संकटका प्रतीक्षार्थीहरू- विचार - कान्तिपुर समाचार

संकटका प्रतीक्षार्थीहरू

लोकतान्त्रिक गणतन्त्रमा संकट आओस् भनेर प्रतीक्षारत परम्परागत समूहको महत्त्वपूर्ण तप्का अहिले प्रफुल्लित छ । राष्ट्रपतिले नागरिकता विधेयकमा मौनता साधेपछि यो समूहलाई लागेको छ— संविधान लथालिङ्ग भयो ।
भास्कर गौतम

नेपालमा तीन प्रकारका राजनीतिक समूह सदैव संकटको खोजीमा हुन्छन् । संकट खोजिरहेका यी समूहहरू एक वा अर्को तवरमा संकट सृजना गर्नसमेत लाग्छन् । कुनै किसिमले राजनीतिक संकट उत्पन्न भए त्यसलाई औधी रुचाउँछन् । एकाएक उत्साहित हुन्छन् । प्रत्येक संकटोन्मुख क्षणमा निश्चित घटनालाई आफ्नो परिकल्पनाको मिथकमा ढाल्ने चेष्टा गर्छन् ।

अहिले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक अनुमोदन नगरी असंवैधानिक कदम चालेपछि यीमध्ये एउटा समूह संकट सृजना गर्न उद्यत छ । अरू दुई समूह आआफ्नै स्वार्थअनुकूल संकट गहिर्‍याउन उत्साहित छन् ।

संकट के हो वा के होइन, त्यसको ऐतिहासिकता हुन्छ । त्यसैले राजनीतिक वृत्तमा संकट रुचाउने पहिलो समूह परम्परागत समूह हो । हिजो परम्परागत समूहमा त्यसका नाइके राजा, राजसंस्था र राजकीय सत्ता वरिपरिका भारदार थिए । राजनीतिक लवजमा यसलाई राजावादी समूह भनौं । सत्ता हत्याउन आफ्नै सहोदरको हत्या गर्नु, आन्तरिक कलह रचेर शक्ति हत्याउनु र सत्तामा टिकिरहन षड्यन्त्र रचिरहनु यो समूहको मूल विशेषता रह्यो । आज राजा त छैनन् तर राजावादी मानसिकता छँदै छ ।

यस्तो सोचको केन्द्रमा समाजलाई सके बन्धक बनाउने, नसके नियन्त्रण गर्ने ध्येय छ । त्यस्तो गर्न नसकेको खण्डमा स्थायी सत्ताभित्रको यो समूहले राजा त्रिभुवनले अपनाएको सूत्र अनुसरण गर्न खोज्छ— राजनीतिक दलमा निरन्तर फुट ल्याएर त्यसको फाइदा लिइरहने । समाजलाई बन्धक वा नियन्त्रण गर्ने अवसर देखेको खण्डमा राजा महेन्द्रको सूत्र छँदै छ— लोकतान्त्रिक थिति मास्दै आफैं लोकतन्त्रको मसिहा हुने तर अधिनायकवादी शासन लाद्ने ।

लोकतान्त्रिक गणतन्त्रमा संकट आओस् भनेर प्रतीक्षारत परम्परागत समूहको महत्त्वपूर्ण तप्का अहिले प्रफुल्लित छ । धेरै उत्साहितसमेत छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकमा संविधानले तोकेको पन्ध्रदिने समयसीमा कटाएर मौनता साधेपछि यो समूहलाई लागेको छ— संविधान लथालिङ्ग भयो । यसै पनि यो समूहले जनप्रतिनिधिहरूले संविधान रच्ने संविधानसभा रुचाएका थिएनन् । राष्ट्रपतिले संसद् र कार्यकारीविरुद्ध सत्ता संघर्ष छेडेपछि खुच्चिङको मुडमा रहेका उनीहरूलाई अहिले धेरै हाइसन्चो छ । परम्परागत समूहलाई लागिरहेको छ— लोकतान्त्रिक गणतन्त्रविरुद्ध संकट उत्पन्न हुँदै छ, जुन उनीहरूको स्वार्थमा समेत छ । आखिर संकटका कारक अरू नै छँदै छन् ।

ऐतिहासिक रूपमै परम्परागत सोच राख्ने स्थायी सत्ताधारीहरूलाई न कहिल्यै जनगण प्रिय थियो न लोक । परम्परागत समूहको चाहनालाई राष्ट्रपतिको असंवैधानिक कदमले धेरै अनुकूल बनाएको छ । यो समूह स्थायी सत्ताको मूल लाभार्थी भएकाले यो तप्काका लागि यस्तो संकटोन्मुख अवस्था लोकतन्त्रविरोधी थिति उचित सिद्ध गर्ने अवसर बनेर आउँछ । कहिले प्रकट त कहिले अप्रकट किसिमले । आखिर संकुचित राष्ट्रियताको विरासत उनीहरूलाई धान्नु छ ।

