गोर्बाचोभ : एक विरोधाभास

के गोर्वाचेभका कदमहरु समाजवादी प्रणालीलाई विफल तुल्याउने र सोभियत सङ्घलाई विघटन गर्ने भित्री मनसायबाट प्रेरित थिए ? सतहमा हेर्दा त्यस्तो देखिँदैन । तर परिणाम त्यस्तै भयो ।
सोभियत ढाँचाको समाजवादी प्रणालीमा अन्तर्निहित गम्भीर त्रुटिहरू थिए । दुईवटा मात्रै विकल्प बाँकी थिए- सुधार कि समाप्ति । गोर्बाचोभले सुधारको थालनी त गरे, तर धेरै ढिलो भइसकेको थियो । र उनीसँग स्पष्ट गन्तव्य पनि थिएन ।
प्रदीप ज्ञवाली

अघिल्लो साता गोर्बाचोभको निधनसँगै पश्चिमा वृत्तमा बग्रेल्ती प्रशंसायुक्त ‘अबिच्युरी‘ हरू आए- विश्वशान्तिका नायकका रूपमा, शीतयुद्ध अन्त्य गर्ने बीसौं शताब्दीका राजनेताका रूपमा एवं आफ्नो मुलुकमा खुलापन र पुनःसंरचनाका परिकल्पनाकारका रूपमा ।

कतिले उनी नभएका भए प्रजातन्त्रको तेस्रो लहर यति छिट्टै आउने थिएन भनेर पनि फुर्क्याउन भ्याए । तर आफ्नै देशमा भने उनको मरणोपरान्त–सम्मान उच्च कोटिको थिएन । धेरै रुसीहरूलाई लागेको छ- सोभियत सङ्घ विघटन गरेर गोर्बाचोभले आफ्नो राष्ट्रको प्राचीन गौरवलाई ध्वस्त बनाइदिए । पुटिनले हुर्काउन खोजेको ‘रुसी राष्ट्रवाद’ ले यस भावनामा थप बल पुर्‍याएको छ । कम्युनिस्ट आन्दोलनभित्र उनी सधैंभरि विवादित पात्र थिए, र मरणोपरान्त पनि उनी त्यसै गरी सम्झिइए ।

गोर्बाचोभलाई कसरी बुझ्ने ? मतैक्य सहज छैन । आफ्नो जीवनीका लेखक विलियम तौबमानसँगको कुराकानीमा गोर्बाचोभ आफैंले भनेका छन्- गोर्बाचोभलाई बुझ्न गाह्रो छ । ग्लासनोस्त (खुलापन) र पेरेस्त्रोइका (पुनःसंरचना) को गोर्बाचोभ ‘डक्ट्रिन’ जडता र नोकरशाहीमा फँसेको सोभियत समाजवादको सुधारको इमानदार प्रयास थियो या उनी, कतिपयले आशङ्का गरेजस्तो, समाजवादलाई अन्तर्ध्वंस गर्न स्थापित खलपात्र थिए ? किन त्यसै समयमा चीनमा तङ स्याओपिङले सुरु गरेको खुलापन र सुधारको अभियान सफल भयो एवं चीनलाई विश्वकै पहिलो आर्थिक शक्तिको हाराहारीमा पुर्‍यायो, तर किन सोभियत सङ्घमा चाहिँ समाजवाद नै असफल भयो ? सोभियत सङ्घको विघटन तत्कालीन आर्थिक–राजनीतिक परिघटनाहरूको अनिवार्य परिणति थियो कि यसका लागि गोर्बाचोभ एक्लै जिम्मेवार छन् ? ऐतिहासिक तथ्यहरूको तटस्थ विश्लेषणबाट एउटा वस्तुनिष्ठ निष्कर्षमा पुग्न सकिन्छ ।

