नो नट अगेन !- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नो नट अगेन !

निर्वाचन आयोगले नैसर्गिक अभिव्यक्ति स्वतन्त्रतासँगै मत–अधिकार वा मत–बहिष्कारको अधिकारमाथि बन्देज लगाउन खोजे पनि सनातनी अलोकतान्त्रिक नेतृत्वलाई ‘नो नट अगेन’ भन्नैपर्ने भएको छ, चाहे त्यो कम खराबलाई मतदान गरेर होस् या मतदान बहिष्कार गरेर होस् वा ‘नो भोट’ को प्रावधान राखेर होस् ।
राजेन्द्र महर्जन

राजनीतिक संसारमा नीति र नैतिकताबिनाको राज कस्तो हुन्छ ? सवाल, मुद्दा र एजेन्डाशून्य भएको तन्त्र कस्तो हुन्छ ? यस्तो राज वा तन्त्रमा मतहीन निर्वाचन कस्तो हुन्छ ? राजनीतिक दल भिन्नाभिन्नै भए पनि अलग–अलग विचारहीन चुनाव कस्तो हुन्छ ? अग्रगामी मत, न्यायिक विचार, समतामूलक काल्पनिकीको खडेरीबीच सामाजिक पुनःसंरचनाबिनाका आर्थिक विकास, समृद्धि र क्रान्तिको गफ हाँक्ने राजनीतिक गफाडीहरूबीचको छनोट कस्तो हुन्छ ?

असैद्धान्तिक राजनीतिक गठबन्धन गर्दै, नेतृत्वको चुनावी जित सुरक्षित गर्दै, एकले अर्कालाई गलाउने र गिज्याउने गरी अराजनीतिक आरोप–प्रत्यारोपको प्रतिस्पर्धाका क्रममा तरबार–बेचुवा र घीउ–बेचुवाजस्ता राजनीतिक व्यापारीहरूबीच एकलाई चुन्ने काम कस्तो हुन्छ ? मुकुन्डो फरक–फरक भए पनि करिब–करिब एकलजातीय हित र सम्भ्रान्तवर्गीय स्वार्थ भएका नेताहरूबीचको छनोट कस्तो हुन्छ ? यस्ता धेरै प्रश्नको एउटै जवाफ हुन्छ— मंसिर ४ को निर्वाचनजस्तो हुन्छ ।

छानिएकाहरूबीच ‘छनोटको स्वतन्त्रता’

सामान्यतः निर्वाचन भनेको त विभिन्न दलका नीति, नेतृत्व र नैतिकता परख गर्ने कसी हुनुपर्ने हो; उन्नत नीति र नैतिकता जाँच्ने र नेतृत्व चयन गर्ने उत्सव हुनुपर्ने हो । आफ्नो जीवनको भविष्य तय गर्ने नीति–निर्धारकहरूको छनोट गर्ने तथा बेकम्मा उम्मेदवारहरूलाई पाखा लगाउने र कर्मशील–विवेकशील व्यक्तित्वहरूलाई काखमा राख्ने लोकतान्त्रिक प्रक्रिया हुनुपर्ने हो । तर, यस्तो राजनीतिक सामान्य समझ (पोलिटिकल कमन–सेन्स) लाई लात मार्ने दुष्कर्ममा आफूलाई सबैभन्दा प्रबुद्ध, सचेत र अगुवा भन्ने दलका नेताहरू सफल भएका छन् । कुनै न कुनै रूपमा देउवा, प्रचण्ड, ओली वा नेपालकै फोटोकपी उम्मेदवार हुने र विजयी हुने अवस्था बनाउने गरी उनीहरूले सम्पूर्ण चुनावी प्रक्रियालाई नै अलोकतान्त्रिक कलाबाजीमा सीमित गरेका छन् । सकेसम्म आआफ्ना दलका तस्कर, ठेकेदार, व्यापारी, बिचौलिया र अपराधीहरूबीच मात्रै चुनाव गर्न दिने दुश्चक्र रचेर उनीहरूले आफ्ना असल प्रतिनिधि छान्ने बालिग जनताको मताधिकारलाई नै खुम्च्याइसकेका छन् । जनआन्दोलनबाट स्थापित समानुपातिक समावेशी सिद्धान्तलाई पनि आफ्नो वर्ण–जात–जाति–समुदायकै आफन्त सँगेट्ने, अर्को भाषामा, श्रीमतीदेखि गर्लफ्रेन्डसम्मलाई समेट्ने नातेदारी अस्त्रका रूपमा दुरुपयोग गरिसकेका छन् । यसरी मताधिकार, मतदानद्वारा चुन्ने प्रक्रिया र समग्रमा निर्वाचनको लोकतान्त्रिक अभ्यासकै अपहरणको क्रियाकर्ममा दलपतिहरू कदाचित् सफल हुनुको अर्थ हो— ‘सार्वभौम जनता’ को लोकतन्त्र नाम मात्रैको बाँकी छ । यसमा उनीहरू सफल हुनुको मतलब यस निर्वाचनमा सार्वभौम जनता मुकदर्शक वा मौन अनुयायी (फलोअर) वा निष्क्रिय भोटर हुने करिब–करिब पक्का छ, एकाध अपवादबाहेक ।

