कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लोकतन्त्रको एक विकृत बडापत्र

कम्तीमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा नागरिकहरुको समान पहुँच सुनिश्चित गर्न नसक्ने प्रणालीलाई लोकतन्त्र मान्न सकिँदैन ।
कटक मल्ल

थेन्स डेमोक्रेसी फोरममा २८ सेप्टेम्बर २०२२ मा आयोजित ‘अरिस्टोटल–कन्फुसियस संवाद’ मा हार्वर्ड विश्वविद्यालयका प्राध्यापक जेफ्री साक्सले बोलेको एउटा छोटो वाक्य पश्चिमी लोकतन्त्रका लागि बौद्धिक झट्का बनेको छ ।

लोकतन्त्रको एक विकृत बडापत्र

साक्सको भनाइ थियो- बेलायत र अमेरिकाजस्ता देशहरू आन्तरिक रूपमा लोकतान्त्रिक हुन सक्छन् तर विदेशमा यी लोकतन्त्रहरू हिंसात्मक साम्राज्यवादी भएका छन् । साक्सले थप यो पनि भने- विश्वशान्ति, मौसम परिवर्तन, वातावरण संरक्षण, गरिबी निवारण र दिगो विकासजस्ता आम मानिसको हितलाई लोकतन्त्रमै बेवास्ता गरिएको छ । मेरो विचारमा, कम्तीमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा नागरिकहरूको समान पहुँच सुनिश्चित गर्न नसक्ने प्रणालीलाई लोकतन्त्र मान्न सकिँदैन । यस्ता आधारभूत आवश्यकता पूरा गर्न नसक्ने देशहरू हुनु वा नहुनुमा फरक पर्दैन ।

नेपालमा सत्तारूढ कांग्रेस–माओवादी गठबन्धन एवं प्रतिपक्ष कम्युनिस्ट र राजतन्त्रवादीको निर्वाचन–एकता चर्को बहसको विषय बनेको छ । नेपालको राजनीतिक अभ्यासमा राजनीतिक सिद्धान्तको कुनै सम्बन्ध छैन भनी प्राध्यापक कृष्ण खनालले राम्रो व्याख्या गरेका छन् (कान्तिपुर, २०७९ कात्तिक ६) । राजनीतिक दल र विचारधारा जे भए पनि निम्न–मध्यम वा मध्यम वर्गको नेता सत्तामा पुग्दा राजा–महाराजाजस्तै देखिन्छ । उसलाई महँगो गाडी, फेन्सी कपडा, धेरै तलब र राजा–महाराजा चढ्नेजस्तो घोडागाडीसमेत चाहिन्छन् । लोकतन्त्रले आम नागरिकको दैनिक जीवनको स्वास्थ्य, शिक्षा र रोजगारीजस्ता आधारभूत आवश्यकता पूरा गर्न सकेको छैन ।

वर्तमान विश्वस्थितिउपर विहंगम दृष्टि दिँदा, पश्चिमी लोकतन्त्रहरूमा युद्ध र जातिवादलाई सामान्य (न्यु नर्मल) मान्न थालिएको छ । शान्तिको कुरा गर्नु असामान्य भएको छ । औपचारिक रूपमा उदारवादी विचारधारा होस् वा रूढिवादी–कन्जर्भेटिभ, समाजवादी होस् वा साम्यवादी, यथार्थमा चलनचल्तीको लोकतन्त्र जताततै सत्तारूढ दल र व्यापार घरानाको स्वार्थ पूरा गर्ने आधार बनेको छ । विश्वराजनीति दार्शनिक र वैचारिक क्षयबाट गुज्रिरहेको छ । यो अवस्था फ्रान्सिस फुकुयामाले भनेजस्तो ‘एन्ड अफ द हिस्ट्री’ (सन् १९९२) वा विचारधाराको अन्त्य होइन । विचारहरू कहिल्यै मर्दैनन्, पुरानाचाहिँ हुन सक्छन् । विचारहरू पुराना भएपछि पुनर्परिभाषित गर्नु उपयोगी बौद्धिक अभ्यास गर्नु हो । त्यसैले आम सरोकारका विषयहरूमा राजनीतिक सिद्धान्त र अभ्यासमा समन्वय छ वा छैन भनी छलफल भैरहनुपर्छ । छलफलले सिद्धान्तहरू परीक्षण गर्न, सिद्धान्तद्वारा अभ्यास व्याख्याका साथै अभ्यास अवलोकन गरी नयाँ सिद्धान्त निर्माण गर्न मद्दत गर्छ । छलफलले विशेष गरी सामाजिक वर्ग रूपान्तरणबारे बुझ्न मद्दत गर्छ ।

