कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

गठबन्धन : फगत सत्ता

केशव दाहाल

नेपालमा विजातीय गठबन्धनको उल्टो राजनीति चलिरहेको छ । यस्तो राजनीति, जसका कारण दलहरूको पहिचान र वैचारिक पक्षधरतालाई त ओझेल परेकै छ, राजनीति फगत सत्ता हो भन्ने कुरा पनी सँगसँगै स्थापित हुँदै गएको देखिन्छ । एकातिर पाँच दलको जोडघटाउ, अर्कोतिर बालकोटको अंकगणित । एकातिर कोटेश्वरको रुवाबासी, अर्कोतिर बूढानीलकण्ठ र खुमलटारको तमासा ।

गठबन्धन : फगत सत्ता

राजनीतिका मूल एजेन्डाहरू ओझेलमा छन्, कसैलाई चिन्ता छैन । स्वच्छ र स्वतन्त्र चुनाव कसरी गर्ने, कसैलाई चासो छैन । गतिला उम्मेदवार कसरी छान्ने, मतलब छैन । हिजो न सरकार गतिलो भयो, न त नेतृत्वले आशा दियो । नागरिकका अनेक प्रश्न छन्, जवाफ दिनु पर्दैन । आफ्नै विगतलाई कसैले समीक्षा गर्दैन । चाहिने कुरामा सबै मौन, नचाहिने कुरामा होहल्ला । यस्तो लाग्छ, आजको राजनीति भनेको फगत गठबन्धन हो र हो फगत सत्ता ।

अहिले हाम्रा दलहरू राजनीति गरिरहेका छैनन् । बरु जसरी पनी चुनाव जित्ने जोडघटाउ गरिरहेका छन् । अथवा, हाम्रा दलहरूको पछिल्लो राजनीति नै जोडघटाउ हो । त्यसैले नेपाली राजनीतिमा एजेन्डाभन्दा चर्को सुनिँदै छ गठबन्धन । यो सबै देखिरहँदा मनमा केही बिब्ल्याँटा प्रश्नहरू उठ्छन् । जस्तो— हाम्रा दलहरू आफू एक्लै प्रतिस्पर्धाविहीन चुनाव लड्न पाए क्या आनन्द मान्थे होलान् । एक्लै कुदेर पहिलो हुने दौड । मानौं देशमा एउटा मात्र पार्टी छ, कांग्रेस । उसैले चुनावको घोषणा गर्‍यो, आफू एक्लै चुनाव लड्यो, ९९ प्रतिशत भोट ल्यायो र सत्ताको दाइँ गर्‍यो । क्या मज्जा ! अथवा मानौं, देशमा मात्र कम्युनिस्ट पार्टी छ । आफू एक्लै चुनावमा उठ्यो, जित्यो र रमायो । कमरेडहरूलाई क्या मस्ती ! हाम्रा दलहरू सायद यस्ता मनमौजी सपनाहरू पनि देख्छन् होला ? तर लोकतान्त्रिक राजनीतिको बाटो त्यस्तो हुँदैन । मानौं, यो देशमा मात्र एक दर्जन कम्युनिस्ट पार्टीहरू हुने र अरू कुनै पनी पार्टी नहुने हो भने राजनीति कस्तो हुन्छ होला ? किमार्थ राम्रो हुँदैन । किनभने कम्युनिस्टहरू मात्र भएको समाजमा लोकतान्त्रिक चेतना र उदारभाव अवरुद्ध हुन्छ । त्यसो भए कांग्रेस मात्र भए के हुन्छ ? त्यो पनि राम्रो हुँदैन । किनभने समाजको अर्को वैचारिकी संकुचित हुन पुग्छ । यसको अर्थ के भने, न यहाँ दलहरू एक्लै हिँडेर कतै पुग्छन्, न त अंकगणितले नै राजनीति हुन्छ । राजनीति गर्न फरक विचारहरूबीचको प्रतिस्पर्धा र प्रतिस्पर्धाहरूबीचमा उत्कृष्टता आवश्यक हुन्छ, जुन कुरा हाम्रो राजनीतिले गुमाउँदै गएको छ ।

