चुनावी खर्च र पारदर्शिता- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुनावी खर्च र पारदर्शिता

हरेक निर्वाचन क्षेत्रमा मुख्य उम्मेदवारहरूलाई राखेर उनीहरूका विगतका काम र चुनावी एजेन्डामा बहस गराउन सके जनतालाई मतदानका लागि निर्णय लिन सजिलो हुने थियो । खर्च कम गर्ने अर्को उपाय भनेको प्रचारप्रसारको अवधि छोट्याउनु हो ।
मैना धिताल

चुनाव नजिकिँदै जाँदा दल र उम्मेदवारहरूले प्रचारप्रसारलाई तीव्र बनाएका छन् । त्योसँगै पैसाको खेलो पनि बढ्दो छ । अपवादबाहेक पैसा खर्च गर्न नसक्ने उम्मेदवार र दललाई चुनाव जित्न पनि मुस्किल पर्ने अवस्था पछिल्ला वर्षहरूमा देखिन थालेको छ ।

अघिल्लो संघीय चुनावको खर्च हेर्दा पनि हार्ने (निकटतम प्रतिद्वन्द्वी) उम्मेदवारभन्दा जित्नेले बढी खर्च गरेको देखिन्छ । जस्तो कि, अघिल्लो संघीय निर्वाचनमा जित्नेले २ करोड १२ लाख र हार्ने उम्मेदवारले १ करोड ४९ लाख रुपैयाँ खर्च गरेको पाइएको थियो ।

गत आम निर्वाचनमा प्रतिनिधिसभाका हरेक उम्मेदवारलाई बढीमा २५ लाख रुपैयाँ र प्रदेशमा बढीमा १५ लाख रुपैयाँ खर्चसीमा तोकिएको थियो । यो पटक निर्वाचन क्षेत्र हेरेर संघीय संसद्का उम्मेदवारलाई बढीमा ३३ लाख र प्रदेशका उम्मेदवारलाई बढीमा १५ लाख रुपैयाँसम्म खर्च गर्न दिइएको छ । मतदाताको संख्या, मतदान केन्द्र र निर्वाचन क्षेत्र अनुसार रकमको सीमा तोकिएको हो । संघीय उम्मेदवारको खर्चसीमा २७ लाखदेखि ३३ लाख रुपैयाँ तोकिएको छ भने प्रदेशतर्फ यो सीमा निर्वाचन क्षेत्र हेरी १५ लाखदेखि २३ लाखसम्म । यथार्थमा भने दलहरूले तोकेको सीमाभन्दा धेरै ठूलो रकम खर्च गर्ने गरेको र त्यसको स्रोत पारदर्शी नहुने गरेको पाइन्छ ।