यस लेखको विशेष उद्देश्य (राजनीतिक सिद्धान्त र अभ्यासमा) साहित्य र राजनीतिबीचको सम्बन्ध स्थापना (र पर्दाफास) गर्नु हो । यस सन्दर्भमा मैले जर्ज अर्वेलको ‘एनिमल फार्म’ लाई उपयोगी ठानेको छु । किनभने, ‘एनिमल फार्म’ को विषयवस्तु क्रान्ति, परिवर्तन र लोकतन्त्रमा विश्वास गरिरहने साधारण व्यक्तिहरूसँग सम्बन्धित छ । सत्तामा रहेका व्यक्तिहरूले लोकतान्त्रिक प्रतिज्ञालाई कसरी विकृत पार्छन्, अर्थात् राजनीतिक सिद्धान्त र अभ्यासमा विसंगति बुझ्ने बौद्धिक ज्ञान छ ‘एनिमल फार्म’ मा । सर्वप्रथम, वर्तमान विश्वराजनीति ‘लोकतन्त्रको विकृत बडापत्र’ मा केन्द्रित छ । त्यसपछि ‘एनिमल फार्म’ का पात्रहरूको ‘वर्गचरित्र’ बारे छलफल गरिनेछ । राजनीतिक सिद्धान्त र अभ्यासमा छलफल गरिनुपर्ने धेरै कारण हुन सक्छन् । नेतृत्व वर्गमा देखिएका तीन प्रमुख प्रवृत्तिहरू क्रमश: अवसरवादी मध्यमवर्गीय नेतृत्व, उदारवादी र जातिवादी दलहरूबीचको गठबन्धन र युद्ध सामान्यीकरण (न्यु नर्मल) को अन्त्यमा सम्बोधन गरिनेछ ।

‘एनिमल फार्म’ बडापत्र

१७ अगस्ट १९४५ मा पहिलो पटक प्रकाशित जर्ज अर्वेलको ‘एनिमल फार्म’ र २४ अक्टोबर १९४५ देखि लागू भएको संयुक्त राष्ट्र संघको बडापत्रबीच दुई महिनाको अन्तर छ । अर्वेलको ‘एनिमल फार्म’ स्टालिनवादी रूसका बारेमा व्यंग्य हो । तर सो व्यंग्य हाल संयुक्त राष्ट्र संघकै बारेमा सत्य भएको छ । ‘एनिमल फार्म’ मा जस्तै संयुक्त राष्ट्र संघको सिद्धान्त र अभ्यासमा पनि समन्वय छैन । संयुक्त राष्ट्र संघको बडापत्र लोकतन्त्रको विकृत बडापत्र भएको छ । राष्ट्रिय स्तरमा तानाशाहीहरू मात्र होइनन्, लोकतान्त्रिक प्रणालीहरू पनि ‘एनिमल फार्म’ मा परिणत भएका छन् । समग्र रूपमा अन्तर्राष्ट्रिय प्रणाली ‘एनिमल फार्म’ भएको छ (कुन देश ‘एनिमल फार्म’ को कुन पात्रसँग मिल्दोजुल्दो छ भनी अनुमान गर्ने जिम्मा पाठकमै छाडिएको छ ।)

