कक्षाकार्य र गृहकार्यमै सीमित शिक्षण सिकाइ- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कक्षाकार्य र गृहकार्यमै सीमित शिक्षण सिकाइ

मधु राई

‘घरमा पढ्दै पढ्दैन म्याम, यसलाई गृहकार्य अलि बढी दिनुभए हुन्थ्यो ।’ निजी विद्यालयमा कखरा चिन्दै गरेका छोराछोरीका लागि यसरी गृहकार्यको माग गर्ने अभिभावक धेरै हुन्छन् । शिशु कक्षाका मात्र होइन एलकेजी र यूकेजीका विद्यार्थीका कतिपय अभिभावक पनि गृहकार्य थपिमाग्छन् । कतिपय अभिभावकले छोराछोरीले अक्षर चिने कि चिनेनन् भनेर घरमा बुझ्नेभन्दा पनि कक्षाकार्य गरे कि गरेनन्, शिक्षकले गृहकार्य दिए कि दिएनन् भनेर सोधपुछ गर्छन् । 

विशेष गरी शिशुकक्षाका साना विद्यार्थीहरूलाई सबैभन्दा पहिले अक्षर चिनाउनु तथा लेखनका आधारभूत सीप सिकाउनुपर्ने हुन्छ, जसका लागि लेखपढको सामान्य अभ्यासले मात्र पुग्दैन । विभिन्न शैक्षिक सामग्रीसहितको शिक्षणसिकाइ चाहिन्छ । तिनलाई लेखपढभन्दा पनि शैक्षिक सामग्रीले बढी आकर्षित गर्छ । जस्तो आटा र सुजीलाई पनि शैक्षिक सामग्रीका रूपमा उपयोग गर्न सकिन्छ । यसबाट बनाइने खेल सामग्रीले उनीहरूलाई उत्साहित मात्र बनाउँदैन आफैं पनि खेल्न अग्रसर बनाउँछ । बालविकास कक्षामा यसरी खेल्दै ६ महिना वा वर्ष दिनसम्म सिकेका सीपले उनीहरूलाई शिशुकक्षामा राम्ररी अक्षर चिन्न र लेख्न प्रोत्साहन मिल्छ ।

शिशुकक्षामा साँवा अक्षर लेख्न र पढ्न सिकेकाहरूलाई एलकेजीमा सरल शब्दहरू सिकाउँदै शब्दभण्डार बढाउने अभ्यास गराउनुपर्छ । यसो गरे विद्यार्थीहरूले यूकेजीमा सरल वाक्य सहजै गठन गर्न सिक्छन् । यस्तै पूर्वप्रावि तहका कतिपय विषय पढाउने र लेखाउनेभन्दा पनि अतिरिक्त क्रियाकलाप गर्दै सिकाउनुपर्ने हुन्छ । यसो गर्दा कतिपय अभिभावक ‘आज त म्याम कक्षाकार्य पनि छैन, गृहकार्य पनि दिनुभएनछ नि !’ भन्ने गरेको पाइन्छ । बेलाबेला विद्यार्थीलाई ‘पढेर आउनू है’ भन्दा पनि अभिभावकले लिखित रूपमै गृहकार्य खोज्ने गर्छन् । निजी विद्यालयका अधिकांश अभिभावक छोराछोरी सधैंभरि लेखपढ गरिरहुन भन्ने चाहन्छन् र उनीहरूकै इच्छा पूरा गर्न शिक्षक तथा विद्यालय व्यवस्थापन कम्मर कसेर लागेको देखिन्छ । एक त उमेर नपुगी विद्यालय भर्ना गर्न हतारिने अर्को विद्यालय जानेबित्तिकै लेखपढ गर्न थालोस् भनेर अतिरिक्त चाहना राख्ने अभिभावककै कारण पूर्वप्राथमिक तहको शिक्षणसिकाइ निष्क्रिय बन्न पुगेको देखिन्छ ।