इलेक्सन अब्जर्भेसन कमिटी नेपालले गरेको ‘स्टडी अन द इलेक्सन क्याम्पेन फाइनान्स’ अध्ययन प्रतिवेदन अनुसार, निर्वाचनमा सरकार र पार्टीले भन्दा उम्मेदारहरूले बढी पैसा खर्च गर्ने गरेका छन् । यसले के देखाउँछ भने, दल र उम्मेदवारहरूले सिद्धान्त र एजेन्डाभन्दा पैसाको आडमा मतदातालाई प्रभावमा पार्ने गरेका छन् । सोही प्रतिवेदन अनुसार पाँच वर्षअघिको स्थानीय तह निर्वाचनमा करिब ६९ अर्ब रुपैयाँ खर्च भएको थियो । त्यसमध्ये उम्मेदवार र तिनका समर्थकहरूबाट करिब ५१ अर्ब र सरकारबाट १८ अर्ब रुपैयाँ हाराहारी खर्च भएको थियो । प्रदेश र संघीय चुनावमा पनि त्यही प्रवृत्ति देखिन्छ । अघिल्लो चुनावमा दुवै तहमा गरी ६२ अर्ब निर्वाचन खर्च भएकामा झन्डै ४६ अर्ब रुपैयाँ उम्मेदवार र समर्थकहरूबाट भएको थियो भने बाँकी सरकारबाट । स्थानीय तह चुनावमा औसतमा प्रतिमतदाता ४ हजार ९२३ रुपैयाँ र प्रदेश तथा संघीय निर्वाचनमा प्रतिमतदाता ४ हजार ४० रुपैयाँ खर्च भएको उक्त अध्ययनमा उल्लेख छ । यसले पनि चुनाव खर्चिलो बन्दै गएको देखाउँछ ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको ‘ट्रान्सपरेन्सी इन पोलिटिकल फाइनान्स इन नेपाल’ प्रतिवेदन अनुसार, दलहरूले नियमित आर्थिक हिसाबकिताब राखे पनि कानुनमा उल्लेख भए अनुसार प्रक्रिया पालना र पारदर्शिता अपनाउन सकेका छैनन् । व्यवहारमा हेर्दा कुनै पनि दलले दाताको पहिचान सम्बन्धी जानकारी सार्वजनिक गर्दैन । सहयोगका रूपमा आउने वास्तविक रकम र दाताको नाम गोप्य राख्ने गरिएको छ । व्यापारिक घरानासहित विभिन्न स्वार्थ बोकेका र दबाब समूहहरूबाट सहयोग लिने चलन पछिल्लो समय बढ्दै छ ।

चुनावी खर्च विश्वव्यापी समस्या

अमेरिकाको चुनावमा पनि पैसाको प्रभाव र भूमिका सर्वोपरि रहने गरेको छ । अमेरिकी चुनावमा अपारदर्शी रूपमा नाफारहित संस्थाहरूले उपलब्ध गराउने चन्दा पनि चिन्ताको विषय बन्दै गएको छ । सुपर प्याक त्यस्ता समूहहरू हुन्, जसले चुनावमा कर्पोरेसन, मजदुर युनियन र व्यक्तिहरूबाट असीमित रूपमा सहयोग उठाउन पाउँछन् । ओपनसेक्रेट सोसाइटीका अनुसार, सन् २०१० यता मात्रै अमेरिकी चुनावमा ‘डार्क मनि’ (अपारदर्शी रकम) का समूहहरूले टीभी, अनलाइन लगायतमा विज्ञापन गर्नमा करिब १ अर्ब डलर खर्च गरेका छन् ।

यसैलाई मध्यनजर गर्दै हालै राष्ट्रपति जो बाइडेनले अमेरिकी कंग्रेसलाई निर्वाचन अभियानमा गरिने खर्च सम्बन्धी कानुनको मस्यौदा पास गर्न आग्रह गरे । तर, रिपब्लिकनको साथ नपाउँदा यो विधेयक सेनेटबाट पास हुन सकेन । ‘डिस्क्लोज एक्ट’ नामको उक्त मस्यौदामा सुपर प्याक र ५०१ (सी)(४) अन्तर्गत सञ्चालन भएका नाफारहित संस्थासहित चुनावमा रकम जुटाउन गठित राजनीतिक समूहहरूले १० हजार डलरभन्दा बढी सहयोग गर्ने ठूला दाताहरूको नाम सार्वजनिक गर्नुपर्ने व्यवस्था थियो । साथै, विदेशी संस्थाले पनि त्यसमा आर्थिक सहयोग गर्न नपाउने प्रावधान समेटिएको थियो ।

अहिले पनि थुप्रै संस्थाले लुकीछिपी चुनावमा आर्थिक सहयोग गर्छन् । तिनमा हातहतियार उत्पादनदेखि धार्मिक, स्वास्थ्य, शैक्षिक, कृषि, वातावरण, व्यापारिक संघसंस्थासम्म छन् । तिनीहरूले यस्तो सहयोग समूहगत रूपमा दिन्छन् । सहयोगबापत उनीहरूले आफ्नो स्वार्थअनुकूल ऐनकानुन निर्माणमा दबाब र प्रभाव पार्छन् । बन्दुक अधिकार, गर्भपतन, हेल्थकेयर लगायत सम्बन्धी कानुन निर्माण यिनै दबाब समूहहरूको स्वार्थ अनुसार प्रभावित हुने गरेका छन् ।

