कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ग्रामीण भेगका गर्भवतीको वेदना

सरकारले मातृ तथा शिशु मृत्युदरमा कमी ल्याउन स्थानीयस्तरमा सुविधासम्पन्न अस्पताल बनाउनुका साथै दक्ष जनशक्ति र आवश्यक उपकरणको व्यवस्था गर्नुपर्छ ।
मञ्जु भट्ट

वर्षौंपहिले सुदूरपश्चिमको बैतडीमा पर्ने मेरो गाउँकी काकीको लामो समयसम्म व्यथा लाग्दा पनि सुत्केरी हुन नसकेर मृत्यु भयो । मलाई अझै उहाँ वेदनामा छटपटाएको दृश्य सम्झना हुन्छ । त्यस बेला गाउँका अरू महिलाको पनि यसरी नै मृत्यु हुने गर्थ्यो । स्वास्थ्य संस्थाहरू टाढा हुँदा, यातायात सुविधा नहुँदा यस्तो खबर बारम्बार सुन्नुपर्थ्यो ।

ग्रामीण भेगका गर्भवतीको वेदना

यातायात पूर्वाधार र स्वास्थ्य क्षेत्रमा हिजोको तुलनामा आज निकै प्रगति भइसक्यो । तैपनि दुर्गम गाउँका महिलाहरूको हालत अझै मेरी काकीको जस्तै छ । सुत्केरी हुन नसकेर, घरमै, बाटामै सुदूरपश्चिम तथा कर्णालीका महिलाहरूले ज्यान गुमाइरहेका समाचार आइरहन्छन् । यसो हुनुमा भौगोलिक विकटता एउटा कारण होला तर मुख्यतः सरकारको लापरबाही नै हो ।

एक सरकारी तथ्याङ्कअनुसार नेपालमा हरेक वर्ष करिब ४ लाख गर्भवतीमध्ये ६ हजारको घरमै सुत्केरी हुने गरेको छ । र, घरमै सुत्केरी हुनेहरू प्रायः दुर्गम भेगका महिला हुन् । सुत्केरी अवस्थामा एकै पटक दुई ज्यान जोखिममा हुन्छन् । त्यसैले स्वास्थ्य सेवामा सरकारले निकै लगानी गर्नुपर्ने हुन्छ । तर नेपालमा सहरी भेगमा सुविधासम्पन्न अस्पताल भए पनि, ग्रामीण क्षेत्रमा त्यति छैन ।

२०७६ सालपछि, एक अध्ययन अनुसार लकडाउनमा मातृ मृत्युदर २०० प्रतिशतले बढेको थियो । लकडाउनको पहिलो महिनामा ५३ सुत्केरीले ज्यान गुमाएका थिए । यसरी मृत्यु हुनेमा ग्रामीण भेगका महिला नै धेरै थिए । लकडाउनको समयमा गाउँमा उपचार हुन नसकेपछि हेलिकप्टरमा संखुवासभाबाट काठमाडौं ल्याइएकी एक सुत्केरीको भेन्टिलेटर अभावका कारण मृत्यु भएको थियो । यस्ता खबर त्यति बेला आइरहे । त्यस बेला स्थिति निकै दयनीय थियो । गत महिना मुगुको खत्याड रोलकी जौकला तथा रुकुम पश्चिमकी पार्वती विकले स्वास्थ्य संस्थामा पुग्न नपाउँदै बाटामै बच्चा जन्माए । उनीहरूको भाग्य बलियो भएर होला, शिशुसहित सकुशल घर फिर्ता भए । सबैको भाग्य यस्तो हुन्न । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णाली प्रदेशमा अघिल्लो वर्ष ११ जना तथा पछिल्ला ९ वर्षमा १ सय ६६ सुत्केरीको उपचार अभावमा मृत्यु भएको थियो ।

हुम्लाको चंखेली गाउँपालिका–५ का महिलाहरू स्वास्थ्य चौकीमा आधुनिक सुविधासम्पन्न प्रसूतिगृह नहुँदा अझै सुँडेनीको सहयोगमा गोठमै सुत्केरी हुन बाध्य छन् । प्रसूतिगृहको अभावमा सो क्षेत्रका कतिपय स्थानमा आउने प्रसूति भत्तासमेत फिर्ता जाने गरेको रहेछ । अर्को गोठमा सुत्केरी हुने महिला तथा शिशुहरूमा संक्रमणको सम्भावना उच्च हुन्छ । फिर्ता जाने भत्ता बरु उनीहरूको पोषिलो खाना तथा तातो लुगामा खर्च गर्न सकिन्थ्यो । यहाँका महिलाबारे न परिवारका सदस्य न सरकारले नै गम्भीर भएर सोच्ने गरेका छन् । सुदूरपश्चिमका कतिपय पुरुष जाँडरक्सी, चुरोट, तम्बाखु खाएर लट्ठ परेरै समय बिताउँछन्, तिनका श्रीमतीहरू भने बिहानदेखि बेलुकासम्मै घरायसी र खेतीका काममा लागिरहनुपर्छ । त्यस्ता पुरुषलाई श्रीमतीको पीडाबारे सोच्नेसम्म फुर्सद हुँदैन । एकातिर गरिबीले पिल्सिएका, अर्कातिर ज्ञानको कमी र पोषिलो खानाको अभाव, त्यसमाथि रूढिवादी विचारले दुर्गम भेगका प्रायः महिलालाई गाँजेको हुन्छ ।

