कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘हँस्सी-हँस्सी बोलथिन हे छठि मईया !’ 

अफ्रिका, एसिया, युरोप र अमेरिकाका प्राचीनतम सबै सभ्यतामा सूर्य उपासनाको पद्धति पाइन्छ । मिथिलाको महान् पर्व छठ आर्यहरूको सूर्योपासना परम्पराको एउटा अभिन्न अंग हो ।
नित्यानन्द मण्डल

सन्ध्याकालमा अस्ताचलगामी सूर्यलाई अर्घ्य दिएर हार्दिकतापूर्वक बिदाइ तथा प्रातःकालीन उदयाचलगामी सूर्यलाई अर्घ्य चढाएर स्वागत गर्न आतुर छन्, छठका व्रतालुहरू । जनकपुरका पवित्र सरोवरहरू गंगा सागर, धनुष सागर, अरगज्जा, दशरथ तलाउ तथा दूधमति, जलाद नदीहरूमा छठ पूजाको तयारी गरिँदै छ । सुख, समृद्धि, सद्भाव, आरोग्य लगायतका जीवनोपयोगी कामनासँगै मिथिलाका गाउँसहर मात्र होइन, राजधानी काठमाडौं लगायतसमेत छठको उल्लासमा रंगिएका छन् ।

‘हँस्सी-हँस्सी बोलथिन हे छठि मईया !’ 

श्रद्धा, समर्पण तथा सतर्कताको पर्व हो छठ । करुणा, आस्था, त्याग, भक्ति, सामाजिकता, वर्गनाश, श्रद्धा तथा समरसताको प्रतीक हो छठ पर्व । पवित्रता एवं नियम–निष्ठा महत्त्वपूर्ण हुन्छ यस पर्वमा । छठ पर्व गर्नाले पुत्रप्राप्ति, छाला तथा आँखा सम्बन्धी रोगको निवारण, धनजनको सुरक्षा, दुःखदरिद्रता आदि क्लेशबाट मुक्ति, पतिप्रेम, अटल सौभाग्य एवं मनोवाञ्छित फल प्राप्त हुने जनविश्वास रहिआएको छ ।

मिथिलामा सूर्य पूजाको अटुट एवं सुदीर्घ परम्परा छ । यस सांस्कृतिक व्रत अनुष्ठानमा वैदिक सूर्य उपासना, पौराणिक षष्ठी (लोकदेवी) छठी माताको आराधना गरिन्छ । मिथिला नै एउटा यस्तो स्थान हो जहाँ अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ ।

यो पर्व चार दिनसम्म मनाइन्छ । पहिलो दिन अर्थात् कार्तिक शुक्ल चतुर्थीको दिन स्नान गरेर खाना खानुलाई नहाय–खाय भनिन्छ । यस दिन व्रतालुले माछा–मासु, लसुन, प्याज, कोदो, मसुरोको दाल आदि खाद्य पदार्थ परित्याग गर्छन् । नङ काटेर स्नान गरी पूजापाठ गरेर यसै दिन पर्वको सुरुआत गरिन्छ । नहुनेले गम्हरी धान चढाएर पनि छठको पूजा गर्छन् ।

दोस्रो दिन दिनभरि निर्जला उपवास गरेर साँझपख माटाको नयाँ चुलोमा गुड हालिएको खीर बनाइन्छ । पूजा–अर्चनापछि प्रसाद वितरण गरिन्छ र व्रतालुले स्वयं पनि ग्रहण गर्छन् । यसलाई खरना भनिन्छ । तेस्रो दिन अस्ताचलगामी सूर्यलाई अर्घ्य चढाएर परिवारका सदस्यहरू मेवा–मिष्टान्न, कन्दमूल लगायतका पूजा सामग्री एवं वनस्पतिलाई जलाशयमा बनाइएका घाटमा पवित्रताका साथ सजाउने गर्छन् । पूजा सामग्री राख्नुअगाडि अरिपन चित्रहरू कोर्ने गरिन्छ ।

सन्ध्याकालीन अर्घ्यका लागि पानीलाई नमस्कार गर्दै कम्मरसम्मको पानीमा सामान्यतया रातो–पहेंलो साडी वा धोती लगाएर सूर्यलाई प्रणाम गर्दै उभिएका व्रतालुहरू साक्षात देवीदेवतास्वरूप देखिन्छन् । दुवै हत्केलामा पिठार, सिन्दूर लगाएर अक्षता–फूल राखेर पछ्यौरीले छोपिएका अर्घ्य सामग्री पालैपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरिन्छ । प्रत्येक व्रतालुले पूजास्थलमा गएर दूध चढाउँछन्, जसलाई सझुक्का अर्घ्य भनिन्छ ।

