त्यति बेलाको दार्जिलिङ

“सन् १९४०–४१ को कुरो हो, हाम्रो कमानको कोठीमा कलकत्ता–बर्मातिरबाट अंग्रेजका जहान–केटाकेटीहरू धेरै संख्यामा आएर धेरै महिनासम्म बसे । ...दिनैपिच्छे डाकवालाले खबर ल्याउँथ्यो अनि खबरकागज पढेर मेम साहेबहरू रुन्थे । साहेबहरू सबै युद्धमा गएको, त्यसैले मेम साहेबहरू खबर पढ्दै रोएको अरे ।”
महेन्द्र पी‍. लामा

भारतीय नेपाली साहित्यको आफ्नै पहिचान छ, भारतमा अनि अन्य राष्ट्रमा । नेपाली साहित्यलाई सशक्त आधार प्रदान गर्नमा प्रबुद्ध साहित्यिक एवं साहित्यिक–सांस्कृतिक संस्थाहरूबाहेक कहिलेकाहीँ आफ्ना अन्तरात्माबाट प्रस्फुटित कुरा–कथाहरू लेख्ने व्यक्ति–समाजसेवक–पत्रकार र अन्य पेसेवरको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहिआएको छ ।

अन्य जातीय–भाषिक व्यक्तिहरूले पनि यथेष्ट मात्रामा भारतीय नेपाली भाषासाहित्य फलाउन–फस्टाउनमा ठूलै योगदान दिएका छन् । यसपालि पनि नेपाली भाषासाहित्यका गढहरू दार्जिलिङ, सिक्किम, असम, डुवर्स, शिलाङ आदि क्षेत्रहरूमा २० अगस्टको दिन भव्य रूपमा, नेपाली भाषाले भारतको संविधानको आठौं अनुसूचीमा मान्यता प्राप्त गरेको तीन दशकको उत्सव मनाइयो । यो विशेष दिन चाडपर्व बराबर नै हुन्छ । उतापट्टि भारतमा नेपाली भाषाको खस्किँदो स्थितिमा भने विचारविमर्श संस्थागत ढंगमा लगभग हुँदैन नै । नेपाली भाषाले संवैधानिक मान्यता पाएको तीस वर्षमा पनि भारत सरकारका मन्त्रालय–विभागहरूमा नेपाली भाषामा न कुनै कागजपत्र अनुवाद गरिन्छ न काम नै हुन्छ । संसद्देखि विदेश मन्त्रालय, रिजर्भ बैंक अफ इन्डियादेखि रक्षा मन्त्रालयसम्ममा नेपाली भाषामा छापिएका कागजपत्रहरू विरलै पाइन्छन् । एकदुई दिनअघि मात्रै म पञ्चायती राज मन्त्रालयको मुखपत्र ‘ग्रामोदय संकल्प’ उसकै वेबसाइटमा हेर्दै थिएँ । अंग्रेजी, हिन्दी, असमिया, बंगाली, तामिल आदि र मणिपुरी भाषामा समेत प्रकाशित हुने यो पत्रिकाले भारतका गाउँगाउँ र परिवारसम्मै विकासका कार्यक्रम एवं फाइदा–उपलब्धिका समाचार छर्लंग गरी पुर्‍याउने गर्छ । नेपाली भाषामा भने यति महत्त्वपूर्ण पत्रिकाको नामोनिसान छैन । किन यस्तो हुन्छ, हामी किन साहित्य अकादमी र नेसनल बुक ट्रस्टमा मात्रै सीमित भयौं र किन भारतको लोक सेवा आयोगमा नेपाली भाषासाहित्यमा हाम्रा विद्यार्थी–युवाहरूले परीक्षा नै दिँदैनन् ? किन भारतका प्रायः मन्त्रालय–विभागमा अंग्रेजी–नेपाली अनुवादकहरू छैनन् ? किन भारत सरकारका नियम–कानुन–संविधान–नीतिपत्र आदि नेपाली भाषामा प्रकाशित हुँदैनन् ? यस्ता संवेदनशील मुद्दाहरूमा भने राजनीतिक दल, साहित्यिक–सांस्कृतिक–नागरिक समाजका संस्थाहरू, बुद्धिजीवी र पेसेवरहरू किन किञ्चित् छलफल नै गर्न मान्दैनन्, चाहँदैनन् ? त्यस्तो हुन सक्दा कम्तीमा एक–डेढ सय युवाले अनुवादकको भूमिका–नोकरी मात्रै पाउँदैनन्, भाषासाहित्यको जरासमेत अझै गाडिन सक्छ । भारत सरकारलाई यसबारे कुन संस्था–दलले भन्ने ? अर्कोपट्टि, दार्जिलिङमा दशकौंसम्म चल्दै आएको पश्चिम बंगाल सरकारको नेपाली अनुवाद कार्यालय एवं नेपाली मुद्रणालय लगभग बन्दै भयो । दशकौंदेखि भारत सरकारको रक्षा मन्त्रालयबाट प्रकाशित हुने नेपाली पत्रिका ‘सैनिक समाचार’, अन्य संस्थाले प्रकाशित गर्दै आएका स्तरीय पत्रपत्रिका सबैले सास फेर्नै छोडे । दिल्लीको आकाशवाणी (अल इन्डिया रेडियो) बाट नेपाली भाषामा दशकौंदेखि प्रसारण गरिने समाचार र दार्जिलिङतिर रहेका दूरदर्शनका केन्द्रहरू पनि समाप्त गरिए, हटाइए ।