आफूलाई जनवादी, लोकतन्त्रवादी र समाजवादी ठान्ने नेताहरू जनताको सार्वभौम–सत्ता खोस्न सफल भइसकेका छन् र मतदातालाई आफूले छानेका उम्मेदवारलाई मात्र छान्न दिने ‘छनोटको स्वतन्त्रता’ दिन तम्तयार छन् । सभापति वा अध्यक्षका कोटको अँध्यारो खल्तीबाट फुत्त–फुत्त निस्केका दलीय उम्मेदवारहरूसँग मतदातालाई दिने कुनै आशा र उम्मिद बाँकी छैनन् । न उनीहरू जनतालाई सुशासनको प्रत्याभूति दिलाउन सक्छन्, न रोजगारी सृजना गर्ने योजना पेस गर्न सक्छन्, न सामाजिक सुरक्षाको अनुभूति दिलाउने वाचा गर्न सक्छन्, न त न्यायिक विकासलाई तीव्रता दिने सपना देखाउन सक्छन् । तिनको क्षतिपूर्तिस्वरूप उनीहरू संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रकै विरोध चर्काउनेदेखि लिएर हिन्दुत्व र राष्ट्रवादमिश्रित प्रज्वलनशील पदार्थ बेच्नेसम्मका राजनीतिक व्यापारीहरूका पश्चगामी माल बिक्री–वितरण गर्दै छन् । जम्माजम्मीमा, भिन्नाभिन्नै दलमा बाँडिएका नीति, मुद्दा र सपनाविहीन अनुहार हेरेर मतदान गर्नु भनेकै सर्वोत्तम लोकतान्त्रिक अभ्यास हो भन्दै व्याख्या गरिने खतरा बढ्दो छ । जनता र मतदाताको लोकतन्त्र अपहरण गर्ने दलपतिहरूले दिएका बकम्फुसे विकास र हावादारी समृद्धिका नाराले लोक र लोकतन्त्रलाई गिज्याइरहनु नै यतिखेरको राजनीतिक त्रासदी हो ।

आन्तरिक लोकतन्त्रको हत्या

आ–आफ्नो युगमा सम्पूर्ण रूपमा सामाजिक परिवर्तनको सपना बेच्दै, संगठनको जालो बनाउँदै, सशस्त्र र शान्तिपूर्ण संघर्षको बाटो अँगाल्दै स्थायी सत्ताका अंग हुन पुगेका राजनीतिक दलहरू र तिनका नेतृत्व कसरी यो राजनीतिक त्रासदीका (खल)नायक हुन पुगे, अहिलेको अहं सवाल हो । आफ्नो दलभित्र र आफ्ना जनवर्गीय वा भ्रातृ संगठनमा समेत आन्तरिक लोकतन्त्रको अभ्यास नगर्ने र

आफ्नो नेतृत्व आफैंले चुन्ने अधिकार लागू गर्न नदिने दलपतिहरूले आम जनतालाई स्वतन्त्र रूपमा लोकतान्त्रिक अभ्यास गर्न कसरी दिन सक्छन्, यो बेवास्ता गर्न नसकिने प्रश्न हो ।

भुवनलाल जोशी र लियो ई. रोजका अनुसार, नेपालमा राजनीतिक दलहरूको इतिहास एक सय वर्ष पनि लामो छैन । राजनीतिक आन्दोलनको अगुवाइ गरेका दलहरूमै संगठन र पद्धति गौण हुने गरेको छ भने तात्कालिक लक्ष्यका रूपमा सत्ता–शक्ति प्राप्ति र नेतृत्वमाथि एकाधिकारचाहिँ प्रमुख हुने गरेको छ । राजनीतिक आन्दोलनलाई व्यापक जनाधार, बलियो संगठन र लोकतान्त्रिक नेतृत्व भएको राजनीतिक दलमा फेर्नमा अनेक अड्चन देखिएका छन् । यस्ता अड्चन आउनुमा पाँच कारकतत्त्व पाइन्छन् । एक, राजनीतिक जीवनको थालनीमा भूमिगत संगठनका रूपमा क्रियाशीलता । दुई, हिंसात्मक उपायबाट राजनीतिक परिवर्तनको लक्ष्य । तीन, आन्तरिक लोकतन्त्रको सट्टा एकल नेतृत्वको प्राधिकार । चार, अधिकांश राजनीतिक दलमा एक वर्ण–जात–लिङ्गको प्रभुत्व । पाँच, एकल भाषा–संस्कृतिसँगै प्रभुत्वशालीकै भाष्यको वर्चस्व ।

