भूमिगत स्वार्थहरूविरुद्ध- विचार - कान्तिपुर समाचार

भूमिगत स्वार्थहरूविरुद्ध

किशोर नेपाल

समाजवादी चिन्तक प्रदीप गिरि लोकतन्त्रमा जनताले जनप्रतिनिधि चयन गर्न प्रत्येक पाँच वर्षमा गरिने चुनावलाई प्रत्येक वर्ष नागपञ्चमीका दिन गरिने नाग अथवा सर्पदेवको विशेष पूजा…–अर्चनासँग तुलना गर्नुहुन्थ्यो । हिन्दुहरूले हरेक वर्षातमा नागका नाममा पञ्चमी छुट्याएका हुन्छन् । त्यस दिन नागको भव्य पूजा हुन्छ । सर्पलाई दूध चढाइन्छ र मानवजातिलाई डसेर दुःख नदिन नागराजको आरती गाइन्छ ।

तर, भोलिपल्टैदेखि मानिस र सर्पबीच संघर्ष सुरु हुन्छ । न सर्पले मानिसलाई डस्न छाड्छ, न त मानिसले नै सर्पलाई लखेटीलखेटी मार्न छाड्छ ।

आजको बहुदलीय राजनीतिमा सबै राजनीतिक दलका नेता–कार्यकर्ता र जनताबीच चुनावको समयमा यस्तै सम्बन्ध हुन्छ । फेरि, नागपञ्चमीको भोलिपल्टै सर्पहरूले मानिसलाई झम्टन पुगेजस्तै राजनीतिक दलका नेता–कार्यकर्ताहरू र मतदाता जनताबीच लखेटालखेट चल्छ । यो सनातनदेखि चलिआएको कुरा हो । भगवान् विष्णुको सुरक्षाकवचका रूपमा रहेका नागहरू अन्ततः सर्प नै हुन् । राजनीतिक दलहरूका नेता–कार्यकर्ता र जनताबीच भक्तिभावको मौसम सुरु भइसकेको छ । नेता–कार्यकर्तासँग जनताको दोहोरी सुरु भइसकेको छ ।

अघिल्लो साता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको चुनावी अभियानको आकलनका लागि गोरखा पुगेका हामीले स्थानीय पर्यवेक्षक मित्रहरूको दाबी सुन्यौं— ‘चुनावमा प्रचण्डको विकल्प नै छैन ।’ ‘विकल्प नै छैन’ त पक्कै होइन होला । स्थानीय बुद्धिजीवीहरूका अनुसार, पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले गर्दा गोरखामा प्रचण्डलाई सहज छ । ‘हामी माओवादीलाई भोट हाल्न सक्दैनौं’ भनेर नारा लगाउने कांग्रेसजनले देशको वास्तविक परिस्थिति बुझ्न थालेका छन् । भावनात्मक हिसाबले पनि, शाहवंशको मूलकेन्द्रका रूपमा रहेको गोरखाबाटै प्रहरीका दुईवटा बन्दुक खोसेर जनयुद्ध गर्न निस्केका प्रचण्डले, देशबाट शाहवंशको अवसानपछि पनि, गोरखाबाट चुनाव जित्नु आवश्यक थियो । जनताले गोरखाको त्यो अवस्था निकै राम्ररी बुझेको देखिन्छ ।

चुनाव हुने दिन तय भइसकेपछि देशका विभिन्न निर्वाचन–क्षेत्रमा हुने प्रचारमा अनेक प्रकारका बन्धन लगाउने निर्वाचन आयोगको भूमिका चुनावका लागि स्वतन्त्र वातावरण निर्माणमा सहायक हुने देखिएन । चुनाव भनेको मानिसको सबैभन्दा महत्त्वपूर्ण नैसर्गिक अधिकार हो । चुनाव अभियान भनेको कोलाहल होइन । चुनाव सञ्चालकहरूले यो कुरा कतै पनि बुझेको देखिएन ।