बढ्दो खर्च अर्थतन्त्रलाई पनि समस्या

निर्वाचन लोकतन्त्रको एउटा महत्त्वपूर्ण प्रक्रिया हो । यसलाई स्वच्छ, धाँधलीरहित र प्रतिस्पर्धात्मक बनाउन पनि राज्यका तर्फबाट बजेट लगायतका स्रोतसाधनको आवश्यकता पर्छ । तर, खर्च धेरै बढ्दा यसको प्रभाव मुलुकको अर्थतन्त्रमा पनि पर्न जान्छ । सरकार र उम्मेदवारहरूबाट हुने खर्चले अन्ततः मुलुकको अर्थतन्त्रमा मुद्रास्फीतिको दबाब बढ्न जान्छ । त्यसै पनि अहिले अर्थतन्त्र कठिन अवस्थामा छ । उपभोक्ता मुद्रास्फीति पनि यो वर्ष झन्डै ८ प्रतिशत पुगेको छ ।

‘द हिमालयन टाइम्स’ मा १७ नोभेम्बर २०१७ मा प्रकाशित विकासराज सत्यालको एउटा लेख अनुसार, अर्थतन्त्रको आकार सानो भए पनि नेपालको चुनाव भारतका तुलनामा १४७ गुणा बढी महँगो छ । चुनावको खर्चलाई सार्वजनिक लगानीका रूपमा लिने गरिन्छ । किनकि यसले अन्ततः लोकतन्त्रलाई बलियो बनाउँछ । निर्वाचनमा चुनिएर गएका उम्मेदवार र निकायले जनताको जीवनस्तर उकास्ने र उनीहरूको समग्र जीवनमा रूपान्तरण हुने खालका पारदर्शी निर्णय र काम गर्न सके मात्रै निर्वाचन खर्चको प्रतिफल आउँछ । नत्र भने यो जनता र राज्यलाई भार मात्रै बन्न जान्छ ।

खर्च कसरी घटाउने

चुनावी खर्च घटाउन चुनौतीपूर्ण भए पनि नसकिने भने हैन । पछिल्लो पटक काठमाडौं र धरानका मेयर लगायत युवा पुस्ताले कम रकम खर्च गरेरै पनि चुनाव जित्न सकिन्छ भन्ने उदाहरण देखाएका छन् । उम्मेदवारले आफ्ना मुद्दालाई जनतामा बुझाउन सकेमा पैसाको बलमा मात्रै चुनाव जित्नेहरू निरुत्साहित हुन सक्छन् ।

निर्वाचन र उम्मेदवारी घोषणाबीच लामो समयको अन्तर हुँदा पनि खर्च बढ्न पुग्छ । त्यसैले चुनाव प्रचारप्रसारको अवधि घटाउने र मितव्ययी बनाउनेतिर ध्यान दिन आवश्यक छ । चरणबद्ध निर्वाचनले पनि खर्च बढाउँछ । सकेसम्म सबैतिर एकै दिन चुनाव गर्न सकेमा यसले राज्यको खर्च घटाउन सक्छ ।

हरेक निर्वाचन क्षेत्रमा मुख्य उम्मेदवारहरूलाई राखेर उनीहरूका विगतका काम र चुनावी एजेन्डामा बहस गराउन सके जनतालाई मतदानका लागि निर्णय लिन सजिलो हुने थियो । खर्च कम गर्ने अर्को उपाय भनेको प्रचारप्रसारको अवधि छोट्याउनु हो । चुनाव प्रचारको अवधि जति बढी भयो, उति नै बढी समय दल र उम्मेदवारहरू जनताका घरदैला र प्रचारप्रसारमा खटिनुपर्ने हुन्छ । यसले खर्च बढाउने र जनताको दैनिकीलाई पनि बिथोल्छ । गरिखाने वर्गलाई भोट माग्न आउने सबै उम्मेदवारलाई अलिअलि समय दिँदा पनि धेरै समय जान्छ ।