१९३१ मार्चमा प्रिभोल्नोई नामको सानो गाउँमा जन्मेका गोर्बाचोभका बाजे आन्द्रेईले पहिलो विश्वयुद्ध र बाबु सेर्गेईले दोस्रो विश्वयुद्ध लडेका थिए । गाउँमै र गाउँनजिकैको स्ताभरोपोलमा स्कुले शिक्षा पूरा गरेपछि गोर्बाचोभ मस्को विश्वविद्यालय (एमजीयू) मा भर्ना भए । यस भर्नामा उनको गरिब किसान पृष्ठभूमि, देशभक्ति युद्ध लडेका बाबु र बाजेको युद्ध लडेको पहिचान र उनी आफैंले विद्यालयमा पाएको लाल–श्रम पदकको पनि भूमिका हुँदो हो । मस्को विश्वविद्यालयको अध्ययनले उनलाई कानुनको औपचारिक डिग्री दिलायो र राजनीतिक रूपमा प्रशिक्षित पनि गर्‍यो । उनी मस्कोमा थप अध्ययन र राजनीतिक कामको अवसर छाडेर गाउँ फर्किए, र स्ताभरोपोलमा पहिले यङ कम्युनिस्ट लिग (कम्सोमोल) र पछि पार्टीमा सक्रिय भए । सन् १९७० मा पार्टीको स्ताभरोपोल प्रान्तीय कमिटीका सचिव बनेका गोर्बाचोभले त्यसपछि नेतृत्वको सिँढी फड्किँदै गए । १९७८ उनी पार्टीका केन्द्रीय सचिव बने र १९७९ मा पोलिटब्युरो सदस्य । तीन वर्षको अन्तरालमा पार्टीका तीन जना महासचिवहरू लियोनिद ब्रेझ्नेभ, युरी आन्द्रोपोभ र कोन्स्तान्तिन चेर्नेन्कोको निधन भएसँगै उनी १९८५ मा पार्टी महासचिव चुनिए । पहिले सर्वोच्च सोभियतको अध्यक्ष मण्डलका अध्यक्ष र पछि सर्वोच्च सोभियतका अध्यक्षका रूपमा १९८८ देखि राष्ट्राध्यक्षका रूपमा जिम्मेवारी सम्हालेका उनी १९९०–९१ मा सोभियत सङ्घका राष्ट्रपति बने । तर यही अवधिमै भएको सोभियत सङ्घ विघटनले उनलाई बिनाराष्ट्रका राष्ट्रपति बनाइदियो । १९९६ मा रुसी राष्ट्रपतिको निर्वाचनमा कानुनबमोजिम चाहिने १० लाख हस्ताक्षर जुटाएर उम्मेदवार बनेका उनले जम्मा ३ लाख ८६ हजार (करिब ०.५ प्रतिशत) मत ल्याएर लज्जास्पद पराजय बेहोरे । केही समय सामाजिक जनवादी पार्टी निर्माण गरेर अगाडि बढ्ने प्रयास गरेका उनी त्यसमा पनि असफल भए ।

सुधारका प्रयास, सोभियत ढाँचाको समाजवादको विफलता र सोभियत सङ्घको विघटनमा गोर्वाचेभको भूमिका खोज्दा उनको राजनीतिक विकासक्रम र उनका विचारहरूलाई नियाल्नुपर्ने हुन्छ । स्कुले जीवनमा स्तालिनका प्रशंसक र त्यसबापत पुरस्कृतसमेत भएका उनी स्तालिनको मृत्युपछि उनका आलोचक र ख्रुस्चेभको ‘सुधार अभियान’ का समर्थक बनेका थिए । मस्को विश्वविद्यालयमा पढ्दा आफ्ना चेक सहपाठी ज्देनेक म्लिनारसँगको मित्रता, उनीहरूबीच छलफलमा देखिएका सोभियत प्रणालीका कमजोरी र यिनलाई हटाउनुपर्ने निष्कर्षबाट गोर्बाचोभभित्र सुधारका सोचहरू पलाउँदै गरेको देखिन्छ । यद्यपि, १९६८ मा भएको प्राग विद्रोहको भने उनले विरोध गरे ।

पार्टी महासचिवका रूपमा गोर्बाचोभले विश्वकै एउटा शक्तिराष्ट्रको विरासत सम्हालेका थिए । सतहमा हेर्दा बलियो देखिने त्यो राष्ट्र भित्रैदेखि भने चौतर्फी सङ्कटले जर्जर भइरहेको थियो । सत्तासीन पार्टी नोकरशाहीतन्त्र, जडता र बुढ्यौली उमेरको नेतृत्वको नियन्त्रणमा थियो । नोकरशाहीतन्त्रका कारण सोभियत समाजवादी प्रणालीले आफ्नो जीवन्तता, सृजनशीलता र जनसमर्थन गुमाउँदै गएको थियो । राष्ट्रियकरण, सामूहिकीकरण र कम्युन प्रणालीभित्र जकडिएको अर्थतन्त्रमा गत्यावरोध गुज्रिरहेको थियो । घरभित्र यस्ता समस्यामा जुझिरहेको देशबाहिर भने अमेरिकासँगको सैन्य प्रतिस्पर्धामा बेतोड दौडिरहेको थियो । अफगानिस्तानमा आक्रमण गरिरहेको थियो । संसारका विभिन्न मुलुकमा ‘समाजवाद स्थापना‘ का लागि हस्तक्षेप गरिरहेको थियो । कम्युनिस्ट आन्दोलनलाई विभाजित गर्दै चीनसँग अल्झिरहेको थियो । सारमा, बोक्नै नसक्ने आफ्नै अन्तर्राष्ट्रिय बोझाको भारीले किचिइरहेको थियो ।