गोरखामा प्रचण्ड जनतासमक्ष निकै शालीन र मर्यादित हिसाबले प्रस्तुत भए । राजधानीबाट निस्किँदा उनले ठूलो आकारको चुनाव टोली लिएर ननिस्किएको भए त्यसको निकै राम्रो प्रभाव पर्ने थियो, उनको सामीप्य खोज्ने माओवादी कार्यकर्ताहरूले त्यो अवसर पाउने थिए । नेताहरूप्रति अपनत्व प्रकट गर्ने स्वभाव बढ्दै गएको छ देशमा । संविधानसभाको पहिलो र दोस्रो चुनाव अनि त्यसपछि सम्पन्न दुईवटै संसदीय चुनावमा नेताले आफूहरूसँग सामीप्य नराखेको जनगुनासो रहँदै आएको छ ।

गोरखा मात्र होइन, गोरखाबाट बाहिर, झापा, मोरङ तथा मधेश प्रदेशका आठवटै जिल्लामा जनताबीच नेताहरूको आकर्षण बढ्दै गएको छ । जनताका मनमा नेताहरूको नजीक हुन पाए आफू र आफ्नो परिवारको जीवनमा केही परिवर्तन आउने थियो भन्ने आशा पलाउन थालेको छ । खास गरेर मधेश प्रदेशका नेताहरूले जनतालाई आफूप्रति निर्भर बनाउने नीति लिएको देखिन्छ । जनता प्रलोभनमा पर्न चाहँदैनन् । न त, पहिलेको चुनावमा जस्तो मतदानको अघिल्लो दिन मांस र मदिराको मातमा लट्ठिएर मतदान केन्द्रमै पुग्छन् । चारवटा ठूला चुनावपछि मतदाताको आदत फेरिन थालेको छ ।

यी सानातिना कुराबाहेक, नेपाली मतदाताबीच दृढताका साथ देशलाई हाँक्न भारतका नरेन्द्र मोदी र चीनका सी चिनफिङजस्ता नेता चाहिने चर्चा चल्न थालेको छ । सरसर्ती हेर्दा यी दुवै व्यक्तित्वबीच सैद्धान्तिक विरोधाभास छ । तर, जनताले यिनीहरूलाई सामर्थ्यवान् नेताका रूपमा लिएका छन् । समयसँगसँगै राजनीतिका विम्बहरू बदलिन थालेका छन् । मोदी र सी उदाहरणका रूपमा प्रस्तुत हुनु यसैको उदाहरण हो । जनता देशलाई सबल र समर्थ नेतृत्वको आवश्यकता छ भन्ने निष्कर्षमा पुगेका छन् । यसलाई राजनीतिक दलका नीतिनिर्माताहरूले कसरी बुझ्लान्, त्यसैमा धेरै कुरा भर गर्छ ।

नेपालमा साम्यवादी शासन व्यवस्थाको निकै ठूलो आकर्षण छ । यो अस्वाभाविक पनि होइन । आठ दशकअघिसम्म पूरै देशका जनता सामन्तवादी सत्ताअगाडि लम्पसार परेकाले पनि जनताको नूर गिरेको हो । अहिले कानुनी रूपमा त्यस्तो अवस्था नभए पनि व्यावहारिक रूपमा त्यसमा कुनै परिवर्तन आएको छैन । हिजोका जमिनदार र पटवारीहरू नै आजका जनप्रतिनिधि हुने अवस्थाको अन्त्य नभएसम्म सामन्तवादको जग बलियो रहने पक्का छ । अहिलेसम्म पनि, देशको शासनको वास्तविक बागडोर जनप्रतिनिधिहरूका हातमा परेको छैन । शासनको बागडोर नेपालका राजाहरूका हातमा पनि थिएन भन्ने सबभन्दा ठूलो उदाहरण त राजा वीरेन्द्रको वंशनाशको घटनाले नै प्रमाणित गरिसकेको छ । राजा वीरेन्द्रको वंशनाशको कारक के थियो ? के यसमा भारत, अमेरिका, चीन र रुसको हात थियो ? पक्कै थिएन । न त युवराज दीपेन्द्रको संलग्नताको कुनै प्रामाणिक कथन वा तर्क नै यसमा जोडिएको थियो ।

