के नेपालका कम्युनिस्टहरू वामपन्थी हुन् ?

नेपालमा भूमिसुधारको आन्दोलन गर्ने भूमिअधिकार मञ्च वामपन्थी कि सत्ताको स्वादमा मग्नमस्त कमरेडहरूको किसान संगठन वामपन्थी ?
केशव दाहाल

नेपालमा वामपन्थमाथि परिचर्चा गर्नु आफैंमा रमाइलो काम हो । किनभने यसको चर्चा सडकबाट सुरु गर्दा पनि हुन्छ वा सत्ताबाट । जताबाट हिँडे पनि पुगिन्छ एकै ठाउँमा । त्यसो त कुरा गर्दा वामपन्थलाई उधुमै सिद्धान्तीकरण गर्ने, सत्यलाई बंग्याउने र विषयलाई ‘क्लिष्ट’ बनाउने सुविधा पनि छ ।

त्यसो गर्दा मान्छे अग्घोरै बौद्धिक र वामपन्थी देखिन सक्छ । तर जब विमर्श गम्भीर तथ्यहरूमा प्रवेश गर्छ, तब आपत् आइलाग्छ । समाउने कसलाई ? टेक्ने कहाँ ? मार्क्सवादलाई समाउने हो भने त्यो कागजमा मात्र भेटिन्छ । व्यवहारमा छैन । कम्युनिस्टहरूलाई समाउने हो भने कसलाई समाउने, एमालेलाई कि माओवादीलाई ? समाजवादीलाई कि जनवादीलाई ? सबै जमेका पोखरी । सबै मैलाधैला । वामपन्थलाई खोज्ने अर्को आधार हो सडक । तर हामीसँग सडक पनि सुनसान छ । न नारा, न सपना ।

कम्युनिस्टहरूलाई समातेर वामपन्थको चर्चा गर्दा पुगिन्छ घोर अन्धकारमा । सडक हेरेर बहस गर्दा देखिन्छ अनन्त निराशा । एकातिर अँध्यारो खाडल, अर्कातिर निराशाको पहिरो । नेपाली वामपन्थको आजको नियति यही हो । प्रश्न आउँछ, त्यसो भए के नेपालमा वामपन्थीहरूको युग सकियो ? आज वामपन्थ, यसको जीवन सौन्दर्य र पुनर्गठनमाथि नै विमर्श गरौं ।

के हो वामपन्थ ?

एउटा विश्वचर्चित सन्दर्भ छ । फ्रान्सेली राज्यक्रान्ति (सन् १७८९) युरोपको सबैभन्दा ठूलो, उथलपुथलकारी र ऐतिहासिक क्रान्ति थियो । अर्थात्, महापरिवर्तन जसले विश्वराजनीतिमा नयाँ युगको सूत्रपात गर्‍यो । यही विन्दुदेखि संसारभर राजतन्त्रको सिंहासन हल्लिन थाल्यो । लोकतन्त्रको शंखघोष भयो । र, चर्च (धर्म) लाई राजकाजबाट अलग गर्ने प्रयत्नहरू थालिए ।

फ्रान्सेली राज्यक्रान्तिले स्थापित गर्न चाहेका मुद्दाहरूलाई संवैधानिक आधार दिन फ्रान्सेलीहरू संविधान लेखनमा जुटे । संविधान बनाउन ‘स्टेट जनरल’ को बैठक डाकियो, जसलाई अहिले ‘नेसनल एसेम्ब्ली’ भनिन्छ । एसेम्ब्लीका सदस्यहरूले संविधानमा लेख्नुपर्ने अनेक प्रश्नमाथि विमर्श सुरु गरे । राजाका विषयमा के गर्ने ? धर्मका विषयमा के गर्ने ? सत्ताको अनुहार कस्तो बनाउने ? राज्यको चरित्र कस्तो हुने ? राजकाजमा सामन्त, पादरी र सैनिक जनरलहरूको भूमिकालाई के गर्ने ? यावत् प्रश्नहरूमा छलफल गर्दा एसेम्ब्लीमा दुई खाले धारणा देखा परे । पहिलो थियो, सम्पूर्ण बदलावको धारणा । दोस्रो थियो, परम्पराको निरन्तरता ।