विचार गरौं, मानव सभ्यता विविधतासहितको सप्तरंगी फूलबारी हो । विभिन्न रंग, सुगन्ध र शैलीको फूलबारी । विविधता नै हाम्रो सभ्यताको सुन्दरता हो । यिनै विविधता र उत्पादन प्रक्रियाहरूबीचको एकता र संघर्षबाट समाज बन्छ । सामाजिक चरित्र बन्ने मुख्य आधार यही हो । सामाजिक चरित्रले मान्छेहरूबीच एक अलग वैचारिकी निर्माण गर्छ । त्यो वैचारिकी क्रमशः राजनीतिक समूहमा फेरिन्छ । राजनीतिक समूहले पार्टी बनाउँछ । यो अर्थमा दलहरू भनेका समाजका विविधताहरूका राजनीतिक अभिव्यक्ति हुन् । निर्वाचन भनेको यिनै विविधताहरूबीचको प्रतिस्पर्धा हो । यसलाई अवरुद्ध गरेको समाज न लोकतान्त्रिक हुन्छ, न त गतिशील ।

फरक धार : फरक पार्टी

हाम्रो विविधतालाई आधार बनाई हेर्दा, नेपालमा मूलतः ६ वटा राजनीतिक तस्बिरहरू देखिन्छन् । अर्थात्, हाम्रा वैचारिक विविधताहरू ६ प्रकारका राजनीतिक स्पेस वा धारमा आबद्ध छन् । पहिलो, उदार लोकतन्त्रवादी धार, जसको नेतृत्व मुख्यतः नेपाली कांग्रेसले गर्छ । कांग्रेस पुँजीवादी लोकतन्त्रको प्रतिनिधित्व गर्ने नेपालको एक मुख्य राजनीतिक शक्ति हो । यसले खुला समाज, परम्परागत संसदीय लोकतन्त्र, बजार अर्थतन्त्र र व्यक्तिगत स्वतन्त्रताको प्रवर्द्धन गर्छ । दोस्रो, मार्क्सवादी समाजवादी धार । यो धारको नेतृत्व मूलतः एमालेले गर्छ, जुन मार्क्सवादी

लेनिनवादी कम्युनिस्ट पार्टी हो । यो धारभित्र आजको नेकपा माओवादी र एकीकृत समाजवादीलगायत अन्य सानातिना कम्युनिस्टहरू पनि अटाउँछन् । यो धारले मार्क्सवादको जगमा उभिएर राज्यको स्वरूप र चरित्रलाई बदल्न चाहन्छ । तेस्रो धार हो— संघीयतावादी पहिचानवादी धार, जसभित्र मधेशवादी पार्टीहरू पर्छन् । विशेषतः लोसपा र जसपाजस्ता पार्टीहरू । चौथो धार उग्र वामपन्थी कम्युनिस्ट धार हो । यो समूहमा विप्लव, वैद्यलगायतका कम्युनिस्ट पार्टीहरू पर्छन्, जसले ग्रामीण विद्रोह, शसस्त्र संघर्ष वा बलपूर्ण क्रान्तिमार्फत जनगणतन्त्र नेपाल बनाउने सपना देख्छ । पाँचौं धार पुरातनवादी धार हो, जसभित्र राप्रपा वा राजावादीहरू पर्छन् । यो धारले गणतन्त्र, संघियता र धर्मनिरपेक्षताजस्ता राजनीतिक उपलब्धिहरूलाई इन्कार गर्छ । यिनीहरू राजतन्त्र पुनःस्थापनाको वकालत गर्छन् । छैटौं धारमा नयाँ, स्वतन्त्र र वैकल्पिक शक्तिहरू पर्छन्, जो जनआन्दोलनका उपलब्धिहरूलाई जोगाउँदै अझ अगाडि जान चाहन्छन् ।

