निर्वाचनभन्दा परको सहभागिता- विचार - कान्तिपुर समाचार

निर्वाचनभन्दा परको सहभागिता

राजनीतिक दलहरुले जसरी उम्मेदवार चयन गरे, त्यसले प्रस्टसँग एउटै सन्देश दिन्छ— दलहरु व्यापक जनसहभागितालाई संस्थागत गर्ने सार्वजनिक संगठन हुन चाहँदैनन्, किनकि नेताहरुको मूल उद्देश्य राज्यको सार्वजनिक सम्पत्तिलाई नित्य लुट र निजी सम्पत्तिमा रुपान्तरण गर्ने गिरोह निर्माण गर्नु हो ।
भास्कर गौतम

अहिले चाडपर्व, बाढीपहिरो र चुनावको मौसम छ । चाडपर्वकै समयमा बाढीपहिरोले धेरैको बिचल्ली बनायो । कतिले आफ्ना प्रियजनसमेत गुमाए ।

विकासका नाममा भइरहने अव्यवस्थित पूर्वाधार निर्माण कार्यले विपत्बाट ज्यान गुमाउने थितिलाई थप जटिल बनाएको छ । केही दिनको वर्षामा समेत सर्वसाधारणको ज्यान लिने विकासको यस्तै खाकालाई निरन्तरता दिने दृढतासहित राजनीतिक दलहरूले उम्मेदवार चयन हिजो मात्र टुंग्याए । उम्मेदवार चयनमा पैसा, नातागोता र भक्तजनहरूले प्राथमिकता पाए । लोकहितविपरीत कार्य गर्ने यस्तो दृढता दलहरूमा यसै पलाएको होइन । छोटो स्वार्थका लागि सार्वजनिक सम्पत्ति निजी स्वार्थमा ढाल्न जे पनि गर्ने मनस्थिति हावी भएकाले दलहरूमा बेथिति र असंगति गहिरिँदो छ । लोकतान्त्रिक थिति जीवन्त र गतिशील बनाउने महत्त्वपूर्ण भूमिकाबाट दलहरू च्युत हुँदै छन् । दलका शीर्षस्थहरूले जसरी उम्मेदवार चयन गरे, त्यसले दिने सीधा सन्देश यही हो ।

नेपालको राजनीतिमा दलहरूको उदय भइरहँदा तिनलाई जिम्मेवार राजनीतिक संगठनका रूपमा हेरियो । राजनीतिक दलहरूमा होमिएकाहरूले र जनताले पनि प्रत्येक दलमा सुसंगत विचारधारा भएको माने । ती विचारले नागरिकलार्ई केवल मतदातामा सीमित नराखी नेपालको साझा भविष्य निर्माण गर्न अनेकौं चौतारी उपलब्ध गराउने अपेक्षा राखे । सुसंगत विचारले उपलब्ध गराउने अनेकौं चौतारीकै आधारमा दलहरूले विशिष्ट किसिमको नीतिगत राजनीति गर्ने विश्वास राखे । तर आज सबै दलमा विचारको असंगति छ । लोकतान्त्रिक सहभागिता सुनिश्चित गर्ने साझा थलो उपलब्ध छैन । विचार र सहभागिताका आधारमा विशिष्ट किसिमको नीतिगत स्पष्टता छैन । आम अपेक्षाविपरीत दलहरू उल्टो मति र खतरनाक गतिमा अनुत्तरदायी शासकीय पद्धति निर्माणमा प्रतिबद्ध छन् ।

फरक वैचारिकी, सुसंगत विचार अनुसारको जनसहभागिता र त्यसलाई साकार बनाउने नीतिगत परिकल्पनाको सर्वथा अभाव छ । यस्तो अभावले दलका राजनीतिक गतिविधिहरूलाई संस्थागत हुन दिएन । त्यसको ठीक उल्टो ससाना गिरोह र गुटहरूको गठजोड नै दल भयो । दलमा व्यक्तित्व र व्यक्तिविशेषको भक्ति हावी भयो । त्यस्तो व्यक्तित्व जोसँग आम मानिसको साझा भविष्यलाई शोषणबाट मुक्त राख्दै स्वावलम्बी बनाउने न कुनै विचार छ न प्रतिबद्धता । यस्तो विचारको अनुपस्थितिमा व्यक्तित्व हावी रहेको दलीय संगठन सबै दृष्टिकोणबाट व्यापक सहभागितासहितको लोकतान्त्रिक लक्ष्य हासिल गर्न असमर्थ छ ।

