एउटा आँधीको गीत- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एउटा आँधीको गीत

केशव दाहाल

सिन्डिकेटको जालो
कहिलेकाहीँ प्रश्नहरू आफैं जवाफ खोज्न आइपुग्छन् । आँधीसरि । जस्तो, एउटा गतिशील समाजमा कुनै असफल नेता पटकपटक प्रधानमन्त्री हुन सम्भव हुन्छ, कसरी ? एउटा सभ्य दुनियाँ कुनै अनैतिक मान्छेलाई पटकपटक नेता स्विकार्न बाध्य हुन्छ, कसरी ? जेल जानुपर्ने भ्रष्ट ठेकेदार लगातार पद र विभूषणले सुशोभित भैरहन एउटा लोकतान्त्रिक राज्यमा के कारणले सम्भव हुन्छ ?

दलालहरू पुजिने र खलनायकहरू नायक बन्ने समाज कसरी सुसंस्कृत हुन सक्छ ? सभ्य, लोकतान्त्रिक र गतिशील समाजमा यस्तो किमार्थ हुँदैन । तर हामीकहाँ बितेका ३२ वर्षदेखि (पछिल्ला १५ वर्षसमेत) उनै मुट्ठीभर नेताहरू सत्ताको फन्को मारिरहेका छन्, कसरी ? पछिल्ला ३० वर्षदेखि ज्ञानको प्रवाहलाई कुण्डली मारेर एउटै समूह बुद्धिको बिर्कोमा विराजमान छ, कसरी ? विगत ३० वर्षदेखि वकिल, पत्रकार, नागरिक अगुवा वा बुद्धिजीवीको पगरी गुथेका उनै सुकिला मान्छेहरू पार्टी कार्यालयहरूका ढोकामा थर्पो हालेर बसेका छन्, कसरी ? समय किन स्थिर छ, चेतना किन भुत्ते छ र राजनीति किन गतिहीन बनिरहेको छ यसरी ?

यो यसकारण हुँदै छ, हाम्रो समाजको एउटा पुस्ताले आफ्नो वर्चस्वका लागि ‘महासिन्डिकेट’ खडा गरेको छ । अर्थात्, यस्तो सिन्डिकेट, जसमा विचार हैन स्वार्थले काम गर्छ । जसमा उमेर हैन, पार्टी हैन, पहिचान हैन, नाफाको अर्थ छ । अतः यो बुद्धि, विवेक, शक्ति र स्वार्थको बहुआयामिक सिन्डिकेट हो । को हो त्यो सिन्डिकेटको सदस्य ? त्यो विश्वविद्यालय वा अनुसन्धानशालाको हाकिम हो । त्यो बीपी प्रतिष्ठान, मदन गृह वा पुष्पलाल केन्द्रको प्रमुख हो । त्यो शिक्षक वा प्राध्यापक हो । अथवा ऊ कुनै बेला सडकमा नारा लगाउँथ्यो, अहिले सरकारी अड्डामा हाकिम छ । विद्यार्थीकालमा ऊ रातो झन्डा बोकेर पुस्तकालय जलाउँथ्यो, अहिले कुनै संस्थाको हर्ताकर्ता छ । ऊ वकिल हो, ऊ पत्रकार हो । ऊ आजको बिचौलिया हो, कुनै बेला महँगीविरुद्ध नारा लगाउँथ्यो । इतिहासको आडमा आज ऊ सर्वांग नांगो बनेर नयाँ सम्भावनाको ढोकामा ताल्चा मारिरहेको छ । अर्थात्, पूरापूर एउटा असफल पुस्ता अहिले एकताबद्ध छ, जसको उच्चासनमा छन् कांग्रेस र कम्युनिस्ट नेताहरू । त्यसैले यो सिन्डिकेट निकै बलियो छ । यो बलियो छ, त्यसैले यसका वरिपरि सत्ता र शक्तिले चक्कर मारिरहेको छ ।

सिन्डिकेटको चित्रलाई अझै थप स्पष्ट गरौं । जस्तो, गगनभन्दा देउवा प्रधानमन्त्री हुँदा खुसी हुने एमालेहरू धेरै छन् । कम्युनिस्ट पार्टीमा ओली, प्रचण्ड वा माधवलाई उछिनेर कुनै युवा नेतृत्वमा आए दुःखी हुने कांग्रेसहरू धेरै छन् । विचार गरौं, यी पुराना मान्छेलाई शक्तिमा टिकाउन कसले मरिहत्ते गरिरहेको छ ? मन्त्रालयमा सचिव, निर्देशक वा हाकिमको स्तुतिगान गर्न लामबद्ध हुने पहिलो मान्छे को हो ? त्यो उही हो, जसले नयाँ विकल्पलाई नकार्छ र पुरानो सत्ताको साधना गर्छ । उदारणका लागि, त्यो ठेकेदार हो, व्यापारी हो । त्यो पत्रकार हो, लेखक हो । अथवा, त्यो नागरिक अगुवा हो, जो सडकमा यौनहिंसाविरुद्ध नारा लगाउँछ र घरमा वधूशिक्षा पढाउँछ । ऊ नवराज विकबारे बोल्दैन र बलात्कारी साधुसँग बसेर नैतिकताको भजन गाउँछ ।