अझ पाँच वर्ष पनि नपुगी बीचबीचमा चुनाव गर्नुपर्ने अवस्थामा त समय, पैसा र अन्य स्रोतसाधनको खर्च बढी नै हुन्छ । स्थानीय र संघीय चुनावको मिति पनि चाडपर्वको मितिजस्तै हरेक पाँच वर्षको निश्चित महिना र गते हुने भनेर क्यालेन्डरमै तोक्न आवश्यक छ । त्यसो हुँदा चुनावप्रतिको अनिश्चितता हट्ने अनि दल र राज्यलाई समयमै निर्वाचन खर्चका लागि योजना बनाउन पनि समय मिल्छ ।

निर्वाचन खर्चमा पारदर्शिता

गोप्य रूपमा कुनै व्यापारी वा संस्थासँग पैसा लिएर चुनाव लड्नुभन्दा सार्वजनिक रूपमा चन्दा आह्वान गरेर त्यसलाई पारदर्शी बनाउनु उचित हुन्छ । पछिल्लो समय स्वतन्त्र र युवा पुस्ताका उम्मेदवारहरूले त्यसलाई अनुसरण पनि गरेका छन् । चुनावमा चन्दाका लागि वेबसाइट नै बनाएर त्यसमा सहयोग गर्नलाई सार्वजनिक रूपमै आह्वान पनि गरेका छन् । लुकीछिपीभन्दा पारदर्शी रूपमा लिइएको चन्दा मुलुक र जनताको हितमा हुन्छ ।

राज्यका तर्फबाट पनि दलहरूलाई प्राप्त मतका आधारमा खर्चमा केही सहायता दिन सकिन्छ । विकसित मुलुकहरूमा राज्यले पार्टीहरूलाई निर्वाचन खर्च लगायतमा सहयोग दिने गरेका छन् । यस्तो सहयोग करदाताहरूबाट आउने हुँदा वार्षिक रूपमा त्यसको लेखापरीक्षण गरी सार्वजनिक गर्नुपर्ने दायित्व पार्टीहरूमा हुनेछ । राज्यको सहयोगले दलहरूलाई बढी विवेकसम्मत रूपमा खर्च गर्न, पारदर्शिता अपनाउन र देशका करदाताप्रति जवाफदेह बन्न पनि जिम्मेवार बनाउनेछ ।

त्यसो त व्यक्ति र संस्थाले दिने निजी चन्दालाई निरुत्साहित गर्न सार्वजनिक तथा सरकारी सहयोग बढाउनुपर्ने हुन्छ । सरकारी सहयोग रकम नगद र जिन्सी दुवैमा लिन सकिन्छ । यसले ठूला र निजी तर अपारदर्शी रूपमा सहयोग गर्ने दाताहरूप्रति दलहरूको परनिर्भरता घटाउँछ । तर, सरकारी सहयोग रकमका पनि सीमा र सर्तहरू तोकिनुपर्छ । र, त्यसलाई पारदर्शी बनाइनुपर्छ । सबै दलले एकद्वार बैंक खातामार्फत खर्च र आम्दानीको कारोबार गर्नुपर्ने व्यवस्था हुन सके आर्थिक पारदर्शिता कायम गर्न मद्दत पुग्नेछ । राजनीतिमा बाह्यशक्तिको प्रभाव हावी रहेको नेपालजस्तो मुलुकमा विदेशी नागरिक र निकायबाट सहयोग नलिनु नै राम्रो हुन्छ ।

