मध्यम वर्गको नयाँ चिहान- विचार - कान्तिपुर समाचार

मध्यम वर्गको नयाँ चिहान

मध्यम वर्गका युवाहरूको विदेश पलायन छाक टार्न खाडी जाने श्रमिकको सन्दर्भभन्दा बिलकुल भिन्न कुरा हो। त्यसैले यस विषयमा व्यापक छलफल र सामाजिक चेतना निर्माणको अभियान जरुरी छ ।
आहुति

नेपाली समाजको मध्यम वर्ग सतहमा अहिले निकै हर्ताकर्ताजस्तो देखिन्छ । सहरका रंगीन मल बजारहरूमा वा खर्चालु रेस्टुरेन्टहरूमा यस वर्गका मानिसको रवाफमय चहलपहल हेर्नलायक हुन्छ । हवाईजहाजमा बसेपछि, ‘उड्न लागें है...’ अनि जहाज अवतरण भएर ट्याक्सी वेमा गुड्न थाल्नेबित्तिकै मोबाइल खोलेर ‘बल्ल ल्यान्ड भयो’ भनी हतारहतार आफन्तलाई सन्देश बाँडिरहेको देख्दा यस वर्गका मानिसहरू सुख र प्रेममय जीवनमा हुइँकिइरहेझैं लाग्छ ।

मध्यम वर्गको समग्र जीवनका भित्री पानाहरू पल्टाउने हो भने यस वर्गका मानिसहरू निकै पीडादायी हृदयविदारक सामाजिक विघटनको प्रक्रियाबाट पनि गुज्रिरहेका छन् । कहिल्यै प्रकट नभएका नवीन कथाहरू यस वर्गको जीवनमा आज जन्मिरहेका छन् । केही नमुना कथा यस्ता छन् ।

कथा एक

कर्नेल कार्कीका तीन छोरा र बुहारीहरूका सात सन्तान आज कोही पनि नेपालमा छैनन् । कोही अमेरिका त कोही क्यानडा छन् । तीनवटा घर छन् तीन छोराका । घर पुछ्ने र बूढाबूढी स्याहार्ने कामदारहरूको उदास चहलपहल त छ तर एउटै परिवारमा पनि बूढाबूढीले खेलाउने बच्चाहरूको न्यानो भने छैन । केही महिनाअघि एकानब्बे वर्षका कर्नेलको मृत्यु हुँदा सत्तरी आसपासका तीन छोरा र बुहारीहरू मोबाइलको भिडियो कलबाट मृतक कर्नेलको अनुहार विदेश बस्ने सन्तानहरूलाई देखाउँदै थिए । यस्तो लाग्छ, पहिले नेपालीहरू बाध्यतावश परदेसिएर परदेसी हुन्थे भने आज विदेशमै घरजममा रमाइरहेका सन्तानहरूका कारण आफ्नै

देशमा बूढाबूढीहरू परदेशीजस्तो निरीह व्याकुल बन्न पुगेका छन् । सिंगो जीवनको ऊर्जाबाट तयार पारिएका लक्का जवान छोराछोरी बिदेसिएपछि मध्यम वर्गका बूढाबूढीहरूका आँखामा हरेक पल रसाइरहेका यस्ता कथाहरू आज नेपाली समाजको जीवन्त यथार्थ बनेका छन् । यो कुनै अपवाद होइन, बरु मध्यमवर्गीय हरेकजसो घरको एउटा तीतो विडम्बनाका रूपमा उपस्थित भएको छ ।

कथा दुई

नेपाली कांग्रेसबाट प्रदेश सांसद भएका, खातापिता परिवारका राजनीतिज्ञ लामेछानेकी एक मात्र छोरीलाई अमेरिकी डीभी पर्‍यो । नपुग्दो केही छैन । घरखेत छँदै थिए, त्यसमाथि राजनीतिमा प्रगति लटरम्मै छ । सांसद लामिछानेले छोरीलाई डीभी परेपछि ससानो भोज नै गरे । छिमेकीहरू पनि जिब्रो काढ्दै भन्न थाले, ‘यता बाबु सांसद जित्ने, उता छोरीलाई डीभी पर्ने, भाग्यमै लेखेजस्तो !’ लामिछाने मात्र होइन, उनको परिवारलाई चिन्ने सबैजसोले छोरीलाई डीभी परेपछि लामिछाने परिवारको श्रीवृद्धि भएका रूपमा बुझे । नेपाली जनताको प्रगति गर्छु भन्दै मत मागेर सांसद चुनिएको मान्छे आफ्नी छोरीलाई अमेरिका पठाउन आतुर हुँदा न उनलाई मतदाताप्रति अनैतिक बनेँ कि भन्ने लाग्छ, न त जनताले नै कुनै प्रश्न उठाउँछन् । देश र समाजको जिम्मा लिन्छु भन्नेहरूमध्येको ठूलो जमातमा यो मनोदशा प्लेग रोगजसरी फैलिरहेको छ । राजनीति र प्रशासनमा हर्ताकर्ता मध्यम वर्गको यो मनोविज्ञान साधारण परिघटना होइन, बरु डरलाग्दो विषय बन्दै गएको छ ।

