कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भोट बैंक मात्रै होइनन् ज्येष्ठ नागरिक

मधु राई

संयुक्त राष्ट्र बालकोषमा २९ वर्ष काम गरेका ७२ वर्षीय श्रीमान्को दैनिकी बिहान पाँच बजे सुरु हुन्छ । घरका सदस्य नउठ्दै बिहानको चिया पकाएर खाएपछि एक घण्टा व्यायाम गर्ने श्रीमान् बेलुकी प्रायः आफैं खाना बनाएर खाने गर्नुहुन्छ । बेलुकीपख सधैंजसो कौसीमा पानी हाल्नु उहाँको दैनिकीमा पर्छ । जागिरे जीवनमा गाडी चलाउन सिकेका श्रीमान् अझै पनि लामो यात्रा गर्न रुचाउनुहुन्छ ।

भोट बैंक मात्रै होइनन् ज्येष्ठ नागरिक

यसरी श्रीमान्जस्ता कतिपय ज्येष्ठ नागरिकले पनि व्यक्तिगत रूपमा शारीरिक र मानसिक स्वास्थ्यका लागि सक्रिय जीवनशैली अपनाउने गरेका छन् । यस्तो जीवनशैलीले घरपरिवार र समाजमा जीवनको उत्तरार्द्धमा पनि सक्रिय जीवन बिताउन सकिन्छ भन्ने सकारात्मक सन्देश प्रवाह गरिरहेको छ ।

कतिपय ज्येष्ठ नागरिक भने समग्र ज्येष्ठ नागरिकहरूको हकहितका लागि सामाजिक कर्ममा होमिएका छन् । ३५ वर्ष प्रहरी सेवामा आफ्नो ऊर्जाशील उमेर खर्चेका छत्र प्रधान तीमध्ये अग्रपंक्तिमा पर्नुहुन्छ । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्षसमेत रहेका प्रधानले १८ वर्षदेखि ज्येष्ठ नागरिकहरूका विविध मुद्दामा पैरवीकर्ताको भूमिका निर्वाह गर्दै आउनुभएको छ । महासंघले सबै जिल्लामा शाखा विस्तार गरेको छ ।

हामी नेपाली जीवनको ६० औं वसन्त पार गरेपछि आफूलाई बुढेसकालले छोयो भनेर चिन्तित हुन थाल्छौं । कतिपय मानिस जीवनको पूर्वार्द्धमा सक्रिय भए पनि उत्तरार्द्धमा निष्क्रिय जीवनशैली अपनाउन थाल्छन् । निष्क्रिय जीवनशैली अपनाउने कतिपय ज्येष्ठ नागरिकमा यही कारण शारीरिक–मानसिक रोग देखा पर्न थालेको छ । निष्क्रिय जीवनशैली अपनाउने अधिकांश ज्येष्ठ नागरिक कालान्तरमा घरपरिवार र समाजबाट दूरीको जीवन बिताउने गरेको आफ्नै टोलछिमेकमा देख्न सक्छौं ।

एउटा अध्ययन अनुसार, घरपरिवार र समाजबाट परपरै रहनेहरूमा विस्मृतिको रोग बढी देखिने गरेको छ । यस्तै विस्मृति रोगका कारण कतिपय ज्येष्ठ नागरिक परिवारका सदस्यलाई नभनी सुटुक्क घर छाड्ने गर्छन् । धेरै वर्षअघि मैले चिनेका दुई जना ज्येष्ठ नागरिक परिवारलाई थाहै नदिई घर छाडेको घटना मेरो मानसपटलमा ताजै छ । पछिल्लो समय वैदेशिक रोजगारी तथा अध्ययनका लागि छोराछोरी बिदेसिन थालेपछि ज्येष्ठ नागरिकहरूको दैनिकी झनै कष्टकर बन्दै गएको छ । बिदेसिएका अधिकांश छोरानाति पुस्ताहरूमा सामाजिकीकरणको पूर्णतया कमी देखिन्छ । किनभने तिनीहरू बेलाबेला आफन्तजनसँग भेटघाट गर्न स्वदेश आए पनि अधिकांशले धरातल बिर्संदै गएको देखिन्छ । यसले गर्दा पनि डाँडाको घाम बनिसकेका ज्येष्ठ नागरिकहरूको उत्तरार्द्ध कष्टकर बन्दै गएको छ । यस्तै कारणले पनि बहुसंख्यक ज्येष्ठ नागरिकहरू कुण्ठाग्रस्त जीवन बिताउन बाध्य छन् । कतिपय यस्ता ज्येष्ठ नागरिकहरू बाहिरबाट सुखी र सम्पन्न देखिए पनि मानसिक रूपले अस्वस्थ बन्दै गएका छन् ।

त्यसो त स्वदेशमै आफ्ना छोराबुहारीसँग बस्दै आएका अधिकांश ज्येष्ठ नागरिक छोराबुहारी रिसाउँछन् कि भनेर पनि धेरै कुरा व्यक्त गर्न सक्तैनन् । जनजीविकाका लागि छोराबुहारीमा आश्रित कतिपय ज्येष्ठ नागरिक आफूले भनेजस्तो सक्रिय जीवनशैली अपनाउन सक्तैनन् ।

हिजोका दिन गाँस, बास र कपासको खोजिमा बिदेसिन बाध्य बाबुबाजे पुस्ता र आज उच्च शिक्षा लगायत राम्रो अवसरको खोजीमा बिदेसिएका छोरानाति पुस्ताबीच नपुरिने खाडल तयार हुँदै छ । छोरानाति पुस्ताको बदलिँदो जीवनशैली र मानसिकतालाई सहजै ग्रहण गर्न बाबुबाजे पुस्तालाई सकस परेको छ ।

