्लेयरलाई नेपालमा आफ्नो नेतृत्वको सरकारले चलाएको माओवादी आन्दोलनविरुद्धको ‘अभियान’ अन्तर्राष्ट्रिय आतंकवादविरुद्धको आन्दोलन हो भन्नेमा सहमत गराएका थिए । देउवाको याचनामा अमेरिकाले माओवादीलाई अन्तर्राष्ट्रिय आतंकवादीको सूचीमा राखेको थियो । बुसका विदेशमन्त्री कोलिन पावेल दुई करोड साठी लाख डलरको पोको बोकेर काठमाडौं आएका थिए । यो पैसा शाही सेनाको प्रवर्द्धन र संवर्द्धनमा खर्च गरिएको थियो । यसलगत्तै देउवाले माओवादीका ठूला नेताहरूका टाउकाको मूल्य तोकेका थिए । यति भनिसकेपछि प्रधानमन्त्री देउवाका बारेमा थप केही भन्न बाँकी रहँदैन ।

अहिले प्रधानमन्त्री देउवा र माओवादी पार्टीका सर्वोच्च नेता प्रचण्डको गर्दन जोडिएको छ । उनीहरू दुवैको राजनीति एकअर्कामा आश्रित छ । पहिलो संविधानसभाको निर्वाचनमा कांग्रेस र एमालेको साख नराम्रोसँग खस्किएको थियो । अन्तरिम सत्तामा झन्डै एकाधिकार स्थापित गरेका थिए माओवादीहरूले । प्रचण्डको नेतृत्वमा बनेको सरकारमा एमाले गणहरू समावेश थिए । माओवादीहरूले संविधानसभाको निर्माण र गणतन्त्रको पहिलो चुनावमा भएको आफ्नो विजयलाई अन्तिम सत्य भन्ने ठाने । तर, ती दुइटै निष्कर्ष गलत थिए । किनभने माओवादीहरू राज्यको आमूल परिवर्तन गर्न हिँडेका थिए । तर, उनीहरू पशुपतिको भट्ट फेर्ने कुरामा अलमलिए । त्यति बेला परिवर्तित नेपाली राजनीतिका अभिभावकका रूपमा गिरिजाप्रसाद कोइरालाको उपस्थिति थियो । उनको दृष्टिगोचरमा माओवादीहरू नै थिए । माओवादीलाई सरकार र शासनको केन्द्रमा स्थापित गर्न कोइरालाले कडा मिहिनेत गरेका थिए । तर माओवादीहरू विजयको जोसमा यति मस्त भए कि कुनै पनि संग्राममा परिवर्तनकारी शक्तिको विजय एक्लाएक्लै हुँदैन भन्ने तथ्य नै बिर्सिए ।

यो सत्य हो, लगभग तीन हजार वर्षदेखि संस्कृति, सभ्यता र समृद्धिमाथि कब्जा जमाउँदै आएको कुलीन वर्गको स्वामित्वमा रहेको देश नेपालमा आमूल परिवर्तनका संवाहक माओवादीहरू नै थिए । यो कुरा सबैले स्विकारेका छन् । माओवादीको आँटमा गिरिजाप्रसाद कोइरालाको आँट नथपिएको भए सफलताको छेउमा पुगेको परिवर्तन तत्काल धूलिसात् हुन बेर लाग्ने थिएन । देशमा अहिलेको जस्तो सामन्तवादका विरुद्ध चेतनाको गीत गाइने थिएन ।

२०६२–६३ सालको परिवर्तनको प्रतिफलका रूपमा आएको संविधानसभाको निर्वाचनदेखि नै कांग्रेसको मत खुम्चिन थालेको थियो । त्यसरी खुम्चिँदै आएको कांग्रेस देउवा सरकारको नेतृत्वमा भएको अघिल्लो चुनावमा तेइस स्थानमा खुम्चियो । संसद्मा जितको मामिलामा अहिले कांग्रेसको सिउर निकै फुकेको देखिएको छ । कांग्रेस नेतृत्वको गठबन्धनमा रहेका अन्य दलको अवस्थामा तात्त्विक भिन्नता देखिएको छैन ।