यो यस्तो सिन्डिकेट हो, जहाँ एउटाले भ्रष्टाचार गर्छ, दोस्रोले अनुसन्धान गर्छ, तेस्रोले सफाइ दिन्छ । एउटाले बिन्ती बिसाउँछ, अर्कोले विभूषण बाँड्छ र तेस्रोले सुशोभित गरिदिन्छ । एउटाले टेन्डर निकाल्छ, अर्कोले ठेक्का पार्छ, तेस्रोले भुक्तानी दिन्छ । एउटा उम्मेदवार हुन्छ, अर्कोले जिताउँछ, तेस्रोले शपथग्रहण गराउँछ । एउटाले आयोग बनाउँछ, अर्को आयोगमा बस्छ, तेस्रोले उसका बेथितिहरूलाई अनुमोदन गरिदिन्छ । एउटाले भाषण गर्छ, अर्कोले समाचार बनाउँछ र अर्कोले तारिफमा लेख लेख्छ । अर्थात्, यहाँ सबका सब मिलेका छन् । एयरलाइन्स डुबाउन मिलेका छन्, खोला बेच्न मिलेका छन्, हतियार किन्न मिलेका छन्, सरकारी जग्गा हडप्न मिलेका छन् । औपचारिक राजनीतिमा पार्टीहरू अलग छन् । युनियनहरू अलग छन् । संगठनहरू अलग छन् । उनीहरूबीच प्रतिस्पर्धा छ, आरोप–प्रत्यारोप र गालीगलौज छ । तर अनौपचारिक सम्बन्धमा उनीहरूको एउटा सिन्डिकेट छ, उनीहरू संस्थापन हुन् । र, आफ्नो वर्चस्वका लागि उनीहरू जस्तोसुकै लेनदेन गर्न पनि तयार छन् । यसरी राज्य पंगु बनेको छ । संरचनाहरू बेकामे, पत्रु र गतिहीन बनेका छन् । यसरी हाम्रो समय, चेतना र गति अवरुद्ध भएको छ । अर्थात्, हामी सिन्डिकेटको जालोमा परेका छौं ।

बहीखाताको हिसाबकिताब

दशकौंदेखि सिन्डिकेटले देश कसरी लुट्दै छ, केही तथ्यहरू हेरौं । जस्तो, सिक्टा सिँचाइ आयोजनाको सुरुआती लागत इस्टिमेट १,२८० करोड रुपैयाँ थियो । अहिले त्यो बढेर २,५०२ करोड पुगेको छ । बबई सिँचाइ आयोजनाको सुरुआतको लागत इस्टिमेट २८७ करोड थियो, अहिले १,८९६ करोड पुगेको छ । काठमाडौं–तराई द्रुतमार्गको सुरुको लागत ११,१०० करोड थियो, अहिले २१,३९५ करोड पुगेको छ । मेलम्ची २,४०० करोडमा सुरु भएको थियो, अहिले ३१,०३६ करोड पुगेको छ । पाँच वर्षमा सक्नुपर्ने परियोजना १५ वर्षमा सकिँदैन । तर न ठेकेदारलाई कारबाही हुन्छ, न त मन्त्रीले दायित्व लिन्छ । न अख्तियार लाग्छ, न त अदालत जाग्छ । न कम्युनिस्टहरू बोल्छन्, न त बोल्छन् प्रजातन्त्रवादीहरू ।

पछिल्लो महालेखा परीक्षकको प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा २ खर्ब बेरुजु थपिएको छ । आर्थिक वर्ष २०७३–७४ मा यो ३ खर्ब थियो । अहिले त्यो ५ खर्ब नाघेको छ । जसमा विद्यालय बन्द हुँदा खाजा ख्वाएको बिल नै ५९ करोड देखिन्छ । पूर्वाधारमा नियमविपरीत अनेकौं भुक्तानी गरिएका छन् । र, भुक्तानी पाउनेहरूको सूचीमा सिन्डिकेटका मान्छेहरू धेरै छन् । आश्चर्य के भने, एउटा अनुसन्धान संस्थाको खर्च अनुसन्धानमा भन्दा प्रशासनमा तेब्बर देखिन्छ । बहुचर्चित स्वास्थ बिमा कार्यक्रम अस्पतालकै बेथितिले थिलथिलो हुँदै छ । जहाँ एउटै बिरामीलाई १८ हजार ट्याबलेट औषधि दिइन्छ । तर यावत् बेथितिमा पनि चुपचाप छन् सिन्डिकेटका सभ्यजनहरू । किनभने यो उनीहरूको साझा कर्म हो, यो उनीहरूको साझा स्वार्थ हो ।

