चुनावी परिणामसँगै उठेका बहस- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुनावी परिणामसँगै उठेका बहस

अब पश्चिमा दबाबका कारण कांग्रेसले राप्रपा, नवोदय शक्ति, मधेशवादीसँगको सहकार्यलाई प्राथमिकता दिनेछ । दक्षिणलाई भने अब एमाले र माओवादी अछुत रहेनन् । अर्कातर्फ कांग्रेस सबै 'वामपन्थी' लाई प्रतिपक्ष र सडकमा छोड्न पनि चाहँदैन ।
नरेन्द्रजंग पिटर

सबैसँग चित्त बुझाउने तर्कहरू हुन्छन्, मन बहलाउने शीर्षक अनगिन्ती । अझ शक्तिकेन्द्रहरू आफू ठीक भएको प्रमाणित गर्ने भाष्यकारद्वारा अनेकौं तर्कखेती गराइरहन्छन् । दुःख भुलाउन हिँड्ने भिन्नाभिन्नै बाटा पनि हुन्छन् । आखिर चुनाव हो, हार्नु र जित्नुमा कारण त हुन्छ नै । चुनाव सकिएसँगै अब बहसका विषय भने फेरिए ।

ठूला पार्टी खुम्चिए । सनातनी पार्टीसँग निराशा, आक्रोश र प्रतिक्रियास्वरूप सदनमा केही नौला अनुहार देखिनेछन् । यसले सदनको चित्र र चरित्रमा केही प्रभाव पार्नेछ । परम्परागत नेतृत्वलाई पनि नयाँ तरिकाले सोच्न दबाब बनाउनेछ । आफ्नो दिमाग आफैंसँग राखेर राजनीतिकर्म गर्नेहरूका लागि विचारको सिद्धान्तलाई सुविधाको सिद्धान्तमा फेर्दा उम्रिने संकटहरू परिणाममा छ्यांगै देखिए । व्यवहारबिना सिद्धान्त र गौरवमय इतिहास मात्रै जनमतले स्विकार्दैन । राजनीतिक नाराले सामाजिक आवेग तयार गरेर मात्रै हुँदो रहेनछ, त्यसको स्वामित्व नलिने र आफूलाई सामाजिकीकरणको परीक्षामा खरो नउतार्नेहरूले आफ्नै हतियार पनि रक्षा गर्न नसके विरोधीले थुतिदिन्छन् ।

कैयौं अहंकारी चिप्लिएनन् मात्रै, पछारिए पनि । राजनीतिमा अवकाश कहिले ? परिवारवाद फेरि प्रश्न बन्यो । अहंकारले व्यभिचारी बनाइदिन्छ । कुरूपतामा सुन्दरता खोजिन्छ । अन्तर्मनका लालसाले गर्दा आँसु र सपनामा पौडी खेलिन्छ । २०६२–६३ सालको परिवर्तनले ल्याएका आशा निराशामा त्यसै र एकै दिन फेरिएका हैनन् । जागृत महत्त्वाकांक्षा ऊर्जा बन्न सकेन । बरु अहंकार फैलिँदा आफ्नै वंशमा यदुवंश जन्मिन्छन् । राजनीतिक कलाकार भने औधी सिपालु हुन्छन् । प्रतिस्पर्धी तह लगाउन आफन्तको नाक काटेर पराईको गुप्तांग टालिदिन्छन् ।

चुनावी दृश्य

गठबन्धनहरूको निर्देशनले काम गरेन । स्वयं नेतृत्वलाई राजनीतिक धरहरा क्रमशः ढल्दै गएको थाहा–पत्तो भएन । निर्देशन पालना गराउन नसक्नु भनेको नेतृत्वको नैतिक आधिकारिकता गुम्नु हो । चुनावसँगै (उपयोग, बहिष्कार वा तटस्थ बस्ने) धेरैका चिन्तन, सांस्कृतिक स्तर, क्रोध, ईर्ष्या, प्रतिशोध, प्रतिक्रिया र दुर्भावनाहरू छताछुल्ल भए । कोही तटस्थ बस्न सकेन । कैयौंको राजनीतिक जीवन धरापमा पर्न गयो ।

