गठबन्धन : फगत सत्ता- विचार - कान्तिपुर समाचार

गठबन्धन : फगत सत्ता

केशव दाहाल

नेपालमा विजातीय गठबन्धनको उल्टो राजनीति चलिरहेको छ । यस्तो राजनीति, जसका कारण दलहरूको पहिचान र वैचारिक पक्षधरतालाई त ओझेल परेकै छ, राजनीति फगत सत्ता हो भन्ने कुरा पनी सँगसँगै स्थापित हुँदै गएको देखिन्छ । एकातिर पाँच दलको जोडघटाउ, अर्कोतिर बालकोटको अंकगणित । एकातिर कोटेश्वरको रुवाबासी, अर्कोतिर बूढानीलकण्ठ र खुमलटारको तमासा ।

राजनीतिका मूल एजेन्डाहरू ओझेलमा छन्, कसैलाई चिन्ता छैन । स्वच्छ र स्वतन्त्र चुनाव कसरी गर्ने, कसैलाई चासो छैन । गतिला उम्मेदवार कसरी छान्ने, मतलब छैन । हिजो न सरकार गतिलो भयो, न त नेतृत्वले आशा दियो । नागरिकका अनेक प्रश्न छन्, जवाफ दिनु पर्दैन । आफ्नै विगतलाई कसैले समीक्षा गर्दैन । चाहिने कुरामा सबै मौन, नचाहिने कुरामा होहल्ला । यस्तो लाग्छ, आजको राजनीति भनेको फगत गठबन्धन हो र हो फगत सत्ता ।

अहिले हाम्रा दलहरू राजनीति गरिरहेका छैनन् । बरु जसरी पनी चुनाव जित्ने जोडघटाउ गरिरहेका छन् । अथवा, हाम्रा दलहरूको पछिल्लो राजनीति नै जोडघटाउ हो । त्यसैले नेपाली राजनीतिमा एजेन्डाभन्दा चर्को सुनिँदै छ गठबन्धन । यो सबै देखिरहँदा मनमा केही बिब्ल्याँटा प्रश्नहरू उठ्छन् । जस्तो— हाम्रा दलहरू आफू एक्लै प्रतिस्पर्धाविहीन चुनाव लड्न पाए क्या आनन्द मान्थे होलान् । एक्लै कुदेर पहिलो हुने दौड । मानौं देशमा एउटा मात्र पार्टी छ, कांग्रेस । उसैले चुनावको घोषणा गर्‍यो, आफू एक्लै चुनाव लड्यो, ९९ प्रतिशत भोट ल्यायो र सत्ताको दाइँ गर्‍यो । क्या मज्जा ! अथवा मानौं, देशमा मात्र कम्युनिस्ट पार्टी छ । आफू एक्लै चुनावमा उठ्यो, जित्यो र रमायो । कमरेडहरूलाई क्या मस्ती ! हाम्रा दलहरू सायद यस्ता मनमौजी सपनाहरू पनि देख्छन् होला ? तर लोकतान्त्रिक राजनीतिको बाटो त्यस्तो हुँदैन । मानौं, यो देशमा मात्र एक दर्जन कम्युनिस्ट पार्टीहरू हुने र अरू कुनै पनी पार्टी नहुने हो भने राजनीति कस्तो हुन्छ होला ? किमार्थ राम्रो हुँदैन । किनभने कम्युनिस्टहरू मात्र भएको समाजमा लोकतान्त्रिक चेतना र उदारभाव अवरुद्ध हुन्छ । त्यसो भए कांग्रेस मात्र भए के हुन्छ ? त्यो पनि राम्रो हुँदैन । किनभने समाजको अर्को वैचारिकी संकुचित हुन पुग्छ । यसको अर्थ के भने, न यहाँ दलहरू एक्लै हिँडेर कतै पुग्छन्, न त अंकगणितले नै राजनीति हुन्छ । राजनीति गर्न फरक विचारहरूबीचको प्रतिस्पर्धा र प्रतिस्पर्धाहरूबीचमा उत्कृष्टता आवश्यक हुन्छ, जुन कुरा हाम्रो राजनीतिले गुमाउँदै गएको छ ।

