कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

विकाससँगै विपद् व्यवस्थापन

झट्ट हेर्दा नेपालमा भू– संरचनाको जटिलताले प्राकृतिक विपद् निम्तिएको देखिए पनि पूर्वतयारी नगर्ने, विकासको हुटहुटीले गर्दा सम्भावित विनाशबारे नसोच्ने प्रवृत्ति पनि जिम्मेवार छ ।
नमिता पौडेल

हरेक वर्ष तिहारलगत्तै आगलागी, पावर सटका घटनाहरू सुनिने गरेका छन् । यस्ता विपद्सँगै बेलाबेला ‘हल्लायो, डर लाग्यो, सेकिङ’ जस्ता शब्दहरू सामाजिक सञ्जालमा देख्न पाइन्छन् । २०७२ सालको भूकम्पपछि लगातार परकम्पहरूले काठमाडौं र वरिपरिका क्षेत्रहरूमा तर्साउने गरिराखेका छन्, जसबाट सामाजिक, राजनीतिक, सांस्कृतिक तथा भौतिक संरचनाको विकासमा प्रत्यक्ष असर पुगिरहेको छ । मानवसृजित वा मानव व्यवस्थापनको कमीले गर्दा बर्सेनि ठूलो जनधनको क्षति हुने गरेको छ ।

विकाससँगै विपद् व्यवस्थापन

नेपाल विकासतिर बामे सर्दै गर्दा विकसित देशहरू भने कुद्दै अनि उड्दै छन् । विकासोन्मुख देशहरू गरिबी, अशिक्षा, बेरोजगारी, लैंगिक विभेद, असुरक्षाजस्ता समस्याहरूले व्याप्त छन्; बेलाबेला आइपर्ने विपद्ले झन् समस्या थप्ने गरेको छ । यसको प्रमुख कारण हो— समय अनुसार नीति र कार्यान्वयन नबन्नु ।

सहरीकरण पहिलेभन्दा बढ्दै गएको छ र सहरी क्षेत्रहरूमा जनसंख्या, पूर्वाधार पनि थपिँदै गएको छ । तर संरचनाहरू थपिएसँगै सहरी व्यवस्थापन योजना भने समय अनुसार परिवर्तन हुन सकेको छैन । प्रमुख सहरहरू काठमाडौं, विराटनगर, नेपालगन्ज, पोखरा, वीरगन्जमा १० वर्षअगाडि भन्दा अहिले जनसंख्या, विकास–निर्माण, बाटाघाटा बढे पनि विपद्लाई ध्यानमा राखेर तिनको व्यवस्थापन गर्न सकिएको छैन । विपद् व्यवस्थापन भनेको आगलागी, सडक दुर्घटना, करेन्ट, भूकम्प, बाढीपहिरो भएको बेला मात्र गरिने काम हैन । विकास–निर्माणसहित दैनिकी र सांस्कृतिक पक्ष सबैको सुव्यवस्थापनले मात्र विपद्पछिको उद्धारमा सहजता ल्याउँछ । नागढुंगा सुरुङको शिलान्यास गर्दा सम्भावित पहिरोमा भन्दा विकासमा ध्यान बढी केन्द्रित भएका समाचारहरू आए । त्यस योजनाले पहिरोको सम्भावनालाई कम र सुरूङ निर्माण सम्पन्न गर्नुलाई बढी प्राथमिकता दियो ।

झट्ट हेर्दा नेपालमा भू–संरचनाको जटिलताले प्राकृतिक विपद् निम्तिएको देखिए पनि पूर्वतयारी नगर्ने, विकासको हुटहुटीले गर्दा सम्भावित विनाशबारे नसोच्ने प्रवृत्ति पनि जिम्मेवार छ । समाज निर्माणमा संस्कृतिको पनि भूमिका हुन्छ । संस्कृति समाजलाई बचाउन, मानव सभ्यतालाई बचाउन, कुनै खास समयमा कुनै विशेष उद्देश्यसाथ निर्माण भएको हुन्छ । ढुंगा, पीपल, हिमाल, तुलसीलाई पूजा गर्ने सभ्यता प्रकृतिको संरक्षणसँग गाँसिएको छ । अर्कातर्फ, संस्कृतिका सबै पक्ष सधैं उपयोगी हुन्छन् भन्ने पनि छैन । समय र आवश्यकता अनुसार हाम्रा रीतिरिवाज र चालचलनलाई जनहितका लागि प्रयोग गर्नुपर्छ । हावा जोडले लागेको छ भने, कुनै कार्जे गर्दा बालेर छाडेको दियोले आगलागीको सम्भावनालाई बढाउनेतर्फ पनि ध्यान दिनुपर्दछ ।