एसेम्ब्ली मेम्बरहरूलाई बस्नका लागि सभाध्यक्षका दायाँ र बायाँ कुर्सीहरू राखिए । परिवर्तनका पक्षधरहरू देब्रेतिर बसे, परम्परावादीहरू दाहिनेतिर । छलफल गर्न सजिलोका लागि उनीहरू निरन्तर यसरी नै बस्दै गए । बिस्तारै एसेम्ब्लीको समाचार बनाउनेहरूले लेफ्ट विङ र राइट विङका नामबाट समाचार बनाउन थाले । उनीहरूको त्यसरी नै चर्चा हुँदै गयो । उनीहरूलाई त्यसरी नै मान्छेहरूले चिने । अन्ततः त्यो विभाजन राजनीतिक अवधारणाका रूपमा स्थापित भयो । यसरी राजनीति वामपन्थी (लेफ्ट) र दक्षिणपन्थी (राइट) धारमा बाँडियो । यथास्थितिको निरन्तरता चाहनेहरू दक्षिणपन्थी भए । परिवर्तन चाहनेहरू वामपन्थी । रोचक तथ्य के भने, जतिखेर स्वयं मार्क्स जन्मिएकै थिएनन् (सन् १८१८) त्योभन्दा धेरै अगाडि नै (सन् १७८९) युरोपमा वामपन्थीहरू परिवर्तनका लागि लडिरहेका थिए ।

कम्युनिस्ट कि वामपन्थी ?

वामपन्थी हुनु र कम्युनिस्ट हुनु फरक कुरा हो । सैद्धान्तिक रूपमा कम्युनिस्टहरू साम्यवादी हुन्, वामपन्थीहरू कल्याणकारी/समाजवादी । सैद्धान्तिक रूपमा कम्युनिस्टहरू मार्क्सवादी हुन्, वामपन्थीहरू मानवतावादी । सैद्धान्तिक रूपमा कम्युनिस्टहरू सर्वहारा अधिनायकवादी हुन्, वामपन्थीहरू लोकतन्त्रवादी । यद्यपि संसारभरका कम्युनिस्टहरूले कुनै बेला सामन्तवादी र पुँजीवादी संस्थापनविरुद्ध घनघोर संघर्ष गरे । त्यसैले उनीहरू वामपन्थी भए । प्रश्न आउँछ, के त्यसो भए नेपालका कम्युनिस्टहरू वामपन्थी हुन् ? आलोचकहरू भन्छन्, ‘आजका हाम्रा कम्युनिस्ट पार्टीहरू खासमा कुनै दल होइनन्, यी हुन् व्यापारिक कम्पनी । र, तिनका नेताहरू हुन् मात्र व्यवस्थापक । नाफाखोर कम्पनीका मालिकहरू कसरी वामपन्थी हुन सक्छन् ?’

यद्यपि, सुरुआतमै नेपालका कम्युनिस्टहरू वामपन्थी होइनन् भनेर निष्कर्ष निकाल्नु पूर्वाग्रह हुन सक्छ । त्यसैले केही प्रश्नबाट सम्परीक्षण गरौं । जस्तो, वामपन्थीहरू निरन्तर अग्रगामी हुन्छन् । के नेपालका कम्युनिस्टहरू निरन्तर अग्रगामी छन् ? अग्रगामी छन् कि सत्तागामी छन् ? वस्तुतः कम्युनिस्टहरू सधैं अग्रगामी हुन्छन् भन्ने भाष्य पुरानो हो । कम्युनिस्टहरू पनि जड र परम्परावादी हुन्छन् । यदि नेपालका कम्युनिस्टहरू अग्रगामी हुन् भने, उनीहरूसँग वैचारिक, राजनीतिक र शासकीय संरचनाका नवीन प्रस्तावहरू के छन् ? परम्परागत लोकतन्त्रलाई उनीहरू कसरी समुन्नत गर्न चाहन्छन् ? दलाल पुँजीवादी चंगुलबाट मान्छेलाई निकाल्ने उनीहरूसँग के योजना छन् ? महाशून्य ।

वामपन्थीहरू आर्थिक–सामाजिक न्यायमा प्रतिबद्ध हुन्छन् । त्यसो हो भने, आधारतहलाई अधिकारसम्पन्न बनाउन नेपालका कम्युनिस्टहरूले के गरे ? भूमिसुधार, कृषिक्रान्ति र श्रमशोषणको अन्त्यका लागि कम्युनिस्टहरूले गरेका राम्रा काम के हुन् ? वामपन्थीहरू भुइँमान्छेको स्वाभिमानको पक्षमा हुन्छन् । त्यसो भए, नवराज विकको घटनामा उनीहरू किन मौन ? मधेशमा दहेजका कारण जलाइने महिलाहरूका पक्षमा उनीहरू किन सुषुप्त ? वामपन्थीहरू हरदम जनतालाई शक्तिशाली बनाउन चाहन्छन् । तर नेपालका कम्युनिस्टहरू शक्तिको केन्द्रीकरणका लागि किन यति विघ्न आसक्त ? गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालाई वामपन्थीहरू जनताको सार्वभौम अधिकार मान्छन् । नेपालका कम्युनिस्टहरू जनजीविकाका यावत् सवालहरूमा कहाँ छन् ? देशभक्ति र विश्वबन्धुत्व वामपन्थको चरित्र हो । हो भने, अन्धराष्ट्रवादप्रति कम्युनिस्ट मोह किन यति चर्को ? राम नाम जप्दै सुनको जलहरीमा माथ टेकाएर सत्तारोहणको सपना देख्ने कम्युनिस्टहरू कसरी अग्रगामी ? जो अग्रगामी होइनन्, उनीहरू वामपन्थी हुन्छन् कसरी ? तथ्यहरूले भन्छन्- नेपालका कम्युनिस्टहरू दलाल पुँजीवादी सत्ताका मतियार हुन् । भुइँको पसिना र सडकको आँसुलाई अवमूल्यन गर्ने कम्युनिस्टहरू केको वामपन्थी ?