पूर्वप्रावितहदेखि नै कक्षाकार्य र गृहकार्यको बोझ बोक्नुपर्ने विद्यार्थीहरूको बालमनोविज्ञानमा परिरहेको असर पर्नेबारे न शिक्षक संवेदनशील छन् न त अभिभावक नै । अझ कतिपय नानीबाबुलाई कक्षामा प्रथम आउनकै लागि ट्युसनसमेत पढाउने गरिन्छ । यसो गर्दा विद्यार्थीहरूको पढाइ राम्रो भए पनि घर र विद्यालयको चौघेराभन्दा बाहिरको समाजबाट भने अलगथलग हुन्छन् । आफ्नो समाजबारे अनभिज्ञ हुन्छन् । अझ कतिपय अभिभावक ‘मेरा छोराछोरी त कोठाबाट बाहिर निस्कँदैनन’ भनेर गौरवान्वित महसुस गर्छन् । यस्तो व्यवहारले औपचारिक शिक्षा फलदायी बन्न सकेको छैन ।

हुन पनि, ठूलाको तुलनामा पूर्वप्राथमिक तहका बालबालिकाको शिक्षणसिकाइ कक्षाकार्य र गृहकार्यभन्दा माथि उठ्न सकेको छैन । यसले समग्र स्कुले शिक्षाको प्रारम्भिक शिक्षणसिकाइ नै नीरस बन्न पुगेको छ । अभिभावकको अति चाहना र विद्यालय व्यवस्थापन लगायत शिक्षकहरूले पनि सोहीअनुरूपको शिक्षणसिकाइ गर्नाले यस्तो भएको छ । कक्षाकार्य र गृहकार्यको बोझले विद्यार्थीहरूको वर्तमान मात्र होइन, भविष्य नै अन्योलग्रस्त बनिरहेको छ ।

शिक्षणसिकाइ कक्षाकार्य र गृहकार्यभन्दा माथि उठ्न नसक्नुका एउटा प्रमुख कारण पाठ्यपुस्तक पनि हो । कतिपय नाम चलेका स्थापित विद्यालयले नै आफ्ना पाठ्यपुस्तक जीवन र जगत्सँग जोडिन्छ कि जोडिँदैन भन्नेबारे सोचेको पाइँदैन । पछिल्लोसमय प्रकाशकहरूबीच धेरै पृष्ठका पाठयपुस्तक प्रकाशन गर्ने होड नै चलेको छ । यस्तो प्रतिस्पर्धालाई स्थापित तथा नाम चलेका विद्यालयहरूले होस्टेमा हैंसे गरिरहेका छन् । उदाहरणका लागि, लावन्य इन्टरनेसनल प्रालिले प्रकाशित गरेका पाठ्यपुस्तक लिन सकिन्छ । पूर्वप्रावितहका लागि भनिएका पाँचवटा विषयका पुस्तकको तौल झन्डै २ केजी छ भने एउटै पुस्तकको तौल ४०० ग्राम र पृष्ठ पनि १४८ देखि १७२ सम्म छ । यस्तै ८.५ इन्च चौडा र ११.५ इन्च लम्बाइका ती पुस्तक विद्यार्थीले बोक्नै सक्दैनन् । अभिभावकले बोकिदिनुपर्छ । कक्षा उक्लिँदै जाँदा पुस्तकको भारी पनि बढ्दै जान्छ ।

ज्ञानको भन्दा पुस्तकको भारी बोक्न अभ्यस्त वतमान शिक्षाको शल्यक्रिया गर्न सरोकारवाला पूर्णतः चुकेका छन् । पृष्ठ संख्या बढाउनकै लागि बढी अभ्यासहरू थपिएका छन् । तर, ती अभ्यास कापीमा लेख्दा विद्यार्थीहरूको हस्तलेखन मात्र सपि्रँदैन पुस्तकको पृष्ठ संख्या पनि घट्छ । यसो हुँदा विद्यार्थीहरूको कक्षाकार्य र गृहकार्यको बोझ पनि स्वतः घट्छ ।

