कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पार्टी राजनीति सुध्रिनुको विकल्प छैन

भ्रष्ट र नाफाखोर व्यापारीका लागि काम गर्ने अनि तिनैबाट आर्थिक लाभ लिई शीर्षस्थ नेतृत्वलाई रिझाएर जुनै अपराधबाट पनि चोखिने प्रवृत्ति जुनसुकै पार्टीमा छ ।

चुनावी माहोलले नेपालको राजनीति तरंगित बनिरहेको छ । विभिन्न कोणबाट चुनावकेन्द्रित बहसहरू भइरहेका छन् । त्यस्ता बहसहरूमा स्थापित पार्टीका शीर्षस्थ नेताहरूलाई हराउनुपर्ने र चुनावी गठबन्धन गर्न हुने–नहुने विषयले सबैभन्दा बढी ठाउँ पाएका छन् ।

पार्टी राजनीति सुध्रिनुको विकल्प छैन

सरसर्ती हेर्दा, स्थापित पार्टीका शीर्षस्थ नेताहरूलाई निर्वाचनमा हराउनुपर्ने तर्कमा असहमति राख्नुपर्ने कारण छैन । देशमा वर्षौंदेखि सुशासन नकारात्मक दिशामा छ र यसको प्रवृत्ति बढ्दो छ । विकृत अभ्यासमा राजनीतिक पार्टीहरू र तिनका शीर्ष नेतृत्वले कुनै कसर बाँकी राखेका छैनन् । जुनसुकै पार्टीका भए पनि केही वर्षदेखिका सरकारका गतिविधिहरूले उनीहरूमा न्यूनतम नैतिकता, जवाफदेही पनि नभएको प्रमाण दिएका छन् । त्यसैले त वर्तमानमा राजनीतिले आम मानिसलाई निराश बनाएको छ र बहुसंख्यक नेतृत्वसँग जनताको वितृष्णा चरममा पुगेको छ । तर फेरि पनि जनप्रतिनिधि बन्ने लालसा राखेका पार्टीहरूका नेताले यो वास्तविकतालाई बेवास्ता गरिरहेका छन् । त्यसैले नेताहरू आचरण सुधारेर होइन, गठबन्धन गरेर चुनाव जित्ने ध्याउन्नमा छन् ।

यस्तो अवस्थामा हुन लागेको निर्वाचनले केही नैतिक र जवाफदेह नेतृत्वलाई सरकारमा स्थापित गर्ला कि भन्ने जनआशा हुनु स्वाभाविक पनि हो । तीस वर्षदेखि हरेक चुनावमा दोहोरिने उस्तै र उही अनुहारहरू, तिनै व्यक्तिहरू सरकारमा गएपछि थपिने विकृतिका नयाँ शृंखलाको पृष्ठभूमिमा अंगराज तिमिल्सिना, अरनिको पाँडे, स्वर्णिम वाग्लेजस्ता आफ्नो क्षेत्रमा पहिचान बनाइसकेका व्यक्तिहरूको उम्मेदवारीको चर्चाले आम मानिसलाई तरंगित बनाउनु अस्वाभाविक होइन । त्यस्तै, स्थानीय तहमा बालेन्द्र शाह, हर्क साम्पाङ, गोपाल हमालजस्ता स्वतन्त्र उम्मेदवारहरूले चुनाव जितेकाले पनि केहीलाई उत्साहित बनाएको छ । वैकल्पिक पार्टी निर्माणको उभारलाई पनि केहीले उज्यालोको संकेतका रूपमा हेरेका छन् ।

स्थापित पार्टीमा राम्रो सम्भावना भएका व्यक्तिहरूको उम्मेदवारीलाई कसरी हेर्ने ? सक्षम व्यक्तिको हस्तक्षेपले पार्टी राजनीतिलाई सही बाटामा डोर्‍याउने सम्भावना पनि छ । प्रायशः पार्टीमा सक्षम, अध्ययनशील, नैतिक र जिम्मेवार नेता–कार्यकर्ता नभएका होइनन् । र पनि उनीहरूको क्षमतालाई पार्टीविशेषले सदुपयोग गरेको खासै देखिँदैन । पार्टीभित्र तथा सरकारमा पदीय जिम्मेवारी दिने सन्दर्भमा शीर्ष नेतृत्वको कन्जुस्याइँ बुझ्न सार्वजनिक वृत्तमा राम्रो छवि भएका र क्षमतावान् नेपाली कांग्रेस, माओवादी र एमालेका केही नेतालाई तत्तत् पार्टीले दिएको भूमिकाबाट प्रस्ट हुन्छ । यसैले कुनै पार्टीबाट एकदुई आशालाग्दा व्यक्तिको उम्मेदवारीले राजनीतिमा आमूल परिवर्तन हुने विश्वासको आधार ज्यादै कमजोर छ ।