दुई सय चालीस वर्ष पुरानो एउटा विजयी राजवंशको विनाश विश्वकै लागि सानो घटना थिएन । तर, न त वंशनाशपछि राजगद्दी सम्हाल्ने राजाले त्यसमा छानबिनको चासो देखाए, न राजाकै परमाधिपतित्वमा रहँदै आएको ‘शाही’ सेनाले । नेपाल सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई अपमानित गरेर नेपाली राजसंस्थाको चिता जल्यो ।

नेपालको इतिहासमा यो एकल घटना थिएन । षड्यन्त्रका हजारौं घटनापछि राजा वीरेन्द्रको वंशनाश भएको थियो । गुरु–पुरोहित, भाइ–भारदार, साहु–महाजन, जोगी–संन्यासी, किचकन्नी र ख्याकको बास भएका दरबारहरूमा कस्ताकस्ता तमासा हुन्थे, कसले भन्न सक्छ ? कुन कुरा इन्कार गर्न सकिँदैन भने, नेपालमा एउटा यस्तो सानो भूमिगत वर्ग छ जसले यस देशको भाग्य निर्धारण गर्छ । नेपालको सम्पूर्ण धन, सम्पत्ति, हीरा, मोती, जवाहरात, जग्गा–जमिन यही वर्गको कब्जामा छ । यस वर्गको कब्जाबाट देशलाई मुक्त नगरेसम्म विकास सम्भव छैन । तर, बिरालाको घाँटीमा घण्टी कसले बाँध्ने ? ‘देश सेवक’ कर्मचारी, आफूलाई मुक्तिदाता बताउने नेताहरू र आफूलाई उद्योगपतिका रूपमा प्रस्तुत गर्ने बिचौलियाहरू सबैसबै त्यही भूमिगत गिरोहको कब्जामा छन् !

यस पटकको चुनावमा देशलाई आफनो मुट्ठीमा अँठ्याएर बसेका विभिन्न जात–जाति, वर्ण र वर्गका मानिसको नकाब खुल्ने आशा गर्न सकिन्छ । यस पटकको चुनावमा दुई–तीन थरीका कांग्रेस, तीन–चार थरीका कम्युनिस्ट एवं तागाधारी र गैरतागाधारी सहभागी हुँदै छन् । कांग्रेसभित्रको विभाजन त्यति असहनीय छैन । तर कम्युनिस्ट, खास गरेर एमाले र माओवादीबीचको लडाइँ र झगडाले कम्युनिस्ट अस्तित्व धरापमा पार्ने डर छ ।

यति बेला नेपाल कम्युनिस्ट पार्टी (एमाले) र यसका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नराम्रोसँग गोलचक्करमा फसाएका छन् । ‘म नै राज्य हुँ’ भन्ने तत्कालीन प्रधानमन्त्री ओलीको प्रभावमा परेर उनले दुई पटक संसद् विघटन गरिदिइन् भने दुई पटक संसद्ले लालमोहरका लागि पठाएको विधेयक फर्काइदिइन् ।

नेपालमा अहिले अस्तित्वमा रहेको संघीय गणतान्त्रिक संविधानविरुद्ध भएको यस षड्यन्त्रलाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले चिर्न सकेन । यसबाट प्रमाणित हुन्छ— संघीय गणतन्त्र नेपालको राजनीतिमा निर्दलीय पञ्चायतकालीन ‘जनपक्षीय’ पञ्चहरूको प्रभाव अद्यावधि कायमै छ ।

सरकार एउटै पार्टीले बनाएको छ कि पार्टीहरूको गठबन्धनले ? यो महत्त्वपूर्ण प्रश्न होइन । अहिलेका सन्दर्भमा देउवा नेतृत्वको माओवादीसहितको गठबन्धन एकातिर छ भने, अर्कातिर प्रतिपक्षी नेता ओली नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (लिङ्देन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (कमल थापा) गठबन्धन छ । तर, देउवा नेतृत्वको गठबन्धनका नेता प्रचण्ड र ओली नेतृत्वको गठबन्धनका नेता ओलीबीच शास्त्रार्थ चलिरहेको छ । ओली भन्छन्, ‘प्रचण्डलाई सुधार्न खोजेको, सकिनँ ।’ ओलीमा राजनीतिक नम्रता पटक्कै देखिन्न । उनलाई ‘जब’ र ‘यदि’ को ज्ञान छैन । प्रचण्डमा नम्रता छ । एउटा टेलिभिजन एंकरले उनलाई सोधेका थिए, ‘हामीले तपाईंलाई इमानदार भन्नुपर्ने ?’ प्रचण्डको जवाफ थियो, ‘हामी इमानदार नभएका भए यहाँसम्म आइपुग्ने थियौं त ?’

