महिलालाई उड्न देऊ !

महिला भएर जन्मिएकै कारण हरेक दिन हामीले ‘रियालिटी चेक’ बाट गुज्रिनुपर्छ । ठूलठूला सपना नदेख, महत्त्वाकांक्षा नपाल, वास्तविकतामा बाँच्न सिक, जोखिम नमोल ! हाम्रा लक्ष्य र चाहनाहरू यथार्थपरक र अर्थपूर्ण मानिँदैनन् ।
प्रीति मित्तल

हामी यस्तो समयमा बाँचिरहेका छौं जति बेला ‘महिला सशक्तीकरण’ शब्दावली जनजिब्रोमा लगभग बसिसकेको छ । सँगसँगै दुर्भाग्यपूर्ण के छ भने, परिस्थितिवश महिलाहरूको ठूलो हिस्सा आज पनि आफ्नो नियन्त्रणबाहिरको काम गर्न बाध्य छ ।

महिलालाई उड्न देऊ !

आज हामी इतिहासको धेरै महत्त्वपूर्ण र निर्णायक समयमा उभिइरहेका छौं, समावेशीकरण र विविधताको युगमा, जहाँ महिलाहरू आफू, आफ्नो परिवार, समाज र सिंगो संसारलाई नै परिवर्तन गर्न र नेतृत्वदायी भूमिका खेल्न तयार छन् ।

पितृसत्तात्मक मूल्यमान्यताहरूले लादेका कर्महरूबाट मुक्ति पाउन दिनरात संघर्ष गर्दै हामीले लामो यात्रा तय गरिसकेका छौं । तर भोलि के होला भन्ने चिन्ता नलिई हामी वास्तवमै के गर्न चाहन्छौं भनेर रोज्ने स्वतन्त्रता, कसैको सहयोग वा सद्भाव हामीसँग छ ? जवाफ एउटै हुन्छ— छैन । हामीले अझै पनि इच्छाएको जीवन बाँच्न, आफ्ना सपनाहरू पछ्याउन, पेसागत प्राथमिकताहरू निर्धारण गर्न वा चाहेजस्तो शिक्षा हासिल गर्न आफ्ना आमाबाबु वा श्रीमान्को अनुमति लिनुपर्छ । यदि विवाह महिला र पुरुषबीचको एकता हो भने किन महिलाले मात्र सधैं सपना र विवाहमध्ये एक रोज्नुपर्ने ? अनि किन हरेक कुरामा कसैको अनुमति चाहिने ?

शिक्षित हुनु हरेक अविवाहित केटीका लागि विवाहको सबैभन्दा पहिलो सर्त हो । तर विडम्बना, विवाहपश्चात् उसले काम गरेको हेर्न कोही पनि चाहँदैन । फगत उसको खाना पकाउने सीप, उसले लगाउने पोते र सिन्दूरले महत्त्व पाउँछन्; ऊ कुन उचाइमा पुग्न सक्छे वा के कुरा हासिल गर्न सक्छे भन्नेले कुनै अर्थ राख्दैन । कथंकदाचित् विवाहपश्चात् पनि उसले काम गर्ने वा आफ्ना सपनाहरू पछ्याउने अनुमति पाई भने उसलाई भाग्यमानी ठानिन्छ । तर हाम्रा आफ्नै सपनाहरू पछ्याउन हामीलाई कसैको अनुमति लिन जरुरी छ ? आजसम्म पनि हामी कुन दुनियाँमा बाँचिरहेका छौं ?

महिला भएर जन्मिएकै कारण हरेक दिन हामीले ‘रियालिटी चेक’ बाट गुज्रिनुपर्छ । ठुल्ठूला सपना नदेख, महत्त्वाकांक्षा नपाल, वास्तविकतामा बाँच्न सिक, जोखिम नमोल ! हाम्रा लक्ष्य र चाहनाहरू यथार्थपरक र अर्थपूर्ण मानिँदैनन् । हामीले प्रायः नसोचेका कामकुरा छनोट गर्नुपर्ने चुनौतीको सामना गर्नुपर्छ, जसले हाम्रो पेसा–व्यवसायमा भाँजो हाल्छ वा हाम्रा महत्त्वाकांक्षाहरूलाई बीचमै तुहाइदिन्छ । हामीबाट प्रायः सीमित लक्ष्य र महत्त्वाकांक्षाहरूको अपेक्षा गरिन्छ । लक्ष्यबाट बारम्बार पछि हट्नुपर्ने समस्याले अन्ततोगत्वा हामीलाई यस्तो विषाक्त दुश्चक्रतिर धकेलिदिन्छ जहाँबाट फेरि कामको लयमा फर्किनु अत्यन्त पीडादायी अनि असम्भवप्रायः हुन्छ ।