विचार गरौं, मानव सभ्यता विविधतासहितको सप्तरंगी फूलबारी हो । विभिन्न रंग, सुगन्ध र शैलीको फूलबारी । विविधता नै हाम्रो सभ्यताको सुन्दरता हो । यिनै विविधता र उत्पादन प्रक्रियाहरूबीचको एकता र संघर्षबाट समाज बन्छ । सामाजिक चरित्र बन्ने मुख्य आधार यही हो । सामाजिक चरित्रले मान्छेहरूबीच एक अलग वैचारिकी निर्माण गर्छ । त्यो वैचारिकी क्रमशः राजनीतिक समूहमा फेरिन्छ । राजनीतिक समूहले पार्टी बनाउँछ । यो अर्थमा दलहरू भनेका समाजका विविधताहरूका राजनीतिक अभिव्यक्ति हुन् । निर्वाचन भनेको यिनै विविधताहरूबीचको प्रतिस्पर्धा हो । यसलाई अवरुद्ध गरेको समाज न लोकतान्त्रिक हुन्छ, न त गतिशील ।

फरक धार : फरक पार्टी

हाम्रो विविधतालाई आधार बनाई हेर्दा, नेपालमा मूलतः ६ वटा राजनीतिक तस्बिरहरू देखिन्छन् । अर्थात्, हाम्रा वैचारिक विविधताहरू ६ प्रकारका राजनीतिक स्पेस वा धारमा आबद्ध छन् । पहिलो, उदार लोकतन्त्रवादी धार, जसको नेतृत्व मुख्यतः नेपाली कांग्रेसले गर्छ । कांग्रेस पुँजीवादी लोकतन्त्रको प्रतिनिधित्व गर्ने नेपालको एक मुख्य राजनीतिक शक्ति हो । यसले खुला समाज, परम्परागत संसदीय लोकतन्त्र, बजार अर्थतन्त्र र व्यक्तिगत स्वतन्त्रताको प्रवर्द्धन गर्छ । दोस्रो, मार्क्सवादी समाजवादी धार । यो धारको नेतृत्व मूलतः एमालेले गर्छ, जुन मार्क्सवादी

लेनिनवादी कम्युनिस्ट पार्टी हो । यो धारभित्र आजको नेकपा माओवादी र एकीकृत समाजवादीलगायत अन्य सानातिना कम्युनिस्टहरू पनि अटाउँछन् । यो धारले मार्क्सवादको जगमा उभिएर राज्यको स्वरूप र चरित्रलाई बदल्न चाहन्छ । तेस्रो धार हो— संघीयतावादी पहिचानवादी धार, जसभित्र मधेशवादी पार्टीहरू पर्छन् । विशेषतः लोसपा र जसपाजस्ता पार्टीहरू । चौथो धार उग्र वामपन्थी कम्युनिस्ट धार हो । यो समूहमा विप्लव, वैद्यलगायतका कम्युनिस्ट पार्टीहरू पर्छन्, जसले ग्रामीण विद्रोह, शसस्त्र संघर्ष वा बलपूर्ण क्रान्तिमार्फत जनगणतन्त्र नेपाल बनाउने सपना देख्छ । पाँचौं धार पुरातनवादी धार हो, जसभित्र राप्रपा वा राजावादीहरू पर्छन् । यो धारले गणतन्त्र, संघियता र धर्मनिरपेक्षताजस्ता राजनीतिक उपलब्धिहरूलाई इन्कार गर्छ । यिनीहरू राजतन्त्र पुनःस्थापनाको वकालत गर्छन् । छैटौं धारमा नयाँ, स्वतन्त्र र वैकल्पिक शक्तिहरू पर्छन्, जो जनआन्दोलनका उपलब्धिहरूलाई जोगाउँदै अझ अगाडि जान चाहन्छन् ।

यसको अर्थ दलहरू फरक छन् । यही फरकपन नै राजनीतिक दलहरूको मुख्य पहिचान हो । यही फरकपनले नै राजनीतिक दलहरूको अर्थ र औचित्य स्थापित गर्छ । यिनै फरक धारहरूले हाम्रो समाजका फरक सपनाहरूको प्रतिनिधित्व गर्छन् । यो हाम्रो राजनीतिको सुन्दर विविधता हो । र, यही विविधता नै नेपाली राजनीतिको चरित्र हो । अतः हाम्रो जस्तो समाजमा विद्यमान राजनीतिक विविधताले खुलेर चुनावी प्रतिस्पर्धा गर्न पाउनुपर्छ । अनि मात्र सामाजिक मनोविज्ञानहरूले अभिव्यक्त हुने ‘स्पेस’ पाउँछन् । अन्यथा राजनीतिक अभिव्यक्ति अवरुद्ध हुन्छ र त्यसबाट नयाँ द्वन्द्व सृजना हुन्छ । त्यसैले हामीले एकदलीय राजनीतिक प्रणालीलाई अस्वीकार गरेका हौं । लोकतान्त्रिक समाजको सुन्दरता नै बहुविचारहरूबीचको प्रतिस्पर्धा हो ।

