कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रहरीलाई पुस्तक

व्यक्तिलाई समाजसँग जोड्ने बलियो तन्तु हो किताब । यो कुरा समाजका सांस्कृतिक तथा राजनीतिक जीवनमा किताब पढ्नेहरूको संलग्नता नपढ्नेहरूका तुलनामा बढी पाइएको प्रसंगबाट पनि सिद्ध हुन्छ ।
सुजित मैनाली

शासकले कमजोरहरूमाथि दमन गरी आफ्ना हित सुनिश्चित गर्ने हेतुसहित बनाएको हतियारधारी व्यक्तिहरूको समूह नै प्रकारान्तरमा प्रहरीका रूपमा सङ्गठित भएको हो । नेपालमा पनि राणाहरूको गाथगादीको सुरक्षा गर्ने र उनीहरूका निम्ति दुनियाँदारमाथि हिंसा प्रयोग गर्ने अख्तियारी पाएको पल्टनबाट प्रहरी संगठनको अवधारणा जन्मिएको हो ।

प्रहरीलाई पुस्तक

विक्रम संवत् २००७ सालको क्रान्तिका योद्धाहरूलाई समेटेर २०१२ सालमा नेपाल प्रहरी स्थापना भए पनि समयक्रममा यसको सत्ताविरोधी मनोविज्ञान ओझेल पर्दै गयो र सेनाजस्तै प्रहरी पनि राज्यको वफादार संयन्त्रका रूपमा स्थापित भयो ।

फ्रेडरिक एंगेल्स, म्याक्स वेबरदेखि चार्ल्स टिलीसम्मका चिन्तकले हिंसाकै जगमा राज्य ठडिएको हुन्छ भनेका छन् । यसरी अस्तित्वमा आएको राज्य हिंसामार्फत नै टिकिरहेको छ । राज्यका तर्फबाट हिंसाको प्रयोग गर्ने वैधानिकता पाएको निकाय हुनुको नाताले अहिलेको सामाजिक तथा राजनीतिक व्यवस्थामा प्रहरीको महत्त्वपूर्ण स्थान छ । जनताविरुद्ध प्रयोग भएका हिंसासँग जेलिएको पृष्ठभूमीले गर्दा अहिलेको लोकतान्त्रिक परिवेशमा पनि आममानिसका निम्ति प्रहरी भयको प्रतीक बनिरहेकै छ । आफ्नो यस्तो छवि बदल्न नेपाल प्रहरीले विभिन्न कार्यक्रम गरिरहेको छ । त्यस्ता कार्यक्रमले प्रतिफल दिइरहेका भए पनि ती पर्याप्त छैनन् । यस्तोमा प्रहरीले पठन संस्कृतिको महत्त्वलाई आत्मसात् गरी यसको प्रवर्द्धनमा संगठनलाई परिचालन गर्न सके जनतासँगको उसको अन्तरक्रिया अझ सघन बन्दै जान्छ । यसबाट विस्तार हुने पठन संस्कृतिले अपराध नियन्त्रणमा हिंसा प्रयोगको बाध्यतालाई सीमित गर्न मद्दत गर्छ । यसले देशभित्र र बाहिर देखा परिरहेका अपराधका पछिल्ला प्रवृत्तिहरूलाई अझ राम्रोसँग बुझेर त्यसविरुद्ध परिचालित हुन प्रहरी संगठनलाई थप योग्य बनाउँछ । तसर्थ अनुशासित समाज निर्माण गर्ने अभियानमा किताबले खेल्न सक्ने भूमिकाबारे चर्चा गर्नु प्रासंगिक हुन्छ ।