सुधारको अपरिहार्यता बोध गरेर उनले सुधार प्रयास अगाडि बढाए । चेर्नोभिल दुर्घटनाका क्रममा उदाङ्गो भएको सोभियत नोकरशाही प्रणालीका अन्तर्निहित समस्या, सही सूचनाको अभाव र यस्ता सङ्कटसँग लड्न रहेको अक्षमताले उनलाई झस्काइदियो । उनले ग्लासनोस्तका माध्यमबाट मिडियामा रचनात्मक बहस, इतिहासको पुनरध्ययन र समाजलाई सापेक्ष रूपमा खुला बनाउने प्रयास गरे । पेरेस्त्रोइका भने मूलतः आर्थिक पुनःसंरचनामा केन्द्रित थियो । केन्द्रीकृत योजना प्रणालीलाई खुकुलो बनाउने, उद्योगको व्यवस्थापनमा श्रमिकहरूको प्रतिनिधित्व बढाउने र उत्पादकत्व वृद्धि गर्ने यसका उद्देश्य थिए । उनले पार्टीमा पनि व्यापक सुधारका प्रयास गरे, र नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने अभियान चलाए । नेतृत्वको हेरफेरमार्फत पोलिटब्युरोलाई

आफ्नो पकडमा ल्याए । उनको प्रयासले मिश्रित प्रतिक्रिया जन्मायो । पार्टी र राज्यमा नियन्त्रण जमाएको कट्टरपन्थी पुस्ताले सुधारका प्रयासप्रति संशय व्यक्त गर्दै विरोध गर्‍यो । धेरैले भने सकारात्मक रूपमै लिए । निर्वाचित जनप्रतिनिधिहरूको सभा निर्माण गर्ने उनको निर्णयले कम्युनिस्ट पार्टीको एकल नियन्त्रणलाई चुनौती दियो ।

अन्तर्राष्ट्रिय सम्बन्धमा पनि उनले महत्त्वपूर्ण फेरबदल ल्याए । अफगानिस्तानबाट सोभियत सेना फिर्ता गरे । आणविक युद्धको खतरा टार्न अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनसँग महत्त्वपूर्ण सम्झौता गरे । चीनको भ्रमण गरेर झन्डै तीन दशकदेखि बिग्रेको सम्बन्ध सुधारे । सन् १९८९–९० मा विभिन्न पूर्वी युरोपेली देशहरूमा देखिएका राजनीतिक परिवर्तनमा उनी तटस्थ रहे, ब्रेझनेभले चेकोस्लोभाकियामा गरेजस्तो हस्तक्षेप गरेनन् ।

के गोर्बाचोभका यी कदमहरू समाजवादी प्रणालीलाई विफल तुल्याउने र सोभियत सङ्घलाई विघटन गर्ने भित्री मनसायबाट प्रेरित थिए ? सतहमा हेर्दा त्यस्तो देखिँदैन । तर परिणाम त्यस्तै भयो । अध्ययन गर्दा के देखिन्छ भने, सोभियत शासन प्रणाली जडता र अकर्मण्यताले जर्जर भइसकेको थियो । गोर्बाचोभले सुधारका प्रयास नगरेका भए पनि त्यो आफ्नै सङ्कटले गर्दा ढिलोचाँडो विफल हुने दिशामै उन्मुख थियो । त्यसैले सुधारका प्रयास सान्दर्भिक थिए । तर त्यस्तो सुधार समाजवादी ढाँचाभित्रै कसरी गर्ने, यस क्रममा प्रणालीको रक्षा कसरी गर्ने, सोभियत अर्थतन्त्रलाई बजारका गतिशीलतासँग जोडेर कसरी जीवन्त बनाउने, सोभियत निर्भरताबिनै पूर्वी युरोपका समाजवादी मुलुकहरूलाई आत्मनिर्भर र स्वतन्त्र कसरी बनाउने एवं नयाँ आन्तरिक एवं बाह्य चुनौतीको सामना कसरी गर्ने भन्नेबारेमा गोर्बाचोभसँग कुनै स्पष्ट दृष्टिकोण, योजना र रणनीति देखिँदैन । उनले हौसिएर सुधार अभियान अगाडि बढाए, र वर्षौंदेखि थुनिएको तलाउको बाँध फुटाएर बाढी ल्याइदिए । तर बाढी नियन्त्रण गर्ने र त्यसलाई ऊर्जा उत्पादनमा लगाउने स्पष्ट खाका र तयारी थिएन । परिणामतः आफैंले खोलेको बाँधको बाढीले उनैलाई समेत बगायो ।

