कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

जनप्रतिनिधिले सम्झेलान् महिलाका कष्ट !

मञ्जु भट्ट

चुनावको परिणाम नआउँदासम्म देश चुनावमय नै रहनेछ । मत माग्ने र मागिदिनेहरूले बाजा, गाजासहित मतदाताका घरघरमा गएर काममा सघाएको र कतिपय निर्वाचन क्षेत्रमा उम्मेदवारले भोजभतेर गरेको पनि देखियो । निर्वाचन जित्न उम्मेदवारहरूले पैसाको खोलो बगाएको पनि सुनियो ।

जनप्रतिनिधिले सम्झेलान् महिलाका कष्ट !

चुनावको परिणाम आउँदै गर्दा मंसिर ९ देखि २४ गतेसम्म नेपालमा विविध कार्यक्रम गरी लैंगिक हिंसाविरुद्ध सोह्रदिने अभियान चलाइनेछ । यसपालिको नारा ‘सभ्य समाजको पहिचान लैंगिक हिंसाविरुद्ध अभिायन’ तय गरिएको छ । पछिल्लो समय लौंगिक हिंसाविरुद्धका अभियान नेपालमा व्यापक बनिरहेको छ । तर, राजनीतिक दल तथा चुनावमा भने यो मुद्दा विरलै उठ्ने गरेको छ ।

समाजमा लैंगिक हिंसाका घटना बढिरहेका छन् । केही दिनअगि मेरो छिमेकी दिदीको कुरा सुनेर छाँगाबाट खसेझैं भएको थियो । उनका चार छोराछोरी छन् । श्रीमान् सरकारी जागिरे हुन् । छोराछोरी दिनभरि विद्यालयमा हुन्छन्, श्रीमान् अफिसमा । सरकारी जागिरे भएकाले उनका श्रीमान्लाई समुदायमा सबैले चिन्छन् । उनी पनि सबैसँग बोल्ने, मिजासिलो स्वभावकी छन् । दिउँसो पसल गछिन् । बेलुकी सबै घर फर्कन्छन् । छोराछोरी गृहकार्य गर्न बस्छन् । उनी भान्छामा व्यस्त हुन्छिन् । श्रीमान् भने रक्सी पिउन थाल्छन् । त्यसपछि अन्टसन्ट बोल्छन् । घरमा होहल्ला हुन्छ । छोराछोरी डराएर एकातिर भाग्छन् । ठूला भइसकेका छोराछोरीका अगाडि उनलाई श्रीमान्ले लछारपछार गर्दा रहेछन् । र, यो एक दिनको मात्र कहानी होइन । बिहे गरे देखिकै नियमित भोगाइ हो । उनले सुनाइन् ‘धेरै पटक बिष खाएर मरूँ भन्ने पनि सोचे । तर हुर्किसकेका छोरीहरू र सानो छोराको मायाले मर्न सकिएन ।’ यो कुरा सुनेर निकै दुःख लाग्यो । उनका श्रीमान् रक्सीको लत छुट्याउन चिकित्सककामा जानुपर्छ भन्दा पनि कहिल्यै मान्दा रहेनछन् ।

त्यसै गरी काठमाडौंको बौद्ध नजिकै विगत दुई वर्षदेखि दुई महिला कहिले खुला आकाश त कहिले बन्दै गरेको घरको भुइँमा सुतिरहेका भेटिन्छन् । जाडो, गर्मी केही नभनी । सँगैका पुरुष जतिखेर पनि रक्सीको नशामा भेटिन्छन् । पछि थाहा भयो तिनका श्रीमान् र छोरा, दिनभरि काम गर्दा रहेछन् र राति रक्सी खाँदा रहेछन् । त्यसैले कोठा लिएर बस्न सक्ने स्थिति कहिल्यै बनेन । यस्तो कुराले राजनीतिक दल तथा नेताहरूलाई कहिल्यै छोएन । देशमा गणतन्त्र आएको धेरै समय भइसकेको छ । तैपनि महिलालाई पुरुषको शोषणबाट मुक्ति मिलेको छैन ।