उता कर्णालीमा ५५ प्रतिशत बालबालिका कुपोषणको सिकार छन् । यता राजधानीमा ५५ परिवारको रजगज आकासिँदो छ । देशमा कृषि मन्त्रालय छ, तर बितेका ३० वर्षदेखि किसान मल पर्खिबसेका छन् । काठमाडौंमा भूमिसुधार मन्त्रालय छ तर ५० वर्षमा पनि सुकुम्बासी समस्या किनारा लाग्दैन । वन कार्यालयले वन जोगाउँदैन, विज्ञान मन्त्रालयले अनुसन्धान गर्दैन । स्कुलमा किताबहरू पुग्दैनन् र अस्पतालमा औषधि पाइँदैन । भनिन्छ, स्थानीय तहका ३० हजार कर्मचारी करारमा छन् । वार्षिक ६ अर्ब उनीहरूलाई चाहिन्छ । त्रिविको बेरुजु २४ अर्ब छ । जहाँ पार्टीको सिफारिसमा नियुक्त प्राध्यापकहरू बस्छन् । जसले पढाउन पर्दैन । प्रदेशमा गाडी खरिद गर्न ६ अर्ब खर्च भयो । तर बाटामा सुत्केरी हुने महिलाहरूको दुःख कसैले देखेन ।

संसद्मा कोरम पुग्दैन र बैठक पटकपटक स्थागित हुन्छ । के कांग्रेस, के कम्युनिस्ट सबै उस्तै । मात्र केही सयका लागि सभासद्हरू हाजिरी गर्छन् र टाप कस्छन् । विधि बनाउनुपर्ने विधायक या नेताको चाकरीमा हुन्छ या त मन्त्रीको कोटरीमा । भर्खरै अर्थमन्त्री (जनार्दन शर्मा) प्रकरणमा सिन्डिकेट कति धेरै निर्लज्ज देखियो, सबैलाई जगजाहेर छ । तर फेरि पनि उनैलाई माननीय भन्नुपर्ने । उनैलाई किलोका किलो माला चढाउनुपर्ने । हेरौं त, त्यो माला लगाउनेहरूको लाइनमा को छ ? ठेकेदार, बिचौलिया, शिक्षक, कर्मचारी, वकिल र प्राध्यापक । पार्टी फरक होस् तर के उनीहरूको सोच, शैली र प्रवृत्ति एउटै देखिँदैन ? एउटा सभ्य, लोकतान्त्रिक र समाजवादी राज्यमा यस्तो बेथिति, भ्रष्टाचार र गतिहीनता कसरी सम्भव हुन्छ ? किन विद्रोह हुँदैन ? किन आगो बल्दैन ? किनभने यो मिलिभगत हो । यो पुरानो शक्ति सम्बन्धको जालसाजी हो । यो महासिन्डिकेटको तमासा हो ।

सामूहिक पतन

राजनीतिक असफलता सामूहिक दुश्चक्रको एउटा कठिन सिलसिला हो । आज हामी त्यही सामूहिक दुश्चक्रमा फसेका छौं । निश्चय नै, हाम्रो गरिबी, कुशासन र अविकासका लागि दल, नेता र सरकारहरू जिम्मेवार छन् । तर दलहरूलाई सरकारमा पुर्‍याउँछ कसले ? मान्छेलाई नेता बनाउँछ कसले ? नेतालाई ईश्वर बनाउँछ कसले ? पार्टीले जनतामाथि शासन गर्ने वैधता पाउँछ कसरी ? आम नागरिक, मतदाता, लेखक वा विचारकहरू स्वयं यी प्रश्नहरूमा कहाँ छौं ?

झट्ट हेर्दा समस्या पार्टीमा देखिन्छ । अथवा, समस्या प्रधानमन्त्री वा पूर्वप्रधानमन्त्रीहरूमा देखिन्छ । त्यो त प्रकट स्वरूप मात्र हो । निश्चय नै समस्या राजनीतिमा छ, पार्टीहरूमा छ र नेतृत्वमा छ । किनभने अगुवाहरू आत्मकेन्द्रित र पदासक्त छन् । उनीहरू शक्तिको तिर्सनाले व्याकुल छन् । तर यिनलाई टेको दिएर बचाइराख्छ कसले ? माधव नेपाललाई फेरि पार्टी अध्यक्ष बनाउन हत्ते गर्छ कसले ? ओली वा प्रचण्डको तिर्सनालाई जोगाइराख्छ कसले ? र्‍यालसिँगान चुहाउँदै फेरि प्रधानमन्त्री हुन देउवालाई उकास्छ कसले ? के यो काममा हाम्रो बौद्धिक जगत्, शिक्षक, कर्मचारी, लेखक, कवि, प्राध्यापक वा नागरिक समाज मतियार छैनन् ? त्यसैले स्पष्ट छ, समस्या पार्टी वा राजनीतिमा मात्र छैन । यो सर्वत्र छ । र, यो मूलतः सिन्डिकेटमा छ, जसले हाम्रो लोकतन्त्रको स्वाभाविक गति, ऊर्जा र सामर्थ्यलाई अवरुद्ध गरिरहेको छ ।

