नागरिकता विधेयकमा राजनीति गरियो- विचार - कान्तिपुर समाचार

नागरिकता विधेयकमा राजनीति गरियो

गृहमन्त्री, अर्थमन्त्री वा रक्षामन्त्रीचाहिँ अंगीकृत नागरिक पनि हुन सक्ने; गृहमन्त्रीको सिफारिसमा नियुक्त हुने र उसको आदेश पालना गर्नुपर्ने प्रहरी महानिरीक्षकचाहिँ वंशजका आधारको नागरिक हुनुपर्ने ? यो कस्तो व्यवस्था हो  ?
बलराम केसी

नेपालको भौगोलिक अवस्थिति; आर्थिक विकासको स्तर; दक्षिण र उत्तरका छिमेकीको आकार र जनसंख्या; दक्षिणको छिमेकीसँगको खुला सिमाना; पारिवारिक, आर्थिक, धार्मिक, सामाजिक सम्बन्ध; कुनै दल दक्षिणनजिक हुने र कुनै दल उत्तरनजिक हुने मनस्थितिले गर्दा नागरिकता सम्बन्धी कानुन निर्माण वा संशोधनमा होसियार हुनुपर्छ । खास गरी आम नागरिक र नागरिक समाज ।

देशमा संकट आयो भने तीन कुरा देखिन्छन्, जुन आजको भन्दा धेरै देशभक्ति रहेको भनिएको राजाको नेतृत्वको पञ्चायतमा पनि महसुस गरिएका हुन् । पञ्चायतको विरोध भयो भने ‘देशको सार्वभौम सत्ता खतरामा छ’ भन्दै भित्ताभित्तामा लेख्ने र पोस्टर टाँस्ने गरिन्थ्यो । सुगारटान शैलीको त्यस्तो राष्ट्रियताको कुरो आज पनि छ । त्यति बेला आमचुनाव आयो वा जनताको समर्थन बटुल्नुपर्‍यो भने मण्डले र टाठाबाठालाई वन मासेर धनी हुन दिइन्थ्यो, जुन आज पनि छ । व्यक्तिविशेषलाई होइन, लटका लटलाई नागरिकता वितरण गरिन्थ्यो । २०४७ सालको प्रजातन्त्र पुनःस्थापनापछि पनि यस्ता कार्य निर्मूल हुन सकेका छैनन् ।

नेपाल नागरिकता ऐन–२०६३ संशोधन विधेयक गठबन्धन सरकारले संसद्मा पेस गर्न आँट गर्‍यो । यही संशोधन विधेयकलाई लिएर केपी ओली सरकारले अध्यादेश जारी गरेकै हो । संविधान नयाँ हुनाले र लागू भएको सात वर्ष पूरा हुन लागेकाले ऐन संशोधन आवश्यक छ । संविधानले नागरिकलाई दुई प्रकारको हक प्रदान गर्छ । एक, मौलिक हक जुन प्रकृतिको उपहार, सौगात, वरदान, दान हो । प्राकृतिक हक सरकारले वा संविधानले दिने होइन । सरकारले खोस्ला भनेर नागरिकलाई सचेत गर्न संविधानमा लेखिएका हुन् । संविधानमा लेखिनुको मतलब ‘तिमी खोस्न पाउँदैनौ’ भनी सरकारलाई चेतावनी हो । मौलिक हक असंशोधनीय हुन्छ । बढाउन सकिन्छ, घटाउन सकिँदैन । अर्को, संवैधानिक हक हो । योग्यता पुगेको व्यक्तिले नेपालको नागरिकता पाउनु मौलिक होइन, संवैधानिक हक हो । संशोधन विधेयक यही संवैधानिक हक दिलाउनका लागि हो ।

संविधानले नागरिकताका सम्बन्धमा नयाँ र थप व्यवस्था गरेको छ । धारा ११(५) मा बाबु पहिचान हुन नसकेको बच्चाको हकमा आमाको नामबाट नागरिकता पाउने व्यवस्था गर्‍यो । उपधारा (६) मा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले नेपाली नागरिकता पाउने व्यवस्था गर्‍यो । विदेशी पुरुषसँग विवाह गर्ने नेपाली महिलाबाट जन्मेका व्यक्तिले पनि अंगीकृत नागरिकता पाउने व्यवस्था गर्‍यो । गैरआवासीय नेपालीले पनि राजनीतिकबाहेक अन्य अधिकार उपयोग गर्न पाउने गरी नेपाली नागरिकता पाउने व्यवस्था गर्‍यो । नागरिकले हक त पाए तर ऐन संशोधन नहुनाले त्यसको उपभोग गर्न पाएनन् ।

नागरिकता भनेको राज्यले व्यक्तिको पहिचान गराउने माध्यम हो । नागरिकता प्रमाणपत्रमार्फत राज्यले सार्वभौम अधिकार अन्तर्गत आफ्नो नागरिकलाई मेरो नागरिक हो भनेर परिचय पनि गराउँछ र अधिकार पनि प्रदान गर्छ । यसमा आर्थिक, राजनीतिक, धार्मिक र सामाजिक लगायत सम्पूर्ण अधिकार पर्छन् । सरकारको यस्तो कार्य संविधानको धारा ७५(२) को शासन व्यवस्था सञ्चालन अन्तर्गत पर्छ । धारा ७५(२) को कर्तव्य पालना गर्न वर्तमान सरकारले नेपाल नागरिकता ऐन–२०६३ को संशोधन विधेयक धारा ११० का आधारमा प्रतिनिधिसभासमक्ष पेस गरेर आफ्नो संवैधानिक कर्तव्य पालना गरेको हो । यही काम नगरेर पूर्ववर्ती ओली सरकारले धारा ११० छली धारा ११४ अनुसार अध्यादेश जारी गरेको थियो । राष्ट्रपतिबाट अध्यादेश हातहातै जारी भयो । राष्ट्रपतिबाट ‘किन अध्यादेश ? यो त प्रजातन्त्र हो, संसद् अधिवेशन हुँदा विधेयक पेस किन गरिएन ? संसद्मा विधेयक नै पेस गरे भएन ? किन चाहियो अध्यादेश ?’ सम्म पनि भनिएन । हुन सक्छ, सरकार कसको भन्ने मात्र हेरियो । तर त्यति बेला अध्यादेश जारी गर्ने राष्ट्रपतिबाट नै अहिले अर्को दलको सरकार भएर होला त्यो विधेयक फिर्ता गरियो ।