गठबन्धनमा नेपाली कांग्रेसको वर्गनिष्ठा, एमालेको सुदृढ संगठन देखियो । माओवादी भने आफ्नै नाराको स्वामित्व लिन नसकेर गुटभित्रैका अहंकारी र महत्त्वाकांक्षीहरूसँग टकरायो । कांग्रेसमा देउवा गुटकै हालीमुहाली भए पनि ‘कम्युनिस्ट’ को हाउगुजी र डर पैदा गरिएकाले अरू त्यति विद्रोही देखिएनन् । सर्वमान्य एकल नेतृत्वका कारण एमालेमा गुट राजनीति अन्त भएको भान भए पनि वर्चस्व भिडन्तमा भने महासचिव र उपाध्यक्षबीचको शीतयुद्ध छर्लंग देखा पर्‍यो । माओवादीमा गुटको ‘जनयुद्ध’ भाइयुद्धका रूपमा छताछुल्ल भयो । कम्युनिस्ट नभैकन ‘कम्युनिस्ट’ बन्ने छुट हुनु, वामपन्थी चरित्र पनि नदेखिनु–नहुनु नेपाली ‘कम्युनिस्ट’ का विशेषता रहे । ठूला तीन दलभित्रका प्रतिस्पर्धीहरूलाई स्थानीय तहमै रोक्न चुनावी टिकटै नदिनु र दिए पनि हराउनु गुट राजनीतिको बिनाटिकटको रमिता बन्यो । जित्नेभन्दा पनि हराउने गुठियारहरू सक्रिय भए ।

संसारमा हरेक पार्टीका र संघसंस्थाका कार्यनीति अनुसार तत् संस्थाका अगुवा र कार्यकर्ता चल्छन्, चल्नुपर्छ । नत्र पार्टी भन्ने कानुनी र नैतिक अधिकार रहँदैन । भूमिकाले चरित्र किटान गर्छ । सिंगमरमरमा टेकेपछि चिप्लिन सकिन्छ, माटोको भुइँमा हिलो–धूलो लागे पनि चिप्लिँदैन । समयको वेग र दिशा खुट्याउँदै परिस्थितिलाई काबुमा राख्न भने आफ्नै खुट्टा दह्रो गरेर उभिनेले मात्रै चुनौती पार गर्न सक्छन् । कुनै प्रतिकूल हावाले भक्तपुरलाई हल्लाउनै सकेन ।

परिणामको ट्रेन्ड हेर्दा नेपालको संसद्मा पश्चिम–प्रशिक्षित दक्षिणपन्थको वर्चस्व हुने देखियो । हाम्रोजस्तो भू–संवेदनशील राष्ट्रमा अति दक्षिणपन्थको उदयले नवनाजी भ्लादिमिर जेलिन्स्की जन्माउने र पश्चिमाको क्रीडास्थल बनाउने सम्भावना टड्कारो देखियो । पश्चिमा सहयोगले गर्दा भएको नयाँ शक्तिको उदय, निराश जनमत, ठूला पार्टीप्रतिको घृणा, आर्थिक अभिभावक बनेको बिदेसिएको जनमतले घरपरिवारलाई गरेको आग्रह र अनुरोधले मतदातामाझ अर्थ राखे । हरेक पार्टीमा अन्तर्राष्ट्रिय विभाग र ती देशमा भ्रातृ संगठन सक्रिय रहे पनि ती नयाँ शक्तिसामु अर्थहीन देखिए ।

जी–ट्वेन्टीको बैठकमा चिनियाँ राष्ट्रपति र क्यानाडाका प्रधानमन्त्रीबीच चुनावी हस्तक्षेपको विषय सम्बन्धी वार्ताको सार्वजनिकीकरणलाई लिएर ठाकठुक भयो । आपसी संवादलाई सार्वजनिक गरेको आरोप राष्ट्रपति सीको थियो भने प्रधानमन्त्री ट्रुडोको भनाइ थियो, ‘क्यानाडा प्रजातान्त्रिक देश भएकाले सबै कुरा पारदर्शी हुन्छ ।’ यसभन्दा पहिला नेपालमा चुनावी शक्तिखेलहरू उत्तर र दक्षिणबाट मात्र हुन्थे, यस पटक भने पश्चिमाले पनि चोटिलो हस्तक्षेप गर्‍यो ।