आज राजनीतिक दलहरूमा तीन किसिमका दृष्टिकोणहरूको संगम छ । एक, लोकहितमा रहेको प्रत्येक विचारलाई निषेध गर्ने सत्ता निर्माण । दुई, सत्तामा टिकिरहन चाहिने दलीय साँठगाँठ र भक्तजनहरूको मण्डली निर्माण, ताकि आम मानिसको साझा भविष्यबारे दलीय संगठनमा कुनै वैचारिक मतमतान्तर नहोस् । तीन, राज्यको सार्वजनिक सम्पत्ति केवल नित्य लुट र निजी सम्पत्तिमा रूपान्तरण गर्ने गिरोह निर्माण । यी तीन दृष्टिकोणको संगमकै परिणाम सत्ता, शक्ति र भक्तिवरिपरि निर्माण भइरहेको लुटपन्थ नै राजनीति हो र राजनीतिक दलको कार्य यही लक्ष्यलाई सुनिश्चित गर्नु हो भन्ने भइरहेको छ । यसलाई तत्कालै सच्याउन नसकिए छिट्टै राजनीतिक दल र तिनका भ्रातृ–भगिनी संगठनहरू राजनीतिको आवरणमा अपराध संरक्षण गर्ने गिरोहमा परिणत हुनेछन् । सार्वजनिक हितविपरीत हरकिसिमले सलबलाउनेछन् ।

अहिले उम्मेदवार चयनको प्रक्रियामा दलहरूसँग लोकतान्त्रिक सहभागिता संस्थागत गर्ने पद्धति र मूल्य देखिएन । नीति र सिद्धान्त त हराइसकेकै छ । छ त केवल लोकहितविरोधी विचार, सत्तालिप्साको साँठगाँठ र त्यसलाई टिकाउने भक्तजनहरूको मण्डली । यस्तै मनस्थितिले राज्यको सार्वजनिक स्रोतको तीव्र निजीकरणलाई नित्य प्राथमिकतामा राख्दै राजनीतिक दलको नाम गिरोह बनाउन मद्दत पुग्छ । यस्तो गिरोहले सर्वप्रथम राजनीतिक दललाई दलका रूपमा काम नगर्ने वातावरण बनाउँछ । लुटपन्थ संस्थागत गर्न दल नै कब्जा गरिन्छ । तिनै दलका प्रतिनिधिहरू सरकारमा पुगेपछि केवल दुई किसिमको काम गर्छन् । सबै प्रकारको लोकतान्त्रिक संस्था निर्माणमा बाधक बन्छन् र निजी हितका लागि सार्वजनिक सम्पत्तिको चरम दुरुपयोग गर्छन् । यी दुई कार्य सुनिश्चित गरेपछि संस्थागत तवरमै लोकतान्त्रिक शक्ति सन्तुलनमा बन्देज लाग्छ । सत्तामा टिकिरहन सजिलो हुन्छ ।

लोकतान्त्रिक थितिमा जनगणका साझा भविष्य र जनजीविका प्रभावित गर्ने कुनै पनि निर्णय लिँदा नागरिक गणको सहभागिता कम्तीमा खासखास समयमा विशेष तरिकाले सुनिश्चित हुनैपर्छ । निर्वाचनमा उम्मेदवारहरूको छनोट त्यस्तैमध्येको विशेष क्षण हो । प्रतिनिधि छनोटले आम मानिसको भविष्यलाई लामो समयसम्म प्रभावित गर्छ । तर राजनीतिक दलहरूले जसरी उम्मेदवारहरूको चयन गरे, त्यसले प्रस्टसँग एउटै सन्देश दिन्छ— दलहरू व्यापक जनसहभागितालाई संस्थागत गर्ने सार्वजनिक संगठन हुन चाहँदैनन्, किनकि नेताहरूको मूल उद्देश्य राज्यको सार्वजनिक सम्पत्तिलाई नित्य लुट र निजी सम्पत्तिमा रूपान्तरण गर्ने गिरोह निर्माण गर्नु हो ।