आँधीको पर्खाइ

केही दिनअघि बागबजारको पुरानो गल्लीमा एक जना दौंतरीसँग १५ वर्षपछि भेट भयो । ऊ विदेशबाट केही महिनाअगाडि मात्र नेपाल फर्किएको थियो । उसले आक्रोशमा भन्यो, ‘साथी, मलाई त नेताहरू देख्नासाथ थुक्न पो मन लाग्छ । संसारका सबै गाली जम्मा गरेर तिनलाई सराप्न मन लाग्छ । अथवा, कहिलेकाहीँ लाग्छ तिनका चिल्ला गालामा झापड हानूँ । श्रीलंकामा जस्तै काठमाडौंमा पनि यिनका सेता दरबारभित्र पसेर जनताले खेद्ने दिन कहिले आउला ?’ पुस्ता हस्तान्तरणको प्रक्रिया जब स्वाभाविक र प्राकृतिक हुँदैन तब असन्तुष्टि यसरी नै प्रकट हुन्छ । यहाँ पुस्तान्तरण भनेको मात्र दल वा सरकारमा नयाँ

मान्छेको खोजी होइन । समग्रमा यो गतिशीलता र अग्रगमनको कुरा हो । अर्थात्, पुस्ता हस्तान्तरण दलगत विषय मात्र हैन । यो ज्ञान, सत्ता र सपनाको हस्तान्तरण हो । अर्थात्, यो पुरानो सिन्डिकेट तोडेर समयको प्रवाहलाई स्वतन्त्र र गतिशील बनाउने कुरा हो ।

मेरो साथी भुइँमान्छेको एउटा विम्ब हो । अर्थात्, सिन्डिकेटबाहिरको मान्छे । सिन्डिकेटविरुद्धको मान्छे । जो कहिले एक्लै देखिन्छ, कहिले समूहमा । कहिले सडकमा चिच्याउँछ, कहिले सभाहलमा । ऊ कहिले अटेरीका रूपमा बगावत गर्छ, कहिले स्वतन्त्रको आलोकमा चुनावी मैदानमा भेटिन्छ । ऊ कहिले पुराना नेता हराउने नारा लगाउँछ, कहिले नयाँ पार्टी खोल्ने उद्घोष गर्छ । मलाई लाग्छ, यो एउटा संकेत हो । अर्थात्, एउटा आँधीको संकेत । सिन्डिकेटविरुद्धको आँधी । जब लोकतन्त्रले परिणाम दिँदैन, तब खटपटी स्वाभाविक र जटिल हुँदै जान्छ । त्यो खटपटी बिस्तारै छिटफुट विद्रोहमा रूपान्तरित हुन्छ । र, क्रमशः त्यो संगठित बन्न पुग्छ । अहिले हाम्रो समाज त्यही संगठित विद्रोहको प्रतीक्षामा देखिन्छ ।

कस्तो होला त्यो विद्रोह ? कस्तो होला त्यो आँधी ? त्यो उथलपुथलको लक्ष्य के होला ? राजनीतिको सम्पूर्ण पुनर्गठन । सिन्डिकेटको विघटन र राज्यसत्ताको नवीकरण । केही मान्छे पाँच जना पुराना नेताहरूलाई बिदा गर्नासाथ धेरै कुरा फेरिने विश्वासमा छन् । कतिपयको विश्वास छ, केही थान राम्रा मान्छेहरू संसद्मा पुग्नासाथ समस्या सकिन्छ । अथवा, पार्टीमा गगन, विश्वप्रकाश वा घनश्यामहरू आउनासाथ धेरै कुरा छुमन्तर हुन्छ । निश्चय नै बूढा नेताहरूको बिदाइ आवश्यक छ । निश्चय नै राजनीतिक पुनर्गठन अनिवार्य छ । तर के यति गर्दैमा सिन्डिकेटको अन्त्य हुन्छ ? के यति गर्नासाथ शिक्षक, प्राध्यापक, बुद्धिजीवी, प्रशासक, वकिल, डाक्टर वा ठेकेदारको सोच, शैली र प्रवृत्तिको जालो तोडिन्छ ? अन्यथा नेताहरू फेर्ने, तर लोकतन्त्रवादी वा वामपन्थी आन्दोलनको खिया नफाल्ने, के हुन्छ ? नेता फेर्ने तर बुद्धिजीवीहरूको मनको लोभ नफेर्ने, के हुन्छ ? मन्त्री फेर्ने तर भ्रष्ट प्रशासक जोगाउने, के हुन्छ ? व्यक्ति फेर्ने तर सत्ताको चरित्र नफेर्ने, के हुन्छ ? सिन्डिकेटलाई नतोडी मान्छेको फेरबदलले मात्र समाधान कसरी निस्किन्छ ?