यद्यपि राजधानीस्थित कतिपय नाम चलेका शैक्षिक संस्थाले विद्यार्थीलाई कक्षाकार्य र गृहकार्यभन्दा पनि परियोजना कार्य लगायत अतिरिक्त क्रियाकलाप गराउनुपर्छ भनेर बेलाबेला कार्यशाला आयोजना गर्दै आएका छन् । जस्तो, काठमाडौं विश्वविद्यालय, रातोबंगला, ब्रिटिस स्कुल लगायतले आयोजना गर्ने यस्ता कार्यशालामा स्वदेशी तथा विदेशी प्रशिक्षकहरूले शिक्षणसिकाइमा बालमनोविज्ञान लगायत विद्यार्थीकेन्द्रित क्रियाकलाप गर्न सुझाउने गरेका छन् ।

पछिल्लो समय प्रारम्भिक बालविकासको अवधारणा अनुरूप साना विद्यार्थीलाई शिक्षणसिकाइ गर्नुपर्छ भनेर शिक्षा क्षेत्रमा अघोषित अभियान नै सुरु भएको छ । नगन्य विद्यालयहरूले सोहीअनुरूप शिक्षणसिकाइ गर्ने प्रयास गरिरहे पनि अधिकांश निजी विद्यालयको शिक्षणसिकाइ कक्षाकार्य र गृहकार्यमै सीमित छ । यसको बोझ हलुंगो पार्न पाठ्यपुस्तकको पाना घटाउन र आकार सानो बनाउन जरुरी छ । पूर्वप्राथमिक तहका विद्यार्थीहरूको उमेर र रुचिलाई ध्यानमा राखी केकस्ता पाठ्यसामग्री र अभ्यास समावेश गर्ने भन्नेबारे शिक्षाविद्लगायत सरोकारवालहरूसँग बृहत् छलफल गर्नु आवश्यक छ । विद्यार्थीको उमेर र रुचिलाई नजरअन्दाज गरी प्रकाशन गरिने पाठ्यपुस्तकले कस्तो ज्ञान दिइरहेको छ भन्नेबारे विद्यालय र प्रकाशकहरू संवेदनशील हुनुपर्छ । पाठ्यपुस्तक समयसापेक्ष विषयवस्तुले भरिए विद्यार्थीलाई पढाइप्रति रुचि मात्र जगाउँदैन, यसले जीवन र जगत्बारे बुझाउन पनि मद्दत गर्छ । अफसोस प्रचलित पाठ्यपुस्तकले विद्यार्थीलाई आकर्षित गरेको पाइँदैन, उल्टै कक्षाकार्य र गृहकार्यको बोझले थकित विद्यार्थीको शिक्षा आर्जन गर्ने जोस नै मारेको छ । अब यस्तो परम्परागत शिक्षण सिकाइ बदल्नु जरुरी छ ।

प्रकाशित : आश्विन ७, २०७९ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्

उच्च शिक्षामा निजीका २८ र सामुदायिकका ७२ प्रतिशत विद्यार्थी अस्वीकृत

‍१ लाख ३० हजार ८ सय ७८ जनालाई ग्रेडवृद्धि परीक्षाको मौका तर ५७ हजार ५ सय ३२ जनाले अर्को वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने 
सुदीप कैनी

काठमाडौँ — यस वर्ष सामुदायिकका ७२ र निजी विद्यालयका २८ प्रतिशत विद्यार्थी उच्च शिक्षा पढ्न अस्वीकृत भएको पाइएको छ । राष्ट्रिय परीक्षा बोर्डले गरेको कक्षा १२ को नतिजा विश्लेषणमा सामुदायिक विद्यालयका १ लाख ३४ हजार ६ सय २९ र निजी विद्यालयका ५३ हजार ३ सय ४४ जना विद्यार्थी ‘नन्ग्रेडिङ’ मा परेका हुन् । 