राष्ट्रपतिमा विधेयक फिर्ता गर्ने अधिकार छ । धारा ११३(३) मा विधेयक पुनर्विचार हुन आवश्यक देखेमा सन्देशसहित फिर्ता पठाउन पाइन्छ । भारतको राष्ट्रपतिमा त्यहाँको संविधानको धारा १११ मा हाम्रो धारा ११३ मा जस्तै फिर्ता गर्ने व्यवस्था छ । संसद्का दुवै सदनले बहुमतबाट पारित गरेर प्रमाणीकरणका लागि पठाएको विधेयक फिर्ता गर्नुका केही मान्यता छन् । संसदीय व्यवस्थाको राष्ट्रप्रमुख ‘कलर ब्लाइन्ड’ हुन्छ, हुनुपर्छ भन्ने मान्यता छ । अर्थात्, राष्ट्रप्रमुखले जुन दलको सरकार भए पनि मतलबै गर्न हुँदैन । राष्ट्रप्रमुख तटस्थ, निष्पक्ष, ‘कलर ब्लाइन्ड’ र स्वतन्त्र हुनुपर्छ । राष्ट्रप्रमुखले ‘कुनै एक जमानाको मेरो दलको सरकार’ भनी सोच्नै हुँदैन । बेलायतकी महारानीले मात्र होइन, भारतकै सबै राष्ट्रपतिले कडा तटस्थता र निष्पक्षता अपनाएका हुन्छन् । प्रणव मुखर्जीकै उदाहरण हेरम् । उनी कांग्रेस (आई) का पुराना नेता थिए । तर राष्ट्रपति भएपछि उनले कुनै पनि कार्य–व्यवहारमा कांग्रेस (आई) को डा. मनमोहन सिंहको सरकार भाजपाको नरेन्द्र मोदीको सरकारबीच कहिल्यै भेदभाव गरेनन् । ‘कलर ब्लाइन्ड’ भएर व्यवहार गरे । सदा तटस्थ र निष्पक्षताको व्यवहार गरे । हाम्रो संविधानले पनि ‘कलर ब्लाइन्ड’ राष्ट्रपतिकै परिकल्पना र व्यवस्था गरेको हो । राजा वीरेन्द्र र डा. रामवरण यादवले राष्ट्रप्रमुखको इज्जत राम्रोसँग बचाए तर वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीचाहिँ ‘कलर ब्लाइन्डनेस’ को रोगबाट मुक्त हुन सकेको पाइएन । राष्ट्रपति भण्डारीबाट नेकपा एमालेको सरकारलाई हर कुरामा, संविधानै उल्लंघन गरेर भए पनि, साथ मिल्यो ।

नेपालको संविधानको धारा ११३(३) बमोजिम संसद्का दुवै सदनले पारित गरेको विधेयक राष्ट्रप्रमुखको प्रमाणीकरणका लागि पठाउनुको मतलब राष्ट्रप्रमुख भएको व्यक्ति अनुभवी, परिपक्व, निष्पक्ष, तटस्थ र स्वतन्त्र हुन्छ भनेर हो । त्यस्तो व्यक्तिबाट विधेयकमा कुनै त्रुटि रहेछ भने औंल्याएर सुझावसहित सन्देशमार्फत फिर्ता गरिन्छ भनेर हो । उसबाट विधेयकलाई निष्क्रिय बनाइन्छ भनेर कल्पनासम्म गरिँदैन । धारा ११३(३) यही पुनीत उद्देश्यले व्यवस्था भएको हो, राम्रो र आवश्यक व्यवस्था हो । तर राष्ट्रपतिबाट धारा ११३(३) को उद्देश्य, मक्सद, मनसाय र व्यवस्था नै बुझ्न सकिएन वा सदुपयोग गर्न जानिएन । धारा ११३(३) बमोजिम सन्देशको सट्टा ध्यानाकर्षण गरेर पठाइयो, सन्देशका नाममा ध्यानाकर्षण गरेर पन्ध्र बुँदा । ती बुँदा सन्देश होइनन् । राणा शासनको अन्त्यतिर नेपाल नागरिकता ऐनको मस्यौदा हुन लागेको छ, मस्यौदाकारलाई ध्यानाकर्षणमार्फत पन्ध्र बुँदाका कुराहरूसमेत समावेश गरेर ऐनको मस्यौदा गर्न अह्राएको जस्तो लाग्छ । पन्ध्रबुँदेले नागरिकता ऐनको संशोधन सम्भव छैन । पन्ध्रबुँदेका कुराहरू संशोधनको परिप्रेक्ष्यमा रचनात्मक होइन, ध्वंसात्मक र बाधक देखिन्छन् । के हेरेर पन्ध्रबुँदे तयार गरिएको होला ? पन्ध्रबुँदे समावेश गर्ने हो भने विज्ञ समूहको समिति नै गठन गरेर त्यसको सार पत्ता लगाउन सकेमा नयाँ ऐन नै बनाउनुपर्ने हुन्छ । धारा ११३ यस्तो व्यवस्थाका लागि होइन । धारा ११३(३) सीमित दायराको राष्ट्रपतिको अधिकार हो । तर राष्ट्रपतिको बुझाइ नै संविधानबाहिरको देखियो, अनौठो ।

