समाजवादका प्रतिबद्ध नायक

दमननाथ ढुंगाना

मानिसको आयु बढेको छ । खास रोगले नच्याप्दासम्म कोही पचहत्तर वर्षमै बितिहाल्ला जस्तो लाग्दैन । तर दुःख–वियोगको कुरा, माननीय प्रदीप गिरिका हकमा यो लागू भएन । उहाँ यति छिटो हाम्रा बीचबाट बिदा भइहाल्नुहोला भन्ने केहीअघिसम्म पनि कसैको कल्पनामा थिएन ।


रोग पनि सुन्दै झसंगको हुने किसिमको लागेको रहेछ । क्यान्सरले एकदमै छिटोछिटो करौंती चलाएछ । बम्बईको उपचारबाट काठमाडौं फर्केपछि निमोनियाका कारण मेडिसिटी अस्पतालमा भर्ना हुँदा उहाँले जीवनको आशा मारिसक्नुभएको थिएन । उहाँको उच्च मनोबलले धेरै सघाएको छ भन्दथे चिकित्सक तथा शुभचिन्तकहरू पनि । म आफू सपरिवार भेट्न जाँदा र आगन्तुक पुस्तिकामा लेख्न लाग्दा के लेखूँ के लेखूँ जस्तो अलमल तथा भावुक भएर एक वाक्यमा शुभेच्छास्वरूप यति मात्र व्यक्त गर्न सकेको थिएँ, ‘तपाईंको सेवा राष्ट्रलाई अझै चाहिएको छ ।’

केहीपहिले स्याउस्याउ बोल्न सक्ने स्थितिमा हुँदा, आगन्तुकहरूसँग सविश्वास भन्नु पनि भएको थियो रे, ‘प्रतिनिधिसभामा गएर बोल्ने इच्छा छ ।’ नेपालको संसद्को

इतिहासकै बिजोडा सशक्त विचारक तथा रोचक वक्ताको त्यो इच्छा कालचक्रले पूरा हुन दिएन, सदाका लागि हरिदियो । इच्छाबमोजिम आफ्ना कुरा राख्न पाउनुभएको भए साँच्चै के बोलेर, सम्भवतः आजको राज्य–यथार्थ, नैतिकता तथा नेतृत्व क्षमताको तीव्र ह्रासबारे विस्तृत व्याख्या गरेर, संसद् र समाजलाई ब्युँझाइदिनुहुन्थ्यो होला ।

‘क्रमभंग वा क्रान्ति’ समेत भन्ने गरिएको अहिलेको राजनीतिक परिवर्तन व्यवहारमा कतिसम्म आडम्बरयुक्त, मनपरीमुखी तथा भ्रष्टाचारमय भइरहेको छ, एकएक उदांगो पारिदिनुहुन्थ्यो होला प्रदीपजीले । एक प्रकारले उहाँबाट मात्र सम्भव त्यस्तो ऐतिहासिक तथा हृदयस्पर्शी प्रस्तुतिबाट हामी सबै वञ्चित हुन पुग्यौं ।