यस्तो अन्योल–शिथिलता–क्षयको स्थितिभित्र पनि नेपालीभाषी कतिपय समाजसेवी–बुद्धिजीवी–पत्रकार–पेसेवर व्यक्तिहरू सचेत–सजीव रहेर अति नै गहकिला पुस्तकहरू समाज–राष्ट्रअघि प्रस्तुत गरेका छन् । सधैं साहित्य लेख्नेहरू त छँदै छन् तर नयाँ प्रकारका रसपूर्ण–भावपूर्ण तथ्य–इतिहाससहितका साहित्यिक र पारम्परिक साहित्य लेखनदेखि अलिक परतिरका अभिनव (इनोभेटिभ) कृतिहरू बिस्तारै पाठक वर्गले पाउँदै छन् । जीवनी लेखनमा भारतीय नेपाली साहित्यमा निकै माथि उभिएका जीवन लाबर, आफ्ना

पेसा पत्रकारिताभित्रैबाट बाहिर निस्केर नयाँ साहित्यको जमर्को अँठ्याएका हिमालय नेटवर्क च्यानलकी बबिता मादेन, हिमालय दर्पणका शिबु छेत्री र अन्यले यो अभिनव साहित्यको खोज र विकासमा नयाँ आयामहरू जोडेका छन् । यीमध्ये मनै छचल्किने आत्मकथाहरूले यो अभिनव साहित्यलेखनमा सग्लो र स्फूर्तिपूर्ण अध्यायहरू थपेका छन् । गत केही वर्षमा प्रकाशित खरसाङ निवासी डीएस दर्नालद्वारा लिखित ‘चिया कमानको एक श्रमिकको आत्मकथा’, कालिम्पोङका पीआर प्रधानको ‘केही बोट केही बिरुवाहरू’ अनि दार्जिलिङका मदन गुरुङद्वारा लिखित ‘दार्जिलिङ अतीतको आँखीझ्यालबाट’ सबै पढ्नैपर्ने पुस्तकहरूको श्रेणीमा पर्छन् । यी तीन लेखकहरू आआफ्ना क्षेत्रमा धेरै गहकिला ओहदा ओगटेका व्यक्तिहरू हुन् । दर्नाल चिया कमानका वरिष्ठ प्रबन्धक, प्रधान सबैले मानेका एक प्रधानाध्यापक एवं दार्जिलिङ जिल्ला परिषद्का अध्यक्ष अनि गुरुङ ऐतिहासिक दार्जिलिङ म्युनिसिप्यालिटीका सचिव थिए । यिनीहरू सायद पहिलो पिँढीकै शिक्षित

व्यक्तिहरू हुन् र नै आँसु, पसिना, रगत तीनै चीजको मीठो–कठोर मिश्रणमा हुर्किए; शिक्षित भए; पेसेवर–विशेषज्ञ रहे र समाज–समुदाय–राष्ट्रलाई केही ठूलै दिए । तीनै व्यक्तिले अति नै सरल भाषामा, सुरिलो आवाजमा र अतीतलाई

कोट्याई–कोट्याई केही अर्थपूर्ण, मन छुने, सधैं रहने कथाव्यथाहरू भनेका छन् । पहाडका तीन प्रमुख थुम्काहरू दार्जिलिङ, कालिम्पोङ र खरसाङ कस्ता कहाँ किन कसरी थिए; विपनाभित्रै सपनाको आत्मा देखाउने गरी ओल्टाइपल्टाइ गरिदिएका छन् ।

९७ वर्षका डीएस दर्नालले दोस्रो विश्वयुद्धमा आफ्नो चिया कमानका साहेबहरू सबै युद्धभूमि बर्मातिर लागेपछि मेम साहेबहरूको के हालत भयो भन्नेदेखि त्यतिखेर चाडपर्व कसरी मनाइन्थे र दार्जिलिङको सानो रेलमा इन्जिनमा कोइला हाल्ने खलाँसी काम गर्दाको अनुभवसम्म सबै आफ्नो

आत्मकथामा समेटेका छन् । आमाले कसरी उनीहरूलाई भोक–तिर्खा–बिमारदेखि जोगाइन्, चिया कमानमा उनी कसरी एउटा रात्रि पाठशालामा पढाउने भए, सन् १९४७ मा प्रथम पटक ६ श्रेणी/कक्षा मात्रै पढेका भए पनि घैयाबारी कमानमा बाबुको काम पाए र बिस्तारै विभिन्न चिया कमानका वरिष्ठ प्रबन्धक बने, सबै कुरा अटाएका छन् । २२ भारुको तलब थाप्न सुरु गरेका दर्नालको यस कृतिमा आर्थिक अवस्थाले दार्जिलिङका चिया कमानहरूमा नेपालीभाषी श्रमिकहरूले झेल्नुपरेका पीरमर्काहरू सलल बगेका छन् ।

