२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७५४

‘कल्ट’ हैन, ‘ब्रान्ड’ बनून् बालेन

बालेनलाई प्रश्न र जवाफदेहीभन्दा परको ‘कल्ट फिगर’ बनाउँदा न उनको राजनीतिक अभियानलाई फाइदा छ, न समाजलाई नै । उनका वरिपरि बसेर जयगान गरिरहेकाहरूले जति छिटो यो कुरा बुझ्छन्, नेपाली समाज र राजनीतिमा बालेनको सान्दर्भिकता उति नै लम्बिँदै जान्छ ।
जीवन क्षेत्री

मे ७, २००६ । जीक्यू पत्रिकामा नेपालबारे एउटा लामो आलेख छापियो । शीर्षक थियो— ‘द इनक्रेडिबल बुद्ध ब्वाई’ । लेखक थिए— विख्यात आख्यानकार जोर्ज सान्डर्स । त्यो लेखका लागि नेपाल भ्रमण गर्दाताका यो देशको अवस्था बयान गर्दै उनले लेखेका छन्— दस वर्षदेखि राजतन्त्र र माओवादीबीच जारी युद्धमा दस हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

‘कल्ट’ हैन, ‘ब्रान्ड’ बनून् बालेन

गत तीन वर्षमा राजाले यहाँको चलायमान तर अक्षम लोकतन्त्रलाई मासिदिएका छन् र सबै शक्ति आफैं लिएका छन् । मैले देश छाडेको एक हप्तापछि एकातिर उनले विपक्षी नेताहरूलाई पक्राउ गरे, अर्कातिर काठमाडौंमाथि (माओवादीको) अहिलेसम्मकै गम्भीर आक्रमण भयो ।

१६ वर्षअगाडिको त्यो समय बारामा तपस्या बसेका भनिएका रामबहादुर बमजन र नेपाली समाजको मनोविज्ञानबीचको अन्तरसम्बन्ध खुट्याउने उमेरमा म पुगिसकेको थिइनँ । तर अमेरिकाबाट आएका सान्डर्सले बाहिरिया हुनुको फाइदा उठाएर चराको जस्तो दृष्टि दिँदै नेपाली समाजबारे लेखेका थिए— देश घाइते छ, तनावग्रस्त छ, दुःखी छ र कुनै त्यस्तो आसन्न विस्फोटको अपेक्षामा आतंकित छ जसले यो भयावह गरिबी भएको देशलाई भयावह गृहयुद्ध र झन् चर्को गरिबीतिर धकेल्नेछ ।

काठमाडौंमा सबैलाई तपस्यारत केटोबारे थाहा छ, सबै उत्सुकतापूर्वक उसबारेका समाचार पढ्छन् र विश्वास गर्छन् कि उसले जे गर्दै छु भन्दै छ (तपस्या) त्यही गर्दै छ अनि उसप्रति शुभेच्छा प्रकट गर्छन् । यस्तो लाग्छ, उनीहरू उसलाई भित्रैबाट प्रकट भएको उद्धारक मान्छन्, जो आफूहरूलाई चौतर्फी रूपमा घेरेका पुराना समस्याहरूको समूल समाधान गर्ने नयाँ उपाय लिएर प्रकट भएको छ । राजनीतिप्रतिको आशा तुरिएका बेला उनीहरू आफूलाई बचाउने कसैको खोजीमा छन्, जेसुकै भए पनि ।

२०५२ सालमा माओवादीले सशस्त्र युद्ध सुरु गर्‍यो । २०५७ सालतिरबाट जिल्ला सदरमुकाममै सफल आक्रमण गर्न थालेको माओवादीले २०५८ सालमा सेनाको ब्यारेक हानेपछि युद्ध नयाँ र भयानक चरणमा प्रवेश गर्‍यो । देश चलाउने जिम्मा लिएका भनिएका संसद्वादी दलहरू ‘शाही सेना’ र माओवादी गुरिल्लाहरूको चेपुवामा परे । केही वर्षको अलमलपछि राजा ज्ञानेन्द्रले पञ्चायतकालीन सारथिहरू फर्काएर सत्ताको बागडोर सम्हाले ।

तर २०६२ सालसम्म पुग्दा न राज्य माओवादीलाई निमिट्यान्न पार्ने अवस्थामा थियो, न माओवादी बन्दुकका भरमा सत्तापलट गर्ने अवस्थामा । परिणामतः, हताहती निरन्तर उकालो लाग्दै थियो तर द्वन्द्वको निकास कसैको नजरमा थिएन । जो हिजोसम्म माओवादी दबाउन असफल भएकामा राजनीतिक दलका सरकारहरूको उछित्तो काढ्थे, राजाको शासनमा पनि उही असफलता दोहोरिएकामा ती निःशब्द थिए । अर्थात्, दिल्लीमा गरेको भनिएको संसद्वादी दलहरू र माओवादीबीचको बाह्रबुँदे समझदारी सतहमा नआउँदासम्म मानिसहरूले सुरुङपछिको उज्यालो कतै देखेका थिएनन् । त्यही माहोलमा उदाएका थिए— ‘सानो बुद्ध’ भनेर संसारभर चर्चित हुन पुगेका रामबहादुर बमजन । अनि उनको ‘कल्ट’ वा पन्थमा मुक्तिको बाटो देखेका थिए धेरैले ।