आत्मसमीक्षाका कुरा

घटना र परिणामले विगतबाट सिकेर आगतको योजना बनाउन आफू र अरुले गरेका गल्तीहरूबाट शिक्षा लिन निर्मम आत्मसमीक्षा गर्ने गरिन्छ । कुनै पनि नेतृत्व सर्वज्ञ हुँदैन । उसलाई योग्य सल्लाहकार र असल सहयोगीहरूको टिम आवश्यक पर्छ । गल्ती महसुस गरेर रचनात्मक आलोचनालाई स्वागत गरिए मात्रै सुध्रिन–सच्चिन सकिन्छ । निर्मम आत्मसमीक्षा गर्न दुर्नियति पक्षपोषण नगरे मात्र सकिन्छ । सम्भावनाको सिकार सहज हुन्छ । जसले पहिले एकान्तमा आफैं ऐना हेर्दैन, उसले अरूलाई ऐना देखाउनुको अर्थ रहँदैन । जसले आफैंलाई क्रमभंग गरेर निकास खोज्दैन, ऊ इतिहासका पानाहरूमा मात्र समेटिने दिनको पर्खाइमा रहेतुल्य हुन्छ । इतिहासका निर्माता र क्रान्तिको नेतृत्व गर्ने संसारका धेरै पार्टी समयसँगै असान्दर्भिक बनेर पुस्तकका सन्दर्भ सामग्रीका एकाध हरफमा सीमित हुन पुगे । त्यो हेक्का राखे मात्रै अहंकारीहरूले आत्मसमीक्षा गर्न सक्छन् ।

आत्मसमीक्षाका विषय

सिद्धान्तको आत्महत्या, पार्टीको महापतन र विघटनकाल बनेर इतिहासले त्यसै खितखिताउँदै ठट्टा गरेको पक्कै हैन । मतदान किन कम भयो ? त्यसका कार्य, कारण र परिणाम खुट्याउनुपर्ने हुन्छ । परिणामसँगै दुवै गठबन्धनले दिन चाहेको, गरेको अभ्यास परिणाम बनेर देखियो । कुनकुन दृश्य–अदृश्य शक्तिखेल भए !

बहाना नगरीकन हार स्विकार्ने सामर्थ्य भएपछि मात्रै आत्मसमीक्षा गर्न सकिन्छ । किन र कसरी पार्टीभित्र आत्मघाती दस्ता तयार भयो ? आत्मघातीहरू दुस्मनलाई मार्न नसके पनि स्वयं भने मारिन्छन् । आफन्तसँगै घृणा सकिएपछि जिन्दगीभर स्वकृत्यका लागि भने पछुताउनुपर्छ । साहस र साधन मात्रै भएर हुँदैन समय र युद्धमैदान चयन, उचित व्यवस्थापन गरियो कि गरिएन ? पहल नेतृत्वमा आवश्यक हुन्छ । योद्धाहरूको मनोबल र सहयोद्धाहरूको इच्छाशक्ति बढाउनपट्टि असमर्थता एवं सबै तहका नेतृत्वहरूप्रति चरम अविश्वासका कारक केके हुन् ?

कहाँ चुकियो ?

उम्मेदवार छनोटमा ! केन्द्र र स्थानीय तहसम्म नीति र विधि अनुसार संगठन परिचालन व्यवस्थापन, सामूहिक भावना तथा संगठन पहिलो भन्ने मान्यता, नीति योजना र पहलकदमीको सुनिश्चितता अनिवार्यतामा !

सबै प्रतिकूलतासँग लड्न र जित्नका लागि जमिनमा दह्रोसँग खुट्टा टेक्नुपर्छ । पीँधका मान्छेको मुद्दा बोक्नुपर्छ । संगठनलाई विधि–पद्धतिमा चलाउनुपर्छ । राज्यको प्रतिनिधि हुँदा सरल, सस्तो र छिटो डेलिभरी दिनुपर्छ । नेताहरूले चाकरीबाज खोज्नु हुन्न । नेताहरूको बाह्रमासे गीत गाउने कार्यकर्ता बन्नु हुँदैन । परिवार–सम्पत्तिप्रति अचाक्ली मोहले समाजमा नेतृत्वमाथि घृणा पैदा गर्छ । अंकगणितका लागि विजातीय वर्गसँग मिल्नु हुँदैन । पैसाका लागि तस्कर र दलालहरूसँग उठबस गर्नै हुँदैन । जीवन सरल र एक स्तरको पारदर्शी हुनुपर्छ । भू–संवेदनशील देशमा विदेशीको सुरक्षाचासो र आफ्नो दायित्व के हो भन्ने ख्याल गरियो ?