यसको अर्थ दलहरू फरक छन् । यही फरकपन नै राजनीतिक दलहरूको मुख्य पहिचान हो । यही फरकपनले नै राजनीतिक दलहरूको अर्थ र औचित्य स्थापित गर्छ । यिनै फरक धारहरूले हाम्रो समाजका फरक सपनाहरूको प्रतिनिधित्व गर्छन् । यो हाम्रो राजनीतिको सुन्दर विविधता हो । र, यही विविधता नै नेपाली राजनीतिको चरित्र हो । अतः हाम्रो जस्तो समाजमा विद्यमान राजनीतिक विविधताले खुलेर चुनावी प्रतिस्पर्धा गर्न पाउनुपर्छ । अनि मात्र सामाजिक मनोविज्ञानहरूले अभिव्यक्त हुने ‘स्पेस’ पाउँछन् । अन्यथा राजनीतिक अभिव्यक्ति अवरुद्ध हुन्छ र त्यसबाट नयाँ द्वन्द्व सृजना हुन्छ । त्यसैले हामीले एकदलीय राजनीतिक प्रणालीलाई अस्वीकार गरेका हौं । लोकतान्त्रिक समाजको सुन्दरता नै बहुविचारहरूबीचको प्रतिस्पर्धा हो ।

सुल्टो बाटो

स्पष्ट छ, फरक राजनीतिक धारहरूको स्वच्छ र स्वतन्त्र प्रतिस्पर्धाले मात्र हाम्रो लोकतन्त्र प्रभावकारी हुन्छ । देखिएका फरक राजनीतिक धारहरूलाई मतदाताले स्वविवेकले छान्न पाउने चुनाव मात्र हाम्रो सन्दर्भमा प्रभावकारी चुनाव हो । अन्यथा मतदाताहरूले आफ्नो अभिमत जाहेर गर्ने कसरी ? मान्छे गणतन्त्रवादी छ, भोट हाल्नुपर्छ राप्रपालाई । मान्छे कम्युनिस्ट हो, भोट खसाउँछ कांग्रेसलाई । यस्तो निर्वाचन कसरी प्रभावकारी हुन्छ ? निश्चय नै, उस्तैउस्तै पार्टीहरू एकीकृत हुनु राम्रो । तर फरकफरक पार्टीहरूबीच प्रतिस्पर्धा हुनु अझ राम्रो कुरा हो । अवश्य नै, विचार र एजेन्डा मिल्नेहरूबीच गठबन्धन भएको राम्रो । तर एजेन्डा र राजनीति नमिल्नेहरूले गठबन्धन नगरेको अझ राम्रो । अन्यथा मतदाताहरूलाई धोका हुन्छ । र, यसरी हाम्रो लोकतन्त्र कसै गरी प्रभावकारी हुँदैन ।

आजको अपेक्षा के भने, आफ्ना विचार, मुद्दा र सपनाहरूसहित दलहरू एक्लाएक्लै चुनावमा प्रतिस्पर्धा गरून् । गठबन्धन गर्नैपरे वैचारिक र मुद्दागत गठबन्धन होस् । जस्तो— मार्क्सवादीहरूको एउटा गठबन्धन होस्, उदार प्रजातन्त्रवादीहरूको अर्को । वैकल्पिक राजनीतिको कुरा गर्नेहरू एक ठाउँमा उभिऊन् र परम्परावादीहरू पनि मिलेर चुनाव लडून् । अनि पो जनताले निर्बाध आफूलाई मन पर्ने पार्टी वा गठबन्धनलाई भोट हाल्न पाउँछन् । अनि मात्र निर्वाचनले स्थायित्व दिन्छ । अनि मात्र सरकारले दिशा लिन्छ । राजनीतिको सुल्टो बाटो यही हो । अन्यथा दक्षिणपन्थीहरूले वामपन्थी समाउने, लोकतन्त्रवादीहरूले माओवादी समाउने ? यो गाईजात्रा गरेर हाम्रो राजनीतिले सुल्टोबाटो समाउँछ कसरी ?

