रवि, तपाईंको राजनीति के हो ?- विचार - कान्तिपुर समाचार

रवि, तपाईंको राजनीति के हो ?

नयाँ दल र तिनका नेताहरूका विचार– व्यवहार पनि लामो समयदेखि कुशासन चलाउने पुराना यथास्थितिवादी दलपतिका आचरणभन्दा कति भिन्न होलान् ? समता, समावेशिता, संघीयता, धर्मनिरपेक्षताका मामिला झन् पश्चगामी त छैनन् ?
राजेन्द्र महर्जन

‘पार्टनर, तुम्हारी पालिटिक्स क्या है ?’ हिन्दी भाषाका प्रखर कवि मुक्तिबोध सत्तासीन र शक्तिशालीसामु उठाउने खरो प्रश्न हो यो । भारतमा ६ दशकअघि उठाइएको यो सवाल अहिले झन् बेसी जवाफको खोजीमा छ । त्यही बेला फ्रान्समा व्यापक आन्दोलन गर्ने विद्यार्थीहरूले पनि सवाल उठाएका थिए- तिमी कसको पक्षमा छौ ?

यस्तै सवाल नेपालमा आफूलाई संस्थापन समूह वा वैकल्पिक शक्ति भन्न चाहने व्यक्ति/शक्तिका अगाडि उठाउनु जरुरी छ । प्रतिनिधिसभाको निर्वाचनबाट उदाएका व्यक्ति/शक्तिहरूले पनि उत्तर दिनुपर्छ- आफ्नो नीति के हो, नीतिमध्येको नीति राज–नीति के हो ? हिजोसम्म सञ्चार माध्यम र सडकबाट सवाल उठाउनेहरूले सदनमा पुगेपछि जवाफ दिनुपर्ने हुन्छ- आफ्नो राजनीतिक दर्शन, मूल्य–मान्यता के हो ?

ब्यालेट बक्सबाट उदाएका दल

नीति–हीनता नै राजनीति हुने जमानामा राजनीतिक पक्षधरता पनि लुकाईकन सत्ता–शक्तिको राजनीति हुँदै आएको छँदै छ । कांग्रेस, एमाले, माओवादी वा अन्य स्थापित दल र तिनका दलपतिले जेजस्तो पुरातन र यथास्थितिवादी राजनीति गरे, त्यसैको सिको गर्ने हो भने वैकल्पिक वा नयाँ शक्तिको दाबी नै बेइमानीपूर्ण हुन्छ । होइन, उनीहरूले त्यसभन्दा भिन्न, उन्नत, लोकतान्त्रिक र समतामूलक समाज बनाउन चाहेका हुन् भने आफ्नो लक्ष्य, उद्देश्य र कार्यक्रमसहित राजनीतिक प्रस्टता आवश्यक हुन्छ । मंसिर ४ को निर्वाचनपछि पनि सत्ता राजनीतिमा तीन ठूला दलको प्रभुत्वबीच उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी आफैंमा पनि राजनीतिक पार्टी कत्तिको बने ? ‘बा’ र ‘दाइ’ हरूको प्रभुत्व, तिनका प्राइभेट कम्पनीजस्ता पार्टीहरूको सञ्चालन अनि सरकारमा हुँदा तिनका कुशासनबाट वाक्क भएका जनमतको आधारमा बनेका यी पार्टी तिनै दलभन्दा कहाँ कति भिन्न होलान् ? एकापसमा अपरिचित व्यक्तिहरू, व्यक्ति–केन्द्रित समूह वा भिन्नाभिन्नै विचारका व्यक्ति मिलेर बनेका समूहबाट कति हदसम्म राजनीतिक पार्टी बनेका छन् वा बन्दै छन्, विचारणीय छ । उदाहरणका रूपमा, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार र विजेताहरू एकआपसमा दोहोरो परिचय समेत नभएको अवस्थामा उनीहरूलाई एउटै विचार, सिद्धान्त र राजनीतिको गाँठोले बाँधिएका नेता–कार्यकर्ता भन्न कसरी सकिएला ? प्रश्न ज्युँदोजाग्दो छ ।

कृष्ण हाछेथूका अनुसार, नेपालमा धेरैजसो राजनीतिक दलको जन्म राजनीतिक आन्दोलनको उपजको रूपमा भएको छ । यस निर्वाचनपछि भने चुनावबाट र चुनावका लागि पनि पार्टीहरूको निर्माणसँगै स्थापित पनि हुने क्रम बढेको छ । यस्ता दल र तिनका नेताहरूका विचार–व्यवहार पनि लामो समयदेखि कुशासन चलाउने पुराना यथास्थितिवादी दलपतिका आचरणभन्दा कति भिन्न होलान् ? समता, समावेशिता, संघीयता, धर्मनिरपेक्षताका मामिला झन् पश्चगामी त छैनन् ? नयाँ राजनीतिक शक्तिप्रति आशावादी जनमतको घेरा बढेसँगै यस्ता प्रश्नको चौघेरो पनि बढेको छ ।