हो, संकुचित राष्ट्रियता, जहाँ लोकको राजनीतिक अधिकार वर्जित हुन्छ ! लोकको सांस्कृतिक अधिकार निषेधित हुन्छ अनि जनगणले जनजीविका धान्न मुगलान भासिनुपर्ने हुन्छ । हिजो यस्तै थितिभित्र परम्परावादी शक्तिहरूले राज्यका स्रोतसाधनमा सीमित वर्गको हालीमुहाली सुनिश्चित गरे । नेपाललाई ऐतिहासिक रूपमै गरिब र पराश्रित बनाए । परम्परावादी समूह सत्ताको मूल लाभार्थी भएकाले सर्वसाधारणले विदेशी साम्राज्यको पक्षमा रगत–पसिना बगाउँदा पनि उनीहरूलाई लागिरह्यो— देश सार्वभौम छ र एक वा अर्को स्वरूपको अधिनायकवादी थिति नै सम्पूर्ण नेपाली जनताको नियति हो ।

परम्परागत समूहलाई कम्तीमा यत्ति थाहा छ, युग फेरिएकाले संकट आफैं सृजना गर्ने सामर्थ्य र लोकमत गुमेको छ । तर जबजब कुनै किसिमले लोकतान्त्रिक व्यवस्थामाथि नियोजित प्रहार हुन्छ उनीहरू उत्साहित हुन्छन् । स्थायी सत्ताका हिमायती भएकाले परम्परागत समूहलाई लाग्छ— आफूलाई अरुचिकर लागेको लोकतान्त्रिक गणतन्त्र गलत सिद्ध गर्ने उचित अवसर आयो । गणतन्त्रको विशेषता बन्न प्रयासरत संघीयता र सांस्कृतिक विविधतासहितको धर्मनिरपेक्षतालाई असफल घोषणा गर्ने राम्रो मौका हो । आखिर राष्ट्रपतिले यस्तो राजनीतिक वातावरण जुराइदिएकै छिन् ।

परम्परागत समूहजस्तै राजनीतिक परिदृश्यको अर्को क्षितिजमा अर्कै किसिमको असंवैधानिक समूह छ । यो समूहलाई दिग्भ्रमित उग्रवादी समूह भनौं । दिग्भ्रमित उग्रवादमा नामजस्तै अनेकौं राजनीतिक रुझान भएका पात्र छन् । प्रवृत्ति छन् । उदाहरणका लागि नेत्रविक्रम चन्द र सीके राउतलाई लिन सकिन्छ । दुवैलाई विद्यमान व्यवस्थाप्रति वितृष्णा छ । दुवै स्वायत्तता र मुक्तिका कुरा गर्छन् । चन्द आफू सर्वहाराको मसिहा रहेको दाबी गर्छन्, राउत मधेशीको । तर उनीहरूको चाहना संवैधानिक संकट सृजना गर्दै आफ्नो राजनीतिक उद्देश्य पूरा गर्ने रह्यो । जब उनीहरूले आफैं सोचेजस्तो संकट निम्त्याउन नसक्ने महसुस गरे, व्यवस्थाभित्रै रहेको लोकतान्त्रिक गणतन्त्रविरोधी समूहसँग मिल्न पुगे । उनीहरूले ठाने— आफ्नो गैरसंवैधानिक ध्येय पूरा गर्न केपी ओलीको तत्परतामा एमालेसँग मिल्दा फाइदा छ । दुवै विश्वस्त रहे— ओलीको नेतृत्वमा समाहित समूह नै त्यस्तो शक्ति हो जसले नियोजित तवरमा जननिर्वाचित संस्थालाई निस्तेज बनाउँदै लोकतान्त्रिक गणतन्त्रमाथि व्यवस्थित प्रहार गर्न सक्छ । दुवै दिग्भ्रमित उग्रवादीको आकलन धेरै सही साबित भइरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो असंवैधानिक कदमले उनीहरूलाई गलत हुन दिएको छैन ।