राम्रा, योग्य, समर्पित मान्छे दैवलाई पनि छिट्टै चाहिन्छ भनेजस्तै नियतिले कसरी अप्रत्याशित रूपमा हरण गरिदियो एक शीर्ष तथा अथक लोकतान्त्रिक योद्धा, स्वतन्त्र तथा प्रखर विचारक, मार्क्सवाद तथा समाजवादका सर्वराजनीतिक खेमाप्रिय व्याख्याता, सत्ताको मोहबाट पट्टै मुक्त वीतरागी साधक, आजीवन अभियन्ता योद्धा प्रदीप गिरिजीलाई ! स्वतन्त्रता कत्ति हरण नहुने समतामूलक समाजवादी प्रणालीमा देश चलोस् भन्ने स्पष्ट सोच र समर्पण भएका व्यक्तित्व हुनुहुन्थ्यो उहाँ । यिनै आस्था र विश्वास कार्यान्वयन गर्न सकिन्छ कि भनी तरुण अवस्था तथा बनारसमा विद्यार्थी हुँदा नै, विशेष गरी बीपी कोइरालाको समाजवादी विचारधाराबाट प्रभावित भई २०१७ सालपछिको लोकतान्त्रिक आन्दोलनमा विविध माध्यमबाट सक्रिय रही, पार्टीमा कार्यसमिति सदस्य तथा निर्वाचित सांसद भए पनि, पटकपटक आग्रह हुँदा पनि मन्त्री वा कार्यकारी जिम्मेवारी सम्हाल्ने चाहना उहाँले कहिल्यै राख्नुभएन । पार्टी नीति तथा कार्यक्रमसँग पनि कमै मात्र खुसी हुनुभयो । यो उहाँको व्यक्तित्वको एउटा अपवादजनक विशेष आकर्षण तथा लोकप्रियताको आधार हो कि, हाम्रो अहिलेको पद, पैसा र प्रलोभनका लागि सिद्धान्तलाई लात मार्ने समाजमा पनि उहाँ आफ्नै आदर्श, त्याग र ढिपीका एक ठिंगो टापु वा प्रतीकजस्तो भएर रहन सक्नुभयो । यिनै कारण, खास गरी किशोरावस्थादेखि उहाँको सर्वप्रिय कार्यक्षेत्र युवामुखी लोकतान्त्रिक प्रशिक्षणोन्मुख सक्रियताका कारण पनि युवाहरू उहाँलाई रोल मोडलका रूपमा हेर्थे । साथै, अहिलेको जमानामा पनि यस्तो कसरी सम्भव होला भन्ने दृष्टिले एक जना पृथक्, अद्भुत, अव्यावहारिक व्यक्तित्वका रूपमा गणना तर सम्मान गर्थे ।

प्रदीपजीका बारे के पनि स्पष्ट बुझ्न जरुरी हुन्छ भने, यस्तो व्यक्तित्व विकास तथा मान्यता जीवनमा एउटा मिसन र निरन्तरता भएको व्यक्तिमा मात्र सम्भव हुन्छ । उहाँको जीवनलक्ष्य भन्नु नै मानवीय स्वतन्त्रता किञ्चित् हरण नहुने वातावरणमा समाजमा विद्यमान दरिद्रता, असमानता, अन्याय, विभेदविरुद्ध लड्नु र समतामूलक तथा न्यायपूर्ण पद्धति तथा संस्कृति अभ्युदयका निमित्त आवाज उठाउनु तथा अनवरत संघर्ष गर्नु थियो । नेपालको राजनीतिमा नैतिकताका कुरामा कृष्णप्रसाद भट्टराई र भारतका खास गरी गान्धीजी र ग्राममुखी समाजवादी धारका नेताहरूबाट राम्रै प्रभावित प्रदीपजीबाट यस्तै सोचविचार, जीवनदर्शन तथा आन्दोलनप्रियता अपेक्षा गर्नु स्वाभाविक पनि हो ।

यिनै प्रतिबद्धता कार्यान्वयन गर्ने एक माध्यमका रूपमा आन्दोलन हुँदै उहाँ पार्टीमा लाग्नुभयो, सांसद पनि बन्नुभयो, आफ्नो पार्टी र सरकारलाई घचघचाई पनि रहनुभयो । साथै यो सन्देश बाहिर जनसमुदायमा पनि प्रवाहित गर्दै रहनुभयो । तर पार्टीमा सर्वोच्च नेतृत्वको आकांक्षी नहुनु तथा दौडमा नलाग्नु एवं कुनै सरकारी ओहोदा पनि नसम्हाल्नुको मुख्य कारण उहाँका हकमा वैयक्तिक स्वतन्त्रता नगुमोस् भन्ने त थियो नै तर यति मात्र थिएन । अहिलेको यो पार्टीबाट समाजवादी नीति तथा कार्यक्रम फेरि शुभारम्भ होला भन्ने सपना बिर्सेर पनि नदेखे हुन्छ भन्ने दृढविश्वाससमेत थियो त्यसमा ।