नैतिक प्रयोगशाला

अपराध सामाजिक समस्या हो । प्राज्ञिक जगत्ले १९ औं शताब्दीसम्म पनि यसलाई व्यक्तिगत समस्याका रूपमा हेर्थ्यो । १९ औं शताब्दीको मध्यतिर इटालीका अपराधशास्त्री सेसर लुम्ब्रोसोले आपराधिक वृत्ति जन्मजात हासिल हुन्छ भन्ने सिद्धान्त प्रतिपादन गर्दै शारीरिक बनोटका आधारमा अपराधीहरूको पहिचान गर्न सकिने विकल्प सुझाएका थिए । बौद्धिक वृत्तले त्यस्तो सिद्धान्तलाई अस्वीकार गरी अपराधलाई सामाजिक समस्या ठहर गरेको धेरै भइसक्यो । यद्यपि प्रहरी संगठनसहित राज्यका निकायहरूले यसको मर्मलाई अपेक्षित ढंगले आत्मसात् गर्न सकिरहेका छैनन् । त्यसैले आपराधिक घटना घट्नुअगावै त्यसविरुद्ध परिचालित हुने विकल्प प्रभावकारी बन्न सकिरहेको छैन ।

अपराधको मूल समाजको आर्थिक तथा सांस्कृतिक पाटोसँग जोडिएको हुन्छ । समाजको आर्थिक जीवनका जटिलताहरूलाई सम्बोधन गर्न किताबले परोक्ष भूमिका खेल्न सक्छ । सामाजिकीकरणको उपजका रूपमा व्यक्तिले ग्रहण गरेको आपराधिक वृत्तिबाट उसलाई विमुख गराउनचाहिँ किताबले प्रत्यक्ष भूमिका खेल्न सक्छ भनि सिद्ध गर्ने अनेक उदाहरण छन् ।

अपराध सामाजिक विचलन हो । समाजका मूल्यमान्यतालाई बेवास्ता गर्दै व्यक्ति जब परिवारकेन्द्रित वा आत्मकेन्द्रित बन्दै जान्छ, समाजले अपराध ठहर गरेका कर्ममा प्रवृत्त हुने जोखिममा ऊ उति नै फँस्न पुग्छ । व्यक्तिलाई समाजसँग जोड्ने बलियो तन्तु हो किताब । यो कुरा समाजका सांस्कृतिक तथा राजनीतिक जीवनमा किताब पढ्नेहरूको संलग्नता नपढ्नेहरूका तुलनामा बढी पाइएको प्रसंगबाट पनि सिद्ध हुन्छ । किताब पढ्ने व्यक्तिले अन्य व्यक्तिको मनोभाव, सामाजिक नैतिकता र आचारलाई गहिरोसँग महसुस गरेको हुन्छ । यसले व्यक्तिको जीवनको सामाजिक पाटोलाई चलायमान राखी सामाजिक विचलनको सम्भावनालाई कम गर्छ । जे. हेकमल्डरले विशेषतः आख्यानका किताबहलाई ‘नैतिकता सिकाउने प्रयोगशाला’ भनेको प्रसंग स्मरण गर्नु यस सन्दर्भमा वाञ्छनीय हुन्छ ।

साहित्य लेख्नुजस्तै पढ्नु पनि धैर्य र होसियारीपूर्वक गरिने ध्यानस्थ कर्म हो । लेख्नुजस्तै पढ्नु पनि कला हो । अन्य कलामा अभ्यस्त मानिसले जस्तै पठनमा अभ्यस्त मानिसहरूले पनि अरूको दृष्टिकोणबाट जीवनजगत् नियाल्न र अरूको मनोभाव गहिरोसँग महसुस गर्न सक्छन् । पढ्ने बानीले अक्षर छिचोल्ने सीप मात्र सिकाउँदैन, अरू मानिसका भावना र अभिप्राय पढ्न सक्ने क्षमता पनि अभिवृद्धि गराउँछ । अन्य व्यक्तिसहित समाज र समस्त चराचर जगत्को अहित गर्न प्रवृत्त नहुने पात्रता व्यक्तिमा विकास गराउन महाभारतमा भनिएको ‘हामीले सबैसँग त्यस्तो व्यवहार गर्नृुपर्छ, जस्तो व्यवहार हामी अरूबाट अपेक्षा गर्छौं’ (शान्तिपर्व, १६७।९) को भाव व्यक्तिमा जागृत गराउन आवश्यक छ । यस्तो मनोभावको स्रोत किताब हो भनि विभिन्न अध्ययनबाट सिद्ध भएकाले अपराध निरुत्साहित गर्ने दिशामा किताबले खेल्न सक्ने भूमिकातर्फ पनि ध्यान दिन आवश्यक छ ।