जनताले पनि दुई–चार सय रुपैयाँ वा मासु भातको प्रलोभनमा परेर भोट दिने गर्नु हुँदैन । किनकि तपाईंलाई मासुभात खुवाउन जजसले पैसा लगानी गरेका हुन्छन्, अर्थात् जुनजुन नेताले पैसा दिएका हुन्छन्, तिनीहरूले भविष्यमा त्यो असुली गर्न आफूअनुकूलको कानुन बनाउन दबाब दिन सक्छन् । नाफाका लागि कसैले कानुन मिच्दा वा जनतालाई दिनदहाडै ठग्दा र अन्याय गर्दा पनि तपाईंले जितेर पठाएका जनप्रतिनिधिहरूले उसको विरोधमा बोल्न सक्नेछैनन्, उसलाई उल्टो संरक्षण दिनेछन् ।

प्रकाशित : कार्तिक २३, २०७९ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्

भात खाने बानी र हाम्रो अर्थतन्त्र

मुलुकमा हाल वार्षिक १८ लाख मेट्रिक टन चामलको खपत रहेकामा स्वदेशी उत्पादनले १० लाख मेट्रिक टन मात्रै धान्ने गरेको छ ।
मैना धिताल

भारतले सेतो र खैरो धान तथा चामलमा लाग्ने कर २० प्रतिशत बढाएपछि यतिखेर नेपालमा उपभोक्तालगायत सरोकारवालाको ध्यान खिचेको छ । दसैं, तिहार र छठजस्ता ठूला चाडपर्व मनाउने तयारी गरिरहेका नेपालीहरूका लागि त्यो निर्णयले तत्कालै भार थप्ने देखिन्छ ।

यसले भोकमरीको अवस्थासमेत निम्त्याउन सक्ने भन्दै दाल चामल तेल उत्पादक संघले सरकारको ध्यानाकर्षण गराएको छ (कान्तिपुर, २०७९ भदौ २४) । नेपालीहरूको भान्सामा पाक्ने चामलको ठूलो हिस्सा भारतबाट भित्रिने गरेकाले नयाँ करदरप्रति सरोकार हुन स्वाभाविकै हो । अल्पकालका लागि भारतलाई त्यसो नगर्न मनाउन सकिएला । तर, मुलुकको अर्थतन्त्र र नागरिकको स्वास्थ्य दुवैका लागि समस्याग्रस्त बनेको ‘भाते बानी’ मा पनि परिवर्तन ल्याउनुपर्ने देखिएको छ ।

खेतीपाती घट्दै, भात खाने प्रवृत्ति बढ्दै

वैदेशिक रोजगारीमा नेपालीहरू जाने क्रम जति बढ्यो, उति नै कृषि क्षेत्र पनि बाँझो रहने सिलसिला बढ्न थाल्यो । यो अवस्था बुझाउन आर्थिक आँकडाको सहायता लिनुपर्दैन, मुलुकका दुई–चार गाउँघर घुम्दा पनि थाहा हुन्छ । धान–मकै फल्ने खेतबारीहरू बुट्यान घारीमा परिणत भइरहेका छन् । अनि तिनै नेपालीले विदेशबाट पठाएको पैसाले सहरका धानखेतहरू घडेरीमा परिणत भएका छन् । भूमि व्यवस्थापन मन्त्रालयको तथ्यांकअनुसार सन् २०१८ मा मुलुकभरि करिब १० लाख हेक्टर खेतीयोग्य जमिन बाँझो थियो । यो कुल खेतीयोग्य जमिनको ३० प्रतिशत हो र यो क्रम हरेक वर्ष बढ्दो छ (काठमाण्डू पोस्ट, १२ जुन २०१८) ।

एकातिर धान फल्ने खेतहरू बाँझो र घरघडेरीमा परिणत हुँदै छन्, अर्कातिर पछिल्ला दशकहरूमा भात खाने संस्कृति पनि उत्तिकै बढ्दो छ । नेपाली समाजमा भातलाई एक खालको सम्पन्नताको प्रतीक मान्ने गरिएकाले पनि मानिसहरूको बढ्दो झुकाव त्यतातिर छ । विदेशमा कमाउन जानेहरूले पठाएको पैसाले चामल किनेरै भात खानु मीठो र सहज बन्न थालेको छ ।