नयाँ गठबन्धनको रेखाचित्र

परिस्थिति फेरिएसँगै पार्टीहरूका प्राथमिकता पनि फेरिने गर्छन् । राजनीति सबैलाई, सबै ढोका सधैं खुला राखिरहने सम्भावनाको खेल हो । गठबन्धनहरू बन्छन्, भत्किन्छन् । संसदीय व्यवस्थामा शक्ति पाउन कुनै पनि बेला पार्टीहरू जोसुकैसँग सम्झौता गर्ने गर्छन् । राजनीति मात्रै यस्तो विषय हो जहाँ हिजोलाई नभई भोलिलाई हेरेर योजना र सहयात्री छानिन्छ । मित्र र विरोधी तय गरिन्छ । नेतृत्वको भूमिकाले समाज र कार्यकर्तालाई धारणा फेर्न प्रोत्साहित मात्रै गर्दैन, व्यवहार फेर्न पनि हौस्याउँछ, बाध्य पार्छ । पुरानै तरिकाले नयाँ चुनौतीको सामना गर्न सकिँदैन ।

कांग्रेस र एमालेको आआफ्नो गठबन्धन र सहकार्यले माओवादी जनयुद्धप्रतिको धारणा, आग्रह र शत्रुतापूर्ण व्यवहारमा फरक ल्यायो । सामाजिक मनोभावमा समेत प्रभाव पार्‍यो । भलै नाराको सामाजिकीकरण गर्न र धरातलीय स्वामित्व लिन नसक्दा थारू, दलित, जनजाति र मधेशमा उसले उठाएका नारा र अभियानबाटै अन्य शक्तिको उदय किन नभएको होस् ! उसले उठाएका गणतन्त्र, समानुपातिक, समावेशी र संघात्मक एजेन्डालाई आफ्ना नीति बनाउन अन्य पार्टी हिचकिचाएनन् । त्यसले राष्ट्रिय–अन्तर्राष्ट्रिय सोचमा असर पार्‍यो । भलै प्रायोजित एनजीओ–आईएनजीओ र घायल अभिजात वर्गविरोधी किन नहोस्, नाराको वाहक स्वयं भूमिकामा नउत्रिएको होस् !

पार्टी एकताको अभ्यास, एकआपसका शत्रुतापूर्ण सम्बन्ध, विपरीतको एकत्वलाई एमाले अध्यक्षले विगतमा स्विकार्न सकेनन् । आत्मसात् गर्नपट्टि समस्या रह्यो । यसकारण नयाँ राजनीतिक सहकार्य गर्न उनलाई कठिन परे पनि चुनावी परिणामले नयाँ सहयात्री खोज्न विवश बनायो । स्वभाव र संस्कृति फेर्न धेरै कठिन पर्छ । दम्भपूर्ण नजरिया, आत्माहंकार, अधिमूल्यन र धरातलीय यथार्थको बेवास्ताजस्ता दुर्गुणबाट बच्न नसक्दा उनी विगतमा पाएको अपार अवसर सित्तैंमा गुमाउन पुगेकै हुन् । भीम रावल फ्याक्टर पनि उनलाई महँगो पर्‍यो । रावलले हारेर पनि जिते । अब आक्रोश मत्थर भएको छ, परिवेश नयाँ बनेको छ ।

सरकार मिलीजुली बन्ने भो । अब पश्चिमा दबाबका कारण कांग्रेसले राप्रपा, नवोदय शक्ति, मधेशवादीसँगको सहकार्यलाई प्राथमिकता दिनेछ । दक्षिणलाई भने अब एमाले र माओवादी अछुत रहेनन् । अर्कातर्फ कांग्रेस सबै ‘वामपन्थी’ लाई प्रतिपक्ष र सडकमा छोड्न पनि चाहँदैन । यसले गर्दा फेरि कतै २०५० को दशकको कुरूप राजनीतिक खेलको पुनः अभ्यास त हुने हैन ?