नेपालको सामाजिक–राजनीतिक इतिहासमा सहभागितामूलक लोकतन्त्र विक्रमाब्दको बीसौं शताब्दीको अन्त्यताका योगमायाको नेतृत्वमा महिलाहरूको जलसमाधिसँगै प्रारम्भ भयो । एक्काइसौं शताब्दीको प्रारम्भमा मजदुर हडतालसँगै यो थप विकसित भयो । महिलाहरूको जलसमाधि र मजदुर हडतालबाट लोकतान्त्रिक गति लिएको सहभागिताले इतिहासका विभिन्न चरणमा सार्वजनिक वृत्तमा व्यापक अभियान, आन्दोलन र जनसंघर्षहरू छेड्यो । आन्दोलनहरूले प्रतिनिधित्वलाई विस्तार र संस्थागत गर्न सार्वजनिक प्रदर्शनहरूमार्फत चौतर्फी दबाब दिए । विगतमा राजारजौटामा मात्र सीमित रहेको थितिलाई बदल्दै आमजन इतिहास निर्माणको नयाँ अभियानमा प्रवेश गरे । यी आन्दोलनहरूभन्दा पहिले लोकलाई सार्वजनिक अधिकार दाबी गर्न वर्जित थियो । यिनै संघर्षहरूका बलमा लोकले ऐतिहासिक हकाधिकार विस्तार गरे । रैतीदेखि नागरिक बन्ने विचारले व्यापकता पायो । अर्को अर्थमा, संघर्षकै क्षणदेखि आम मानिस राजनीतिक समुदायका सक्रिय सदस्य भए । त्यसैले विभिन्न संघर्षको हिजो धेरै महत्त्व थियो । भोलि अझै रहनेछ ।

प्रस्ट छ, निर्वाचनमा प्रदर्शन गर्ने उत्तरदायित्व सुनिश्चित गर्न दलहरू उम्मेदवार चयनको चरणदेखि नै गैरजिम्मेवार छन् । निर्वाचन आचारसंहिता प्रभावकारी बनाउँदै दलहरूलाई जवाफदेही बनाउने मुख्य दायित्व निर्वाचन आयोगको हो । यस्तो प्रक्रिया केही हदसम्म संस्थागत हुन सके, सानै दायरामा सही, प्रतिनिधित्वको बाध्यकारी प्रावधानले गर्दा सहभागिता निमिट्यान्न भइहाल्दैन । यस्तो अभ्यास पूर्णतः लोकतन्त्रको विपक्षमा छैन, तर यसले लोकतन्त्रलाई नितान्त कर्मकाण्डीय बनाउँछ । निर्वाचनदेखि निर्वाचनसम्मको नोकरशाही प्रक्रियामा ढाल्छ । यस्तो प्रक्रियाले सामाजिक वृत्तमा शक्ति–सन्तुलनलाई अप्रत्यक्ष किसिमले थोरबहुत तलमाथिसमेत गर्छ । निर्वाचनमा सीमित बनेको सहभागिताले लोकतन्त्रलाई पूर्ण अविश्वाससहित मात्र स्थायी बनाउँछ । आखिर लोकतान्त्रिक सहभागिताको अर्थ नागरिकलाई केही वर्षको अन्तरालमा केवल मतदातामा कैद गर्नु पक्कै होइन ।

ज्ञातव्य छ, दलहरूमा हावी प्रतिनिधित्वको प्रबल तर्कले लोकतान्त्रिक सहभागितालाई धेरै टाढा पुर्‍याउँदैन । बरु धेरै प्रकारले सीमित गर्छ । सके निस्तेज नै गर्छ । त्यसैले दलको दायराभन्दा फराकिलो किसिमले सहभागिताको परिकल्पना र अभ्यास टड्कारो छ । स्वतन्त्र उम्मेदवारीले यस्तो परिकल्पना र अभ्यासलाई मलजल गर्दैन । अपवादबाहेक प्रत्येक स्वतन्त्र उम्मेदवारलाई लागिरहेको छ— प्रधानमन्त्री शेरबहादुर देउवा, अध्यक्ष केपी ओली, सुप्रिमो पुष्पकमल दाहाल सबै बेइमान भए ! तिनीहरूका ठाउँमा म पुगे, धेरै ठीक हुन्छ । यस्तो लाग्नु राम्रो हो तर यसले चरम व्यक्तिवाद र गहिरो असंस्थागत अभ्यासलाई बल दिन्छ । लोकतान्त्रिक रूपान्तरणको प्रक्रियालाई खासै सघाउँदैन । यीमध्ये धेरै संयोगले उच्च कार्यकारी ओहोदामा पुगे सके देउवा, ओली वा दाहाल जस्तै हुने हुन्, नसके केही बिसेक फरक । किनकि स्वतन्त्रहरूको व्यक्तिवाद र असंस्थागत कल्पनामा ‘हिरोगिरी’ हावी छ जसले क्षणक्षणमा ताली र गाली खोज्छ तर लोकतान्त्रिक रूपान्तरणलाई संस्थागत गर्ने थिति खोज्दैन ।