नेतृत्व र सामाजिक–राजनीतिक पुँजी

कुनै कामै गर्न नपाईकन उनीहरूका आचरणबारे यस्ता प्रश्न सोध्नुलाई जनमतको अपमान ठानिन पनि सक्छ, तर धेरैजसो एक व्यक्ति वा संस्थापकलाई भगवान् वा मसिहा वा महापुरुष मान्ने नयाँ–पुराना दल त्यत्तिकै पनि सवालभन्दा माथि हुन सक्दैनन् । तिनै व्यक्ति वा संस्थापक वा नेताहरूका मुख राजनीति, विचार, सिद्धान्त, दर्शनमा जतातिर फर्के पनि दृष्टिकोण, आचरण र संस्कृतिमा भने उनीहरू खासै फरक नहुन सक्छन् । दलहरू नै भिन्नाभिन्नै भए पनि निश्चित हित र स्वार्थ अलग–अलग नभएका उदाहरणको कुनै कमी छैन । यसको नेपथ्यमा उनीहरूले जन्म–जात पाएका भौतिक र अभौतिक संरचना तथा तिनका लाभांशलाई कदापि बेवास्ता गर्न सकिँदैन ।

चाहे आन्दोलनबाट होस् या निर्वाचनबाट, चाहे बुलेटबाट होस् या ब्यालेटबाट, जुनसुकै माध्यमबाट स्थापित दलका दलपतिहरूको व्यक्तित्व र नेतृत्व निर्माणमा, उनीहरूको राजनीतिको केन्द्रमा, उनीहरूको राजनीतिक पक्षधरताको सेरोफेरोमा पनि जन्म–जात पाएका भौतिक र अभौतिक संरचनाले मूल भूमिका खेलिरहेको त छैन ? उदाहरणका लागि, जनताको मतदानबाट घण्टी बजाएको नवीनतम दल राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक अध्यक्ष रवि लामिछानेको सत्ता आरोहणमा उनको जन्म, जन्मसँग जोडिएको जात–थरको विरासत, जात–थरसँग टाँसिएको उनको खस–आर्य समुदायको पहिचान, त्यस समुदायका शासकहरूको भाषामाथि पकडले बलियो भर्‍याङ र खुड्किलाका रूपमा काम गरे कि गरेनन् ? यस्ता सामाजिक–राजनीतिक पुँजीसहितको नयाँ नेतृत्वले जन्म–जात पाएका भौतिक र अभौतिक संरचना तथा तिनका लाभभन्दा बाहिर गएर, त्यसबाट मुक्त भएर भिन्न, उन्नत र लोकतान्त्रिक चिन्तन र जनमुखी काम गर्न सक्छन् ? यसरी प्रश्नमाथि प्रश्न गर्ने क्रममा रवि लामिछाने वा अन्य नेतालाई अब सवाल गर्नुपर्ने हुन्छ- तिम्रा हेराइ, बुझाइ र गराइलाई निर्देशित गर्ने वर्ग र वर्ण के हो दलपति ? ती वर्ग र वर्णबाट मुक्त भएर राज्य र समाजको लोकतन्त्रीकरण गर्न सक्छौ ?

नेतृत्वको वर्ग, वर्ण र वर्चस्व

नेपाली राज्य र समाजको संरचना एवं चरित्र जस्तो छ, तिनको नेतृत्व र वैचारिकीमा पनि त्यसको प्रतिविम्बन हुन्छ । गोर्खा साम्राज्य र त्यसपछिको नेपाली राज्यमा खस–आर्य समुदायका छ–थर (थरघर) राजनीतिक कुलीन पुरुषमा एकाधिकार रहेको महेशचन्द्र रेग्मीको भनाइ छ । लोकराज बराल, कृष्ण हाछेथु र हरि शर्माका अनुसार नेपाली कांग्रेस र एमालेजस्ता ठूला राजनीतिक दलसँगै अधिकांश राजनीतिक दलको नेतृत्वमा

ब्राह्मण–क्षत्रीजस्ता सवर्ण जात–समूहसँगै ‘थजात’ (उपल्लो जात) का नेवाःको प्रभुत्व छ । यसले मुलुकका सामाजिक, आर्थिक, प्रशासनिक मात्रै होइन, राजनीतिक संरचनामा पनि ‘उच्च जात–समूह’ को उच्च उपस्थिति र माथिल्लो हैसियतलाई देखाउँछ । राजनीतिमा पहाडी जात–समूहको प्रभुत्वको जरो कारण हो- समाजलाई हिन्दु वर्णव्यवस्था अन्तर्गत तहगत संरचनामा बाँड्ने जात–व्यवस्था र त्यसलाई लागू गर्ने हिन्दु राज्य ।