एउटा दलको सरकारको यही विषयको अध्यादेश हातहातै जारी हुन सक्यो तर अर्को दलको सरकारको संसद्को बहुमतले पारित गरेको विधेयकलाई विषयवस्तुभन्दा फरक कुरा उल्लेख गरेर फिर्ता गरियो । फिर्ता गर्ने अधिकार भए पनि अध्यादेश जारी र विधेयक पेस भएको बीचको अवधिमा के त्यस्तो असामान्य र असाधारण परिस्थिति उत्पन्न भयो, जसले गर्दा विधेयक नै फिर्ता गर्नुपर्‍यो, राष्ट्रपतिभवनले यसबारे जनतालाई जानकारी दिनुपर्छ । जनताका राष्ट्रपतिको प्रत्येक काम पारदर्शी हुनुपर्छ भनेको यही हो । पन्ध्रबुँदेले यसको जवाफ दिँदैन । राष्ट्रपति भवनले जनतालाई सूचित नगर्ने हो भने राष्ट्रपतिमा आफ्नो मातृ दलको सरकारलाई एक प्रकारको र अर्को दलको सरकारलाई अर्को खालको व्यवहार गर्ने ‘सिन्ड्रोम’ ले छोएको रहेछ भन्ने अनुमान जनताले गर्नेछन् ।

राष्ट्रपतिका प्रमुख सल्लाहकार भनेका प्रधानमन्त्री र महान्यायाधिवक्ता हुन्छन् । त्यतिले पुगेन भने देशका प्रबुद्ध संवैधानिक वकिलहरू हुन्छन् । तर राष्ट्रपतिबाट राय लिनुपर्ने व्यक्तिहरूसँग सल्लाह नै लिइएन । विधेयक फिर्ता गर्नुपर्छ भनेर सल्लाह दिनेहरूको राष्ट्रपतिभवनमा लर्को लागेको थियो । उनीहरूको सल्लाहमा पन्ध्रबुँदे ध्यानाकर्षण तयार भएको हो कि जस्तो देखिन्छ । राष्ट्रप्रमुख आफ्नो संसदीय र संवैधानिक सीमामा बस्ने हो भने त्यसरी सल्लाह लिनु हुँदैनथ्यो, त्यो त राजनीति गरेको मानिन्छ । हुन सक्छ, यस्तै सल्लाहबाट प्रभावित भएर राष्ट्रपतिबाट धारा ११३(३) को उद्देश्यविपरीतको ध्यानाकर्षण गरेर विधेयक फिर्ता गर्ने काम भयो । संसद्का दुवै सदनले परित गरेर राष्ट्रप्रमुखसमक्ष पठाएको विधेयकमा राष्ट्रप्रमुखको अधिकारका सम्बन्धमा राजनीतिक व्यवस्था अनुसारको व्यवस्था हुन्छ । अमेरिकामा राष्ट्रपतिले त्यस्तो विधेयक प्रमाणीकरण गर्दा सही गरेर फिर्ता पठाउँछ । प्रमाणीकरण नगर्ने हो भने दस दिनभित्र कारण खोलेर सन्देश पठाउँछ । पुनर्विचारका लागि फिर्ता पठाएपछि दुवै सदनले दुईतिहाइ मतले पुनः पारित गरेमा राष्ट्रपतिले हस्ताक्षर नगरे पनि कानुन बन्छ । तर, दुवै सदनबाट दुईतिहाइ बहुमतले पारित हुन सकेन भने राष्ट्रपतिको अडान कायम हुन्छ, कानुन बन्दैन । फिर्ता पठाउँदा राष्ट्रपतिले ‘संशोधन किन आवश्यक पर्‍यो, पुनर्विचार गर्नुहोस्’ भन्न सक्छ तर संसद्ले सन्देशलाई वास्ता नगरी पुनः पास गरेपछि पनि सही नगरे राष्ट्रपतिलाई महाभियोग लाग्छ ।

हाम्रो संविधानको धारा ११३(३) जस्तै व्यवस्था भारतको संविधानको धारा १११ मा छ । भारतको संविधानमा राष्ट्रपतिलाई अमेरिकाको ‘पकेट भिटो’ जस्तै ‘विधेयक रोकेर राख्ने अधिकार’ छ । हामीकहाँ त्यो छैन । तर भारतको केस ल अनुसार सन् १९७६ मा संविधानको धारा ७४(१) व्याख्या हुँदा धारा १११ मा पनि राष्ट्रपतिले विधेयक फिर्ता पठाउने हो भने प्रधानमन्त्रीको सल्लाह र सहमति लिनुपर्छ भनिएको छ । हामीकहाँ धारा ८१ अनुसार प्रधानमन्त्री र महान्यायाधिवक्तासँग सरसल्लाह नगरी विधेयक फिर्ता पठाउँदा संकट र विवाद उत्पन्न भएको देखियो । यसले गर्दा राष्ट्रपतिबाट धारा ६१(३) को भूमिका निर्वाह हुन सकेन ।

राष्ट्रपतिबाट विधेयक फिर्ता र ध्यानाकर्षणले, बाबु पत्ता नलागेकाले आमाको नामको नागरिकता कुरेर बसेका हजारौं जना मारमा परे । जसले नागरिकताको अभावमा पढ्न पाएका छैनन्, बैंकमा खाता खोल्न पाएका छैनन्, कोरोनाको खोप लगाउन पाएका छैनन्, सवारीचालक अनुमति प्रमाणपत्र लिन पाएका छैनन्, क्याम्पस भर्ना हुन पाएका छैनन्, कुनै पनि पेसा गर्न पाएका छैनन्, राज्यले दिने कुनै सुविधा लिन पाएका छैनन्, ती सबैसबै मारमा परे । त्यसैले सरकारले आँट गरेर विधेयक प्रमाणीकरणका लागि पुनः पठाउनुपर्छ ।

राष्ट्रपति भण्डारीको दोस्रो कार्यकाल अन्तिम अवस्थामा छ, तैपनि पन्ध्रबुँदे ध्यानाकर्षणमा उठाइएका कुराहरू भर्खर राष्ट्रपति भएकाले थाहा नपाएको जस्तो गरिएको छ । विषय पहिलो र नौलो होइन, ओली सरकारको पालाको अध्यादेश यही विषयको भएकाले त्यति बेलै सुसूचित हुनुपर्ने हो । त्यति बेला अध्यादेश जारी गर्दा यी कुरा नउठाउने, अहिले संसद्का दुवै सदनले बहुमतले पारित गरेर पठाउँदाचाहिँ उठाउन मिल्छ ?