हाम्रा पुर्खाले भू–संरचना अनुसार मानव सभ्यतालाई अगाडि बढाउने प्रयास गरेका थिए । पहाडका घरहरू होचा र साना हुन्थे भने तराईका घरहरू टाँडे र अग्ला । विकास र समयको माग अनुसार घरको संरचनामा परिवर्तन आउँदै गयो तर भविष्यमा आइपर्ने विपद्को आकलन गर्न भने सकिरहिएको छैन ।

अहिलेको युगमा, वैज्ञानिक शिक्षा लिइरहेका युवा र दक्षहरूका अनुभवलाई मिलाएर काम गर्ने हो भने विनाशबिनाको विकास सम्भव छ । खेतीपाती, पानी, बाटो, पुल लगायतलाई विपद् व्यवस्थापनका हिसाबले अघि बढाउन सकिन्छ । मेलम्चीको बाढीपहिरोले धेरै खेतीयोग्य जमिन विनाश गर्‍यो । पहिलेपहिले धादिङ हुँदै काठमाडौं भित्रिने सामानहरू बर्खामा कृष्णभीरमा जाने पहिरोले गर्दा सधैं रोकिन्थे । विपद् व्यवस्थापनलाई ख्याल नगरिएकाले नै तराईका सहरहरू सधैं बाढीको जोखिममा हुने गर्छन् ।

हिउँद सुरु हुनै लागेको यो बेला विपद् रोकथामका काम गर्नुपर्छ । बर्खाले धेरै विपद् ल्याउने हुनाले पूर्वतयारीका काम हिउँद लागेपछि नै गर्नु उपयुक्त हुन्छ । खाद्यान्न सञ्चिति, पानी र फोहोर सबै व्यवस्थापन गर्नुका साथै बर्खा र गर्मी महिनामा देखा पर्ने डेंगीजस्ता रोग पूर्वरोकथामका उपाय सोच्नुपर्ने उपयुक्त समय हिउँद नै हो ।

एकछिन जापानको कुरा गरौं, जो विपद्का हिसाबले नेपालभन्दा बढी जोखिममा छ अनि सुनामी, ज्वालामुखी र भूकम्पको चरम सम्भावना जतिखेरै छ । तर यहाँ विपद्पूर्वको तयारी, नयाँ विपद्सँग लड्ने नयाँ इनोभेसन लगायतका कारण मानवीय क्षति अत्यन्तै न्यून हुने गरेको छ । बाढीपहिरो र सुनामीसँग जुध्न ‘अर्ली वार्निङ’ को राम्रो व्यवस्थापन गरिएको छ । विपद् आउन लागेको पूर्वसूचना जोखिम क्षेत्रका सबै मानिसका मोबाइलमा एसएमएसमार्फत पठाइन्छ । तिनलाई सुरक्षाटोली र अरू सम्बन्धित निकायमार्फत सुरक्षित स्थानमा सारिन्छ । विपद्पछि प्रभावित ठाउँलाई पुनः जस्ताको तस्तै बनाउने काम तुरुन्तै गरिन्छ । विपद्पूर्वको तयारीले मानिसहरूमा सुरक्षा जालीको काम गर्छ जसले गर्दा ढुक्क भएर काममा जाने वातावरण बन्ने गरेको छ । जापानमा बालबालिकालाई विभिन्न माध्यमबाट विपद्बारे शिक्षित तुल्याइन्छ । सेनडाई ढाँचामार्फत बालबालिकहरूलाई विपद्प्रति जागरुक बनाउने गरिन्छ ।

नेपाल जति प्राकृतिक सुन्दरताले भरिपूर्ण छ, त्यति नै भौतिक विकास गर्नका लागि जटिल छ । त्यसैले नेपालको विकास अरू देशको नक्कल गरेर मात्र सम्भव हुन्न । पानीको दोस्रो ठूलो स्रोत भएकामा गर्व गर्नु एक ठाउँमा छ तर पानीले निम्त्याउने विनाशलाई ध्यानमा राख्न पनि उत्तिकै जरुरी छ । नेपालमा युवा जनशक्ति ४० दशमलव ३५ प्रतिशत छ, जुन देशको ठूलो पुँजी हो र यसलाई बिदेसिनबाट रोक्ने वैकल्पिक उपाय खोज्न ढिलो भइसकेको छ । विपद्पूर्वको तयारीमा र विपद्पछिको उद्धारमा पनि युवा जनशक्तिले ठूलो भूमिका खेल्ने गर्छ । विपद् व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखे मात्र नेफालले दिगो विकासको लक्ष्य हासिल गर्न सक्छ ।

प्रकाशित : कार्तिक २०, २०७९ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?