कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

चुनाव जित्न विज्ञापन रणनीति

पौने २ करोड मतदाताहरूको ठूलो र स्वतन्त्र जमातलाई आफूतिर आकर्षित गर्न विज्ञापनको भूमिका अहम् हुने वास्तविकता बुझ्न जति ढिलो गर्‍यो, राजनीतिक दलहरूलाई घाटा त्यति नै हुने हुन्छ ।
सन्तोष श्रेष्ठ

मंसिर ४ का लागि तय भएको संघ र प्रदेश चुनावमा करिब ७ दर्जन राजनीतिक दल भिड्न लागेका छन् । निर्वाचन आयोगका अनुसार, मतदाताहरू १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना छन् । तीमध्ये प्रदेश १ मा ३३ लाख ४७ हजार ३ सय ८४, मधेश प्रदेशमा ३३ लाख ३१ हजार १ सय ७०, वाग्मती प्रदेशमा ३४ लाख १२ हजार ८ सय ७९, गण्डकी प्रदेशमा १७ लाख ८९ हजार ४ सय ११, लुम्बिनी प्रदेशमा ३२ लाख १९ हजार ४ सय ५७, कर्णाली प्रदेशमा १० लाख १ हजार २ सय ८२ र सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १ सय ५० छन् ।

चुनाव जित्न विज्ञापन रणनीति

सर्वविदितै छ, राजनीति भावनाले मात्र चल्दैन । राजनीतिमा सफल हुन रणनीतिक चातुर्य, राम्रो योजना अनि प्रभावकारी प्रवर्द्धन पनि अत्यावश्यक हुन्छ । राजनीतिक दल तथा उम्मेदवारहरूले आफू अनि आफ्ना उद्देश्य र योजनाहरूबारे प्रभावकारी तरिकाले जनतामाझ प्रवर्द्धन गर्न सके नतिजा सजिलै आफ्नो पक्षमा पार्न सक्छन् । केही दृष्टान्त हेरौं ।

भारतमा भारतीय जनता पार्टी (बीजेपी) को सफलतामा नरेन्द्र मोदीको चुनावी अभियानको चर्चा संसारभरि हुने गरेको छ । बीजेपीले सन् २०१४ को लोकसभा चुनावमा प्रधानमन्त्री पदका आफ्ना उम्मेदवार मोदीको अद्वितीय थ्रीडी शैलीको प्रचार अभियानमा ६१ करोड भारुभन्दा बढी खर्च गरेको थियो, अन्य अडियो–भिजुअल मिडियामा पनि ३०४ करोड भारुभन्दा बढी खर्चिएको थियो । बीजेपीले नै लोकसभासँगै अरुणाचल प्रदेश, उडिसा र सिक्किमका विधानसभा चुनावमा राजनीतिक अभियानका लागि ७१४ करोड भारुभन्दा बढी खर्च गरेको थियो । पोस्टर, ब्यानर, ब्याज, स्टिकर, गेट, कटआउट, होर्डिङ, झन्डा र बन्टिङ जस्ता प्रचार सामग्रीमा बीजेपीले सोही निर्वाचन अवधिमा १४ करोड भारुभन्दा बढी खर्च गरेको थियो ।

केन्द्रमा प्रधानमन्त्री मोदीको नेतृत्वमा रहेको एनडीए सरकारले हालसम्म विभिन्न सञ्चारमाध्यममार्फत विज्ञापन र प्रचारमा करिब ५ हजार करोड भारुको ठूलो खर्च गरेको थियो । मोदीको सन् २०१४ को चुनावी अभियानलाई सोहो स्क्वायर, ओगिल्भी एन्ड माथर र म्याडिसन वर्ल्ड जस्ता विज्ञापन एजेन्सीहरूले अघि बढाएका थिए । कांग्रेस आईको अगुवाइको तत्कालीन यूपीए सत्ताको पत्तासाफ गरेको उक्त प्रचार अभियान आफैंमा बेजोड थियो, जसले भारतमा मोदी युगको सुरुआत गरायो ।

सन् २०२२ मै भारतको उत्तर प्रदेशको विधानसभा चुनावमा पनि बीजेपीले मुख्यमन्त्री योगी आदित्यनाथको प्रशासनको प्रशंसा गर्दै शृंखलाबद्ध रूपमा विज्ञापन अभियान चलायो । करोडौं भारु खर्च गरिएको उक्त अभियानमा उत्तर प्रदेशमा बीजेपी सरकार आउनुअघि चरम भ्रष्टाचार, महिला असुरक्षा, गुन्डाराज र बेथिति रहेको अनि बीजेपी सत्तामा आएपछि कसरी यी सबै क्षेत्रमा व्यापक सुधार आई आमजनताले चैनको सास फेर्न पाए भन्ने सन्देश प्रभावकारी रूपमा मतदाताहरूलाई दिइएको थियो । ‘सोच इमानदार, काम असरदार’ भन्ने मूल नारामा आधारित विज्ञापन अभियानबाट योगी आदित्यनाथ नै फेरि किन भन्ने प्रश्नको जवाफ प्रभावकारी तरिकाले दिन सफल भएकैले उत्तर प्रदेशका मतदाताले बीजेपीलाई फेरि सत्तामा पुर्‍याए ।