प्रकाशित : मंसिर ११, २०७९ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्

राजनीति : भ्रम र यथार्थबीचको पौंठेजोरी

बुर्जुवाकरण भैसकेको ‘कम्युनिस्ट’ को समस्या भनेकै बाहिर जे देखिन्छ त्यो सत्य नहुनु हो, जे सत्य हुन्छ त्यो छोपिनु हो ।
चुनावी राजनीति र ‘कम्युनिस्ट’ का आफ्नै बाध्यता हुन्छन् । उसले छाप्रो र महल दुवैको प्रतिनिधित्व गर्छु भन्नुपर्छ । दुवै वर्गलाई खुसी पार्नुपर्छ । कम्युनिस्ट पार्टीका नाममा झुट बोल्दै भ्रमित जनमतको सहारा लिनुपर्छ । 
नरेन्द्रजंग पिटर

चुनाव करेसामै आइसक्यो । भनिरहनै पर्दैन, ‘चुलामा के पाक्या छ भन्ने कुरा पिँडीले नै कहन्छ ।’ पार्टीहरू जनतालाई अल्जाइमर (बिर्सने रोग) लाग्या छ भनेर मक्ख छन् । कसरी भ्रममा उल्झाउने भनेर रणनीति तयार हुँदै छ ।

यसकारण मत देऊ भन्न सबैको नैतिक बल खस्किएको छ । संसद्मा उपस्थिति र गम्भीर विषय उठान वा सार्वभौम महत्त्वको प्रस्तावमाथि गरिएका बहसहरूमा सामेल सांसद अत्यन्तै कम देखिन्छन् । सदनमा को–कति उपस्थित भए, सक्रिय भए, डेटा सबैसामु छ । पार्टीको दोहोरो भूमिका अब छिपेको छैन । प्रतिक्रिया, भ्रम र गालीले आगामी चुनावी हलचल पैदा गर्न सकिएला कि भन्नेमा रणनीतिकारहरू आशावादी देखिन्छन् । चुनाव महँगो भएको सर्वस्वीकृत तथ्य हो । धनपति, बाहुबलीहरू अब अरूलाई चुनाव लडाउँदैनन्, आफैं कस्सिने गरेका छन् । जुन उद्देश्यले संविधानमा समानुपातिक प्रतिनिधित्वको अवधारणा राखिएको हो, अभ्यासमा पुग्दा त्यो नेताको दास उत्पादन गर्ने वा धनाढ्यको सुक्रीबिक्री शीर्षक बन्न पुगेको छ । निराशा छाइरहेका बेला, जित्न नसके पनि हराउन सक्ने हैसियत राख्ने स्वतन्त्र उम्मेदवारहरू सबैजसो पार्टीलाई आतंक बन्दै छन् ।

भ्रममा बाँच्न औधी मज्जा हुन्छ । कुनै पनि कुराको सत्यता, आधार र तथ्यको जाँचपडताल गर्नुपर्दैन ! दर्शन, सिद्धान्त र इतिहासको आलोकमा वर्तमान नियाल्नुपर्दैन ! इतिहासको समीक्षा गर्दै पुनर्ताजगी गरिरहनु पनि पर्दैन ! तर, आजको चस्माले इतिहासको सत्यता अध्ययन गर्न भने सकिँदैन ।

भ्रमित मानसिकताले आफूले पत्याएका, मानेका, पछ्याएका र विश्वास गरेका मान्छेले भनेका र गरेका कुरा ठीक मान्छ । नेपाली जनमत वाम–ढल्को छ । कल्पना गरौं : अहिले मार्क्स नेपाल आएका भए बुर्जुवाभन्दा पनि सिद्धान्त, आचरण, सपना, विचार र व्यवहारमा सन्तुलन मिलाउन नसक्ने नेपाली ‘कम्युनिस्ट’ का चाल, चरित्र, चित्र र चिन्तन देखेर धुरुधुरु रुँदै भन्थे होलान्, ‘जे गर–गर, तर कम्युनिस्टको नाममा भने नगर । अझ मेरो नाम त जोड्दै नजोड । नट इन माई नेम । मेरो नाममा नभई आफ्नै नाममा गर ।’