संयुक्त राष्ट्र संघको बडापत्रको प्रस्तावनामा उल्लेख छ, ‘हाम्रो जीवनकालमा दुई पटक मानवजातिलाई अकथित दु:ख दिएको युद्धको प्रकोपबाट आगामी पुस्तालाई बचाउन विवादको शान्तिपूर्ण समाधानको प्रतिज्ञा गर्छौं ।’ तर संयुक्त राष्ट्र संघको स्थापनायता पनि युद्ध रोकिएको छैन । हाल युरोपको मुटुमा चलिरहेको रुस–युक्रेन युद्ध र चीनविरुद्ध अमेरिकाको आगामी युद्ध चिन्ताजनक छन् । ‘एनिमल फार्म’ मा (मानव) किसानविरुद्ध नयाँ खुसीयालीपूर्ण समाज निर्माण गर्ने आशामा जनावरहरूले विद्रोह गर्छन् । अन्तत: धोका हुन्छ । नेपोलियन नामको शक्तिशाली सुँगुरको तानाशाही अन्तर्गत अवस्था खराब हुन्छ । अर्थात्, रुसमा जारशाहीलाई सन् १९१७ को क्रान्तिबाट हराई बोल्सेभिकहरू सत्तामा आए । रुसमा जोसेफ स्टालिनले विश्वासघात गरे भन्ने अर्वेलको सटीक व्याख्या छ । समाजमा विद्यमान असमानताबारे ‘सबै जनावरहरू बराबर छन् तर केही जनावरहरू अरूभन्दा बढी समान छन्’ भन्ने अर्वेलको प्रसिद्ध उद्धरण संयुक्त राष्ट्र संघका पाँच स्थायी सदस्यराष्ट्रहरूको विशेष शक्ति (भिटो) मा लागू हुन्छ ।

संयुक्त राष्ट्र संघका शक्तिशाली पाँच स्थायी सदस्यहरू बेलायत, अमेरिका, चीन, रुस र फ्रान्सले अन्तर्राष्ट्रिय स्थिति लगभग ‘एनिमल फार्म’ को जस्तै बनाएका छन् भन्दा अतिशयोक्ति नहोला । संयुक्त राष्ट्र संघका सबै सदस्यराष्ट्रको प्रतिनिधित्व भएको महासभालाई बाध्यकारी नियम बनाउने अधिकार छैन । संयुक्त राष्ट्र सुरक्षा परिषद् सबैभन्दा शक्तिशाली अंग हो जुन संसारमा पहिले कहिल्यै थिएन । तर यसका पाँच स्थायी सदस्यहरूसँग असाधारण शक्ति छ जसले निर्णय लिन मद्दत गर्न वा रोक्न सक्छन् । यी शक्तिहरूले संयुक्त राष्ट्र संघको स्थापनादेखि नै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विश्वमा निरन्तर युद्ध लडिरहेका छन् । काउन्सिल अन फरेन रिलेसन्स (ग्लोबल कन्फ्लिक्ट ट्रयाकर) का अनुसार, हाल विश्वभर २७ वटा युद्ध चलिरहेका छन् । युद्धहरूमा यी शक्तिहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न छन् । यी शक्तिहरू सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जनकर्ता हुन्, जलवायु असुरक्षाका लागि जिम्मेवार छन् । दुर्भाग्यवश, शान्ति र सुरक्षालाई यी पाँच शक्तिले निजी स्वार्थअनुकूल परिभाषित गर्ने गरेका छन् । तिनीहरू शक्ति–सर्वोच्चताका लागि निरन्तर संघर्षमा छन् । ठूला शक्तिहरू कसरी युद्ध जित्ने भन्नेमा केन्द्रित छन्, शान्ति कायम गर्न होइन ।

वर्गीय चरित्र

संसद्हरू जनताको साझा हित प्रतिनिधित्व गर्न किन असफल भइरहेका छन् ? वर्गीय राजनीतिको अन्त्य भएको हो वा वर्गलाई पुनर्परिभाषित गर्नुपर्ने हो ? मध्यम वर्ग सत्तामा पुगेपछि किन माथिल्लो वर्गलाई पन्छाउँछ, राजनीति विज्ञानका लागि अनुसन्धानको विषय हो यो । मध्यम वर्ग र लुम्पेन (सजिलोका लागि लम्पट) वर्गको स्वार्थ मिल्दैन (लम्पटले मध्यम वर्गको चिन्ता किन गर्नु ?) । ‘एनिमल फार्म’ का मुसा र खरायोलाई लुम्पेन भनिएको छ । सुँगुर, घोडा, गधा, बाख्रा, कुकुर आदि सर्वहाराको वर्गमा छन् । फार्मका प्रत्येक पात्र र तिनको मनोवृत्तिले नेपाल र विश्वका कम्युनिस्ट (वा गैरकम्युनिस्ट) पार्टीका नेता, समर्थक र मतदातालाई सचेत गराउन सक्छ । ‘एनिमल फार्म’ का विभिन्न पात्रमध्ये नेपालका ‘को चाहिँ को हुन्’ भनी बुझ्ने जिम्मा पनि पाठककै । ‘एनिमल फार्म’ का विशेष पात्रहरूको वर्ग–विशेषता निम्नानुसार पत्ता लगाउन सकिन्छ ।