अर्कातर्फ, नेपालमा वैकल्पिक राजनीतिको विकास उत्साहजनक छैन । भारतमा आम आदमी पार्टी सफल हुँदै गर्दा नेपालका स्वघोषित वैकल्पिक राजनीति गर्नेहरूको राजनीतिक संस्कार, वैचारिक स्पष्टता, अधिकांश पात्रको प्रवृत्ति र व्यवहार परम्परागत भनिएका पार्टीहरूको भन्दा पनि संकुचित देखिन्छ । बाबुराम भट्टराईजस्ता लामो राजनीतिको अनुभव भएका नेता पनि वैकल्पिक राजनीतिलाई स्थापित गर्न असफल भएपछि पुरानै लयमा फर्कन लागेका छन् । त्यस्तै, रवीन्द्र मिश्रको राजनीतिले वैकल्पिक राजनीतिको आधारभूत लय समाउन पनि नसकेको देखिन्छ । रवि लामिछाने नेतृत्वको पार्टीको मूल्यांकन अहिले नै गर्नु अलि हतारो हुनेछ । अस्तित्वमा रहेका पार्टीहरू हदैसम्म जवाफदेहीविहीन बन्दै गर्दा नयाँ पार्टीको गठन अवश्य सुखद कुरो हो र यो लोकतन्त्रको सौन्दर्य पनि हो, तर स्वतन्त्र पार्टीका विचार, सिद्धान्त र एजेन्डा के हुन्, विस्तृत प्रारूप आएको छैन । मूलतः पार्टी निर्माण सिद्धान्तका आधारमा हुन्छ । पार्टी बन्ने प्रक्रियामा राजनीतिक दर्शन, सिद्धान्त, संगठन, कार्यदिशाजस्ता विषयको सूक्ष्मतम तर महत्त्वपूर्ण भूमिका हुन्छ । सैद्धान्तिक आधारबिना नै घोषणा भई निर्वाचन आयोगमा दर्ता भएका तर देश र जनताको हितमा कुनै योगदान पुर्‍याउन नसकेका पार्टीहरू सयौंको संख्यामा छन् नै ।

त्यस्तै, स्वतन्त्र उम्मेदवारको चुनावी विजय सुन्दर विषय हो । पालिका तहमा यो अभ्यास सफल पनि देखिएला । तर प्रादेशिक तथा संघीय तहमा स्वतन्त्र उम्मेदवारको विजयले समग्र राजनीतिमा तात्त्विक भिन्नता ल्याउन सक्दैन । वर्तमान शासकीय प्रणालीमा विजयी स्वतन्त्र उम्मेदवार कार्यकारी प्रमुख वा पदीय जिम्मेवारीमा पुग्ने सम्भावना शून्यप्रायः नै हुन्छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्था भएको भए सम्भावना बलियो हुन्थ्यो । त्यसैले एक–दुई स्वतन्त्र उम्मेदवारको उभारले क्षणिक उत्साहबाहेक केही दिन सक्दैन ।

नेपालका राजनीतिक पार्टीहरूमा अनगिन्ती समस्या छन् । विधि र पद्धतिको अवसान हुनु, समग्र पार्टी कमजोर हुनु तर गुटहरू बलिया हुँदै जानु, राजनीतिका नाममा घृणा र अफवाह फैलाउनु, निम्नस्तरको गालीगलौजमा उत्रिनु पार्टीहरूमा देखिएका समस्या हुन् । सरकारमा गएपछि पार्टी प्रतिनिधिहरूको भूमिकामा झनै ठूलो समस्या छ । पदीय जिम्मेवारीलाई धनआर्जन र शक्ति दुरुपयोगको लाइसेन्स पाएको ठान्ने, जनताप्रति जिम्मेवार हुनुपर्नेमा भ्रष्ट र नाफाखोर व्यापारीका लागि काम गर्ने अनि तिनैबाट आर्थिक लाभ लिई शीर्षस्थ नेतृत्वलाई रिझाएर जुनै अपराधबाट पनि चोखिने प्रवृत्ति जुनसुकै पार्टीमा छ ।

लोकतन्त्रको भ्रष्टीकरणमा पार्टीहरूका मूल नेतृत्व सबैभन्दा बढी दोषी छन् । गुटको रक्षा तथा अर्थ संकलनका लागि आफ्ना विश्वासिला तर भ्रष्टलाई पदीय जिम्मेवारी दिने र उनीहरूमार्फत भ्रष्ट व्यापारी र ठेकेदारसँगको संलग्नतामा राज्यको सम्पत्तिको दोहन गर्ने, नीतिगत भ्रष्टाचार गर्ने आदि अपराध शीर्ष नेतृत्वकै निर्देशनमा भएको देखिन्छ । अझ चक्रवर्ती सम्राट्को जस्तो अहंकार र महत्त्वाकांक्षा मुख्य नेतृत्वमा मौलाएको देखिन्छ । पछिल्लो संसद् विघटन त्यसैको उदाहरण हो । त्यस्तै पार्टीहरूमा छलफल, विवाद, संघर्ष, द्वन्द्व र रूपान्तरण आधारभूत विषय हो । यो प्रक्रियालाई शीर्ष नेतृत्वहरूले निषेध गर्दा अधिकांश पार्टी कि त मृतप्रायः छन् कि विघटनको जोखिममा ।