अधिकांश दल सुरुमा भूमिगत संगठनको बलमा हिंसात्मक उपायबाट राजनीतिक परिवर्तनका लागि क्रियाशील भएको इतिहास छ । प्रचण्ड गोर्खा र रक्तपात कमिटीदेखि माओवादी केन्द्रको इतिहास मात्रै होइन, कांग्रेस र एमालेसम्मका दलको विगत भूमिगत संगठन र हिंसात्मक उपायसँग जोडिएको छ । भूमिगत संगठन र हिंसात्मक उपायको पक्षपाती भएपछि आन्तरिक गोप्यता, कडा अनुशासनसँगसँगै केन्द्रीयता प्रभावी हुने समस्या देखिन्छ । यसको खास अर्थ संरचना, प्रणाली र लक्ष्यकै कारण त्यस्ता दलको गठनमा माथि केन्द्रमा रहने मुट्ठीभर एकलजातीय राजनीतिक नेताको भूमिका प्रधान रहने निश्चित हुन्छ । र, जनताका विभिन्न मुद्दामा आधारित सार्वजनिक संघर्ष, ती संघर्षका आधारमा लोकतान्त्रिक नेतृत्वको निर्माण र व्यापक संगठन विस्तार नभएकै परिणामस्वरूप नेतृत्वमा रहने व्यक्तिहरू हैकमवादी र अलोकतान्त्रिक हुन्छन् । त्यसैले नै प्रदीप गिरिले राजनीतिक पार्टीहरू विचारधाराका आधारमा होइन, व्यक्तिगत र समूहगत स्वार्थका आधारमा प्राइभेट कम्पनी वा डाँकुहरूका गिरोहजस्तै बनेको खरो टिप्पणी गरेका हुन् ।

कुलीन पुरुषको अल्पतन्त्र

विश्वका अधिकांश दलजस्तै यहाँका पार्टीहरूको संगठनात्मक संरचना पनि केन्द्रीकृत छ । त्यस्ता संरचनाको नेतृत्व कुलीन पुरुषको अल्पतन्त्र (ओलिगार्की) का रूपमा क्रियाशील छ । नेपालमा त एक वर्ण–जात–लिङ्गको प्रभुत्व तथा एकल भाषा–संस्कृति र भाष्यको वर्चस्वको पक्ष थपिएको छ । उनीहरूका नेतृत्वमा रहेका सबैजसो दलको सांगठनिक संरचनामा केन्द्र र एकाइ, माथि र तल, नेता र कार्यकर्ता, नेता–कार्यकर्ताबीच पनि पदाधिकारी र गैरपदाधिकारीको विभाजन छ । यस्तो संरचना भनेको पार्टी संगठनलाई पनि तह वा श्रेणीमा विभाजन गर्ने सनातन धार्मिक राजनीतिक उपक्रम नै हो, जुन दक्षिण एसियामा व्यक्ति, परिवार, समाज र राज्यलाई वर्ण/जातमा विभाजित गर्दै शासन गर्ने ब्राह्मणवादी शास्त्र–शस्त्रकै भिन्न रूप हो । यो त्यस्तो सनातन धार्मिक राजनीतिक उपक्रम हो, जहाँ वास्तवमा कोही ‘सर्वोच्च’ हुन्छ त कोही ‘गौण’ वा ‘अधीनस्थ’ । त्यस्ता संरचना र नेतृत्व भएका दलहरूमा एक थरीले आज्ञा–आदेश–निर्देश दिन्छ र शासन गर्छ; अर्को थरीले आज्ञा–आदेश–निर्देश मान्छ, लागू गर्छ र शासित हुन्छ । दलभित्रको सत्तामा पनि शासक र शासितको संरचना र सम्बन्ध कायम रहन्छ । ती विपरीत शब्दको प्रयोग दल र दलपतिका लागि मन पर्दैन, तर दलगत जीवनमा अभ्यास गर्न भने खुब मन पर्छ ।

अनेक नाममा पार्टीलाई तह वा श्रेणी वा अर्को अर्थमा वर्ण/जातमा विभाजन गर्नु भनेको श्रेणीबद्ध संरचना (हायरार्कियल स्ट्रक्चर) मा ढाल्नु हो । र, अनेक जातीय खुड्किला भएका भरेङजस्तो संरचना दलमा पनि पुनः उत्पादन गर्नु हो । पुरानै खालका परिवार, समाज, राज्य र प्रशासनलाई निरन्तरता दिनु हो, तिनलाई रूपान्तरण गर्न खोज्नु पक्कै होइन । आधुनिक भनिने राजनीतिक संस्थाको आन्तरिक जीवन हेरियो भने लोकतन्त्र पाउन कठिन छ । र, नेतृत्वको चरित्र हेर्नासाथ पुराना परिवारको प्रभुत्वशाली मूलीको भन्दा भिन्न देखिन नै गाह्रो छ । टिकट वितरण, उम्मेदवारको छनोट र जित–हारका लागि अह्रनखटनमा मुलीहरूको हैकमले राजतन्त्रकै शैली पछ्याएको छ । यसरी एकलौटी रूपमा पार्टी चलाएको हैकमवादी नेतृत्वले दलबाहिर मात्रै लोकतन्त्रको पद्धति बसाल्छ, जनजीवनका सबै तह–तप्कामा लोकतन्त्रको विस्तार गर्छ, लोकतन्त्रलाई संस्कृतिका रूपमा सघनता प्रदान गर्छ भनेर सोच्न सम्भव छैन ।