चौथो दिन अर्थात् सप्तमी तिथिमा प्रातःकालीन सूर्यलाई अर्घ्य दिइन्छ । यसमा षष्ठी तिथिका सम्पूर्ण विधिविधान अनुसार उदयाचलगामी सूर्यको पूजा–अर्चना गरिन्छ, जसलाई पारन भनिन्छ । यसपछि मात्रै प्रसाद ग्रहण गर्ने परिपाटी छ । यसपछि सूर्य पुराण श्रवण गर्ने परम्परा छ । यसरी नै छठ पर्व सम्पन्न हुन्छ ।

कुनै अबोध बालबालिका वा कसैबाट यो छठको पूजा सामग्री जुठो भयो भने अनिष्ठ हुने जनविश्वास छ । त्यसैले अत्यन्त कठिन, कठोर एवं निष्ठापूर्वक छठ पर्व मनाउनका लागि पवित्रता शुद्धता, श्रद्धा, समर्पण तथा सतर्कता आवश्यक हुन्छ । गल्ती गरेकाले निश्चित रूपमा सजाय भोग्नैपर्ने आम धारणा छ । त्यसैले यसलाई अत्यन्त कठोर अनुशासनको पर्व पनि भनिन्छ ।

सूर्य तथा छठ परमेश्वरीको सम्बन्ध

संस्कृतिविद् डा. राजेन्द्र विमल भन्छन्, ‘संसारका प्रायः प्राचीन सभ्यतामा सूर्य पूजाको परम्परा प्रत्यक्ष वा परोक्ष रूपमा रहेको पाइन्छ । अफ्रिका, एसिया, युरोप र अमेरिकाका प्राचीनतम सबै सभ्यतामा सूर्य उपासनाको पद्धति पाइन्छ । मिथिलाको महान् पर्व छठ आर्यहरूको सूर्योपासना परम्पराको एउटा अभिन्न अंग हो ।’

छठ पर्वमा मूलतः सूर्य षष्ठी अर्थात् सूर्य एवं षष्ठी दुवैलाई उपासना गरिन्छ । दिनानाथ–दिनकर तथा छठ परमेश्वरीबीच के सम्बन्ध छ भन्ने विषयमा विद्वान्हरूबीच मतैक्य पाइँदैन । यस पर्वका गीतहरूमा दिनानाथ र छठ परमेश्वरीको महिमाको खुबै बखान गरिएको पाइन्छ ।

‘छठी’ शब्द ‘षष्ठी’ को तद्भव रूप हो । यस सम्बन्धमा मैथिलीका विद्वान् गोविन्द झा भन्छन्, ‘प्रसवपश्चात् केही दिन शिशुमाथि प्राण संकट रहन्छ र त्यो निर्विघ्न बितेपछि छैटौं रात शिशुलाई रक्षा गर्ने एक तान्त्रिक देवीको पूजा गरिन्छ । तिनै देवीको नाम हो- षष्ठी वा षष्ठिका ।’ छठ परमेश्वरी उनै हुन् ? झा तर्क गर्छन्, ‘भन्न गाह्रो छ । दुवैमा केही स्पष्ट अन्तर अवश्य छ । पहिली शिशुलाई रक्षा गर्ने हुन् भने अर्की बच्चा दिने हुन् । पहिलो षष्ठी राति (छैटौं रात) को दिव्य रूप हुन् भने अर्की षष्ठी तिथिको दिव्य रूप । पहिली देवीको पूजा नित्य अनिवार्य हो । जसको शिशुको जन्मको छैटौं रात हुन्छ, यसलाई छठियार भनिन्छ । तर, अर्कीको पूजा काम्य (ऐच्छिक) हो । अर्थात्, भाकल गरेपछि मात्रै गर्ने हो अन्यथा होइन ।’

सूर्य पूजामा छठ परमेश्वरीको प्रवेशले हाम्रा वैदिक अनुष्ठानमा तान्त्रिक अनुष्ठान कसरी मिसिन पुग्यो भन्ने संकेत गर्छ । सूर्य विशुद्ध वैदिक देवता हुन् भने छठी शुद्ध तान्त्रिक । झा ऋग्वेदका ऋचालाई उल्लेख गर्दै छठ सबैभन्दा पुरानो पर्व भएको दाबी गर्छन् । डा. विमल चाहिँ छठ परमेश्वरीलाई सूर्य देवतामा निहित उनको आह्लादिका शक्ति जीवनको आदिशक्तिका रूपमा ठम्याउँछन्, जस्तो: राम–सीता, राधा–कृष्ण ।

साहित्यकार डा. रेवतीरमण लालका अनुसार, अस्ताउँदो सूर्यलाई जुन अर्घ्य दिइन्छ, त्यो छठ परमेश्वरीलाई दिइएको हो भने उदाउँदो सूर्यलाई अर्घ्य दिनु भनेको सूर्यदेवलाई दिनु हो । मैथिलीका इतिहासकार डा. प्रफुल्लकुमार सिंह मौन सूर्य तथा छठ परमेश्वरीको सम्बन्ध भाइ–बहिनीको भएको सुनाउँछन् । उनी एउटा गीतको उदाहरण दिन्छन्- ‘हँस्सी–हँस्सी बोलथिन हे छठि मईया, सुन हे सूरुज भैया ।’ उक्त लोकधारणा अनुसार, लोक मातृका षष्ठीको पहिलो पूजा सूर्यले गरेका थिए ।