कथा तीन

जीवनभरि राष्ट्रिय स्वाधीनता र कम्युनिस्ट सिद्धान्तका निम्ति लड्दै र जेलनेल भोग्दै आएका वामपन्थी नेता तथा लेखक कायस्थका छोराछोरीले दुवै डाक्टर पढे, जो अहिले अस्ट्रेलिया बस्छन् । कायस्थका किताबहरू पढेर देश र जनताका निम्ति लड्ने हजारौं योद्धा जन्मिए, अहिले पनि लडिरहेका छन् तर नेता एवं लेखकका सन्तान भने नेपाल बसेनन् । कायस्थ दम्पती कहिलेकाहीँ छोराछोरीलाई भेट्न यसो एकाध महिना अस्ट्रेलिया टहलिएर आउँछन् अनि देश आइपुग्नेबित्तिकै प्रबुद्ध मित्रहरूसँग भन्छन्, ‘आफूलाई यहीँ प्यारो लाग्ने ! बच्चाहरूले भनेर गयो तर पुगेको दिनदेखि बस्नै मन नलाग्ने !’ वामपन्थी नेता तथा लेखकका रूपमा रहेका कायस्थजस्ता मध्यम वर्गको यो तमासा उदेकलाग्दो छ । उनीहरूको मूल प्रशिक्षणमा के खोट हुन पुग्यो जसका कारण छोराछोरी बिदेसिए ? यस विषयमा कतै पनि एक शब्द उनीहरूबाट झर्दैन, अझ छोराछोरीको पलायनलाई गर्वका साथ कतिपयले फेसबुक रँगाइरहेका हुन्छन् । वामपन्थीहरूमा देखा परेको यो परिघटना यथार्थमा ऐतिहासिक रूपमै टीठलाग्दो छ ।

नेपालको मध्यम वर्गमा बनिरहेका यी कथाहरूले सिङ्गै नेपालको सामाजिक विघटनको एउटा पाटोलाई प्रकट गरेका छन् । यो सामान्य विषय हुँदै होइन, तर यस्तो गम्भीर विषयमाथि बहस भने निकै कम चलिरहेको छ । धेरैजसोले त नेपालमा आफ्नो प्रगति नदेखेर बिदेसिनेको अर्थमा अर्थ्याएर मात्र बुझ्ने गरेका छन् । मध्यम वर्गका युवाहरूको विदेश पलायन छाक टार्न खाडी जाने श्रमिकको सन्दर्भभन्दा बिलकुल भिन्न कुरा हो भन्ने यथार्थ त प्रस्टै छ । त्यसैले यस विषयमा व्यापक छलफल र सामाजिक चेतना निर्माणको अभियान जरुरी भइसकेको छ ।

साधारण रूपमा परिभाषित गर्दा जीविकाको संकट नभएको र ठूलो दलाल पुँजीपति पनि बनिनसकेको समूह नै मध्यम वर्ग हो । मध्यम वर्ग मुख्य शासक वर्गसँग पनि नजिकै हुने हुनाले शासक वर्गका सारा खराबीलाई राम्रोसँग अनुभूति गर्न सक्छ । जीविकाको आधारभूत संकटमा नहुने हुनाले ज्ञान र सूचनामा पहुँच बनाउन सक्छ । आफ्नो प्रतिभालाई यस वर्गका मानिसले चाहँदा अगाडि बढाउन प्रशस्त अवसर प्राप्त गर्छन् । यो वर्ग व्यापक श्रमजीवी जनतासँग पनि प्रत्यक्ष जोडिने हुनाले आम श्रमजीवीहरूले मध्यम वर्गको संस्कृतिलाई आफ्नो पनि संस्कृति बनाउन चाहने मनोविज्ञान जन्माउँछ । यो वर्ग व्यापक श्रमजीवी जनताका समस्याहरूबारे जानकार पनि हुन्छ ।

भारतीय लेखक महाश्वेता देवीले मध्यम वर्गको जीवन भान्सादेखि पाइखानासम्ममै सकिन्छ भनेर यस वर्गको उपभोक्तावादी स्वरूपलाई छर्लंग पारेकी छन् तर यो वर्गको समग्रता यतिमै सीमित भने पटक्कै हुन्न । विश्व र नेपालकै इतिहासमा मध्यम वर्गले वैज्ञानिक, सिद्धान्तकार, साहित्यकार, नेता र सहिदहरूको लामो सूची उपलब्ध गराएको छ । त्यसकारण मध्यम वर्गमा देखा परिरहेको विघटन र पलायनको प्रवृत्तिलाई सिंगो नेपाली समाजमाथि आएको गम्भीर संकटका रूपमा बुझ्न स्वतः जरुरी हुन जान्छ ।