लोकतान्त्रिक र मानवीय सपनाबाट मुक्त व्यक्ति–शक्ति

नेपालको निर्वाचकीय लोकतन्त्र (इलेक्टोरल डेमोक्रेसी) मा आफ्नै सनातनी जटिलता छँदै छन्, त्यसलाई थप गुजुल्टो पार्ने कसरत यही अलोकतान्त्रिक राजनीतिक नेतृत्वबाट हुँदै आएको छ । अलोकतान्त्रिक राजनीतिक नेतृत्वबाट निर्वाचकीय लोकतन्त्रमा सुधार गर्न त असम्भवप्रायः छ, जनतालाई साँच्चै सार्वभौम नागरिक बनाउने हदसम्म लोकतान्त्रिक परिवर्तन र अभ्यास होला भनेर कल्पनासम्म गर्न सकिँदैन । यस्तो अवस्थामा निर्वाचकीय लोकतन्त्रमा सुधारका लागि मात्रै सोच्ने हो भने सनातनी अलोकतान्त्रिक नेतृत्वलाई विस्थापन गर्नु जरुरी भइसकेको छ । निर्वाचन आयोगले नैसर्गिक अभिव्यक्ति स्वतन्त्रतासँगै मत–अधिकार वा मत–बहिष्कारको अधिकारमाथि बन्देज लगाउन खोजे पनि सनातनी अलोकतान्त्रिक नेतृत्वलाई ‘नो नट अगेन’ भन्नैपर्ने भएको छ, चाहे त्यो कम खराबलाई मतदान गरेर होस् या मतदान बहिष्कार गरेर होस् वा ‘नो भोट’ को प्रावधान राखेर होस् ।

फेरि, त्यसको मतलब कोही युवा हुँदैमा, नयाँ हुँदैमा, स्वतन्त्र हुँदैमा पुरातन दृष्टिकोण र पश्चगामी दिल–दिमागबाट मुक्त जीवन्त आशा–उम्मिदका प्रतिमूर्ति भइहाल्छन् भन्ने नवीन अन्धविश्वासबाट मुक्तिको जरुरत पनि छँदै छ । आम जनताका हितबाट, गरिखाने वर्गका स्वार्थबाट, लोकतान्त्रिक र मानवीय सपनाबाट मुक्त रहेका ती स्वतन्त्र व्यक्ति र शक्ति पनि पुराना दल र दलपतिहरूभन्दा कुन अर्थमा भिन्न, उन्नत र अग्रगामी छन् ? उनीहरूले आम जनताबीच आशा–उम्मिदको कति खेतीपाती गरे; जनमुखी कामको अगुवाइ कति गरे; भुइँतहका विभिन्न थरी जनताको जीवनमा राहत, सुधार र परिवर्तनका लागि केकतिवटा संघर्षको नेतृत्व गरे; वर्ग–वर्ण–जात–लिङ्गको शासन चल्ने समाजको रूपान्तरणका लागि जारी अभियानका क्रममा आफू र आफ्नो परिवारलाई कति हदसम्म फेरे भन्ने प्रश्नले खासमा कोही युवालाई निर्वाचकीय लोकतन्त्रमा पनि खाँटी उम्मिदको हकदार बनाउने हो, जसको आजसम्म पनि दुर्भिक्ष नै छ ।

यस्तो अलोकतान्त्रिक नेतृत्वले फैलाएको दलदलबाट उम्किएर केही स्वतन्त्र, केही बागी–विद्रोही, केही बौद्धिक युवा जनमतबाट संसद्मा पुग्न सक्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन, जसलाई सनातन नेतृत्वप्रतिको अनास्था, अविश्वास र विद्रोह भन्न सकिएला । तर, सांसदले राज्यको नीति र विधि बनाउने कि विकासे ठेकेदारको भूमिका खेल्ने भन्ने सामान्य ज्ञानसम्म नभएका केही व्यक्ति प्रतिनिधिसभामा पुगिहाले पनि सनातनी अलोकतान्त्रिक नेताहरूको प्रभुत्व घट्ने अवस्था छैन । जनताप्रतिको प्रतिबद्धताबाट मुक्त, कुनै लोकतान्त्रिक सैद्धान्तिक–राजनीतिक दर्शनबाट स्वतन्त्र व्यक्ति–व्यक्तिको नयाँ दल व्यवस्थापिकामा प्रवेश नै गर्‍यो भने पनि पुरातन दलहरूको अराजनीतिक गठबन्धन र मिलीजुली खाने सम्भ्रान्त परम्परामा खासै फरक आउनेवाला छैन ।

आवश्यकता–बोधको हिसाबले अबको युगका लागि त्यस्तो अभियान वा आन्दोलनको जरुरत छ, जसले भुइँतहका जनजीवनका मुद्दा उठाओस्, जसले आफ्नो जीवनमाथि आफैं शासन गर्ने स्वायत्त संरचना बनाओस्, आफ्नो जीवनलाई लोकतन्त्रीकरण गर्ने संस्कृति थालोस् र फरक–फरक ठाउँमा बनेका सिंहदरबारका कुर्सीमा आसीन र सत्ताकांक्षी सनातनी अलोकतान्त्रिक नेतृत्वलाई पनि विस्थापन गरोस् । राजनीतिक दलबाट स्वतन्त्र उम्मेदवार वा स्वतन्त्रका नाममा आम जनताका अग्रगामी आकांक्षाबाट मुक्त नयाँ दलहरूसँग त्यस्तो लोकतान्त्रिक दृष्टि र जनमुखी लक्ष्य देखिएको छैन, जसले सनातनी अलोकतान्त्रिक नेतृत्वभन्दा झिन्न लोकतान्त्रिक र मानवीय रेखा कोरोस् ।

प्रकाशित : कार्तिक १५, २०७९ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्

कस्तो सहर बनाउने बालेन ?