नेपाल सरकार र विद्रोही माओवादीबीच शान्ति सम्झौता भैसकेपछि, संघीय गणतन्त्र नेपालको संविधान निर्माण भैसकेपछि, देशको संघीय संरचना तयार भैसकेपछि प्रचण्डमाथि सत्र हजार नेपाली मारेको आरोप लगाउनु गलत हो । ती सत्र हजार माओवादीबाट मात्र मारिएका थिएनन् । शाही सेनाले पनि त्यत्तिकै मानिस मारेको थियो । तत्कालीन शाही शासनको नजिक रहेका ‘ठूला–बडा’ ले जे भन्छन्, त्यही सत्य हुने हो र ? आजका नेपाली जनता तानाशाही शासनबाट रत्तीभर डराउँदैनन् । उनीहरू मात्र आत्मविश्वासयुक्त र प्रभाविलो लोकतन्त्रको खोजीमा छन् ।

प्रकाशित : कार्तिक २०, २०७९ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्

सहनुको पनि सीमा हुन्छ

शीर्ष भनिने नेताहरुमा स्वाभिमान रत्तीभर छैन । जहाँ गए पनि आक्रोशित जनताका मुखबाट यी नेताहरुको बद्ख्वाइँ सुन्नुपर्छ । नेतृत्व स्वाभिमानी, निष्कपट र गतिलो भए पो समाज अगाडि बढ्छ !
किशोर नेपाल

संघीय गणतन्त्र नेपालको संविधान जारी भएपछि दोस्रो चुनाव हुन लागेको छ, देशमा । २०७२ सालमा भूकम्पले दह्रो धक्का नदिएको भए नेताहरू संविधान लेख्न तयार हुने थिएनन् । २०६२–६३ सालको परिवर्तनपछि भएको संविधानसभाको निर्वाचनमार्फत नेपाली जनताले निश्चित समयमा संघीय गणतन्त्र नेपालका लागि गतिशील संविधान लेख्ने आदेश दिएका थिए । तर, सत्तामोहमा अल्झिएका नेताहरू स्वयं नै परिवर्तनप्रति असहज भइदिए ।

त्यति बेला जनताले नेपाली कांग्रेस र नेकपा माओवादीबीच मेलमिलापको खोजी गरेका थिए । तर, माओवादी पार्टीका ‘सर्वोच्च नेता’ पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीभित्रको कांग्रेसविरोधी तत्त्वलाई निरस्त गर्न सकेनन् वा चाहेनन् । कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति हुने महत्त्वाकांक्षा जगजाहेर थियो । उनको यो महत्त्वाकांक्षा अस्वाभाविक पनि थिएन होला । माओवादीसँग बृहत् शान्ति सम्झौतापछि कोइरालाको राजनीतिक कद हलक्क बढेर सबैभन्दा अग्लिएको थियो । तत्कालीन समयमा कोइराला र प्रचण्डले नेपाली राजनीतिमा अन्तर्निहित विध्वंसात्मक प्रवृत्ति तोड्न खोजेका भए सम्भवतः देशको कथा सुखद हुन सक्ने थियो ।

यति बेला संघीय गणतन्त्र नेपाल दोस्रो आवधिक चुनावको पूर्वसन्ध्यामा छ । चुनावको मुखमा नेपाली समाज निकै विचलित देखिएको छ । सहरबजारमा ‘उनीहरूले सकेनन्, हामीले सक्छौं’ भन्ने खालका नारा लाग्न थालेका छन् । यो अस्वाभाविक होइन । चुनावका बेला हिजोका सबै खराब र आउने सबै असल भन्ने भुलभुलैयाको सृजना जसले जति धेरै गर्न सक्यो, त्यो त्यति नै ठूलो नेता हुन्छ । यो संसारभरिकै नियम हो । नेपाली राजनीतिमा चाहिँ यो प्रवृत्ति अलिकति फरक खालको छ । देशमा को नेता हो र को जोकर ? त्यो छुट्याउन निकै कठिन छ ।