भदौ दोस्रो साता सार्वजनिक नतिजाअनुसार सामुदायिक र निजीका गरी ३ लाख ६२ हजार ५ सय ७१ परीक्षार्थी सहभागी भएकामा १ लाख ८७ हजार ९ सय ७३ जना अर्थात् ५२ प्रतिशत विद्यार्थी नन्ग्रेडिङमा परेका हुन् । दुई विषयसम्म नन्ग्रेडिङमा परेका १ लाख ३० हजार ८ सय ७८ जनाले ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् भने बाँकी ५७ हजार ५ सय ३२ जनाले पुनः अर्को वर्ष सबै बिषयको परीक्षा दिनुपर्नेछ । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार ८४ हजार ५ सय ५० जनाले एक र ४६ हजार ३ सय १८ जना विद्यार्थीले दुई विषयमा नन्ग्रेडिङ प्राप्त गरेको जनाए । उनीहरूका लागि ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ मा सञ्चालन हुँदै छ ।

यसपटकको परीक्षामा निजीभन्दा सामुदायिक विद्यालयका विद्यार्थी धेरै थिए । नतिजामा ग्रेडिङमा पर्ने विद्यार्थीको संख्या भने सामुदायिकको भन्दा निजीको बढी र नन्ग्रेडिङमा पर्ने विद्यार्थीको संख्या निजीको भन्दा सामुदायिकको बढी छ । सामुदायिक र निजी दुवैतर्फ गरी ४८ प्रतिशत विद्यार्थी मात्रै उच्च शिक्षामा भर्ना पाउन योग्य ठहरिएका थिए । विषयगत रूपमा मध्यमस्तरको जीपीए २.८१ देखि ३.२ र २.४१ देखि २.८१ प्राप्त गर्ने विद्यार्थीको संख्या अत्यधिक छ । ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी सामुदायिक विद्यालयका ५ सय ७१ जना छन् भने निजीका ३ हजार ६ सय ८ जनाले उक्त जीपीए प्राप्त गरेका छन् ।

बोर्डले लेटर ग्रेडिङ प्रणाली २०७८ अनुसार कक्षा १२ को नतिजा सार्वजनिक गरेको थियो । उक्त प्रणालीमा प्रत्येक विषयको सैद्धान्तिकतर्फ ३५ प्रतिशत अंक प्राप्त नगरे नन्ग्रेडिङ उल्लेख गरिन्छ । यसअघि सैद्धान्तिक र प्रयोगात्मकतर्फको अंक जोडेर नतिजा प्रकाशित हुन्थ्यो । यस वर्षको नतिजा विगतको भन्दा निकै खस्केको बोर्डले समेत स्वीकार गरेको छ । कक्षाकोठामा पढाइ राम्रो नभएको र विषयगत शिक्षक अभावले शिक्षाको गुणस्तर खस्केको पाइएको बोर्डका सदस्य सचिव अर्यालले बताए ।

सिकाइ र शिक्षक तालिम सुधारमा जोड

नतिजा सुधारका लागि कक्षाकोठाभित्रको सिकाइ र शिक्षक तालिममा सुधार गर्न शिक्षाविद्हरूले सरकारलाई सुझाव दिएका छन् । बोर्डले सोमबार गरेको नतिजा विश्लेषण कार्यक्रममा शिक्षाविद् विद्यानाथ कोइरालाले पढाइलाई सिकाइमा बदल्ने संस्कृति नहुँदा विद्यार्थी उच्च शिक्षाका लागि अस्वीकृत भएको बताए । ‘कोर्स पूरा गर्ने र त्यसैमा परीक्षा सञ्चालन गर्ने काम मात्र भइरहेको छ, नतिजा सुधार गर्न ग्रेडिङ विद्यार्थीको मात्र गरेर पुग्दैन, शिक्षकको पनि गर्नुपर्छ,’ उनले भने ।