उनी लेख्छन्, “सन् १९४०–४१ को कुरो हो, हाम्रो कमानको कोठीमा कलकत्ता–बर्मातिरबाट अंग्रेजका जहान–केटाकेटीहरू धेरै संख्यामा आएर धेरै महिनासम्म बसे । यसरी कोठीमा धेरै मान्छे भएकाले हामी चार जना छोकडाहरूलाई पानी बोक्ने काममा खटाई पठाइयो । अंग्रेजका छोरी–छोरी, बाबा–मिसीहरूलाई हावा खुवाउनु लैजान्थ्यौं । ...अलिअलि भए पनि पढेकोले म ‘यस’ र ‘नो’ अनि ‘थ्यांक्यु’ चाहिँ भन्न सक्थें । ...दिनैपिच्छे डाकवालाले खबर ल्याउँथ्यो अनि खबरकागज पढेर मेम साहेबहरू रुन्थे । बेरा–बावर्चीको मुखबाट सुन्दा, साहेबहरू सबै युद्धमा गएको, त्यसैले मेम साहेबहरू खबर पढ्दै रोएको अरे । यता मेरो भित्री मनमा भिन्दै छाप बस्दै जाँदै छ । तिनीहरूको खानापिना, रहनसहन, कल्चरले मेरो केटौले हृदयमा छाप बस्दै जाँदै छ । ‘मलबेरी बुस’ र ‘बाबा ब्लाकसिप’ भन्ने बालगीतहरू मैले त्यति बेला नै सिकेको हो ।”

गरिबीले पेलेको बाल्यकालको वर्णनले भक्कानो नै फुटाउँछ । ‘सात–आठ महिना उमेरको कान्छा भाइलाई आमाले बोकिन्; मैले लुगाको पोको बोकें; यसरी आमाले हामीलाई गन्तव्यहीन, कसैको छत्रछायाविहीन एउटा जोखिमपूर्ण दिशातर्फ डोर्‍याएर लगिन् । खरसाङ बजारमा आफ्नो घर छैन, आयआयस्ता र रोजीरोटीको मेलो छैन, जानु कहाँ ? यस्तो स्थितिमा कुन साहसले मेरी आमाले हामीहरूलाई सम्हालेर मानेडाँडा जंगलको उकालो फर्काइन् ? ...उनको सायद

एउटै भरोसा ठूलो छोरा स्वयं ममाथि थियो । म नौ, साढे नौ वर्षको भइसकेको थिएँ । म अघिअघि, माइला भाइ बीचमा, आमा कान्छा भाइलाई बोकेर सबैभन्दा पछि, हे ईश्वर, हे ईश्वर भन्दै । आमा भन्थिन्- चुप लाग्, माथि टुकुरेमा तिरी धारामा बिसाऔंला... । त्यस समय मोटरगाडीलाई ‘हावा गाडी’ भनिन्थ्यो, दुई–चारवटा मात्रै थिए, त्यही

पनि साहेबहरूको ।’

सन् १९४२–४३ तिर दार्जिलिङको रेलमा १०–१५ भारुको तनखामा ब्रिक्सम्यान भएर काम सुरु गर्दाको अर्को अनुभव थियो उनको । अनिकाल लागेको थियो । उनी भन्छन्, ‘गोरा पल्टन, हाप्सी पल्टन, गोर्खा पल्टन, शिख रेजिमेन्टका जवानहरू यदि लडाइँमा क्याज्युयल्टी भएका छन् भने रेलको प्यासेन्जर गाडीले नै दार्जिलिङको लेबुङ अस्पतालमा ल्याउनु–लानु पर्थ्यो ...घुम पहाड गोर्खा डिपो (छाउनी) बाट नयाँ रंगरुट आर्मीको भर्ती हुन थाल्यो । गल्लावालाहरूले गाउँबस्तीका घरघरमा गई अल्लारे केटाहरूलाई फकाई–फुस्ल्याइलाई घुम छाउनीमा ल्याउन थाले... हजार–हजार केटा रंगरुट भई लडाइँमा जान थाले... खराने रंगको कमिज र खाकीको पत्लुङ लगाई, केस खौरी, मुडुलै भई, हातमा सेतो तौलिया लिई ।’

डीएस दर्नाल पछि गएर चिया कमान मामिलामा यति निपुण र विशेषज्ञ भए, उनलाई सबै कमानहरूले प्रबन्धनका निम्ति निम्त्याउने भए । रंगनिट, बागडोग्रा दुईवटा कमानका सुपरिन्टेन्डेन्टसम्म भए । उनी लेख्छन्, ‘जोगमाया कमान (पुरानो नाम घैयाबारी कमान) को फ्याक्ट्री र कमानमा पूरा ध्यान दिएर, दिनरात खटेर काम गर्न थालें, ठाँटले म्यानेजरी गर्न सुरु गरें... फलस्वरूप वर्षको अन्त्यमा गएर हेर्दा चियाको उत्पादन एकदमै बेसी भएछ... कम्पनीलाई प्रशस्त मुनाफा भयो... कमानका मालिक डीएन सिन्हा अत्यन्तै खुसी भएर डिसेम्बर महिनामा कमानका सबै स्टाफ र मजदुरहरूलाई ठूलो भोज खुवाए । सेलिम हिल, सिमीटार, घुम्ती, जंगपाना र वरिपरिका कमानहरूमा खबर पुग्यो; सबैले बधाई दिए ।’ श्रमिकको उद्गार उनी यस प्रकार पोख्छन्-

