कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सन्तान विदेशमा, आमाबुबा बिचल्लीमा

भन्नलाई त भनिन्छ, ‘न्यास्रो मेट्न भिडियो च्याट र गर्जो टार्न पैसा पठाए पुगिहाल्यो नि !’ तर जन्मदाता र सन्तानबीचको सम्बन्धमा कुन त्यस्तो भौतिक वस्तु होला जसले यी दुईबीच सामीप्यको औचित्यपूर्ण विकल्प दिन सक्छ ?
उषा थपलिया

केहीअघि काठमाडौंको एउटा परिवारमा कारुणिक घटना भयो । पढाइका लागि दुई छोराहरू बिदेसिएपछि घरमा सरकारी जागिरे बाबुआमा मात्र बाँकी रहे । जागिर रहुन्जेल अफिस र घर गर्दै दिन बिताउन दुवैलाई सहजै थियो । केही वर्षअघि कामबाट दुवै जना निवृत्त भए ।

सन्तान विदेशमा, आमाबुबा बिचल्लीमा

त्यसको दुई वर्षपछि पक्षाघातका कारण आमाको दिनचर्या पूरै बाबुमा निर्भर हुनुपर्ने अवस्था बन्यो । हातले इसाराबाहेक केही गर्न नसक्ने अवस्थामा रहेकी आमाको यावत् कामको एकल दायित्व बाबुमाथि निर्भर रह्यो । आमाको अवस्थाबारे जानकारी गराउँदै घर आउन उनले दुवै छोरालाई पटक–पटक आग्रह गरे । पढाइपछि काम र विदेशी महिलासँग उतै घरजम गरेका दुवै छोराले आउने चासो देखाएनन् । ‘अहिले हामी आउनै नमिल्ने अवस्था छ, पैसाको परबाह नगरी एकदम राम्रो अस्पतालमा उपचार गराउनुहोस्,’ घर आउने आग्रहपिच्छे दुवै छोरा बाबुलाई यही अर्ती दिने गर्थे । एक दिन एउटै कोठाको फरक बेडमा सुतेका बाबुलाई अचानक हृदयाघात भयो । बाबु लामो समयसम्म नउठेपछि आमाको बिजोग भयो । एकाबिहानै उठेर आफ्नो स्याहार–सुसारमा नियमित खटिने पति नउठ्नुमा पत्निलाई अशुभ शंका त भयो नै होला, तर उनले पनि गर्न सक्ने केही थिएन । दुई जना मात्र रहेको घरमा दुई दिनसम्म चालचुल नभएपछि छिमेकीहरू जब घरभित्र पसे, तब दुःखद यथार्थ बाहिरियो ।

ठ्याक्कै यही स्थितिको कारुणिकता सबैतिर नहोला तर परदेसिएका सन्तानका बाबुआमाको उत्तरार्द्धको जिन्दगी यस्तै संकटापन्न पेरिफेरीमा घुमिरहेको देखिन्छ । सन्तानप्रति गाँठो पारेर राखेको ममता पोख्न नपाएको पीडाबाट त बाबुआमा हरपल विक्षिप्त भैरहेकै हुन्छन्, त्यसमाथि बुढेसकालमा अनायास आइलाग्ने यस्तै विविध कठिनाइको सकस प्रायः घरको साझा समस्या बनिरहेको छ । भन्नलाई त भनिन्छ, ‘न्यास्रो मेट्न भिडियो च्याट र गर्जो टार्न पैसा पठाए पुगिहाल्यो नि !’ तर जन्मदाता र सन्तानबीचको सम्बन्धमा कुन त्यस्तो भौतिक वस्तु होला जसले यी दुईबीच सामीप्यको औचित्यपूर्ण विकल्प दिन सक्छ ? सन्तानको इच्छा र खुसीमा अवरोध गर्न सक्ने मन कुनै बाबुआमामा हुँदैन । छोराछोरीको विदेश जाने रहरका अगाडि पनि अभिभावकमा त्यही बाध्यता आइलाग्छ । आफ्ना सन्तान अध्ययनका लागि विकसित र सभ्य मुलुकमा पुग्नु सुरुआतमा कतिपय आमाबाबुका लागि त गौरवकै कुरा ठहर्ने गरेको पनि देखिन्छ तर पढाइको बहानामा बढेको भौतिक दूरी जीवनपर्यन्त लम्बिएला भन्ने के थाहा ? अहिले यही प्रश्न आफैंमाथि सोझ्याउँदै धेरै आमाबुबा सन्तानबिना वृद्धावस्थाको दिन गुजारिरहेका छन् ।