नेपाल मात्रै हैन, सिंगो एसिया नै चामलको बढी खपत हुने क्षेत्रमा पर्छ । विश्वमा हुने धानको कुल उत्पादन र उपभोगमध्ये ९० प्रतिशत एसियामा हुन्छ, जबकि जनसंख्याको हिसाबले यस क्षेत्रले विश्वको ६० प्रतिशत हिस्सा ओगट्छ । सन् १९६० को दशकमा हरित क्रान्ति सुरु हुनुअघिसम्म एसियामा धान धनीको मात्रै पहुँचमा थियो । उच्च उत्पादकत्व दिने बीउ र मलका कारण उत्पादन पनि बढ्दै गयो । धेरै जनताले भात खान पाए । आर्थिक वृद्धिसँगै केही एसियाली मुलुकमा चामल उपभोगमा कमी आएको छ । जस्तै, सन् १९६१ यता हङकङमा चामलको प्रतिव्यक्ति उपभोग ६० प्रतिशतले घटेको छ भने जापानमा झन्डै आधाले (रोयटर्स, २१ मे २०१८) । योसँगै माछामासु, दूधजन्य उत्पादन, फलफूल र तरकारीको उपभोग ह्वात्तै बढेको छ ।

चामलले बढाउँदै व्यापार घाटा

वैदेशिक रोजगारीमा जानेहरूले पठाएको रेमिट्यान्ससँगै विदेशी उत्पादनको उपभोग पनि बढेको छ । बिहान–बेलुका खाने भातका लागि विदेशबाटै अर्बौंको चामल किन्नुपरेको छ । आँकडाअनुसार आर्थिक वर्ष २०७८–७९ मा ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको धान, चामल र कनिका आयात भयो । आयातित कनिका मदिरा र दाना उत्पादनमा खपत हुने गरेको छ भने चामल मुख्यतः भातका रुपमा ।

दाल चामल तेल उत्पादक संघका अनुसार मुलुकमा हाल वार्षिक १८ लाख मेट्रिक टन चामलको खपत रहेकामा स्वदेशी उत्पादनले १० लाख मेट्रिक टन मात्रै धान्ने गरेको छ । बाँकी चामलका लागि मुलुक भारतमै निर्भर हुँदै आएको छ ।

बढ्दो आयातले व्यापारघाटा पनि फराकिलो हुँदै गएको छ । चालु आर्थिक वर्षका छ महिनामा व्यापारघाटा करिब ८ खर्ब ८० अर्ब रुपैयाँ पुग्यो । अर्कातिर, बढ्दो आयातले विदेशी मुद्राको सञ्चिति पनि घट्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षका प्रथम १० महिनामा विदेशी मुद्रा सञ्चिति २१ प्रतिशतले घटेर ९ अर्ब २८ करोड डलरमा सीमित भएको छ ।

भातले स्वास्थ्यमा पनि समस्या

खाँदा स्वादिलो ठानिए पनि भात स्वास्थ्यका दृष्टिले त्यति राम्रो खाना हैन । पछिल्लो समय भएका अनुसन्धानहरूले भातलगायत कार्बोहाइड्रेट बढी हुने खानालाई मधुमेह (डाइबिटिज) लगायतका रोगको कारक मानेका छन् । विश्वभरि साढे ४१ करोड मानिस डायबिटिजबाट ग्रस्त रहेको आकलन छ ।

भारत र चीनसहित विश्वका २१ मुलुकमा गरिएको एउटा अध्ययनले सेतो चामलको उपभोग डायबिटिजको उच्च जोखिमसँग सम्बन्धित रहेको देखाएको छ । नोभेम्बर २०२० मा अमेरिकन डायबिटिज एसोसिएसनको ‘डायबिटिज केयर’ जर्नलमा प्रकाशित उक्त शोधपत्रले अरू क्षेत्रका तुलनामा दक्षिण एसियाली जनसंख्या अझ बढी जोखिममा रहेको देखाएको छ ।