सूर्यको सम्बन्ध

सूर्यबाट सबै जीवलाई समान लाभ प्राप्त हुन्छ । सूर्य सबैका लागि पूजनीय छन् । सूर्य दीर्घदर्शी, मानव जीवनका स्रोत, शक्तिका प्रतीक एवं प्रत्यक्ष रूपमा प्राकृतिक शक्तिको प्रतिनिधित्व गर्ने आराध्यदेवता हुन् । सूर्य बल, यश, चक्षु, आत्मा र मन हुन् । हिन्दु धर्मग्रन्थ अनुसार उनले सातवटा घोडा र एउटा पांग्रा भएको रथको सवारी गर्छन् । उनको किरणबाट सातवटा रंग निस्किन्छन् । पञ्चदेवतामध्ये पहिलो पूजा सूर्यको हुन्छ । वैज्ञानिक दृष्टिकोणले समेत सूर्य सबभन्दा ऊर्जावान् पिण्ड हो ।

छठ पर्वमा प्रयोग गरिने सामग्रीहरू

यस पर्वमा बाँसका कप्टेराबाट बनाइएका छिठा, चंगेरा, कोनिया, कनसुप्ती, डगरा, सुप, डगरी, कोशिया, कुरुवार, दियो, हात्ती, कन्तरी, गम्हरी, धान, ठकुवा, भुसुवा, खजुरिया, खाजा, मुंगवा, मिठाई, स्याउ, सुन्तला, केरा, नरिवल, बोगटी, झुपझुपा भएका उखु, बेसार, मुला, पान सुपारी, सिन्दूर, घ्यू, बद्धी, दूध आदि पूजा सामग्री तथा प्रसादहरूको प्रयोग गरिन्छ ।

नरिवल, मूला, गाजर, बेसारको गाँठो, ज्यामिर, सुतथी, उखु लगायतका झुप्पाझुप्पा फल्ने फलहरू चढाउँदा सूर्य देवता प्रसन्न हुने जनविश्वास छ । ठकुआमा तान्त्रिक चिह्न अंकित हुन्छ । हाम्रा प्रायशः पर्व कृषिउपजमा आधारित भएकाले हाम्रै घरआँगन, खेतबारीमा फल्ने फलफूलको तथा अन्नको प्रयोग गरिन्थ्यो । अहिलेको जमाना महँगिएको छ । तैपनि भीख मागेर भए पनि छठ गर्नैपर्ने प्रचलन अहिले पनि कायम छ ।

सामाजिक सौहार्द

छठलाई प्रकृतिपूजाको संज्ञा दिँदै लेखक धीरेन्द्र प्रेमर्षि भन्छन्, ‘मिथिलामा छुवाछुतको भावना भए पनि छठ नै एउटा यस्तो पर्व हो, जसमा एउटै जलाशयमा हरेक जाति र धर्मका मानिसले सूर्यलाई पूजा गर्छन्, जुन सामाजिक सद्भाव र समन्वयको उत्कृष्ट उदाहरण हो । छठ पर्वले त्यो स्वर्ण युगको आभास दिलाउँछ, जति बेला एउटै धर्म थियो । र, त्यो दिव्यशक्तिका रूपमा प्रकृतिपूजा नै थियो ।’

यो पर्व मनाउनका लागि कुनै जाति बन्धन आवश्यक छैन । त्यसैले केही संख्यामा मुसलमानसहित तराई–मधेशसहित राजधानी काठमाडौं लगायतमा समेत हर्षोल्लासपूर्वक छठ पर्व मनाउँदै आइएको छ ।

मानिसमा सबैभन्दा बढी पानीबाटै छुवाछुतको भावना जागृत हुन्छ । त्यसमा पनि माटाका भाँडाबाट अझै हुन्छ । तर, छठ पर्वमा प्रयोग गरिने बाँसका सामग्रीहरू कथित तल्लो जाति भनिएका डोम जातिबाटै किनमेल गरिन्छ । यस्तै, यसमा प्रयोग गरिने अन्य सामग्रीहरू माली, बरई, कुम्हार र कोइरी जातिहरूबाट किनमेल गर्ने चलन छ । यस सम्बन्धमा एउटा गीत छ-

छोटी मोटी डोमिन बेटीक भुईयाँ लोटय केस,

सुपबा ले अनिहे हे डोमिन बेटी अर्घ्यके बेर ।

व्रतालुले यस पर्वको लाभ आफैं मात्र नलिएर सम्पूर्ण परिवार समाज र आफन्तलाई पनि दिने गर्छन्, जसको पुण्यको भागी सबै हुने जनविश्वास छ ।

प्रकाशित : कार्तिक १३, २०७९ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?