गोर्बाचोभका सुधार प्रयास र पूर्वी युरोपका मुलुकहरूमा आएको परिवर्तनले सोभियत गणराज्यहरूमा स्वतन्त्रताको माग बढ्दै गयो । बाल्टिक गणतन्त्रहरू लिथआनिया, लाट्भिया र इस्टोनियाबाट सुरु भएको यस्तो माग बढ्दै गएर मोल्दोभा, आर्मेनिया र जर्जियासम्म विस्तारित भयो । नयाँ सम्झौता गरेर भए पनि सोभियत सङ्घलाई टिकाइराख्ने बाँकी नौ गणतन्त्रको प्रयासलाई ती राज्यहरूले अस्वीकार गरे । सोभियत सङ्घ विघटनको आधार तयार हुँदै गयो ।

सुधारका प्रयाससँगै उनी दोहोरो चेपुवामा परे- बोरिस येल्तसिनजस्ता व्यक्तिहरू सुधार ढिलो भयो भनेर विरोधमा उत्रिए भने कट्टरपन्थीहरू सुधारको विरोधमा उभिए । यसैको उत्कर्ष थियो- सन् १९९१ को असफल अगस्ट ‘कु’ । गोर्बाचोभ छुट्टी मनाउन क्राइमिया गएका बेला ‘आठ जनाको समूह’ भनिने कट्टरपन्थीहरूले सत्ता कब्जाको असफल प्रयास गरे । बोरिस येल्तसिनको नेतृत्वमा त्यसलाई विफल बनाएसँगै गोर्बाचोभ झनै कमजोर बने, बोरिसको पकड राज्यमा बढ्दै गयो । गोर्बाचोभले पार्टी महासचिवबाट राजीनामा गरे र केन्द्रीय कमिटी भङ्ग गरे । त्यसपछि पहिले बोरिस येल्तसिनबाट रुसभित्र र पछि गोर्बाचोभ नेतृत्वको सर्वोच्च सोभियतबाट सोभियत सङ्घभरि नै कम्युनिस्ट पार्टीका गतिविधिहरू प्रतिबन्धित गरिए ।

सोभियत सङ्घ विघटन र स्वतन्त्र गणराज्यहरूको निर्माणको अन्तिम शृङ्खलास्वरूप बोरिस येल्तसिनले युक्रेनका राष्ट्रपति क्राभ्चुक र बेलारुसका राष्ट्रपति सुस्केभिचसँग मिलेर बेलाभेझा सम्झौतामा हस्ताक्षर गरे, जसले सोभियत सङ्घ विघटनको औपचारिक घोषणा गर्दै स्वतन्त्र राष्ट्रहरूको कमनवेल्थ (सीआईएस) गठन भएको जनाउ दियो । गोर्बाचोभले यो घटना थाहा पाउँदासम्म धेरै ढिलो भइसकेको थियो र उनी हेर्दाहेर्दै बिनाराष्ट्रका राष्ट्रपतिका रूपमा इतिहासमा मजाकका पात्र बने ।

यसरी कम्युनिस्ट पार्टीका महासचिव आफैं कम्युनिस्ट पार्टी विघटनका खलपात्र र सोभियत सङ्घका राष्ट्रपति (खासमा एक मात्र राष्ट्रपति, किनभने त्यसभन्दा अगाडि औपचारिक रूपमा ‘राष्ट्रपति’ भन्ने पद थिएन, राष्ट्राध्यक्षहरूलाई सर्वोच्च सोभियतको अध्यक्ष मण्डलको अध्यक्ष भनिन्थ्यो) बलियो सोभियत सङ्घको चिहान खन्ने पात्र बन्न पुगे ।

इतिहासको यस विडम्बनापूर्ण घटनाक्रमलाई हामीले ऐतिहासिक सन्दर्भमै हेर्नुपर्छ र गोर्बाचोभको भूमिकालार्ई त्यही फ्रेममा राखेर मूल्याङ्कन गरिनुपर्छ । सोभियत ढाँचाको समाजवादी प्रणालीमा अन्तर्निहित गम्भीर त्रुटिहरू थिए । दुईवटा मात्रै विकल्प बाँकी थिए- सुधार कि समाप्ति । गोर्बाचोभले सुधारको थालनी त गरे, तर धेरै ढिलो भइसकेको थियो । र उनीसँग स्पष्ट गन्तव्य पनि थिएन । घटनाक्रमले पुष्टि गर्छ, समाजवादप्रति उनको निष्ठा पनि दह्रो थिएन । समाजवादी ढाँचाभित्रै रहेर सुधार गर्न सकिन्छ भन्ने तथ्य चिनियाँ कम्युनिस्ट पार्टीले पुष्टि गरिरहँदा गोर्बाचोभले भने न कम्युनिस्ट पार्टी जोगाउन सके, न समाजवादी प्रणाली नै ।