पढाइपछि स्वदेश फर्कने प्रण गरेका सन्तानलाई पनि उतैको प्रणाली र सेवासुविधाले लठ्याउँछ । देशको अस्थिर राजनीति, हरेक वर्ष बढिरहने शैक्षिक बेरोजगारी, युवावर्गलाई देशमै आकर्षित गर्ने योजनाको अभाव जस्ता पक्षहरूले बिदेसिनेहरूको विदेश बसाइलाई लम्ब्याउनै बल पुर्‍याइरहेको छ । विदेशी भूमिमा सुरुमा आफ्ना लागि संघर्ष गर्दागर्दै सन्तानको भविष्यबारे सोच्ने दिन आइसक्छ । सन्तानको हुर्काइ, बढाइ र पढाइपछि सुरु हुने करिअरलाई अन्तर्राष्ट्रिय मापदण्डमै ढाल्ने अभिलाषाका अगाडि वृद्ध आमाबाबुप्रतिको कर्तव्यलाई प्रधान ठानेर स्वदेश फर्किने सन्तानको संख्या नगण्य रहेको प्रस्टै छ । अवस्था सामान्य रहेका अभिभावकको जीवन त जेनतेन धानिएला तर अनेकौं दीर्घरोगले गाँजेकाहरूको कष्ट बयान गरी साध्य हुँदैन । त्यसमाथि डिमेन्सिया, अल्जाइमर, पक्षाघात, हृदयाघातजस्ता असाध्यै पिरोल्ने रोगहरूबाट प्रभावित हुनेहरूको संख्या दिन–प्रतिदिन बढ्दो छ । राम्रो स्याहार–सुसार गर्ने परिवारको साथ जीवन गुजार्ने अवसर पाएका रोग प्रभावित बुबाआमाको सास्ती त अवर्णनीय देखिन्छ भने एकल र बेसहाराहरूको अवस्था के होला ? अनुमान गर्न गाह्रो छैन ।

विदेशीसँग वैवाहिक सम्बन्ध जोड्ने सन्तानका अभिभावकमा भाषागत समस्याले अझ बढी निराशा छाउने गरेको पाइएको छ । बुहारी वा ज्वाइँ विदेशी भइसकेपछि सन्तानको स्वदेश फर्कने सम्भावना शून्यप्रायः भैदिन्छ । बेलाबेला आवतजावतको स्थिति रहे पनि दुवैतर्फ हुने भाषागत अज्ञानताले पार्ने असहज अवस्था कम चोटिलो हुँदैन, आमाबुबाका लागि । एक जना चिनारु दिदीका छोरा वर्षौंपछि विदेशी पत्नि र छोरीका साथ केही महिनाको काम मिलाएर हालै स्वदेश फर्किएका छन् । आफ्ना दुवै छोरा विदेशमा भएकी ती दिदीका लागि कुनै छोरा र परिवारसँग केही समय सँगै बिताउन पाउनु अत्यन्तै हर्षको क्षण हुनुपर्ने हो । तर नेपाली भाषा फुट्टी नबुझ्ने बुहारी र अंग्रेजी नबुझ्ने सासूससुराबीच संवाद, आत्मीयताको कुनै गुन्जायस छैनÙ न त खानपान, जीवनशैली र संस्कार नै मिल्दो छ । नेपाली परिवेशमा पनि आफ्नै देशको जस्तो जीवनशैली खोज्ने बुहारीलाई भाषाकै कारण सम्झाउन–बुझाउन दिदीले सकेकी छैनन्, न त बुहारीले भनेजस्तो जुटाइदिने सामर्थ्य र लगाव नै उनमा छ । यसैका कारण निश्चित समयका लागि परिवारसहित छोरा घर आउँदा पनि उल्लासभन्दा बढी हैरानी खेपिरहेको ती दिदीको अनुभूतिले दर्साउँछ । स्कुल जान थालेपछि विदेशमा हुर्किएका नातिनातिनासँगको संवाद पनि भाषाकै कारण पूर्णविराम लगाउनुपर्ने अवस्थामा पुग्छन् हजुरबा–आमाहरू । एक त भेटघाट नै गाह्रो, भेट भइहाले पनि संवादहीनताको स्थिति । स्नेह, अपनत्व र ममता दर्साउन आवश्यक हुने भाषा संकटमा परेपछि आत्मीयता कसरी बढ्न सक्छ ? सन्तानभन्दा बढी प्यारो ठानिने दरसन्तानसँग भाषागत समस्याले जसरी दूरी बढाउँदै लगिरहेको छ, त्यसबाट विक्षिप्त हुने हजुरबा–आमाको संख्या पनि त्यत्ति नै फराकिलो बन्दै गइरहेको छ ।