व्यवस्थाभित्रै रहेर लोकतान्त्रिक गणतन्त्रलाई संकटोन्मुख बनाउने कार्यको नेतृत्व २०६३ यता ओलीले निरन्तर रूपमा गरिरहे । २०६३ पूर्व लोकतान्त्रिक गणतन्त्र हुन नदिन पनि उनले भरमग्दुर प्रयास गरे । तर असफल रहे । उनको अनवरत प्रयासमा एमालेभित्र विद्यादेवी भण्डारीसहित उनको समूहको ठूलो साथ–सहयोग रह्यो । सँगै नेपाली कांग्रेस, माओवादी लगायत दलका ती नेता–कार्यकर्ताको समर्थन रह्यो जसलाई जनअधिकार विस्तार गर्ने राजनीतिक रूपान्तरण र उपलब्धि मन परेको थिएन, जस्तै— सीमान्तकृत समुदायलाई समेट्ने समावेशी लोकतन्त्रÙ सबै जातजातिको संस्कृति, धार्मिक संस्कार तथा मूल्यमान्यताप्रति संवेदनशील रहने धर्मनिरपेक्षता र राज्यको केन्द्रीकृत शासकीय प्रणालीमा जनगणको स्वामित्व, सेवा र पहुँच सुनिश्चित गर्ने संघीयता । त्यसैले यी नयाँ विशेषतासहितको गणतन्त्रलाई सके निस्तेज गर्न नसके नियोजित रूपमै कमजोर बनाउन व्यवस्थाभित्रै रहेर ओलीको एमालेगण सक्रिय रह्यो । राष्ट्रपतिको सक्रिय साथ निरन्तर रह्यो ।

एमालेगणलाई ज्ञात छ, व्यवस्थाभित्रैबाट लोकतान्त्रिक गणतन्त्रको विरोध गर्दा जनतालाई झुक्याइरहन सजिलो हुन्छ । पहिला यो समूह अन्तरिम संविधानमा लिपिबद्ध कैयौं अधिकारलाई २०७२ सालमा नेपालको संविधान घोषणा गर्दा उल्टाउन सफल भयो । यहाँसम्म आइपुग्दा आवरणमा संघीय लोकतान्त्रिक गणतन्त्र संवैधानिक हिसाबले लिपिबद्ध त छ तर संविधानमा लेखिए पनि यस्तो थितिले खोजेको सिद्धान्त, हक–अधिकार र मूल्यमान्यता त्यही बेला धेरै फितलो भइसकेको थियो । न संघीयता कुनै सिद्धान्तमा आधारित थियो न समावेशी लोकतन्त्र । अझ कम्युनिस्ट एकताका नाममा व्यवस्थालाई नै संकटोन्मुख बनाउन सक्ने परिवर्तनविरोधी शक्तिलाई जब परिवर्तित थितिको नेतृत्व गर्ने अवसर जुर्‍यो राजनीतिले पूर्णतः गलत धार समात्यो ।

परिणामतः, राजनीतिक स्थायित्वका नाममा लोकतान्त्रिक गणतन्त्रले खोजेको संवैधानिक संस्कार बसाल्न व्यवस्थाभित्रै सक्रिय रहेको समूहले कहिल्यै दिएन । उल्टै संविधानको हुर्मत लिँदै लोकतान्त्रिक संस्थाहरूमा स्वेच्छाचारिता हावी भयो । बिस्तारै निर्वाचित संस्थाहरूसमेत विघटन गर्ने अधिनायकवादी अभ्यास झाँगियो । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचित संस्थाहरूको रक्षामा उभिने सामर्थ्य देखाउन चाहिनन् । लोकतान्त्रिक गणतन्त्रका पक्षमा उभिँदै सम्पूर्ण नेपालीको राष्ट्रपति बन्ने बाटो उनले रोजिनन् । माथिका दुई समूहलाई समेत अनुकूल वातावरण बनाउँदै अधिनायकवादी सोच र अभ्यासको संरक्षक बन्ने बाटो समाइन् । नतिजा, यी तीनै राजनीतिक समूह उत्साहित बनेका छन् । हाल लोकतान्त्रिक गणतन्त्रलाई निस्तेज बनाउने राजनीतिक चलखेलको नेतृत्व व्यवस्थाभित्रै रहेको एमालेले गरिरहेको छ । राष्ट्रपतिको असंवैधानिक कदम केवल यही स्वार्थको कडी हो ।

यो स्वार्थको काल्पनिकी र शासकीय मानसिकता विशिष्ट प्रकारको छ । एमालेको राजनीतिक मनस्थिति र प्रतिबद्धता बुझे यस्तो स्वार्थ सहजै बुझिन्छ । एमालेले परम्परावादीको सांस्कृतिक विरासत धानेको छ । दिग्भ्रमित उग्रवादीको राजनीतिक बालहठ सम्हालेको छ । साथै २०४६ सालयता तीव्र गतिले विस्तार भएको बिचौलिया अभ्यास र दलालतन्त्र मानसिकता वरिपरिको आर्थिक थितिलाई थामेको छ । एमाले परम्परावादी संकुचित राष्ट्रियता, दिग्भ्रमित उग्रता र दलालतन्त्रको समागम हो । एमालेको सांस्कृतिक, राजनीतिक र आर्थिक चरित्र यिनै तीन पक्षको बलियो गठजोड हो । यो समूह २०४६ सालपछि विस्तारित लोकतान्त्रिक थितिको सबैभन्दा संगठित लाभार्थी पनि हो ।