अन्त्यमा एउटा भ्रमको खण्डन । गोर्बाचोभको ‘अबिच्युरी’ मा एकाध विश्लेषकहरूले उनी नभएका भए नेपालको कम्युनिस्ट आन्दोलनको लोकतन्त्रीकरण सम्भव थिएन र नेकपा (एमाले) ले जनताको बहुदलीय जनवाद अवलम्बन गर्ने थिएन भन्ने चर्चा गरेको देखियो । सच्चाइ यो होइन । सच्चाइ के हो भने, नेपाल कम्युनिस्ट पार्टीको पहिलो पर्चाको शीर्षक नै ‘नागरिक स्वतन्त्रता सम्पूर्ण वर्गलाई आवश्यकता’ भन्ने थियो । नेपालको कम्युनिस्ट आन्दोलन सुरुदेखि नै लोकतान्त्रिक आन्दोलनको अभिन्न अङ्गका रूपमा विकसित हुँदै आयो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका प्रभावका क्रममा केही विचलन देखिए पनि पार्टीले २०३६–३७ सालदेखि नै नयाँ बहस सुरु गरेको थियो र धेरै अगाडि नै निष्कर्षमा पुगेको थियो- एक्काइसौं शताब्दीमा नेपालको कम्युनिस्ट आन्दोलन लोकतान्त्रिक बाटोबाट मात्रै अगाडि बढ्न सक्छ । त्यसैले नेकपा (एमाले) का विचारहरूको विकासमा गोर्बाचोभलाई श्रेय दिनु तथ्यहरूको भ्रष्टीकरण मात्रै हुन जान्छ ।

प्रकाशित : भाद्र २४, २०७९ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्

जुगौं लामो एक दिनको कथा

प्रदीप ज्ञवाली

युद्धबन्दी युवाको कपाल खौरिइयो । रौँका जरासमेत उखेलियो । सुत्केरी ऊँटलाई मारेर कल्चौंडोको छाला काढियो र त्यसको कलिलो पत्रलाई काटेर युवाको मुडुलो टाउकामा टन्टनी बेरियो । टाउकाले भुइँ छुन नमिल्ने गरी गर्दनमा काठको जुवा भिराइयो । अनि हात–खुट्टा बाँधेर, निर्जन बस्तीमा, पानी पनि पिउन नदिईकन टण्टलापुर घाममा लडाइयो ।

घाम चर्किंदै गयो । उँटको छाला कक्रकिँदै गयो । एक दिन होइन, दुई दिन होइन, हप्तौं घाममा राखेपछि ऊँटको छालाले टाउकोलाई फलामको पाताले जस्तै चरप्प अँठ्याउन थाल्यो । छाला सुक्दै गयो, रौं पलाएर त्यसैभित्र छिर्न खोज्यो, कडा छाला छेड्न नसकेपछि फेरि घुम्रिएर उसकै टाउकामा छिर्‍यो र त्यसले हजार सियो रोपिएजस्तै असह्य यातना दिन थाल्यो ।

आङै सिरिङ्ग पार्ने यस्तो यन्त्रणा पार गरेर बाँचेको त्यो बन्दी हप्तौंपछि यस्तो प्राणीका रूपमा खडा भयो, जसको स्मरण शक्ति थोपै बाँकी नरहेर रित्तिएको थियो । आफू को हुँ भन्ने पत्तै छैन, कहाँबाट आएँ भन्ने सुद्दी नै छैन । न आमाको याद, न बाबुको सम्झना । आफूलाई दुई गाँस खान दिने मालिकबाहेक कोही नचिन्ने । कुनै डर नभएको, कुनै गुनासो नगर्ने । मालिकले अह्राएको आँखा चिम्लेर मान्ने । मालिकले मार् भनेर अह्राए जोकसैलाई मार्न तयार । एउटा बीभत्स र क्रूरतम प्रक्रियाबाट दास बनाइएको युद्धबन्दी, अर्थात् मान्कुर्त ।

मान्कुर्त, जसबारे थाहा पाएरै पनि आफन्तजन उनलाई फर्काउन जाने आँट गर्दैनथे । कसरी जानु ? थाहा पाए युद्धपिपासुहरू मार्न आइलाग्थे । मान्कुर्तलाई फिर्ता ल्याएरै पनि के गर्ने ? एउटा जिउँदो पत्थर, सास फेरिरहेको लास सदृश पात्र ।