तर, कांग्रेस नेतृत्वको गठबन्धनको सफलतालाई कांग्रेसको एक्लो सफलता भन्न मिल्दैन । मुख्य रूपले यो माओवादी, एकीकृत समाजवादी र गठबन्धनमा जोडिएका साना वा ठूला सबै पार्टीको विजय हो । यो कुरालाई कसैले पनि बिर्सिन मिल्दैन ।

चुनाव–शृंखलामा स्पष्ट देखिएको र बिर्सिन नहुने तथ्य के हो भने, माओवादी पार्टी राजधानी काठमाडौं र देशका अन्य प्रमुख सहरी क्षेत्रका मतदाताको छनोटमा परेन । यो अस्वाभाविक होइन । लोकतन्त्रमा सहरिया मत अवसरवादी हुन्छ । यो स्थायी हुँदैन । छिटछिटो बदलिन्छ । यो चुनावको मूलधारमा सहर–बजारका जनता, खास गरी युवा मतदाताले पुराना नेताहरूका नाम सुन्न चाहेको देखिएन । उनीहरूका दृष्टिमा देशमा विकृतिहरूको जन्मको कारक यही नेतृत्व हो । त्यसो भए के नयाँ पुस्ताका प्रतिनिधि पात्रले सरकार बनाए भने देशले आज भोग्नुपरेको समस्या र पीडा ‘छुमन्तर की वाचा’ होला त ? यसको जवाफ कसैसँग पनि छैन ।

नयाँ नेता र नयाँ दलको नारा लगाउने र आफूलाई स्वतन्त्र बताउने कतिपय युवा यो चुनावमा देशमा स्थापित संघीय प्रणालीको विरोधमा उभिएका छन् । यो देशको विकासका लागि संघीय प्रणालीको विकल्प छैन भन्ने तथ्यको उनीहरूले जानीजानी अवज्ञा गरेका छन् । देशका परिवर्तनकारी भनिने शक्तिहरू संघीय लोकतान्त्रिक गणतन्त्रविरोधीको चक्रव्यूहमा परेका छन् ।

यो सत्य हो, अहिले देशमा बेइमान राजनीतिको बिगबिगी छ । परिवर्तनकारी शक्ति कमजोर हुँदै गएको छ । कांग्रेस देशभक्तिको बाटामा छ कि राजनीतिक चलखेलमा लागेको छ ? केही ठोस प्रश्नहरूको जवाफ खोज्नु जरुरी मात्रै होइन, अत्यन्त आवश्यक भैसकेको छ । अपदस्थ राजा ज्ञानेन्द्र तथा उनका परिवारका सदस्य मंसिरको पारिलो घाममा कपालको जुम्रा मारेर बसेका छैनन् । राजा ज्ञानेन्द्र आफ्ना अंशियार, भारदार, मतियार र साझेदारहरूको सहयोगमा देशमा स्थापित संघीय राजनीतिक प्रणालीलाई असफल बनाउने चेष्टामा अनवरत लागिरहेका छन् । उनी अहिले आफ्ना पिता राजा महेन्द्रको पदचापमा रमाएका छन् । उनी त्यही अनुरूपको राजनीतिक व्याख्यान तयार पार्दै छन् ।

२००७ सालको क्रान्तिपछि सक्रिय भएको राजतन्त्र र संवैधानिक राजतन्त्रको झन्डै छ दशक लामो मिश्रित शासनकालमा चलेको एकात्मक शासनले कुन जनताको भलाइ गर्‍यो ? भौतिक विकासको मामिलामा देश खुम्चियो कि फैलियो ? यी अहिलेका विचारणीय प्रश्न हुन् । प्रदेश सरकारहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेको अनुभव सबैले गरेका हुन् । तर, यो परिवेश कसले तयार पारेको हो ? तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको पहिलो कार्यकाल घटनापूर्ण रह्यो । तर, त्यो आफैंमा निरर्थक थियो । ओलीले जानीजानी माओवादीसँगको एकतालाई अलपत्र पारे । जानीजानी संसदीय व्यवस्थाको विघटन गरे । जानीजानी राजनीतिमा विचलन भित्र्याए । र, जानीजानी स्थायी रूपमा देशलाई दक्षिणपन्थी धारतिर धकेले ।