मान्छेहरू भन्छन्— हामीले संकट देखेकै छैनौं । भोकाहरूको लस्कर देखेकै छौनौं । एक दशकको आन्तरिक द्वन्द्वले नै हामीलाई हायलकायल पारेको थियो । त्योभन्दा ठूलो द्वन्द्वको चपेटामा हामी परेकै छैनौं । हामीले न स्वाधीनताको लडाइँ लड्यौं, न त स्वतन्त्रताको । हामीले प्राप्त गरेको गणतन्त्र सायद सस्तो थियो, त्यसैले हामीले यसको मूल्य बुझ्नै सकेनौं । त्यसैले परिवर्तनको गम्भीर चेतना हामीभित्र छैन । न नेताहरूमा समयचेतना छ, न त सामाजिक जीवनमा । हामीले भ्रष्टाचारी देख्यौं तर तिनलाई जनताले समातेर सहर घुमाएको देखेका छैनौं । हामीले दरबारहरू देख्यौं, तिनलाई जनताले कब्जा गरेको देखेकै छैनौं । हामीले कालोबजारी गर्नेलाई देख्यौं तर चौबाटामा तिनलाई भीडले ढुंगा हानेको देखेकै छैनौं । त्यसैले हामीले परिवर्तनको आँधीसँग हेलचेक्य्राइँ गर्‍यौं । त्यो कति निर्मम हुन्छ, हामीले देखेकै छैनौं । त्यसैले हाम्रो बोक्रे चेतनाले हामीलाई जकडेर राख्यो । लोकतन्त्र, विकास, परिवर्तन, सामाजिक न्याय र समाजवादप्रतिको त्यो बोक्रे चेतना, ज्ञान र निष्ठालाई अब फेर्नुपर्छ । त्यसका लागि ठूलो हलचल, उथलपुथल वा आँधी चाहिन्छ । जो आजको मुख्य आवश्यकता हो ।

अर्थात्, राजनीतिक दल र नेताहरूको परिवर्तनभन्दा माथि हाम्रो सामाजिक मनोविज्ञान, सोच र संस्कृतिको पुनर्गठन आवश्यक छ । राजनीतिको चरित्रमा परिवर्तन । राज्यको चरित्र र चिन्तन प्रणालीमा परिवर्तन । हाम्रो मनोग्रन्थीमा परिवर्तन । सत्तामुखी संस्कृतिमा परिवर्तन । हाम्रो शक्ति सम्बन्धमा परिवर्तन । सिन्डिकेटमा परिवर्तन । अन्यथा, यावत् विषाक्त चीजहरूलाई यथावत् राखेर चानचुने हेरफेरले मुलुक बन्दैन ।

विचार गरौं, त्यो आँधी कहाँबाट आउला ? सम्भवतः त्यो आँधी आजको पुस्ताको सपनाले निर्माण गर्नेछ । त्यसका लागि समयचेतना जागृत हुनु आवश्यक छ । एउटा संगठित चेतना । अहिले वैकल्पिक, स्वतन्त्र, अटेरी वा बागीहरूको अभियान आँधी आउनुअगाडिको पूर्वसंकेत मात्र हो । वस्तुतः अहिले संकट थामथाम–थुमथुम पार्ने समय हैन, बरु यो सम्पूर्ण उथलपुथलको समय हो । यस्तो उथलपुथल, जसले परम्परागत सत्ता, शक्ति र स्वार्थको सिन्डिकेट तोडेर समाजलाई नयाँ दिनतर्फ हिँड्न प्रेरित गरोस् । अर्थात्, यो आँधीको नयाँ गीत गाउने समय हो । लौ, सबै मिलेर एउटा निर्णायक उथलपुथलको रचना गरौं ।

प्रकाशित : श्रावण २९, २०७९ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्

को स्वतन्त्र ?

राजनीतिक रुपान्तरणका लागि शक्तिशाली हस्तक्षेप गर्ने संगठन आजको आवश्यकता हो । म असल छु, म स्वतन्त्र हुँ, म राजनीतिमा आएँ, मलाई भोट हाल, म गरेर देखाइदिन्छु भन्नु अराजनीतिक ध्वाँस मात्र हो ।
केशव दाहाल

शब्दार्थआजलाई स्वतन्त्र राजनीति र स्वतन्त्र उम्मेदवारीको भाष्यमाथि कुरा गरौं । सुरु गरौं शब्दार्थबाट । नेपाली शब्दकोशमा स्वतन्त्रको परिभाषा निकै रोचक ढंगले दिइएको छ । शब्दकोशका अनुसार स्वतन्त्र भन्नाले ‘कसैको बन्धन, दबाउ, अधीन आदिमा नरही आफ्नै तन्त्र वा शासनमा रहने र त्यस माध्यमले स्वयं सोचीबुझी काम गर्न सक्ने वा पाउने स्वाधीन । अरूको अवलम्ब, आधार वा आश्रय केही नभएको । कुनै नियम, विधि वा प्रतिबन्दबाट मुक्त । कसैसँग सम्पर्क नभएको, अलग, भिन्न ।’ यो परिभाषाबाट हेर्दा वैश्य युगमा स्वतन्त्र मान्छे पाउनु असम्भव देखिन्छ । आश्चर्य के भने, यो लौकिक दुनियाँमा मान्छे मात्र हैन कीटपतंग, दुर्लभ प्राणी र वनस्पतिहरू कोही पनि स्वतन्त्र भेटिँदैनन् ।