किर्गिस्तानका प्रसिद्ध उपन्यासकार, कथाकार र नाटककार चिङ्गिज आइत्मातोभ (१९२८–२००८) को उपन्यास ‘द डे लास्टस् मोर द्यान अ हन्ड्रेड इयर्स’ (जुगौं लामो एक दिन) भित्रको एउटा हृदयविदारक प्रसङ्ग हो यो । कथानक, प्रस्तुति र शिल्पको दृष्टिले यो उपन्यास उत्कृष्ट र कालजयी छ । एक जना कज्जाक श्रमिक येदिगेईले आफ्नो पुरानो साथीलाई मुस्लिम परम्पराअनुसार दफन गर्न तय गरेको एक दिनको यात्रावरिपरि यो उपन्यास घुम्छ । तर, त्यस एक दिनभित्र के मात्र छैन ? कजाकास्तान र किर्गिस्तानका घाँसे मैदान (स्तेपी) का रैथानेहरूको सङ्घर्षपूर्ण जीवनको श्यामश्वेत पेन्टिङ छ । मान्कुर्तको त्रासद जिन्दगी छ । अमर गायक रैमाली–आगाको दुःखान्त प्रेमकथा छ । अन्तरिक्षयात्रीले हाम्रो आकाशगङ्गा बाहिरको प्राणीजगत्सँग गरेको सम्पर्क र अन्तर–ब्रह्माण्डीय यात्राको श्वैरकल्पना छ । स्तालीनकालमा आलोचकहरूमाथि गरिने अन्याय र कारबाही छ । र, आफ्नो सुख–दुःखको साथी कारानार नामको ऊँटसँग येदिगेईको सम्बन्धको जेलिएको पाटो छ ।

चौबीस घण्टाको छोटो क्यानभासमा मिथ र विज्ञान, राजनीति र संस्कृति एवं मानव र पशुपन्छीका कथाहरूको यति अद्भुत बुनोट आइत्मातोभले मात्रै गर्न सक्छन् ।

त्यसो त स्मृतिपट (फ्ल्यासब्याक) मा सिङ्गो जिन्दगी उतार्ने उनको शैली चर्चित पुस्तक ‘फेयरवेल गुल्सारी’ (‘बूढो र घोडा’ शीर्षकमा नेपालीमा अनूदित) मा पनि झल्किएको छ, जहाँ पूर्वाग्रहपूर्ण ढङ्गले पार्टीबाट निष्कासित एक जना पाको योद्धाले मरणोन्मुख अवस्थाको आफ्नो घोडासँग एकालापमार्फत बाँडेको पीडा र सपनाले भावुक बनाउँछ ।

‘जुगौं लामो एक दिन’ मा बोराल्नी–बुरान्यी नाम गरेको सानो रेलवे स्टेसनमा काम गर्ने येदिगेईलाई श्रीमती उकुबाला आएर खबर दिन्छे– काजान्गाप रहेनन् । खबर अप्रत्याशित थिएन किनभने चालीस वर्षभन्दा लामो समयदेखिको अन्तरङ्ग साथी धेरै दिनदेखि मृत्यु कुरिरहेको थियो । श्रीमतीलाई आवश्यक कुरा अह्राएर ऊ कार्यालयको काम छोट्याई घरतिर लाग्छ । आफन्तलाई खबरखाबर, भोलिपल्ट दाहसंस्कारका लागि आवश्यक प्रबन्ध, मलामी र गाउँलेलाई खुवाउन खानाको तयारी ! काजान्गापको बोर्डिङ स्कुल पढेको ‘आधुनिक’ छोरालाई बाबुको मृत्युसंस्कार रीतपूर्वक र सम्मानजनक हुनुपर्छ भन्ने सम्झाउने सास्ती ! सबै काम सकेर भोलिपल्ट बिहानै एउटा ट्याक्टरमा लास राखेर मृतकको छोरा र ज्वाइँ, ऊँटमा आफू, चिहान खन्न एउटा एक्साभेटरसहित मलामी लिएर ऊ ३० किलोमिटर टाढा रहेको निर्जन थलोतिर लाग्छ । कष्टपूर्ण यात्रा पार गरेर साँझ पर्ने बेला आन्ना–बेइत समाधि (आमाको विश्रामस्थल) पुग्दा पुलिसले बाटो छेक्छ । सुनाइन्छ– ‘यो जग्गा सरकारले विशेष कामका लागि कब्जा गरेको छ, अब समाधिस्थल भत्किन्छ र यहाँ रकेट प्रक्षेपण केन्द्र बन्छ ।’ नोकरशाही सत्ता र आफ्नो संस्कार एवं संस्कृतिअनुरूप शव समाधिस्थ गर्न चाहने दुई मूल्यबीचको द्वन्द्वमा हार खाएर उनीहरू फर्किन्छन् । येदिगेईले काजान्गापको ज्वाइँको गाली खान्छ । तर, पनि कसैको कुरा नसुनी बीच बाटामै शव दफन गर्छ ।

उपन्यासको मूल कथा यत्ति हो । तर, यसबीच येदिगेईको स्मृतिपटमा आउने–जाने सन्दर्भ भने व्यापक छन् ।