चुनाव सकिएको छैन । विभिन्न पार्टीका समानुपातिक उम्मेदवारहरूको चयन बाँकी नै छ । कुनै पनि पार्टीले संसदीय बोर्ड गठनको तत्परता देखाएको छैन । तर, प्रधानमन्त्री देउवाको नेतृत्वमा सरकार बन्नेबारे समाजमा खासै धरमर छैन । कांग्रेस नेतृत्वको गठबन्धनको सरकारको नेता को हुने ? यसको पहिलो चयन गठबन्धनमा रहेका दलका प्रमुख नेताहरूले गर्ने हो । कांग्रेस संसदीय दलले चाहँदैमा कोही प्रधानमन्त्री बन्ने अवस्था अहिले छैन । त्यसो त कांग्रेसका बयोवृद्ध नेता रामचन्द्र पौडेल, शेखर कोइराला, निर्वाचित महामन्त्री गगन थापा, प्रकाशमान सिंह र शशांक कोइराला कांग्रेस संसदीय दलको नेता बन्न प्रचारबाजीमा जुटेका छन् । तर, अहिलेको परिस्थिति भने यी कसैको पक्षमा अनुकूल देखिँदैन ।

यो सत्य हो, प्रधानमन्त्री देउवाको अनुहार र प्रस्तुति अहिलेको राजनीतिक समयअनुकूल छैन । मानिसहरू आ–आफ्ना एजेन्डासहित मैदानमा उत्रिएका छन् । सत्र वर्षपछि उनीहरू माओवादीले सत्र हजार मानिस मारेको आरोपमा चिच्याउँदै छन् । देशमा हिन्दुत्वको नारा निकै चम्किएको छ । तर, उनीहरूले यो कुरा बुझेका छैनन् कि बाह्र वर्षको जनयुद्धकालमा सत्र हजारको तेब्बर मानिस कालकवलित भएका छन् । माओवादीहरू काठमाडौं उपत्यकामा लोकप्रिय छैनन् होला तर नेपाली गाउँको माटामा उनीहरूले परिवर्तनको सिक्का चलाएका छन् । पछिल्लो समय माओवादी नेताहरूले थोरै भए पनि आफ्ना दोषहरू स्वीकार गरेका छन् । उनीहरू संघीयताको जरो बलियो बनाउन लागेनन् । फलस्वरूप देशमा एक पटक फेरि रुग्णतम साबित भइसकेको विकेन्द्रीकरणको बाजा घन्काउने प्रयास हुन थालेको छ ।

जे जसरी भए पनि देशमा लोकतान्त्रिक गणतन्त्रले जरो गाड्दै छ । जनता आफ्नो राजा आफैं भएका छन् । लोकतन्त्रमा लोकतन्त्रकै विरोध पनि अपेक्षित हुन्छ भन्ने विचार स्थापित भएको छ । एकातिर परिवर्तनका लागि संघर्ष गर्न तयार मानिस उभिएका छन्, अर्कातिर परिवर्तन नरुचाउने वर्गको दबदबा बढ्ला भन्ने डर पनि उत्तिकै छ । चुनावले नेपालको सर्वाधिक महत्त्वपूर्ण भूभाग मधेश प्रदेशमा सीके राउतको राजनीतिक उदय गराएको छ । उनले नेपाल आमालाई गाली पनि गरेका हुन् र देश विभाजनमा लैजाने नारा पनि लगाएका हुन् । तर, यो लोकतान्त्रिक गणतन्त्रकै खुबी हो- उनले समयमै आत्मबोध गरे ।

