१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

महँगीले दिएको आहत

जनता महँगीले पिल्सिँदा वास्ता नगर्नेहरू, जनतालाई सिटामोलको अभाव हुँदासमेत नहेर्नेहरू अहिले भोट माग्नकै लागि घरखेत गएर जाँतो पिस्ने, ओखल कुट्ने, धान काट्ने गरेको देख्दा टीठ लाग्छ ।
मञ्जु भट्ट

तरकारी बजारमा सधैंजसो भेट हुने साथीहरू यसपालि दसैंतिहारको खर्च टार्न सकिएकामा खुसी भएको अनुभव सुनाइरहेका थिए । दसैंमा घर जादाँ बसभाडा लगायत लत्ताकपडाको मूल्यसमेत बढ्दा खर्च बेहोर्न गाह्रो भएको बताइरहेका थिए । मध्यमवर्गीय परिवारका गृहिणीहरू श्रीमान् एक जनाको तलबको भरमा सहरमा बसेर छोराछोरी हुर्काउन, पढाउन साह्रै मुस्किल भएको भन्दै थिए ।

महँगीले दिएको आहत

खाना पकाउने एउटा ग्यास सिलिन्डरको मात्रै उन्नाइस सय, एक पोका खाने तेलको झन्डै चार सय, पाँच किलो गहुँको पीठो गत वर्षको तिहारमा तीन सय दस परेकामा यसपालि भने चार सय रुपैयाँमा किन्नुपरेको सबैको गुनासो थियो । एक किलो गोलभेंडाको मात्रै एक सय बीस रुपैयाँ तिर्न बाध्य भएकाहरू, स्वास्थ्य तथा शिक्षाको राम्रो व्यवस्था भएको भए, दसैंमा घर गएपछि सहर सायद फर्किंदैनथे । तिहारमा भाइटीकाका लागि चाहिने भाइमसला लगायत फलफूलको मूल्य पनि त्यति नै बढेको थियो । एक किलो स्याउ तीन सय तथा माला बनाउन चाहिने एक किलो फूलको सात सय रुपैयाँ तिर्नुपर्‍यो । समग्रमा, यसपालि दसैंतिहार अति नै महँगो पर्‍यो । मूल्य वृद्धिकै कारण दसैंतिहारमा हुने अधिक खर्चले अबका छ महिना घर चलाउन गाह्रो पर्ने कतिपय गृहिणी सुनाउँदै थिए । सुक्खा बीस–पच्चीस हजारमा काम गर्नेहरूलाई अहिलेको महँगी थेग्न साँच्चै गाह्रो भएको छ ।

हामी जनता महँगीले आहत छौं । बालबच्चाको खर्च, वृद्धवृद्धाको औषधि जुटाउनै हम्मे पर्न थालेको छ । सुन्दर घर बनाउने सपनाहरू सपनै रहन थालेका छन् । अर्कातिर, पाँच वर्षपछि देश फेरि आम चुनावमय भएको छ । प्रत्येक चुनावमा हामी जनताले भोट हाल्दै आएका छौं, तर देशले स्वच्छ छवि भएका नेता अहिलेसम्म पाउन सकेको छैन । नेताहरूले जनताले दिएको भोटका भरमा आफ्नो घर मात्रै नचलाएर देश विकासमा पनि ध्यान दिएको भए हाम्रा गाउँघर अहिले आएर खाली हुने थिएनन् । स्वास्थ्य, शिक्षा, खानेपानी, यातायात लगायतका आधारभूत आवश्यकताहरू नै पुग्न नसकेका गाउँघरमा कोही किन बसिराखोस् !

यातायातको राम्रो व्यवस्था हुन नसक्दा गाउँघरमा उत्पादित स्याउ लगायतका फलफूल, दाल, तरकारी ढुवानीको समस्या छ । सहरबाट नुन–तेल लगायतका आवश्यक साम्रगीहरू गाउँघर पुर्‍याउन पनि त्यत्तिकै कठिनाइ छ । वैज्ञानिक अध्ययन नै नगरी जथाभावी खनिएका सडकहरूका कारण बर्सेनि कैयौंले ज्यान गुमाइरहेका छन् । यातायात असुविधाकै कारण गाउँका सुत्केरीहरूले यो युगमा समेत सामान्य उपचारसम्म नपाएर अत्यधिक रक्तस्राव जस्ता कारणले अकालमै ज्यान गुमाइरहेका छन् । बेलाबेला सिटामोलकै समेत अभाव हुने गरेको छ । गाउँमै सुविधासम्पन्न अस्पताल बन्न नसक्दा ठूलै रोग लागेको खण्डमा लाखौं खर्चेर सहर वा भारत पस्नुपर्ने बाध्यता अहिले पनि छ । ज्येष्ठ नागरिकले समेत निःशुल्क उपचार नपाउने कस्तो देश बनाए नेताहरूले ! विकसित देशहरूमा नसक्ने ज्येष्ठ नागरिक, बालबालिकाको भरणपोषण र सुरक्षाको सम्पूर्ण जिम्मा सरकारले उठाएको हुन्छ भन्ने सुन्दा मुटु कटक्क खान्छ ।