प्रदीपजीको व्यक्तित्व बहुआयामिक थियो । तीमध्ये मुख्य, बहुभाषीका हैसियतमा उहाँ हाम्रो मधेश तथा पहाडबीचको पक्का पुल हुनुहुन्थ्यो । अर्को, देशबाहिर पनि उहाँको सम्पर्क तथा प्रभाव व्यापक थियो । यस्तो प्रभावक्षेत्र विशेषतः भारत नै हो जहाँ उहाँको जीवन–मिसनबाट प्रभावित हुने मित्र तथा अनुयायीहरू प्रशस्त भए, अद्यापि छँदै छन् । यस्तो कार्यमूलक विशिष्टता उहाँका समकालीन अरू कसैमा पाइँदैन । यथार्थमा नेपालको भारतनीति तथा भारतको नेपालनीति कस्तो हुनुपर्दछ भन्नेमा उहाँको धारणा सदा स्पष्ट थियो । उहाँ यदाकदा राम्रै खुल्नुहुन्थ्यो पनि कि, नेपालले दुःख पाउनु अथवा अविकासको एउटा मुख्य कारण भारतसँग खास चाहिनेजस्तो विश्वासको सम्बन्ध विकास तथा प्रत्याभूत गर्न नसक्नु नै हो । यति मात्र होइन, मित्रराष्ट्र चीनको बढ्दो अभिरुचि तथा संयुक्त राज्य अमेरिकाको उपस्थिति–तत्परताबारे पनि उहाँ स्पष्ट हुनुहुन्थ्यो । पुराना मित्र, छिमेकी तथा उदीयमान शक्तिराष्ट्रसँग अथवा स्थापित विश्व शक्तिराष्ट्रसँग नयाँ विश्वपरिप्रेक्ष्यमा सन्तुलन मिलाउन नजान्ने हो अथवा देशको आजको गैरलोकतान्त्रिक मान्यताको राजनीतिक दबदबालाई विशुद्ध लोकतान्त्रिक मार्गमा हिँडाउन सक्ने दह्रो लोकप्रिय नेतृत्व नहुने हो भने निश्चित माने हुन्छ- नेपाल विभिन्न राष्ट्रको खेलमैदान वा रणभूमि हृँदै अशान्ति र अस्वस्थ प्रतिस्पर्धाबीच अझ पछि पर्दै जाने पक्का छ ।

यो ठूलो दुःखको, वियोगको घडी हो । प्रदीप गिरिको निधन राष्ट्रिय रिक्तता तथा क्षति हो । उहाँका बारे अझ बहुजनले सम्झिने कुरा एउटै हो- कांग्रेस नेता मात्र हुनुहुन्थेन प्रदीप गिरि । स्वतन्त्रता, अन्यायविरुद्ध, मानवअधिकार तथा मर्यादित जीवनका लागि लडिरहेका मनुष्य मात्रका नेपाली वाणी हुनुहुन्थ्यो उहाँ । पार्टीभित्र पनि एक्लै हिँड्न सक्ने, सत्ताको स्वार्थ नभएका, भिन्न सोचविचारका नायक हुनुहुन्थ्यो उहाँ । गर्व छ, पुराना सहयोद्धा मित्रप्रति ! हार्दिक श्रद्धाञ्जली !

प्रकाशित : भाद्र ६, २०७९ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्

नम्बर होइन, सृजनशीलता

हरेक विद्यार्थीको क्षमता अलगअलग हुन्छ, र उनीहरूको आफ्नो क्षमता अनुरूप हुर्कने वातावरण अभिभावक र विद्यालयले बनाउनुपर्छ ।
मञ्जु भट्ट

साउनमा एसईईको परीक्षाफल प्रकाशित भयो । यसपालि विद्यार्थीहरूको नजिता निकै कमजोर आयो । एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूले ९ कक्षा वर्षभरि नै लकडाउन भोग्नुपर्‍यो । दस कक्षामा पनि राम्ररी पढ्न सकेनन् । लकडाउन अवधिभर कतिपय विद्यालयले अनलाइन कक्षा सञ्चालन गरे ।

धेरै अभिभावकलाई अनलाइन कक्षाका लागि उपकरण, इन्टरनेट जुटाउँदैमा समय बित्यो । एक त नियमित कक्षा भएन अर्को अनलाइन कक्षा लिए पनि त्यति फलदायी देखिएन । अझ सामुदायिक विद्यालयका लाखौं विद्यार्थीले त अनलाइन कक्षा पनि लिन पाएनन्, केही महिना पढेर परीक्षा दिनुपर्‍यो । शिक्षकहरूले हतारहतारमा पाठहरू सकाउँदा विद्यार्थीहरूले राम्रोसँग दोहोर्‍याउनसमेत पाएनन् । यसको प्रत्यक्ष असर एसईईको परीक्षाफलमा देखियो ।