उल्टो बाटो

तर, जब गठबन्धन वैचारिक र एजेन्डागत नभई निहित सत्तास्वार्थबाट प्रेरित हुन्छ तब राजनीति उल्टो हिँड्न थाल्छ । उल्टो हिँडेको राजनीति कहिल्यै सही गन्तव्यमा पुग्दैन । त्यसैले नै आजको नेपाली राजनीति कुहिरोमा हराइरहेको छ । मानौं उदार लोकतन्त्रसहितको पुँजीवादी एजेन्डा भएको कांग्रेस र जनयुद्धको अगुवा माओवादी पार्टी गठबन्धन गरेर चुनाव जित्छन् त भोलि बन्ने सरकार कस्तो हुन्छ ? सत्तामा एकातिर समाजवादी, अर्कोतिर पुँजीवादी । समाजवादी र पुँजीवादीहरूले मिलेर चलाउने सरकारको चरित्र कस्तो होला ? त्यसले आर्थिक नीति कस्तो ल्याउला ? जनजीविकाका सवालमा के निर्णय गर्ला ? मानौं, गणतन्त्रवादी एमाले र राजतन्त्रवादी राप्रपा मिलेर चुनाव लड्छन् त उनीहरूले गर्ने भविष्यको राजनीति कस्तो होला ? अर्थात्, एमालेजस्तै राप्रपा हामीलाई किन चाहियो ? कांग्रेसजस्तै माओवादी वा माओवादीजस्तै कांग्रेस हामीलाई किन चाहियो ? अथवा, मधेशवादीजस्तै एकीकृत समाजवादी हामीलाई किन चाहियो ?

स्पष्ट छ, गठबन्धनको लय सजातीय हुनुपर्छ । अन्यथा विजातीय गठबन्धनको अर्थ हुन्छ— राजनीतिमा विचारको अन्त्य । राजनीतिमा मुद्दाहरूको अन्त्य । राजनीतिमा दलीय विविधताको अन्त्य । यस्तो भएपछि कांग्रेसले आफूलाई उदार लोकतन्त्रवादी भन्नुको के प्रयोजन ? माओवादीले आफूलाई कम्युनिस्ट भन्नुको के अर्थ ? जब विगत ३० वर्षदेखी कांग्रेसलाई भोट हाल्नेहरूले आउने चुनावमा फेरि पनि रूखमा भोट हाल्न पाउँदैनन् त उनीहरूका लागि कांग्रेस किन चाहियो ? कम्युनिस्टहरूलाई भोट हाल्ने मतदाताले जब राप्रपालाई भोट हाल्नुपर्छ त उनीहरूलाई कम्युनिस्ट पार्टी किन चाहियो ? अथवा, जब पार्टीहरूमा वैचारिक भिन्नता र अर्थ सकिन्छ त फरक पार्टीहरू नै किन चाहिए ? जब एजेन्डाअनुसार मतदाताले मत खसाउन पाउँदैनन् त दलहरूका एजेन्डा नै किन चाहिए ? कांग्रेसले अबका दिनमा यसरी नै प्रतिस्पर्धा गर्ने हो भने कांग्रेस हुनुको प्रयोजन कसरी पुष्टि हुन्छ ? कम्युनिस्टहरूले अबका दिनमा यसरी नै प्रतिस्पर्धा गर्ने हो भने कम्युनिस्ट हुनुको प्रयोजन कमरेडहरूले कसरी पुष्टि गर्छन् ?

के राजनीति फगत सत्ताको खेल हो ? कि हो समाजलाई दिशा निर्देश गर्ने एक बृहत्तर प्रयत्न ? यो राजनीतिमा आउने खास प्रश्न हो । फरक पृष्ठभूमिका राजनीतिक दलहरू जब चुनावमा गठबन्धन गर्छन् त प्रतिस्पर्धा कसरी स्वच्छ, वैचारिक र राजनीतिक हुन्छ ? अहिले जेजस्ता गठबन्धन हुँदै छन्, यस्ता खाले गठबन्धनले नेपालको वैचारिक राजनीतिलाई गम्भीर आघात दिने पक्का छ । यो प्रयत्नले स्वयं दलको इतिहास र भविष्य त सकिन्छ नै, राजनीतिक पक्षधरताको समेत अन्त्य हुन्छ । यसरी हाम्रो राजनीतिले न जनताका सपनाहरूको प्रतिनिधित्व गर्छ, न त यसरी हाम्रो राजनीतिले मूलबाटो नै समाउँछ ? राजनीति फगत सत्ता होइन, यो समाजको वैचारिक अभिव्यक्ति हो । दलहरूले विचार, मुद्दा र सपनाहरूको जसरी सत्यानाश गर्दै छन्, त्यसको परिणाम गम्भीर, अराजनीतिक र उल्टो हुने पक्का देखिन्छ । मतदाताहरूले होस गरौं ।

प्रकाशित : आश्विन १६, २०७९ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?