स्वतन्त्रको सिद्धान्त

मान्छे पूर्णतः स्वतन्त्र हुनै सक्दैन । मात्र तुलनात्मक रूपमा कोही कम, कोही बेसी स्वतन्त्र होलान् । जस्तो कि राजाभन्दा रैती केही कम स्वतन्त्र होलान् । गृहस्थभन्दा जोगीहरू केही धेरै स्वतन्त्र होलान् । हुन सक्छ कैदीभन्दा खेलाडी धेरै स्वतन्त्र होलान्, ईश्वरभन्दा ध्यानी, साधक र तपस्वी कम स्वतन्त्र होलान् । तर यो चराचर जगत्मा निरपेक्ष स्वतन्त्र खोजे मरे पाइँदैन । कोही राजकाजको बन्धनमा, कोही पैसा र प्रेमको बन्धनमा । कोही भक्तको बन्धनमा, कोही मठ, पन्थ वा ईश्वरको बन्धनमा ।

के गृहस्थहरू स्वतन्त्र हुँदैनन् ? हुँदैनन् । किनभने महत्त्वाकांक्षा, सपना, लोभ, लालसा आदिले तिनलाई स्वतन्त्र हुनै दिँदैनन् । गृहस्थसँग परिवार हुन्छ, समाज हुन्छ र संसार हुन्छ । संसारसँग जोडिएको मान्छे त्यसबाट ‘अलगथलग’ कसरी हुन्छ ? अर्थात्, मायाजालमा परेको मान्छे कसरी स्वतन्त्र हुन्छ ? यदि कोही गृहस्थ जञ्जालबाट मुक्त भेटिन्छ भने त्यो तुलनात्मक मुक्ति मात्र हो । जसरी मान्छे उज्यालोमा छायासँग स्वतन्त्र हुँदैन, त्यस्तै ऊ बाँचुन्जेल लालसाबाट पनि स्वतन्त्र हुँदैन । यदि कसैलाई आफू स्वतन्त्र छु भन्ने लाग्छ भने त्यो फगत अज्ञानता वा भ्रम हो । कथंकदाचित कोही व्यक्ति स्वतन्त्र हुन सक्छ भने त्यो अलौकिक वा असाधारण घटना हुन सक्छ । जस्तो बुद्ध । बुझ्नुपर्ने कुरा के भने, मान्छे महत्त्वाकांक्षा, सपना, लोभ, लालसाको बन्धनमा हुन्छ । यो नै मानव सभ्यताको राज हो । अन्यथा हाम्रो सभ्यता यति धेरै गतिशील, प्रतिस्पर्धी र विकासन्मुख हुने थिएन ।

के राजनीति गर्ने मान्छे स्वतन्त्र हुँदैन ? हुँदैन । जब गृहस्थ स्वतन्त्र हुन सक्दैन त राजनीति गर्ने मान्छे झन् कसरी स्वतन्त्र हुन्छ ? किनभने आधुनिक राज्य, राजकाज र राजनीति यस्ता विषय हुन् जो एक जना व्यक्तिको नियन्त्रणमा हुँदैनन्, सामूहिक हुन्छन् । जब राज्य, राजनीति र राज्यसत्ता सामूहिक हुन्छन्, तब त्यसको प्रतिनिधि कसरी स्वतन्त्र हुन्छ ? सत्य नै यही हो कि जसै मान्छे सामूहिक प्रक्रियामा प्रवेश गर्छ, उसको स्वतन्त्रता स्वभावतः त्यो विन्दुबाट सकिन्छ ।

राजनीति एक्लो हुँदैन, न त राजनीति गर्ने एक्लो हुन्छ । किनभने त्यहाँ मतदाताहरू हुन्छन्, शुभेच्छुकहरू हुन्छन्, सेवकहरू हुन्छन् र हुन्छन् तिनका सपनाहरू । स्वभावतः समूहमा अनेक प्रश्नहरू हुन्छन् । जस्तो कतै वर्गका प्रश्नहरू हुन्छन्, कतै जातका, कतै धर्मका प्रश्नहरू हुन्छन् कतै क्षेत्र, भाषा र सम्प्रदायका । यावत् कुरा साथमा भएको राजनीतिकर्मी कसरी स्वतन्त्र हुन्छ ? अथवा महँगी बढेको बेला कोही कसरी स्वतन्त्र रहन्छ ? स्वास्थ्य र शिक्षामा दलाली बढेको बेला कोही कसरी स्वतन्त्र रहन्छ ? अथवा न्याय र अन्यायको बीचमा, नयाँ र पुरानाका बीचमा, अगाडि जाने कि पछाडि फर्किने भन्ने बहसमा कोही कसरी स्वतन्त्र, निरपेक्ष वा तटस्थ रहन सक्छ ? नेपाली राजनीतिका अगाडि यति धेरै संकटहरू छन्, यस्तो बेला किनारमा बसेर कोही कसरी आफूलाई स्वतन्त्र भन्न सक्छ ? अथवा यावत् प्रश्नहरूलाई नदेखेझैं गरी एउटा गम्भीर राजनीतिकर्मी कुन स्पेसमा स्वतन्त्र उभिन्छ ? निश्चय नै कोही कुनै दलको सदस्य नहुन सक्छ । तर अमुक दलको सदस्य नहुँदैमा मान्छे स्वतन्त्र हुँदैन । भ्रमवश कोही म स्वतन्त्र छु भन्छ भने उसले राजनीति गर्दैन, मात्र लोकरिझ्याइँ गर्छ ।