त्यसैले उसका लागि ‘जनताको बहुदलीय जनवाद’ पनि आइसक्यो, ‘समाजवाद’ पनि । लोकतन्त्र योभन्दा बढी समावेशी बने, आम मानिसमा राज्यको पहुँच योभन्दा बढी विस्तार भए, सीमान्तकृत समुदायका धर्म र संस्कृतिले नीतिगत संवेदनशीलता प्राप्त गरे एमाले लाभार्थी नरहन पनि सक्छ । त्यसैले एमाले व्यवस्थाभित्रै रहेर लोकतान्त्रिक रूपान्तरणविरुद्ध संकट सृजना गर्न उद्यत छ । राष्ट्रपति भइसकेपछि पनि आफ्नो व्यक्तित्व त्यही अनुसार परिवर्तन गर्न नसकेकाले महामहिम भण्डारी अनवरत यिनै स्वार्थको रक्षा गर्ने महत्त्वपूर्ण पात्र बनेकी छन् ।

दुवै किसिमका संकटका प्रतीक्षार्थीलाई आज राष्ट्रपति र एमालेका मानसिकता र राजनीतिक गतिविधिले सघाइरहेका छन् । तर संकट सृजना गर्न चाहने प्रत्येक समूहलाई ज्ञात नहुन सक्छ, आफ्नो हक–अधिकार सुनिश्चित गर्न जागिसकेको जनगण सुस्ताउन सक्छ तर पछि हट्न सक्तैन । न त अधिनायकवादी थिति अंगीकार नै गर्न सक्छ । त्यसैले सानो स्वार्थ समूह र तिनका कार्यकर्ताले व्यवस्था धराप पार्न खोज्दैमा स्वतन्त्रता र लोकतान्त्रिक परिकल्पना संकटमा परिहाल्ने होइन ।

फेरि, संकट मात्र सृजना गर्नु आफैंमा पर्याप्त होइन । त्यसलाई आफूले चाहे अनुसार निश्चित थितिमा ढाल्ने सामर्थ्य पनि हुनुपर्‍यो । तर ओलीको नेतृत्वमा अघि बढिरहेको एमालेसँग यस्तो सामर्थ्य छैन । यो समूहका आफ्नै दुःख र सीमा छन् । कुरा लोकतन्त्रको गर्नु छ, काम अधिनायकवादी । व्यवस्था गणतन्त्रको छ, अभ्यास राजावादी ढर्राको । संगठन कम्युनिस्ट नामधारी छ, शासकीय परिकल्पना परम्परावादी । शासन संघीय थितिमा गर्नु छ, सोच केन्द्रीकृत राख्नु छ । लोकतान्त्रिक रूपान्तरण बहुलवादी सामाजमा गर्नु छ तर त्यसका लागि एकात्मवादी मनोवृत्ति र सांस्कृतिक दृष्टिकोण बोक्नु छ । एमालेका दुःख पनि कतिकति ! रुप र सारबीच गहिरो दूरी भएको समूहले संवैधानिक संकट निम्त्याउँदै लोकतान्त्रिक थितिमाथि प्रहार गर्न त सक्छ तर जनगणको लोकतान्त्रिक काल्पनिकी धूमिल बनाइहाल्न सक्तैन ।

संकटका प्रतीक्षार्थीहरू संवेदनशील नबनेको अर्कै किसिमको संकट नेपाली जनगणले ऐतिहासिक रूपमै भोगिरहेका छन्— मुगलान भासिएर जीविका धान्दै जीवन गुजारा गर्ने, परिवार पाल्ने र आजीवन अपमान सहने । आजसम्म नेपालको स्वाधीनता र नेपाली जनताको प्रतिष्ठालाई यो संकटले जति अर्को कुनै संकटले तल खसाएको छैन । विडम्बना, सर्वसाधारणको यस्तो दीर्घकालीन संकट सदैव अवमूल्यन गर्दै तीनै किसिमका संकटका प्रतीक्षार्थीहरू नयाँ संकटको पर्खाइमा छन् । कठै, उनीहरूको दिग्भम्रित मानसिकता !