सरकार कसले बनाउँछ वा कुन पार्टीको नेतृत्वमा सरकार बन्छ ? अहिले यो कुरा महत्त्वपूर्ण रहेन । कांग्रेस नेतृत्वको गठबन्धनलाई कसले प्रभावकारी बनाउन सक्छ ? त्यो नै सरकारप्रमुख हुन्छ । मूलधारको राजनीति चारैतिर छरिएको र अलमलिएको अहिलेको अवस्थामा लोकतान्त्रिक र वामपन्थी विचारको सन्तुलन र समायोजनले मात्रै देश अग्रगामी बाटामा लाग्न सक्छ । नेताहरूले यो कुरालाई आत्मसात् गर्नु अहिलेको आवश्यकता हो । हामी जहाँ उभिएका छौं, त्यही ठाउँमा पत्थरको सालिकजस्तो कति वर्षसम्म गाडिएर बसिरहने ? यो प्रश्नको गतिशील जवाफ जसले दिन सक्छ, नेतृत्व उसैको हातमा सुहाउँछ ।

प्रकाशित : मंसिर १६, २०७९ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेसमा नवोदित नेतात्रयको परीक्षा

राजाराम गौतम

नेपाली कांग्रेसको प्रधानमन्त्री म्याराथनमा एउटा लोभलाग्दो र विरल दृश्य देखिएको छ । एक महामन्त्री विश्वप्रकाश शर्माको अर्का महामन्त्री गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान ! नेपाली समाजले दलहरूका समकक्षी नेताहरूको इगो, ईर्ष्या अनि अस्वस्थ गुटबन्दी देखेको छ ।

त्यसकारण पनि नेतृत्वपंक्तिमा यो स्तरको सहकार्य र मिलाप दुर्लभ लाग्छन् । यस्तो सुन्दर परम्परा थालेर विश्वप्रकाशले नवीन राजनीतिक संस्कारको बीजारोपण गरेका छन् । यो एउटा उदाहणीय कर्म हो । जुन दिन गगनले कान्तिपुर टेलिभिजनको एउटा कार्यक्रममा प्रधानमन्त्रीमा आफूले ‘क्लेम’ गर्ने बताए, त्यसको केही दिनमै विश्वप्रकाशले भने, ‘प्रधानमन्त्रीमा गगनको दाबीले राजनीतिमा प्रकाश दिएको छ ।’ (कान्तिपुर दैनिक, २०७९ साउन ५)

शालीन मिजासका विश्वप्रकाशले जे बोले, त्यो तत्कालको राजनीतिक खपतका लागि बोलिएको ‘सामान्य’ अभिव्यक्ति थिएन, विशिष्ट राजनीतिक महत्त्व बोकेको ‘स्टेटमेन्ट’ थियो । त्यो स्टेटमेन्टले कांग्रेसको अधबैंसे पुस्तामा हुर्किरहेको नवीन राजनीतिक संस्कार प्रतिविम्बित गर्छ । चरम गुटबन्दी र अस्वस्थ प्रतिस्पर्धा, घात–प्रतिघातको इतिहास बोकेको पुरानो लोकतान्त्रिक पार्टी कांग्रेसभित्र यस्तो संस्कार पल्लवित हुनु सकारात्मक पक्ष हो । विश्वप्रकाशसँग पनि प्रधानमन्त्री अथवा पार्टी सभापति हुने महत्त्वाकांक्षा होला तर उनले गगनलाई प्रोत्साहित गरेर प्रशंसनीय संस्कार देखाएका छन् ।

नेपाली राजनीतिले ‘डेलिभरी’ दिन नसक्नुका थुप्रै पक्ष छन् । तीमध्ये एउटा हो- समकक्षी नेताहरूबीचको अस्वस्थ होडबाजी र व्यक्तित्वको ‘टसल’ । कांग्रेसमा विश्वप्रकाश र गगन महामन्त्री भएपछि धेरैले अडकल काटेका थिए- यी दुवै सभापति र प्रधानमन्त्रीको दौडमा आ–आफ्नै गुट बनाएर अघि बढ्नेछन् । तर, दुवैले एकै ठाउँमा उभिएर त्यस्तो अडकलबाजीलाई गलत साबित गरिदिएका छन् ।