केहीअघि बैतडीकी २० वर्षीया विन्दु धामीको गर्भमै शिशुको मृत्यु हुँदा बल्लतल्ल सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पताल पुर्‍याई शल्यक्रिया गरेपछि ज्यान जोगियो । तर धेरैको सुत्केरी अवस्था जटिल हुँदा बाँच्ने सम्भावना निकै कम हुन्छ । गोठमा, गुफामा सुत्केरी हुँदा समेत संक्रमणको जोखिम बढेर आमा तथा बच्चाको ज्यान खतरामा पर्ने गरेको छ । दुर्गम गाउँमा कतिपय सुत्केरीलाई पेटभरि पोषिलो खानासमेत दिइँदैन । त्यसमाथि अन्धविश्वासका कारण पनि उनीहरू खानाबाट वञ्चित हुने गर्छन् । घरमै सुत्केरी हुने सयौं महिलालाई न्वारनको दिनसम्म दूध, दही, मही, घिउ लगायत पोषिला खानेकुरा दिइँदैन । कतिपय ठाउँमा त ६ महिनासम्म मासुसमेत खान दिइँदैन । २२ दिनसम्म सुत्केरीलाई भान्सामा जान दिइँदैन । घरमा एक्लै हुँदा दूध पनि तताएर खान मिल्दैन । बच्चालाई मामाघरमा आँखा लाग्छ भन्दै कम्तीमा पनि ६ वर्षसम्म सुत्केरीलाई माइतीघर जान दिइँदैन ।

मसँगको भेटमा केहीअघि सीएमए पढेकी सुदूरपश्चिमकै बहिनीले कसैको आँखा लागे बच्चा बिहान उठ्नेबित्तिकै रुन थाल्छन् भनेकी थिइन् । कुपोषणका कारण यस्तो हुन्छ, तर ती बहिनीले सानैदेखि घरमा यही भनेको सुन्दै आएकाले हुनुपर्छ, सीएमए पढिसक्दा पनि अन्धविश्वासले छोडेन । बिरामी बालबालिकालाई अस्पताल लग्नुको सट्टा धामीझाँक्रीकहाँ लैजाने चलन हटेको छैन । उदाहरण प्रशस्तै भेटिन्छन्, केही महिनाअघि बाजुराको हिमाली गाउँपालिकाकी २१ वर्षीया महिलाले मृत शिशुलाई जन्म दिइन्, अत्यधिक रक्तस्राव हुँदा पनि उनलाई स्वास्थ्यचौकी नलगेर झाँक्रीकहाँ लागियो, पछि उनको मृत्यु भयो । हालै अछाममा गर्भवतीलाई सर्पले टोकेपछि अस्पताल लग्नुको सट्टा झाँक्रीकहाँ लगियो, जसका कारण उनको मृत्यु भयो ।

सरकारले २० वर्षमुनिको विवाहलाई गैरकानुनी भनिरहे पनि डोटी जिल्लामा मात्र आर्थिक वर्ष २०७६/७७ मा स्वास्थ्य जाँच गराउने गर्भवतीमध्ये ११ प्रतिशत २० वर्षभन्दा कम उमेरका थिए, २०७४/७५ मा २० प्रतिशत थियो । सानै उमेरमा गर्भवती हुँदा प्रजनन अंगहरू राम्ररी विकसित भएका हुँदैनन् । यसले मातृ मृत्युदरलाई बढाउनुका साथै आङ खस्ने समस्या पनि निम्त्याउने गर्छ । तैपनि गाउँघरमा बालविवाहको चलन हटेको छैन ।

दुर्गम भेगमा सुत्केरी अवस्था जटिल भए, तत्काल स्वास्थ्य सुविधा पुर्‍याउने उद्देश्यसहित राष्ट्रपति महिला उत्थान कार्यक्रम सरकारले चलाइरहेको छ । यो कार्यक्रमले दुर्गम भेगका आमाहरूलाई जोगाए पनि मातृ मृत्युदरमा सोचेअनुरूप कमी आउन सकेको छैन । अस्पताल लान ढिलो भएकै कारण धेरै गर्भवतीको मृत्यु भइरहेको छ । राहतमा हेलिकप्टरमा अस्पताल पुर्‍याए पनि ढिलो भएका कारण कतिपय महिलाको ज्यान जोगाउन सकिएको छैन । गर्भवती जोगाउने हवाई सेवाको उपाय देशका लागि निकै खर्चिलो पनि छ । तसर्थ सरकारले मातृ तथा शिशु मृत्युदरमा कमी ल्याउन स्थानीयस्तरमा सुविधासम्पन्न अस्पताल बनाउनुका साथै दक्ष जनशक्ति र आवश्यक उपकरणको व्यवस्था गर्नुपर्छ । प्रत्येक स्थानीय तहसम्म पुग्न यातायात पूर्वाधार विकासमा जोड दिनुपर्छ । स्थानीय तथा प्रदेश सरकारले मातृ तथा शिशु मृत्यु दर कम गर्न स्वास्थ्य सेवा प्रत्येक गाउँ पुर्‍याउन दीर्घकालीन उपायको खोजी गर्नुपर्छ ।

प्रकाशित : आश्विन २८, २०७९ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?