कक्षामा एकचोटि सिकाउँदा नबुझ्ने, शिक्षकलाई सोध्न डराउने, घरमा पढ्न अल्छी गर्ने, उपकरणहरूमा भुल्ने, अभिभावकलाई नटेर्ने विद्यार्थीहरूका लागि ट्युसन कक्षा पनि धेरै उपलब्धिमूलक हुन्छन् । घरमा एक्लै बसेर पढ्न अल्छी गर्ने आभिभावकहरूलाई ‘पढिरहेको छु’ भनेर ढाँट्ने, चुकुल लगाएर पढेको बहाना बनाउने विद्यार्थीहरूलाई ट्युसन राख्दा शिक्षकको डरले नै भए पनि धेरै कुराहरू सिक्थे । तर लकडाउनका कारण न विद्यार्थीले अनलाइन कक्षामा मन लगाएर पढ्न सके न अतिरिक्त कक्षाहरू पढ्न पाए न त आफैंले घरमा पढ्ने कोसिस नै गरे । कतिले त लामो समय पढाइबाट टाढिँदा, लकडाउन अघि पढेको पनि बिर्सिए, जसका कारण एसईईमा कमजोर भए । यो एसईईमा गणितमा कम अंक आएको पाइयो, नियमित अभ्यासको अभावमा यस्तो भएको हो ।

सोचे अनुसारको परीक्षाफल नपाएपछि कतिपय विद्यार्थी निराश भएका छन् । धादिङकी ईशा सुवेदीले त नतिजा राम्रो नआएका कारण आत्महत्या नै गरिन् । यस्तो अप्रिय घटना पहिले पनि हुँदै आएका थिए । एसईईलाई हाउगुजी बनाइएका कारण विद्यार्थीहरूलाई ‘जसरी पनि परीक्षामा राम्रो गर्नुपर्छ’ भन्ने धारणा बसिसकेको छ । अभिभावक, विद्यालय, कलेज तथा सरकारका तर्फबाट पनि विद्यार्थीहरूलाई यस्तो दबाब दिइन्छ । तर अब समय त्यस्तो छैन । कक्षा बाह्रको बोर्ड परीक्षालाई बरु पहिलेको एसईईजस्तो मान्यता दिने भनिएको छ । अब एसईईलाई फलामे ढोका सम्झिनु पर्दैन । पास नभए आफ्नै हत्या गर्नु पर्दैन । एक पटकको जीवनलाई जाबो एसईईका लागि बलिदान दिनु कदापि हुँदैन । जीवन बाँच्ने हजार कला, लाखौं उपाय छन् । यस्ता विषयमा पनि विद्यालयले सिकाउनुपर्छ, अभिभावकले ध्यान दिनुपर्छ ।

एसईईपछि कक्षा ११ मा छोराछोरी भर्ना गर्न अभिभावकलाई सकस भइरहेको छ । सहरी भेगका प्रायः कजेलले लाख रुपैयाँभन्दा कममा विद्यार्थीहरूलाई भर्ना गर्न मानिरहेका छैनन् । कापीकिताब, पोसाक, बस भाडा, खाजा खर्च, भर्नाशुल्क सुनेर अभिभावकको होस उड्न थालेको छ । विद्यार्थीहरूलाई चर्को शुल्क तिरेर पढ्न निकै गाह्रै भइरहेको छ । सरकारले यस्तो विषयमा ध्यान दिन नसकेकाले अभिभावकले नै छोराछोरीको पढाइमा विशेष ध्यान दिनुपर्छ । उच्च शिक्षामा निकै लगानी गर्नुपर्ने हुँदा, बेलैमा छोराछोरीको पढाइमा रुचि नदेखाए अन्तमा पछुताउनुभन्दा अरू उपाय रहन्न ।