त्यसको छाया राजनीतिक नेतृत्वका संरचना र तिनका नीति–नियम–नियतमा देखिन्छ । प्रजापरिषद्, कांग्रेस र नेकपाका संस्थापकका वर्ग, वर्ण र वंश स्रोत हेर्न सकिन्छ । राजेश गौतमका अनुसार प्रजापरिषद्का सदस्यहरू उच्च वर्गका सन्तान थिए । यस पार्टीमा मूलतः ब्राह्मण, क्षत्री र नेवाःको सहभागिता थियो भने शूद्रहरू शून्य थिए । यसका सदस्यहरू राणा सरकारका भारदारका छोरानाति थिए, जो आफ्ना बाबुको मृत्युपछि स्वतः उक्त पदमा जागिरे हुन्थे । सरकार र व्यवस्थाबाट दुःख, गरिबी र शोषणको अनुभूति गर्न नपाएका उनीहरू राणाका सन्तानबाट पाएको अपमान र हीनताबोधका कारण असन्तुष्ट तप्का थिए ।

प्रदीप गिरिको विचारमा राणाकै वरिपरि हुर्किएका, राणाद्वारा नै सेवित र पोषित, तर राणाको राजदरबारमा भूमिका खोसिएर बिदेसिनुपरेका खलकका सन्तान नै कांग्रेसको नेतृत्व–पंक्तिमा थिए । नेकपाका संस्थापक पुष्पलालका अनुसार प्रजापरिषद् र कांग्रेसमा विशेष गरी सहर–बजारका, त्यसमा पनि खास गरी उपत्यकाका तीन सहरका ठूला–साना मध्यमवर्गीय व्यक्ति थिए । यी पार्टीहरू संगठनको परिपाटीमा संगठित नभई नेताहरूकै व्यक्तित्वको आधारमा भुले । राणाशासनको अन्त्यपछि उनीहरूले पुँजीवादी जनतान्त्रिक अधिकार हनन गर्दै राजाको शक्ति मजबुत पार्ने तथा जनवादी शक्तिलाई कमजोर पार्ने कार्यमा अग्रिम भूमिका खेले । अतः ‘नेता प्रधान होइन, नीति प्रधान’ गरी सोच्ने बेला आएको छ ।’

नेकपामा ब्राह्मण पुरुष–सत्ता

पुरानो शासन व्यवस्था र शासक वर्गमा मात्रै फेरबदल गर्ने लक्ष्य राखेका दलमा निश्चित जात समूहका राजनीतिक कुलीन पुरुषको एकाधिकार हुनु अस्वाभाविक होइन । त्यस्तै, तिनीहरूमा राज्य र समाजको आमूल परिवर्तनको एजेण्डा नहुनु र लोकतान्त्रिक संगठन नहुनु पनि स्वाभाविकै हो । तर राज्य र समाजकै आमूल परिवर्तनको उद्घोषका साथ क्रियाशील कम्युनिस्ट पार्टीमा पनि त्यस्तो वर्णीय, लिंगीय र धार्मिक समूहको एकाधिकार कायमै रहनु तथा त्यसलाई संरचना, प्रक्रिया र पद्धतिमा हेरफेर–सुधारबाट तोड्न नखोज्नु विडम्बना नै हो ।

आहुति (विश्वभक्त दुलाल) का अनुसार नेकपा स्थापना गर्ने पुष्पलाल, नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य र नारायणविलास जोशी सबै नै नेवाः समुदायभित्रका हिन्दु ‘उच्च जात’ का सदस्य थिए, पछि गएर ब्राह्मण पुरुष–सत्ता स्थापित भयो । ७० वर्षभन्दा लामो लोकतान्त्रिक प्रक्रियामा क्रियाशील रहेका पार्टीको नेतृत्वको बनोटमा हिन्दु सामन्तवादी संरचनाको प्रत्यक्ष प्रतिविम्ब जबर्जस्त रूपमा देखिँदै आएको छ । यसको एउटा मुख्य कारण राजनीतिक आन्दोलनले हिन्दु सामन्तवादी संरचनालाई ठीक ढंगले निरूपण नगर्नु हो । यस्तो वर्णीय पृष्ठभूमिकै परिणामस्वरूप हिन्दु सामन्तवादी संरचनालाई सही रूपमा पहिचान गर्ने र त्यसलाई परिवर्तन गर्ने संघर्षको मामिलामा पनि समस्या हुँदै आएको छ ।