सबै कम्युनिस्ट वामपन्थी हुँदैनन् । सबै वामपन्थी कम्युनिस्ट हुँदैनन् । कुनै बेला पश्चिम बंगालमा कम्युनिस्ट सत्ता थियो, जसले नक्सलबारीको किसान विद्रोहलाई दमन गर्‍यो । के ऊ वामपन्थी थियो ? चिनियाँ कम्युनिस्ट पार्टीको सरकार हङकङमा मानव अधिकारको स्वरलाई दबाउँछ र लोकतन्त्रको खिल्ली उडाउँछ । के ऊ वामपन्थी हो ? नेपाली कम्युनिस्टहरू लामो समयदेखि सत्तामा छन् । तर पनि सत्ताले महिला, दलित र जनजातिको आवाजलाई हरदम अवमूल्यन गर्छ । के यो वामपन्थ हो ?

जति बेला नेपालका कम्युनिस्टहरू सडकमा थिए, महिला, श्रमिक, गरिब र दलित अधिकारको कुरा गर्थे । भूमिसुधार उनीहरूको नारा थियो । उनीहरू सडकको गीत गाउँथे, परिवर्तनको सपना देख्थे । त्यसैले उनीहरू कम्युनिस्ट पनि थिए र वामपन्थी पनि । कुनै बेला कांग्रेस स्वयं जनअधिकार र लोकतन्त्रको कुरा गर्थ्यो । अतः ऊ लोकतन्त्रवादी पनि थियो र वामपन्थी पनि । नेपालका केही बुद्धिजीवी वामपन्थमाथि लेखेर, बोलेर सडकलाई सघाउँथे । सत्तालाई सोध्न उनीहरूसँग मनग्गे प्रश्नहरू हुन्थे । त्यसैले उनीहरू पनि वामपन्थी थिए । तर अहिले कम्युनिस्टहरूले सडक छोडे, बुद्धिजीवीहरूले प्रश्न । परिवर्तनको भोक र सपना सकिएका सत्ताधारीहरू केको वामपन्थी ? जब संसारभर सत्ताधारी कम्युनिस्टहरू बढ्दै गए, त्यसपछि न उनीहरू प्रगतिशील रहे, न वामपन्थी । उनीहरू त भयंकर वर्चस्ववादी संस्थापनमा पो रूपान्तरित भए । त्यसैले नै होला, आज उनीहरूको ‘न्यु क्लास’ पतनको डिलमा बसेर सत्ताको महिमा गुनगुनाउँदै छ ।

यसर्थ कुनै द्विविधा छैन कि, नेपालका कम्युनिस्टहरू स्वयं सत्ता हुन् । अर्थात्, संस्थापन । त्यसैले हुनुपर्छ, गत महिना नेपाल अध्यायन केन्द्रको वामपन्थ विमर्शमा प्राध्यापक पीताम्बर शर्मा भन्दै हुनुहुन्थ्यो, ‘वामपन्थीहरूबाट वामपन्थलाई बचाऔं ।’ म प्राध्यापक शर्मासँग पूर्णतः सहमत छु । र, त्योभन्दा अगाडि बढेर भन्न चाहन्छु, ‘नेपालको वामपन्थलाई सरकारी कम्युनिस्टहरूबाट बचाऔं ।’ किनभने सत्ताको रसरंगमा भुलेर नेपालको वामपन्थी आन्दोलन चरित्रहीन हुँदै छ । काँधमा सत्ताधारी कम्युनिस्टहरूको दुर्गन्ध बोकेर कोही मगमगाउँछ कसरी ? अतः स्पष्ट छ, जुन लोकतन्त्रले विकास, सामाजिक न्याय र अग्रगमनको सुनिश्चितता गर्दैन र जुन लोकतन्त्रको शीर्षासनमा कम्युनिस्टहरूको सत्ता छ, बुझ्नुपर्छ त्यहाँको राजनीतिमा वामपन्थ छैन । जुन कम्युनिस्ट राजनीतिले आफ्ना हजारौं कार्यकर्तालाई मानवीय मूल्य सिकाउँदैन, बुझ्नुपर्छ त्यो संगठनमा वामपन्थ छैन । यो लाजमर्दो अवस्था हो । यो लाजबाट निस्किन कसैले प्रयत्न गर्छ भने ऊ वामपन्थी हो । अन्यथा यथास्थितिलाई स्वीकार गर्ने र रमाउनेहरू केको वामपन्थी ?