यसले हाम्रो आत्मविश्वासलाई छियाछिया पारिदिन्छ । यो एउटा मुख्य बाधाका रूपमा देखा पर्छ जसले सदैव असफलताको अनुभूति त दिलाउँछ नै, आफ्नै वरिपरिका सहयोगीहरूप्रतिको विश्वास पनि हामीबाट हट्दै गुम्दै जान्छ । ती आफ्नै परिवार सदस्य, साथीभाइ वा सल्लाहकार जो पनि हुन सक्छन् । महिलाहरूलाई शीर्षस्थानमा पुग्नबाट रोक्ने अनेकौं कारणमध्ये लैंगिक समानता, सहयोग र सद्भावको कमी पनि हो जसले बिस्तारै महिलाहरूको आत्मविश्वासलाई धूलिसात् पारिदिन्छ ।

आत्मविश्वासको कमी हानिकारक हुन सक्छ किनकि सफलता पाउन क्षमताका साथसाथै आत्मविश्वास पनि चाहिन्छ । परिणामस्वरूप, सपनाहरू पूरा गर्ने चाहना, नाम, प्रसिद्धि र सफलता हासिल गर्ने इच्छाहरू बिस्तारै कठिन र अवास्तविक लाग्न थाल्छन् । हामीलाई आफ्नो लक्ष्यमा अघि बढ्ने क्रममा बारम्बार हाम्रा सीमितताहरूबारे सम्झाइन्छ जसले महिलाले हासिल गर्न सक्ने सफलताको दायरालाई साँघुरो पारिदिन्छ ।

जीवनका सपनाहरू पूरा गर्न पुरुषहरूलाई पनि महिलाहरूलाई जस्तै सहयोग, विश्वास, ऊर्जा, योग्यता, सीप र स्रोतसाधनको आवश्यकता हुन्छ । तर पुरुषहरू महिलाले जस्तै सजिलै सपनाहरू कहिल्यै त्याग्दैनन् । यदि पुरुषहरूको सपनाको कुनै सीमा हुँदैन भने महिलाहरूको सपनाले मात्र किन समयको हदबन्दीभित्र बाँधिनुपर्ने ? पुरुषहरूको सफलताका लागि सबैको हरसम्भव साथ र सहयोग हुन्छ भने महिलाले चाहिँ किन इच्छाएको जीवन बाँच्न पनि कसैको अनुमति लिनुपर्ने ? असल श्रीमती र छोरी बन्नका लागि महिलाले सब थोक त्याग्नैपर्छ र ? महिलाहरू पछि पर्नु भनेको यो विश्व अन्यायी र पक्षपाती बन्नु हो । यदि तिनै महिलालाई साथ–सहयोग दिई उचित वातावरण बनाइदिने र सशक्तीकरण हुने अवसर जुटाइदिने हो भने उनीहरू उचाइमा पुग्नबाट रोक्ने हरेक व्यवधानबाट मुक्त हुन सक्छन् ।

निश्चय नै, परिवार समाजको सबैभन्दा महत्त्वपूर्ण एकाइ हो र यसभित्र केही निश्चित सम्झौता गर्नुपर्छ । तर त्यसका लागि महिला र पुरुष दुवैले जिम्मेवारीहरू बाँडफाँट गर्नुपर्छ । आफ्नो पेसागत योजना नत्यागीकन पनि महिलाहरू असल श्रीमती र आमा बन्न सक्छन् । असल छोरी र श्रीमती बन्न तथा बालबच्चा हुर्काउन उसले आफ्ना सपनाहरूलाई माया मार्नुपर्दैन । केवल आफ्नो परिवार र जागिरबीच गहन सन्तुलन राख्न सक्नुपर्छ । महिलाहरूलाई प्रगतिपथमा अघि बढाउनका लागि समाजले आफ्नो दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी छ । अभिभावकहरूले आफ्ना छोराछोरीलाई समान रूपमा हुर्काउनु र व्यवहार गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ । अझ महत्त्वपूर्ण कुरा महिलाहरूको सपनामा विश्वास गर्नु र आर्थिक रूपले सकिँदैन भने पनि नैतिक रूपले भरपूर समर्थन गर्नु हो । नैतिक समर्थन भौतिक समर्थनजत्तिकै अर्थपूर्ण हुन्छ ।