नागरिकता ऐन सम्बन्धमा अंग्रेजी भनाइ ‘होम इज ह्वेयर द हार्ट लिभ्स’ महत्त्वपूर्ण हुन्छ । राष्ट्रपतिबाट ‘यो ऐनले देशहित गर्दैन, यसलाई खारेज गरेर नयाँ ल्याउनुपर्छ’ भन्न खोजिएको हो र पन्ध्रबुँदे ध्यानाकर्षण गरिएको हो भने त्यो मान्न

सकिँदैन । नागरिकता ऐन–२०६३ ले राष्ट्रहित हेर्छ, विदेशीलाई नागरिकता

बाँड्दैन, संशोधनबाट कमीकमजोरी सुधारेर नेपालीलाई सरल तरिकाले नागरिकता दिलाउन सकिन्छ ।

नागरिकता सम्बन्धी अन्तर्राष्ट्रिय कानुन अनुसार दुई आधारमा नागरिकता कानुन बन्छ । एउटा, जन्मका आधारमा अर्थात् ‘युस सोली’; अर्को, रगत वा वंशका आधारमा अर्थात् ‘युस स्याङ्गुइनिस’ । खुला सिमाना भएकाले ‘युस सोली’ का आधारमा नागरिकता नेपालले धान्न सक्दैन भनेर ‘युस स्याङ्गुइनिस’ का आधारमा ऐनमा व्यवस्था भएको हो । जन्मका आधारमा नागरिकता अमेरिकामा पाइन्छ । वंशका आधारमा पाइने भएको भए बाराक ओबामा अमेरिकाको राष्ट्रपति हुने थिएनन् । हामीले वंशको आधार मान्यौं । संविधानको भाग २ का नागरिकता प्राप्त गर्ने प्रावधानहरू र धारा २८९ मिलाएर व्याख्या गर्ने हो भने, वंशजको आधारको नागरिकलाई क वर्गको र अंगीकृत नागरिकलाई ख वर्गको माने हुन्छ । तर अनौठो के भने, गृहमन्त्री, अर्थमन्त्री वा रक्षामन्त्रीचाहिँ अंगीकृत नागरिक पनि हुन सक्ने; गृहमन्त्रीको सिफारिसमा नियुक्त हुने र उसको आदेश पालना गर्नुपर्ने प्रहरी महानिरीक्षकचाहिँ वंशजका आधारको नागरिक हुनुपर्ने ? यो कस्तो व्यवस्था हो ?

वंशजको आधारको नागरिकतालाई जोड दिने हाम्रो संविधानका ‘फाउन्डिङ फादर’ हरू अमेरिकाको व्यवस्था देखेर सजग भएको हुनुपर्छ । जन्मेको आधारको नागरिकताले गर्दा, छिमेकी मेक्सिको लगायतका राष्ट्रका महिलाहरू स्वदेशमा गर्भवती हुने तर बच्चा जन्माउन अमेरिका छिर्ने गर्छन् । अमेरिकामा यसले गर्दा ‘बर्थर टुरिज्म’ भन्ने नै विकास भयो । राष्ट्रपति ट्रम्पले यो वास्तविकतालाई आत्मसात् गरे र उनी यसमा केही कडाइ गर्ने विचारमा थिए । नेपालले एउटा छिमेकीपट्टि सिमाना खुला भएकाले ‘बर्थर टुरिज्म’ धान्न सक्दैन भनेर वंशजका आधारमा नागरिकताको व्यवस्था गरियो । बाबु पत्ता नलागेको र आमा पत्ता लागेको बच्चाले वंशजको नागरिकता पाउँछ । तर पछि बाबु विदेशी भनी पत्ता लागेमा, उसलाई अंगीकृत नागरिकता दिने व्यवस्था छ । नेपालजस्तो गरिब देश नागरिकता सम्बन्धमा उदार बन्न सक्दैन ।

राष्ट्रपतिको ध्यानाकर्षणको मनसाय के हो, पन्ध्रबुँदेबाट बुझिँदैन । यदि नागरिकता सम्बन्धमा वर्तमान कानुनले हित हेर्दैन भन्न खोजिएको हो भने संशोधनपछि नागरिकता ऐन क्रमशः पूर्णतातर्फ जान सक्छ । नागरिकता सम्बन्धमा भाग–२ कै कुरा गर्ने हो भने, वंशजको आधारको नागरिकताका व्यवस्थाहरू संविधानमा नपरी नागरिकता ऐनमा परेका भए नेपाल सन्धि ऐन–२०४७ को दफा ९ अनुसार नागरिकता ऐनको व्यवस्था खारेज हुने थियो । नेपाल नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी महासन्धिसहित दुई दर्जनभन्दा बढी महासन्धिको पक्षराष्ट्र हो । ती महासन्धिले महिला–पुरुषबीच भेदभाव निषेध गर्छन् । हाम्रो संविधानले नागरिकता सम्बन्धमा आमालाई मान्यता दिँदैन । यतिसम्म कि बाबु पत्ता नलागेर आमाको नामबाट पाएको वंशजको आधारको नागरिकता पनि बाबु विदेशी भनी पत्ता लागेपछि बदर भई अंगीकृतमा परिणत हुन्छ । लिंगका आधारमा गरिएको भेदभाव हो यो । यस्ता कुराहरू संविधानमा पनि परेका छन् । नेपाल सन्धि ऐन–२०४७ को दफा ९ ले नेपाल पक्ष भएको महासन्धिसँग कुनै नेपाल कानुन बाझेमा महासन्धिको व्यवस्था लागू हुने त भन्यो तर नागरिकता सम्बन्धी ती भेदभावपूर्ण व्यवस्था ऐनमा नभई संविधानमा परेकाले र संविधान न्यायिक पुनरवलोकन नहुने हुनाले सुरक्षित छन् । संविधान मूल कानुन हुनाले सर्वोच्च हुन्छ, विवाद गरिँदैन ।