नेवाः सभ्यताको मर्म, सभ्यता अनुसार बनेका बस्ती र सहरको विशिष्टतालाई बेवास्ता गर्दै नवधनाढ्य गाडीवाला, गाडीका व्यापारी र लगानीकर्ता बैंक समूहको हित साधन गर्ने गरी भएको सडक विस्तारले हाम्रा नीति–निर्माताहरूको सांस्कृतिक दरिद्रता र हेपाहापनलाई नै उजागर गरेको छ ।
राजेन्द्र महर्जन

यी दरबारका भव्य झ्याल–ढोकाहरूमा– कसकसका हातका रेखाहरू छन् ?यी मन्दिरका मूर्ति र गुम्बाका गजुरहरूमा– कसकसका औंठाका शंख–चक्रहरू छन् ?एकएक खुट्याउनु छ— इतिहासको खुनी अनुहारचिन्नु छ— को हो असली निर्माता ?– श्रवण मुकारुङ / उत्खनन

‘पोसाक जोराजोरी नलाउनु । सुनका गहना नलाउनु । बिना कामले घाम अस्त भया पछि सहरभित्र नपस्नु । पीठ देवताका पीवाला वलि देवताका गहना सह्यारी नैवेद्य मागी खानु । माछा मारी भँगेरा समाती वेची खानु ।’

‘बीना कामले सूर्य नारायण अष्ट भए पछि सहर भीत्र नपसनु’ भन्ने आदेश राजा जयस्थिति मल्लले बाँधेको ‘थिति’ (कानुन) को एक अंश हो । साढे छ सय वर्षअघि पाँच जना शास्त्रज्ञ र बुद्धिमान् ब्राह्मणले लेखेको र क्षत्रिय शासकले लागू गरेको यो थिति शासकहरूको इतिहास लेखन र प्रचारबाजीमा ‘स्थिति मल्लको सुधार’ को नाममा पढाइन्छ । मल्लकालदेखि थोपरिएको जात अनुसारको थितिमा नेवाः समुदायका द्यःला (देउला–पोडे) जातमाथि अनेक बन्देज लगाइएको पाइन्छ ।

वर्ण र जात अनुसार दण्ड वा पुरस्कार दिइने थिति कुनै न कुनै विधि–विधान, कानुन, शास्त्रको डिस्कोर्स (संकथन) का आधारमा अझै लागू हुँदै आएको देखिन्छ । वर्ण र जातसँग नेपाली राज्यको अन्तरसम्बन्ध र त्यसको निर्माणबारे केही अध्ययन भएको छ, तर सहरसँग वर्ण र जातको सम्बन्धबारे भने कमै विमर्श भएको छ । कसैलाई घाम अस्ताएपछि सहर छिर्नै नपाइने प्रतिबन्ध लगाइएको बुँदाले नेपाली राज्य मात्रै होइन, सहरसमेत विभेदकारी रहेको प्रस्ट देखाउँछ । यसको अर्थ नेपाली शासकहरूले सहरबारे बनाएका नीति–नियम र क्रियान्वयनको पाटोलाई मात्रै हेरियो भने पनि कुनै न कुनै नाम, नारा, निहुँमा विभेद, विभाजन र उत्पीडन हुँदै आएको देख्न पाइन्छ, जसलाई अनेक शासकीय भाष्यको आकर्षक गलैंचाले छोपछाप गरिएको हुन्छ ।

जात अनुसारको टोल र सोसल डिस्ट्यान्स

नेपाल र भारतका धेरैजसो सहरको स्थापना नै हिन्दु धर्मशास्त्रका प्रतीकका आधारमा, वर्ण र जातको श्रेष्ठता र शक्तिका आधारमा गरिएको छ । नेपालकै स्वनिगः (काठमाडौं उपत्यका) का प्रमुख सहरहरूको स्थापत्यमा वर्ण र जातको श्रेष्ठता एवं शक्ति बाँडफाँटको तस्बिर हेर्न सकिन्छ । पायो (खड्ग) र मन्दः (मण्डल) आकारमा बनाइएका यी सहरको केन्द्र र सीमान्तका बस्तीहरूको निर्माण र बसाइमा जातवादी सामाजिक संरचना प्रस्टै झल्किन्छ । मानवशास्त्री राजेन्द्र प्रधानले उपत्यकाका सहरमा देवीदेवताको मन्दिरदेखि थजात–क्वजात (माथिल्लो र तल्लो जात) को श्रेष्ठता र शक्तिको केन्द्रीयतालाई रेखांकित गरेका छन् । प्रधानको पीएचडी थेसिस अनुसार, सहरको केन्द्रमा तलेजु र क्षेत्रीय राजाको घेरो छ भने त्यसपछि कुमारी र उच्च जातको बस्ती छ, त्यसपछि मध्यम जात र द्यःछेंहरू छन्, त्यसपछि तल्लो जात र देवीहरूका थान छन् भने सीमान्तमा ‘थी मत्यःपिं’ वा ‘लः चले मजूपिं’ (अछूत) र अष्टमातृकाका शक्तिपीठ, भैरव र दीप (चिहान) छन् ।