सबै विद्यार्थीको पढ्ने क्षमता उस्तै हुँदैन । शिक्षकहरूलाई विद्यार्थीहरूले परीक्षामा कस्तो गर्न सक्छन् भन्ने राम्रोसँग थाहा हुन्छ । तर कतिपय अभिभावकलाई थाहा हुँदैन । सबै विद्यार्थीको पढ्न सक्ने क्षमता एउटै नभए पनि अभिभावकले छोराछोरीलाई, परीक्षामा राम्रो अंक ल्याउने अरू विद्यार्थीसँग तुलना गरिदिँदा उनीहरूमा नैराश्यता उत्पन्न हुन्छ । कमजोर विद्यार्थीलाई जसरी पनि राम्रो नतिजा ल्याउनैपर्छ भनेर अभिभावकले दबाब दिँदा विद्यार्थीहरू ‘डिप्रेसन’ मा समेत जान सक्छन् । कतिपय पढे–लेखेका अभिभावकलाई यो कुरा थाहा भए पनि निरक्षर अभिभावक अनभिज्ञ हुन्छन् । उनीहरू अरूका छोराछोरीले राम्रो गरेको देखेपछि आफ्नाले पनि त्यस्तै गर्नुपर्छ भनेर दबाब दिन्छन् । अभिभावकले सोचेजस्तो गर्न नसकेपछि छोराछोरी अप्रिय कदम उठाउन पुग्छन् । कुनै विद्यार्थी गणितमा कमजोर छ भने अंग्रेजीमा राम्रो हुन सक्छ । वक्तृत्व कलामा राम्रो हुन सक्छ, राम्रो चित्र बनाउन सक्छ, गीत गाउन–बाजा बजाउन सक्छ, खेलकुदमा अगाडि हुन सक्छ । हरेकको क्षमता अलगअलग हुन्छ, र उनीहरूको आफ्नो क्षमता अनुरूप हुर्कने वातावरण अभिभावक र विद्यालयले बनाउनुपर्छ । शिक्षकले विद्यार्थीहरूले यतिसम्म सजिलै गर्न सक्छन्, योभन्दा बढी थोपर्दा गाह्रो हुन सक्छ भनेर खुलस्त रूपमा अभिभावकलाई बताउनुपर्छ । अभिभावकले पनि आफ्ना विद्यार्थीले कति गर्न सक्छ भन्ने बुझेर मात्र सो अनुरूपको अपेक्षा राख्नुपर्छ ।

सबै विद्यार्थी पढेर डाक्टर, इन्जिनियर नै बन्नुपर्छ भन्ने छैन । उनीहरूको क्षमता र रुचि अनुसार नै हुर्कन दिनुपर्छ । तर शिक्षक, अभिभावकहरूले पढाइको महत्त्व भने बुझाइरहनुपर्छ । एउटै आमाबुबाका छोराछोरीमा समेत पढ्ने क्षमता फरकफरक हुन्छ । दाइले राम्रो गर्‍यो भन्दैमा बहिनीले पनि राम्रो गर्न सक्छे भन्ने हुन्न । यस्तोमा दाइले कति राम्रो परीक्षाफल ल्यायो, तिमीले त्योभन्दा राम्रो ल्याउनुपर्छ है भनिरहनु हुँदैन । बरु राम्रो पढ्नुपर्छ, मिहिनेत गर्‍यो भने असम्भव केही छैन भनेर दबाब नदिई सम्झाउन सकिन्छ । ताकि कुनै अप्रिय घटना नहोस् ।

यतिखेर धेरै विद्यार्थी आफ्नो परीक्षाफल देखेर दुःखी भएका छन् । कक्षामा पनि ध्यान दिएर नपढ्ने, अनलाइन कक्षा पढ्ने समयमा पनि मोबाइल चलाएर बसेका तथा घरमा मिहिनेत नगर्नेहरूको परीक्षाफल राम्रो हुन सकेन । अन्तमा आएर दुःखी हुनुभन्दा सुरुमै बुझेर पढ्न सकेमा कहिले पनि पछुताउनु पर्दैन । अभिभावकहरूले पनि परीक्षाफल हेरेर गाली गर्नुभन्दा ‘मिहिनेत गरेर पढेका थियौ’ यस्तो नतिजा आयो भनेर सम्झाउनुपर्छ । उनीहरूलाई आफूलाई सुधार्ने अवसरहरू सृजना गर्नुपर्छ । कक्षा दस नै पढाइको अन्तिम खुड्किलो होइन ।

प्रकाशित : भाद्र ६, २०७९ ०७:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×