आज नेपालको मध्यम वर्गमा देखा परेको विघटन र पलायनलाई बुझ्न यो वर्गको निर्माण कसरी हुँदै आयो भन्ने विषयतिर पनि एक पटक दृष्टि दिनु आवश्यक छ । एक, पुरानो सामन्त वर्गको स्थिति खस्किएर वा धनी किसान परिवारबाट मध्यम वर्गको एउटा हिस्सा बन्न पुगेको छ । यही हिस्साभित्र जात व्यवस्थाको सुविधामार्फत पण्डा, पुजारी र अन्य धार्मिक सहुलियतसँग सम्बन्धित परिवारबाट मध्यम वर्गमा पुगेकाहरूलाई पनि राख्न सकिन्छ । दुई, राज्यको उत्पीडन वा अन्य नीतिका कारण मध्यम वर्ग बन्न पुगेकाको अर्को हिस्सा छ । राजधानी र प्रमुख चहलपहलका सहरका रैथानेमध्येको एउटा हिस्सा परम्परागत जग्गा र घरको महत्त्व बढेर स्वतः मध्यम वर्गको सुविधामा पुगेको हो । त्यसै गरी पञ्चायतले पुनर्बासको योजना अन्तर्गत तराईमा बाँडेको जमिनसँग सम्बन्धित परिवारलाई पनि मध्यम वर्गमा उक्लिने अवसर मिल्यो । तीन, राज्यको दोहन गर्ने राजनीतिज्ञ र प्रशासकहरूबाट मध्यम वर्गको एउटा ठूलो हिस्सा तयार भएको छ । चार, प्राविधिक शिक्षा पाएका र अन्य शिक्षित जमातले पनि मध्यम वर्गमा आफ्नो स्थान बनाएका छन् । पाँच, बेलायती र भारतीय, मुख्यतः बेलायती सेनामा जाने लाहुरे संस्कृतिबाट पनि मध्यम वर्गको एउटा सानो हिस्सा बन्न पुगेको छ । त्यही लाहुरे परम्पराबाट प्रवर्द्धन हुन पुगेको गहना व्यवसायसँग सम्बन्धित केही सुनार पनि मध्यम वर्गमा उक्लिएका छन् । छ, विगत तीस वर्षमा एनजीओ संस्कृतिले मध्यम वर्गको बिलकुल नयाँ जमात निर्माणमा ठूलो भूमिका खेलेको सजिलै देखिन्छ । सात, समाजमा चलिरहने नियमित आर्थिक प्रक्रियाबाट त एउटा तप्का मध्यम वर्ग जन्मिन्छ भन्ने स्वतः बुझिएकै कुरा हो ।

यी सात प्रक्रियाबाहेकका अन्य सन्दर्भ पनि निश्चितै रूपमा छन् तर मध्यम वर्ग निर्माणका मुख्य सन्दर्भहरू भने यिनै हुन् । मध्यम वर्ग निर्माणका यी सन्दर्भहरूमध्ये पनि सबैभन्दा मध्यमवर्गीय हर्ताकर्ता कुन जमात छ ? त्यसतिर एक पटक ध्यान दिनैपर्छ । वास्तवमा सबैभन्दा हर्ताकर्ता भनेको राज्यको दोहन, एनजीओ–आईएनजीओ र लाहुरे संस्कृतिबाट बनेको मध्यमवर्गीय हिस्सा नै हो । विभिन्न समाजको इतिहास अध्ययन गर्दा परम्परागत धनी किसान, शिक्षित जमात र व्यापारबाट जन्मिएको मध्यम वर्ग नै सबैभन्दा बढी जिम्मेवार र सृजनशील पाइन्छ तर नेपालमा त राज्यको दोहन गर्ने भ्रष्ट र अनैतिक, विदेशी बुद्धि र पैसामै जीवन बिसाउने एनजीओ–आईएनजीओकर्मी अनि विदेशी सेनामा सिर्जनशीलता सकेर फर्केका शिथिल लाहुरेहरूबाट बनेको मध्यम वर्गको हिस्सा पो चल्तापुर्जा हुन पुगेको छ । यो हिस्साले मूलतः पलायनवादी र अवसरवादी संस्कृति नै व्याप्त बनाउनु अनिवार्य थियो । देशको राजनीतिक अवस्था र पर्याप्त प्रगतिका सम्भावनाको अभावजस्ता सन्दर्भहरूले पनि मध्यमवर्गीय युवालाई विदेश पलायनका निम्ति प्रेरित गरेका छन् तर त्योभन्दा बढी भूमिका मध्यम वर्गको हर्ताकर्ता हिस्साले विकास गरेको पलायनवादी र अवसरवादी संस्कृतिले खेल्न पुगेको छ । यतातिर गम्भीर दृष्टि जानु आवश्यक छ ।

यो पलायनवादी र अवसरवादी संस्कृति मध्यम वर्गमा मात्र होइन, आज आम समाजको चरित्र बन्ने दिशातिर अघि बढेको देखिन्छ । मध्यम वर्गको हर्ताकर्ता हिस्साले फैलाएको संस्कृतिको प्रभावले आम समाजलाई लपेटेको छ, त्यसका निम्ति लामो समयदेखि राज्यले लादेको गुलाम चेतना र विकृत शिक्षाले भावभूमिको काम गरेका छन् । त्यस्तो भावभूमि हुँदैनथ्यो भने यो संस्कृतिको प्रभाव यति तीव्र हुन सम्भव थिएन । राणाहरूले सुरु गरेको बेलायतको गुलामीको यात्राले समग्र विदेशप्रति नै नतमस्तक हुने गुलाम मनोविज्ञान आम समाजमा फैलिँदै आयो ।