सुल्टो बाटो

स्पष्ट छ, फरक राजनीतिक धारहरूको स्वच्छ र स्वतन्त्र प्रतिस्पर्धाले मात्र हाम्रो लोकतन्त्र प्रभावकारी हुन्छ । देखिएका फरक राजनीतिक धारहरूलाई मतदाताले स्वविवेकले छान्न पाउने चुनाव मात्र हाम्रो सन्दर्भमा प्रभावकारी चुनाव हो । अन्यथा मतदाताहरूले आफ्नो अभिमत जाहेर गर्ने कसरी ? मान्छे गणतन्त्रवादी छ, भोट हाल्नुपर्छ राप्रपालाई । मान्छे कम्युनिस्ट हो, भोट खसाउँछ कांग्रेसलाई । यस्तो निर्वाचन कसरी प्रभावकारी हुन्छ ? निश्चय नै, उस्तैउस्तै पार्टीहरू एकीकृत हुनु राम्रो । तर फरकफरक पार्टीहरूबीच प्रतिस्पर्धा हुनु अझ राम्रो कुरा हो । अवश्य नै, विचार र एजेन्डा मिल्नेहरूबीच गठबन्धन भएको राम्रो । तर एजेन्डा र राजनीति नमिल्नेहरूले गठबन्धन नगरेको अझ राम्रो । अन्यथा मतदाताहरूलाई धोका हुन्छ । र, यसरी हाम्रो लोकतन्त्र कसै गरी प्रभावकारी हुँदैन ।

आजको अपेक्षा के भने, आफ्ना विचार, मुद्दा र सपनाहरूसहित दलहरू एक्लाएक्लै चुनावमा प्रतिस्पर्धा गरून् । गठबन्धन गर्नैपरे वैचारिक र मुद्दागत गठबन्धन होस् । जस्तो— मार्क्सवादीहरूको एउटा गठबन्धन होस्, उदार प्रजातन्त्रवादीहरूको अर्को । वैकल्पिक राजनीतिको कुरा गर्नेहरू एक ठाउँमा उभिऊन् र परम्परावादीहरू पनि मिलेर चुनाव लडून् । अनि पो जनताले निर्बाध आफूलाई मन पर्ने पार्टी वा गठबन्धनलाई भोट हाल्न पाउँछन् । अनि मात्र निर्वाचनले स्थायित्व दिन्छ । अनि मात्र सरकारले दिशा लिन्छ । राजनीतिको सुल्टो बाटो यही हो । अन्यथा दक्षिणपन्थीहरूले वामपन्थी समाउने, लोकतन्त्रवादीहरूले माओवादी समाउने ? यो गाईजात्रा गरेर हाम्रो राजनीतिले सुल्टोबाटो समाउँछ कसरी ?

उल्टो बाटो

तर, जब गठबन्धन वैचारिक र एजेन्डागत नभई निहित सत्तास्वार्थबाट प्रेरित हुन्छ तब राजनीति उल्टो हिँड्न थाल्छ । उल्टो हिँडेको राजनीति कहिल्यै सही गन्तव्यमा पुग्दैन । त्यसैले नै आजको नेपाली राजनीति कुहिरोमा हराइरहेको छ । मानौं उदार लोकतन्त्रसहितको पुँजीवादी एजेन्डा भएको कांग्रेस र जनयुद्धको अगुवा माओवादी पार्टी गठबन्धन गरेर चुनाव जित्छन् त भोलि बन्ने सरकार कस्तो हुन्छ ? सत्तामा एकातिर समाजवादी, अर्कोतिर पुँजीवादी । समाजवादी र पुँजीवादीहरूले मिलेर चलाउने सरकारको चरित्र कस्तो होला ? त्यसले आर्थिक नीति कस्तो ल्याउला ? जनजीविकाका सवालमा के निर्णय गर्ला ? मानौं, गणतन्त्रवादी एमाले र राजतन्त्रवादी राप्रपा मिलेर चुनाव लड्छन् त उनीहरूले गर्ने भविष्यको राजनीति कस्तो होला ? अर्थात्, एमालेजस्तै राप्रपा हामीलाई किन चाहियो ? कांग्रेसजस्तै माओवादी वा माओवादीजस्तै कांग्रेस हामीलाई किन चाहियो ? अथवा, मधेशवादीजस्तै एकीकृत समाजवादी हामीलाई किन चाहियो ?