जुन समाधीस्थलमा उनीहरूलाई पुग्न दिइएन, आहानअनुसार त्यो नाइमान–आनाको समाधि थियो । नाइमान आना, युद्धमा पति गुमाएकी विधवा । बदला लिन हिँडेको छोरोसमेत मारिएको अपुष्ट खबरले मुटु चिरिएकी आमा । तैपनि कि छोराको सास भेटिएला कि लास भनेर कुरेकी जीर्ण रूख । यस्तैमा एक दिन सामान बेच्न हिँडेका घुमन्ते व्यापारीहरूले ऊँटको बथान चराइरहेको मान्कुर्तबारे गरेको कुरा उनको कानमा पर्छ । मनमा पहिरो जान्छ । किनकिन लाग्छ, पक्कै पनि त्यो मेरै छोरा हुनुपर्छ । अनि सुनसान रातमा, तम्बुबाट बाहिर आउँछिन् र ऊँटमा चढेर छोरा खोज्न स्तेपीको अनन्त यात्रामा निस्कन्छिन् । भौतारिँदा भौतारिँदा अचानक ऊँटको बथान हाँकिरहेको छोरो भेट हुन्छ । तर, त्यो भेट छोरासँग थियो कि पत्थरसँग ? न आमा देख्दा आँखा रसिलो छ, न अनुहारमा कुनै भाव, ऊ त सुक्खा, निष्प्राण मुढोजस्तो ! न आफ्नो नाम सम्झिन्छ, न लोरी सुनेर बाल्यकालतिर फर्किन्छ । बल्लतल्ल निस्केको एउटै आवाज– ‘को आमा ? म कसैलाई चिन्दिनँ । मेरो कोही आमा छैन । मालिकबाहेक मेरो कोही छैन ।’

त्यस्तो स्थितिको सामना एउटी आमाले कसरी गरी होलिन् ?

तैपनि आमाको मन । हरेस खाँदिनन् । थाहा पाएर युद्धपिपासुहरूले झन्डै सिध्याउन्नन् । तै, लुकेर जोगिन्छिन्् । छोराको स्मरणशक्ति फर्काउन र घर लैजान सकेको गर्छिन् । तर, मालिकले मान्कुर्तलाई मार्न अह्राएको कुरा उनलाई के थाहा ? स्तेपीको अनन्त विस्तारमा खोज्दै उनी जब फेरि छोरो नजिकै पुग्छिन् र तिम्रो बाबुको नाम दोनेनबाई हो र तिम्रो जोलामान हो भनेर सम्झाउन खोज्छिन्– एउटा तिखो वाण सन्न गर्दै आउँछ र आमालाई ठहरै पार्छ । ढल्दै गरेकी आमाको मुखमा झुन्डिन्छ– ‘दोनेनबाई’ ‘दोनेनबाई’ ।

भनिन्छ, त्यसै बेला उनको टाउकोबाट सेतो रुमाल खस्यो । त्यसले सेतो चराको रूप लियो । र, त्यसउपरान्त त्यो चरा गीत गाउँदै भौंताइरहेको छ– दोनेनबाई...दोनेनबाई......। (नाइमान आना ढलेकै ठाउँमा येदिगेईले साथी काजान्गापको लास गाडेको थियो ।)

मानवीय दासताको भयानक त्रासदी । मुक्तिका लागि आमाको बलिदानी सङ्घर्ष । मातृ बात्सल्यको वर्णनातीत गहिराइ । युद्धबन्दीको ‘ब्रेनवास’ र दासत्वको अतीतलाई पुनर्जीवन दिएर लेखकले आफू बाँचिरहेको समाज र पुँजी, जड सत्ता र शक्तिले नयाँ दासत्वका लागि खेलेको भूमिकामाथि पनि प्रश्न खडा गरेका छन् ।

उपन्यासमा बुनिएको अर्को रोचक उपकथा हो, सोभियत सङ्घ र अमेरिकाको संयुक्त अन्तरिक्ष परियोजना । लेखकको कल्पनाशीलता गज्जबको छ– अन्तरिक्ष स्टेसनमा पुगेका सोभियत र अमेरिकी अन्तरिक्ष वैज्ञानिकले अचानक अर्कै लोकको रेडियो सिग्नलमार्फत सन्देश सुनेको । उक्त लोकका प्राणीले पृथ्वीका मानवजातिसँग सम्पर्क गर्न र ब्रह्माण्डको भविष्यबारे छलफल गर्न चाहेको । उनीहरूलाई आफ्नो लोकमा लैजान लेस्नाया ग्रुद नाम गरेको यान पठाएको । के गर्ने, के गर्ने भन्दाभन्दै दुई जना अन्तरिक्षयात्री यो अवसर गुमाउन नहुने निष्कर्षसहित अर्कै लोकतिर हिँडेको । त्यो खबर पाएर सोभियत र अमेरिकाको नेतृत्ववृत्तमा खैलाबैला मच्चिएको । अन्त्यमा त्यो मिसन नै अन्त्य गर्ने, सबै गुपचुपमा राख्ने र पृथ्वीका लागि नयाँ सुरक्षाकवच बनाउने समझदारी भएको ।