राजनीतिक नेतृत्वको वर्ग र वर्णको स्रोत तथा त्यस स्रोत, स्रोतजन्य संस्कृतिमाथि आत्मसमीक्षाको अभावका कारण राजनीतिक नेतृत्वको बनोटमा परिवर्तन भएको छैन । परिणामस्वरूप, त्यसका हित, स्वार्थ र आचरण पनि पीडित जनका संगठन र मुद्दासँग बाझिने गरेको पाइन्छ । नेतृत्वको वर्ग–स्रोत र वर्गीय समस्याबीचको अन्तरद्वन्द्वतिर हेक्का राखेका मानवशास्त्री स्टेफन माइकसेलका अनुसार, आम रूपमा उच्च जात, मुख्यतया बाहुन, भूस्वामीहरू र साना व्यापारीहरूका बीचबाट बनेको पार्टी नेतृत्वको सामाजिक वर्ग र त्यसले नेतृत्व गर्ने भनिएका मजदुर वर्ग तथा किसान जनमतबीच अझै पनि गहिरो विभाजन छ । फलतः वर्गसंघर्षसमेत बडो सजिलोसँग आफ्नो वर्गीय शासनको आयोजनामा परिणत हुन सक्छ, जब नेतृत्वका सामाजिक स्वार्थहरू वास्तवमा मजदुर वर्गका हितहरूसँग मेल नखाने हुन्छन् । यस्तो विभाजन र अन्तरद्वन्द्व नेपालमा उत्पीडनसँग जोडिएका दलित, जनजाति, महिला, मधेशी र अन्य समुदायका न्यायिक मुद्दाको बेवास्तामा अभिव्यक्त भएको पाइन्छ ।

अर्काको हली पो भइएछ कि ?

यसरी आमूल परिवर्तनकारी मानिने दलमा पनि पुरानै वर्ग र वर्णका राजनीतिक कुलीन पुरुषको एकाधिकार कायम रहेकाले दलका नारा, नेतृत्व र त्यसको आचरणबीच विशाल खाडल देखिएको छ । त्यसले नेपाली राज्य र समाजसँगै राजनीतिक दलको संरचना, नेतृत्व प्रणाली एवं आधारभूत वर्ग/वर्ण/जनका संगठनसँग त्यसको सम्बन्धलाई पनि फेरबदल गर्नका लागि ताकेता गरेको छ । त्यसैले राजनीतिक दल र नेतृत्वबाट घोषित अनेक नारासँग र क्रियान्वयनबीच देखिएको अन्तरविरोध उजागर गर्दै हर्क गुरुङले चेताएका थिए- ‘राजनीतिक दलहरूका विधान र चुनावी घोषणापत्रमा समानता तथा सामाजिक न्याय सम्बन्धी प्रशस्त प्रतिबद्धता पाइन्छ । ठूला दलहरूका त पिछडिएका तथा शोषित समुदायका नाउँमा भ्रातृ संगठनहरू पनि छन् । तर पनि सो दलहरू शासनमा हुँदा उपेक्षित र शोषितका मुद्दाहरू किन ओझेलमा पर्दछन् ? यसबारे नेपाली राजनीतिका जानिफकार स्टेफन माइकसेलको निर्क्योल यस्तो छ । एक, राजनीतिक दलहरू सम्भ्रान्त वर्गबाट सञ्चालित हुनाले पिछडिएका समूहका समस्याप्रति प्रतिबद्ध छैनन् र दुई, तिनका भ्रातृ संगठनहरू दल–नेतृत्वका स्वार्थहरूसँग बढी सरोकार भएका चुनावी उद्देश्यहरूका लागि आपसमा भिड्नतिर लागे । पहिलो कुरा साँचो हो भने राजनीतिक नेताहरूले गम खानुपर्‍यो । दोस्रो कुरा ठीक हो भने, भ्रातृ संगठनमा संलग्न उपेक्षित अगुवाहरूले अर्काको हली पो भइएछ कि भनी विचार पुर्‍याउनुपर्‍यो ।’

करिब दुई दशकअघि र पछिको राजनीतिक नेतृत्वको जातीय संरचना र प्रभुत्वमा कुनै परिवर्तन आएको छैन, राजतन्त्रसँगै कमजोर भएको क्षत्रीहरूको प्रभुत्वलाई कांग्रेसले थाम्न खोजिरहे पनि एमाले, माओवादी र अन्य दलमा ब्राह्मण एकाधिकार प्रबल छ । मधेशवादी दलमा पनि उच्च र मध्यम जातको प्रभुत्व रहेको अवस्थामा जनमत पार्टी पनि मध्यम जातको एकाधिकारबाट अलग होला भन्न सकिन्न । स्वतन्त्र वा अन्य नयाँ राजनीतिक दलमा पनि ब्राह्मण कुलीन पुरुषहरूकै एकाधिकार रहने स्थितिमा समता र समावेशिताका राजनीतिक–सामाजिक मुद्दा आकाशको फल हुन सक्छ । समावेशी लोकतन्त्रका खतराको रूपमा रहेका यस्ता संरचना र प्रवृत्ति हुँदासम्म भुइँतहका जनताबाट सवाल उठाइनु जरुरी हुन्छ- पार्टनर तिम्रो राजनीति के हो ? तिम्रो राजनीतिले कसलाई पोस्छ ? आम मान्छेको राजनीतिक गफ गर्ने दलमा खास–खास जातका लोग्ने–मान्छे मात्रै नेतृत्वमा किन ? समाज र राज्यको नेतृत्वमा फरिवर्तन नगरीकन लोकतन्त्रको लोकतन्त्रीकरण कसरी हुन्छ ?