अमेरिकी दातृ नियोग ‘नेसनल इन्डाओमेन्ट फर द आर्ट्स’ ले अमेरिकीहरूको पठन संस्कृतिबारे बृहत् अनुसन्धान गरेर सन् २००७ मा ‘टु रिड अर नट टु रिडः अ क्वेस्चन अफ नेसनल कन्सिक्वेन्स’ शीर्षकमा अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको थियो । अनुसन्धानका क्रममा कारावास जीवन बिताइरहेका र कारागारबाहिर रहेका वयस्क व्यक्तिहरूको पढ्ने बानीबीच तुलना गरिएको थियो । त्यस क्रममा कारागारमा रहेका व्यक्तिहरू पठनकर्ममा कम अभ्यस्त रहने गरेको तथ्य फेला परेको थियो ।

मानिसलाई कानुनी र नैतिक हिसाबले स्वस्थ तुल्याउन किताबहरू सहायक हुन्छन् भन्ने निष्कर्षतर्फ अन्य अध्ययनले पनि औंल्याएका छन् । त्यस्तो एउटा अध्ययनबारे सन् २०१८ मा प्रकाशित मार्था सी. पेनिङ्टन र रोबर्ट पी. वेक्सलरको किताब ‘ह्वाई रिडिङ बुक्स स्टिल म्याटर्स’ मा उल्लेख छ । किताबमा दिइएको विवरण अनुसार इटालीका केही अनुसन्धाताले समाजका अपहेलित समुदायप्रतिको पूर्वाग्रहमा साहित्यको अध्ययनले कमी ल्याउँछ कि ल्याउँदैन भनि खोजबिन गरेका थिए । अनुसन्धानका क्रममा इटालीको प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरूलाई दुई समूहमा बाँडिएको थियो । एउटा समूहलाई आप्रवासी, शरणार्थी र समलिंगीहरूप्रति भेदभाव दर्साउने वर्णन भएका ह्यारी पोर्टरका केही अंश पढ्न दिइएको थियो । अर्को समूहलाई त्यस्तो वर्णन नभएका सोही किताबका केही अंश पढाइएको थियो । पढाउनुअघि आप्रवासी, शरणार्थी र समलिंगीप्रति सबै विद्यार्थीको धारणा संकलन गरिएको थियो । ह्यारी पोर्टरको अंश पढेको एक सातापछि विद्यार्थीको धारणा फेरि बुझ्दा भेदभावयुक्त वर्णन भएको अंश पढ्नेहरू ती समूदायप्रति बढी सकारात्मक पाइएका थिए । सामाजिक भेदभाव र यससँग जोडिएका अपराध कम गर्न विद्यालयका पाठ्यक्रममा भेदभाव दर्साएका आख्यान समेट्नुपर्ने निश्कर्ष अध्ययनबाट निस्किएको थियो । काँडा निकाल्न आखिरमा काँडाले नै त घोच्नुपर्ने रहेछ ! सोही अध्ययन टोलीले इटालीकै उच्च माध्यमिक विद्यालय र बेलायतका विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरूमाझ अध्ययन गर्दा पनि उस्तै नतिजा फेला पारेको थियो ।

यस्ता निष्कर्षलाई गृह तथा शिक्षा प्रशासनले मनन गर्न सक्नुपर्छ । अपराध भएपछि हुने सक्रियताभन्दा अपराध हुनुअगावै त्यसविरुद्ध लिइने अग्रसरताबाट प्रहरीको कार्यकुशलता सिद्ध हुन्छ । यसले अपराध नियन्त्रणका नाममा हिंसा प्रयोग गर्ने सन्दर्भलाई सीमित गरी प्रहरीको जनमैत्री छवि अभिवृद्धि गर्न पनि मद्दत गर्छ ।