अहिले नेपालका गाउँगाउँमा, सहरका टोलटोलमा ‘हिरोगिरी’ होइन, सामूहिक नागरिक थलो चाहिएको छ । त्यस्तो सामूहिक चौतारी जहाँ व्यापक जनसहमति अपरिहार्य होस् । सामूहिक सहमतिबेगर विकासका नाममा वा अरू कुनै नाममा, आम मानिसको जनजीविका र साझा भविष्य प्रभावित गर्ने कुनै पनि रणनीति वा सार्वजनिक नीति अनुमोदन गर्न नसकियोस् । यस्तो सार्वजनिक नागरिक थलोमा दलका नेता र कार्यकर्ताको भूमिका गौण बनोस् । अन्ततः दलका नेता, तिनका आफन्तजन र नेताका भक्तजनहरूको छोटो स्वार्थ यसै पनि प्रस्ट छ । स्थानीय नागरिकका साझा थलो र सभाहरूले मात्र सामाजिक न्यायको हकाधिकारलाई राजनीतिक दलहरूको पासोबाट मुक्त गर्न सक्छन् । यस्ता सभाहरू देशैभरि व्यापक भएका खण्डमा सहभागिता र लोकतान्त्रिक विमर्शको रूप फेरिन्छ । सार्वजनिक संवाद पनि अर्कै हुन्छ । स्थानीय जनताले राजनीतिक स्वामित्व लिने, व्यक्तिगत प्राथमिकतालाई किनारा लगाउँदै सार्वजनिक हितलाई उच्च राख्ने अभ्यास बढ्न थाल्छ । राजनीतिक दलको लोकतान्त्रिक रूपान्तरणका लागि समेत यस्तो थलोले रचनात्मक हस्तक्षेप गर्न सक्छ ।

दलहरूले लोकतन्त्रलाई उपहास बनाएका छन् । त्यसैले नेपालका सम्पूर्ण जनगणलाई एउटै कुराले एकताबद्ध गरेको छ । त्यो हो— दलीय आचरण र त्यस्तो अभ्यासले निम्त्याएको सत्तादोहनप्रतिको चरम असन्तुष्टि । यस्तो समयमा लोकतान्त्रिक सहभागिता मतपेटिकामा होइन, मूलतः सार्वजनिक काल्पनिकीमा मात्र जीवित रहन सक्छ । सर्वत्र छाएको चरम असन्तुष्टिलाई स्थानीय तहमा आवश्यकता अनुसार बन्ने सार्वजनिक नागरिक थलोले मात्र चिर्न सक्छ । निजी स्वार्थबाट पर जब आम मानिसले एकअर्कालाई ध्यान दिन्छन् र साझा हितमा प्रतिबद्ध हुन्छन्, लोकतन्त्र सशक्त तरिकाले जीवन्त हुन सक्छ । स्थानीय तहमा एकअर्कालाई ध्यान दिनका लागि नागरिकहरू सामूहिक हिसाबले जिम्मेवार कार्यमा होमिनैपर्छ । सामूहिकतामा निहित रचनात्मकताले मात्र आफ्नो, परिवारको, समुदायको, राष्ट्रको, मानव जगत्को र पृथ्वीकै हितमा प्रतिबद्ध रहन उत्प्रेरित गर्छ । अनि लोकतन्त्रले न्यायोचित गति समात्न सक्छ ।

यसै पनि लोकतन्त्र कुनै स्थायी थिति होइन । निरन्तर उन्नत हुन सक्ने थिति हो । अंग्रेजी वाक्यांश सापटी लिँदा, ‘अ वर्क इन प्रोग्रेस’ हो । हाम्रो लक्ष्यका तुलनामा हाम्रा अभ्यासहरू सदैव अपर्याप्त प्रतीत हुन्छन्् । दलका अभ्यासहरू यसै पनि धेरै अपर्याप्त छन् । अहिले हामीलाई चाहिएका सार्वजनिक सम्पत्तिलाई निजी स्वार्थमा परिणत गर्ने भ्रष्ट उम्मेदवारहरू होइनन्, बरु त्यस्ता राजनीतिक र सामाजिक अभियन्ताहरू हुन् जोसँग हाम्रा साझा गल्ती र कमजोरी पुनर्विचार गर्दै परिवर्तन गर्ने प्रतिबद्धता छ । त्यस्तो प्रतिबद्धताले हामी आफ्ना गल्तीबाट सिक्दै नयाँ रचनात्मक विचारहरू प्रयोग गर्ने लोकतान्त्रिक अभ्यासमा होमिन सक्छौं । त्यस्तो अभ्यास जहाँ आम मानिसको साझा भविष्यलाई शोषणबाट मुक्त गर्दै स्वावलम्बी बनाउने कार्यले सदैव प्राथमिकता पाउँछ ।