वामपन्थको नयाँ बाटो
आजका वामपन्थीहरू को हुन् ? शिक्षा र स्वास्थ्य राज्यको दायित्व हुनुपर्छ भनेर निरन्तर सत्याग्रह गर्ने डा. गोविन्द केसी वामपन्थी कि शिक्षाको माफियागिरीलाई प्रवर्द्धन गर्ने कमरेडहरू वामपन्थी ? पुकार बम, ओम अर्याल, जीवन क्षेत्रीहरू वामपन्थी कि कमरेड दुर्गा प्रसाई वामपन्थी ? व्यवहारतः विश्वप्रकाश र गगन थापा वामपन्थी कि कमरेड गोकुल बास्कोटा र महेश बस्नेतहरू वामपन्थी ? कोभिडको समयमा प्रभावकारी उपचारको माग गर्ने ‘इनफ इज इनफ’ का अभियन्ताहरू वामपन्थी कि औषधिमा कमिसन खोज्ने सत्ताधारी कमरेडहरू वामपन्थी ? नेपालमा भूमिसुधारको आन्दोलन गर्ने भूमिअधिकार मञ्च वामपन्थी कि सत्ताको स्वादमा मग्नमस्त कमरेडहरूको किसान संगठन वामपन्थी ? महिला, दलित र अल्पसंख्यकहरूको अधिकारका लागि संघर्षरत स्वतन्त्र समूहहरू वामपन्थी कि, सरकारी लाल संगठनहरू वामपन्थी ? जन्मजात कांग्रेस प्रदीप गिरि वामपन्थी कि सत्तासीन माओवादी कमरेडहरू वामपन्थी ?

जब कम्युनिस्टहरू सत्तामा पुग्छन्, तब जनताका आधारभूत मुद्दाहरू बिर्सिन्छन् । त्यसपछि उनीहरू क्रमशः वामपन्थबाट च्युत हुन पुग्छन् । तथापि भ्रम यो रहन्छ कि, मान्छेहरू उनीहरूलाई घनघोर वामपन्थी ठान्छन् । र, उनका राजनीतिक तथा शासकीय दोषहरूलाई समग्र वामपन्थी आन्दोलनको टाउकामा हालिदिन्छन् । अनि बदनाम हुन्छ वामपन्थ । अनि हुन्छ वामपन्थी पवित्रताको सत्यानाश । सोचौं त, सत्ताधारी कम्युनिस्टहरूको नाङ्गो नाच र अबगाल बोकेर वामपन्थ कसरी प्रदीप्त हुन्छ ? त्यसैले आफ्नो

पवित्रताका लागि भए पनि नेपाली वामपन्थीहरूले कम्युनिस्ट सत्ताबाट आफूलाई अलग गर्नैपर्छ । अन्यथा नेपालमा कम्युनिस्ट पनि हुने र वामपन्थी पनि हुने, यो गाह्रो काम हो । यहाँ या त कोही वामपन्थी हुन्छ र अगाडि बढ्छ, अथवा कोही कम्युनिस्ट हुन्छ र यथास्थितिमा रमाउँछ । कित्ताकाट । तब मात्र नेपालमा वामपन्थ आलोकित हुन्छ ।

प्रश्न दोहोरिन सक्छ, को हो त आजको वामपन्थी ? त्यो सडकमा नारा लगाउने युवा हो, जो विकृतिविरुद्ध सदैव खबरदारी गरिरहन्छ । त्यो विद्यार्थी हो, जो विश्वविद्यालयलाई ज्ञानशाला बनाउने सपना देख्छ । ऊ अभियन्ता हो, जो महिला, दलित, जनजाति र अल्पसंख्यकका पक्षमा बोल्छ । ऊ निर्मला पन्तका पक्षमा बोल्छ । ऊ नवराज विकका पक्षमा कराउँछ । ऊ मलर सदाको मृत्युमा चिच्याउँछ । ऊ बालुवाको देशमा पसिना बगाउँछ र यताका आन्दोलनहरूलाई सघाउँछ । ऊ भुइँको मान्छे हो । ऊ वैकल्पिक राजनीतिको अभियन्ता हो । ऊ अटेरी युवा हो । ऊ लेखक हो, जसले परिवर्तनको गीत लेख्छ । ऊ कवि हो, ऊ कलाकार हो, जसले समयको पदचाप सुन्ने प्रयत्न गर्छ । ऊ अग्रगामी छ, त्यसैले ऊ वामपन्थी हो ।