अहिलेको नेपाल २०६२ सालमा झैं बरबाद र अस्तव्यस्त छैन । हाम्रो लोकतन्त्र ‘ट्र्याक’ मै छ । स्थानीय चुनाव सकिएर संघ र प्रदेश चुनाव आउँदै छ । तर अर्कातिर मुख्य राजनीतिक पार्टीहरूको, तिनका नेताहरूको कार्य सम्पादन २०६२ सालमा भन्दा खस्केको होला, सुध्रेको छैन । नागरिकका अपेक्षा अकासिँदा छन् तर सत्ता र कुर्सीको ‘तातो आलु’ खेल्नेबाहेक मुख्य दलको शीर्ष नेतृत्वको ध्यान कतै छैन । महँगी अकासिँदो छ, रोजगार खुम्चिँदो छ । भ्रष्टाचारको धमिराले काठमाडौंको सिंहदरबारदेखि गाउँ–गाउँ र वडा–वडासम्म पुगेका सिंहदरबारहरूलाई खोक्रो बनाएको छ । त्यसैले धेरै नागरिक क्रुद्ध छन् । राजनीतिमा अहिले सिन्डिकेट चलाइरहेका मुट्ठीभर मानिसको विकल्पमा ‘जे गर्न’ पनि तयार र अधीर छन् धेरै युवा । त्यसमाथि सामाजिक सञ्जालको ‘भाइरल’ प्रवृत्तिका कारण संस्थागत सुधारहरू गर्न र तिनको नतिजा कुर्न धैर्यको कमी छ सबैतिर । मानिसहरूलाई अपेक्षा छ तत्काल आँखैअगाडि, क्यामेरैअगाडि आउने नतिजाको । यस्तो माहोलमा ‘कल्ट’ वा पन्थ विकास हुने सम्भावना उच्च हुन्छ ।

काठमाडौंमा मेयर बालेनले हालै चलाएको ‘डोजर न्याय’ को समर्थनमा देशभर जस्तो माहोल बन्यो, त्यसले नेपालको राजनीतिमा अर्को पन्थ सुरु गर्ने त हैन ? वैकल्पिक राजनीतिको राम्रो सम्भावना बोकेर आएका बालेन अरूले समेत अनुसरण गर्न मिल्ने ‘ब्रान्ड’ बन्न छाडेर विधि र थितिको खैरो क्षेत्रमा उभिएर मुढेबलले शासन गर्ने अनि प्रश्न र आलोचनाभन्दा परको ‘कल्ट’ मा स्खलित हुने त हैनन् ? क्लब हाउसका केही कोठामा मैले बालेनको डोजर अभियानबारे यस्ता सन्देहहरू उठाएको थिएँ ।

त्यसको प्रतिवादमा साथीहरूले भने— एक, सत्ता र शक्तिसित जोडिएरै कानुन मिचेकाहरूले नरम भाषा बुझ्दैनन्, तिनलाई डोजरको गरम भाषामा सम्झाउनुको विकल्प छैन । दुई, संरचनाहरू भत्काउनुअगाडि तोकिए अनुसार पत्रिकामा ३५ दिने सूचना निकालिसकेपछि महानगरले विधि पुर्‍याएन भन्न पाइँदैन ? तीन, भावनामा बगेर काम गर्ने हो भने काठमाडौं कहिल्यै

बन्दैन, त्यसैले मेयरले कानुनले दिएको अधिकार प्रयोग गर्ने हो, को रोयो वा करायो भन्ने हैन । चार, यो देशमा विधि पुर्‍याउन खोज्यो भने अदालतले काम गर्नै दिँदैन, त्यसैले मानिसहरू अदालतमा पुग्नै नपाउने गरी ड्याङडुङ नगर्ने हो भने काम बन्दैन । पाँच, ध्वंस नगरीकन निर्माण हुँदैन ।

धेरैको रायचाहिँ कस्तो पनि छ भने, ‘काम त बालेनले राम्रै गरेका हुन् तर केही समय दिएर कम क्षतिमा गर्न मिल्ने काममा ड्याङडुङ पारिहाल्ने केटौले पारा भयो ।’ तर यो बहसमा मेरो भयचाहिँ अलि फरक थियो जसलाई उनले टुकुचा उत्खननका बेला देखाएको रवैयाले बल पुर्‍याएको छ ।