स्पष्ट छ, गठबन्धनको लय सजातीय हुनुपर्छ । अन्यथा विजातीय गठबन्धनको अर्थ हुन्छ— राजनीतिमा विचारको अन्त्य । राजनीतिमा मुद्दाहरूको अन्त्य । राजनीतिमा दलीय विविधताको अन्त्य । यस्तो भएपछि कांग्रेसले आफूलाई उदार लोकतन्त्रवादी भन्नुको के प्रयोजन ? माओवादीले आफूलाई कम्युनिस्ट भन्नुको के अर्थ ? जब विगत ३० वर्षदेखी कांग्रेसलाई भोट हाल्नेहरूले आउने चुनावमा फेरि पनि रूखमा भोट हाल्न पाउँदैनन् त उनीहरूका लागि कांग्रेस किन चाहियो ? कम्युनिस्टहरूलाई भोट हाल्ने मतदाताले जब राप्रपालाई भोट हाल्नुपर्छ त उनीहरूलाई कम्युनिस्ट पार्टी किन चाहियो ? अथवा, जब पार्टीहरूमा वैचारिक भिन्नता र अर्थ सकिन्छ त फरक पार्टीहरू नै किन चाहिए ? जब एजेन्डाअनुसार मतदाताले मत खसाउन पाउँदैनन् त दलहरूका एजेन्डा नै किन चाहिए ? कांग्रेसले अबका दिनमा यसरी नै प्रतिस्पर्धा गर्ने हो भने कांग्रेस हुनुको प्रयोजन कसरी पुष्टि हुन्छ ? कम्युनिस्टहरूले अबका दिनमा यसरी नै प्रतिस्पर्धा गर्ने हो भने कम्युनिस्ट हुनुको प्रयोजन कमरेडहरूले कसरी पुष्टि गर्छन् ?

के राजनीति फगत सत्ताको खेल हो ? कि हो समाजलाई दिशा निर्देश गर्ने एक बृहत्तर प्रयत्न ? यो राजनीतिमा आउने खास प्रश्न हो । फरक पृष्ठभूमिका राजनीतिक दलहरू जब चुनावमा गठबन्धन गर्छन् त प्रतिस्पर्धा कसरी स्वच्छ, वैचारिक र राजनीतिक हुन्छ ? अहिले जेजस्ता गठबन्धन हुँदै छन्, यस्ता खाले गठबन्धनले नेपालको वैचारिक राजनीतिलाई गम्भीर आघात दिने पक्का छ । यो प्रयत्नले स्वयं दलको इतिहास र भविष्य त सकिन्छ नै, राजनीतिक पक्षधरताको समेत अन्त्य हुन्छ । यसरी हाम्रो राजनीतिले न जनताका सपनाहरूको प्रतिनिधित्व गर्छ, न त यसरी हाम्रो राजनीतिले मूलबाटो नै समाउँछ ? राजनीति फगत सत्ता होइन, यो समाजको वैचारिक अभिव्यक्ति हो । दलहरूले विचार, मुद्दा र सपनाहरूको जसरी सत्यानाश गर्दै छन्, त्यसको परिणाम गम्भीर, अराजनीतिक र उल्टो हुने पक्का देखिन्छ । मतदाताहरूले होस गरौं ।

प्रकाशित : आश्विन १६, २०७९ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्

‘ठूलो घर, भव्य ठाउँ र पिच सडक हुँदैमा सहर बन्दैन’