मिस्टर जोन्स फार्म चलाउँछ । कथामा जोन्सले जार निकोलसको प्रतिनिधित्व गर्छ जसलाई रुसी क्रान्तिले हटायो । ओल्ड मेजर (बूढो सुँगुर) ले कार्ल माक्र्स वा भ्लादिमिर लेनिनको प्रतिनिधित्व गर्छ । आफ्नो जीवनको अन्त्यमा ओल्ड मेजरले सबै जनावरलाई भेला गरेर भाषण दिन्छ । ओल्ड मेजरले मानवजातिलाई जनावरहरूको शत्रु घोषणा गर्छ । काम नगरी खानेहरू निर्दयी हुन् भन्छ । सत्ता आफ्नो हातमा लिएपछि शक्तिशाली सुँगुर नेपोलियन (जोसेफ स्टालिन) ले अन्य जनावरलाई डर देखाउन र आफ्नो शक्ति सुदृढ गर्न सैन्य बल र नौ वफादार आक्रामक कुकुरहरूलाई प्रयोग गर्छ । आफ्नो समकक्षी अर्को सुँगुर स्नोबल (लियोन ट्रोत्स्की) भन्दा नेपोलियन धेरै विश्वासघाती साबित हुन्छ । स्नोबल नेपोलियनभन्दा बुद्धिमान, भावुक र वक्तृतामा निपुण छ । स्नोबलले अन्य जनावरको वफादारी जित्ने र आफ्नो शक्ति मजबुत गर्ने कोसिस गर्छ तर असफल हुन्छ । बक्सर घोडाले समर्पण र वफादारीको नमुना देखाउँछ । बक्सरले एनिमल फार्मका आदर्शहरूप्रति धेरै भक्ति देखाउँछ तर उसमा स्वतन्त्र रूपमा सोच्ने क्षमता कम छ । ‘म कडा मिहिनेत गर्नेछु’ र ‘नेपोलियन सधैं सही हुन्छ’ भन्ने बक्सरको आदर्श हो । स्कुएअलर (अर्को सुँगुर) ले राजनीतिक नियन्त्रण गर्न नेपोलियनको प्रचार–प्रसार गर्छ । क्लोभर घोडा बक्सरको नजिकको साथी हुन्छ । उसले ‘एनिमल कमान्डमेन्ट’ (सात आदेश) उल्लंघन गरेको शंका गर्छ तर बारम्बार आफूलाई दोषी ठहर्‍याउँछ । ती सात आदेश हुन्- दुई खुट्टावाला शत्रु हो । चार खुट्टावाला वा पखेटावाला साथी हो । जनावरले लुगा लगाउनु हुँदैन । जनावर ओछ्यानमा सुत्नु हुँदैन । जनावरले रक्सी पिउनु हुँदैन । जनावरले जनावरलाई मार्नु हुँदैन ।