अहिले देखिएको चुनावी गठबन्धनको उद्देश्य पनि सत्ताप्राप्तिको क्षणिक स्वार्थभन्दा बढी नभएको प्रस्ट छ । देश इतिहासकै कठिनतम अवस्थामा गुजि्रँदै गर्दा सत्ता गठबन्धन वा प्रतिपक्षले देश र जनताकेन्द्रित कुनै पनि प्रतिबद्धता गरेका छैनन् । राजनीतिक सिद्धान्त, विचार र दर्शनको संगतिबिनाको गठबन्धनले पार्टी राजनीतिलाई कमजोर बनाएको छ । अन्ततः यसले लोकतन्त्रलाई नै कमजोर बनाउने जोखिम हुन्छ ।

यस्तो व्यवहारका कारण पार्टीहरूप्रति आम मानिसको विश्वास गुमेको छ । यसै धरातलमा नयाँ पार्टीहरू गठन भएका छन् । नयाँ पार्टी बन्नु, जनताका मुद्दाहरूलाई सही ढंगले पक्रनु र समाधानका अब्बल उपायहरूको खोजी गर्नुबाट लोकतन्त्रलाई उन्नत बनाउन अवश्य सहयोग मिल्छ । तर दोहोरिँदो यस्तो प्रवृत्तिले देशलाई परीक्षणको केन्द्र मात्र बनाउँछ जहाँ पार्टीहरूले फाइदा मात्र लिइरहेका हुन्छन् र जनताले गुमाइरहेका हुन्छन् । पार्टी राजनीतिले बाटो बिराएकैले यस्तो अवस्था आएको हो, नेताहरू आदर्श र विचारबाट स्खलित भएकैले यस्तो भएको हो । नत्र आज आलोचनाको केन्द्रमा रहेका देउवा, ओली, प्रचण्ड, बाबुरामजस्ता नेताहरू कुनै समयका नायक थिए । उनीहरूप्रति आम मानिसमा विश्वास र भरोसा थियो । सत्ता रापमा उनीहरूले आफूलाई सम्हाल्न सकेनन् र विकृतिको आहालमा डुब्न पुगे । त्यस्तै, नेताहरूको भन्दा उनीहरू आबद्ध पार्टीहरूको ऐतिहासिक विरासत बढी गर्विलो छ । प्रजातन्त्र स्थापनाका लागि नेपाली कांग्रेस र एमालेको योगदान तथा गणतान्त्रिक व्यवस्था स्थापनामा माओवादीको अग्रणी भूमिका कसैले नकार्न सक्दैन । यसमा व्यक्ति अनुसारका तर्क र भाष्य हुन सक्छन् तर यी पार्टीहरूका विगतलाई निरपेक्ष अवमूल्यन गर्न सकिँदैन ।

राजनीति सङ्लो बनाउन राजनीतिकर्मीहरूकै भूमिका ठूलो हुन्छ । यसका लागि युवा नेतृत्वले भ्रष्ट र गैरजिम्मेवार नेताको पदचाप पछ्याउन छोड्नैपर्छ । खराब नै सही, शीर्ष नेतृत्वको आशीर्वाद नै शक्तिको स्रोत हो भन्ने भ्रमबाट मुक्त युवाहरूले राजनीति सुधार्न सक्छन् । त्यसो त इच्छाशक्ति र प्रतिबद्धता हुने हो भने राजनीति सुधार्न उमेर बाधक पक्कै हुँदैन । राजनीति आफैंमा अपेक्षा गरेजस्तो पवित्र वस्तु होइन । शक्ति संघर्ष र शक्ति सञ्चयको क्रूर अभ्यासबाट राजनीतिको सुरुआत भएको हो र आजको अवस्थासम्म आइपुगेको हो । राजनीतिको यो विकासक्रममा आम नागरिकको चेतना र खबरदारीको झनै महत्त्वपूर्ण भूमिका हुन्छ ।

र अन्त्यमा, एमाले युवा नेत्री उषाकिरण तिम्सिनाले भनेझैं, ‘यो देशमा नयाँ पार्टी होइन, जिम्मेवार र जवाफदेह पार्टी चाहिएको छ ।’ समस्या पार्टीमा छ, नेता–कार्यकर्ताको आचरण र व्यवहारमा छ । यसको समाधान आचरण–व्यवहार सुधारेर नै हुन्छ । र यो पार्टीभित्रबाट मात्रै सम्भव छ । यदि पार्टीहरूले आफूलाई रूपान्तरण नगरे नयाँ पार्टीले तिनीहरूलाई प्रतिस्थापन गर्छन् । यो प्राकृतिक कुरा हो । पार्टीको अस्तित्व विलय भएका उदाहरणहरू इतिहासमा प्रशस्त छन् ।

प्रकाशित : भाद्र २०, २०७९ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?