सामाजिक मानवशास्त्री डेभिड गेल्नरका अनुसार, अछुतहरूलाई भने लिच्छवि, ठकुरी र मल्लकालमा बनेका यें (काठमाडौं), यल (ललितपुर), ख्वप (भक्तपुर) वा किपू (कीर्तिपुर) जस्ता ठूला सहरका गढ पर्खालभन्दा बाहिर बसाइएका पाइन्छन् । वर्ण र जातको श्रेष्ठता र शक्तिको केन्द्रीकरणलाई बस्तीमा झल्काउने र व्यवहारमा पोखिने गरी उनीहरूलाई साँझ भएपछि सहर छिर्न प्रतिबन्ध लगाइएको तथा सम्पत्ति, शक्ति र सम्मानबाट वञ्चित गरिएको तथ्य बुझ्न कठिन छैन । जबकि नेवाः समुदायको समाज, सहर र राज्य निर्माण र विस्तारमा उनीहरूका पसिना, रगत र आँसु कति बगेका छन्, उनीहरूका श्रम, सीप र कलाको योगदान कति छ, तिनको कुनै हिसाब–किताब नै हुन सक्दैन ।

हिन्दु सामन्ती राजा–महाराजाहरूका विधान र आचरणमा समाज, सहर र सभ्यतामा वर्ण–जातको तह, उचनीचको श्रेणी, जात अनुसारको विभेद जति हदसम्म असभ्य र कुरूप रूपमा देखिएको छ, त्यो अझै हटेको छैन । गोर्खाली राज्यको व्यापक विस्तार र ‘असिल् हिन्दुस्थाना’ को निर्माणसँगै उन्नाइसौं शताब्दीको आधाआधीबाट काठमाडौं उपत्यका छिर्न र निस्कन लागू गरिएको राहदानीको प्रावधानले काठमाडौं उपत्यकालाई अन्य जिल्लाबाट, विशेष गरी तराई–मधेशबाट, मधेशी जनताबाट अलग्गै अछुतो गढ वा किल्लाका रूपमा विकास गर्ने सरकारी अभिप्रायमा रहेको विभेदकारी नीतिलाई उजागर गरेको थियो । त्यस्तै, कोरोना महाव्याधिको कालमा ‘सोसल डिस्ट्यान्स’ (सामाजिक दूरी) का नाममा गरिएको छुवाछुत कम भयावह थिएन । सोसल डिस्ट्यान्सले जात अनुसारको पुरातन विभेदलाई थप विस्तार गरेको थियो र अनेक बारबन्देज लगाईकन आआफ्ना टोल, गाउँबस्ती वा सहरलाई ‘शुद्धीकरण’ गर्ने अभीष्ट देखाएको थियो ।

बाबुरामदेखि बालेनसम्मका डोजरे विकास

त्यसरी नै थुनछेक गर्ने र परायाकरण गर्ने क्रम सहरका भित्री र बाहिरी बस्तीमा, सहर र काँठको सम्बन्धमा, सहरी सडक–सडकमा, सडक किनारमा हिँड्ने र पसल थाप्ने एवं जीविका चलाउने मामिलामा देखिँदै आएको छ । कोरोनाकालमा कीर्तिपुरको ‘निमा सिमा’ स्थित लोकतान्त्रिक चोकमा भोकभोकै मरेका भरिया सूर्यबहादुर तामाङदेखि सडकमा व्यापारमा क्रममा गाडा र सामान लुटिएकी शर्मिला तामाङका कथाव्यथाले प्रश्न उठाएको छ— आखिर सहर भनेको कसकसको हो ? कसका लागि सहर बनाइएको हो ? सडक विस्तार कसको हितमा गरिएको हो ? सडकपेटीमा केके गर्न पाइन्छ ? फुटपाथ पसल राख्न दिने कि सडक व्यापारलाई नियमन गर्ने ? राज्यका तीनै तहले महामारीकालमा स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखेर सहर, संस्कृति र सभ्यतालाई जीवन्त बनाउने कि गरिबका ससाना रोजगारी र टाउको लुकाउने बसोबास पनि खोसेर महाव्याधि सल्काउँदै निमुखा नागरिकलाई मृत्युतिर धकेल्ने हो ?