प्रकाशित : आश्विन १०, २०७९ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्

सामाजिक दायित्वबोधका आयामहरू

रौतहट जिल्लामा औंठाको नक्कली छाप बनाएर नभएको ऋणी खडा गर्दै नक्कली तमसुक बनाइएका घटनाहरू अहिलेको किसान आन्दोलनसँग जोडिएका छन् ।
भास्कर गौतम

समसामयिक नेपालमा सबै वैचारिकीका मानिसले स्विकार्ने सर्वमान्य वास्तविकतामध्ये यो प्रमुख होला- नेताहरूमा दायित्वबोध भएन, उनीहरू गैरजिम्मेवार भएकाले देशले न्यायमूलक थिति समातेन । राजनीतिमा दायित्वबोध नरहँदा न्यायिक दिशाबोध पनि रहेन । यस्तो खोक्रोपन र नेताहरूमा हावी पाखण्डपनले सबै क्षेत्र गिजोलिए । 

उत्तिकै सर्वमान्य नभए पनि करिब उत्तिकै मान्य अर्को वास्तविकता यस्तो होला- नेताहरू मात्र होइन, सुरक्षा प्रशासन, निजामती, व्यापारी, पेसाकर्मी, प्राज्ञ र समाजसेवीमा समेत हुनुपर्नेजति दायित्वबोध रहेन । यस्तो अवस्था सर्वत्र मडारिँदा राज्य, निजी क्षेत्र र अन्य क्षेत्रमा संलग्न जिम्मेवार व्यक्तिहरूले अपेक्षाकृत उत्तरदायित्व र निष्ठा धारण गरेनन् । सार्वजनिक संस्थाहरूमा जनविश्वास तीव्र गतिमा गुमिरहेछ ।

सबै क्षेत्रका जिम्मेवार व्यक्तिहरूमा धेरै किसिमले दायित्वबोध नरहँदा नेताहरूलाई थप गैरजिम्मेवार हुन बल मिल्यो । सामाजिक जिम्मेवारीमा व्यापक ह्रास आउन थाल्यो । व्यक्ति र संस्थाहरू सर्वत्र जवाफदेहीविहीन भए । लोकतान्त्रिक गणतन्त्रको गति मात्र होइन, मतिसमेत चौतर्फी रूपमा भ्रष्ट भयो । भनिरहनुपरेन, यस्तो परिस्थितिका केही अपवाद सबै क्षेत्रमा छन् । तथापि समसामयिक नेपालको मूल वास्तविकता सार्वजनिक दायित्वबोधको एकीकृत ह्रास नै हो ।

किसान मजदुर संघर्ष समितिले मिटरब्याजविरुद्ध गरिरहेको आन्दोलनलाई नै हेरौं । यो आन्दोलन सत्ताइस दिनदेखि काठमाडौंको सडकमा निरन्तर छ । आन्दोलनको वास्तविकता सरल छ ।

किसानहरूले स्थानीय साहुकारबाट ऋण लिए । अधिकांशले आफूले लिएको ऋणभन्दा अधिक रकम तिरिसके । यो अवधिमा अनेकौं जालझेल अपनाएर किसानहरूका जग्गा साहुले हड्पिए । ऋण चुक्ता गरिसक्दासमेत किसानहरू न ऋणबाट मुक्त भए न जग्गाको हकाधिकार नै आफ्नो रह्यो ।

किसानहरूले गरेको आर्थिक कारोबारमा किसानहरूले ऋण चुक्ता गरेर दायित्वबोध देखाए । बाँकी सबै जना दायित्वबोधबाट च्युत छन् । सामाजिक गैरजिम्मेवारी हावी छ । भइरहेको उत्पादनका साधनबाट किसानहरूलाई बेदखल गर्ने साहुकारले यस्तो अपराध एक्लै गरेनन् । स्थानीय सत्ता र पेसाकर्मीको मिलेमतोमा गरे । यसरी संलग्न रहँदा स्थानीय व्यापारी र राज्यका अधिकारीहरू सामाजिक रूपमा गैरजिम्मेवार रहे । न्यूनतम नैतिक दायित्वबाट पनि पतित भए । निरन्तर पतित भइरहेका छन् ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासमेत मिसिएको एउटा उदाहरण हेरौं । रौतहट जिल्लामा औंठाको नक्कली छाप बनाएर नभएको ऋणी खडा गर्दै नक्कली तमसुक बनाइएका घटनाहरू अहिलेको किसान आन्दोलनसँग जोडिएका छन् । ती तमसुक जसका नाममा बनाइए, उनीहरूलाई जिल्ला अदालतको आदेशसहित घरजग्गा खोस्न कथित साहुकारहरू आएपछि मात्र पत्तो भयो । यस्ता नक्कली तमसुकमध्ये एउटामा राजाराम सहनीलाई ऋणी बनाइएको छ । उनले साहु त्रिलोकचन्द्र सहनीबाट ३७ लाख रकम लिएको कागजात तयार गरिएको छ । अर्कामा सर्लाहीका रामेश्वर सहनीले रौतहटकै अर्का साहु नरेश सहनीबाट २० लाख रुपैयाँ लिएको कागजात छ । दुवैका साहु रौतहटकै हुन् । दुवैले ऋण लिएका थिएनन् । तर साहु र उनका मानिसहरू जिल्ला अदालतको आदेशसहित आफ्नो सम्पत्ति हडप्न आएपछि दुवै छाँगाबाट खसे ।