आगामी चुनावको सन्दर्भले नेपाली समाजमा रहेका ‘हुने’ र ‘नहुने’ दुवै वर्गबीचको व्यापक असन्तुष्टिलाई उजागर गरिदिएको छ । आजसम्म कांग्रेस, एमाले र माओवादी लगायतका राजनीतिक दलहरूले बजाउने गरेका आर्थिक विकासका धुनहरू लगातार, एकनासले आर्थिक विनाशका शोकधुनमा परिवर्तित भएका छन् । राजनीतिक प्रणालीको नेतृत्व तहमा बसेका व्यक्तिहरूले सामान्य जनताको विश्वास गुमाएका छन् । यो सत्य हो, नेपाली राजनीतिमा भएको सबभन्दा पछिल्लो परिवर्तनले नेपाली जनताको स्वाभिमान उँचो बनाएको छ । तर, राजनीतिक परिवर्तनसँगै आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन हुन नसकेकाले त्यो उचाइमा पुगेको स्वाभिमान अर्थहीन हुन थालेको छ । अहिलेको अवस्थाले कतै हामीले महान् भन्दै आएको परिवर्तनको निस्सारता साबित हुने त होइन ? यो आशंका बढेको छ । जनतामा पलाउनुपर्ने आत्मविश्वासको ठाउँमा हीनभावनाको सोत्तर लागेको छ । खेल मैदानमा रहेका अधिकांश राजनीतिक नेताहरू आकण्ठ भ्रष्टाचारमा डुबेका छन् । आफूलाई लोकतान्त्रिक समाजवादको अनुयायी भन्ने कांग्रेसका होऊन्, अथवा आफूलाई कार्ल मार्क्स र माओ त्सेतुङका ‘गतिशील’ अनुयायी भन्ने कम्युनिस्ट विचारका माओवादी, एमाले, जनमोर्चा, अनुदारवादी, अतिवादी, राजावादी जोसुकै होऊन्, अनावश्यक रूपमा देश विकासको बखान गरिरहेका छन् । तर, यथार्थ यही हो कि देशको अर्थतन्त्रले एक दाम पनि कमाउन सकेको छैन । जनता छटपटिएका छन् । समाज बिथोलिएको छ ।

‘कसैले तपाईं भनोस् कि नभनोस्, आफैं मपाईं’ को भावमा आत्मरतिमा अलमलिएका छन्, संविधान बनाउने नेताहरू । संविधानका यी कथित निर्माताहरूले अहिलेको संविधानलाई ‘संसारकै सर्वोत्कृष्ट’ भने पनि यो पूर्णताको दस्तावेज होइन । यो संविधानले ‘मत नदिने’ जनताको नैसर्गिक अधिकारलाई अस्वीकृत गरेको छ । त्यति मात्र नभएर भारतका तत्कालीन विदेशसचिव (हाल विदेशमन्त्री) जयशंकर प्रसाद आफैं काठमाडौं आएर दिएको दबाबलाई समेत नजरअन्दाज गरेर लेखिएकाले यो संविधान महान् हो भन्ने नेताहरूको भनाइ रहँदै आएको छ । जयशंकरले बोकेर ल्याएका लिखित कार्यसूचीहरू संविधानमा समावेश नगरिएकै कारण यो संविधान महान् हुने होइन । यस्तो संविधान आर्थिक विकासको रत्तीभर समझ नभएका राजनीतिक नेताहरूले बनाउन सक्छन् । दलहरूले संविधान बनेपछि यसलाई जनअनुमोदनका लागि जनताबीचमा छलफलका लागि लैजाने वचनबद्धता प्रकट गरेका थिए । तर, त्यो वचनबद्धता पूरा भएन । दलका ‘शीर्ष’ भनिने नेताहरूको सामूहिक कब्जामा पर्यो संविधान । बडो तामझामका साथ बर्सेनि दिवस मनाउनका लागि मात्र उपयोगी दस्तावेज !