चौधौं महाधिवेशनअघि मिडिया विश्लेषणहरूमा एउटा भाष्य निर्माण भयो, ‘कांग्रेसको नेतृत्व गगन र विश्वप्रकाशको काँधमा आउनुपर्छ ।’ कांग्रेसमा हावी वृद्धतन्त्रबाट निराश कार्यकर्ता पंक्ति त्यो भाष्यप्रति आकर्षित भयो र अन्ततः महाधिवेशनले नवोदित नेतृत्वलाई अनुमोदन गर्‍यो । मूल नेतृत्वमा शेरबहादुर देउवा दोहोरिए पनि लोकप्रिय मतसहित गगन र विश्वप्रकाश महामन्त्रीका रूपमा उदाए ।

कांग्रेसमा आशा जगाउने पात्रका रूपमा उदाएका महामन्त्रीद्वय पार्टी शिविरबाहिर पनि अधिक रुचाइएका नेतामा पर्छन् । त्यसको पुष्टि कांग्रेसको चौधौं महाधिवेशन र हालैको आम निर्वाचन–२०७९ ले गरिसक्यो । निर्वाचनले दुवै महामन्त्रीलाई बलियो मतसहित अनुमोदन गरेको छ । गगन लगातार तेस्रो पटक मतदाताबाट अनुमोदित भएका छन् भने विश्वप्रकाश पहिलो पटक भारी मतान्तरले संसद् छिरेका छन् ।

निर्वाचनले चौधौं महाधिवेशनमा महामन्त्रीका अर्का प्रत्याशी प्रदीप पौडेललाई पनि गगन र विश्वप्रकाशजस्तै आशा गरिएका पात्रको पंक्तिमा खडा गरेको छ । महामन्त्रीको दौडमा पछि परे पनि आम निर्वाचनमा मतदाताबाट अनुमोदित भएपछि कांग्रेसको नेतृत्व पंक्तिमा उनको ‘कमब्याक’ भएको छ ।

समग्रमा निर्वाचन परिणाम कांग्रेसका लागि सुखद रहेन । पाँचदलीय गठबन्धन बनाएर निर्वाचन लडेको कांग्रेस संसद्को सबैभन्दा ठूलो दल त भयो तर अपेक्षा गरिएजस्तो जित हात पार्न सकेन । उसले समानुपातिकतर्फ यसअघि पाएको लोकप्रिय मत मात्रै गुमाएन, प्रत्यक्षतर्फ पनि सोचेजति जितेन । यसका बावजुद कांग्रेसमा केही आशालाग्दा पात्रहरू निर्वाचित भए । तिनमा पनि गगन, विश्वप्रकाश र प्रदीपको जितले कांग्रेस युवा पंक्ति उत्साहित छ ।

त्यो उत्साहको एउटै कारण हो- नेतृत्वमा पुस्तान्तरणको अपेक्षा । जसरी पार्टीको नेतृत्व यो पुस्ताको काँधमा आयो, सरकारको नेतृत्व पनि यही पुस्ताले गरोस् भन्ने कांग्रेसको युवा पंक्ति चाहन्छ । सम्भवतः त्यो चाहना बुझेरै गगनले कांग्रेसमा पुस्तैनी टकरावको जोखिम उठाएका छन् । उनले प्रधानमन्त्री एवं पार्टी सभापति देउवालाई चुनौती दिँदै संसदीय दलको नेताको उम्मेदवारी घोषणा गरेका छन् ।

अंकगणितको अनुकूलता–प्रतिकूलता नहेरी गगनले संसदीय दलको नेतृत्वमा पुगेर सरकार हाँक्ने जुन अठोट लिए, काठमाडौं क्षेत्र नम्बर ४ का मतदाताले उनलाई तेस्रो पटक मत हाल्ने कारण पाए । पटक–पटक एउटै व्यक्तिलाई किन जिताउने भनेर गम खाइरहेका मतदातालाई गगनले भने, ‘म सांसद हुन मात्रै होइन, यस पटक संसदीय दलको नेता हुन चुनिन चाहन्छु ।’ मतदाताले यसलाई ‘पोलिटिकल स्टन्ट’ भन्ठानेनन् र गगनलाई फेरि एक पटक विश्वासको मत दिए । उनी अहिले त्यही विश्वासमा खरो उत्रने अभ्यासमा जुटेका छन् ।