सेतो चामल एसियामा ‘बेरीबेरी’ को प्रकोपसँग पनि जोडिएको छ । वेबएमडीमा २२ अप्रिल २०२१ मा प्रकाशित ‘ह्वाट इज बेरीबेरी ?’ शीर्षक लेखअनसार बेरीबेरी थायामिन (भिटामिन बी वान) को कमीले हुने रोग हो । हामीले खाएका खानेकुरा टुक्र्यायाउन र पचाउन हाम्रो शरीरलाई थायामिनको आवश्यकता पर्छ । यसबाट नसा र मांसपेशी प्रणालीलाई राम्रोरी काम गर्नलाई मद्दत पुग्छ । बेरीबेरीले कार्डियोभास्कुलर सिस्टम वा सेन्ट्रल नर्भस सिस्टमलाई पनि असर पार्न सक्छ ।

त्यसैले संसारभरि नै किटोलगायत कम कार्बोहाइड्रेट भएका आहारप्रति उपभोक्ताको रुचि बढ्न थालेको छ । कुखुराको छाती, बंगुर, माछा, अण्डा, हरिया सागपात, काउली, ब्रोकाउली, काजु, किसमिस, बदाम, फर्सी र सूर्यमुखीको बियाँ, ओलिभ आयल (जैतुनको तेल), स्याउ, स्ट्रबेरी, ब्लुबेरीलगायतमा कम कार्बोहाइड्रेट पाइन्छ । भातै खानुपर्ने अवस्थामा पनि सेतो चामलभन्दा खैरो (ब्राउन) चामल राम्रो, जसमा भिटामिन, मिनरल र फाइबर बढी हुन्छ । अझ चामलमा भन्दा कोदोमा कार्बोहाइड्रेट कम र प्रोटिन बढी हुन्छ ।

‘किटो डायट’ गर्ने कि !

किटो डायट कार्बोहाइड्रेटको मात्रा कम र बोसोयुक्त खाना खाने तरिका हो । हार्वर्ड युनिभर्सिटी, स्कुल अफ पब्लिक हेल्थको वेबसाइटमा पाइएको जानकारीअनुसार, खुवाइको यो तरिका उन्नाइसौं शताब्दीमा डायबिटिज नियन्त्रण गर्न आम रूपमा चलनमा थियो । सन् १९२० मा बालबालिकामा एपिलेप्सीको उपचारका लागि यो सुरु भएको थियो । औषधिमार्फत एपिलेप्सीको उपचार प्रभावकारी नभएपछि यो सुरु गरिएको थियो । त्यसो त कम कार्बोहाइड्रेड भएका खानेकुराप्रतिको ‘क्रेज’ सन् १९७० को दशकमै बढेको थियो ।

अध्ययनहरूले क्यान्सर, एपिलेप्सी, पार्किन्सन र मुटु रोगलगायत थुप्रै रोग र स्वास्थ्य अवस्थामा सुधार ल्याउन किटो डायट लाभदायी हुने देखाएका छन् । खास गरी ‘टाइप टु डायबिटिज’ का लागि यो आहार एकदमै प्रभावकारी देखिएको छ ।

किटो डायटमा बोसोयुक्त खानाको मात्रा बढी हुन्छ । यसको नियम भनेको दैनिक खानामा सामान्यतः ७०–८० प्रतिशतसम्म क्यालोरी बोसोयुक्त (जस्तै— तेल, अप्रशोधित बदामजन्य फल, बटर, एभोकाडो) हुनुपर्छ । यस्तै, १०–२० प्रतिशत क्यालोरी प्रोटिन भएका खाना (जस्तै— मासु, अण्डा र चीज) बाट लिने गरिन्छ । बाँकी ५–१० प्रतिशत क्यालोरी कम कार्बोहाइड्रेट भएका खाना (जस्तै— सागपात, फलफूल, गेडागुडी) बाट लिनुपर्छ । मैदा वा गहुँको पिठोबाट बनेका पाउरोटी, पास्ता, चामल, मकै, फलफूलको जुस, आलुजस्ता स्टार्ची तरकारीेलाई किटो डायटमा समावेश गरिँदैन ।