प्रकाशित : मंसिर १३, २०७९ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्

मिडियामा दलित किन अझै पछि ?

जात व्यवस्था र दलितका मुद्दामा नियमित लेख्ने लेखक र अभियन्ता औंलामा गन्न पनि नपुग्ने अवस्थामा सक्षम जनशक्तिको विकास जरुरी छ । दलित समुदायका लेखक, सम्पादक र संस्थाहरूले पठन र लेखनका लागि इन्टर्नसिपको संयोजन र व्यवस्थापन गर्न सक्छन् ।
राजेन्द्र महर्जन

दुई दशकअघि नेपालमा राज्य पुनःसंरचनाको बहसले सामाजिक वृत्त तताएको थियो र सामाजिक उथलपुथलपछि राज्य पुनःसंरचनाले राजनीतिक–संवैधानिक वृत्तमा वैधता र वैधानिकता पाएको थियो । विडम्बना, राज्य पुनःसंरचनाका अभियन्ताहरूले पनि राज्यको ‘चौथो अंग’ को पुनःसंरचनालाई खासै ध्यान दिएनन् । र, केही दशकदेखि सुरु भएको मिडिया पुनःसंरचनाको आवाज आज केही लेख र प्रतिवेदनमा कैद छ ।

मिडियासँग जोडिएका पेसागत संगठन सांकेतिक रूपमा समावेशी हुने क्रममा रहे पनि मिडिया भने समावेशी भएका छैनन् । मिडिया प्रतिष्ठान, तिनका प्रकाशन, तिनका कर्मीहरू पुनःसंरचित भएका छैनन् ।

नेपाली राज्यजस्तै, त्यसको चौथो अंग भनिने मिडिया पनि पुनःसंरचित र लोकतान्त्रिक भएको छैन । खासमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको एकल अनुहारभन्दा भिन्न छैन पत्रकारिता पनि । त्यसैले, लेखक सीके लालको भाषामा, मिडिया राज्यको चौथो खम्बा भएको छ, स्वायत्त अंग भएको छैन । राज्यकै मिडियाका रूपमा रहेका संस्थानको आन्तरिक संरचना, समाचारकक्ष र विचार–पृष्ठका लेखकहरूको सूची हेर्दा एकल जात–जातिका पुरुष–प्रभुत्वको चित्र प्रस्ट देखिन्छ । बजारबाट निर्देशित मिडियाको रूपरंग पनि राज्यका सबैजसो अंगको अनुहारभन्दा भिन्न देखिँदैन ।

मिडियाको जातीय अनुहार

अध्येता प्रत्यूष वन्त भन्छन्- नेपाली मिडिया नेपाली जनताको आवाज वा पब्लिक वाचडगको भूमिकारूपी चौथो अंग होइन, बरु राज्य सञ्चालनका पहिला तीन अंगजस्तै समाजका एक–अर्को सम्भ्रान्त शक्तिरूपी चौथो अंगको भूमिकामै बढी रुमलिरहेको देखिन्छ । नेपाली मिडिया जगत्मा मूलतः ब्राह्मण–क्षत्री र केही नेवाः पुरुष हावी छन् । यस कारणले नेपाली मिडियाले समाजको बहुलता र विविधताको प्रतिनिधित्व गर्न सकिरहेको छैन । यसले गर्दा नेपाली मिडियाको विश्वसनीयता र लोकतान्त्रिक संरचनामा प्रश्नचिह्न उठाउने ठाउँ छ । (नेपाली मिडियामा दलित तथा जनजाति, २०५८)

जसरी नेपाली राज्य दलित र जनजातिको कोणबाट पुनःसंरचित भएको छैन, त्यसरी नै राज्यका अन्य अंगजस्तै चौथो अंग पनि पुनःसंरचित नहुँदा लोकतन्त्रीकरण नै अधुरो र अपुरो छ । नेपाली राज्यजस्तै मिडिया पनि काठमाडौंकेन्द्रित भएका तथा एकल भाषा, लिंग, क्षेत्र र जातको प्रभुत्व तथा तिनकै वैचारिक वर्चस्व रहेका कारण पनि जात व्यवस्था र दलितका सवाल समाज र राज्यको पुनःसंरचनासँगै लोकतन्त्रीकरणका आधारभूत मुद्दा बन्न सकेका छैनन् । खासमा जात व्यवस्था कुनै अछुत, कुनै तल्लो जात, कुनै दलित, कुनै जात व्यवस्थाविरोधी समूहको मात्रै मुद्दा नै होइन । किनभने, नेपालमा सयौं वर्षदेखि थिति र आइन (ऐन) नै बनाएर जात व्यवस्थाको तहगत संरचनामा गाँसिएका र एकले अर्कोलाई विभेद नगरे सजायको भागीदार नै बनाइएका सबै जात र जाति जातको जालोबाट पटक्कै अछुतो छैनन्, तह र विभेदको मात्रा थपघट भए पनि ।