निर्वाचन परिणामले मिलीजुली सरकार बनाउने म्यान्डेट दिएको छ । कुन–कुन दल मिलेर सरकार बन्छ भन्ने प्रस्ट तस्बिर बनिनसक्दै कांग्रेसमा सुरु भएको प्रधानमन्त्री म्याराथनका दुई पाटा छन् । यो म्याराथनमा शारीरिक अनि राजनीतिक हिसाबले थकित वृद्ध पुस्ताको बाहुल्य हुनु यसको अँध्यारो पक्ष हो भने, कांग्रेसको वृद्धतन्त्रलाई चुनौती दिँदै प्रतिस्पर्धामा एक ऊर्जावान् अधबैंसे सामेल हुनु उज्यालो पाटो हो ।

गगनसँग संसदीय दलमा अंकगणितको अनुकूलता छैन, जति देउवासँग छ । अथवा, देउवाले चाहेको अर्को कुनै उम्मेदवारसँग हुन सक्ला । तर गगनसँग प्रधानमन्त्री दाबी गर्ने प्रशस्त राजनीतिक जमिन छ । पहिलो आधार हो- उनमा देखिएको ऊर्जा र आत्मविश्वास । संसदीय दलमा अंकगणितको सुविधा भएका देउवाले निर्धक्क ‘यसकारण फेरि प्रधानमन्त्री हुन्छु’ भन्न सकिरहेका छैनन् । जनमानसमा उनी प्रधानमन्त्री दोहोरिने कुराले रत्तीभर उत्साह छैन । न उनमा आफ्नो उम्मेदवारीप्रति आम आशा जगाउने खुबी छ न त उनी छैटौं पटक प्रधानमन्त्री बन्नुको औचित्य पुष्टि गर्न सक्छन् । तर, गगन पूर्ण आत्मविश्वाससहित सरकारको ड्राइभिङ सिटमा बस्ने दृढता व्यक्त गरिरहेका छन् । सरकारमा गएर के गर्ने भनेर विज्ञहरूसँगको सहकार्यमा कार्ययोजना (प्रोजेक्ट गभर्नमेन्ट) नै तयार गरिसकेको उनले बताउँदै आएका छन् ।

दोस्रो, उनले केही शासकीय अनुभव पनि बटुलिसकेका छन् । डेढ दशकदेखि संसद्मा क्रियाशील उनले छोटै भए पनि आशालाग्दा स्वास्थ्यमन्त्रीको जिम्मेवारी निर्वाह गरेका छन् । तेस्रो, राजनीतिक परिवर्तनपछिको नेतृत्वका उनी एक हकदार पनि हुन् । त्यो किनभने, कांग्रेसलाई अहिलेको राजनीतिक परिवर्तनसँग एकाकार गराउने एउटा श्रेय उनलाई पनि जान्छ । कांग्रेसभित्र गणतन्त्र, संघीयताजस्ता अग्रगामी राजनीतिक मुद्दाका हिमायती हुन् उनी । सबैजसो राजनीतिक आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेसले जन्मसँगै राजासहितको जनउत्तरदायी शासन व्यवस्थाको पक्षपोषण गर्थ्यो, गर्दै आयो । तर, राजा स्वेच्छाचारी हुँदै जाँदा कांग्रेसलाई संविधानसभा र गणतन्त्रका पक्षमा उभ्याउन नरहरि आचार्य, गगन थापाहरूले महत्त्वपूर्ण भूमिका खेले । त्यस अर्थमा उनी संघीय गणतन्त्रको नेतृत्वका एक हकदार हुन् ।

चार, गगनप्रति व्यापक जनआकर्षण छ । विद्यार्थी राजनीतिदेखि नै आफूलाई प्रखर सम्भावना भएका नेताका रूपमा उभ्याउँदै आएका उनी आशा र भरोसाका पात्र हुन् । जनता उनलाई सुन्न र कार्यकारी शासकीय भूमिकामा परीक्षण भएको हेर्न चाहन्छन् । संसदीय दलको नेतामा प्रतिस्पर्धाको घोषणासँगै सामाजिक सञ्जालमा ओइरिरहेका सद्भाव र समर्थनले उनको आकर्षण पुष्टि गर्छन् । पाँच, उनमा अद्भुत नेतृत्व क्षमता छ । जनतासँग सरल ढंगले साक्षात्कार गर्न सक्ने गुण छ ।

