कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चाडपर्वलाई विकृत नबनाऔं

झमक घिमिरे

एक ताका एलिजा गौतमको डगी डान्सले खलबल्याइदियो नेपाली समाजलाई । उनको बारेमा सकारात्मक टिप्पणी पनि आए, नकारात्मक पनि । उनी रातारात भाइरल भइन् । सन्दर्भ तीजको दरको थियो । यतिबेला तीज सकिएको छ । यहाँ तीज आउन एक महिनाअगाडिदेखि दर खाने–खुवाउने सम्भ्रान्त महिला वर्ग छ ।

चाडपर्वलाई विकृत नबनाऔं

तीज वर्षमा एक पटक आफ्ना दिदीबहिनी भेटघाट गरेर आपसमा दुःख सुख, आत्मीयता साटासाट गर्ने चाड हो । अहिले रमाइलो गर्ने नाममा विकृति भित्र्याएका छन् । तीजजस्तो सांस्कृतिक, धार्मिक, आध्यात्मिक महत्त्व बोकेको चाडलाई विकृत बनाएर मनाइरहेका छन् ।

यहाँ स्वतन्त्रताको पनि कुरा उठ्ला । महिला दिदीबहिनी जे जे खानुहुन्छ खानुस् जे–जे लगाउनुहुन्छ लगाउनुस् । तर सभ्य बनेर लगाउनुहोस् खानुहोस् । कुनै सांस्कृतिक चाडको महत्त्व, त्यसको औचित्य नबिगार्नुहोस् । अहिले आधुनिकताको नाममा अनेकथरीका विकृति भित्र्याउन कसैलाई पनि अधिकार छैन । एकाथरी दिदीबहिनी छन् जो आफ्नो स्वास्थ्यको बिलकुलै ख्याल गर्दैनन् । पानीसम्म खाँदैनन् र अन्त्यमा हस्पिटल जान्छन् । ओहो, दुईथरीकै दिदीबहिनीको चाला देख्दा अति हुन् । आफूलाई माया गर्ने, घर, परिवार र श्रीमान्प्रति आत्मीय समर्पण उनीहरूको हुन्छ नै तर आफ्नो स्वास्थ्यप्रति पनि विशेष सचेत बन्न आवश्यक छ ।

हाम्रा परम्पराका नराम्रा पक्षहरूलाई छोड्दै जानुपर्छ । राम्रा पक्षहरूको संरक्षण गर्दै जानुपर्छ । तर अहिले महिलालाई क्रान्तिकारी हुनुपरेको छ । तीज आउन एक महिना अगाडिदेखि र तीज गएपछि पनि नयाँ महँगा लुगा, कपडा, सुनचाँदीहरूको प्रदर्शन गर्ने होड चल्ने गर्छ । सम्भ्रान्त महिलाहरूले त यो सबै आफ्ना लागि गर्लान् । तर विपन्न दिदीबहिनीले के गर्ने ? बिहान–बेलुकाको गाँस नै जुटाउन गाह्रो छ । हाम्रो समाजमा हुने–खानेकै बेलवाला बढी छ । तर हुँदा खानेहरूको संख्या धेरै छ । उनीहरू पनि सकी नसकी त्यही देखावटीपना अँगाल्न खोज्छन् । बिचराहरूको पनि मनै त हो । लाउन खास कसलाई मन लाग्दैन र ? तर हामी ठूलो महत्त्वाकांक्षामा बाच्नु भनेको स्वयं आफ्ना लागि नै घातक हुन्छ । त्यसैले यथार्थमा आफ्नो सोच, विचारहरूमा केन्द्रित रहेर बाँच्न खोज्दा आफैंलाई जित्न सहज र सरल हुन्छ ।

यस पंक्तिकारले जिन्दगीमा धेरै खालका दिदीबहिनीसँग संगत गर्न पुगेकी छन् । अधिकांश महिलाको कुरा ‘यसको लुगा, गरगहना यति महँगो र उति महँगो मैले पनि जिन्दगीमा लाउन पाए त !’ भन्ने हुन्छन् । कसरी आत्मनिर्भर बन्ने भन्नेमा विचारविमर्श हुँदैन । पढे–लेखेका भनिएका, आत्मनिर्भर भनिएका महिलाहरूको पनि क्रान्तिकारीता राम्रा कपडा लगाएर, गरगहना शरीरभरि लगाएर, जाँड–रक्सी खाएर मात्तिएर नाच्ने मात्र होइन सचेत भएर कसरी स्वस्थ तरिकाले चाडपर्व मनाउने भन्ने हो ।

तीज मात्र होइन केही समयपछाडि दसैं पनि हाम्रो घर आँगनमा भित्रिँदै छ । दसैंमा जसरी भए पनि नयाँ लुगा लगाउनैपर्ने, मीठो मसिनो खानैपर्ने चलन छ । वास्तवमा हाम्रा चाडपर्वहरूको मौलिकता हराउँदै छ । अहिले दसैंलाई पैसाको चाडको रूपमा लिने चलन बढिरहेको छ । यसमा पनि आफ्ना ठूलाबडा स्वजनको हातबाट टीकाजमरा लाएर आशीर्वाद लिनेभन्दा स्वजनबाट पैसा कति उठ्यो भन्ने मनसाय मात्र रहेको पाइन्छ । प्रत्येक नेपाली चाडपर्वहरूको मौलिकतामाथि हस्तक्षेप नगरी आत्मीयता, हार्दिकतासाथ आफ्नो गच्छे अनुसार मनाए कसो होला ?

प्रकाशित : भाद्र ३१, २०७९ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?