हुन त मिडियाले कैयौं अवास्तविक विषयलाई समेत वास्तविकजस्तो मात्रै होइन, सनसनीपूर्ण बनाएका उदाहरणको कमी छैन । तर, वास्तविक मात्रै होइन, तीतो सत्य, गहिरो यथार्थ र शताब्दियौंको दुःख–पीडा तथा संघर्ष–प्रतिरोधको विषय बनेको जात व्यवस्था र दलितका सवालसमेत एकल प्रभुत्वको मिडियाले वास्ता नगरेकै कारण अवास्तविक, अदृश्य र असान्दर्भिकजस्ता देखिएका छन् । यस्तो बेवास्ताले गर्दा राज्य, समाज, परिवार र व्यक्तिको लोकतन्त्रीकरण र मानसिक पुनःसंरचनासमेत कमजोर बनेको छ । यस्तो राजनीतिक–सांस्कृतिक दुरवस्था जात व्यवस्था र त्यससँग जोडिएका संरचना–संस्कृतिको लाभांश पाउँदै आएका समुदाय, शक्ति र व्यक्तिका हकमा सबैभन्दा असहज प्रश्नका रूपमा उपस्थित छ ।

विचार–निर्माणमा एकाधिकार

नेपाली मिडियाको एउटा अनुहार विचार–पृष्ठमा पनि कोरिएको देखिन्छ, जुन नेपाली समाजको विविधता र बहुलतासँग मेल खाँदैन । विचार–पृष्ठमा छापिने व्यक्ति र तिनका लेखरचना हेर्दा पुनःसंरचना नभएको नेपाली मिडियाको मुहार नै देखिन्छ, जुन नेपाली राज्यको भन्दा पटक्कै भिन्न छैन । अध्येता शिवहरि ज्ञवालीले गोरखापत्र, अन्नपूर्ण पोस्ट, कान्तिपुर, नयाँ पत्रिका, नागरिक, राजधानी र समाचारपत्र दैनिकका विचार–पृष्ठमाथि अध्ययन गर्दा विचार निर्माण गर्ने मिडियामा पनि असमावेशिता देखिएको छ । उनको अध्ययन अनुसार, २०७२ असोजमा ती सातवटा दैनिक पत्रिकामा कुल ७२९ जना लेखकले विचार–पृष्ठमा लेख (अप–एड) लेखे । दैनिक औसत २४ वटाका दरले छापिएका लेखमध्ये करिब २० लेख ब्राह्मण–क्षत्रीकै थिए । यसरी लेख्नेमध्ये करिब ८३ प्रतिशत ब्राह्मण–क्षत्री, करिब ९.५ प्रतिशत जनजाति, ५ प्रतिशत मधेशी, १.५ प्रतिशत विदेशी र १ प्रतिशत दलित थिए । उनीहरूमा पनि ९५ प्रतिशत पुरुष थिए । विडम्बना, संविधानको प्रशस्तिमा कलम चलाउने सबैजसो लेखकमध्ये कुनै पनि गैरदलितले जात व्यवस्था र दलित सवालमा लेख लेखेनन् । कान्तिपुर, नागरिक र अन्नपूर्ण पोस्टमा एकाध लेखमा सन्दर्भवश मात्रै जात व्यवस्था र दलित समुदायका विषय समेटिए ।

त्यस्तै, मैले २०७९ जेठ महिनाभरि गोरखापत्र, अन्नपूर्ण पोस्ट, नागरिक, नयाँ पत्रिका र कान्तिपुरका विचार–पृष्ठबारे अध्ययन गर्दा पनि मिडियाको अनुहारमा भिन्नता आएको देखिनँ । ती पाँचवटा दैनिक पत्रिकामा छापिएका कुल ३९५ वटा लेखमध्ये ३०७ वटा लेख (करिब ७८ प्रतिशत) का लेखक ब्राह्मण–क्षत्री समुदायका देखिए भने ११ जना (करिब ३ प्रतिशत) मात्रै दलित समुदायका पाइए । समग्रमा हेर्दा राज्यका सबै अंगमा जस्तै मिडियामा पनि ब्राह्मण–क्षत्री, त्यसमा पनि मूलतः पुरुष लेखकको प्रभुत्व छ भने दलितको उपस्थिति एकाधमा सीमित छ । यो परिदृश्यमा दुई दशकयताको राजनीतिक परिवर्तनपछि पनि खासै फेरबदल आएको देखिँदैन ।