केशव दाहाल

हामी बदलिँदो सहरको विषयमा कुरा गर्दैछौं, गर्छौं । यहाँ सहभागीको उपस्थिति हेर्दा बन्दै गरेको सहरमा गरेको भए राम्रो हुन्थ्यो कि । सहरमा कलाको कुरा, जीवनको कुरा, पेन्टिङका कुरा । नाटकको कुरा गर्दा मान्छेलाई धेरै चाख हुन्छ । मान्छेहरु धेरै रमाउँछन् । गाउँमा राजनीतिक कुरा गर्दा मान्छेहरु धेरै खुसी हुन्छन् । नेताहरु आए भने गाउँमा हुरहुर्र मान्छेहरु आउँछन् । नेताहरु गएपछि मान्छे पनि सकिन्छ । नेताहरुसँगै जान्छन् । सहरमा त्यस्तो हुँदैन । सहरमा जीवन, कला, साहित्यको कुरा हुँदैछ भने मान्छे बस्छ । यहाँ हेर्दैछु नेताहरु जानु भयो, हामी सबै गयौं । भनेपछि बदलिँदै सहर भन्दापनि बन्दै गरेको सहर राम्रो हुन्थ्यो ।

दोस्रो कुरा, बदलिँदै सहरको कुरा गर्दा मलाई कथा जस्तै भयो । आजभन्दा ४० वर्षअगाडि पुगेँ । म संखुवासभामा जन्मेको मान्छे मेरो लागि सहर भनेको चैनपुर थियो । चैनपुर आउँदा कत्रो ठूलो घर जस्तो लाग्थ्यो । कति सफा, कति धेरै मान्छे । त्यसपछि आजभन्दा ४०/४२ वर्ष अगाडि म धरानतिर झरेँ । बुबाआमासँग बाटोमा तीन दिन बास बस्दै धरान आउनुपथ्र्यो । धरान आउनुभन्दा अगाडि एउटा कथा सुनेको थिए । धरान आउजाउ गर्दा एउटा मान्छेले १० वर्ष अगाडि धरानामा गाडीहरु कुदेको कुद्यै गथ्र्यो । १० वर्षपछि गएको त, गाडीको बच्चा नै बच्चा । पहिलो उहाँ १० वर्ष अगाडि आउँदा बस देख्नुभयो, १० वर्षपछि आउँदा ट्याक्सी देख्नुभयो । उहाँलाई १० वर्षमा बच्चा नै बच्चा जस्तो लाग्यो । १० वर्षमा बच्चा देखिएको धरानमा ४१/४२ वर्षको हुँदा आइपुगे । माथि साँगुरीभन्जाङबाट धरान झिलिमिली देखियो ।

त्यहाँबाट हामी तराईतिर आयौं । जब हामी साँगुरीभन्जाङ आयो, धरान झिलिमिली थियो । त्योभन्दा अगाडि अलिकति अगाडि धरानमा मोटरको हर्न बज्यो । हर्न बजेको सुन्दा एकदमै मज्जाको अनुभूति आयो । सहर आउँदै छौं भन्ने भयो । त्यसपछि सहरमा आयो । त्यतिबेला सहर भनेको काठको घर हुन्थ्यो । खाँबा गाडेको । तल गाईवस्तु हुन्थ्यो । माथि मान्छे बस्थ्यौं । गोरुगाडीमा हिँड्थ्यौं हामी । काठमा पुल थिए । खाजा सिङडा (समोसा) र चना खान्थ्यौं । चोकका नाम थिए, आँपगाछी, बरगाछी, पिपलगाछी लगायत । बरफ खान्थ्यौं, मज्जा लाग्थ्यो । अब सहर कसरी बदलियो भन्दा त्यो देखेको मान्छे । अहिले मेरो गाउँमा गाडी पुग्छ । अब मान्छेलाई गाडी बच्चा नै बच्चा भन्ने भएन । मोटरसाइकल पनि देख्यो । गाडी पनि देख्यो । अहिले मेरो गाउँमा गाईभैंसी पाल्दैनन् । पक्का घर बने । काठका घरहरु छैनन् । हामी चना, सिंगडा खाँदैनौं । अहिले पिज्जा खान्छौं । बर्गर खान्छौं । चिया पसलमा बस्दैनौं । कफी खान्छौं ।

विगतमा सहर बन्दै गरेको ठाउँबाट खेती गर्नका लागि गाउँ जान्थ्यो । किनभने खेत पर थियो । अहिले त्यहाँबाट मान्छेहरु उद्योगतिर आउँछन् । पूर्वतिरका सडकहरु हेर्ने हो भने साइकलमा गुड्दै गरेको देखिन्छ । मान्छेहरु उद्योगतिर गएको देखिन्छ । रमाइलो कुरा के हो भने विगतमा पिपलगाछी, बरगाछी लगायतका चोक अहिले पुष्पलाल चोक, मदनभण्डारी चोक, बीपी चोक र सहर बन्दै छ ।