विश्वमा हाल ६० वर्षमाथिको जनसंख्या ९० करोड छ भने, नेपालमा चाहिँ २०६८ सालको जनगणना अनुसार कुल जनसंख्याको ९.१ प्रतिशत छ । संयुक्त राष्ट्रसंघका पछिल्लो अध्ययन अनुसार १ जना शिशु जन्मिँदा ३ जना ज्येष्ठ नागरिक तयार भइसकेका हुन्छन् । राष्ट्रिय योजना आयोगको एउटा प्रक्षेपण अनुसार, नेपालमा ६५ वर्षमाथिका नागरिकको संख्या सन् २०२८ मा कुल जनसंख्याको ७ प्रतिशतभन्दा बढी र सन् २०५४ मा १४ प्रतिशतभन्दा बढी हुनेछ (नेपाल साप्ताहिक, २०७६ भदौ १) । यसरी नेपालमा मात्रै हैन, विश्वभरि नै ज्येष्ठ नागरिकहरूको संख्या बढ्दै छ । तीमध्ये नगण्यले मात्र जीवनको उत्तरार्द्धमा सक्रिय जीवन बिताउने अवसर पाएका छन् ।

नेपालको संविधानको धारा ४१ मा ‘ज्येष्ठ नागरिकहरूलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भनिएको भए पनि, ऐनमा ज्येष्ठ नागरिक कल्याण कोष एवं हेरचाह केन्द्र वा दिवा सेवा केन्द्रको स्थापना र सञ्चालन सम्बन्धी व्यवस्था गर्ने भनिएको भए पनि सरकार वृद्धभत्ता बाँडेर पन्छिने गरेको छ । पछिल्लो समय बरु नागरिकस्तरबाट स्वतःस्फूर्त रूपमा ज्येष्ठ नागरिक दिवा केन्द्र तथा वृद्धाश्रम स्थापना तथा निर्माण गर्न थालिएको छ । यस्ता दिवा केन्द्र तथा वृद्धाश्रम निर्माणमा राज्यले आंशिक रूपमा आर्थिक सहयोग गरे पनि सञ्चालन खर्च ज्येष्ठ नागरिकहरू स्वयंले जोहो गर्दै आएका छन् । जीवनको पूर्वार्द्धमा विभिन्न क्षेत्रमा आफ्नो ऊर्जाशील समय खर्चेका ज्येष्ठ नागरिकहरूको अनुभव र योग्यताको सही मूल्यांकन न राज्यले गर्न सकेको छ न त नागरिक समाजले नै ।

विडम्बना भन्नुपर्छ, ज्येष्ठ नागरिकहरूलाई अन्य क्षेत्रमा अयोग्य देख्ने नेपाली समाजले राजनीतिमा भने ज्येष्ठ नागरिकहरूकै बाहुल्यलाई स्विकारिरहेको छ । यसले नेपाली समाजको चरित्र बुझिनसक्नु बनाएको छ । अझै पनि प्रमुख दलहरूमा ज्येष्ठ नागरिकहरूकै बोलवाला छ । दशकौंदेखि राजनीतिको शीर्षस्थ पदमा आसीन हाम्रा राजनीतिकर्मीहरू आफूजस्तै ज्येष्ठ नागरिकहरूको पक्षमा संविधानले प्रत्याभूति गरेको अधिकार दिलाउन भने असफलजस्तै देखिएका छन् । जीवनको उत्तरार्द्धमा पनि राजनीतिमा क्रियाशील हुने ज्येष्ठ नागरिकहरूको पहिलो कर्तव्य भनेको आफूजस्तै नागरिकहरूको हकहितका लागि पैरवी गर्नु हो ।

हामीकहाँ सामाजिक संरचनाले गर्दा पनि ज्येष्ठ नागरिकहरूको वर्तमान र भविष्य असुरक्षित बन्दै गएको छ । किनभने आमाबुबाप्रतिको कर्तव्य निर्वाह गर्नेभन्दा पनि अधिकार खोज्ने प्रवृत्ति छोरानाति पुस्तामा झाँगिँदै गएको छ । यसरी जीवनको पूर्वार्र्द्धमा छोराछोरी हुर्काउँदै जोडेको जायजेथामा छोराहरूले आँखा गाड्न थालेपछि सुरु हुन्छ गृहकलह । पछिल्लो समय सम्पत्तिकै कारण ज्येष्ठ नागरिकहरू घरपरिवारभित्रै एक्लिँदै गएका छन्, अंशलाई लिएर मनमुटाव बढ्दै गएको छ । कतिपय ज्येष्ठ नागरिक छोरानातिबाट प्रताडित छन्, यस्ता प्रताडनाबाट मुक्ति पाउन वृद्धाश्रम पुगेका छन् । यस्ता कतिपय कारणले गर्दा पनि नेपाली समाजमा वृद्धाश्रमहरूको आवश्यकता महसुस गर्न थालिएको छ । पक्कै पनि नेपाली समाजमा वृद्धाश्रमहरूको संख्या बढ्नु राम्रो हैन, जीवनको पूर्वार्द्धमा समाज र घरपरिवारका लागि आफ्नो ऊर्जाशील उमेर र समय खर्चेका ज्येष्ठ नागरिकहरूले जीवनको उत्तरार्द्धमा पनि घरपरिवारसँग बस्न पाउनुपर्छ भनेर नागरिकस्तरबाटै पैरवी गर्न जरुरी छ । राजनीतिकर्मीहरूले पनि ज्येष्ठ नागरिकहरूलाई भोट बैंक मात्र हैन, उनीहरूको पक्षमा बनेका नीतिनियम व्यवहारमा उतार्न रणनीतिक योजना तर्जुमा गर्नुपर्छ ।

प्रकाशित : मंसिर ११, २०७९ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?