बालेनले कुनै सानो व्यवसायीलाई (घरधनीलाई हैन) पन्ध्र मिनेटको सूचना दिएर वा सूचनै नदिई डोजरले पसल भत्काइदिए । पसलसँगै जीविका खोसिएकी महिलाले उनकै अगाडि रोइकराइ गरिन् । त्यो बेला बालेनको मनस्थिति दुई खाले हुन सक्छ । एक, गल्ती त घर बनाउनेले कानुनलाई नटेरेर गरेको हो तर बिचल्ली यी निर्दोष महिलाको भयो । यस्तो भावनासाथै उनमा झिनै भए पनि पश्चात्ताप र महिलाप्रति समानुभूति जाग्ने सम्भावना हुन्छ । दुई, उनलाई लाग्न सक्छ— अहिले म शक्तिशाली छु, यी महिला शक्तिविहीन छिन्Ù मेरो ‘एजेन्सी’ छ, यिनको छैनÙ यिनको सरापले मलाई केही फरक पार्दैन । यीमध्ये बालेनको कुन मनोविज्ञानले काम गरिरहेको थियो भनेर निष्कर्षमा पुग्न अझ केही समय लाग्ला तर डोजरसहित मैदानमा उत्रिँदा उनको हाउभाउ हेर्ने हो भने दुईमध्ये कुनचाहिँ मनोविज्ञान हावी छ भनी अनुमान लगाउन कठिन छैन ।

बमजन र बालेन दुई फरक पृष्ठभूमिबाट आएका र फरक अभीष्ट भएका व्यक्तिहरू हुन् । तर यदि बालेन नेपालको राजनीतिमा दिगो खालको स्वीकार्य ‘ब्रान्ड’ बन्नुको सट्टा प्रश्न र जवाफदेहीभन्दा परको, विधिको भन्दा भीडको मनोविज्ञानका आधारमा काम गर्ने ‘कल्ट फिगर’ बन्दै गए भने दुवैको स्खलनको प्रक्रिया एउटै हुनेछ ।

जब बमजन नेपाली इतिहासको अन्धकार कालखण्डमा रहस्यमयी आशा बनेर उदाए, त्यति बेलैदेखि उनीप्रति सन्देह राख्ने मानिसहरूको संख्या असाध्य झिनो थियो । जब डिस्कभरी च्यानलजस्तो प्रतिष्ठित संस्थाले ‘द ब्वाई विथ डिभाइन पावर’ भनेर उनीमाथि वृत्तचित्र बनायो, त्यसपछि त उनीप्रति सन्देह राख्ने धेरैले पनि उनको तपस्यामा विश्वास गर्न थाले । त्यसपछि नेपालको संक्रमणकालीन अन्योलका धेरै वर्षसम्म गुपचुपजस्तै रहेका बमजन २०७३ सालमा काठमाडौंमा भव्य ‘शान्ति पूजा’ गरेर चर्चामा आए । त्यति बेला उनले दाबी गरेको दैवी शक्ति कतै दिग्भ्रम वा डिल्युजन त हैन भनेर चिरफार गर्नबाट नेपालको मिडिया चुक्यो । नागरिकहरू पूजाको तामझाममै रनभुल्ल परे । तर पछि २०७५ सालमा भएको गम्भीर खोज पत्रकारितापछि थाहा भयो, बमजनको तपस्या र प्रवचनको खोलमुनि हत्या भएका र बेपत्ता पारिएका निर्दोष मानिसहरूको भयावह कथा लुकेको थियो ।

गएको स्थानीय चुनावले दिएको म्यान्डेट र जिम्मेवारीका हिसाबले कसै गरे पनि बमजनसित बालेनको तुलना हुँदैन । तर उनको देवत्वकरण गर्ने र प्रश्नहरूलाई निषेध गर्ने आम मनोविज्ञान अहिले समाजमा जसरी हावी हुँदै छ, ‘कल्ट’ निर्माणतिर स्खलित हुँदै जाने साझा राजमार्ग भने त्यसरी नै बन्ने हो । त्यसले नेपालको राजनीतिमा राम्रो सम्भावना बोकेका बालेनलाई ‘कल्ट फिगर’ मा स्खलित मात्रै गर्दैन, समाजको न्यायतिरको यात्रालाई पनि अवरुद्ध गर्छ ।

त्यसैले बालेनलाई प्रश्न र जवाफदेहीभन्दा परको ‘कल्ट फिगर’ बनाउँदा न उनको राजनीतिक अभियानलाई फाइदा छ, न समाजका रूपमा हामीलाई नै । बालेन र उनको वरिपरि बसेर अहिले जयगान गरिरहेकाहरूले जति छिटो यो कुरा बुझ्छन्, नेपाली समाज र राजनीतिमा बालेनको सान्दर्भिकता उति नै लम्बिँदै जान्छ । व्यक्तिगत रूपमा मेरो शुभेच्छा पनि त्यही हो— अझै पनि बालेन गतिलो र अनुसरणयोग्य वैकल्पिक राजनीतिको ब्रान्ड बनून्, केही समय चम्केर सधैंका लागि गुमनाम हुने ‘कल्ट’ हैन ।

प्रकाशित : आश्विन २७, २०७९ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?