मुरिएल (सेतो बाख्रा) ले क्लोभरलाई सात आदेश दिन्छ, जब क्लोभरले सुँगुरहरूले नियम उल्लंघन गरेको शंका गर्छ । मोसेस (काग) जोन्सको विशेष घरपालुवा हो । मोसेसका माध्यमले साम्यवादले कसरी उत्पीडितहरूलाई अन्वेषण गर्न प्रयोग गर्छ भन्ने बुझाउन खोजिएको छ । मोली (सेतो घोडी) मिस्टर जोन्सको गाडी तान्छ । मोलीले पुँजीवादी प्रतिनिधित्व गर्छ । विद्रोहको कुरा गर्दा मोली ‘रिबन लगाउन’ पाएकामा सत्तासँग सन्तुष्ट देखिन्छ । बेन्जामिन (गधा) ले विद्रोहबाट प्रेरित हुन अस्वीकार गर्छ । फ्रेडरिक (नाजी जर्मनी) छिमेकी फार्मको कडा चतुर मालिक हो । पिल्किङ्टन (अर्को छिमेकी) भद्र किसान हो । फ्रेडरिकको घोर शत्रु पिल्किङ्टनले इङ्ल्यान्ड र संयुक्त राज्य अमेरिकाका पुँजीवादी सरकारहरूको प्रतिनिधित्व गर्छ ।

ह्वाइम्पर (मानव) वकिललाई नेपोलियनले मानव समाजमा पशु फार्मको प्रतिनिधित्व गर्न नियुक्त गर्छ । ह्वाइम्परको प्रवेशले एनिमल फार्म र मानव समाजबीच सम्पर्कको सूत्रपात गर्छ, साधारण जनावरहरूलाई त्रस्त तुल्याउँछ । दुई कुकुर जेसी र ब्लुबेललाई नेपोलियनले शिक्षित तुल्याउँछ । नेपोलियनका बारेमा लेख्ने कवि सुँगुर मिनिमुस ‘बिस्ट्स अफ इङ्ल्यान्ड’ लाई प्रतिस्थापन गर्न साधारण देशभक्ति गीत ‘एनिमल फार्म’ लेख्छ ।

अवसरवादी मध्यमवर्गीय नेतृत्व

माक्र्सवादी वर्ग सिद्धान्त अनुसार व्यक्तिको उत्पादन–भूमिकाबाट राजनीतिक चेतना र वर्गीय स्थिति निर्धारण हुन्छ । मलाई माक्र्सवादी वर्गीय व्याख्याभन्दा जर्ज अर्वेलको वर्ग व्याख्या सटीक र सजिलो लाग्छ । अर्वेल भन्छन्- माथिल्लो वर्गले जहाँ पनि यथास्थिति कायम राख्न चाहन्छ । मध्यम वर्गले माथिल्लो वर्गलाई पन्छाउन चाहन्छ र तल्लो वर्गले वर्गविहीन व्यवस्था चाहन्छ । सामाजिक वर्ग चरित्रका बारेमा अर्को प्रचलित तर विवादास्पद दृष्टिकोण पनि छ । माथिल्लो वर्गले जानीजानी अनैतिक काम गर्छ । तल्लो वर्गले अनजानमा अनैतिक कार्य गर्छ । मध्यम वर्ग सबैभन्दा अवसरवादी हुन्छ । यस वर्गले उदार लोकतन्त्रमा जीवनको सामाजिक लयलाई नियन्त्रण गर्छ । यसलाई समाजको मेरुदण्ड भनिन्छ । त्यसैले पश्चिमा राजनीतिक दलहरूले निम्न वर्गको अस्तित्व नै नभएको झैं मध्यम वर्गलाई जोड दिन्छन् ।

अर्वेलको मध्यम वर्ग माक्र्सवादी ‘लुम्पेन सर्वहारा’ सँग मिल्दोजुल्दो देखिन्छ । माक्र्सवादी शब्दावलीमा उत्पीडितको सामूहिक हितप्रति सचेतना नभएको वर्गलाई लुम्पेन भनिन्छ । यो सर्वहारा वर्गप्रति वफादार हुँदैन । वास्तविक सर्वहारा वर्ग सामूहिक हितप्रति सचेत हुन्छ । यस वर्गको एक मात्र सम्पत्ति श्रम शक्ति हो । अर्थात्, प्रतिदिन ज्याला कमाउने र बिहान–बेलुकी जीवनयापन गर्नेलाई सर्वहारा वर्ग भानिन्छ । ‘एनिमल फार्म’ मा मुसा र खरायोले तल्लो वर्गको प्रतिनिधित्व गर्छन् ।