त्यसै गरी साम्राज्यवादले लादेको शिक्षा नीतिले आम मानिसमा हामी विदेशीभन्दा नालायक रहेछौं भन्ने गरी प्रशिक्षित गर्‍यो । यसै पनि जात व्यवस्थाले मानिसलाई अब्बल र कमसल भनी खाडल पारेको समाजमा त्यो शिक्षा नीतिले झन् शिक्षित र अशिक्षितको थप खाडल गहिराइदियो । गाउँमा स्कुल पुग्नुको अर्थ थियो— केही मानिसलाई पास गराएर अब्बल दर्जा दिनु र बहुसंख्यकलाई पढ्न नपाएका वा फेल भएका कमसलमा दर्ज गराउनु । हामीकहाँ विज्ञान र स्वास्थ्य शिक्षा हामीलाई मूर्ख साबित गर्न प्रवेश गरे । हामीलाई त विज्ञान र स्वास्थ्य शिक्षाले भन्नुपर्थ्यो, ‘तिमीसँग थुप्रै विज्ञान छ, स्वास्थ्यको ज्ञान छ; अब यो नयाँ ज्ञान पनि मिल्ने हदसम्म लेउ ।’ तर त्यस्तो भएन । विज्ञान लगायत समग्र शिक्षाले भने, ‘तिमीसँग केही पनि काम लाग्ने ज्ञान छैन । तिमी खान जान्दैनौ, तिमी खेती गर्न जान्दैनौ, तिमी हात धुन पनि जान्दैनौ । मूर्ख, पिछडिएका हौ । अब हात धुन पनि सिक ।’

यसरी नालायक हौ भन्दै हुर्कायो शिक्षाले र लायक सबै विदेशीसँग छ भन्दै झुट कोच्यो । अनि शिक्षाले अब्बल भनेर जसलाई पास गरायो, त्यसलाई सहर लगेर जागिर खाने पुरस्कार दियो । जो फेल भए, जो पढ्न पाएनन्; त्यो विशाल हिस्साले गाउँ बस्नुपर्ने अवस्थालाई नै नालायक ठान्ने संस्कृति विकसित भयो । त्यसै गरी लायक भएर सहर पसेकाले विदेश र विदेशीलाई अब्बल ठान्न थाल्यो किनभने सहरमा पनि विदेशी मालिक आएर त्यही भन्यो— तिमी अलिकति पढे पनि तिमी हामीभन्दा त नालायक छौ । यसरी यो उपनिवेशवादी शिक्षाले मौलिक स्थानीयताको मुटुमै प्रहार गर्‍यो, विशाल पलायनवादी गुलाम संस्कृतिको भावभूमि तयार पार्‍यो । यसरी आज नेपाली समाजको मध्यम वर्गमा झाँगिएको र अन्य सबैलाई प्रभावित गरिरहेको पलायनवादी र अवसरवादी संस्कृतिको जग उपनिवेशवादी शिक्षा र राज्यले लिएका तमाम गुलाम नीतिमा खोज्नैपर्छ । यो एकाध वर्षमा गरिबी वा उन्नत जीवनको चाहनाले हुर्किएको प्रवृत्ति मात्र होइन, बरु लामो समयको साम्राज्यवादी समग्र हस्तक्षेपको परिणाम हो ।

यस प्रकारको पलायनवादी र अवसरवादी संस्कृति आज मध्यम वर्गको सामाजिक विघटनको चिहानको रूपमा त देखापरेकै छ तर त्यसले मध्यम वर्गलाई मात्र ध्वस्त बनाउनेछैन, बरु सिङ्गै नेपाली समाजलाई छियाछिया पार्नेछ । एउटा सक्षम वा शिक्षित युवा देशभित्र संघर्ष गर्ने, राजनीतिले छेकेको छ भने राजनीतिक आन्दोलन गर्ने चेतना बोक्नुको सट्टा पासपोर्ट बनाएर युरोप–अमेरिकातिर पीआर लिने सपनामै जीवन देख्न थाल्छ भने समग्र नेपाली समाजको निम्ति खतरा हो । त्यसमाथि विदेश गएर बस्नु नै पारिवारिक मर्यादाको समेत मानक बन्दै जान्छ भने त डरलाग्दो सामाजिक विघटनको यात्रा हो । तसर्थ, देशभित्रका राजनीतिक–आर्थिक समस्याका कारणले मात्रै युवाहरू विदेश पलायन भएका हुन् भन्ने भाष्यलाई बदल्नु आवश्यक छ ।

यस पलायनवादी संस्कृतिको जरा साम्राज्यवादी डिजाइनको शिक्षा र राज्यले लिँदै आएको गुलाम संस्कृतिमा भएको यथार्थ उजागर गर्नु आवश्यक छ । यो संस्कृति त्यत्तिकै हराउन अब सम्भव छैन । योसँग व्यवस्थित सही वैचारिकीसहित व्यापक युवाबीच अभियान चलाउनु आवश्यक छ । यस अभियानलाई साम्राज्यवादविरोधी चेतनासँग जोड्नु जरुरी छ । देशको क्रान्तिकारी परिवर्तनको आन्दोलनसँग जोड्नु जरुरी छ । जबसम्म मानवद्वेषी साम्राज्यवाद र त्यसको घातक वैचारिकी चिन्न सक्ने व्यापक युवा जमात निर्माण हुन्न, तबसम्म यो पलायनवादी तथा अवसरवादी संस्कृतिसँग गम्भीर लडाइँ लड्न सकिन्न ।