भौतिकवादी दर्शनको आँखाबाट हेर्दा मान्छे सभ्यताका अनेकौं प्रवर्गहरूसँग अन्तरसम्बन्धित प्राणी हो । समाजमा द्वन्द्वहरू हुन्छन् । संघर्ष र एकताहरू हुन्छन् । ती सबैमा मान्छे कहीँ कतै अनिवार्य जोडिन्छ । ऊ कतै द्वन्द्व गर्छ, कतै एकता । समाजमा हुने द्वन्द्व र एकताबाट मान्छे भिन्न हुँदैन । त्यसैले ऊ कहिल्यै स्वतन्त्र छैन । अध्यात्मवादी सिद्धान्तबाट हेर्दा मान्छे स्वयं ईश्वरको अंश हो । जो भाग्य र कर्म, पाप र पुण्य, स्वर्ग र नर्क, लौकिक र अलौकिक संसारको जञ्जालमा हुन्छ । त्यसैले मान्छे ईश्वर र ईश्वरको आदेशभन्दा पृथक् छँदै छैन । महाप्रलय र उद्विकासको सिद्धान्तबाट हेर्दा पनि मान्छे प्राकृतिक चक्रको एक हिस्सा हो । जीवन र जगत्का सम्पूर्ण अंग र आयामहरूसँग उसको अविभाज्य साइनो छ । समाज विज्ञान, सभ्यता र राजनीतिमा यो सत्य उसरी नै अकाट्य छ, जस्तो आकासमा सूर्य ।

अर्थात्, गैरदलीय

स्थानीय निर्वाचनमा हामीकहाँ स्वतन्त्र उम्मेदवारी दिने ठूलो लहर चल्यो । केही स्थानमा त्यस्ता उम्मेदवारहरूले जिते पनि । अतः स्वतन्त्र राजनीति, स्वतन्त्र उम्मेदवारी वा स्वतन्त्र पार्टीको परिचर्चा अहिले निकै माथि छ । तर के यो प्रयोगले ठीक भाका समातेको छ ? छैन । खासमा स्वतन्त्रको ‘न्यारेटिभ’ नै गलत छ । यहाँनेर के स्मरण गरौं भने, स्वतन्त्र हुनु, गैरराजनीतिक हुनु र गैरदलीय हुनु नितान्त फरक कुरा हो । अर्थात्, सामूहिक हुनु, राजनीतिक हुनु र दलीय हुनु पनि नितान्त फरक कुरा हो । कोही जब राजनीतिमा आउँछ, स्वभावतः ऊ सामूहिकतामा प्रवेश गर्छ । एउटा मान्छे जब सामूहिक बन्दै जान्छ, क्रमशः उसले स्वतन्त्रता गुमाउँदै जान्छ । त्यसैले प्रश्न स्वाभाविक हुन्छ राजनीतिको जग नै सामूहिक हुन्छ भने उम्मेदवार कसरी स्वतन्त्र हुन्छ ?

त्यसोभए के स्थानीय निर्वाचनमा स्वतन्त्र भनिएका ती उम्मेदवारहरू स्वतन्त्र थिएनन् ? उनीहरू स्वतन्त्र थिएनन् । उनीहरू गैरदलीय थिए । अर्थात्, त्यो स्वतन्त्र उम्मेदवारी थिएन, गैरदलीय उम्मेदवारी थियो । सायद, आज जुन स्वतन्त्र हुने लहर छ, त्यो कांग्रेस, कम्युनिस्ट वा राप्रपाबाट मुक्त हुने लहर हो । अथवा, पुराना दलहरूबाट अलग बस्ने र आफूलाई गैरदलीय बनाउने प्रयत्न हो । गैरदलीय हुनु र स्वतन्त्र भन्नु धेरै फरक कुरा हो ।

त्यसोभए स्थानीय निर्वाचनमा भएको गैरदलीय उम्मेदवारीको अर्थ के हो ? त्यो एउटा संकेत हो । अर्थात्, एउटा विद्रोह हो । जसका केही ‘म्यासेजहरू’ छन् । पहिलो म्यासेज के भने, पछिल्लो समय स्थानीय सरकार गैरदलीय हुनुपर्छ भन्ने बहस राजनीतिक वृत्तमा तीव्र थियो, जसलाई गैरदलीय उम्मेदवारहरूले अझ प्रखर बनाए । जो कहीँकतै अनुमोदित पनि भए । दोस्रो, गैरदलीय उम्मेदवारी परम्परागत दलहरूविरुद्धको एउटा विद्रोह हो । अर्थात्, कांग्रेस र कम्युनिस्टहरूबाट स्वतन्त्र हुने अभियान । अमुक पार्टीको सदस्यताबाट स्वतन्त्र हुने अभियान । परम्परागत राजनीतिक विचारको बन्धनबाट स्वतन्त्र हुने अभियान । दलीय संकीर्णता र सीमाबाट आफूलाई मुक्त गर्ने अभियान । यो अर्थमा त्यो विद्रोह दलहरूले हुर्काएको भ्रष्टाचार र कुशासनविरुद्धको झिल्को हो । वास्तवमा स्थानीय निर्वाचनमा जसले गैरदलीय हुने हिम्मत गरे उनीहरू स्वतन्त्र थिएनन् । बरु जानेर वा नजानेर उनीहरूले नयाँ खाले ध्रुवीकरण र पक्षघरताको आह्वान गरिरहेका थिए ।