पत्ती है टिप्नु टप टप, जोगाउनु सुइरोलाई

घरबाट बिहान गन्तीमा गई, सलाम छ कुइरेलाई

रुझी र भिजी काम गर्छौं हामी, सबैले जान्दैनन्

जानेर पनि स्याबासी दिनु, कसैले मान्दैनन् ।

पीआर (पञ्चरत्न) प्रधानको लेखनशैली र कथा आफ्नै मौलिकताले भरिभराउ । उनको त जीवन नै विभिन्नताले रंगीचंगी । उनको परिवार चार पुस्तादेखि ख्रिस्टान धर्मावलम्बी, दुईतीन पिँढी नै शिक्षित । कालिम्पोङ र रवीन्द्रनाथ ठाकुरद्वारा स्थापित शान्ति निकेतनमा शिक्षा । अनि राजनीतिज्ञ र एसयूएमआई स्कुलका प्रधानाध्यापक, एकपल्ट पेसाले नै बाटो–पुल बनाउने ठेकेदार र फेरि पञ्चायत सदस्य हुँदै दार्जिलिङ जिल्ला परिषद्कै सभापति । उनको आत्मवृत्तान्त यसैले चाखलाग्दो र घटनाक्रमको वर्णन अति नै रोचक । चिटिक्क परेका व्यक्तित्व थिए उनी । हरेक भेटघाटमा मेरो त मनै हर्थे उनले । उनको आत्मकथाका पृष्ठहरू पनि त्यत्तिकै मन बहलाउने । खैनीको लत, बंगालको भयंकर अनिकाल, जिउँदो साँपको पार्सल, जुम्राको कहर, काठमाडौंबाट खबर, गोर्खा लिगदेखि मोहभंग, भारत–चीन युद्ध, चर्चका कुरा, अलग राज्य गोर्खाल्यान्डको माग आदि पढ्नैपर्ने अध्यायहरू हुन् ।

९३ वर्षका उनी भन्छन्, “त्यस बेला १६ आनाको एक रुपियाँ हुन्थ्यो, एक आनामा चार पैसा । दूध ६ पैसा सेर, अण्डा दुई आना दर्जन, डाँठे बगडा चामल एक रुपियाँको १६–१८ सेरसम्म पाइने, दूध–घिउ कति खान्छौ खाऊ । ...हामी स्कुलको टिम खेलेको हेर्न जाँदा छाताभित्र डन्डा लुकाएर जान्थ्यौं । उता इन्डस्ट्रियल स्कुलकाहरू मार्तोल, बन्चरो बोकेर आउने; गोसखानकाहरू सुँगुर घोच्ने भाला, मासु काट्ने बाम्फोकबिना खेल हेर्न नआउने । खेलाडीहरूलाई ‘चियर अप’ गर्दा ‘देदे, ठोक्ठोक्, काङबाङ्ला तेरतेर (नली हाड भाँचिदे)’ भन्ने थरीथरीका स्वरले खेल मैदान गुन्जिन्थ्यो ।’ भुटानमा स्कुल–कलेज नखोलिएका कारणहरूमध्ये एउटा त्यहाँका राजाको, नेपालमा चन्द्रशमशेर महाराजले त्रिचन्द्र महाविद्यालय खोल्दा राणा शासनको अन्त्यको सुरुआत भएजस्तै हालत हुन्छ कि भन्ने भय थियो । प्रधानले यसै गरी अखिल भारतीय गोर्खा लिगमा होमिएरै तिनताकका नेताहरू देवप्रकाश राई, एनबी गुरुङ आदिसँग राजनीतिक कार्यहरू गरे । पछि उनी गएर थियोडर मनेन, पीपी राई आदिसँग भारतीय राष्ट्रिय कांग्रेसमा सामेल भए ।

“शान्ति निकेतन अध्ययन गर्दा, कसैले ‘आर यु चाइनिज’ भनेर सोधे, ‘नो आई एम नेपाली’ भन्दा ‘वेट’ भन्दै छक्क परे प्रश्न सोध्ने मान्छे । मलाई कस्तो लाग्यो भने, अरू जातका अनि देशकाले हामी नेपालीलाई केवल सिपाही, दरवान र ढोके भनेर मात्र चिन्दा रहेछन् ।’ त्यसताक राजनीतिमा पनि भारतीय गोर्खाहरूले योगदान गरेको बारेमा निकै चर्चा हुन्थ्यो । उनी लेख्छन्, ‘त्यस समयको गोर्खास्थानको भौगोलिक नक्साभित्र असमको ग्वालापाडा जिल्लाको केही अंशदेखि कुचविहार जलपाइगुडी र दार्जिलिङ जिल्लाहरू थिए । यहाँका विभिन्न जनजातिका प्रतिनिधिहरू पनि गोर्खा लिगमा सामेल थिए ।”