गणतन्त्रसहितको संघीयताको संविधान लागू भएको सात वर्ष पूरा हुन लाग्यो । राष्ट्रपति संस्था बारम्बार विवादमा आउने गरेको छ । संवैधानिक परम्परा नै बस्न सकेन । राष्ट्रपतिको पद र संस्था विवादमा आउनु हुँदैन । भारतमा त राष्ट्रपति यसरी विवादमा आउँदैनन्; त्यहाँ राष्ट्रपतिले आफ्नै अनुभव, महान्यायाधिवक्ता र वरिष्ठ संविधानविद् वकिलहरूको सल्लाह लिन्छन् । नडाकिएका व्यक्तिहरूको सल्लाहका लागि राष्ट्रपति भवन खुला हुँदैन ।

अन्त्यमा, हालको नागरिकता संशोधनमा नेपालीसँग विवाह गर्ने विदेशी महिलाले चाहेमा तुरुन्त नेपाली नागरिकता पाउने व्यवस्था गरियो । कानुनतः यो आपत्तिजनक छैन । संविधानको धारा ११(६) मा ‘कानुन बमोजिम अंगीकृत नागरिकता लिन सक्नेछ’ भन्ने छ, संविधानले न्यूनतम वर्षको सर्त तोकेको छैन । संविधानले नै वर्ष नतोकेकाले ऐनले पनि नतोक्नु संविधान वा कानुन विपरीत हुँदैन । यसलाई गल्ती मान्ने हो भने गल्ती प्रस्तावित संशोधनको होइन, संविधानसभाको हो । संविधान जारी गर्दा हतार गरे, लिपुलेक र लिम्पियाधुरा राखेनन्, त्यो ठूलो गल्ती थियो । वर्षौंपछि भारतले नेपालको भूभागबाट बाटो लगेपछि मात्र सरकारलाई गल्ती महसुस भयो । ‘घरको बाघ, वनको स्याल’ शैलीमा संविधान संशोधन गरेर चुच्चे नक्सा पास गरियो । त्यो कार्य भारतसँगको जित थिएन, ६०१ जनाको महागल्ती सच्याइएको थियो तर लडाइँ जितेको जस्तो गरी आफैंले आफैंलाई तारिफ गरी ताली पड्काए । ठीक त्यस्तै उपधारा (६) मा नेपालमा बसेको अवधि नतोक्नु अर्को गल्ती हो । राष्ट्रपतिको यसमा पनि ध्यान जानुपर्ने हो । संविधानसभाको गल्ती भए पनि राष्ट्रपतिबाट विधेयकमा ध्यानाकर्षण गर्नुको सट्टा नेपाली पुरुषसँग विवाह गर्ने महिलाले केही अवधि (तीन वा पाँच वर्ष) नेपालमा बसेपछि मात्र नागरिकता दिने सर्त राख्ने सुझाव दिएर फिर्ता गरिएको भए धारा ११३(३) को उद्देश्य र मनसायको सदुपयोग हुने थियो । तर सन्देशका नाममा राष्ट्रपतिबाट सरकार र सांसदहरूलाई पाठ पढाउने शैलीको ध्यानाकर्षणले आफू पनि विवादित बन्ने काम भयो र नागरिकताविहीन भएर बसेका हजारौं योग्य नागरिकहरूको संवैधानिक हक पनि खोसियो ।

केसी पूर्वन्यायाधीश हुन् ।

प्रकाशित : भाद्र ५, २०७९ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्

सर्वोच्च अदालत र अख्तियारको अधिकारक्षेत्र

भवन निर्माण प्रशासनिक काम भएकाले अख्तियारलाई अधिकार छैन भन्दा कानुनी शासनविपरीतको सन्देश जान्छ । प्रशासनिक काममा अदालतमा भएको भ्रष्टाचारमा कारबाही नहुने तर अन्य निकायमा हुने हो भने धारा १८ समानताको हक उल्लंघन हुन्छ ।
बलराम केसी

सर्वोच्च अदालतको भवन निर्माणका क्रममा अनियमितता भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न पाउने कि नपाउने भन्ने विषयमा कायममुकायम प्रधानन्यायाधीश र सर्वोच्च प्रशासनबीच अधिकारक्षेत्रलाई लिएर फरक धारणा देखियो । यो लेख यसै सम्बन्धी हो तर साउन ८ को अन्नपूर्ण पोस्टमा अर्को समाचार पनि थियो, ‘संवैधानिक पदहरूको लिलाम बढाबढ’ शीर्षकमा । त्यसबारे आजसम्म छानबिन भएको नदेखिएकाले यस लेखमा त्यो विषयलाई पनि उठाइएको छ ।

अन्नपूर्ण पोस्टको समाचारले अधिवक्ता जगदीश दाहाललाई एक प्रकारले समाचारको स्रोत मानेको छ । अधिवक्तालाई न्यायपरिषद्का एक सदस्यले चिया खान बोलाए भनिएको छ । दाहाल गए । त्यहाँ पुग्दा न्यायपरिषद्का सदस्य र बहालवाला एक मन्त्री थिए भनिएको छ । समाचारबाट त्यहाँ एक अवकाशप्राप्त पूर्वसचिवको पनि उपस्थिति देखिन्छ । अधिवक्तालाई न्यायपरिषद्का सदस्यले ‘संवैधानिक पदमा नियुक्ति लिने हो ? लिने भए केही रकम ठीक पारेर बस्नुहोस्’ भन्ने प्रस्ताव गरे । अधिवक्ताले ‘मुद्दा विचाराधीन छ’ भन्दा ‘अदालतले छिट्टै खारेज गर्छ’ भन्ने जवाफ आयो । त्यसपछि अधिवक्ताले ‘रकम खर्च गरेर पद चाहिँदैन’ भनेछन् । समाचार अनुसार, पूर्वसचिवलाई पनि रकम खर्च गरे कुनै आयोगको अध्यक्ष बनाउने भनियो ।

अधिवक्ता दाहालले ‘बिचौलिया’ शब्द प्रयोग गरेका छैनन् तर क्रियाकलाप बिचौलियाको हो । उनी अधिवक्ता भएर होला, त्यस्तो फोहोरी खेलमा सम्मिलित हुन ठाडै इन्कार गरे र ज्यादै भएको भएर होला सार्वजनिक गरिदिए । नेपाली समाज उनीप्रति आभारी हुनुपर्छ ।