हाम्रो नगरपालिकाको मेयर अथवा नगरपालिकाले बदलिँदै छ सहर अर्थात ‘सिटी स्टेट’ सोच्नुस् । तपाईंको सहर छ, त्यसलाई तपाईंको राज्य सम्झनुस् । र, तपाईं त्यसको प्रमुख हो, सरकारको प्रमुख हो । त्यसपछि त्यो सहरलाई कस्तो बनाउने ? सहरमा पूर्वाधार चाहिन्छ । स्वभाविक रुपमा बाटो चाहिन्छ । हामी नगरपालिका भन्छौं, तर मोटरसाइकल पनि जाँदैन । गाडी पनि जाँदैन । राम्रो जुत्ता लगाउनु हुन्छ भने हिलाम्मे भएर पुग्नुपर्छ । अलिकति अगाडि बढ्नु बाटो खनेको छ, त्यसैले पूर्वाधार चाहिन्छ । ठूलोबाटो पार्क, साइकल लेन ।

दोस्रो कुरा सहरको मानवीय पक्ष पनि छ । पार्क कहाँ बनाउनु हुन्छ । सहरमा एउटा राम्रो नाट्यकाला पनि चाहिन्छ, कि चाहिँदैन । तपाईं आफ्नो सहरको परिकल्पना गर्‍यो भने पूर्ण सहर बन्छ । त्यो पूरापूर सहर बन्छ । संवेदनासहितको सहर बन्छ । हाँसोखुसी सहितको सहर बन्छ । अन्यथा तपाईंले घर बनाउनु हुन्छ । सडक बनाउनु हुन्छ भने रुखो सहर बन्छ, मनबिनाको सहर बन्छ ।

तेस्रो कुरा, तपाईंहरु सबैले विचार गर्नुपर्ने कुरा के हो भने, म आफू कस्तो सहर बनोस् । बदलिँदै गरेको सहरको चित्र हेरिरहँदा जस्तै हामीले देशको कुरा गर्छौं । सहरको पनि पहिचान हुन्छ । हामीले विराटनगरलाई औद्योगिक सहर भन्यौं । सहरको पनि पहिचान हुन्छ । हाम्रा बन्दै गरेका सहरको पहिचान कस्तो बनाउने ? तपाईं सांस्कृतिक सहर बनाउनु हुन्छ कि ? खेलकुदको सहर बनाउनु हुन्छ कि ? औद्योगिक बनाउनु हुन्छ कि ? पर्यटन बनाउनु हुन्छ ? अथवा धार्मिक बनाउनु हुन्छ ? त्यसैले यो तीन वटा चिज, बदलिँदै गरेको देखिन्छ । तर कदमगाछीको छेउमा पुष्पलालचोक बनाउनुभयो, त्यसको छेउमा ठूलो घर बनाएर मेरो त सहर बन्यो । भव्य ठाउँमा छौं । पिच पनि बन्यो । सबै कुरा छ भन्नु भयो भने त्यो सहर बन्दैन । त्यो कंक्रिटको जंगल बन्छ । हामी जून आलोचना पनि गर्छौं ।

त्यसैले तपाईं आफ्नो सहरको सपना देख्नुस् । त्यसपछि पूर्वाधारको काम पनि गर्नुस् । सँगसँगै मानवीय पक्षको कुरा पनि गर्नुस् । जसले गर्दा हाम्रो सहर बन्छ । सहर भनेकै स्वागत गर्ने हो । म गाउँलाई सम्बोधन गर्दा मेरो गाउँ भन्छु । म हुर्केको ठाउँ भन्छु । सहरको कुरा गर्नुपर्दा हाम्रो सहर भन्छौं । सहर भनेकै हाम्रो हो । विराटनगर भनेको तपाईंको मात्रै होइन, मेरो पनि हो, अर्कोको पनि हो । त्यसैले गर्दा, पहिला सहरलाई सोच्ने तरिकाको विकास गर्नुपर्छ । अहिले हेर्नुस्, बाटो हेर्नुस् । आजको सहरको बाटोले अब १५ वर्षलाई धान्दैन । तपाईं ड्रेन हेनुस् । तपाईं साइकल लेन कहाँबाट बनाउनु हुन्छ । तपाईं बच्चाहरु कहाँबाट हिँडाउनु हुन्छ । तपाईं घर जस्तै बनाउनु हुन्छ, कला कहाँ दिन्छ ? त्यसैले बडा त्रासपूर्ण सहर बन्दैछ ।