जसलाई ऋण लिएको थाहा छैन, उनीहरूकै नाममा यी तमसुकहरू बनाइएका छन् । ऋण लियो भनिएकै व्यक्तिको औंठाका नक्कली छाप बनाएर । नागरिकताको प्रतिलिपिसहित बाँकी सबै कागजपत्र सप्रमाण मिलाएर । तर नामधारी ऋणीलाई पत्तै नदिईकन । केही समयपछि

आफ्नो सम्पत्ति हत्याउन अदालतको आदेशसहित साहुकारको गिरोह आइपुग्दा मात्र यी सबै कुरा खुल्छन् ।

आफू निर्दोष रहेको तर आफ्नो सम्पत्ति गुम्न लागेको चाल पाएका ऋणीहरूलाई यस्तो जन्जालबाट निस्कन सजिलो छैन । किनकि उनीहरू सामाजिक दायित्वबोधबाट च्युत भएका नेता, सरकारी अधिकारी र पेसाकर्मीको चक्रव्यूहमा फसेका छन् । तर ऋण नलिँदासमेत अदालतले ऋणी ठहर्‍याएका यी व्यक्तिका लागि सबैभन्दा प्रारम्भिक उल्झन थियो- औंठाको छाप । उनीहरूलाई लागिरह्यो, हुबहु आफ्नै औंठाको ल्याप्चे तमसुकमा लाग्यो कसरी ? मिल्यो कसरी ? यी पक्षको भेउ पाउन उनीहरूलाई धेरै समय लाग्यो । राजाराम सहनीका जेठान देवेन्द्र सहनीले यो कुरा खोज्न थाले । यस्तो कसरी हुन्छ भन्दै उनी गम खाइरहे । उनलाई लागिरह्यो, ल नागरिकता प्रमाणपत्रको नक्कल त सिलसिला मिलाएर वा झुक्याएर वा विश्वासमै लिइयो होला, तर दुवै औंलाको ल्याप्चे त विश्वासबाहेक अरू कुनै तरिकाले लिन सकिँदैन । नक्कली त पक्कै हो, तर बन्यो कसरी ?

खोज्दै जाँदा देवेन्द्रले नक्कली तमसुक बनाउने लेखनदासबाट सुराक भेटे । कतैबाट बटुलेको सक्कली ल्याप्चेका आधारमा औंठाको नक्कली छाप यी गिरोहहरूले विहारको पटनामा बनाउँछन् । आवश्यक परे राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका अधिकारीहरूको मिलेमतोमा प्रमाणितसमेत गर्छन् । यस्तो जानकारी पाउनासाथ उनी खङ्ग्रङ्ग भए । केही समयपछि आफूलाई सम्हालेर पटनातिर हान्निए । लेखनदासले भनेको कुरा सही वा गलत ठम्याउन आफ्नै औंठाको नक्कली छाप बनाउन खोजे । नक्कली छाप पनि बन्यो । त्यो छाप सामान्य आँखाले हेर्दा हुबहु देखियो । उनलाई पत्यारै लागेन ।

अब राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले के गर्छ, उनलाई जाँच्नु थियो । उनले आफ्नै औंलाको सक्कली र नक्कली ल्याप्चे परीक्षण गर्न दिए । प्रयोगशालाका वैज्ञानिक अधिकृतले दुवै छाप मिल्छन् भनेर प्रमाणित गरे । उनले एउटा सक्कली हो र अर्को नक्कली भन्ने बेहोरा खुलाउँदै रेखागुण के आधारमा फरक छ, थाहा पाऊँ भन्दै पुनः निवेदन दिए । प्रयोगशालाका अधिकृतले दुइटै छापको रेखाको ‘गुण’ मिल्छ, ‘प्रकृति’ मिल्दैन भन्ने पत्र थमाए । अब यो औंलाका रेखाको ‘गुण’ मिल्छ, ‘प्रकृति’ मिल्दैन भनेको के हो, देवेन्द्र अन्योलमा परे । केही भेउ पाएनन् । यसको स्पष्ट व्याख्या माग्दै उनले पुनः निवेदन दिए । तर ‘प्रकृति’ मिल्दैन भनेको के हो, त्यसको चित्तबुझ्दो उत्तर पाएनन् ।

यसबीच देवेन्द्रले चाल पाए- राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कर्मचारी र वैज्ञानिक भनाउँदा अधिकृतहरू पेसागत र सामाजिक जिम्मेवारीबाट पतित भइरहेका छन् । किसानलाई ऋणी र भूमिहीन बनाउने कुकर्ममा दत्तचित्तले लागेका छन् । यस्तो पाखण्डी शासकीय संरचनाभित्रैबाट न्याय पाउन सजिलो छैन ।