भ्रमका सुखहरू

भ्रमको मज्जा गज्जबकै हुन्छ । भ्रमित सत्यले जीवनदृष्टि नै कुनै आग्रहतिर लतारिदिन्छ । प्रतिक्रियामा सक्रिय बनाइदिन्छ । त्यसैले नेपाली राजनीतिका शिखर व्यक्तित्व रूपचन्द्र विष्टले थाहा आन्दोलनलाई केन्द्र बनाए । थाहा पाएपछि पाइने आत्मिक ऊर्जाले हरेक शक्तिसँग टक्कर लिन आत्मबल दिन्छ भन्ने यो अभियानको मर्म थियो । पञ्चायत व्यवस्थाविरुद्ध चलेको यो सबभन्दा ठूलो बौद्धिक आन्दोलनको विरोधमा मण्डले सोचले प्रतिकार गर्थ्यो ।

मेरा एक जना खेल पत्रकार मित्र छन् । उनलाई भ्रममा रहँदा आनन्द आउँथ्यो, भ्रम टुटेर नांगो यथार्थ थाहा पाएपछि भने औधी सकस परेछ । विश्वप्रसिद्ध फुटबलर पेलेबारे उनले सुनेका रहेछन्- पेलेले प्रहार गरेको बलले पोलमा लागेर फर्केपछि पोलको उचाइमै शंका भएर उचाइ नाप्दा तीन इन्च होचो पाइयो रे । यस्ता अनेकौं किस्सा सुनी विश्वस्त भएर उनले पेलेलाई नायक बनाएका रहेछन् । कालान्तरमा अनेकौं प्रतिस्पर्धा युट्युबमा हेर्दा त कतिपल्ट पेलेले सहज मौका पनि गुमाएको देखेछन् । अनि पछि उनी भ्रममा रहँदा र टुट्दाको मनोभावबारे कुरा गर्थे । अर्का एक लघुकथाकार साथीको भनाइ थियो- न्यायाधीशले पनि घूस खान्छन् भन्ने पहिलो पटक सुन्दा न्यायालयप्रति भ्रम मात्रै टुटेन, न्यायाधीशलाई लिएर दिल र दिमागमा कोरिएको चित्र र आदर्श च्यातिएर रातभरि निदाउनै सकिनँ । अर्को एक जना साथी भन्थे- नेपाली सेना विश्वप्रसिद्ध सेना हो । गोर्खाली बहादुरीका रोमाञ्चक युद्धकथा सुनेका उनी सेनाको इच्छाबेगर नेपालमा त पात पनि हल्लिँदैन भन्थे । तर यही सेनाले आफ्नै सुप्रिम कमान्डर राजाको पनि रक्षा गर्न सकेन । अझ माओवादी जनयुद्धमा सेना परिचालन भएपछि त माओवादी सखापै हुन्छन् भन्ने कुरा पनि फेल खायो । तीनै जनालाई भ्रमको नांगो यथार्थको सामना गर्नुपरेपछि विश्वास नजाँची, नजोखी धारणा बनाउँदा आफैं छक्किइन्छ भन्ने ज्ञान भयो ।

सत्य र भ्रमित सत्यको सुन्दर उदाहरण महाभारतमा पनि पाइन्छ, द्रोणाचार्यले दूध खान खोज्ने आफ्ना छोरा अश्वत्थामालाई चौलानीको झोल पिलाएको प्रसंगमा । हरेक सेतो तरल पदार्थ दूध हुँदैन भन्ने कुरा काव्यकारका भाषामा अश्वत्थामाले तबसम्म बुझेका थिएनन् । शक्तिबारे गम्भीर विश्लेषण गर्ने प्लेटो असल राजा बनाउन पाए संसार सुखी हुन्छ भन्ने भ्रममा थिए । शक्ति जहिले पनि अहंकारी हुन्छ । सर्पको योग्यता विष भएझैं शक्तिको चिनारी अहंकार हो भन्ने यथार्थमा विद्वान् प्लेटोले समेत ध्यान दिएनन् । सिराक्युजमा दियोनियस प्रथमलाई विद्वान् राजा बनाउन खोज्दा सुकरातका शिष्य प्लेटो एजैनाको दास मण्डीमा बेचिए । पुराना मित्र अनिकैरसले किनेर उनलाई मुक्त नगरिदिएका भए मानव सभ्यताले एक महान् दार्शनिकसँग साक्षात्कार गर्न पाउँदैनथ्यो ।