शिक्षककै कारण नतिजा फरक/फरक आएको कोइरालाको भनाइ छ । ‘नन्ग्रेडिङको संख्या ज्यादै ठूलो भयो, यी विद्यार्थी आगो जस्ता हुन्, जता पनि लाग्न सक्छन्,’ उनले थपे, ‘सिकाइ सुधार गर्न शिक्षक तालिम चाहिन्छ ।’ ग्रेडवृद्धि परीक्षामा पनि सहभागी हुन नपाउने साढे ५७ हजार विद्यार्थीको विषयमा पुनर्विचार गर्न उनले सुझाव दिए । ‘नतिजा राम्रो ल्याउन परीक्षा प्रणाली सुधार गर्नुपर्छ, सिकाइ सुधार गर्नुपर्छ, स्तरीय परीक्षाको चिन्तन आवश्यक छ,’ उनले भने । शिक्षाविद् मनप्रसाद वाग्लेले सिकाउने भन्दा पढाउने काम बढी भएकाले धेरै विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न अयोग्य ठहरिएको टिप्पणी गरे । ‘कक्षा १ देखिकै नतिजामा विश्लेषण र सिकाइमा सुधार गरिनुपर्छ, सामुदायिक र निजी दुवै विद्यालयले विद्यार्थीलाई पाठ घोकाउने मात्र गरेका छन्,’ उनले भने । सामुदायिक विद्यालयका शिक्षक लगनशील नभएका कारण नतिजा कमजोर देखिएको काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनका डिन बालचन्द्र लुइँटेलले जनाए । ‘गलत पाठ्यपुस्तक गलत ढंगले पठनपाठन भइरहेको छ, विद्यालयमा सिकाइ हुन सकेको छैन,’ उनले भने, ‘सिकाइ नभएसम्म जति जना विद्यार्थीले ४ जीपीए ल्याए पनि काम छैन ।’ पाठ्यसामग्रीमा त्रुटि रहेको उनले औंल्याएका हुन् । कक्षाकोठालाई सिकाइको केन्द्र बनाएर पठन संस्कृति सुधार गर्न सके मात्र विद्यालयदेखि विश्वविद्यालयसम्मको नतिजा राम्रो आउने उनले भनाइ थियो । ‘परीक्षालाई बाघ जस्तो बनाइएको छ, बाघसँग जो पनि डराइहाल्छ नि,’ लुइँटेलले थपे, ‘सिकाइ सुधार नगरे परीक्षा मात्र लिएर कोही पनि बहादुर हुँदैन ।’

बोर्डले शिक्षाविद्, प्राध्यापक, विश्वविद्यालयका पदाधिकारी, विद्यालय सञ्चालक, प्रधानाध्यापक, शिक्षकलगायत सरोकारवालासँग कक्षा १२ को नतिजाका बारेमा छलफल गरेको थियो । हिसानका अध्यक्ष रमेश सिलवालले बोर्डले नतिजा राम्रो र नराम्रो ल्याउने विद्यालय पहिचान गरी सबल र दुर्बल पक्षबारे जानकारी दिनुपर्ने बताए । पढाइ र परीक्षाको विधि नबदलेसम्म नतिजामा सुधार आउन नसक्ने उनको दाबी छ । ‘शिक्षकले परिणाममुखी कार्यसम्पादन गरे/गरेनन् ? विद्यार्थी मात्र पास, फेल हुने शिक्षक र विद्यालय पास, फेल नहुने ?’ उनले प्रश्न गरे । शिक्षक तालिमसँगै उनीहरूको सेवासुविधा वृद्धि गरेर योग्य र सक्षम व्यक्तिलाई शिक्षण पेसामा आकर्षित गर्न सिलवालले सुझाव दिए । ‘निजी विद्यालयको नतिजा राम्रो देखिए पनि ग्रेडिङमा परेका अधिकांश विद्यार्थीले औसतमा ५० देखि ६० अंक मात्र प्राप्त गरेका छन्, नतिजामा सन्तोष गर्ने ठाउँ छैन,’ उनले भने ।