नेपालमा केही बौद्धिकले मुलुक ‘सामन्तीबाट पुँजीवादी अर्थतन्त्र’ मा रूपान्तरण भएको घोषणा गरेका थिए । यदि यो सत्य हो भने कम्युनिस्ट घोषणापत्रमा उल्लिखित ‘सर्वहारा’ शब्दले आजको कुन वर्गलाई इंगित गर्छ ? आधुनिक कम्युनिस्ट विचारकहरूलाई यो प्रश्नको जवाफ दिन कठिनाइ हुन सक्छ । सायद उत्तर–औपनिवेशिक अध्ययन शब्द ‘सबाल्टर्न’ वा ‘सीमान्तकृत’ आधुनिक सर्वहारा हुन सक्छन् । कुनै पनि देश विशुद्ध रूपमा पुँजीवादी वा गैरपुँजीवादी हुँदैन । उदाहरणका लागि, बेलायत, स्विडेन र जापान सामन्ती र पुँजीवादी पनि छन् । प्रत्येक समाजमा समानान्तर रूपमा असभ्य विगत, सामन्ती व्यवहार र पुँजीवादी प्रवृत्ति वा समाजवादी परम्पराहरू पनि हुन्छन् । वर्तमान विश्वका प्रमुख आर्थिक शक्तिहरू यी सबै विशेषता एकैसाथ बाँचिरहेका छन् । आम सरोकारका विषयहरूमा राजनीतिक सिद्धान्त र अभ्यासमा समन्वय छ वा छैन भन्ने निश्चित गर्नु मुख्य मुद्दा हो । मध्यम वर्ग समाजको मेरुदण्ड हुन सक्छ । यो समस्या पनि साबित भएको छ ।

दर्शन र सिद्धान्तबिनाका जीवन र समाज मृततुल्य हुन्छन् । वर्गविहीन समाज सायद सम्भव छैन तर बौद्धिक रूपमा मानवतावादी बुझाइबाट वर्गविहीन हुन सम्भव छ । यसको अर्थ हो- आफूलाई अरूमा देख्न सक्षम हुनु । मानवतावादी राजनीतिक शिक्षाको अभावले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिहरू ‘एनिमल फार्म’ मा परिणत भएका छन् ।

उदारवादी र जातिवादी गठबन्धन

वर्तमानमा पश्चिमी लोकतान्त्रिक सिद्धान्त र अभ्यासमा गम्भीर विरोधाभास स्पष्ट छ । पश्चिमी उदारवादी पार्टीहरू जातिवादी पार्टीहरूसँग गठबन्धनमा छन् । उदाहरणका लागि, नव–फासिस्ट जर्जिया मेलोनी इटालीको प्रधानमन्त्री भएकी छन् । स्विडेनमा, नाजी विचारधारामा आधारित जातिवादी दल ‘इसभारिया डेमोक्रातना’ दक्षिणपन्थी गठबन्धन सरकारको प्रमुख साझेदार भएको छ । स्विडिस उदारवादी (लिब्रालना), दक्षिणपन्थी मोडरेट (मुदरातना) र क्रिस्चियन डेमोक्य्राटहरूले ‘इसभारिया डेमोक्रातना’ को सहयोगमा देशमा शासन गरिरहेका छन् । अमेरिकामा ट्रम्पियन जातिवाद भविष्यमा कुनै पनि समय फर्कन सक्छ । ब्रिटिस लोकतन्त्र हाँसोको पात्र भएको छ । ब्रेक्सिट राष्ट्रवादी जातिवादको कारक र परिणाम हो । युरोपेली कन्जर्भेटिभ दलहरू राष्ट्रवाद र जातिवादतर्फ अघि बढिरहेका छन् । भारत धार्मिक कट्टरतातर्फ जाँदै छ । भारतमा भाजपा सत्तामा रहिरहे त्यो केही दशकभित्रै हिन्दु राष्ट्र (हिन्दु पाकिस्तान) हुने कतिपयको अनुमान छ ।