‘सन् १९५१ मा म स्कुलको गुरुबाउ अनि गोर्खा लिग पार्टीको कर्मठ कार्यकर्ता थिएँ । रणधीर सुब्बाबाट खबर आयो कि भरतशमशेर कालेबुङ आउँदै छन्, उनीसितै साथ लागेर ४–५ महिनाका लागि नेपाल पहाड यात्राका निम्ति जानुपर्ने... बबरमहल एउटा स्वनिर्भर संस्थापन नै थियो । घरमा आठ पहरिया, सुसारे, छाते, भान्से गरेर जम्मा ७०० जना थिए । घोडाको अस्तबल, घोडा कुदाउने चौर, फुटबल भलिबल मैदान, स्कुल इत्यादि सबै दरबार परिसरभित्रै ।’ कालिम्पोङबाट गएका रणधीर सुब्बा नेपालमा एक शक्तिशाली राजनीतिज्ञ भए । पीआर प्रधानले थुम्काथुम्का घुमेर नेपाल चिने । तिनताकका मानेका ठेकेदारहरू एलपी शर्मा एनडी शर्माकै आशीर्वादले आफू पनि एक कुशल ठेकेदार भएपछि प्रधानले अलि परतिरको रवि खोलाको पुल बनाएका थिए । उनले आत्मकथामा सन् १९६२ मा भारत–चीन युद्ध हुँदाका घटनाहरू, विशेषतः माथि नथुला र आफ्नै कालिम्पोङका, अघि ल्याएका छन् । जिल्ला परिषद्को अध्यक्ष रहँदा ज्योति बसुसँग उनको धेरै घनिष्ठता भयो । ‘ज्योति बसु साह्रै भद्र थिए । उनी दार्जिलिङलाई माया गर्थे । उनले मेरा धेरै प्रस्तावनाहरूलाई स्वीकार गरे ।’ सन् १९८० को दशकमा गोर्खाल्यान्ड आन्दोलन हुँदा उनी स्कुलका प्रधानाध्यापक थिए । उनी भन्छन्, ‘स्कुलका परीक्षाहरूतिर पनि विद्यार्थीहरूले गुण्डागिरी देखाउन थाले, स्कुल बचाउन हम्मेहम्मे पर्‍यो मलाई । ...दार्जिलिङ गोर्खा पार्वत्य परिषद्को गठनपछि तीन स्तरीय पञ्चायत विघटन भयो । सुवास घिसिङको यो सबैभन्दा ठूलो ब्लन्डर थियो भन्छु म, जसले गर्दा सिलिगुडी महकुमा हामीबाट सधैंका निम्ति चुँडिएर गयो ।’ प्रधानले जिल्ला परिषद्को अध्यक्ष रहँदा सिलिगुडी, नक्सलबारी, फाँसीदेवा क्षेत्रमा सबैलाई पुग्ने गरी विकास कार्यहरू गरेका थिए ।

मदन गुरुङले दार्जिलिङका संस्थाहरू, संगीत–साहित्य–खेलकुद र अंग्रेजकालदेखि नै सुरु गरिएका नियमकानुनहरूलाई आफ्नो आत्मकथा प्रस्तुत गर्ने मार्ग–साधन बनाएका छन् । ‘म गफ गर्न रुचाउँछु । यो मेरो सानैदेखिको बानी हो । गफ गर्दै कलेज जाँदा साथीहरूले भन्थे- तिमीसित हिँड्दा बाटो काटेको पत्तै हुँदैन । त्यति बेला म फुरुक्क हुन्थें ।’ दार्जिलिङमा पानी, बिजुली, टेलिफोन, भुइँचालो, म्युनिसिप्यालिटी, खेलकुद, संगीत सबैको टम्म इतिहास बोकेको यस पुस्तकमा घोडा रेसदेखि संगीतकार–गायक अम्बर गुरुङले दार्जिलिङको अन्तिम भ्रमणमा मोमो मज्जाले खाएको कुरासम्म लेखिएका छन् । ‘नगरपालिकाले अक्टोबर १९३३ मा टाउन हल (क्यापिटल) बुर्जामा बिजुलीद्वारा सञ्चालन हुने घडी (इलेक्ट्रिक टरेट क्लक) जडान गर्छ । नगरपालिकाको (सन् १८५०) प्रयोगशालामा ...एउटा कोठामा रगत आदि परीक्षणका निम्ति अनेक बेलायती मुसाहरू राखिएका थिए । दार्जिलिङ सहरमा टेलिफोन सेवा सन् १९२३/२४ तिर सुरु भएको अनुमान लाउन सकिन्छ... दार्जिलिङको भालु बिल्डिङ छेउको ‘डोनाभेन पार्क’ मा उहिले टेनिस कोर्ट थियो । नगरपालिकाको ६ नोभेम्बर १९३८ को सभामा कर्णेल गोविन्दशमशेर जंगबहादुर राणाले चौरस्ता फाँटलाई सुन्दर बनाउन २५,००० भारु आर्थिक सहयोग दिने र आफ्ना स्वर्गीय पिता जनरल प्रताप शमशेर जंगबहादुर राणाको सालिक राख्ने भनी गरेको प्रस्ताव स्वीकार गरियो । घोडा रेस लेबोङमा सुरु भएपछि ५–६ वटा बुक्कीहरूको कियोस्क बनाइयो; अधर प्रसाद, दास, फ्रेन्ड्स कम्पनी प्रमुख थिए । नाम चलेका घोडाहरू विजय कुमार, बुचकासी, वान आइड ज्याक थिए र जक्कीहरूमा हाफलुङ राई, मुसे, प्रताप, बुद्धिमान राई, जगत ठटाल, गोमे छिरिङ प्रसिद्ध थिए ।’ गुरुङको कृतिले दार्जिलिङलाई विश्व ब्रान्ड कसरी बनाइयो भन्ने कुरो छर्लंग पारिदिएको छ ।