खोज्दै जाँदा गुप्तचर विभागका एक उच्च अधिकारीबाट देवेन्द्रले थाहा पाए- नक्कली र सक्कली औंठा छापको प्रकृतिमा तात्त्विक फरक हुन्छ । जीवित औंलाले कागजमा ल्याप्चे लगाउँदा त्यसमा निहित आर्द्रता र रक्तसञ्चारले रेखाको प्रकृतिलाई विशिष्ट बनाउँछ । प्रत्येक पटक रेखाको प्रकृतिमा ससाना हेरफेर हुन्छन् तर गुण उही रहन्छ । यसको अर्थ, एकै व्यक्तिको ल्याप्चे बाँचेको समयमा र मरेपछि लगाउँदासमेत आर्द्रता र रक्तसञ्चारले गर्दा त्यो विशिष्ट किसिमले फरक हुन्छ । राम्रो परीक्षणबाट यस्तो भेद छुट्याउन सकिन्छ । त्यसैले रबरको र हातको छाप उस्तै हुँदासमेत सजिलै छुट्टिन्छ । रबरबाट बनाइएको छाप नक्कली भएकाले त्यहाँ न आर्द्रताको न रक्तसञ्चारको असर झल्किन्छ । छाप लगाउँदा सदैव उस्तै बस्ने भएकाले त्यसको प्रकृति निर्जीव हुन्छ, गुण सधैं एकनास ।

सामाजिक दायित्वबोधलाई धेरै किसिमले अर्थ्याउन सकिन्छ । दायित्वबोधसँग अनेक पक्ष एकसाथ जोडिन्छन् । जस्तै- सामर्थ्यको सकारात्मक पक्षले मानिसलाई बढी जिम्मेवार बनाउँछ, नकारात्मक पक्षले शोषक/पीडक बनाउँछ । भरपर्दा वा विश्वसनीय मानिसहरूले मिटरब्याज आन्दोलनका किसानहरूले जस्तै आफूले लिएको ऋण तिरेर दायित्वबोध निर्वाह गर्छन् । विश्वास गुमाएका मानिसहरूले साहुकारजस्तै अपराधी भएर पतित हुनुको नमुना पेस गर्छन् । जिम्मेवारी वहन गर्ने ओहोदा वा कार्यभार सम्हालेका व्यक्तिहरूमध्ये राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको परीक्षण अधिकारी नरहँदासमेत औंलाको गुण र प्रकृतिको भेद बताउँदै विशिष्ट कार्यभारको महत्त्व दर्साउँछन् । कार्यभारको अर्थबोध नभएकाहरूले वैज्ञानिक अधिकारी, लेखनदास र वकिलहरूले नक्कली तमसुकलाई सक्कली बनाउन भूमिका खेल्छन् । कुनै व्यक्ति, संस्था वा कामप्रतिको नैतिक दायित्व धारण गर्न नसकेको व्यक्ति र निकायले जिल्ला अदालतका न्यायाधीशले जस्तै नक्कली कागजातका भरमा ऋण नलिएको ऋणीलाई घरखेतबाट बेदखल गर्ने फैसला गर्छन् । व्यक्ति, संस्था र कामप्रति दायित्वबोध भएकाहरूले जुझारुपन प्रदर्शन गरेर ऋण तिर्छन्, सरकारलाई जवाफदेह बनाउने जिम्मेवारी लिन्छन् र राज्यका निकायहरूको सार्वजनिक उत्तरदायित्व माग गर्छन् । प्रस्ट छ, उच्च सार्वजनिक दायित्वबोधका कारण किसानहरू शिर ठाडो गरेर बाँचेका छन् । तर व्यापारी, राज्यका अधिकारी र नेताहरू अपराधबोधसहित न्यायमूलक समाज निर्माणमा घाँडो भएर बाँचिरहेका छन् ।

यसरी घोत्लिँदा सार्वजनिक दायित्वबोध व्यक्तिगत कुरा मात्र

होइन, शासकीय संस्कारसँग जेलिएको छ । तथापि सार्वजनिक दायित्वबोधको बहस व्यक्ति र परिवारतर्फ मोडिएको छ । व्यक्तिगत नैतिक पतन, ठगी धन्दा र अपराधतिर धकेलिएको छ । यसरी बहस भइरहँदा जनगणको लोकहित र सामाजिक सुरक्षाको सवाल केवल व्यक्ति र परिवारको मात्र जिम्मेवारी रहेको सहमतितर्फ मोडियो । बजारले कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटीमार्फत सामाजिक कार्यमा सघाएर सार्वजनिक जिम्मेवारीप्रति उत्तरदायी हुनुपर्छ भनियो । सार्वजनिक दायित्वबोधबारे गरिने यस्ता तर्कहरूले सबै किसिमले बजारलाई