नेपालको न्यायपालिकामा खासै ठूलो समस्या छैन, समस्या बिचौलियाहरूको छ । आज सर्वोच्च अदालत, न्यायपरिषद्, बार एसोसिएसनलाई बिचौलियाको खोजी छ । बदनामै बिचौलियाहरूबाट भएको छ । न्यायपालिका सुधारका लागि धेरै अध्ययन भए । पछिल्लो अध्ययन न्यायमूर्ति हरिकृष्ण कार्कीको हो । सबै प्रतिवेदनले न्यायपालिकामा बिचौलिया छ भनेका छन् तर कुनैले पनि बिचौलियाको पहिचान गरी नाम–ठेगाना उल्लेख गर्न सकेको छैन । अन्नपूर्ण पोस्टको समाचारले बिचौलियासम्म पुग्ने स्पष्ट आधार दिन्छ । समाचारले अधिवक्ताको हवाला दिएकाले छानबिन गर्ने हो भने बिचौलिया पहिचान हुन सक्छ । मिडियालाई भनेका कुरा अधिवक्ताले सर्वोच्च अदालत वा न्यायपरिषद्लाई नभन्ने कल्पना गर्न सकिँदैन ।

अधिवक्ता दाहालसँग न्यायपरिषद्का सदस्य, पूर्वसचिव र त्यहाँ भएका भनिएका मन्त्रीका नाम लगायत सबै खुलाउन भनम् । उनीसँगको सोधपुछबाट विचाराधीन मुद्दामा बिचौलियाहरूले कसरी खेलबाड र किनबेच गर्दा रहेछन् भन्ने पत्ता लगाउन मद्दत मिल्छ । अधिवक्ता अदालतको ‘अफिसर अफ कोर्ट’ हो, अदालतको सहयोगी हो । यस्तो अवस्थामा अधिवक्तालाई ससम्मान बोलाएर पदको लोभ देखाउने, विचाराधीन मुद्दा खारेज हुन्छ भन्नेजस्ता अवहेलनाजनक कुराहरूबारे नसोध्नु भनेको नजिकको तीर्थ हेला गर्नुजस्तै हो । त्यसैले अविलम्ब छानबिन समिति गठन गर्नुपर्‍यो र ती अधिवक्तामार्फत बिचौलियाको पहिचान गर्नुपर्‍यो ।

अधिवक्ता दाहाल अमूल्य स्रोतव्यक्ति देखिन्छन् । न्यायपरिषद्का सदस्यहरूसमेत भएर सर्वोच्च अदालतको न्यायाधीशको नियुक्ति गरिन्छ । सदस्यको हैसियत संविधानको धारा १५३(२) अनुसार सर्वोच्च अदालतको न्यायाधीशसरह हुन्छ । अधिवक्ता दाहालले न्यायपरिषद्का ती सदस्यको नाम नखुलाएकाले समाजमा न्यायपरिषद्का दुवै सदस्यलाई शंका र दोषीका आँखाले हेरिने भयो । दुवै सदस्यबाट दाहालको आरोपको खण्डन गरिएको पनि जानकारी छैन । आरोप झुटा हो भन्ने पनि सुनिएन । शंकाको घेरामा परेका सदस्यबाट न्यायाधीश नियुक्ति हुने हुँदा त्यसरी नियुक्त हुने न्यायाधीश र सम्पूर्ण न्यायालयप्रति जनआस्था कम हुन्छ । त्यसैले न्यायपरिषद् स्वयंले पनि अविलम्ब छानबिन गर्नुपर्छ अनि पो न्यायपरिषद् र न्यायपालिका दुवैले विश्वास आर्जन गर्न सक्छन् ।

यो समाचार र भर्खर पूर्णपाठ तयार भएको गणेश रेग्मीको रिट नम्बर ०७८–डब्लूसी–००३५ को टाइमिङपट्टि पनि ध्यान जान आवश्यक छ । सार्वजनिक भएकै कुरा हो, विभिन्न संवैधानिक आयोगमा भएका ५२ जनाको नियुक्तिविरुद्ध परेको रेग्मीको रिटलाई लम्व्याउन पारिएको भनिन्थ्यो । उक्त भनाइलाई रेग्मीको रिटमा इजलासबाट फैसलामा उल्लेख भएका कुराहरूले धेरै हदसम्म समर्थन गर्छन् । संयोग हो कि के हो, संवैधानिक आयोगहरूमा ५२ जनाको नियुक्तिको विवादको रिटमा पहिलो पेसी चढेको मात्र थियो, रेग्मीको रिट पर्‍यो । अब हालै पूर्ण सुनुवाइका लागि पेसी चढेको थियो, अधिवक्ता दाहाललाई ‘सर्वोच्च अदालतले रिट खारेज गर्छ’ भनिएछ ।

भवन निर्माण विवाद

संविधानले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई संविधानको व्याख्याता, मौलिक हक र मानव अधिकारको रक्षक, कानुनी शासनको रक्षक, संविधानवादको रक्षक, संविधानको रक्षक, प्रजातन्त्र र संघीयताको रक्षक बनाएको छ । जसरी संविधानको भाग ७ मा कार्यपालिका, भाग ८ मा संघीय व्यवस्थापिका र भाग ११ मा न्यायपालिकाको अधिकारको व्यवस्था गरी स्पष्ट शक्ति पृथकीकरण गरिएको छ, त्यसरी नै धारा १२६, धारा १३३ का १ देखि ५ सम्मका उपधाराहरू, धारा १३२, धारा १३६, धारा १३७ र धारा १५३ ले न्यायाधीशहरूले न्यायिक काम मात्र गर्ने गरी प्रशासनिक अधिकारबाट पृथकीकरण गरेका छन् ।

संविधानले बलियो, निर्भय, स्वतन्त्र, सक्षम, प्रभावकारी, इमानदार, निःस्वार्थी, निर्भीक र विश्वासिलो सर्वोच्च अदालत बनाएको छ, सर्वोच्च अदालतका न्यायाधीशहरू भवन निर्माणको ठेक्कापट्टाको प्रशासनिक काममा संलग्न हुने व्यवस्था गरेको छैन । संविधानको राम्रो व्याख्या गरेर राम्रो विधिशास्त्रीय विकास गर्नलाई सर्वोच्च अदालत बनाइएको हो ।