यी तीन पुस्तकले आआफ्नै ढंगमा नेपाली जाति, समाज, समुदाय, भाषा, साहित्य, संस्कृति, अर्थव्यवस्था आदिलाई केन्द्रविन्दु बनाई एउटा नयाँ साहित्य लेखनका अवधारणा अनि आधारहरू अघि राखेका छन् । अहिलेको पिँढीलाई यस्तै खुराक चाहिन्छ ।

प्रकाशित : भाद्र २१, २०७९ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्

सजाय, अनुशासन र बालमनोविज्ञान

अभिभावकले विद्यालयलाई बालबालिकाको समय कटाउने थलो या आफूले गर्नुपर्ने हेरचाहको जिम्मेवारी बाँडफाँड गर्ने ठाउँ अनि शिक्षकले शिक्षालाई कोरा व्यापारिक लेनदेनका रूपमा मात्र लिइदिँदा विद्यालय कठोर कारागार बनिरहेका छन् ।
अजय रिसाल

शिक्षकले पिट्दा विद्यार्थीको कानको जाली फुट्यो, आँखाको ज्योति गुम्यो, हात भाँच्चियो, खुट्टा मर्कियो, शरीरभरि नीलडाम’ भनेर समाचार आइरहन्छन् । त्यस्तै ‘शिक्षिकाले मन नपराएको’, ‘बाबाले गाली गरेको’ जस्ता सामान्य कारण देखाएर नानीबाबुले ‘आत्महत्या’ गरेका खबर पनि आउँछन् । यस्ता समाचारले बेलाबेलामा मलाई झक्झकाउँछ ।

किशोरी छात्राहरू यौन दुर्व्यवहारको सिकार बन्ने गरेका खबरले झनै उद्वेलित गराइदिन्छ । हाम्रा विद्यालय कठोर कारागार अनि छात्रावास व्यभिचारका केन्द्रमा परिवर्तन हुन लागेका त होइनन् प्रश्न उठ्छ ।

बालबालिकाका व्यवहारजन्य समस्याका मनोसामाजिक आयामलाई यदाकदा केलाउँछु म । विद्यार्थीहरूलाई स्व–अनुशासित गराउने नाममा कठोर एवं अनैतिक कदम चाल्दा आउने दुष्परिणामतिर सचेत गराउँदै यस्ता सजायको विकल्पतिर सबैको ध्यान आकृष्ट गराउनैपर्ने भएको छ । ‘अनुशासनका लागि नैतिक शिक्षा, मूल्यमान्यतामा आधारित चिन्तन, आचार–विचारको अभिमुखीकरण आवश्यक कि प्रयोगात्मक अनि व्यावहारिक प्रशिक्षण भन्ने विवाद प्लेटो, अरस्तुजस्ता चिन्तकको समयदेखि नै रहिआएका छन् । प्लेटो नैतिक शिक्षाका पक्षपाती थिए भने अरस्तु व्यावहारिक अनुशीलनको । यो मामलामा हाम्रो नीतिशास्त्रको उद्धरण अझ सान्दर्भिक हुन्छ:

लालयेत् पञ्चवर्षाणि, दशवर्षाणि ताडयेत् ।

प्राप्ते तु षोडशे वर्षे, पुत्रं मित्र समाचरेत्  ॥

अर्थात्, बालबालिका ५ वर्षसम्म बाबुआमाको मात्र छत्रछायामा रहँदा लोलोपोतोकै आवश्यकता रहन्छ । ६–१५ वर्षसम्म घरमा आमाबाबु अनि विद्यालयमा शिक्षकवर्गको संयुक्त रोहवरमा रहँदा अनुशासनको नियमन आवश्यक रहन्छ । १६ वर्ष पुगेका किशोरकिशोरीलाई भने मित्रतापूर्ण सम्बन्धको जरुरत पर्छ ।