तौल घटाउन यो डायट प्रभावकारी मानिएको छ । इन्सुलिन प्रतिरोध, उच्च रक्तचाप, कोलेस्ट्रोल, ट्राइग्लिसराइड नियन्त्रण गर्न पनि यो प्रभावकारी मानिएको छ । बढ्दो लोकप्रियताका कारण किटो आहारको बजार पनि बढ्दो छ । सन् २०२७ सम्म किटो आहारको बजार १५ अर्ब ६० करोड डलर बराबर पुग्ने अनुमान गरिएको छ ।

नेपालमा सम्भव छ ?

अझै पनि धेरै घरपरिवारमा माछामासु र मीठो परिकार पाक्नलाई चाडपर्व र विशेष अवसर कुर्नुपर्छ, यस्तो अवस्थामा पोषिलो र कम कार्बोहाइड्रेटयुक्त खाना खाने हैसियत कहाँ हुन्छ भन्ने प्रश्न उठ्न सक्छ । तर के बुझ्नुपर्छ भने, पैसा बढी हालेका सबै खाना स्वास्थ्यवर्द्धक र पोषणयुक्त हुँदैनन्् । बिहान–बेलुकाको छाक जुटाउन मुस्किल हुनेहरूले पनि आहारशैलीमा केही न केही परिवर्तन गर्न सक्छन् । पछिल्लो समय बजारिया र तयारी खानामा बढी आकर्षण बढेको छ । तर गाउँघरमै फलाउन सकिने फापर, कोदो, जौ, गेडागुडी, तरकारी आदि बढी फाइदाजनक छन् । कोदोमा धान र गहुँका तुलनामा बढी प्रोटिन, फाइबर र सूक्ष्म पोषणतत्त्व हुन्छ । तर, कोदोलाई अहिले पनि गाउँघरमा ‘गरिबको खाना’ का रुपमा लिँदै हेय दृष्टि लगाउने गरिन्छ । त्यसो त पछिल्लो समय रेस्टुरेन्टका मेन्युमा फापर र कोदोले प्रवेश पाइसकेका छन् । यिनका परिकारलाई अझ लोकप्रिय बनाउन आवश्यक छ ।

आर्थिक रूपमा सम्पन्नहरूले अर्गानिक, स्वास्थ्यवर्द्धक र पोषणयुक्त खानामा रुचि राख्न थालेका छन् । सार्वजनिक रूपमा सेलेब्रिटी सेफहरूलाई बोलाएर यस्ता खानाको परिकार बनाउन र लोकप्रिय अभिनेता, नेता र समाजसेवीहरूलाई खानाको प्रचार गर्न लगाउने हो भने जनमानसमा त्यसको सकारात्मक प्रभाव पर्न सक्छ । उदाहरणका लागि, पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र केपी ओलीले जुम्लाको मार्सीको भात खाँदै भेटेको समाचार सार्वजनिक भएपछि यो चामलको लोकप्रियता ह्वात्तै बढ्यो । अर्कातर्फ, बालीमा पनि अब विविधीकरणको खाँचो छ । पछिल्लो समय एभोकाडो लगाउने चलन नेपालमा पनि बढेको छ । यसको व्यावसायिक उत्पादन बढाउन सके उपभोग मात्रै हैन, निर्यातबाट पनि ठूलो फाइदा लिन सक्ने देखिन्छ । स्वास्थ्यवर्द्धक खानाप्रति राज्यस्तरमै जनचेतना जगाउने खाँचो छ ।

प्रकाशित : भाद्र २९, २०७९ ०८:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×