विचार–पृष्ठ र स्तम्भबाट बेपत्ता दलित

२०५७ सालमा अनुसन्धाताहरू शेखर पराजुली र भास्कर गौतमले गरेको अध्ययनमा उपत्यकाबाहिरका दैनिक र साप्ताहिक गरी ७३ वटा पत्रिकाका २९८ स्तम्भकारमा दलितको उपस्थिति शून्य थियो । उपत्यकाभित्रका ४१ प्रकाशनका २४८ जना स्तम्भकारमा दलितको संख्या ६ जना (२.४ प्रतिशत) थियो । यस सूचीबाट दलितप्रधान पत्रिका ‘जनउत्थान’ लाई हटाइयो भने दलित स्तम्भकारको संख्या केवल १ जना हुन्थ्यो (नेपाली मिडियामा दलित तथा जनजाति, २०५८) । २०७९ जेठ महिनाभरिका लेख र लेखकबारे गरिएको अध्ययनमा पनि पाँचवटा राष्ट्रिय अखबारमध्ये ‘कान्तिपुर’ मा एक जनाबाहेक अरू कुनै पत्रिकामा दलित समुदायका स्तम्भकार देखिएनन् । यसले पनि विचार–निर्माणमा दलितको पहुँच खासै नभएको, गैरदलितमध्ये पनि विशेषतः ब्राह्मण–क्षत्रीको एकाधिकार रहेको तथा जात व्यवस्थाबारे वैचारिक, सैद्धान्तिक र तथ्यमूलक विमर्श नै हुने नगरेको थप पुष्टि हुन्छ ।

दोस्रो जनआन्दोलनको उभारताका जागरण मिडिया सेन्टरले २०६१, २०६२ र २०६३ सालभित्र नौवटा राष्ट्रिय दैनिकमा छापिएका दलितकेन्द्रित लेखहरूको विश्लेषण गरेको थियो । तीन वर्षमा नौवटा पत्रिकामा दलितकेन्द्रित लेख जम्मा ४१६ वटा प्रकाशित भएको, औसत एक दैनिकले एक महिनामा एउटाभन्दा बढी लेख नछापेको तथ्य देखिएको थियो (जेबी विश्वकर्मा, नेपाली मिडियामा दलित : सहभागिता र विषयवस्तु, २०६९) । २०७९ जेठको मेरो अध्ययन अनुसार पाँचवटै पत्रिकाका विचार–पृष्ठमा एक महिनामा जात व्यवस्था र दलित सवालबारे ८ वटा मात्रै लेख छापिएका थिए । यसले पनि देखाउँछ, एउटा पत्रिकाले सालाखालामा दुईवटा लेख पनि छापेको पाइएन । यसलाई हेरेर प्रत्येक महिना प्रत्येक पत्रिकाले देखाउने प्रवृत्ति यही नै हो भनेर ठोकुवा गर्नु मनासिब नहोला, तर यसले अत्यन्त खराब संकेत भने पक्कै गरेको छ । पहिलेका तुलनामा जात व्यवस्था र दलित सवालबारे लेखन बढे पनि, विशेष गरी शनिबारका विशेष अंकमा दलित लेखकको उपस्थिति बढे पनि यसबाट धेरै उत्साहित हुने अवस्था छैन ।

समग्र विचार–पृष्ठमा सबै जात र जातिका नेपाली समाजलाई निर्देशित गरिरहेको जात व्यवस्थाबारे गैरदलित लेखक, सम्पादक र मिडियाको बेवास्ता टीठलाग्दो देखिन्छ । यसले पनि दैनिक पत्रिकासँगै समग्र नेपाली मिडियाको पुनःसंरचनाको आवश्यकतातिर जब्बर संकेत गरिरहेको छ ।

बेहोरिएका चुनौती

एकातिर मिडियाको पुनःसंरचना लगायतका ठूला कामकुराको आवश्यकता त छँदै छ, त्यससँगै जात व्यवस्था र दलितका सवालमा लेखनसामु अजंगको चुनौतीको पहाड पनि छँदै छ । त्यस्ता चुनौतीपूर्ण केही सवाल हुन्— दलित र गैरदलितलाई जात व्यवस्था र दलितका सवालमा लेख्नका लागि कसरी आकर्षित गर्ने ? नयाँ पुस्तालाई यस क्षेत्रमा कसरी प्रेरित गर्ने ? कसरी नयाँ–पुराना लेखक र अभियन्ताको लेखनसीपलाई माझ्ने, विषयवस्तुमा गहिरो ज्ञान दिलाउने र लेखन क्षेत्रमै टिकाउने ? पत्रकारिता र लेखनबाट जीविकोपार्जन नहुने अवस्थामा टेको दिने सामुदायिक प्रवर्द्धन र सहयोगी संरचना कसरी बनाउने ? अध्ययन, अनुसन्धान र लेखनका लागि आर्थिक सहयोग जुटाउने उपाय के होला ? मिडियामा कम संख्यामा उपस्थित समुदायका पत्रकार, लेखक र अध्येतालाई प्रोत्साहित गर्न राज्यले र बजारमा आधारित मिडियाले के गर्न सक्छन् ?