अग्रसरताका उपाय

यदि प्रहरी संगठन पठन संस्कृति अभिवृद्धि गर्ने काममा परिचालित हुने हो भने समाजमा नैतिक मूल्य संस्थागत गर्ने दिशामा ठूलो फड्को मार्न सकिन्छ । प्रहरीको चुस्त संगठनमा पठन संस्कृति प्रवर्द्धन अभियान नारिन पाउने हो भने सुपठित र सचेत जमात सृजना गर्ने दिशामा ठोस उपलब्धि हासिल हुन्छ । यस्तो अभियानका लागि प्रहरीले राज्यका अन्य निकायसहित स्थानीय सरकार र जनतासँग समन्वयकारी भूमिका खेल्न सक्नुपर्छ ।

कारागारलाई यातनागृह मान्ने अवधारणाको अन्त्य भएर यसलाई सुधारगृहमा रूपान्तरित गर्नुपर्ने आवाज उठिरहेको छ । सामाजिक विचलन रोक्ने सहजकर्ताका रूपमा प्रहरीको छवि परिमार्जन गर्ने प्रयत्न विभिन्न देशमा भइरहेका छन् । कारागारमा थुनिएका व्यक्तिका लागि फुर्सद नै भयावह यातनासरह हुन्छ । यस्तोमा उनीहरूसम्म पुस्तकालय सेवा पुर्‍याउने हो भने किताब उनीहरूको सबैभन्दा नजिकको साथी बन्दो रहेछ भन्ने महसुस पङ्क्तिकारलाई कारागारभित्र स्थापित पुस्तकालयको अवलोकनका क्रममा त्यहाँ थुनिएका व्यक्तिहरूसँग अन्तरक्रिया गर्दा पनि भएको छ । कारागारभित्र किताब उपलब्ध हुने हो भने अक्षर छिचोल्न सक्ने कैदीहरूले अधिकांश समय पढेरै बिताउने रहेछन् । त्यसो गर्नुको विकल्प उनीहरूसँग नहुने पनि रहेछ । कारागार जीवन सकिएपछि पनि उनीहरूलाई किताबमा टिकाइराख्ने योजनासहितका कार्यक्रम सञ्चालन गर्न सके प्रहरीले पनि कारागारलाई सुधारगृहका रूपमा स्विकारेको सिद्ध हुनेछ । फेरि आपराधिक कर्ममा संलग्न व्यक्तिहरूलाई कारागारमा थुनेर भन्दा किताब पढाएर उनीहरूमा सद्गुण आरोपित गर्न सजिलो हुन्छ । यस विषयमा विभिन्न देशमा अनेक प्रयोग भएका छन् । संगीन अपराधमा संलग्न व्यक्तिहरूमाझ अमेरिकामा सञ्चालित पठन कार्यक्रम ‘चेन्जिङ लाइभ्स थ्रु लिटरेचर’ लाई त्यस्तो एउटा नमुना मान्न सकिन्छ ।