प्रकाशित : आश्विन २४, २०७९ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्

संकटका प्रतीक्षार्थीहरू

लोकतान्त्रिक गणतन्त्रमा संकट आओस् भनेर प्रतीक्षारत परम्परागत समूहको महत्त्वपूर्ण तप्का अहिले प्रफुल्लित छ । राष्ट्रपतिले नागरिकता विधेयकमा मौनता साधेपछि यो समूहलाई लागेको छ— संविधान लथालिङ्ग भयो ।
भास्कर गौतम

नेपालमा तीन प्रकारका राजनीतिक समूह सदैव संकटको खोजीमा हुन्छन् । संकट खोजिरहेका यी समूहहरू एक वा अर्को तवरमा संकट सृजना गर्नसमेत लाग्छन् । कुनै किसिमले राजनीतिक संकट उत्पन्न भए त्यसलाई औधी रुचाउँछन् । एकाएक उत्साहित हुन्छन् । प्रत्येक संकटोन्मुख क्षणमा निश्चित घटनालाई आफ्नो परिकल्पनाको मिथकमा ढाल्ने चेष्टा गर्छन् ।

अहिले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक अनुमोदन नगरी असंवैधानिक कदम चालेपछि यीमध्ये एउटा समूह संकट सृजना गर्न उद्यत छ । अरू दुई समूह आआफ्नै स्वार्थअनुकूल संकट गहिर्‍याउन उत्साहित छन् ।

संकट के हो वा के होइन, त्यसको ऐतिहासिकता हुन्छ । त्यसैले राजनीतिक वृत्तमा संकट रुचाउने पहिलो समूह परम्परागत समूह हो । हिजो परम्परागत समूहमा त्यसका नाइके राजा, राजसंस्था र राजकीय सत्ता वरिपरिका भारदार थिए । राजनीतिक लवजमा यसलाई राजावादी समूह भनौं । सत्ता हत्याउन आफ्नै सहोदरको हत्या गर्नु, आन्तरिक कलह रचेर शक्ति हत्याउनु र सत्तामा टिकिरहन षड्यन्त्र रचिरहनु यो समूहको मूल विशेषता रह्यो । आज राजा त छैनन् तर राजावादी मानसिकता छँदै छ ।

यस्तो सोचको केन्द्रमा समाजलाई सके बन्धक बनाउने, नसके नियन्त्रण गर्ने ध्येय छ । त्यस्तो गर्न नसकेको खण्डमा स्थायी सत्ताभित्रको यो समूहले राजा त्रिभुवनले अपनाएको सूत्र अनुसरण गर्न खोज्छ— राजनीतिक दलमा निरन्तर फुट ल्याएर त्यसको फाइदा लिइरहने । समाजलाई बन्धक वा नियन्त्रण गर्ने अवसर देखेको खण्डमा राजा महेन्द्रको सूत्र छँदै छ— लोकतान्त्रिक थिति मास्दै आफैं लोकतन्त्रको मसिहा हुने तर अधिनायकवादी शासन लाद्ने ।

लोकतान्त्रिक गणतन्त्रमा संकट आओस् भनेर प्रतीक्षारत परम्परागत समूहको महत्त्वपूर्ण तप्का अहिले प्रफुल्लित छ । धेरै उत्साहितसमेत छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकमा संविधानले तोकेको पन्ध्रदिने समयसीमा कटाएर मौनता साधेपछि यो समूहलाई लागेको छ— संविधान लथालिङ्ग भयो । यसै पनि यो समूहले जनप्रतिनिधिहरूले संविधान रच्ने संविधानसभा रुचाएका थिएनन् । राष्ट्रपतिले संसद् र कार्यकारीविरुद्ध सत्ता संघर्ष छेडेपछि खुच्चिङको मुडमा रहेका उनीहरूलाई अहिले धेरै हाइसन्चो छ । परम्परागत समूहलाई लागिरहेको छ— लोकतान्त्रिक गणतन्त्रविरुद्ध संकट उत्पन्न हुँदै छ, जुन उनीहरूको स्वार्थमा समेत छ । आखिर संकटका कारक अरू नै छँदै छन् ।

ऐतिहासिक रूपमै परम्परागत सोच राख्ने स्थायी सत्ताधारीहरूलाई न कहिल्यै जनगण प्रिय थियो न लोक । परम्परागत समूहको चाहनालाई राष्ट्रपतिको असंवैधानिक कदमले धेरै अनुकूल बनाएको छ । यो समूह स्थायी सत्ताको मूल लाभार्थी भएकाले यो तप्काका लागि यस्तो संकटोन्मुख अवस्था लोकतन्त्रविरोधी थिति उचित सिद्ध गर्ने अवसर बनेर आउँछ । कहिले प्रकट त कहिले अप्रकट किसिमले । आखिर संकुचित राष्ट्रियताको विरासत उनीहरूलाई धान्नु छ ।