बाबुराम भट्टराईले प्रधानमन्त्री हुँदा बाटो विस्तारका नाममा उपत्यकाका रैथानेहरूका पुराना घर भत्काउँदा होस् या काठमाडौंका मेयर बालेन शाहले सुकुम्बासीका फुटपाथ पसल हटाउने र अवैधानिक संरचना हटाउने नाममा आँखा चिम्लेर डोजर चलाउँदा होस्, सहर, सडक र सभ्यतासँग जोडिएका नयाँ–नयाँ सवाल उठेका छन् । नेवाः सभ्यताको मर्म, सभ्यता अनुसार बनेका बस्ती र सहरको विशिष्टतालाई बेवास्ता गर्दै नवधनाढ्य गाडीवाला, गाडीका व्यापारी र लगानीकर्ता बैंक समूहको हित साधन गर्ने गरी भएको सडक विस्तारले हाम्रा नीति–निर्माताहरूको सांस्कृतिक दरिद्रता र हेपाहापनलाई नै उजागर गरेको छ । सहर होस् या सडक, घर होस् या पेटी, यी सबै नागरिकको लोकतन्त्रसँग जोडिएका मुद्दा हुन्, जसलाई बेवास्ता गरियो भने सहरसँगै सभ्यताको पनि मृत्यु हुन सक्छ । नेपालमा आजभन्दा पन्ध्र सयदेखि दुई हजार वर्षअघि नै, इतिहासकार गोर्डन चाइल्डको भाषामा ‘नगरीय क्रान्ति’ भएको देखिन्छ, तर नागरिक बन्न नदिने अलोकतान्त्रिक सामाजिक संरचना र पुरातन संस्कृतिका कारण नागरिकताको अभ्यास गर्न हामी पनि समर्थ हुन सकेका छैनौं । उपत्यकाको जीवन, सभ्यता र संस्कृतिप्रति असंवेदनशीलताका कारण ‘नगरीय क्रान्ति’ का उपलब्धि मासिने खतरा हुँदा पनि भुइँतहको विमर्श र प्रतिवाद देखिएको छैन ।

नगरीय क्रान्ति र नागरिकता

सहरी विकासका अध्येता पीताम्बर शर्माका अनुसार, चारवटा अन्तरसम्बन्धित अवस्थाले गर्दा औद्योगिक क्रान्तिअघिका समाजमा नगरीय क्रान्तिको ऐतिहासिक आधार सम्भव हुन पुगेको हो । पहिलो, उर्वर कृषि र उच्च प्रतिव्यक्ति कृषि उत्पादकत्व । दोस्रो, संरचनागत र श्रेणीगत रूपले विभाजित सामाजिक श्रमशक्तिको विकास र उत्थान । तेस्रो, कृषि उत्पादनको संशोधन (प्रोसेसिङ) र वस्तु व्यापारका लागि आवश्यक सामान्य प्रविधि । र चौथो, व्यापारको अनुकूलता र अवस्थिति । यी अवस्थाले गर्दा कृषि उत्पादनले बढ्दो गैरकृषि जनसंख्यालाई धान्न सक्ने स्थिति बन्छ । सामाजिक श्रम विभाजन र प्रविधिले गर्दा वस्तु उत्पादनमा विशिष्टीकरण सम्भव हुन्छ । यही स्थितिले गर्दा छोटो वा लामो दूरीको इन्टरपोट (मध्यस्थ) व्यापारको फाइदा लिन सकिने खण्ड बन्छ ।

इतिहासकार देवीप्रसाद चट्टोपाध्यायले भनेझैं, यसमा धर्मको वैचारिकीले, नगरका अधिष्ठाताका रूपमा देवीदेवताको स्थापनाले, तिनलाई प्रसन्न पार्ने उपाय जानेका पुरोहितका नाममा समाजको अतिरिक्त उत्पादन एकत्रित हुने प्रक्रियाले नगरीय क्रान्तिमा खेलेको भूमिकालाई पनि कम आँक्न सकिँदैन । यद्यपि, समयान्तरमा त्यही धार्मिक वैचारिकीले नगरभित्र कोको बस्न पाउने, कोचाहिँ नगरभन्दा बाहिरै बस्नुपर्ने, को कति बेला छिर्न पाउने, कसले सहरका साहु र शासकका लागि केकति सेवा गर्नुपर्ने भन्ने नीति–नियम बनाएर जात अनुसारको सुविधा र विभेदको पर्खाल बनाएको पनि सत्य हो । हुन त लेखिएको, पढाइएको–सुनाइएको र मनमा बसाइएको इतिहासमा एकसे एक शासकले स्वनिगःका सहरहरू बनाएका, राज्यलाई समृद्धिको शिखरमा पुर्‍याएका र प्रजाका घरबाट धूवाँ नआएसम्म आफूले खाना नै नखाएका कथा व्याप्त छ । सानो प्रश्न के मात्रै हो भने, त्यस्ता शासकीय व्यवहारमा पनि निरन्तर रूपमा एउटा वर्ग, एउटा वर्ण, एउटा जात, एउटा लिंगलाई पोस्ने अनि अरू सबैलाई परायाकरण गर्ने र दबाउने क्रम कहिलेसम्म जारी राख्ने हो ?

पन्ध्र सय वर्षभन्दा अघि नै बन्न थालेका स्वनिगःका सहरहरू हिमाली क्षेत्रकै पुराना बस्ती मानिन्छन् । इतिहासकार धनवज्र वज्राचार्य र वास्तुकलाका इतिहासकार सुदर्शनराज तिवारीका अनुसार, लिच्छविकालको सुरुतिरै यहाँ नियोजित रूपमा बस्तीको विकाससँगै स्थायी व्यापारको जग बसिसकेको थियो । यहाँका उर्वर खेतमा कुल उत्पादन र प्रतिव्यक्ति उत्पादन उच्च थियो । मानवशास्त्री मेरी स्लसरको अध्ययनमा बाह्रौं र तेह्रौं शताब्दीसम्ममा यें, यल र ख्वप (काठमाडौं, पाटन र भादगाउँ) ले खास सहरी रूप अर्थात् जनसंख्याको बढ्दो घनत्व र स्रोत तथा स्थानको विशिष्ट व्यवस्थापन लिन लागिसकेका थिए । साना र घरेलु हस्तकलासँगै काठ, धातु र वास्तु कौशलमा आधारित उत्पादनमा उपत्यकाका नेवाः समुदायले आफ्नो वैशिष्ट्य स्थापित गरिसकेका थिए ।