राज्यलाई अधिकतम नागरिकसँग नियमित जोड्ने निकाय हो प्रहरी । देशव्यापी रूपमा फैलिएको यसको सञ्जाल र यसभित्र अभ्यास हुने अनुशासनका कारण प्रहरी संगठन राज्यको सबैभन्दा चुस्त र प्रभावकारी निकायका रूपमा परिचित छ । संगठनसहित समग्र देशलाई लाभ पुग्ने गरी प्रहरीलाई पठन संस्कृति अभियानमा सक्रिय गराउने केही सजिला र व्यावहारिक उपाय छन् । वडास्तरमा रहेका प्रहरी चौकीदेखि प्रहरी मुख्यालयसम्ममा जनताको आवतजावत भइरहन्छ । देशभरिका प्रहरी कार्यालयमा पुस्तकालय स्थापना गरी तिनलाई प्रहरी र कारागारमा रहेका व्यक्तिका अतिरिक्त आम नागरिकका निम्ति पनि खुला गर्ने हो भने नागरिक–प्रहरी अन्तरक्रिया अझ सघन हुन्छ । यस्ता काममा उसले राज्यका अन्य निकाय र नागरिकहरूबाट पनि पर्याप्त सहयोग जुटाउन सक्छ । नागरिक तहबाट अग्रसरता लिइएको नेसनल लाइब्रेरी क्याम्पेनले स्थानीय स्तरमा प्रहरी–प्रशासनसँग समन्वय गरी जेलभित्र पुस्तकालय खोल्ने र जेलजीवन बिताइरहेका व्यक्तिहरूलाई साहित्य सृजनामा प्रेरित गर्ने काम गरिरहेको छ । कारागारमा पुस्तकालय निर्माण गर्ने अभियानमा राज्यका निकाय, विभिन्न संघसंस्था र व्यक्तिहरूले छुट्टाछुट्टै पहल गरिरहेका छन् । प्रहरीले कार्यक्रम नै बनाएर यस्ता योजनालाई व्यवस्थित र सङ्गठित गर्ने हो भने कारागारसहित समस्त प्रहरी कार्यालयलाई किताबमय बनाई तिनलाई सृजना र नैतिकता सिकाउने थलोका रूपमा विकास गर्न सकिन्छ ।

नागरिकसँगको अन्तरक्रियालाई सघन बनाउने उद्देश्यका साथ प्रहरीले देशव्यापी रूपमा ‘विद्यार्थीसँग प्रहरी’ कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । विद्यार्थीसँग प्रहरीको विश्वासिलो सम्बन्ध विकास गर्ने ध्येयसहित सञ्चालित यस कार्यक्रम अन्तर्गत प्रहरीले विद्यार्थीहरूलाई कानुनबारे सुसूचित गराउँछन् । पाठ्यक्रम नै बनाएर प्रहरी संगठनले यस कार्यक्रमलाई प्रभावकारी बनाउन खोजेको छ ।

‘विद्यार्थीसँग प्रहरी’ को पाठ्यक्रम नियाल्दा यसले कानुनबारे विद्यार्थीलाई जानकार गराउने कुरालाई प्राथमिकता दिएको बुझिन्छ । साइबर अपराधजस्तो अहिलेको महत्त्वपूर्ण विषयलाई पनि पाठ्यक्रममा समेटेर प्रहरीले आफूलाई अद्यावधिक गरिरहेको छनक दिएको छ । नेपालका विश्वविद्यालयले पाठ्यक्रममा डिजिटल सोसलाइजेसन, डिजिटल इकोनोमीदेखि साइबर क्राइमसम्मका विषयलाई समेट्न जाँगर नचलाइरहेका बेला प्रहरीको यो पहलकदमी प्रशंसनीय छ । ‘विद्यार्थीसँग प्रहरी’ कार्यक्रम अन्तर्गत पठन संस्कृतिलाई पनि समेट्ने हो भने कार्यक्रम अझ प्रभावकारी बन्ने देखिन्छ ।

यस्तो प्रयत्न नवलपरासी (बर्दघाट पूर्व) ले २०७७–७८ सालमा गरेको थियो । जिल्ला प्रहरी कार्यालयको अग्रसरतामा जिल्ला प्रशासन कार्यालय, स्थानीय सरकार र त्यस क्षेत्रका शैक्षिक संस्थाहरूसँगको सहकार्यमा आयोजित ‘विद्यार्थीसँग प्रहरी’ कार्यक्रममा पठन संस्कृति विज्ञका रूपमा पङ्क्तिकारले पनि सहभागिता जनाएको थियो । जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रमुख प्रकाश मल्ल (प्रहरी उपरीक्षक) ले पठन संस्कृतिको महत्त्वलाई महसुस गरी यसको प्रवर्द्धनमा सक्रियता जनाउँदै आएकाले जिल्लामा सञ्चालित ‘विद्यार्थीसँग प्रहरी’ कार्यक्रममा किताब र पठन संस्कृति सम्बन्धी चर्चा पनि समेटिएको थियो ।