धारा १३६ ले प्रधानन्यायाधीशलाई मात्र नीतिगत र प्रशासनिक अधिकार दिन्छ । अदालत र अन्य निकायको न्याय प्रशासनलाई प्रभावकारी बनाउने अन्तिम जिम्मेवारी प्रधान न्यायाधीशको हुने भन्ने छ । धारा १३६ अन्तर्गत प्रधानन्यायाधीशलाई नीतिगत निर्णय गर्ने, नीतिहरूको कार्यान्वयन भयो–भएन हेर्ने लगायतका सबै आवश्यक प्रशासनिक अधिकार प्राप्त छ । अन्य न्यायाधीशलाई संविधानले कुनै प्रशासनिक अधिकार दिँदैन ।

धारा १३२(१) ले न्यायाधीशलाई प्रशासनिक अधिकार दिँदैन, निषेध गर्छ । धारा १३२(१) मा प्रधानन्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीशलाई न्यायाधीशको पदमा बाहेक अन्य कुनै पदमा काममा लगाउन वा काजमा खटाइनेछैन भन्ने स्पष्ट छ । न्यायाधीशले प्रशासनिक काम गर्न नहुने भनिएको छ । अख्तियारलाई पठाइएको पत्रबारे केही न्यायाधीशको आपत्ति भयो र फुलकोर्टमा छलफल गर्ने बेहोरा सार्वजनिक भयो । यो हेर्दा नेपालको संविधान–२०७२ बनेपछि पनि भवन निर्माणमा न्यायाधीशहरू संलग्न हुने लिगेसीले अझै नछाडेको हो कि जस्तो देखिन्छ । पंक्तिकार करिब ८ वर्ष सर्वोच्च अदालत कार्यरत हुँदा न्यायाधीशलाई विभिन्न समितिमा तोक्ने प्रचलन थियो । त्यस्ता समितिहरूमध्येको एक भवन निर्माण समिति पनि थियो र आज पनि छ कि जस्तो देखियो । पंक्तिकारले पटकपटक फुलकोर्टमा न्यायाधीशलाई कुनै पनि प्रशासकीय काम गर्न समितिमा राख्न हुँदैन भनेर आवाज उठाएको थियो तर संविधान हेरिएन, परम्परा मात्र हेरियो । खिलराज रेग्मीलाई देवानी संहिता मस्यौदा गर्न र कल्याण श्रेष्ठलाई फौजदारी संहिता मस्यौदा गर्न पठाइयो । दुवै जना समितिमा बसे । केही समयपछि ती दुईले तयार पारेका मस्यौदा अनुमोदनका लागि फुलकोर्टमा पेस भए । ‘सर्वोच्च अदालतको बहालवाला न्यायाधीशले मस्यौदा गर्नु गलत हो, यो काम कानुन आयोग वा संसद्को हो, अधिकार अतिक्रमण भयो; त्यसैले गलत भएको कुरालाई समर्थन गर्न हुँदैन’ भनेर विरोध गरी पंक्तिकारले माइन्युटमा हस्ताक्षर गरेन । सर्वोच्च अदालतमा प्रशासनिक काममा पनि न्यायाधीशलाई सम्मिलित गर्ने गलत परम्परा थियो । न्यायाधीशबाट जटिल संवैधानिक विवादको व्याख्या गरेर ल्यान्ड मार्क फैसला गर्नुपर्नेमा प्रशासनिक काममा लगाइने परम्परा बन्द नभएको भए बन्द गर्नुपर्‍यो ।

न्यायाधीशको काम न्यायिक मात्र हो, प्रशासनिक होइन । न्यायाधीशले इजलासबाट न्यायिक अधिकार प्रयोग गरेर सबै पक्ष र कानुन व्यवसायीका कुरा सुनेर संविधानसँग बाझिएको कानुन अमान्य गर्छ । रिट निवेदनमा कारण देखाउ आदेश गर्छ । अन्तरिम आदेश दिने–नदिने निर्णय गर्छ । बन्दी प्रत्यक्षीकरण, परमादेश, उत्प्रेषण, प्रतिशेध र अधिकारपृच्छा लगायत अन्य आदेश जारी गर्छ । मुद्दाको सुरुआती कारबाही गर्छ । झगडिया झिकाउँछ । साधक जाँच्छ । पुनरावेदन सुन्छ । उच्च अदालतको फैसलाको पुनरावेदन जाँच्छ । आफ्नै अदालतको फैसलाको पुनरवलोकन गर्छ । संविधानको व्याख्याको गम्भीर मुद्दामा उच्च अदालतले सर्वोच्च अदालतबाट फैसला हुन आवश्यक छ भनेर पठाएमा फैसला गर्छ । उच्च अदालतबाट गम्भीर मुद्दामा व्याख्या गर्नुपर्नेछ भने झिकाएर फैसला गर्न सक्छ । संघीयतासँग सम्बन्धित मुद्दा संवैधानिक इजलासबाट हेर्छ । न्यायाधीशको न्यायिक काममा मात्र उन्मुक्ति हुन्छ, प्रशासनिकमा होइन ।

सर्वोच्च अदालत र अख्तियारका कामहरू स्पष्ट छन् । सर्वोच्च अदालतले संविधानको व्याख्या गर्छ । अख्तियारले भ्रष्टाचारमा अनुसन्धान गर्छ, प्रमाण भेटेमा अभियोग लगाएर मुद्दा दर्ता गर्छ । विद्यमान कानुन अनुसार सर्वोच्च अदालतले अख्तियारलाई न्यायाधीशको न्यायिक काममा बाहेक प्रशासनिक कामको भ्रष्टाचार वा प्रशासनिक कामको अनियमिततामा मात्र छानबिन गर्ने अधिकार हुन्छ भन्नुपर्छ । भवन निर्माण प्रशासनिक काम भएकाले अख्तियारलाई अधिकार छैन भन्दा समाजमा कानुनी शासनविपरीतको सन्देश जान्छ ।