पारपाचुकेका कारण भएका पारिवारिक विघटन, एकल परिवारको वृद्धि, आमाबाबु दुवैले बाहिरी कामकाज गर्नुपर्ने अवस्था, सानो उमेरमै बालबच्चालाई विद्यालय पठाउनुपर्ने बाध्यता, सामाजिक सञ्जालहरूका आइरहेका बाढी, सांस्कृतिक विचलन आदि पारिवारिक अनि सामाजिक वस्तुस्थितिमा आएका परिवर्तनका कारण घरभित्र अनि विद्यालयमा पनि अनुशासन, नैतिकता, आचारविचारका चिन्तनमा भिन्नता आइरहेका छन् । घर अनि विद्यालयबीच जस्तो पारस्परिक सम्बन्ध रहनुपर्ने हो, त्यस्तो अहिले छैन । अभिभावकले विद्यालयलाई बालबालिकाको समय कटाउने थलो या आफूले गर्नुपर्ने हेरचाहको जिम्मेवारी बाँडफाँड गर्ने ठाउँ अनि शिक्षकले शिक्षालाई कोरा व्यापारिक लेनदेनका रूपमा मात्र लिइदिँदा माथि उल्लिखित समस्या आइरहेका हुन् । जिम्मेवारी, सम्मान, विश्वास, न्याय, रेखदेख, नागरिक दायित्वजस्ता मान्यतामा चुकेका छन्- अभिभावक र शिक्षकगण । त्यसैले नै बालबालिकामा अनुशासन कायम राख्न सजायबाहेक अन्य विकल्प नभएझैं ठानिएको छ ।

घरपरिवार अनि विद्यालयमा सकारात्मक वातावरण बनाइराख्न पनि अभिभावक एवं शिक्षक वर्गमा कार्यकुशलता अनि परस्पर सद्भाव अत्यावश्यक छ । अति उद्दण्डता देखाउने बालकालिकाका लागि नै पनि अनुशासनको प्रमुख लक्ष्य तिनमा आत्मसंयम या स्वनियन्त्रणको विकास गराउनु हुनुपर्छ न कि दण्डको डर पैदा गर्नु । त्यसैले शारीरिक सजाय या गालीगलौजजस्ता प्रायः प्रयोगमा ल्याइने अनुशासनका विधि प्रभावकारी मानिंँदैनन् । युरोपमा भएका विभिन्न अध्ययनले झापड हान्ने, पिट्नेजस्ता सजायले बालबालिकाका उच्छृंखल व्यवहारमा झनै वृिद्घ गरेर कालान्तरमा ती विभिन्न मानसिक समस्याको सिकार बनेका, अनि लागूऔषध लिन या आपराधिक प्रवृत्तितर्फ उन्मुख भएका छन् ।

शारीरिक सजायले चोटपटक बढाउने त छँदै छ, मानसिक चोटजस्तो ग्लानि, हीनताबोध वा बदलाको भावनासमेत बढाउने गर्छ । गालीगलौजले बालबालिकाको आत्मविश्वासमै कमी ल्याउने गर्छ । बाबुआमा अनि शिक्षकले आज्ञाकारितालाई भन्दा स्वनिर्णय गर्ने क्षमता अभिवृद्धि गर्नुलाई बढी महत्त्व दिए बालबालिकामा अनुशासनको गुण क्रमशः विकास हुँदै जान्छ, त्यसले विवेक अनि कर्तव्यबोधको रूप लिन्छ भविष्यमा । शारीरिक सजाय दिने गर्दा बालबालिकाले यसबाट बच्न मात्र शिक्षक या अभिभावकले चाहेको क्रियाकलाप उनीहरूका अगाडि गर्ने गर्छन् । तर तिनको आँखा छलेर अनुचित व्यवहार गर्ने सम्भावना भने रही नै रहन्छ । दण्ड पाइसकेपछि बालबालिकाले ‘मैले मूल्य चुकाइसकें, फेरि गरें भने पिटाइ नै पाउने त हो नि !’ भन्दै त्यस्ता व्यवहार दोहोर्‍याइरहन सक्छन् । आफूले गरेको कामको पश्चात्ताप मान्ने सम्भावना कमै रहन्छ ।

बालबालिकालाई नियम पालना गर्न हरदम इच्छुक बनाइराख्ने हो भने दण्डसजाय अनि प्रोत्साहन-पुरस्कार दिनेतर्फ विचार पुर्‍याउनुपर्छ, जसका दुई प्रचलित विधि हुन्- पुरस्कारमा कटौती र जरिवाना तिराउने । अनुचित क्रियाकलाप गरेमा उसले पाउँदै आएको सुविधामा कटौती गरिदिने या बन्द गरिदिनेजस्तो गृहकार्य नगरेसम्म खेलकुदमा भाग लिन नदिने गर्न सकिन्छ । त्यस्तै ‘तिमीले ऐना फुटायौ’ त्यसैले ‘तिम्रो गोजी खर्चबाट असुलउपर गर्छु’ भन्न सकिन्छ । तर यी तरिकालाई प्रभावकारी रूपमा प्रयोग गरिएन भने राम्रो परिणाम ल्याउन सक्दैनन् । यी दुवै बालबालिकामाथि मात्र केन्द्रित छन्, न कि तिनको व्यवहारमाथि । पुरस्कार बालबच्चालाई लोभ्याउन उपयोगी हुन सक्छ, यसको लोभमा केही असल व्यवहार पनि देखाउँछन् तर त्यसलाई सधैं कायम राख्न सकिएन भने अनुचित क्रियाकलापतिर नै फर्कने जोखिम हुन्छ । अर्कातर्फ सबै गलत क्रियाकलापमा जरिवाना गराउन सम्भव पनि हुँदैन अनि सबै उमेर समूहमा यसलाई लागू गर्न पनि सकिँदैन ।