चीन फरक ग्रहका रूपमा विकसित हुँदै छ । वर्तमान चिनियाँ राष्ट्रपति सी चिनफिङको नेतृत्वमा सुरक्षा ‘राष्ट्रवादी दक्षिणपन्थी’ भएको छ । राजनीतिक रूपमा त्यहाँको सत्तारूढ पार्टी ‘लेनिनिस्ट लेफ्ट’ तर्फ जाँदै छ भनिन्छ । अर्थात्, पहिलेभन्दा धेरै पार्टी–नियन्त्रण, चीनका राष्ट्रपतिमा शक्तिको केन्द्रीकरण । आर्थिक रूपमा चीन ‘माक्र्सिस्ट लेफ्ट’ तर्फ बढिरहेको छ पनि भनिन्छ । अर्थात्, राजनीतिले आर्थिक नीति तय गर्ने हो । ‘धनी हुनु गौरवको कुरा हो’ भन्ने देङ स्याओपिङको धारणा परिवर्तन हुँदै छ । देङका पालामा विदेशी लगानी, आर्थिक वृद्धिमा बाधा पुर्‍याउने नोकरशाही नियमहरू र हस्तक्षेपहरूबाट अपेक्षाकृत मुक्त अर्थतन्त्र विकासको इन्जिन बनेको थियो । त्यसमा केही परिवर्तन हुनेछ । यसको अर्थ सम्पत्तिको बाँडफाँट पनि हो । चिनियाँ कम्युनिस्ट पार्टीले एडम स्मिथको ‘ज्याला र उत्पादकता’ व्यावहारिक रूपमा अपनाएको भए पनि तल्लो वर्गलाई मध्यम वर्ग बनाउनु वर्तमान चिनियाँ शासनको मूल नारा हो । सर्वहारा वर्गको सट्टा मध्यम वर्ग वर्तमान चिनियाँ समयको एजेन्डा भएको छ ।

युद्धको सामान्यीकरण

मध्यमवर्गीय राजनीतिज्ञहरू जानाजानी दोहोरो कुरा गर्छन् । अर्वेलले आफ्नो पुस्तक ‘नाइन्टिन एटिफोर’ (पहिलो प्रकाशन, ८ जुन १९४९) मा उल्लेख गरेको ‘युद्ध शान्ति हो, स्वतन्त्रता दासत्व हो र अज्ञानता शक्ति’ हो भन्ने उद्धरण आधुनिक समयमा वास्तविकता बनेको छ । केही सम्मानजनक अपवादबाहेक धेरै पश्चिमी मिडियाले युद्धलाई वैधानिकता दिएका छन् । मिडियाद्वारा युद्धका लागि सहमति निर्माण जारी छ । ‘एनिमल फार्म’ को स्कुएअलर (सुँगुर) ले राजनीतिक नियन्त्रण गर्न फार्मको तानाशाह नेपोलियनको प्रचार–प्रसार गरेझैं युद्धप्रति मिडियाको समर्थन बढ्दै गएको छ । शान्तिका लागि नोबेल पुरस्कार विजेताहरू शान्तिकै पक्षमा बोल्ने हिम्मत गर्दैनन् । अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुडले आफ्नो पुस्तक ‘द एभोइडेबल वार : द डेन्जर्स अफ अ क्याटस्ट्रोफिक कन्फ्लिक्ट

बिट्विन द यूएस एन्ड सी चिनफिङ चाइना’ (सन् २०२२) मा लेखेका छन्- चीन र अमेरिकाबीचको युद्ध घातक र विनाशकारी हुनेछ । भूराजनीतिक प्रकोप अझै पनि टार्न सकिनेछ र रणनीतिक प्रतिस्पर्धाका माध्यमबाट आफ्नो मूल चासोलाई धोका नदिई सहअस्तित्वको बाटो पत्ता लगाउनुपर्छ । रुस र युक्रेन युद्धबारे नोम चोम्स्की र जेफ्री साक्सले शान्तिका लागि आह्वान गरिरहेका छन् । फिलिप स्यान्ड्सले आफ्नो पुस्तक ‘ललेस वल्र्ड’ (सन् २००५) मा भनेझैं संसार कानुनविहीन भएको छ । राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरमा लोकतान्त्रिक मूल्य र मानवताको अनादर गर्नेहरू नाजीवादी, फासिस्ट जातिवादी र अमानवीय हुन्छन् ।

प्रकाशित : मंसिर ४, २०७९ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?