समाजलाई पितृसत्ताले यसरी गाँजेको छ, पुरुषका लागि आधारभूत मानिने चीजहरू खोज्ने महिलालाई अझै पनि या त पारिवारिक वा सामाजिक अनुमति चाहिन्छ या उसबाट भएको सुविधा पनि खोसिन्छ । आफूलाई प्रगतिशील ठान्नेहरू अझै पनि महिलाहरूलाई उनीहरूले चाहेको जीवन जिउन अनुमति दिनुमा गर्व गर्छन् जबकि पितृसत्तात्मक मूल्यमान्यता बोक्ने पुस्ताले अन्ततः बिस्तारै समाजमा आफ्नो पकड गुमाउँदै गएको छ ।

शिक्षा हासिल गर्ने, पेसा–व्यवसाय रोज्ने, व्यावसायिक सिँढीको माथिल्लो खुड्किलामा रहनेजस्ता पुरुषहरूका लागि सामान्य मानिने कुराहरूलाई अझै पनि महिलाहरूका सन्दर्भमा विशेषाधिकार मानिन्छ । यसैले आपसी सम्बन्धमा साझेदारी स्थापना गर्ने कुरालाई सामान्य बनाउनुपर्छ, ताकि महिलाहरूले आफ्नो चाहना अनुरूपको जीवनयापन गर्ने छुट पाएकामा पुरुष र समाजप्रति कृतज्ञ बन्नु नपरोस् । भनिन्छ, हरेक सफल पुरुषका पछाडि महिला हुन्छन् तर हरेक सफल महिलाका पछाडि मानिसहरूको झुन्ड हुन्छ भन्ने पनि उत्तिकै साँचो हो ।

हामीलाई आफ्नो पूर्ण क्षमताका साथ काम गर्न रोक्ने कुरा भनेको नकारात्मक आत्मवार्ता र आत्मध्वंसकारी सोच पनि हो । त्यसैले यस्ता सबै नकारात्मक कुराहरूलाई पन्छाउने समय पनि हो यो । बरु जस्तोसुकै परिस्थितिमा पनि आफ्नो जोस र उत्साहलाई कम हुन नदिनु महत्त्वपूर्ण कुरा हो । त्यसको सट्टा बरु कर्मको उचाइमा पुग्ने उपायहरू खोज्नुपर्छ । जब कुनै महिलाले आफ्ना सपना र महत्त्वाकांक्षाहरू त्याग्न इन्कार गर्छिन्, उनी रोल मोडल मात्र बन्दिनन्, अरूलाई पनि अगाडि तान्छिन् र उनीजस्तै अरूले पनि सफलताको उडान भर्न सक्छन् भनेर देखाइदिन्छिन् ।

हामी महिलाहरू पुरुषहरूले कल्पनासम्म गर्न नसक्ने कामहरू गर्न सक्षम छौं । हामी घरायसी र कार्यालयसम्बन्धी कामहरू कुशलतापूर्वक व्यवस्थापन गर्न सक्छौं । त्यसैले महिलालाई विवाहरूपी सुनको पिँजडामा बन्द गरेर नराखौं, जहाँ हरेक चीज सुन र चाँदीको थालमा पस्केर त दिइन्छ तर यसका लागि उनीहरूको सिंगो जीवन र सम्पूर्ण स्वतन्त्रता खर्चिनुपर्छ । उनीहरूलाई उड्न दिऔं ।

अन्त्यमा, आजको द्रुत, तनावपूर्ण, एकअर्कामा संयोजित र निरन्तर विकसित हुँदै गइरहेको विश्वमा बाँच्दाबाँच्दै पनि यो सहस्राब्दी आफ्नो विचार र दृष्टिकोणमा अघिल्लोभन्दा तुलनात्मक रूपमा प्रगतिशील छ । यद्यपि प्रेम र विवाहमा समान साझेदारी हुनुपर्छ भन्ने चाहिँ अझै पनि बहसकै विषय हो ।

प्रकाशित : कार्तिक ८, २०७९ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?