संसारभर पहिले वामपन्थ (सन् १७८९) आयो, त्यसको धेरैपछि कम्युनिस्ट घोषणापत्र (सन् १८४८) लेखियो । अतः वामपन्थ मार्क्सवादभन्दा पुरानो अवधारणा हो । त्यसैले वामपन्थी हुन कम्युनिस्ट हुनुपर्दैन । वामपन्थी हुन मार्क्सवाद कण्ठ गर्नुपर्दैन । कसैले आफूलाई वामपन्थी भन्ला कि नभन्ला, त्यो उसको छनोट हो । कोही वामपन्थी नभनिईकनै पनि वामपन्थी हुन सक्छ । किनभने अझ धेरै सुन्दर, सुसंस्कृत, न्यायपूर्ण र समृद्ध समाजका लागि काम गर्नु वामपन्थ हो । आजको वामपन्थी हुन केवल ऊभित्र न्यायको आगो हुनुपर्छ । परिवर्तनको सपना हुनुपर्छ । प्रश्न गर्ने तागत हुनुपर्छ । अगाडि हिँड्ने साहस हुनुपर्छ । यस्तो साहस जसले स्वयं सत्ताधारी कम्युनिस्टहरूको मुख्यालयमा पुगेर भन्न सकोस्, ‘तिम्रो वामपन्थ एउटा भ्रम हो ।’ साथसाथै, उसले वामपन्थको नयाँ गीत रचना गरोस् र गुनगुनाओस्, ‘परिवर्तन अवश्यम्भावी छ ।’

कमरेड घनश्याम भुसालको एउटा सदाबहार प्रस्ताव छ, ‘नेपाली कम्युनिस्टहरूलाई जोडेर वामपन्थीहरूलाई शक्तिशाली बनाउने ।’ कमरेड, के सत्ताधारी कम्युनिस्टहरू एक ठाउँमा आउँदैमा त्यो वाम एकता हुन्छ ? हुँदै नभएका वामपन्थीहरूलाई जोडेर तपाईंले निर्माण गर्न चाहेको वामपन्थ कस्तो हुन्छ ? मलाई लाग्छ, आजको आवश्यकता कम्युनिस्ट एकता हैन, वामपन्थको पुनर्गठन हो ।

वामपन्थको पुनर्गठन भनेको के हो ? त्यो भनेको कम्युनिस्टहरूको जब्बर, सूत्रबद्ध र सत्तासीन वामपन्थलाई उदार, लोकतान्त्रिक, अग्रगामी र मानवीय वामपन्थमा रूपान्तरण गर्नु हो । अर्थात्, विचार, मुद्दा, शैली र संस्कृतिमा ताजा र सुसंस्कृत वामपन्थ । रातो हैन, हरियो र हराभरा वामपन्थ । खैरो हैन, जीवन्त वामपन्थ । हिजोको आँखाले आजलाई हेर्नु परम्परागत हुनु हो । आजलाई आजको आँखाले हेर्नु र अगाडि बढ्नु वामपन्थी हुनु हो । आजको आँखा भनेको आजको विचार, आजको दृष्टिकोण र आजको सपना हो । अन्यथा, बिग्रेका कम्युनिस्टहरूको लाल विरासत बोकेर नयाँ वामपन्थ कसरी अघि बढ्ला ?

प्रकाशित : भाद्र १७, २०७९ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्

छिमेकी उँभोतिर, हामी उँधोतिर

भारत र चीन आफ्ना लक्ष्यसहित राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर अघि बढिरहेका छन् तर नेपाल सरकार र राजनीतिक नेतृत्व राष्ट्रिय हितको रक्षा गर्न असमर्थ देखिँदै छन् ।
गोपाल खनाल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ७६ औं स्वतन्त्रता दिवसलाई लाल किलाबाट साउन ३० (१५ अगस्ट) मा सम्बोधन गर्दा केही महत्त्वपूर्ण घोषणा गरे ।

ती घोषणा कार्यान्वयनमा अनुवाद हुँदा स्वाभाविक रूपमा घरेलु तस्बिर बदलिन्छ । र, त्यसबाट उदाउँदै गरेको भारत ‘उदाएको’ भारतमा रूपान्तरित हुन्छ ।

२५ वर्षमा ‘विकसित’ भारत

घोषणा हो- भारतलाई सन् २०४७ अर्थात् स्वतन्त्रताको एक सय वर्ष पूरा गरिसक्दा विकासशीलबाट विकसित राष्ट्र बनाउने । झट्ट हेर्दा, यो महत्त्वाकांक्षी लाग्छ । तर अहिलेकै आर्थिक वृद्धिदर कायम राख्दै अघि बढ्न सके र क्षेत्रीय–वैश्विक राजनीति अनुकूल रहँदा असम्भव छैन । भारतको सन् २०२१–२२ को आर्थिक वृद्धिद्धर ८.७ प्रतिशत छ । कोभिडपछि थला परेको अर्थतन्त्रले यो वृद्धि हासिल गर्नु सकारात्मक हो । तेस्रो विश्वकै श्रेणीमा रहेको भारत विश्वको छैटौं ठूलो अर्थतन्त्र हो, जसको जीडीपी २.७ ट्रिलियन अमेरिकी डलरको छ ।