हो, संकुचित राष्ट्रियता, जहाँ लोकको राजनीतिक अधिकार वर्जित हुन्छ ! लोकको सांस्कृतिक अधिकार निषेधित हुन्छ अनि जनगणले जनजीविका धान्न मुगलान भासिनुपर्ने हुन्छ । हिजो यस्तै थितिभित्र परम्परावादी शक्तिहरूले राज्यका स्रोतसाधनमा सीमित वर्गको हालीमुहाली सुनिश्चित गरे । नेपाललाई ऐतिहासिक रूपमै गरिब र पराश्रित बनाए । परम्परावादी समूह सत्ताको मूल लाभार्थी भएकाले सर्वसाधारणले विदेशी साम्राज्यको पक्षमा रगत–पसिना बगाउँदा पनि उनीहरूलाई लागिरह्यो— देश सार्वभौम छ र एक वा अर्को स्वरूपको अधिनायकवादी थिति नै सम्पूर्ण नेपाली जनताको नियति हो ।

परम्परागत समूहलाई कम्तीमा यत्ति थाहा छ, युग फेरिएकाले संकट आफैं सृजना गर्ने सामर्थ्य र लोकमत गुमेको छ । तर जबजब कुनै किसिमले लोकतान्त्रिक व्यवस्थामाथि नियोजित प्रहार हुन्छ उनीहरू उत्साहित हुन्छन् । स्थायी सत्ताका हिमायती भएकाले परम्परागत समूहलाई लाग्छ— आफूलाई अरुचिकर लागेको लोकतान्त्रिक गणतन्त्र गलत सिद्ध गर्ने उचित अवसर आयो । गणतन्त्रको विशेषता बन्न प्रयासरत संघीयता र सांस्कृतिक विविधतासहितको धर्मनिरपेक्षतालाई असफल घोषणा गर्ने राम्रो मौका हो । आखिर राष्ट्रपतिले यस्तो राजनीतिक वातावरण जुराइदिएकै छिन् ।

परम्परागत समूहजस्तै राजनीतिक परिदृश्यको अर्को क्षितिजमा अर्कै किसिमको असंवैधानिक समूह छ । यो समूहलाई दिग्भ्रमित उग्रवादी समूह भनौं । दिग्भ्रमित उग्रवादमा नामजस्तै अनेकौं राजनीतिक रुझान भएका पात्र छन् । प्रवृत्ति छन् । उदाहरणका लागि नेत्रविक्रम चन्द र सीके राउतलाई लिन सकिन्छ । दुवैलाई विद्यमान व्यवस्थाप्रति वितृष्णा छ । दुवै स्वायत्तता र मुक्तिका कुरा गर्छन् । चन्द आफू सर्वहाराको मसिहा रहेको दाबी गर्छन्, राउत मधेशीको । तर उनीहरूको चाहना संवैधानिक संकट सृजना गर्दै आफ्नो राजनीतिक उद्देश्य पूरा गर्ने रह्यो । जब उनीहरूले आफैं सोचेजस्तो संकट निम्त्याउन नसक्ने महसुस गरे, व्यवस्थाभित्रै रहेको लोकतान्त्रिक गणतन्त्रविरोधी समूहसँग मिल्न पुगे । उनीहरूले ठाने— आफ्नो गैरसंवैधानिक ध्येय पूरा गर्न केपी ओलीको तत्परतामा एमालेसँग मिल्दा फाइदा छ । दुवै विश्वस्त रहे— ओलीको नेतृत्वमा समाहित समूह नै त्यस्तो शक्ति हो जसले नियोजित तवरमा जननिर्वाचित संस्थालाई निस्तेज बनाउँदै लोकतान्त्रिक गणतन्त्रमाथि व्यवस्थित प्रहार गर्न सक्छ । दुवै दिग्भ्रमित उग्रवादीको आकलन धेरै सही साबित भइरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो असंवैधानिक कदमले उनीहरूलाई गलत हुन दिएको छैन ।