विशिष्ट सभ्यताको अवसान

मल्लकालमा मध्यस्थ व्यापार नै काठमाडौंको सहरीकरणको मुख्य आधार मान्ने पीताम्बर शर्माको विचारमा, दक्षिण एसियामा भारत र तिब्बतसँगको मध्यस्थ व्यापारको फाइदा लिन सक्ने अवस्थिति र उत्पादन एवं अनुकूलता काठमाडौं उपत्यकासँग मात्र थियो । सन् १४८० र १७६८ बीचका करिब तीन शताब्दीसम्म तिब्बतको व्यापार उपत्यकाका सहरकै नियन्त्रणमा थियो । यसरी अठारौं शताब्दीसम्ममा यहाँ विशिष्ट सहरी अर्थतन्त्रको विकास भइसकेको थियो, जसमा नेवाः व्यापारी, विशेषतः ल्हासा व्यापारी तुलाधरसँगै तामाङ भरियाहरूको योगदान कम थिएन ।

शर्माको स्पष्ट मत छ, तथापि काठमाडौं उपत्यकाको सहरीकरण गैरकृषि उत्पादनको गहकिलो आधार र पहाडी अर्थतन्त्रसँगको आर्थिक लेनदेनको अत्यन्त न्यून परिमाणका कारण फस्टाउन सकेन । सन् १७६९ मा गोर्खाली विजयपछि मध्यस्थ व्यापारको मात्रा र परिमाणमा पनि अपेक्षित वृद्धि आउन सकेन । काठमाडौं सामन्ती शासन व्यवस्था अन्तर्गत एकीकृत नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक केन्द्रका साथै फौजी केन्द्रका रूपमा स्थापित भयो । त्यसपछि मोफसलको साधन र स्रोतले काठमाडौंको राजनीतिक र आर्थिक सत्ता र शक्तिलाई थेग्नुपर्छ भन्ने गोर्खाली राज्यको सोच विकसित भयो । यसरी सबै कुरा केन्द्रीकृत हुँदा मोफसलमा कृषि उत्पादकत्वको वृद्धि र गैरकृषि उत्पादनका अवसरको फाइदा लिन न लगानी सम्भव थियो, न त कृषिको व्यापक तहमा व्यवसायीकरण नै । तिनको अभावमा काठमाडौंबाहिर सहरीकरणको सम्भावनै रहेन ।

गोर्खाली विजयपछि नगरीय क्रान्तिको मात्रै होइन, उपत्यकाको नेवाः सभ्यताको पनि अवसान सुरु भयो । महेशचन्द्र रेग्मीका भाषामा, सीमित कृषि उत्पादन क्षमता, गैरकृषि आर्थिक अवसरको कमी र सामन्तवादद्वारा सिञ्चित कठोर वर्ण–जात व्यवस्थालाई व्यापक बनाइयो । मल्लकालीन राज्यको तहबाट भएका धार्मिक सहिष्णुता र विविध भाषाको अभ्यासलाई पनि कुण्ठित तुल्याइयो । उपत्यकाका सहरलाई विजयी तागाधारी शासक जातिको कान्तिपुरी नगरीमा फेरिएपछि नेवाः समुदायका तल्लो तहका प्रजा मात्रै होइनन्, अधिकांश मतुवाली समुदायका रैती र सबैजसो गरिखाने वर्गका जनताको सीमान्तीकरण तीव्र भयो ।

यस शताब्दीमा नेपालमा अनेक संघर्षपछि राजनीतिक व्यवस्था परिवर्तन भएको छ, नेपाली राज्य कस्तो बनाउने बहस पनि भएको छ, तर आफ्नो विशिष्ट सभ्यता कस्तो बनाउने, कस्तो मौलिक संस्कृति विस्तार गर्ने, कस्तो विशिष्ट सहर बनाउने–बचाउने, कस्तो सहरवासी सृजना गर्ने, कस्तो सडक–संस्कारजस्ता मूर्त–अमूर्त सभ्यता विस्तारित र पुनःस्थापित गर्ने भन्ने लोकतान्त्रिक सवालमा कमै ध्यान गएको छ । अबको सामाजिक विमर्श र अभियानमा बेवास्ता गर्नै नमिल्ने पक्ष के हो भने, सयौं वर्षदेखि सहरको गढ पर्खालभित्र रहेको सत्ताशक्तिबाट वञ्चित र सम्मानको हकबाट तिरस्कृत समुदाय र व्यक्तिलाई केन्द्रमा राख्ने खालका मानवीय र लोकतान्त्रिक सम्यक् विकल्पबिनाको डोजरे विकासले तानाशाहीकरण र फरायाकरणलाई मात्रै विस्तार गर्छ ।

प्रकाशित : कार्तिक १, २०७९ ०८:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×