भारतकै अरविन्द केजरीवालको आम आदमी पार्टी (आप) को प्रचारप्रसार शैली अर्को राम्रो उदाहरण हुन सक्छ । पहिले दिल्ली राज्य हल्लाएको आपले पछिल्लो विधानसभा चुनावमा पन्जाब पनि सजिलै कब्जा गर्‍यो । पन्जाबको विधानसभा चुनावमा आपले विज्ञापन तथा प्रचारप्रसारमा ६.२३ करोड भारु खर्च गरेको प्रतिवेदन भारतीय निर्वाचन आयोगलाई दिएको थियो । अत्यन्त सफल प्रचारप्रसार अभियानको मद्दतले आप ऐतिहासिक विजय हासिल गर्दै अत्यधिक बहुमतका साथ सरकार बनाउन सक्षम भयो । ‘बदलाव’ (परिवर्तन) भन्ने मूल नाराका साथ चलाइएको उक्त विज्ञापन अभियान दिल्लीका मुख्यमन्त्री केजरीवालकै शासन मोडलमा आधारित थियो । जसरी दिल्लीमा राम्रो शिक्षा, राम्रो स्वास्थ्य प्रणाली, निःशुल्क बिजुली (कम प्रयोग गर्नेलाई), राम्रो सडक, महिला सशक्तीकरण र किसान अनुदान जस्ता कल्याणकारी योजनाहरू सफलताका साथ लागू गरिएका थिए, पन्जाबमा पनि सोही मोडल लागू गर्न सकिने सन्देश प्रभावकारी रूपमा मतदाताहरूमाझ पुर्‍याइएको थियो ।

सन् २०२० मा भएको अमेरिकी चुनावमा डेमोक्रेटिक र रिपब्लिकन पार्टीहरूले हालसम्मकै सबैभन्दा बढी रकम विज्ञापन तथा प्रचारप्रसारमा खर्च गरे । वर्तमान अमेरिकी राष्ट्रपति बाइडेनले ९० मिलियन डलर र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ४० मिलियन डलरभन्दा बढी टेलिभिजन विज्ञापनमा मात्रै खर्च गरे । अनलाइन माध्यमहरूमा दुवैले ३५ मिलियन डलरजति खर्च गरे । उक्त चुनावमा १४ अर्ब डलरभन्दा बढी खर्च भएको थियो ।

नेपालमा भने दलहरू अझै पनि परम्परागत प्रचारप्रसार शैलीभन्दा त्यति माथि उठ्न सकिरहेका छैनन् ! यस अर्थमा हामी नयाँ–पुराना सबै दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई प्रभावकारी प्रचारप्रसार अभियान चलाई धेरैभन्दा धेरै मतदाताको मन जित्ने सुनौलो अवसर आएको छ । पुराना पार्टीहरूले

आफ्नो आयु बढाउन र नयाँले आफूलाई राम्ररी मतदातामाझ चिनाई तिनीहरूलाई आकर्षित गर्न पनि प्रभावकारी प्रवर्द्धनको खाँचो परिसकेको छ । अन्य देशको दाँजोमा निकै थोरै लगानीमै राम्रो अनि प्रभावकारी प्रचारप्रसार अभियान चलाउन सक्ने सक्षम विज्ञापनकर्मीहरूको ठूलै जमात हामीमाझ छ । मतदाताहरूसमक्ष सूचना तथा सन्देश सजिलै पुर्‍याइदिने राम्रा प्रभावकारी सञ्चारमाध्यमहरू पनि हाम्रासामु बग्रेल्ती छन् ।

एक्काइसौं शताब्दीको सूचनाको युगमा, सजिलै पहुँचमा भएका विज्ञापन तथा प्रवर्द्धनका उपायहरू, मिडिया तथा प्रविधिहरूको भरपूर प्रयोग गर्न जान्नेहरूले नै जनताको मन र मत दुवै जित्न सक्छन् । प्रजातन्त्रको गहनाका रूपमा स्वीकार गरिएको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन आयोगको भूमिका पक्कै अहम् छ । आयोगले समयमै मतदाता शिक्षा लगायतका आफ्ना कार्यक्रमहरूलाई प्रभावकारी तुल्याउन पनि विज्ञापन तथा प्रवर्द्धनका विभिन्न उपाय राम्रैसँग गर्नुपर्ने देखिन्छ । धेरैभन्दा धेरै नेपाली नागरिकले आफ्नो अधिकारको मत प्रयोग गरून् र मत बदर कम से कम होस् भन्नका लागि पनि चुनावी विज्ञापनको महत्त्व छ । मतदाताहरूले आफ्ना उम्मेदवार तथा दलबारे राम्ररी बुझेर मत जाहेर गरे भने मात्र सही ठाउँमा राम्रा नेता चुनिन सक्छन् अनि देश समृद्धिको बाटोतर्फ धकेलिन सक्छ । विज्ञापन तथा प्रवर्द्धनमा गरिएको खर्चलाई लगानी सम्झेर दल तथा उम्मेदवारहरू सुझबुझसहित अगाडि बढ्न सके सफलता अवश्य हात लाग्छ ।

आज्ञाकारी तर थोरै सक्रिय कार्यकर्ताहरूको बलमा मात्र चुनाव जित्न नसकिने अनि पौने २ करोड मतदाताहरूको ठूलो र स्वतन्त्र जमातलाई आफूतिर आकर्षित गर्न विज्ञापनको भूमिका अहम् हुने वास्तविकता बुझ्न जति ढिलो गर्‍यो, राजनीतिक दलहरूलाई घाटा त्यति नै हुने हुन्छ । दल तथा उम्मेदवारहरूले आआफ्नो उद्देश्य अनुसार विज्ञापनमा राम्रै लगानी नगरी नहुने अवस्था आइसकेको छ ।

श्रेष्ठ नेपाल विज्ञापन संघका फूर्वअध्यक्ष हुन् ।

प्रकाशित : आश्विन २३, २०७९ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?