व्यवस्थाभित्रै रहेर लोकतान्त्रिक गणतन्त्रलाई संकटोन्मुख बनाउने कार्यको नेतृत्व २०६३ यता ओलीले निरन्तर रूपमा गरिरहे । २०६३ पूर्व लोकतान्त्रिक गणतन्त्र हुन नदिन पनि उनले भरमग्दुर प्रयास गरे । तर असफल रहे । उनको अनवरत प्रयासमा एमालेभित्र विद्यादेवी भण्डारीसहित उनको समूहको ठूलो साथ–सहयोग रह्यो । सँगै नेपाली कांग्रेस, माओवादी लगायत दलका ती नेता–कार्यकर्ताको समर्थन रह्यो जसलाई जनअधिकार विस्तार गर्ने राजनीतिक रूपान्तरण र उपलब्धि मन परेको थिएन, जस्तै— सीमान्तकृत समुदायलाई समेट्ने समावेशी लोकतन्त्रÙ सबै जातजातिको संस्कृति, धार्मिक संस्कार तथा मूल्यमान्यताप्रति संवेदनशील रहने धर्मनिरपेक्षता र राज्यको केन्द्रीकृत शासकीय प्रणालीमा जनगणको स्वामित्व, सेवा र पहुँच सुनिश्चित गर्ने संघीयता । त्यसैले यी नयाँ विशेषतासहितको गणतन्त्रलाई सके निस्तेज गर्न नसके नियोजित रूपमै कमजोर बनाउन व्यवस्थाभित्रै रहेर ओलीको एमालेगण सक्रिय रह्यो । राष्ट्रपतिको सक्रिय साथ निरन्तर रह्यो ।

एमालेगणलाई ज्ञात छ, व्यवस्थाभित्रैबाट लोकतान्त्रिक गणतन्त्रको विरोध गर्दा जनतालाई झुक्याइरहन सजिलो हुन्छ । पहिला यो समूह अन्तरिम संविधानमा लिपिबद्ध कैयौं अधिकारलाई २०७२ सालमा नेपालको संविधान घोषणा गर्दा उल्टाउन सफल भयो । यहाँसम्म आइपुग्दा आवरणमा संघीय लोकतान्त्रिक गणतन्त्र संवैधानिक हिसाबले लिपिबद्ध त छ तर संविधानमा लेखिए पनि यस्तो थितिले खोजेको सिद्धान्त, हक–अधिकार र मूल्यमान्यता त्यही बेला धेरै फितलो भइसकेको थियो । न संघीयता कुनै सिद्धान्तमा आधारित थियो न समावेशी लोकतन्त्र । अझ कम्युनिस्ट एकताका नाममा व्यवस्थालाई नै संकटोन्मुख बनाउन सक्ने परिवर्तनविरोधी शक्तिलाई जब परिवर्तित थितिको नेतृत्व गर्ने अवसर जुर्‍यो राजनीतिले पूर्णतः गलत धार समात्यो ।

परिणामतः, राजनीतिक स्थायित्वका नाममा लोकतान्त्रिक गणतन्त्रले खोजेको संवैधानिक संस्कार बसाल्न व्यवस्थाभित्रै सक्रिय रहेको समूहले कहिल्यै दिएन । उल्टै संविधानको हुर्मत लिँदै लोकतान्त्रिक संस्थाहरूमा स्वेच्छाचारिता हावी भयो । बिस्तारै निर्वाचित संस्थाहरूसमेत विघटन गर्ने अधिनायकवादी अभ्यास झाँगियो । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचित संस्थाहरूको रक्षामा उभिने सामर्थ्य देखाउन चाहिनन् । लोकतान्त्रिक गणतन्त्रका पक्षमा उभिँदै सम्पूर्ण नेपालीको राष्ट्रपति बन्ने बाटो उनले रोजिनन् । माथिका दुई समूहलाई समेत अनुकूल वातावरण बनाउँदै अधिनायकवादी सोच र अभ्यासको संरक्षक बन्ने बाटो समाइन् । नतिजा, यी तीनै राजनीतिक समूह उत्साहित बनेका छन् । हाल लोकतान्त्रिक गणतन्त्रलाई निस्तेज बनाउने राजनीतिक चलखेलको नेतृत्व व्यवस्थाभित्रै रहेको एमालेले गरिरहेको छ । राष्ट्रपतिको असंवैधानिक कदम केवल यही स्वार्थको कडी हो ।

यो स्वार्थको काल्पनिकी र शासकीय मानसिकता विशिष्ट प्रकारको छ । एमालेको राजनीतिक मनस्थिति र प्रतिबद्धता बुझे यस्तो स्वार्थ सहजै बुझिन्छ । एमालेले परम्परावादीको सांस्कृतिक विरासत धानेको छ । दिग्भ्रमित उग्रवादीको राजनीतिक बालहठ सम्हालेको छ । साथै २०४६ सालयता तीव्र गतिले विस्तार भएको बिचौलिया अभ्यास र दलालतन्त्र मानसिकता वरिपरिको आर्थिक थितिलाई थामेको छ । एमाले परम्परावादी संकुचित राष्ट्रियता, दिग्भ्रमित उग्रता र दलालतन्त्रको समागम हो । एमालेको सांस्कृतिक, राजनीतिक र आर्थिक चरित्र यिनै तीन पक्षको बलियो गठजोड हो । यो समूह २०४६ सालपछि विस्तारित लोकतान्त्रिक थितिको सबैभन्दा संगठित लाभार्थी पनि हो ।