उक्त लक्ष्य प्राप्त गर्न आयात घटाउने र घरेलु उत्पादन बढाउने नीतिलाई प्रमुखताका साथ अघि बढाउने मोदीको सोच देखिन्छ । विकसित राष्ट्र बनाउनेसहित भारतीय विकासको ‘पञ्च प्रण’ भित्रै उनले यो समयावधि तोकेका हुन् । अब भारत सरकार २५ वर्ष अर्थात् सन् २०४७ सम्म यिनै पाँच प्रतिबद्धतामा केन्द्रित हुनेछ ।

विकसित देशका प्रमुख आधार आर्थिक र भौतिक सम्पन्नता हुन्, तर देशको मनोविज्ञान, घरेलु एकता, पहिचान र संस्कृति पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छन् । फेरि पूर्वीय दर्शन र वैदिक साहित्य–सभ्यताको भूमि प्राचीन भारतवर्षबाट पराभौतिक र आध्यात्मिक शान्तिको आह्वान नहुँदा एकपाखे विकास मात्र हुन्छ । त्यही बुझेका मोदीले आम भारतीयमा रहेको ‘दास मानसिकता’ हटाउनु, भारतीय सांस्कृतिक सम्पदाप्रति गर्व र देशभित्र भावनात्मक एकता कायम गर्नुलाई पाँच प्रतिबद्धतामा राखेका छन् । अन्तिम प्रतिबद्धता हो- देशले के दिन्छ मात्र होइन, नागरिकका रूपमा देशलाई तपाईंले के दिने ? अर्थात्, नागरिकले नागरिक हुनुको कर्तव्य पूरा गर्ने । जब देशका सपना महान् हुन्छन् वा प्रतिबद्धता ठूला हुन्छन्, प्रयास पनि ठूलै हुनुपर्छ । र, त्यहाँ सरकारसँगै नागरिक पनि जिम्मेवार हुनुपर्छ । यी भए दक्षिण छिमेकी भारतका शक्तिशाली प्रधानमन्त्री मोदीका लक्ष्य ।

१३ वर्षमा ‘विकसित’ चीन

अब उत्तरी छिमेकी चीनका राष्ट्रपति सी चिनफिङका लक्ष्य हेरौं । चीनको १४ औं योजना (२०२१–२०२५) लाई हेर्दा सन् २०३५ सम्ममा चीनलाई ‘मोडरेट्ली’ विकसित देश बनाउने उनको लक्ष्य देखिन्छ । त्यसका लागि सन् २०२० को प्रतिव्यक्ति आय तीन गुणा बढाएर ३० हजार अमेरिकी डलर पुर्‍याउनुपर्छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को १९ औं केन्द्रीय कमिटीको पाँचौं प्लानरी सेसनमा चीनलाई आर्थिक शक्ति र प्राविधिक दक्षतासहित सबै सूचकका दृष्टिले विकसित देश बनाउने लक्ष्य राखिएको उल्लेख छ । चीनको चमत्कारी विकास र अर्थतन्त्रको दिगो वृद्धिलाई हेर्दा यो लक्ष्य महत्त्वाकांक्षी छैन । चीन अहिले नै विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो भने, गोल्डम्यान स्याक्सको रिपोर्ट अनुसार, सन् २०२७ सम्ममा यो सबैभन्दा ठूलो अर्थतन्त्र बन्नेछ । चीन सबैभन्दा ठूलो उत्पादनकर्ता, ठूलो बजार र सबैभन्दा ठूलो ऋणदाता हो ।

यो आलेखमा छिमेकीका भावी तस्बिरको प्रसंग किन ल्याइएको हो भने, नेपालले त्यहाँका विकास र विनाशसँग प्रत्यक्ष सम्बन्ध राख्ने गर्छ । जब वरपरका विकासबाट प्रत्यक्ष प्रभावित कोही हुन्छ भने उसले तिनका रणनीतिक लक्ष्यप्रति अद्यावधिक हुँदै आफूलाई पनि त्यता उन्मुख गराउनुपर्छ । बीचमा रहेर भारत र चीनलाई एकअर्काविरुद्ध भड्काउने होइन, एकअर्कालाई ‘कार्ड’ का रूपमा प्रयोग गर्ने होइन, दीर्घकालीन विकास लक्ष्य राखेर त्यसैमा केन्द्रित हुने हो । अब पृथ्वीनारायण शाहले त्यस बेला दिएको उपमा ‘दुई ढुंगाबीचको तरुल’ भन्ने भाष्यको व्याख्या मात्र गरेर हुँदैन, उत्तरदक्षिणका शक्ति, शत्रुता, मित्रता र विकासको गाथा मात्र गाएर बस्नु हुँदैन । अब प्रतिक्रियाको नीति र कूटनीतिबाट होइन, क्रियावादी नीतिबाट अघि बढ्नुपर्छ ।