प्रकाशित : आश्विन ३०, २०७९ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्

पितृसत्तावादको अर्थ

पितृसत्तावादविरुद्धको संघर्ष समग्र पुँजीवादी सामाजिक व्यवस्थाविरुद्धको संघर्षका रूपमा बुझ्दा र विकसित गर्दा मात्र पितृसत्तावादलाई वास्तविक अर्थमा बुझ्नु ठहर्छ ।
आहुति

आठ हजार वर्षदेखि मानव समाज पितृसत्तावादी रहँदै आएको विदितै छ । पितृसत्तावादी समग्र सोच र संरचनाका कारण महिलाको जीवन दासत्वपूर्ण छ । सामन्तवादी युगविरुद्ध पुँजीवादी क्रान्तिले त्यति बेलाको पितृसत्तावादलाई गम्भीर चुनौती दियो । त्यो क्रमसँगै सामन्ती समाजका पितृसत्तावादी कैयन् दासताका बन्धनहरू चुँडालिए ।

पुँजीवादी समाजको तीव्र विकाससँगै पितृसत्तावादले नयाँनयाँ आकार ग्रहण गर्दै गयो र आज विश्वव्यापी रूपमा पुँजीवादी समाजको पनि एउटा मुख्य समस्याका रूपमा पितृसत्तावादी सोच र संरचना उपस्थित भइरहेको छ । पितृसत्तावादी शोषण र उत्पीडनविरुद्ध संसारभरि साना–ठूला संघर्षहरू चल्दै आएको पनि करिब दुई सय वर्ष पुग्न लाग्यो, अझै जारी छ । नेपालमा पनि राणा शासनको उत्तरार्द्धदेखि सुरु भएको पितृसत्तावादविरोधी संघर्षले करिब सय वर्ष गुजारिसकेको छ । रूपमा हेर्दा केही कट्टरपन्थी इस्लाम समाजबाहेक सबैतिरका विश्वसमाजमा पितृसत्तावादी सोच र संरचनालाई गलत ठान्ने वैचारिकी हावी हुँदै गएझैं लाग्छ तर यथार्थमा त्यस्तो सोच एवं संरचना कमजोर हुँदै गएको छैन । नेपालमा पनि विगत सय वर्षको लोकतान्त्रिक–राजनीतिक–सामाजिक रूपान्तरणको प्रक्रियापश्चात् आज सबैजसो जाति वा समुदायमा पितृसत्तावादी शोषण र उत्पीडनविरुद्ध ओठे समर्थन व्याप्त हुन पुगेको छ तर त्यो ओठे समर्थन वा वकालतमै मूलतः सीमित छ भन्दा फरक पर्दैन । आधारभूत सोच, संरचना र व्यवहारमा पितृसत्तावाद नै गजधम्म हावी छ । नेपालमा पितृसत्तावादविरुद्धको संघर्षमा दुई पुस्ताले आफ्नो जीवन गुजारिसकेका छन् । राणाकालमा त्यस्तो संघर्ष सुरु गर्ने पुस्ता पहिलो थियो । पञ्चायतकालमा विकसित भई पञ्चायतलाई अन्त्य गर्ने दोस्रो पुस्ता हो । त्यसै गरी पञ्चायतकालमै जीवन सुरु गरी गणतन्त्र स्थापनासम्म आइपुग्ने तेस्रो पुस्ता छ तर यो अब गतिहीन भइसकेको छ । यो पुस्तासँग जीवन बाँकी छ तर नयाँ युगीन आवश्यकतामा आफूलाई ढाल्न सक्ने ल्याकत देखा पर्दैन । यस स्थितिमा पितृसत्तावादविरोधी नयाँ संघर्षको जिम्मेवारी नयाँ चौथो पुस्ताको काँधमा मूल रूपमा आएको यथार्थ छर्लंगै देखिन्छ । यो चौथो पुस्ता अर्थात् गणतन्त्र स्थापनाको आसपासदेखि जीवन सुरु गरेको पुस्ता आफ्नो जीवनको समृद्धिका निम्ति पितृसत्तावादसँग मुठभेड गर्नुपर्ने अवस्थाबाट गुज्रिन बाध्य भएको छ ।

यसरी हेर्दा प्रस्ट देख्न सकिन्छ, पितृसत्तावादविरुद्धको संघर्षलाई आजको युगको आवश्यकता अनुसार अघि बढाउने हो भने गणतन्त्र स्थापना आसपासदेखि हुर्केको नयाँ पुस्ताका युवाहरूको वैचारिक तथा राजनीतिक चेतनाको वैज्ञानिकीकरणलाई नै मुख्य निसानामा राख्नु आवश्यक हुन गएको छ । त्यसका लागि पितृसत्तावादको राजनीतिक, आर्थिक र सांस्कृतिक समग्र पक्षको सही बुझाइ विकसित गर्न यसका आधारभूत अवधारणाहरूको बुझाइबाट सुरु गर्नु सही हुनेछ । पितृसत्तावादका मूल रूपमा तीन वटा अवधारणा छन्, जसका आधारमा महिलामाथिका शोषण र उत्पीडनलाई नैतिक वैधता दिइँदै आएको छ ।