त्यसैले उसका लागि ‘जनताको बहुदलीय जनवाद’ पनि आइसक्यो, ‘समाजवाद’ पनि । लोकतन्त्र योभन्दा बढी समावेशी बने, आम मानिसमा राज्यको पहुँच योभन्दा बढी विस्तार भए, सीमान्तकृत समुदायका धर्म र संस्कृतिले नीतिगत संवेदनशीलता प्राप्त गरे एमाले लाभार्थी नरहन पनि सक्छ । त्यसैले एमाले व्यवस्थाभित्रै रहेर लोकतान्त्रिक रूपान्तरणविरुद्ध संकट सृजना गर्न उद्यत छ । राष्ट्रपति भइसकेपछि पनि आफ्नो व्यक्तित्व त्यही अनुसार परिवर्तन गर्न नसकेकाले महामहिम भण्डारी अनवरत यिनै स्वार्थको रक्षा गर्ने महत्त्वपूर्ण पात्र बनेकी छन् ।

दुवै किसिमका संकटका प्रतीक्षार्थीलाई आज राष्ट्रपति र एमालेका मानसिकता र राजनीतिक गतिविधिले सघाइरहेका छन् । तर संकट सृजना गर्न चाहने प्रत्येक समूहलाई ज्ञात नहुन सक्छ, आफ्नो हक–अधिकार सुनिश्चित गर्न जागिसकेको जनगण सुस्ताउन सक्छ तर पछि हट्न सक्तैन । न त अधिनायकवादी थिति अंगीकार नै गर्न सक्छ । त्यसैले सानो स्वार्थ समूह र तिनका कार्यकर्ताले व्यवस्था धराप पार्न खोज्दैमा स्वतन्त्रता र लोकतान्त्रिक परिकल्पना संकटमा परिहाल्ने होइन ।

फेरि, संकट मात्र सृजना गर्नु आफैंमा पर्याप्त होइन । त्यसलाई आफूले चाहे अनुसार निश्चित थितिमा ढाल्ने सामर्थ्य पनि हुनुपर्‍यो । तर ओलीको नेतृत्वमा अघि बढिरहेको एमालेसँग यस्तो सामर्थ्य छैन । यो समूहका आफ्नै दुःख र सीमा छन् । कुरा लोकतन्त्रको गर्नु छ, काम अधिनायकवादी । व्यवस्था गणतन्त्रको छ, अभ्यास राजावादी ढर्राको । संगठन कम्युनिस्ट नामधारी छ, शासकीय परिकल्पना परम्परावादी । शासन संघीय थितिमा गर्नु छ, सोच केन्द्रीकृत राख्नु छ । लोकतान्त्रिक रूपान्तरण बहुलवादी सामाजमा गर्नु छ तर त्यसका लागि एकात्मवादी मनोवृत्ति र सांस्कृतिक दृष्टिकोण बोक्नु छ । एमालेका दुःख पनि कतिकति ! रुप र सारबीच गहिरो दूरी भएको समूहले संवैधानिक संकट निम्त्याउँदै लोकतान्त्रिक थितिमाथि प्रहार गर्न त सक्छ तर जनगणको लोकतान्त्रिक काल्पनिकी धूमिल बनाइहाल्न सक्तैन ।

संकटका प्रतीक्षार्थीहरू संवेदनशील नबनेको अर्कै किसिमको संकट नेपाली जनगणले ऐतिहासिक रूपमै भोगिरहेका छन्— मुगलान भासिएर जीविका धान्दै जीवन गुजारा गर्ने, परिवार पाल्ने र आजीवन अपमान सहने । आजसम्म नेपालको स्वाधीनता र नेपाली जनताको प्रतिष्ठालाई यो संकटले जति अर्को कुनै संकटले तल खसाएको छैन । विडम्बना, सर्वसाधारणको यस्तो दीर्घकालीन संकट सदैव अवमूल्यन गर्दै तीनै किसिमका संकटका प्रतीक्षार्थीहरू नयाँ संकटको पर्खाइमा छन् । कठै, उनीहरूको दिग्भम्रित मानसिकता !

प्रकाशित : आश्विन १०, २०७९ ०८:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×