राजनीतिशास्त्रका पण्डितहरू भन्छन्- मूलतः नेता तीन किसिमले स्थापित हुन्छ । एक, जो निरन्तर राजनीतिक रूपमा क्रियाशील हुन्छ । दुई, मिथबाट जन्मिन्छ । तेस्रो, चामत्कारिक गुणसहित सृजनशील हुन्छ । गगन मिथबाट बनेका नेता होइनन् । उनीसँग तीन दशक लामो निरन्तर राजनीतिक क्रियाशीलतासँगै सृजनशीलता पनि छ ।

संसदीय दलको नेतामा गगनको ‘एटम्ट’ ले कांग्रेसमा मात्रै होइन, अरू राजनीतिक दलमा पनि पुस्तान्तरणको ढोका खोल्छ । जित्दा त उनी प्रधानमन्त्री उम्मेदवार नै हुनेछन्, संसद्मा बहुमत जुटाउन सके प्रधानमन्त्री पनि होलान्; अंकगणितले साथ नदिएर पराजित नै भएछन् भने पनि उनी नेता बन्नेछन् । तेह्रौं महाधिवेशनमा पहिलोपल्ट महामन्त्रीको उम्मेदवार हुँदा धेरैले उनलाई खिसिट्युरी गरेका थिए । कालान्तरमा चौधौं महाधिवेशनले उनी मात्रै होइन, विश्वप्रकाशसहितको नवोदित नेतृत्वलाई नै स्थापित गर्‍यो ।

यो बेला गगन–विश्वप्रकाशहरूको नेतृत्व लोकप्रियताको उचाइमा छ । यो नेतृत्वले आकर्षण र लोकप्रियताको चमकधमकमा रम्दै गर्दा आत्मसमीक्षा गर्नचाहिँ भुल्नु हुन्न । किनभने, गगन र विश्वप्रकाशले पार्टी नेतृत्वमा पुगेर के गर्न सके वा सकेनन्, समाजले त्यसको पनि लेखाजोखा राख्छ । महामन्त्रीद्वयको नेतृत्वमा निर्वाचन घोषणापत्र बन्यो । गगनले स्थानीय तह निर्वाचनको घोषणापत्र बनाउने जिम्मेवारी लिए र विश्वप्रकाशले आम निर्वाचनकै घोषणापत्र निर्माणको नेतृत्व गरे । यद्यपि घोषणापत्रमाथि जुन स्तरको विमर्श हुनुपर्थ्यो, भएन । र, ती कर्मकाण्डमा सीमित भए । राजनीतिलाई मुद्दाप्रधान बनाउन नसक्नु नवोदित नेतृत्वको कमजोरी रह्यो ।

महामन्त्रीद्वयले पार्टीको मूल नेतृत्वको कार्यशैलीमा प्रश्न उठाएका छन् तर निर्णय प्रक्रियामा चाहिँदो हस्तक्षेप गर्न सकेनन्, चुके । जस्तो कि, कांग्रेसको तल्लो तहसम्म निर्वाचन गठबन्धन गरेर होइन, एक्लै लड्नुपर्छ भन्ने मत बलियो थियो । त्यो बलियो मत महामन्त्रीद्वयले बलियो गरी बोक्न सकेनन् ।