नेपालले चीनलाई भारतसँग र भारतलाई चीनसँग लडाउने सामर्थ्य नै राख्दैन । अर्कातिर, शासक इमानदार भए राष्ट्रस्वार्थ, नभए शासकीय स्वार्थ हावी हुने हो । चीन र भारतबीच द्वन्द्व त छ, सहयोग र समन्वयको सम्बन्ध पनि छ । चीनले भारतलाई प्रतिस्पर्धी ठानेको देखिँदैन, त्यस्तै भारतले पनि चीनलाई उदीयमान विश्वशक्ति स्वीकार गरेको छ । भारत अमेरिकी रणनीतिक साझेदारीमा गएका कारण द्विपक्षीय सम्बन्ध अपेक्षित रूपमा सकारात्मक हुन सकेको देखिँदैन ।

प्रसंग भारत र चीनको विकासको हुँदै हो, त्यसभन्दा बढी शक्तिशाली छिमेकी प्रधानमन्त्री र राष्ट्रपतिका यस्ता महत्त्वाकांक्षी योजना घोषणा भइरहँदा नेपाल र यसका बहुरूपी गठबन्धनको नेतृत्वसँग एउटा सामान्य नागरिकले के अपेक्षा गर्ने भन्ने पनि हो ।

विदेशीद्वारा शासित र स्वतन्त्रताबाट मात्र पहिचान पाएको एउटा चिनियाँ वा एउटा भारतीय नागरिकले ‘मेरो चीन’ वा ‘मेरो भारत’ भन्दा जुन गौरवको अनुभूति गर्छ, कहिले कसैद्वारा शासित नभएको एउटा नेपालीले ‘मेरो नेपाल’ भन्दा त्यस्तै अनुभूति किन गर्न सकिरहेको छैन ? जब राजनीतिको प्रसंग आउँछ, एउटा सामान्य नेपालीले किन राजनीतिक नेताप्रति तल्लो स्तरको भाषा प्रयोग गरिरहेको छ ? यो प्रश्नको उत्तर नआउँदा तय हुने यात्राले दललाई मात्र सिध्याउँछ वा राष्ट्र नै विघटनतर्फ लैजान्छ ? बहस आवश्यक छ ।

इतिहासप्रति शोक मनाएर बसेको भए न चीन महाशक्ति–उन्मुख हुन्थ्यो, न भारत एसियाली शक्ति । इतिहासमाथि गर्व गरेर मात्र पनि देश बन्दो रहेनछ, नभए नेपालले भारत र चीनलाई विकासमा पछि पार्नुपर्थ्यो । चीनमा नेतृत्व हस्तान्तरणको आफ्नै प्रक्रिया छ भने भारतमा पनि आवधिक निर्वाचनको परिपक्व राजनीतिमार्फत शक्ति नवीकृत भइरहेको छ । राष्ट्रपति सी अध्यक्ष माओभन्दा शक्तिशाली भएका छन् अनि चीनमा सीपीसी र त्यसको नेतृत्वप्रतिको स्वीकार्यता बढेको छ । परिवारवादको राजनीतिसँग कुनै साइनो–सम्बन्ध नभएका र सामान्य पारिवारिक पृष्ठभूमिका मोदी भारतका शक्तिशाली प्रधानमन्त्री भएर तुलनात्मक रूपमा सफल नेतृत्व दिइरहेका छन् । मोदी नेतृत्वको भारतको आत्मविश्वास बढेको देखिन्छ भने अन्तर्राष्ट्रिय शक्ति र पहुँच पनि विस्तारित हुँदै छ ।

हामी सत्ताकै खेलमा

देश राजनीतिक प्रणालीले बन्छ वा व्यक्तिले बनाउँछ ? राजतन्त्र भएका अरब राष्ट्रहरू र युरोपेली राष्ट्रहरू नै बढी विकसित छन् र मानव सूचकांकमा सबैभन्दा अघि छन् । सामाजिक प्रजातन्त्रवादी उत्तरी युरोपेली राष्ट्रहरूमा राजतन्त्र छ तर ती राष्ट्र विकसित छन् । पुँजीवादी विश्वको नेतृत्व गर्ने अमेरिका महाशक्ति हो । नियन्त्रित राजनीतिक स्वतन्त्रता र दलका दृष्टिकोणमा एकदलीय शासन पद्धति भएको कम्युनिस्ट चीनको तीव्र आर्थिक वृद्धि र सबैभन्दा ठूलो प्रजातन्त्र भनिएको भारतको आर्थिक वृद्धि राजनीतिक वाद र प्रणालीका मात्र परिणाम हुन् ? होइनन् ।