कानुनी शासनमा शासन मानिसबाट होइन, कानुनबाट गरिन्छ । कानुनभन्दा माथि कोही हुँदैन । प्रधानन्यायाधीश र न्यायाधीशहरू पनि संविधानप्रति उत्तरदायी हुनुपर्छ । संविधानको धारा १५३(६) ले उच्च र जिल्ला अदालतका न्यायाधीश एवं धारा २३९(२) ले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरूलाई अख्तियारको अधिकारक्षेत्रबाट उन्मुक्ति दिएको भाग ११ को न्यायिक अधिकारको प्रयोगमा मात्र हो । भाग ११ मा तीनै तहका न्यायाधीशहरूको न्यायिक अधिकारको व्यवस्था छ । न्यायिक अधिकार प्रयोग गर्दा स्वतन्त्र भएर फैसला गर्न पाउनुपर्छ भनेर न्यायाधीशहरूलाई अख्तियारको पकडबाट बाहेक गरिएको हो । न्यायिक काममा भ्रष्टाचार गरेमा उच्च र जिल्ला अदालतका न्यायाधीशहरूलाई न्यायपरिषद्बाट र सर्वोच्च अदालतका न्यायाधीशहरूलाई संघीय कानुन बमोजिम कारबाही हुने हुनाले अख्तियारलाई बाहेक गरिएको हो । भवन निर्माण न्यायिक काम होइन, प्रशासनिक हो । अदालतभित्रको प्रशासनिक काममा भएको भ्रष्टाचारमा कारबाही गर्ने छुट्टै निकाय संविधानले व्यवस्था गरेको देखिँदैन । कानुनी शासन भन्ने हो भने, प्रशासनिक काममा अदालतमा भएको भ्रष्टाचारमा कारबाही नहुने तर अन्य निकायमा हुने हो भने धारा १८ समानताको हक उल्लंघन हुन्छ । त्यसैले या अदालतभित्रको प्रशासनिक भ्रष्टाचारका लागि छुट्टै कानुन बनाउनुपर्‍यो, होइन भने अख्तियारको अधिकारक्षेत्रलाई बाहेक गर्नुभएन ।

भवन निर्माण सम्बन्धमा अख्तियारको पत्राचारलाई लिएर सर्वोच्च अदालतका केही न्यायाधीशहरूले हामी भ्रष्टाचारको पोषक होइनौं भन्ने राम्रो सन्देश दिए । अरू कुनै कारणले होइन, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथिको १७ बुँदे आरोपले गर्दा मात्र न्यायाधीशहरूले अब एक पटक एक ढिक्का भएर भन्नुपर्छ, ‘हामी भ्रष्टाचार नगर्ने मात्र होइनौं, न्यायपालिकामा भ्रष्टाचार छिर्न पनि दिँदैनौं । प्रमाण भएको मुद्दामा भ्रष्टाचारीलाई छाड्दैनौं । हामीलाई कानुनी शासन, संविधानवाद र संविधानको धारा १८ को समानताको हक थाहा छ । हामीलाई उन्मुक्ति चाहिँदैन । हामी उन्मुक्ति खोज्दैनौं । हाम्रो न्यायिक अधिकार प्रयोगमा आन्तरिक छानबिन हामीलाई सह्य हुन्छ तर अख्तियार लगायत बाहिरी कुनै पनि निकायको प्रवेश सह्य हुँदैन ।’ यस्तो सन्देशले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र सर्वोच्च अदालतका अन्य न्यायाधीशको मात्र होइन, सिंगो न्यायपालिकाको इज्जत, प्रतिष्ठा र सम्मान बढ्छ । न्यायपालिकाप्रति जनताको विश्वास ह्वात्तै बढ्छ । यसले अदालतको पारदर्शिता, न्यायिक सुशासन र जनताप्रतिको उत्तरदायित्व बढाउँछ ।

अन्त्यमा, कायम मुकायम प्रधानन्यायाधीश कार्कीले छोटो अवधिमै रामप्रसाद श्रेष्ठबाहेक अरूभन्दा प्रशंसनीय काम गरेका छन् । कायम मुकायम हुनासाथ कार्कीको भनाइ थियो, ‘अब खल्तीबाट चिट झिकेर न्यायाधीश नियुक्ति गर्ने दिन गए ।’ निर्देशिका जारी गरेर उनले बोलेको कुरा पूरा गरे । थन्काइएका उजुरीहरू केलाउँदै गए । विवादित न्यायाधीशलाई प्रक्रिया पूरा गरेर कारबाही गरे । कार्कीले सर्वोच्च अदालत सम्हालेदेखि ‘बेन्च सपिङ’ सुनिएको छैन, कानुन व्यवसायीको कुनै गुनासो सुनिँदैन । नेपाल बार र सर्वोच्च बारले आन्दोलन फिर्ता लिएर सहयोग गरे । कार्कीका यस्ता कामले पूर्वप्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठलाई सम्झाउँछन् । गणेश रेग्मीको रिट पर्नुताका ५२ जनाको संवैधानिक आयोगमा नियुक्तिविरुद्ध परेको रिटमा देखिएको क्रियाकलाप र साउन ८ को रिट खारेज हुन्छ भन्ने आरोपले अदालतको बदनाम गर्न खोजिएको त होइन ? शंका हुन्छ । यसबाट न्यायपालिका सुधारमा धेरै अवरोध छन् भन्ने देखिन्छ ।

कार्की आफैं कायम मुकायम छन्, सायद केही महिनापछि उमेरहदका कारण अवकाश पाउलान् । यी अडचनको बावजुद उनीबाट भएका साहसिक र उल्लेखनीय सुधारको स्वतन्त्र न्यायपालिकाप्रेमी सबै नेपालीले स्वागत गर्नुपर्छ । आशा गरौं, साउन ८ को उपर्युक्त समाचारको अब कति विलम्ब नगरी गहिरिएर छानबिन हुन्छ र कार्की नेतृत्वको सर्वोच्च अदालत बिचौलिया भेट्टाउन सफल हुनेछ ।

केसी सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन् ।

प्रकाशित : श्रावण २७, २०७९ ०७:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×