उपन्यासमा अबुतालिप नामक एक जना अभागी पात्रको सन्दर्भ पनि छ । ऊ युद्धमोर्चामा लड्दा–लड्दै घाइते भएर युगोस्लाभिया पुगेको थियो र त्यहीँ उनीहरूको पक्षमा लडेको थियो । तर, उसको यही विगतले जिन्दगीमा तिखो काँडा बनेर घोचिरहन्छ । उसमाथि युद्धमा घात गरेको र विदेशीका लागि काम गरेका बात लाग्छ । स्कुलहरूमा पढाउँदै हिँड्छ, अलि दिनपछि खेदिन्छ । पेटको आगो निभाउन लालाबालासहित भौतारिँदै बोराल्नी–बुरान्यी आइपुगेको उसलाई येदिगेईले आश्रय दिन्छ । काममा लगाइदिन्छ । उनीहरू आत्मीय साथी बन्छन् । अबुतालिप नानीहरूलाई पढ्न, लेख्न सिकाउँछ । भविष्यमा आफ्ना सन्तानले बाबुले जिन्दगीमा के–के भोग्नुपर्‍यो सबै थाहा पाऊन् भनेर डायरी लेख्न थाल्छ । तर, यही डायरी उसलाई फसाउने पासो बन्छ । डायरीमा उल्लेख गरिएका विभिन्न प्रसङ्गलाई स्तालिनको विरोध गरेको र सोभियत प्रणालीको आलोचना गरेको अर्थ लगाएर उसलाई गिरफ्तार गरिन्छ । हिरासतमै उसको रहस्यमय मृत्यु हुन्छ । उसकी श्रीमती जारिपा र येदिगेईले उसको मृत्युको खबर ढिलो मात्रै थाहा पाउँछन् । पीडाको अनन्त गहिराइबाट त्यस परिवारलाई बाहिर निकाल्न येदिगेईले गरेको सहयोग र बच्चालाई दिएको न्यानो माया मनै छुने खालको छ । तर, रहँदाबस्दा उसभित्र जारिपाप्रति एकतर्फी प्रेम पलाउँछ । अबुतालिपको मित्रतामा डुबेको येदिगेई उसलाई मरणोपरान्त भए पनि मिथ्या आरोपबाट उन्मुक्ति दिलाउन राजधानी अल्मा–आतासम्म पुग्छ । एक जना चिनेजानेको साथीको सहायताले नेताहरूसँग भेट्छ । मिथ्या आरोप फिर्ता गराउँछ । दोषी प्रहरीलाई बर्खास्त गराउँछ र फर्किन्छ ।

आइत्मातोभका बाबुलाई पनि कुनै बेला यसरी नै ‘सोभियतविरोधी बुर्जुवा राष्ट्रवादी’ भनेर पार्टीबाट निष्कासन गरिएको थियो । कतै उनले यस प्रसङ्गमार्फत आफ्नो पीडा पो पाठकमाझ बाँड्न खोजेका हुन् कि ?

उपन्यासमा गर्मीमा आगोको भुङ्ग्रोजस्तो तातिने र जाडोमा हिउँको कठ्याङ्ग्रिने पहाड बन्ने सारेजोकको चित्रण जीवन्त छ । येदीगेईले युवावस्थामा बिताएको अराल सागरका उत्ताल तरङ्गको वर्णनले पाठकलाई उतै पुर्‍याउँछ । आइत्मातोभ सोभियत लेखक सङ्घका सदस्य एवं राज्यका विभिन्न निकायको जिम्मेवारीमा थिए । तर, त्यस जिम्मेवारीले उनलाई एक जना सचेत र आलोचनात्मक चेतले युक्त लेखकका रूपमा तत्कालीन सोभियत सत्ताका कमजोरीहरूलाई उजागर गर्न रोकेको छैन । बरु मिथ र विज्ञान कथामार्फत उनले यस प्रसङ्गलाई झनै जीवन्त बनाएका छन् ।

आइत्मातोभका विभिन्न परिचय छन्– गोर्वाचोभका सल्लाहकार, राजदूत, सांसद आदि । तर, ‘फेयरवेल गुल्सारी’, ‘जामिलिया’, ‘प्रथम शिक्षक’ जस्ता उपन्यास, नाटक र कथाका स्रष्टा उनको मूल पहिचान भने मानव जातिको स्वातन्त्र्य र गरिमाको पक्षपोषण गर्ने लोकप्रिय र पठनीय स्रष्टाका रूपमा रहेको छ ।

प्रकाशित : असार ११, २०७९ ०८:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×