अर्को कमजोरी, कांग्रेसको नीतिगत पुनर्जागरणमा महामन्त्रीद्वयले अपेक्षित भूमिका खेल्न सकेका छैनन् । चौधौं महाधिवेशनको तीन महिनामै नीति महाधिवेशन गर्ने भनियो तर महामन्त्री थापाले पेस गरेको दस्तावेज अझै बेवारिसे छ । सबैलाई ज्ञात छ, कांग्रेसको मूल समस्या नेता र नीतिमै छ । लामो समययता प्रतिक्रियाको राजनीतिमा रुमलिएको कांग्रेसमा नेतृत्वको पुस्तान्तरणसँगै राजनीतिक पुनर्जागरणको खाँचो छ । महामन्त्रीद्वयले आफ्नो प्रबल भूमिका यहाँनेर देखाउन सक्थे, सक्छन् । पार्टीलाई सही ढंगले पुनर्जागरण गर्न तलैदेखि राजनीतिक, सैद्धान्तिक विमर्श गर्ने कि भीडले घेरिनुमै रमाइरहने ? ढिलोचाँडो नेताद्वयलाई यी प्रश्नले लखेट्नेछन् ।

नेपालका राजनीतिक नेतृत्वहरूको नकारात्मक पक्ष के हो भने, यी लोकरिझ्याइँमा रमाउँछन्, रचनात्मक आलोचना सुन्दैनन् र प्रचारमुखी चरित्रका हुन्छन् । अवसरवाद र चरम उपयोगितावादले तिनलाई राजनीतिक रूपमा भुत्ते बनाइदिन्छ । प्रचण्ड यसको ज्वलन्त उदाहरण हुन् । कुनै बखत मिथबाट नेता बनेका प्रचण्डप्रति नेपाली समाजमा कम्ती आकर्षण थिएन । रक्तरञ्जित इतिहासको राजनीतिबाट उदाएका प्रचण्डको नेतृत्वमा समाज तरंगित नै भयो । अनेक सामाजिक–राजनीतिक मुद्दा अगाडि आए । राजनीतिको कोर्स पनि फेरियो तर आज प्रचण्ड कहाँ छन् ? उनको छवि सत्ताको दाउपेच र अवसरवादको प्रतीकजस्तो बनेको छ । आशा गरिएका गगन, विश्वप्रकाश र प्रदीपहरूको पुस्ताको सजगता यहाँनेर आवश्यक छ ।

कांग्रेसको निर्णायक तहमा अहिले पनि पाकाहरूकै वर्चस्व छ । अहिले उदाएको पुस्ताले त्यो निर्णायक वर्चस्व आफूमा कसरी रूपान्तरित गर्छ ? अहिलेको मुख्य प्रश्न यही हो । कांग्रेसको निर्णय प्रक्रियामा नेतात्रयको निर्णायक भूमिका हुने गरेको इतिहास छ । बीपीको अवसानपछि कांग्रेसमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला नेतात्रयको स्थानमा विराजमान थिए । एउटा समयसम्म नेतात्रय निर्णायक तहमा हुन्थे । पार्टीको अन्तर्कलह र गुटबन्दीका कारण पछि सिंह र भट्टराईले कांग्रेस नै छोडे ।

गिरिजाप्रसाद कोइरालाको निधनपछि पनि शेरबहादुर देउवा, सुशील कोइराला र रामचन्द्र पौडेल नेतात्रयको स्थानमा थिए । सुशील कोइरालाको निधनपछि कांग्रेसमा नेतात्रयको अवधारणा ओझेलमा परेको छ । के गगन, विश्वप्रकाश र प्रदीपले आफूलाई कांग्रेसमा नवोदित नेतात्रयको स्थानमा पुर्‍याउन सक्लान् ?

धेरै कांग्रेसीजनको नजर नेतृत्वमा उदाएका यी पात्रहरूतिर परेको छ । कांग्रेसमा सुरु भएको नेतृत्व पुस्तान्तरणको मुद्दालाई यो नेतृत्वले कसरी बोक्छ ? कति निर्णायक हुन्छ ? यी नेताबीचको ‘ट्युनिङ’ उपयोगितावाद र अवसरवादमै गएर टुंगिन्छ कि त्यसले सार्थक परिणाम दिन्छ ? विश्वप्रकाशको इमान र गगनको आत्मविश्वासको सारथि प्रदीप बन्न सके मात्रै कांग्रेस नेतृत्वमा हावी वृद्धतन्त्र किनारा लाग्नेछ । नवोदित नेतात्रयको असली फरीक्षा अब सुरु हुन्छ ।

प्रकाशित : मंसिर १६, २०७९ ०७:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×