यो संविधानका आधारमा खडा गरिएको निर्वाचन आयोगको नेतृत्वले निष्पक्ष चुनाव गराउन सक्छ भन्ने आधार नै छैन । प्रमुख चुनाव आयुक्त दलविशेषसँग टाँसिएका छन् । उनी र उनको टिमले चुनावलाई दलीय स्वार्थसँग जोडेका छन् । यो सन्दर्भलाई थोरै शब्दमा उच्चारण गर्दा पनि यो कुरा भन्नैपर्छ— निर्वाचन आयोगको नेतृत्व स्वयंकै विश्वासपात्रता छैन । आयोगको नेतृत्व तहमा रहेका मानिसहरू बुख्याँचाजस्ता छन् । राजनीतिक दलका तर्फबाट उम्मेदवार बनेको व्यक्तिले चुनाव प्रचारमा लगाउने खर्चको सिलिङ र सीमा दुवै अतिरञ्जित हिसाबले बढाइएको छ । यति त निर्धक्क भन्न सकिन्छ— हिजोको दिनमा र हिजोको व्यवस्थामा जस्तै आजको संघीय गणतन्त्रको समयमा पनि देशका साधन र स्रोतमाथि मुट्ठीभर मानिसको नियन्त्रण छ । जनतालाई फकाएर, तर्साएर, लोभ्याएर होस्, जसरी पनि, चुनाव जितेर शासनको पटांगिनीमा आएको नेताले देश विकासको ढ्यांग्रो ठटाउनु अस्वाभाविक होइन । अहिलेसम्म विकासको बित्पाते सपना बाँड्ने चलन यथावत् छ भने मान्नुपर्छ, हाम्रो विचार प्रक्रिया सपाट छ ।

यस्तो किन भइरहेको छ त नेपालमा ? यो दोष हाम्रो जन्मभूमिको पवित्र माटाको हो कि यति सुन्दर धरतीमा जन्मिएका हामी जनताको निर्बुद्धिको परिणाम हो ? अहिलेसम्म यो गोलार्द्धका हाम्रा अग्रज विद्वान्हरू कसैले पनि आफ्नो विचार प्रकट गरेका छैनन् । बरु हामीले एउटै कुरा पटकपटक दोहोर्‍याउने गरेका छौं । हालै श्रीलंका टाट पल्टिएर त्यहाँको सत्तासीन वर्ग भागाभाग गरेको घटनापछि हामी आत्तिएका थियौं । पाकिस्तानमा राजनीतिक संकट चुलिँदै गएपछि हामी अतालिएका थियौं । समयको यही क्रममा अफगानिस्तानमा निर्णायक विद्रोह भएपछि हामी हेरेका हेर्‍यै भयौं । ‘असफल राष्ट्रहरूको मर्मत गर्ने कालिगड’ का रूपमा चिनिएका अफगानिस्तानका राष्ट्रपति प्रोफेसर असरफ घानीलाई तालिवानले सत्ता मात्र होइन, देशै छाड्न बाध्य तुल्यायो । प्रोफेसर घानी अफगानिस्तानबाट पलायन भए । अहिले उनी हराएका छन् । कहाँ छन् ? पत्तो छैन । देशबाटै निकालिएपछि मानिसको पहिचान र अस्तित्व मेटिन्छ । समयक्रममा संसारका धेरै नेता पलायन भएका छन्, धेरै राष्ट्रहरूको नाम र निसान मेटिएको छ ।

यो हामी नेपाली जनताको सौभाग्य नै हो, हामीले अहिलेसम्म कसैसँग पनि हाम्रो राष्ट्रिय अस्तित्वको सम्झौता गर्नुपरेको छैन । यसको अर्थ, हाम्रो आन्तरिक राजनीतिका चञ्चल विम्बहरू भत्किँदैनन् भन्ने होइन । हाम्रो राष्ट्रिय अस्तित्व नराम्रोसँग संकटमा भासिन थालेको छ । हाम्रो अर्थतन्त्र साह्रै साँघुरिएको छ । हाम्रा नेता वर्ग र कर्मचारी तन्त्रले राजनीतिक विश्वसनीयता गुमाइसकेका छन् । हाम्रा जेजति पनि आर्थिक उपलब्धि बताइएका छन्, ती विरोधाभासपूर्ण छन् । हामी अहिले विद्युत् व्यापारको रमितामा रमाएका छौं । तर, आउँदो हिउँदमा यो व्यापारमा पनि ठूलो घाटाको सुरुआत हुने पक्कापक्की छ । कतिपय विद्युत् आयोजना पूरा हुने वातावरण सरकार आफैंले जानीजानी बनाएको छैन । सरकार चलाउनेहरूले आयोजनाहरूबाट पर्याप्त ‘उपरी’ खर्च असुल नगरेसम्म तीमध्ये कुनै पनि पूरा नहुने दीर्घरोग लागेको छ देशलाई ।