काठमाडौंको तारकेश्वरस्थित साङला बालकुमारी माविका प्रधानाध्यापक टीकाराम भट्टले पूर्वप्राथमिक कक्षादेखि नै शिक्षक सिकाइ प्रभावकारी नहुँदा कक्षा १२ को नतिजा कमजोर देखिएको बताए । ‘राज्यले तल्लो कक्षामा ध्यान दिएको छैन, कक्षा १०/१२ मा पुगेपछि मात्रै राम्रो नतिजा खोजेर पाइँदैन,’ उनले भने । शिक्षक तालिमलाई कक्षाकोठासम्म पुर्‍याउनुपर्ने र कार्यसम्पादन करार गरेर मात्रै शिक्षकलाई पठनपाठनमा सहभागी गराउनुपर्ने उनको भनाइ छ ।

ललितपुरस्थित युलेन्स स्कुलका प्रअ मेदिनी लामिछानेले अनौपचारिक रूपमा नतिजाको समीक्षा गरेर मात्रै नपुग्ने जनाए । ‘विद्यालय र शिक्षकको कमजोरी के–केमा भयो ? के सुधार गर्नुपर्छ ? त्यो कुरा बोर्डले भनिदिनुपर्‍यो,’ उनले भने । लामिछानेले प्रश्नपत्र र उत्तरपुस्तिका परीक्षकमा समेत सुधार गर्नुपर्ने औंल्याए । उत्तरपुस्तिका परीक्षकलाई लाइन्सेन्स दिने व्यवस्था गर्नुपर्ने उनको माग छ । मनमैजु माविका प्रअ रविना महर्जनले नतिजा सन्तोषजनक नहुनुमा शिक्षक र विद्यालयलाई मात्र दोष दिएर उम्कन नमिल्ने बताइन् ।

लेटर ग्रेडिङ प्रणालीबारे विद्यार्थी–अभिभावकमा सचेतना र तल्लो कक्षादेखि नै सिकाइ सुधारमा जोड दिनुपर्ने उनको भनाइ छ । गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले पनि पढाइ र सिकाइ सुधार गर्न स्थानीय तह, विद्यालय र शिक्षकलाई बाध्यकारी सल्लाह/सुझाव आवश्यक रहेको जनाए ।

नतिजा सुधार्न सामूहिक प्रयत्न गरौं : शिक्षामन्त्री

छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधार्न आलोचनाभन्दा सामूहिक प्रत्यन आवश्यक रहेको बताए । कमीकमजोरी पत्ता लगाएर सबैको प्रयासबाट मात्रै शिक्षाको गुणस्तर सुधार गर्न सम्भव रहेको उनको भनाइ थियो । ‘पाइलैपिच्छे आलोचना गर्दै हिँडेर शिक्षा सुध्रिँदैन, शिक्षक, स्थानीय तह, जनप्रतिनिधि, निजी क्षेत्र, शिक्षा मन्त्रालय, परीक्षा बोर्डले सामूहिक पहल गरे सुधार असम्भव छैन ।’

मन्त्री पौडेलले नतिजा राम्रो नआउनुमा सबैभन्दा बढी जिम्मेवार प्रधानाध्यापक र शिक्षक हुनुपर्ने औंल्याए । सहकार्यमा काम गर्न सक्ने शिक्षा प्रणालीलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन सकिने उनको भनाइ छ । विद्यालयदेखि विश्वविद्यालयसम्म शैक्षिक क्यालेन्डर लागू गर्नसमेत उनले निर्देशन दिए । ‘एउटा व्यक्तिले अध्ययनका लागि शिक्षण संस्थामा २५ वर्ष बिताउँछ,’ उनले भने, ‘कुन समयमा पढाइ हुन्छ, कुन समयमा परीक्षा हुन्छ र नतिजा कहिले आउँछ भन्ने कुरा उसलाई थाहा हुनुपर्छ ।’

प्रकाशित : आश्विन ७, २०७९ ०८:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×