देश बनाउने व्यक्ति र नेतृत्वले हो । ली क्वान युले सिंगापुर बनाए तर उनी कुन पार्टीका नेता थिए वा त्यस बेला सिंगापुरमा कुन राजनीतिक प्रणाली थियो भन्ने बहस खासै हुँदैन । महाथिर मोहम्मदले मलेसिया बनाए, उनी कुन राजनीतिक प्रणालीमा सवार थिए भन्ने प्रश्नै उठ्दैन । आफ्नो स्वार्थ सम्बोधन नहुँदा कोही प्रजातन्त्र र मानवअधिकारको ठेकेदार हुने हो । अमेरिकी प्रजातन्त्रले प्रजातन्त्रको हित हेर्दैन, वासिङ्टनको स्वार्थ हेर्छ । २० वर्ष अल कायदा र तालिबानविरुद्ध लडेर २ ट्रिलियन अमेरिकी डलरभन्दा बढी खर्च गरी फेरि तालिबानलाई नै अफगानिस्तान जिम्मा लगाउने अमेरिका कसरी मानवअधिकारको नेता भयो ? त्यस्तै, चिनियाँ एकदलीयताले स्वार्थ मिल्दासम्म अधिनायकवादसँग मितेरी लगाउला, तर अन्ततः बेइजिङकै लाभ हेर्छ ।

भारत र चीन आफ्ना लक्ष्यसहित राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर अघि बढिरहेका छन् तर नेपाल सरकार र राजनीतिक नेतृत्व राष्ट्रिय हितको रक्षा गर्न असमर्थ देखिँदै छन् । जब सरकारप्रमुख प्रस्ट दृष्टिकोणका साथ अल्पकालीन र दीर्घकालीन लक्ष्यसहित अघि बढ्छ, सत्तामा रहँदासम्म ती प्राप्त गर्न कोसिस गर्छ । जब कोही सत्तामा पुग्न जस्तोसुकै सम्झौता गर्छ, उसको अन्त्य त्यही सत्ताबाटै हुन्छ ।

पृथ्वीनारायण शाहले दिएको पहिचान र भूगोलभित्र रहेर यसैलाई घात गर्नेहरूको सूची लामो छ । देश राणाशाही, राजशाही हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा विकासका सूचकहरू नकारात्मक देखिँदै छन् । देश विकासको चिन्ता हुनेहरूले सत्ताका लागि सिद्धान्तहीन सौदाबाजी गर्दैन, प्रधानमन्त्री पदका लागि विचारको तिलाञ्जली दिँदैन । सहमतिमै पहिले नै सत्ता नेतृत्वको आयु घोषणा गरेर कोही प्रधानमन्त्री बन्छ भने उसले विकास किन गर्छ ? राज्यकोषको अधिकतम दोहन गर्छ र आसेपासे पुँजीवादको संरक्षण गर्छ ।

एउटा बडो आदर्शवादी सिद्धान्तको रट खुब लाग्ने गर्छ- देश सामूहिकताका आधारमा, सबैको सहमतिमा चल्नुपर्छ । ठीक हो तर सामूहिकतावादीको स्वार्थ नै देशको हितमा छैन भने ? त्यसैले देश पार्टी र राजनीतिक प्रणालीले मात्र चल्दैन, नेतृत्वले चल्ने हो । मुलुकको कार्यकारी प्रमुख हुने व्यक्तिमा केही गर्छु भन्ने सोच, दृष्टिकोण र मार्गचित्र हुनुपर्छ । उसले विकासको सपना देखेकै हुनुपर्छ । तर नेपालमा विकासको सपना देख्ने, मूर्च्छित सपना ब्युँझाउने नेतृत्वलाई उडन्ते र हावादारी करार गरी विकृत काण्डहरूका नाइकेहरूलाई सत्ता जिम्मा लगाउने प्रवृत्ति छ । एउटा निर्वाचित प्रधानमन्त्रीलाई पूर्ण कार्यकाल नेतृत्व गर्न दिएर जनमतद्वारा नै दण्डित वा पुरस्कृत गर्ने स्वाभाविक प्रक्रिया अघि बढ्नै दिइँदैन ।

प्रतिनिधिसभा विघटनको बहस बेग्लै गर्दा हुन्छ किनकि प्रधानमन्त्री शेरबहादुर देउवाले त प्रजातन्त्र नै दरबारलाई बुझाएका हुन् । तर केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गरेका थिए । नयाँ निर्वाचन घोषणालाई ‘प्रतिगमन’ करार गरी सत्तारोहण गरेकाहरूले देश र नागरिकलाई केही सकारात्मक गरेका भए मात्र पनि हुन्थ्यो तर अवस्था ठीक उल्टो छ ।

चीनले योजना बनायो, भारतले बनायो र तर तिनकै बीचमा रहेको नेपालले के बनायो ? नेपालले आफ्नो हैसियत अनुसारको लक्ष्य किटान गरेर व्यापक घरेलु समर्थन जुटाउँदै बाह्य शक्तिसँग सम्बन्ध बनाउने हो । तर लक्ष्य त परै जाओस्, सोचसम्म त्यस्तो नभएपछि के हुन्छ ? सत्ता वरपरको राजनीति ।

प्रकाशित : भाद्र १७, २०७९ ०७:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×