त्यस्तै, जात व्यवस्था र दलित सवाल सम्बन्धी लेखनका क्रममा निजी भोगाइको सीमालाई प्रतिरोधका विमर्शसम्म कसरी विस्तार गर्ने ? मनुस्मृति, जयस्थिति मल्लको थिति र जंगबहादुर राणाको मुलुकी ऐनका कथाको पुनरुक्ति हटाएर ती सबै ऐतिहासिक सन्दर्भको राजनीतिक–आर्थिक–सांस्कृतिक चिरफार कसरी गर्ने ? वर्तमानको भोगाइ, सैद्धान्तिक ज्ञान, नयाँ तथ्य, आधुनिक तर्कका आधारमा विश्लेषणात्मक लेखन बढाउने कसरी ? यी प्रश्नको पनि सम्यक् उत्तर खोज्न जरुरी देखिएको छ ।

कुनै शंका छैन, अबको लेखनमा जात व्यवस्था र दलितको मुद्दाको आर्थिक, राजनीतिक र सांस्कृतिक चिरफारको व्यापक खडेरी हटाउने गरी अध्ययन, अनुसन्धान र लेखन आवश्यक छ, जसले जात व्यवस्थाको अन्त्य र न्यायपूर्ण समाज निर्माणका लागि जारी दलित आन्दोलनलाई नयाँ दिशा–निर्देश गर्न सक्छ । जात व्यवस्था र दलितका मुद्दामा नियमित लेख्ने लेखक र अभियन्ता औंलामा गन्न पनि नपुग्ने अवस्थामा सक्षम जनशक्तिको विकास जरुरी छ । दलित समुदायका लेखक, सम्पादक र संस्थाहरूले पठन र लेखनका लागि इन्टर्नसिपको संयोजन र व्यवस्थापन गर्न सक्छन् ।

अबको रणनीति

नयाँ–नयाँ लेखक जन्माउन; उनीहरूमा दलित मुद्दामा ज्ञान, क्षमता र लेखन–सीप विस्तार गर्न तथा उनीहरूका लेखरचना मूलधारका अखबारमा नियमित छाप्न सकिने सम्भावना बढ्दो छ । त्यसको उपयोगका लागि प्रशिक्षण, मेन्टरसिप र व्यवस्थापन गर्नमा दूरदृष्टि, इच्छाशक्ति र स्रोत–साधनको जरुरत हुन्छ । जुनसुकै समुदायका न्याय र समताको पक्षधर लेखक र सम्पादकले पनि प्रशिक्षण र मेन्टरसिपका लागि कुनै न कुनै दायित्व वहन गर्न सक्छन् ।

दलित लेखनप्रति सम्पादक र लेखकहरूमा संवेदनशीलता बढेको अवस्थामा दलित मुद्दामा लेख्ने जनशक्तिको विकासका लागि; उपलब्ध जनशक्तिको ज्ञान, क्षमता र सीपमा अभिवृद्धिका निम्ति मिडियामा पहुँच विस्तार गर्न सबै दलित संघसंस्थाको पनि मिडिया–रणनीति बनाउन सके बेस हुन्छ । अप–एड सम्पादक, कार्यकारी सम्पादक र सम्पादकहरूसँग सम्बन्ध विस्तार; उनीहरूसँग मधुर सम्बन्ध रहेका गैरदलित लेखक–सम्पादकसँग सहकार्य त्यस्ता रणनीति हुन सक्छन् । दलित जनशक्तिको विकास गर्नुको उद्देश्य दलित र गैरदलितहरूमा जात व्यवस्था र दलित सवालबारे दलितकै नजरबाट बुझाइ र गहन आलोचनात्मक लेखाइको विकाससँगै मूलधारका मिडियामा पहुँच र स्पेस विस्तारका लागि सक्षम बनाउनु हुन सक्छ ।

त्यस्तै, मिडियाले ‘कर्पोरेट सामाजिक दायित्व’ को नाममै भए पनि आफ्ना संस्थामा दलित जनशक्ति विस्तारका लागि लगानी गर्ने नीति र कार्यक्रम बनाउन सक्छ । मिडियामा पनि लोकतन्त्रीकरण, दलित स्पेस र दलितप्रति संवेदनशीलता विस्तारका लागि व्यवस्थापक–सम्पादकहरूलाई प्रभावमा पार्न र दबाब दिन सकिन्छ । दलित र सबै उत्पीडितजनका पक्षमा मिडियाको लोकतन्त्रीकरण वा पुनःसंरचना कुनै समुदाय र अभियन्ताको मात्रै दायित्व होइन, आफूलाई लोकतन्त्रको मसिहा ठान्ने राज–सत्ता र मिडिया–सत्तासँगै विचारनिर्माता लेखकहरूको फनि कर्तव्य हो कि ?

प्रकाशित : कार्तिक २९, २०७९ ०७:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×