दोस्रो कुरा सहर भनेको तीन वटा चिज हो । पहिलो चिज सपना हो, दोस्रो चिज सपनाको इन्जिनियरिङ हो । र, तेस्रो कला हो । तपाईं व्यवस्थित सपना पनि देख्नुहुन्न । पार्टीमा काम गर्नु भो, गर्नु भो । फ्याट टिकट पाएर मेयर हुनु भो । के/के गर्नु भो/गर्नु भो । फेर्कर हेर्दा त मेयर भइयो । के गर्ने होला, अब त्यही गर्ने हो पहिला जे गर्‍या छ । बैठक बस्ने, भत्ताको कुरा गर्ने । त्यसैले पहिलो कुरा भनेको सपनाको सहर हो । सहर कस्तो बनाउनु हुन्छ । त्यसपश्चात इन्जिनियरिङ, नक्सा कसरी बनाउनु हुन्छ । त्यसपश्चात कला हो, त्यसमा सुन्दरता कसरी थप्नु हुन्छ । तपाईंले टीका लगाए जस्तो । सबै कोरीबाटी गरेर रातो टीका लगाए जस्तो, तपाईंको सहरमा आर्ट कहाँ दिनुहुन्छ । यो छैन, त्यसैले अबको २० वर्षपछि हाम्रो सहर कस्ता होलान् ? त्यो कल्पना गर्दा भत्काउँ, भत्काउन सकिँदैन । बनाउँ, बनाउन सकिँदैन । त्यसैलाई हेरेर रमाउँ, रमाउन सकिँदैन । एकदमै अत्याशपूर्ण । त्यसैले सोच्नुहोला है । हामी अहिले जता जाँदैछौ, त्यसले हुँदैन । हामीले बनाएको सहरलाई मान्छेले के आलोचना गर्छ भने, यो एकीकृत बस्ती हुन् । सहर होइन । तपाईंलाई भयंकर लाग्छ, म सहरको मान्छे । तपाईं कहाँ सहर हो । तपाईंसँग सहरको कुनै चीज नै छैन । तपाईं राति रमाउन सक्नुहुन्न । तपाईंले सहरमा बाहिरका मान्छेलाई काम दिनसक्नु हुन्न । तपाईंको छोराछोरी हुर्किने बित्तिकै तपाईंको सहरमा बस्दैन । काठमाडौं अथवा न्युर्योक जान चाहन्छ । तपाईं कसरी सहर भन्नु हुन्छ ।

तपाईंले बनाएको चिज सहर हो भने तपाईंको बच्चा त्यही सहरमा बस्छ । न्यूर्योक सहर हो, त्यसैले त्यहाँ जन्मेको बच्चा त्यही बस्छ । पेरिस सहर हो, त्यसैले त्यहा जन्मेका बच्चा त्यही बस्छन् । बर्लिन सहर हो, त्यही बस्छ । तर हाम्रा सहरमा, सहरमा जन्मेका बच्चा त्यहाँ बस्दैन । काठमाडौंमा बस्छ । विराटनगरको मान्छे, काठमाडौं न्युर्योक जान्छ, बर्लिन जान्छ, पेरिस जान्छ । किनभने तपाईंले सहर बनाएकै छैन । एकीकृत बस्ती बनाउनु भयो र मख्ख पर्नुभयो, हाम्रो सहर हो । काठमाडौंमा घर छ, तर सुन्दरता छैन । त्यसैले सपना देखौं, त्यसलाई आर्किटेक गरौं, त्यसलाई इन्जिनियरिङ गरौं । त्यसपछि त्यसमा कला थपौं, त्यसपछि बल्ल सहर बन्छ ।

–लेखक दाहालले विराटनगरमा आयोजित ‘कान्तिपुर उज्यालो पूर्व’ कार्यक्रमको ‘बदलिँदा सहर' सत्रमा व्यक्त गरेको विचारको सम्पादित अंश ।

प्रकाशित : आश्विन १२, २०७९ १३:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×