कम्युनिस्ट बन्ने आधारभूत सर्त र बाध्यता

बुर्जुवाका भन्दा कम्युनिस्टका दुःख धेरै छन् । राजनीतिमा देखिने र हुनेबीच धेरै समस्या र भिन्नता हुन्छन् । अझ बुर्जुवाकरण भैसकेको ‘कम्युनिस्ट’ को समस्या भनेकै बाहिर जे देखिन्छ त्यो सत्य नहुनु हो, जे सत्य हुन्छ त्यो छोपिनु हो । जे छ त्यो लुकाउनुपर्ने, जे छैन त्यो फलाक्नु र देखाउनुपर्ने नियति बन्यो । आचार, विचार र व्यवहार नियाल्दा हिजो पनि ठीक, आज पनि ठीक हुनै सकिँदैन । तर, निमित्त तर्कले सत्यापित गर्न खोज्नु वाम–तर्कवाजको आजको पहिलो होम वर्क हो ।

चुनावमा लोकप्रिय मतका लागि जनमत चाहिन्छ । चुनावी मैदानमा होमिँदै जाँदा सुविधा अनुसार राजनीति गरिरहेका राजनीतिक दलहरूको प्रमुख समस्या भनेकै विचारहीनता हो । पार्टी भनेको विचारमा चल्ने समूह हो । विचारै छैन भने केको राजनीतिक पार्टी ? अझ बुर्जुवाभन्दा पनि ‘कम्युनिस्ट’ हरू समस्या र जोखिममा छन् । आज नेपाली ‘कम्युनिस्ट’ सँग विचार ट्रेडमार्क मात्रै हो कि के हो भन्ने प्रश्नको उत्तर छैन ।

भ्रमबाट उम्कने हो भने, यति बुझ्नुपर्छ- कम्युनिस्ट बन्न चाहनेलाई आधारभूत सर्त विचार, विश्वास र प्रतिबद्धता । छेपारे भूमिकामा हुँदैन । कोही पनि सबैको प्यारो बन्न सक्दैन । दास प्रथाविरुद्धका नेता विलियम लायड ग्यारिजन भन्छन्, ‘म सत्यजस्तै कठोर र न्यायजस्तै अटल रहनेछु । म दास प्रथाविरुद्ध विनम्रतापूर्वक सोच्न, बोल्न र लेख्न बिलकुल चाहन्नँ । आगोमा जलिरहेको बच्चालाई आमाले जसरी त्यहाँबाट बिस्तारै निकाल्दिन, त्यसरी नै म चाँडोभन्दा चाँडो दास प्रथाको अन्त्य चाहन्छु । म दास प्रथाका विषयमा न कसैलाई क्षमा गर्छु, न घुमाउरो कुरा गर्छु, न कुनै सम्झौता गर्छु । म सीधा कुरा गर्छु ।’ सीधा कुरा गर्ने कम्युनिस्टको परम्परा अहिले धरापमा परेको छ ।

समकालीन दुनियाँमा चे, चारू र गोन्जालोजस्तो मूल्यको राजनीतिमा छाती फुलाएर कम्युनिस्ट हुँ भन्ने कमै देखिए । नेपालमा सिद्धान्तका लागि प्राणको आहुति दिने अनगिन्ती सहिद भएका थिए, भलै तिनका कमान्डर/नेताहरू नायकबाट खलनायक बनिसकेका किन नहोऊन् !

कम्युनिस्ट बन्ने आधारभूत सर्त हो- वैचारिक रूपमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादले निर्देशन गरेको राजनीति, जीवन पद्धति, सांस्कृतिक मान्यता, सोही अनुरूपको आचरण । राजनीतिमा वर्गसंघर्ष, पुँजीको अतिरिक्त मूल्यको सिद्धान्त, पुँजीको चरित्रसँगै उपनिवेशवाद, साम्राज्यवाद, नव– सम्राज्यवादसँगको प्रतिरोधी चेत र विश्व–हातेमालो । पुँजीको कर्पोरेटी चरित्र र प्रविधिको विकाससँगै राजनीतिलाई सामूहिकीकरण गर्नुपर्छ । जब जे बन्नुपरेको थियो, त्यो नै नभएपछि सुविधाको राजनीतिमा जे गरे पनि, जे नाम दिए पनि हुने भो ।