महिला सुन्दर प्रजातिको अवधारणा

पितृसत्तावादले महिलालाई सुन्दर प्रजाति र पुरुषलाई बलवान् प्रजातिका रूपमा चित्रण गर्छ । यो अवधारणा यति शक्तिशाली बनिसकेको छ, कतिपय भौतिकवादीसमेत अलमलमा पर्ने गरेका छन् । वास्तवमा यो निकै ठूलो भ्रम हो । यो अवधारणा पितृसत्तावादी व्यवस्थाले लगातार रटाएर सृजना गरेको विभ्रमबाहेक केही होइन । महिला र पुरुष विपरीतलिंगी हुन्, त्यसैले उनीहरू एकआपसमा यौनिक रूपमा आकर्षित हुन्छन् । पुरुष र महिला दुवै एकअर्काप्रति आकर्षित हुन्छन् । दुवैलाई दुवै राम्रो लाग्छ, आकर्षित गर्छन् । त्यसको व्याख्या गर्ने अधिकार केवल पुरुषले मात्र पायो, महिलाले पाइन । पुरुषले मात्र व्याख्या गर्ने भएकाले उसलाई महिला सुन्दर लागेकाले महिलालाई सुन्दर लेख्यो । सबै शास्त्रमा पुरुषले लेख्दै जाँदा त्यो अवधारणा बन्यो । त्यसै गरी महिलालाई बलजफ्ती शासन गर्न पुरुषले बल प्रयोग गरेकाले र अन्ततः दासत्वका कारण त्यो पुरुषको अत्याचार संस्कारका रूपमा महिलाले स्वीकार गरेकाले पुरुष बलवान् वा शक्तिशाली भन्ने अवधारणा स्थापित भयो । यदि महिलाले पनि सुरुदेखि चित्रण गर्ने अधिकार राख्थे भने यो अवधारणा बन्न सम्भवै थिएन ।

सुन्दर सामाजिक रूपमा बन्ने एउटा मान्यता हो । कुनै पनि समाजले के सुन्दर वा कुरूप भन्ने आम मान्यता बनाएको हुन्छ तर सुन्दरता सम्बन्धी व्यावहारिक प्रयोग भने व्यक्तिगत रूपमा हुन पुग्छ । व्यक्तिगत रूपमा यस कारण कि, हरेक व्यक्ति खास परिस्थितिमा बाँचिरहेको हुन्छ । त्यसैले त एक समयमा राम्रो लागेको मानिस अर्को परिस्थितिमा घीनलाग्दो समेत बन्न पुग्छ किनभने व्यक्तिगत परिस्थिति बदलिएको हुन्छ । महिला सुन्दर प्रजाति हो भने पुरुष पनि सुन्दर प्रजाति हो । पुरुष शक्तिशाली हो भने महिला पनि आफ्नो विशेषतामा शक्तिशाली नै हो । सुरुका चरणमा पुरुषले मात्र व्याख्या गर्नाले महिला सुन्दर प्रजातिको अवधारणा जन्मिए पनि आजसम्म आइपुग्दा यो अवधारणा महिलालाई शोषण–उत्पीडन गर्न भावभूमि तयार पार्ने एउटा गतिलो हतियार बन्न पुगेको छ । यो अवधारणाले आफू सुन्दरी भए मात्र आफ्नो जीवन सहज हुन्छ भन्ठान्ने गम्भीर विचलनमा महिलालाई पुर्‍याउँछ । महिला आफ्नो सापेक्षतामा सधैं सुन्दर नै थिई तर यसले जीवनभर सुन्दरी बन्न खोजिरहने अनन्त झमेलामा महिलालाई फसाइदिन्छ । त्यस झमेलामा उल्झेको दिमागमाथि टेकेर आज पुँजीवादले सौन्दर्य प्रशाधनका सामान र फेसनको बिक्रीबाट अनन्त लुट मच्चाउने अवसर पाएको छ । आफू सुन्दरी बन्ने ध्याउन्नमा जेजस्तो पहिरन पनि पहिरिएर शारीरिक रूपमा कमजोर हुन महिला तयार हुन्छे । संसारका सबै सभ्यताका महिला–पुरुष जस्तोसुकै रूपरंगका भए पनि तिनीहरूले एकअर्कालाई सुन्दर देखेरै जोडी बाँधेका हुन्थे र आज पनि जोडी बाँधिरहेका छन् भन्ने साधारण सत्यलाई समेत बिर्सने हालतमा सुन्दरी बन्ने लालसाले पुर्‍याउँछ । जबसम्म महिला सुन्दर प्रजातिवाला षड्यन्त्रकारी अवधारणाबाट महिलाहरू निस्कनेछैनन्, तबसम्म पुरुषलाई बलवान् शक्तिशाली बनिरहन कसैले रोक्न कसरी सक्छ र ? त्यसैले महिला सुन्दर प्रजाति भन्ने अवधारणा खारेज गर्नैपर्छ ।

