सर्वोच्च अदालत र अख्तियारको अधिकारक्षेत्र- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्वोच्च अदालत र अख्तियारको अधिकारक्षेत्र

भवन निर्माण प्रशासनिक काम भएकाले अख्तियारलाई अधिकार छैन भन्दा कानुनी शासनविपरीतको सन्देश जान्छ । प्रशासनिक काममा अदालतमा भएको भ्रष्टाचारमा कारबाही नहुने तर अन्य निकायमा हुने हो भने धारा १८ समानताको हक उल्लंघन हुन्छ ।
बलराम केसी

सर्वोच्च अदालतको भवन निर्माणका क्रममा अनियमितता भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न पाउने कि नपाउने भन्ने विषयमा कायममुकायम प्रधानन्यायाधीश र सर्वोच्च प्रशासनबीच अधिकारक्षेत्रलाई लिएर फरक धारणा देखियो । यो लेख यसै सम्बन्धी हो तर साउन ८ को अन्नपूर्ण पोस्टमा अर्को समाचार पनि थियो, ‘संवैधानिक पदहरूको लिलाम बढाबढ’ शीर्षकमा । त्यसबारे आजसम्म छानबिन भएको नदेखिएकाले यस लेखमा त्यो विषयलाई पनि उठाइएको छ ।

अन्नपूर्ण पोस्टको समाचारले अधिवक्ता जगदीश दाहाललाई एक प्रकारले समाचारको स्रोत मानेको छ । अधिवक्तालाई न्यायपरिषद्का एक सदस्यले चिया खान बोलाए भनिएको छ । दाहाल गए । त्यहाँ पुग्दा न्यायपरिषद्का सदस्य र बहालवाला एक मन्त्री थिए भनिएको छ । समाचारबाट त्यहाँ एक अवकाशप्राप्त पूर्वसचिवको पनि उपस्थिति देखिन्छ । अधिवक्तालाई न्यायपरिषद्का सदस्यले ‘संवैधानिक पदमा नियुक्ति लिने हो ? लिने भए केही रकम ठीक पारेर बस्नुहोस्’ भन्ने प्रस्ताव गरे । अधिवक्ताले ‘मुद्दा विचाराधीन छ’ भन्दा ‘अदालतले छिट्टै खारेज गर्छ’ भन्ने जवाफ आयो । त्यसपछि अधिवक्ताले ‘रकम खर्च गरेर पद चाहिँदैन’ भनेछन् । समाचार अनुसार, पूर्वसचिवलाई पनि रकम खर्च गरे कुनै आयोगको अध्यक्ष बनाउने भनियो ।

अधिवक्ता दाहालले ‘बिचौलिया’ शब्द प्रयोग गरेका छैनन् तर क्रियाकलाप बिचौलियाको हो । उनी अधिवक्ता भएर होला, त्यस्तो फोहोरी खेलमा सम्मिलित हुन ठाडै इन्कार गरे र ज्यादै भएको भएर होला सार्वजनिक गरिदिए । नेपाली समाज उनीप्रति आभारी हुनुपर्छ ।

नेपालको न्यायपालिकामा खासै ठूलो समस्या छैन, समस्या बिचौलियाहरूको छ । आज सर्वोच्च अदालत, न्यायपरिषद्, बार एसोसिएसनलाई बिचौलियाको खोजी छ । बदनामै बिचौलियाहरूबाट भएको छ । न्यायपालिका सुधारका लागि धेरै अध्ययन भए । पछिल्लो अध्ययन न्यायमूर्ति हरिकृष्ण कार्कीको हो । सबै प्रतिवेदनले न्यायपालिकामा बिचौलिया छ भनेका छन् तर कुनैले पनि बिचौलियाको पहिचान गरी नाम–ठेगाना उल्लेख गर्न सकेको छैन । अन्नपूर्ण पोस्टको समाचारले बिचौलियासम्म पुग्ने स्पष्ट आधार दिन्छ । समाचारले अधिवक्ताको हवाला दिएकाले छानबिन गर्ने हो भने बिचौलिया पहिचान हुन सक्छ । मिडियालाई भनेका कुरा अधिवक्ताले सर्वोच्च अदालत वा न्यायपरिषद्लाई नभन्ने कल्पना गर्न सकिँदैन ।

अधिवक्ता दाहालसँग न्यायपरिषद्का सदस्य, पूर्वसचिव र त्यहाँ भएका भनिएका मन्त्रीका नाम लगायत सबै खुलाउन भनम् । उनीसँगको सोधपुछबाट विचाराधीन मुद्दामा बिचौलियाहरूले कसरी खेलबाड र किनबेच गर्दा रहेछन् भन्ने पत्ता लगाउन मद्दत मिल्छ । अधिवक्ता अदालतको ‘अफिसर अफ कोर्ट’ हो, अदालतको सहयोगी हो । यस्तो अवस्थामा अधिवक्तालाई ससम्मान बोलाएर पदको लोभ देखाउने, विचाराधीन मुद्दा खारेज हुन्छ भन्नेजस्ता अवहेलनाजनक कुराहरूबारे नसोध्नु भनेको नजिकको तीर्थ हेला गर्नुजस्तै हो । त्यसैले अविलम्ब छानबिन समिति गठन गर्नुपर्‍यो र ती अधिवक्तामार्फत बिचौलियाको पहिचान गर्नुपर्‍यो ।