कम्युनिस्टहरूले वर्गसंघर्षको राजनीति स्विकार्दा मित्र र दुस्मन वर्ग मात्रै स्विकारे तर रङ कालो र सेतो मात्रै हुँदैन । अरू रङ पनि हुन्छन् । त्यस्तै समाजमा शोषक र शासित दुई वर्ग मात्रै हुँदैनन्, अरू पनि हुन्छन् भन्ने कुरा क्लासिक कम्युनिज्मले स्विकारेन । हाम्रो सन्दर्भमा थप- भारतीय उपमहाद्वीपको वर्ग बनोट र विभाजन युरोपेली समाजको जस्तो छैन । यहाँ वर्ग बनोटको आधारमा वर्ण (संस्कृति, जाति प्रथा) को पनि महत्त्वपूर्ण भूमिकामा रह्यो । नेपालको कम्युनिस्ट आन्दोलनका ७१ वर्षमा मूल नेतृत्व सदैव अभिजात वर्ग र वर्णबाट मात्रै आयो । अर्को महत्त्वपूर्ण पाटो- कम्युनिस्ट नेतृत्वले देशको भू–राजनीतिक संवेदनशीलतामा ध्यान पुर्‍याउन सकेन । जबसम्म भारतका किङमेकर प्रदेशहरू बिहार र उत्तरप्रदेशमा सामाजिक र सांस्कृतिक रूपान्तरण हुँदैन, तबसम्म नेपालको समेत आन्दोलनको रूप र ट्रेडमार्क कम्युनस्टि भए पनि यथार्थतः त्यो कम्युनिस्ट हुँदैन । कुनै बेला भारतको केन्द्रीय राजनीतिमा हस्तक्षेपको हैसियत बनाइसकेको भारतीय ‘कम्युनिस्ट’ को अवस्था हामीले देखिरहेकै छौं । तेलंगाना विद्रोह दबाउन त राणकालीन शारदाशमशेर नेतृत्वको नेपाली सेना नै हैदराबाद पुगेकै हो । नक्सलले पैदा गरेको ऊर्जा झापा विद्रोहका रूपमा हाम्रो नजिर बनेकै छ ।

चुनावी राजनीति र ‘कम्युनिस्ट’ का आफ्नै बाध्यता हुन्छन् । उसले छाप्रो र महल दुवैको प्रतिनिधित्व गर्छु भन्नुपर्छ । दुवै वर्गलाई खुसी पार्नुपर्छ । कम्युनिस्ट पार्टीका नाममा झुट बोल्दै भ्रमित जनमतको सहारा लिनुपर्छ । यही भ्रम छर्ने प्रजातिबाट सामान्यजन भ्रमित हुन्छन् भने बुर्जुवा र उग्र पुँजीवादलाई यी ‘कम्युनिस्ट’ सँगै सहकार्य गर्न असजिलो पनि हुँदैन । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष, एसियाली विकास बैंक र जर्ज सोरोसको ओपन सोसाइटी फाउन्डेसनलाई पनि कुनै समस्या हुँदैन, न सीआईएद्वारा अप्रत्यक्ष रूपमा सञ्चालित रोजा लक्जेम्बर्ग फाउन्डेसनको सहयोग प्राप्त नेपाली वाम थिंक ट्यांक समूहसँग सहकार्य गर्न कठिनाइ हुन्छ । यसै पनि २०४० सालकै दशकको सुरुआतमै वाम बुद्धिजीवी समूहमा प्रवेश गरेको एनजीओ–आईएनजीओ संस्कृतिको आन्दोलनको चरित्र निर्माणमा महत्त्वपूर्ण भूमिका देखिन्छ । अझ २०६० सालको दशकमा शीतयुद्धकालीन अवस्थामै त्यो कसरी विद्वत् समूहमा प्रवेश गर्‍यो भनेर थाहा पाउन भारतका प्रमुख राजनीतिक वैज्ञानिक रजनी कोठारीको ‘पोलिटिक्स इन इन्डिया’ पुस्तकको बकपत्र हेरे पुग्छ ।

प्रकाशित : भाद्र १३, २०७९ ०७:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×