जन्मले महिला कमजोरको अवधारणा

पितृसत्तावादको अर्को मुख्य अवधारणा हो— महिला जन्मिँदै पुरुषभन्दा शारीरिक र बौद्धिक रूपमा कमजोर हुन्छन् । आजको समयमा औपचारिक शिक्षाबाट शिक्षित महिलाहरू चाहिँ कुन निष्कर्षमा पुगिसकेका देखिन्छन् भने, जन्मँदै बौद्धिक रूपमा समेत महिला कमजोर हुन्छन् भन्ने कुरा सत्य होइन । शारीरिक रूपमा महिला कमजोर हुन्छन् भन्ने विषयमा चाहिँ थुप्रै भ्रम बाँकी छन् । के सही भने, महिला र पुरुषको शारीरिक बनावटमा थुप्रै कुरा फरक छन्, यसकारण कि प्राकृतिक रूपमा उनीहरूका दायित्वहरू फरक छन् । फरक–फरक विशेषताका चीजलाई एकै सन्दर्भमा तुलना गर्नु वितण्डावाद हो जुन वैज्ञानिक पद्धति होइन, कलम र तरबारमा कुन ठूलो भनेजस्तै वाहियात प्रश्न हो । कलम र तरबारका काम नै फरक छन्, तिनलाई एउटै कामका निम्ति तुलना गर्नै मिल्दैन । यदि तुलना गरिन्छ भने विकृत निष्कर्ष निस्कन्छ । फरक दायित्वका वस्तुहरू आ–आफ्नो कामका निम्ति महत्त्वपूर्ण हुन्छन् । यो पो सही तरिका हो । महिलाको शरीर प्रजननका निम्ति पाठेघर र स्तनपानका निम्ति स्तनसहितको छ । पुरुषको त्यो दायित्ववाला शरीर छैन । तब कुन शक्तिशाली भनेर तुलना गर्नै मिल्दैन । आज पितृसत्तावादको राज चलेझैं मातृसत्तावादको राज चलेको हुन्थ्यो भने त्यति बेला ‘पुरुषको शरीर कमसल हो किनभने त्यसले पेटमा बच्चा हुर्काउन सक्दैन, छाती पनि सपाट छ, झोल्लिएका यौनांग कति कुरूप’ जस्ता अवधारणा बन्थे होलान् । के ती सही हुन्थे त ? पक्कै पनि सही हुँदैनथे ।

के कुरा सही हो भने, एकै जातिका महिला–पुरुषमध्ये महिलाको उचाइ थोरै होचो र शारीरिक बल थोरै कम हुने गर्छ तर त्यति हुनेबित्तिकै महिला शोषित र उत्पीडित हुनुपर्ने हो र ? संसारको प्रत्येक मानिस अर्कोभन्दा कि अग्लो छ कि होचो छ, शारीरिक रूपमा कम बलियो छ या बढी बलको छ । यस्तो महिला–महिलाबीच र पुरुष–पुरुषबीच पनि छ । उनीहरूबीच उत्पीडनको समस्या त्यसै आधारमा त छैन । अर्को कुरा, युरोप वा अफ्रिकाका महिलाहरू साधारणतया जापानका पुरुषभन्दा अग्ला छन् । ती अग्ला महिलाले होचा भएकै कारण जापानी पुरुषहरूलाई शोषण–उत्पीडन गर्न मिल्छ ? सक्छन् ? सक्दैनन् । जनावर समाजमा भाले ठूलो होस् या पोथी, त्यसका आधारमा कुनै उत्पीडन हुँदैन, हुनुपर्ने आवश्यकतै छैन । मानव समाजमा शारीरिक रूपमा सुरुदेखि धेरथोर असमानता छ । पुरुष–पुरुषबीच, महिला–महिलाबीच र महिला–पुरुषबीच तर त्यो भिन्नताले जीवनमा पार्ने अप्ठ्यारोलाई प्रविधिको सहाराले सजिलोमा बदल्ने गरिएको छ । जहाँ प्राकृतिक रूपमा समस्या हुन्छ, त्यहाँ भौतिक समानताका निम्ति प्रविधिको प्रयोग गरिन्छ । जस्तै— अग्लो मान्छेले सुन्तला हातले टिप्यो, होचोले भ्याएन भने होचो मान्छेले लट्ठी प्रयोग गरेर बराबर काम गर्छ । त्यहाँ एकले अर्कालाई दमन गर्नुपर्ने आवश्यकतै छैन । महिला र पुरुषबीच उचाइ र भौतिक बलमा जुन अन्तर हुन्छ, त्यसलाई समान बनाउन हजारौं वर्षदेखि आवश्यक प्रविधि प्रयोग हुँदै आएको छ । व्यावहारिक जीवनमा हेर्दा पनि प्रस्ट हुन्छ, थुप्रै श्रीमती अग्ला–बलिया हुन्छन् तर होचा–निर्बलिया लोग्नेहरूको कहर काट्न बाध्य हुन्छन् । यति मात्र किन र, १२ वर्षको छोराले ४० वर्षकी आमामा हैकम जमाइराखेको हुन्छ ! त्यसकारण शरीर कमजोर भएकाले महिलाहरू शोषित–उत्पीडित हुन् भन्ने अवधारणा पूरै गलत छ । बरु पुरुषमा रहन पुगेको एकलौटी सम्पत्ति, सत्ता र संस्कृतिको बलमा महिलाको शरीर कमजोर भन्ने अवधारणा लादिएको हो र महिलाभित्रै पनि त्यो अवधारणाको घातक खील बस्न पुगेको मात्र हो ।