कार्यक्रम अन्तर्गत प्रहरी अधिकारी, गाउँपालिका वा नगरपालिका प्रमुख, पठन संस्कृतिविज्ञ र विद्यार्थीलाई उत्प्रेरित गर्न सक्ने सामाजिक अभियन्ताहरूले विद्यार्थीसँग अन्तरक्रिया गरेका थिए । प्रहरी अधिकारीसँग विद्यार्थीले कानुन र अधिकारबारे संवाद गरे । गाउँपालिका वा नगरपालिका प्रमुखसँग जिल्लामा भइरहेका विकास–निर्माणदेखि शिक्षासम्मका गतिविधिबारे सोधखोज गरे । प्रेरक जीवन बाँचेका सामाजिक अभियन्तासँगको अन्तरक्रियाबाट जीवनमा हरेश नखाने र कर्मशील हुने प्रेरणा उनीहरूले पाए भने पठन संस्कृति विज्ञसँगको अन्तरक्रियाबाट पढ्न प्रेरित भए ।

त्यस उदाहरणीय कामलाई थप परिष्कार गरी देशव्यापी रूपमा सञ्चालन गर्न सके विद्यार्थीसँग प्रहरीको विश्वासिलो सम्बन्ध बनाउने र पठन संस्कृति प्रवर्द्धन गर्ने दिशामा सार्थक उपलब्धि हासिल हुनेछ । शिक्षा मन्त्रालयले पठन संस्कृति प्रवर्द्धनका नाममा एकाध कार्यक्रम गरिरहेको भए पनि कार्यान्वयन गर्ने निकायका मानिसहरूमा बलियो इच्छाशक्ति नहुँदा तिनले प्रतिफल दिन सकेका छैनन् । यस्ता कार्यक्रमका नाममा राज्यको अमूल्य साधनस्रोत खेर गइरहेको छ । यस्तोमा संघीय सरकारको वित्तीय सहयोग तथा स्थानीय सरकारसँगको सहकार्यमा पालिका वा वडास्तरमै पठन संस्कृतिसमेत समेटिएको ‘विद्यार्थीसँग प्रहरी’ कार्यक्रम सञ्चालन गर्ने दिशामा प्रहरी संगठनले पहलकदमी लिनु वाञ्छनीय हुन्छ । यसको कार्यान्वयनमा क्रियाशील हुने गरी सङ्गठनभित्रका पढैया प्रहरीहरूको समूह बनाई प्रहरी मुख्यालयको प्रत्यक्ष निर्देशनमा त्यसलाई परिचालन गर्न सकिन्छ ।

लौरो अथवा बन्दुक बोकेर गरिने ड्युटीबाट अबको जमानामा प्रहरीले जस पाउन सक्दैन । यद्यपि हिंसा प्रयोग गर्ने कर्मलाई पनि जारी राख्नैपर्ने बाध्यतामा प्रहरी छ । यसबाट नागरिकमाझ आफ्नो छवि नबिग्रियोस् भनेर ‘मुस्कानसहितको सेवा’ देखि ‘प्रहरी मेरो साथी’ सम्मका कार्यक्रम ल्याउँदा पनि प्रहरीको बर्दी आम नागरिकका निम्ति भरोसाको प्रतीक बन्न सकिरहेको छैन । यस्तोमा लौरो अथवा बन्दुक बोकेको प्रहरीको ठाउँमा किताब बोकेको प्रहरीको चित्रलाई ब्रान्डिङ गर्ने गरी प्रहरी संगठनले अग्रसरता लिनु समयोचित हुन्छ ।

प्रकाशित : आश्विन २, २०७९ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?