हालै स्विटजरल्यान्डले झन्डै दुई किलोमिटर लम्बाइको पर्यटकीय रेल गुडायो । एकैचोटि साढे ४ हजार पर्यटकलाई घुमाउन सकिने रेलमा सय डिब्बा थिए । ‘नेपाललाई स्विटजरल्यान्ड बनाउँछौं, देशमा रेल गुडाउँछौं, यहाँका नदीहरूमा पानीजहाज चलाउँछौं, ग्यासपाइप घरघरै जोड्छौं’ भन्दै जनतालाई ढाँटेर नअघाएका नेताहरू फेरि ढाँट्दै भोट माग्न घरदैलोमा व्यस्त छन् । पूर्वमा रेल चल्ने र पश्चिममा पानीजहाज चल्ने कहिले हो, पश्चिम सेतीबाट बिजुली निस्कने कहिले हो, पञ्चेश्वर जलविद्युत् कहिले बन्ने हो, कसैलाई थाहा छैन, तर प्रत्येक चुनावमा आश्वासनले भरिएका पानाहरू लिएर नेताहरू भोट माग्न जान्छन्, जितेपछि फर्केर पनि हेर्दैनन् । फलस्वरूप रोजगारीका बाटाहरू बन्द हुन पुग्छन्, युवाहरू बिरक्तिएर विदेश हान्निन्छन् । देश जहाँको तहीँ । अर्कोपालि पनि नेताहरू तिनै विषय लिएर पुनः हाम्रा घरदैलामा आउनेछन् । भोट माग्नेछन्, जितेपछि फेरि बेपत्ता हुनेछन् । हाम्रो भोट पाएर विजेता बनेकाहरू करोडौंका मालिक भएर सहरबजारमा बस्छन्, पाखुरा खियाएर हातमुख जोर्ने हामी जहीँको तहीँ ! खासमा त भोट माग्नेहरूले आफ्नै गाउँठाउँ बसेर देश विकास गर्दै र त्यहाँका जनताको जीवनस्तर उकास्दै जानुपर्ने हो । विडम्बना, नेताहरूको अदूरदर्शिताका कारण हाम्रा गाउँठाउँ उजाडिँदै गएका छन् । गाउँमा बस्ने मानिसहरू आफ्ना आधारभूत आवश्यकताहरू पूर्ति गर्न तथा सुविधाहरूकै कारण सहरतिर सर्दै गएका छन् । यसले वातावरणमा असन्तुलन त ल्याएको छ नै, खाद्य प्रणालीमा समेत असर पारिरहेको छ । आफ्ना लागि चाहिने खाद्य पदार्थ आफैं उत्पादन गर्ने गाउँलेहरू अहिले आयातित खाद्यान्नमा भर पर्न थालेका छन् । यसले गर्दा पनि महँगी बढेको हो ।

जनता महँगीले पिल्सिँदा वास्ता नगर्नेहरू, जनतालाई सिटामोलको अभाव हुँदासमेत नहेर्नेहरू अहिले भोट माग्नकै लागि घरखेत गएर जाँतो पिस्ने, ओखल कुट्ने, धान काट्ने गरेको देख्दा टीठ लागेर आउँछ । शरीरमा तागत भएका युवाहरूलाई विदेश हान्निनबाट रोक्न सरकारले देशमै रोजगारी सृजना गर्न ढिलो भइसकेको छ । सरकारी तवरबाट खेतीपातीका लागि जमिन छुट्याएर इच्छुक युवाहरूलाई त्यसमा लगाउन सकिन्छ । पशुपालनका लागि उचित ठाउँको व्यवस्था गर्न सकिन्छ । आफ्नै देशमा उत्पादित सरसामान, लत्ताकपडा, खाद्यान्न, फलफूल, औषधिहरू उत्पादन हुन सके आयात घटी महँगी यस्तो अचाक्ली हुन पाउँदैनथ्यो कि ? यस्तो हुन सकेमा गृहिणीहरूलाई घर चलाउने चिन्ताले सताउँदैनथ्यो कि ?

आफ्ना बालबालिकालाई पोषिलो खाना खुवाउन सकिन्थ्यो कि ?

प्रकाशित : कार्तिक २५, २०७९ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपालको पासपोर्ट फेरि पनि विश्व वरीयतामा १०३ औं स्थानमा परेर खराब सूचिमै दर्ज भयो । स्तर उकास्न मुख्य रुपमा के गर्नुपर्छ ?