महिला भोग्या हुन् भन्ने अवधारणा

सामन्तवादी पितृसत्ताले लामो समय लगाएर शास्त्रीयकरण गरी महिला भोग्या हुन् अथवा पुरुषले भोग्नका निम्ति निर्मित हुन् भन्ने अवधारणा जनजनमा संस्कारका रूपमा प्रशिक्षित गर्‍यो । त्यसलाई पुँजीवादले पनि कायमै राखेको छ । सीधा कुरा त के हो भने, महिला भोग्या हुन् भने पुरुष पनि भोग्या हुन् । किनभने दुवैबिना त यौन वा प्रजनन सम्भव छैन । तर यो भोग्याको अवधारणाले पहिलो रोजाइ र निर्णयका निम्ति पुरुषलाई अग्राधिकार दिन्छ । यौनमा पुरुषलाई विशेष अधिकार प्रदान गर्छ र महिलाका यौनजन्य विशेषतालाई विचलन देख्न सिकाउँछ । आज पुरुषले प्रथम नजरमै किन महिलाका अंगहरूमा आँखा पुर्‍याउँछ ? महिला बौद्धिकता किन पुरुषलाई स्वतः कमजोर लाग्छ ? किनभने पितृसत्ताले पुरुषलाई महिला भनेका भोग्या हुन् भनी प्रशिक्षित गरेको छ । जसरी बलि दिन तयार पारिएको पशुले नमान्दा मानिसलाई रिस मात्र उठ्छ, बाँच्नका निम्ति पशुले गरेको प्रयत्न फगत झन्झट मात्रै लाग्छ, त्यसै गरी यौन प्रस्ताव अस्वीकार गर्ने महिला पुरुषलाई रिसउठ्दी लाग्छे किनभने भोग्याको अवधारणाबाट पुरुष संस्कारबद्ध भएको हुन्छ । बलात्कारमा गर्व गर्ने पुरुषको वैचारिकी यही भोग्याको अवधारणा हो । यो भोग्याको अवधारणावाला पितृसत्ताले यौन क्षमतामा तन्दुरुस्त महिलालाई कामुक ठान्छ, पुरुषको कामुकतालाई भने शक्तिको नाम दिन्छ । यस प्रकारको पितृसत्तावादका यी तीन वटा मुख्य अवधारणाबारे प्रशिक्षित गर्नु र त्यसविरुद्ध सैद्धान्तिक एवं व्यावहारिक पहलका साथ अघि बढ्नु आजको समग्र क्रान्तिकारी आन्दोलन र महिला मुक्ति आन्दोलनको एउटा मुख्य चुनौती हो ।

पितृसत्तावाद हरेक वर्ग–समाजलाई निरन्तरताका निम्ति एउटा औजार बन्दै आएको छ । यो समग्र प्रणालीमा व्यक्त हुन्छ, एकाध पक्षमा होइन । पितृसत्तावाद अर्थतन्त्र, राजनीति, सामाजिक संगठन र संस्कृति समग्रमा छ । यो आजको पुँजीवादी व्यवस्थाको एउटा खाँबो हो । पितृसत्ताविरुद्ध किस्ताकिस्तामा लडेर विजयी हुन सम्भव छैन । घरेलु हिंसालाई एक किस्ता खतम गरौं, अर्को किस्ता बलात्कार नामेट गरौं अनि त्यसपछि राजनीतिभित्रको पितृसत्तासँग लडौंला भन्ने नीतिले काम गर्नेवाला छैन । किनभने घरेलु हिंसाविरुद्ध मात्र लड्दा घरेलु हिंसा जन्माउने विभिन्न कारक सक्रिय रूपमा बढिरहेका हुन्छन् । अर्को कुरा, आजको पितृसत्तावाद सामन्तवादी होइन, पुँजीवादी पितृसत्तावाद हो । यसभित्र जति सामन्तवादी तत्त्वहरू छन्, तिनलाई पनि पुँजीवादले आफूमा समाहित गरेर अपनाइसकेको छ । अब पुँजीवादी व्यवस्थाभित्र सुधार गरेर पितृसत्तालाई खतम पार्न सम्भव छैन किनभने एउटा विषयमा सुधार गर्न खोज्दा हजार विषयमा पितृसत्तालाई बलवान् बनाउने संरचना र वैचारिकी क्रियाशील भैरहने परिस्थिति बनिसकेको छ । तसर्थ, पितृसत्तावादविरुद्धको संघर्ष समग्र पुँजीवादी सामाजिक व्यवस्थाविरुद्धको संघर्षका रूपमा बुझ्दा र विकसित गर्दा मात्र पितृसत्तावादलाई वास्तविक अर्थमा बुझ्नु ठहर्छ ।

प्रकाशित : श्रावण २२, २०७९ ०७:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×