संगठनको कुरा

प्रश्न आउँछ, यो सिलसिला कहाँ पुगेर टुंगिएला ? के गैरदलीय हुनु नै आजका लागि उपलब्धि हो ? होइन । र, यी प्रश्नहरूको जवाफ समकालीन विश्व राजनीति, हाम्रो आफ्नै इतिहास, पछिल्ला आन्दोलनहरू र प्राप्त संविधानको जगमा उभिएर खोज्नुपर्छ । लोकतन्त्र, दलीय व्यवस्था र सामूहिक संकल्पभन्दा पृथक् बसेर यो प्रश्नको उत्तर पाइँदैन । हाम्रो राजनीतिक व्यवस्थामा दलहरू अनिवार्य छन् । अतः हामी राजनीतिमा बदलाव चाहन्छौं भने त्यो बदलाव आफूलाई गैरदलीय बनाउँदैमा प्राप्त हुँदैन । बरु आफूलाई अझ संगठित गरेर मात्र प्राप्त हुन्छ । किनभने गैरदलीय बसेर कसैले होहल्ला, विद्रोह वा प्रतिक्रिया त सृजना गर्न सक्छ तर त्यसरी राजनीति बदल्ने अभियान निष्कर्षमा पुग्दैन । किनभने गैरदलीय हुनु हाम्रो सन्दर्भमा राजनीतिक समाधान होइन । यो मात्र आन्दोलन वा दबाब हो । दलहरू बिग्रिए त्यसैले गैरदलीयहरूले जित्नुपर्छ भन्नु आजका लागि उल्टो प्रस्ताव हो । सुल्टो प्रस्ताव के हुनुपर्छ भने या त पुराना दलहरू सुध्र अन्यथा हामी नयाँ दल बनाउँछौं । गैरदलीय हुने प्रवृत्तिले निर्दलीयतालाई प्रवर्द्धन गर्छ । हाम्रो राजनीतिको भविष्य त्यो होइन ।

स्पष्ट छ, दलहरूको विकल्प दलहरू नै हुन् । अर्थात्, खराब दलको विकल्पमा अझ राम्रो दल । व्यक्तिवादी राजनीति आजको समाधान होइन । अन्यथा दलले समाधान नदिने, व्यक्तिले चमत्कार गर्ने ? यो त सामूहिकतामा भन्दा व्यक्तिमा विश्वास गर्ने कुरा भयो । लोकतान्त्रिक राजनीतिमा त्यस्तो हुँदैन ।

प्रश्न आउन सक्छ, त्यसोभए गैरदलीय अभियानको गन्तव्य के त ? त्यो नयाँ दलतर्फको पहिलो पाइला हुन सक्छ । त्यो नयाँ राजनीतिको आह्वान बन्न सक्छ । त्यो नयाँ सम्भावनाको खोजी हुन सक्छ । तर त्यो हुनुपर्छ संगठित वा सामूहिक प्रयत्न । वस्तुतः स्वतन्त्र उम्मेदवारीको ‘कस्मेटिक’ कुरा गरेर यो अभियानलाई हल्का र टिपटापे बनाउनु हुँदैन । बरु यो अभियान दलहरूमा रूपान्तरण वा नयाँ दल निर्माणको आधार बन्नुपर्छ । किनभने राजनीतिक रूपान्तरणका लागि शक्तिशाली हस्तक्षेप गर्ने संगठन आजको आवश्यकता हो । अन्यथा म असल छु, म स्वतन्त्र हुँ, म राजनीतिमा आए, मलाई भोट हाल, म गरेर देखाइदिन्छु भन्नु अराजनीतिक ध्वाँस मात्र हो । लोकतान्त्रिक व्यवस्थामा हामीले विश्वास गर्ने सामूहिकतालाई हो । संगठित प्रयत्नलाई हो । एक जना पालनहार राम वा कृष्ण, अल्लाह वा जिसस अथवा अर्को कुनै मुक्तिदाता हामीलाई चाहिएको होइन । लोकतान्त्रिक राजनीतिमा चमत्कारी पुरुष (महिला) हैन, असल नेतृत्व आवश्यक हुन्छ ।

अन्तिम कुरा के भने, यो स्वतन्त्र हुने बेला होइन, यो नागरिकसँग जोडिने बेला हो । यो एक्लै हिँड्ने बेला होइन, यो संगठित हुने बेला हो । यो किनारमा तटस्थ बस्ने बेला होइन, यो आर्थिक, सामाजिक र राजनीतिक मुद्दाहरूमा पक्षधरता लिने बेला हो । यो मिलेर हिँड्ने बेला हो । यो सँगै लड्ने बेला हो । त्यसैले स्वतन्त्र हुने रहरमा बोक्रे राजनीति नगरौं, संगठित बनेर बदलावका लागि कम्मर कसौं ।

प्रकाशित : असार ३०, २०७९ ०७:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×