नेपालभरि रक्सी खाएर श्रीमतीमाथि हिंसा गर्ने पुरुष कति छन् भन्ने निकै अप्ठ्यारो छ । तर, यो समस्या ग्रामीण क्षेत्रमा झन् बढी छ । रक्सी खाएपछि श्रीमती, आमाबुवा, छोराछोरीलाई कुट्ने, घरायसी काममा ध्यान नदिने पुरुष धेरै छन् । सानैमा शिक्षाको कमी र नराम्रो संगतका कारण उनीहरू कुलतमा फस्ने गर्छन् । बुहारी भित्र्याउनुपर्ने आमाबुबाको दबाबका कारण उनीहरूको विवाह पनि सानै उमेरमा हुने गर्छ । काम पनि गर्दैनन्, रक्सीमै रमाउँछन् । केही समयअघि दैलेखकी सुकी बडुवालले चार छोराछारीसहित कर्णालीमा हाम फालिन् । बेरोजगार श्रीमान्ले सधैं रक्सी पिउने, जसका कारण हातमुख जोड्न पनि नसकिने, त्यसमाथि सधैंको कुटपिटले उनलाई असह्य पीडा भएको थियो । गरिबी र घरेलु हिंसाका कारण निकै कष्टकर जीवन बिताइरहेका महिला धेरै छन् ।

विशेष गरी सुदूरपश्चिम तथा कर्णाली भेगमा मौसमी रोजगारीका लागि भारतीय सेनामा काम गर्न जानेहरू उतै रक्सीको लतमा फस्ने गरेका छन् । यता पहाडका भीरपाखामा हाड घोटेर श्रीमती काम गरिरहेकी हुन्छन् । श्रीमान् फर्कंदा खाली हात आउँछन् । त्यसमाथि रक्सीको कुलत भएपछि घरकै सम्पत्ति पनि तिनले सकाउँछन् । महिला हिंसा झन्झन् बढिरहेको छ । यस्तो दुःखलाई मत माग्न आउने उम्मेदवारहरूले कहिल्यै देखेनन् । सबैजसो चुनावमा युवाहरूलाई गाउँघरमै रोजगारी दिलाउँछौं भन्ने नारा लगाएर सोझासाझा मतदातालाई फसाउन माहिर छन् नेताहरू ।

एक अध्ययन अनुसार कर्णालीमा मात्र पछिल्लो पाँच वर्षमा ३७९ महिलाले आत्महत्या गरेका थिए, जसको अन्तर्यमा श्रीमान्को हिंसा नै हुने गर्छ । यस्तो डरलाग्दो तथ्यांक सार्वजनिक भए पनि कहीँकतैबाट पनि यसलाई रोक्ने प्रयास भएको छैन । चुनावका बेला मीठामीठा आश्वासन दिएर अमूल्य मत माग्नेहरूले महिला हिंसाका विषयमा केही बोल्दैनन् । स्थानीय जनप्रतिनिधिलाई आफ्ना क्षेत्रका नागरिकले भोगिरहेका हरेक पीडाबारे राम्ररी थाहा हुन्छ, हुनुपर्छ पनि । तर, तिनले त्यसको रोकथामका लागि खासै काम गरेका छैनन् ।

कोरोना महामारीको पहिलो लहरको बेलाको लकडाउनमा सल्यानमा मात्र ७२ महिलाले आत्महत्या प्रयास गर्दा ३२ जनाको ज्यानै गएको त्यहाँका प्रहरी प्रमुखले जनाएका थिए । केही महिलाले गरिबीका कारण आत्महत्या गरे पनि धेरैले भने श्रीमान्को यातना सहन नसकेर गलत बाटो रोज्ने गरेका छन् ।

उमेर नपुग्दै बिहे हुने अनि सन्तान जन्माउन बाध्य हुने महिलाको संख्या पनि उत्तिकै छ । घाँस काट्न जाँदा भीरबाट खसेर मृत्यु हुने महिलाहरूको संख्या पनि उत्तिकै छ । अपांगता हुनेहरूको संख्या पनि धेरै छ । महिलाले समाजमा अनेक किसिमका विभेद सहेर बाँच्नुपर्छ । के लैंगिक हिंसाविरुद्धका अभियानले यो विषयलाई समेटला ? चुनावअघि उम्मेदवारहरूले बिर्सिएको यो मुद्दा के विजय भएर आएपछि, तिनले सम्झेलान् ?

प्रकाशित : मंसिर ५, २०७९ ०६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?