अतः दण्डसजाय या पुरस्कार सम्बन्धित बालबालिकालाई मात्र केन्द्रमा राखेर गरिने प्रयास हुन् । प्रभावकारीताका लागि भने नराम्रो आचरण या बानीव्यहोरातर्फ नै केन्द्रित हुनु जरुरी छ । अब बालबालिकालाई नियमन गर्ने वा अनुशासित गराउने अलि बढी प्रभावकारी विधिहरूको चर्चा गरौं ।

परिणाममुखी नियमन : हामीलाई थाहै छ, खाना समयमा नखाए भोक लाग्छ । बेलुका खाना खान मन नगर्ने बालबालिका हुन् या समयमा घर आएर खाना नखाने किशोरकिशोरी, बाबुआमा ती भोकै रहलान् भनी चिन्ता गरेर आफू नै नखाएर बस्ने या उनीहरू आएपछि तताएर खाना ख्वाउने गर्छन् । त्यसले ती बालबालिका या किशोरकिशोरीको ‘ढिलो आउने’ या खान नमान्ने बानीमा कुनै कमी आउँदैन । अतः परिणाममुखी अनुशासन चाहने हो भने छोराछोरीलाई ‘तिमीहरूले खान मानेनौ या समयमा घर आएनौ भने खान पाउँदैनौ, भोकै बस्नुपर्छ’ भनेर कडा निर्देशन दिएर, त्यही प्रवृत्ति दोहोर्‍याएमा बेलुकीको खान बन्द नै गरिदिनुपर्छ । त्यसपछि बल्ल छोराछोरीले ‘हाम्रो कारणले नै हामी भोकै रहनुपरेको हो’ भन्ने यथार्थ बोध गर्छन् र व्यवहारमा सुधार आउन सक्छ । यो विधिले बालबालिकालाई जिम्मेवारी बोध मात्र नगराई जवाफदेहिता पनि विकास गर्छ । ‘मेरो कामको जिम्मेवारी मै लिन्छु, ठीक बेठीक परिणामको जवाफदेही मै हुँ’ भन्ने बोध भइसकेपछि सकारात्मक तवरले नै अनुशासनको विकास भएन र ?

टाइम आउट : यो दुई वर्षमाथिका अनि प्राथमिक विद्यालय तहका बालबालिकालाई ज्यादा उपयोगी देखिएको छ । यसमा आफूले नचाहेको व्यवहार छोराछोरीले देखाएमा तिनलाई बाबुआमाले एउटा निश्चित ठाउँमा रहन लगाएर ध्यान नदिने गर्नुपर्छ । बालबालिकामा बाबुआमाको ध्यान पाउन नसक्ने क्रियाकलाप गरेको जब बोध हुन्छ, तब त्यस्ता कार्य रोक्ने सम्भावना बढी हुन्छ । बालबालिकाको उमेर अनुसार १–५ मिनेटको समय दिनुपर्छ ‘टाइम आउट’ का लागि । समय सकिनासाथ बालबालिकासँग त्यो क्रियाकलापबारे कुनै चर्चा नगरी सामान्य व्यवहार गर्नुपर्छ । अतः प्रभावकारी अनुशासनका लागि बालबालिका–बाबुआमा–शिक्षक वर्गको आपसी सम्बन्धमा विचार पुर्‍याउँदै इच्छित व्यवहारका लागि प्रोत्साहन अनि नरुचाइएको क्रियाकलापका लागि परिणामबोध गराउन सक्ने वातावरणको तयारी गर्नुपर्छ ।

बाबुआमा अनि शिक्षकशिक्षिका अधिनायकवादी नभई आधिकारिक रहन सकेमा कठोर दण्ड–सजायबिना नै अनुशासनको परिपालना गराउन सकिन्छ । विद्यालयको कक्षाकोठामा स्वस्थ वातावरण कायम राखी सकारात्मक सुदृढीकरणका उपाय अवलम्बन गरेर समस्या समाधान गर्न सही निर्णय लिने समर्थ शिक्षक नै आधिकारिक शिक्षक बन्न सक्छन् । तिनले नै बालमनोविज्ञानमा असर नपारी यातनारहित विद्यालयको अवधारणा निर्माण गर्न सक्छन् ।

रिसाल धुलिखेल अस्पतालको मनोचिकित्सा विभागमा कार्यरत छन् ।

प्रकाशित : भाद्र २१, २०७९ ०७:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×