सुविधासम्पन्न देशमा पुग्ने सन्तानहरूका कारण सहरका घरहरू सुनसान भएझैं वैदेशिक श्रममा जान बाध्य युवाहरूका कारण गाउँका गाउँ रित्तिएका छन् । विशेषतः पुरुष सदस्य वैदेशिक श्रममा अनि महिला सदस्य सन्तानको राम्रो पढाइ–लेखाइका लागि सहर प्रवेशसंगै गाउँका घर कुर्ने अभिभारा ज्येष्ठ नागरिकहरूमै आएको छ । वृद्धावस्थाले गाँजिसक्दा पनि व्यावहारिक जिम्मेवारी कसैमाथि पर सार्ने अवस्थासमेत नपाउनु अझ ठूलो विडम्बना हो । कोभिडका कारण बितेका दुई वर्षमा लगभग १० लाख युवा काम छोडेर स्वदेश फर्किए । कोभिड कहरबीच पनि काखमा आइपुगेका सन्तानका कारण आमाबुबामा उल्लास फर्कियो भने विदेशमा सिकेका सीप बमोजिम गाउँमै पशुपालन, व्यावसायिक खेतीपाती, कुटीर उद्योग आदि सञ्चालन गर्ने उपक्रमले पहिलेका सुनसान गाउँहरू फेरि जागे । तर राज्यले युवा जनशक्तिलाई यहीँ टिकाउन नसक्दा र वैदेशिक श्रम बजारले पुनः श्रमिक माग गर्न थालेसँगै बिदेसिने युवाहरूको संख्या पछिल्लो समयमा ह्वात्तै बढेको छ । वैदेशिक रोजगार कार्यालयका अनुसार, अहिले दैनिक २८ सय हाराहारीले श्रम स्वीकृति लिने गरेका छन् । साउनमा कतार, यूएई, साउदी अरब, कुवेत, मलेसिया लगायतका श्रम गन्तव्यका लागि स्वीकृति लिने ६३ हजारभन्दा बढी श्रमिकमध्ये महिलाहरू नै १० प्रतिशत हाराहारी रहेको तथ्यांकले देखाउँछ । युवा जनशक्ति बिदेसिएसँगै निम्तिएको पारिवारिक विचलन र यसबाट उत्पन्न हत्याहिंसाबाट घरपरिवार जसरी तहसनहस हुने शृंखला थपिएको छ, यी सबैको अत्यधिक मार पनि घरका ज्येष्ठ नागरिकहरूले नै बेहोर्नुपरेको छ ।

पछिल्लो समय श्रम बजार र अध्ययनका लागि बिदेसिनेहरूको लर्को देख्दा लाग्छ, एकाध वर्षपछि नेपाल युवाविहीन देश बन्न बेर छैन । पहिला देशमा स्नातकसम्मको अध्ययनपछि उच्च शिक्षा अध्ययनका लागि बाहिर जानेहरूको संख्या बढी हुने गर्थ्यो । आजभोलि १२ कक्षा सकिनासाथ बाहिर जानेहरूको संख्या प्रचुर देखिएको छ । हरेक घरबाट कलिला किशोर–किशोरी अनेक सपना सजाउँदै विदेश उडिरहेका छन् । कम उमेरमै विदेशिएपछि देशप्रतिको कर्तव्य र दायित्व पनि छिट्टै भुल्ने अवस्था रहन्छ । यसको बदला जुन देशमा आफूले संघर्ष गरेको हो, त्यसप्रति बढ्ता लगाव र आफ्नो मिहिनेतको प्रतिफल हासिलमा मात्र उनीहरूको ध्यान एकोहोरिन पुग्छ । यो देशका लागि दुर्भाग्य त हुँदै हो, हरेक घर र अभिभावकलाई निराशातर्फ धकेल्ने अध्याय पनि हो तर यसप्रति राज्य गम्भीर भएको देखिँदैन । विदेशी स्तरकै शिक्षा प्रणाली बसाल्न समय लाग्ला तर नेपालको शैक्षिक पद्धतिभित्रका कमजोरीहरूमा सुधारका साथै गरिखाने शिक्षाको लय बसाल्न सके मात्रै पनि धेरै विद्यार्थी देशमै रोकिनेमा शंका छैन ।

विद्यार्थीहरूका साथै देशको श्रमशक्तिलाई पनि स्वदेशमै टिकाउने अवस्था नल्याई देशको प्रगति सम्भव छैन । ज्यानको परबाह नगरी युवाशक्तिको रगत–पसिनामा हरेक आर्थिक वर्ष भित्रिने खर्बौं रेमिट्यान्समा गर्व गर्ने तर उनीहरूको अवस्थितिलाई बेवास्ता गर्ने सरकारको रवैया उत्तिकै आलोच्य छ । नेपाली श्रमशक्तिलाई देशभित्रै रोजागारी दिलाउने, सार्वजनिक र अन्य क्षेत्रका कार्यक्रमहरूमा रोजगारी सृजना गर्ने, वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई सीप अनुसारको व्यवसाय सञ्चालनमा सहजता र अनुदानका प्रतिबद्धता हरेक वर्षको बजेटमा दोहोरिन्छ तर कार्यान्वयन सबल नभएर ती नीति र कार्यक्रमले मूर्तरूप लिन सकेका छैनन् । यी सबैका कारण अध्ययन र श्रममा बिदेसिनेहरूलाई स्वदेश फिर्ती असहज बनिरहेको छ । यसबाट देशले कति घाटा बेहोरिरहेको छ, त्यसको परिणाम भविष्यमा दर्सिने नै छ तर सन्तान बिदेसिने हरेक घरका अभिभावकहरूको जीवनमा यसका नकारात्मक प्रभाव, असहजता र निराशाहरू हरेक दिन प्रतिविम्बित भइरहेका छन् । यसप्रति राज्यको चासो कहिले जाला ?

प्रकाशित : भाद्र २७, २०७९ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?