नियमन नगर्ने नीति बनाउन भूमिका खेले । बजारसँगै राज्यसमेत अनेकौं प्रकारले गैरजिम्मेवार हुन थाल्यो । सार्वजनिक दायित्वबोधबाट निरन्तर विमुख भइरह्यो ।

झट्ट सुन्दा व्यक्तिगत र निजी दायित्वबोध मनमोहक सुनिन्छ । तर व्यक्तिको जिम्मेवारीलाई कर तिर्ने, निर्वाचनमा भोट हाल्ने, कानुनको पालना गर्ने, सरकारी ओहोदामा सेवा गर्ने आदि कार्यसँगै ‘परेका बेला देशको रक्षा गर्न तयार हुनुपर्ने’ कर्तव्यवरिपरि सहमति निर्माण गरियो । यस्तो कर्तव्यको पालना गरेबापत जनगणले निर्बाध अभिव्यक्त गर्न पाउने, संघसंस्था खोल्न पाउने, कार्यकारी पदमा जान पाउने, निर्वाचनमा उठ्न पाउने कार्यसँगै जीविकोपार्जन गर्ने, स्वतन्त्र हुने र सुखी हुने अधिकार छ भनियो । यी कुराहरूले अधिकांशको चित्ताकर्षण गर्छन् । सबै वैचारिकीका व्यक्ति र परिवारलाई स्वतःस्फ्र्तू अग्रसर रहने र नैतिक रूपमा जिम्मेवार कार्य गर्न अभिप्रेरित गर्छन् ।

तर प्रश्न उठ्छ, यस्तो सहमतिवरिपरि शासकीय संरचना कस्तो बन्छ ? त्यस ओहोदामा कार्यरत व्यक्ति र संस्थाहरूलाई कसरी अभिप्रेरित गर्छ ? कसरी प्रलोभनमा पार्छ ? यसरी व्यक्तिगत र निजी जिम्मेवारीलाई मात्र उछाल्दा सार्वजनिक नीतिनिर्माणको समग्र प्रक्रिया र विषयवस्तु बजार नियमन नगर्ने स्वार्थ र संस्कृतिलाई सघाउने कार्यमा सीमित भयो । सर्वसाधारणको न्यायिक जीवनका लागि राज्यको उत्तरदायित्व खुम्च्यो । मिटरब्याजविरुद्धको आन्दोलनको हकमा साहुकारका गतिविधिको नियमन नगर्ने गतिविधि झाँगिएन । किसानहरू नेता र राज्यका अधिकारीहरूको समेत मिलेमतोमा भूमिहीन हुने थितितर्फ धकेलिए ।

नेताहरूलाई हेक्का होस्, सार्वजनिक दायित्वबोधको यस्तो बुझाइले आज किसानहरूलाई भूमिहीन बनाउन खोजेजस्तै भोलि नेताहरूलाई पनि पार्टीविहीन बनाउँछ । व्यक्तिगत र निजी महिमागानले दलहरूको सार्वजनिक उत्तरदायित्व मात्र स्खलित हुँदैन, स्वतन्त्रहरू उदाउनसमेत सजिलो हुन्छ । अहिले यही भइरहेको छ ।

अन्त्यमा, अहिले न्याय र कानुनबीच विरोधाभास भएकाले किसानहरू सडकमा छन् । तर कुनै प्रकारको न्याय सार्वजनिक दायित्वबोधबेगर कल्पना गर्न सकिँदैन । काठमाडौंका सडकमा किसानहरूले गुन्जाएको मुक्तिको आवाजलाई ध्यान दिँदा मात्र पनि हामीलाई ज्ञात हुन्छ- गणतन्त्रको इतिहास, त्यसले समाएको गति, न्यायका आधारभूत मान्यता, कानुन र अधिकारबीचको बेमेल, सार्वजनिक मूल्यमान्यता र निष्ठा, समाजमा थोपरिएका उपायहरू सबैसबै थिग्रिएका छन् । यी सबै पक्षबारे पुनर्विचार गर्ने कार्य र सार्वजनिक दायित्वबोधको बहस छुट्टाछुट्टै होइन, सँगै मात्र अघि बढ्न सक्छ । यस्तो बहस नगरुन्जेल न किसानको मुक्ति सम्भव छ, न संरचनाका पीँधमा पारिएकाहरूको । यस्तो अवस्थामा शासक र शोषकहरूले थिति उस्तै राख्ने प्रयत्न त गरिरहन्छन् तर त्यसलाई टिकाइराख्न सक्दैनन् ।

प्रकाशित : भाद्र १३, २०७९ ०७:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×