संघीय गणतन्त्रका नेताहरूले राज्य व्यवस्थामा आमूल परिवर्तनपछि पनि देशलाई आधारभूत परिवर्तनको बाटामा हिँडाउन सकेनन् । समाजप्रति उदासीन रहेका नेताका सल्लाहकारले उनीहरूलाई गलत बाटामा डोर्‍याए । नेपाललाई विश्वबजारीकरण र उदार आर्थिक नीतिसँग जोड्ने काम राजा वीरेन्द्रको पालामा अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले गरेका थिए । विश्व बैंकको ‘स्ट्रक्चरल एडजस्टमेन्ट प्रोग्राम’ को कार्यान्वयनपछि नेपाली अर्थतन्त्रमा सुधारको आशा गरिएको थियो । पञ्चायतकालमा निर्दल र बहुदलबीच भएको जनमतसंग्रहपछि कार्पेट र गार्मेन्ट उद्योगको मेला लाग्यो । तर, राजधानीकेन्द्रित ती उद्योगको जरो गाडिएन । आर्थिक सुधारको त्यो आशा त्यत्तिकै कचल्टियो ।

२०४६ सालको ऐतिहासिक राष्ट्रिय जनआन्दोलनपछि सन्त नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकारको गठन भयो । भट्टराई मन्त्रिपरिषद्मा अर्थमन्त्री बने डा. देवेन्द्रराज पाण्डे । उनले आर्थिक सुधारका वैकल्पिक कार्यक्रम सुरु गरे । तर, प्रधानमन्त्री भट्टराईलाई चुनावमा पराजित तुल्याइयो । अन्तरिम समयको समाप्तिपछि सुधारका बाटाहरूमा तगारा लागे । अन्तर्राष्ट्रिय संस्थाका जागिरे रहेका डा. रामशरण महतलाई कांग्रेसले आफ्ना मूर्धन्य अर्थविद् र नेताका रूपमा स्थापित गर्‍यो । डा. महतले विश्व बैंकको प्रेस्क्रिप्सन लागू गरे । यसअघिका चुनावहरूमा र यो चुनावमा समेत पार्टीहरूले ठोस आर्थिक कार्यसूची ल्याएका छैनन् ।

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीलाई छाडिदिऔं । यिनीहरू २०४६ सालदेखिका रैथाने हुन् । यिनीहरू विकासविरोधी तत्त्वका मतियार हुन् । तर, ‘देश र समाजको मुहार बदल्न हिँडेको’ दाबी गर्दै आएका माओवादी अध्यक्ष प्रचण्डमा समेत कुनै चेत देखिएन । शीर्ष भनिने यी नेताहरूमा स्वाभिमान रत्तीभर छैन । जहाँ गए पनि आक्रोशित जनताका मुखबाट यी नेताहरूको बद्ख्वाइँ सुन्नुपर्छ । नेतृत्व स्वाभिमानी, निष्कपट र गतिलो भए पो समाज अगाडि बढ्छ !

धन्य हो, नेपाली जनता सहनशील छन् ! यो सहनशीलताको पनि सीमा छ । यति हो कि आउँदो मंसिर ४ ले मात्रै परिवर्तनको ढोका ह्वात्त खोल्न सक्दैन । ढोका ढकढक्याइरहनुपर्छ । आग्लो त खुल्नैपर्छ । आग्लो खुलेन भने जनताको धैर्यको बाँध फुट्छ । त्यसपछि को कता हुन्छन्, को कता पर्छन्, कसले भन्न सक्छ !

प्रकाशित : आश्विन २७, २०७९ ०७:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×