अधिवक्ता दाहाल अमूल्य स्रोतव्यक्ति देखिन्छन् । न्यायपरिषद्का सदस्यहरूसमेत भएर सर्वोच्च अदालतको न्यायाधीशको नियुक्ति गरिन्छ । सदस्यको हैसियत संविधानको धारा १५३(२) अनुसार सर्वोच्च अदालतको न्यायाधीशसरह हुन्छ । अधिवक्ता दाहालले न्यायपरिषद्का ती सदस्यको नाम नखुलाएकाले समाजमा न्यायपरिषद्का दुवै सदस्यलाई शंका र दोषीका आँखाले हेरिने भयो । दुवै सदस्यबाट दाहालको आरोपको खण्डन गरिएको पनि जानकारी छैन । आरोप झुटा हो भन्ने पनि सुनिएन । शंकाको घेरामा परेका सदस्यबाट न्यायाधीश नियुक्ति हुने हुँदा त्यसरी नियुक्त हुने न्यायाधीश र सम्पूर्ण न्यायालयप्रति जनआस्था कम हुन्छ । त्यसैले न्यायपरिषद् स्वयंले पनि अविलम्ब छानबिन गर्नुपर्छ अनि पो न्यायपरिषद् र न्यायपालिका दुवैले विश्वास आर्जन गर्न सक्छन् ।

यो समाचार र भर्खर पूर्णपाठ तयार भएको गणेश रेग्मीको रिट नम्बर ०७८–डब्लूसी–००३५ को टाइमिङपट्टि पनि ध्यान जान आवश्यक छ । सार्वजनिक भएकै कुरा हो, विभिन्न संवैधानिक आयोगमा भएका ५२ जनाको नियुक्तिविरुद्ध परेको रेग्मीको रिटलाई लम्व्याउन पारिएको भनिन्थ्यो । उक्त भनाइलाई रेग्मीको रिटमा इजलासबाट फैसलामा उल्लेख भएका कुराहरूले धेरै हदसम्म समर्थन गर्छन् । संयोग हो कि के हो, संवैधानिक आयोगहरूमा ५२ जनाको नियुक्तिको विवादको रिटमा पहिलो पेसी चढेको मात्र थियो, रेग्मीको रिट पर्‍यो । अब हालै पूर्ण सुनुवाइका लागि पेसी चढेको थियो, अधिवक्ता दाहाललाई ‘सर्वोच्च अदालतले रिट खारेज गर्छ’ भनिएछ ।

भवन निर्माण विवाद

संविधानले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई संविधानको व्याख्याता, मौलिक हक र मानव अधिकारको रक्षक, कानुनी शासनको रक्षक, संविधानवादको रक्षक, संविधानको रक्षक, प्रजातन्त्र र संघीयताको रक्षक बनाएको छ । जसरी संविधानको भाग ७ मा कार्यपालिका, भाग ८ मा संघीय व्यवस्थापिका र भाग ११ मा न्यायपालिकाको अधिकारको व्यवस्था गरी स्पष्ट शक्ति पृथकीकरण गरिएको छ, त्यसरी नै धारा १२६, धारा १३३ का १ देखि ५ सम्मका उपधाराहरू, धारा १३२, धारा १३६, धारा १३७ र धारा १५३ ले न्यायाधीशहरूले न्यायिक काम मात्र गर्ने गरी प्रशासनिक अधिकारबाट पृथकीकरण गरेका छन् ।

संविधानले बलियो, निर्भय, स्वतन्त्र, सक्षम, प्रभावकारी, इमानदार, निःस्वार्थी, निर्भीक र विश्वासिलो सर्वोच्च अदालत बनाएको छ, सर्वोच्च अदालतका न्यायाधीशहरू भवन निर्माणको ठेक्कापट्टाको प्रशासनिक काममा संलग्न हुने व्यवस्था गरेको छैन । संविधानको राम्रो व्याख्या गरेर राम्रो विधिशास्त्रीय विकास गर्नलाई सर्वोच्च अदालत बनाइएको हो ।

धारा १३६ ले प्रधानन्यायाधीशलाई मात्र नीतिगत र प्रशासनिक अधिकार दिन्छ । अदालत र अन्य निकायको न्याय प्रशासनलाई प्रभावकारी बनाउने अन्तिम जिम्मेवारी प्रधान न्यायाधीशको हुने भन्ने छ । धारा १३६ अन्तर्गत प्रधानन्यायाधीशलाई नीतिगत निर्णय गर्ने, नीतिहरूको कार्यान्वयन भयो–भएन हेर्ने लगायतका सबै आवश्यक प्रशासनिक अधिकार प्राप्त छ । अन्य न्यायाधीशलाई संविधानले कुनै प्रशासनिक अधिकार दिँदैन ।

धारा १३२(१) ले न्यायाधीशलाई प्रशासनिक अधिकार दिँदैन, निषेध गर्छ । धारा १३२(१) मा प्रधानन्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीशलाई न्यायाधीशको पदमा बाहेक अन्य कुनै पदमा काममा लगाउन वा काजमा खटाइनेछैन भन्ने स्पष्ट छ । न्यायाधीशले प्रशासनिक काम गर्न नहुने भनिएको छ । अख्तियारलाई पठाइएको पत्रबारे केही न्यायाधीशको आपत्ति भयो र फुलकोर्टमा छलफल गर्ने बेहोरा सार्वजनिक भयो । यो हेर्दा नेपालको संविधान–२०७२ बनेपछि पनि भवन निर्माणमा न्यायाधीशहरू संलग्न हुने लिगेसीले अझै नछाडेको हो कि जस्तो देखिन्छ । पंक्तिकार करिब ८ वर्ष सर्वोच्च अदालत कार्यरत हुँदा न्यायाधीशलाई विभिन्न समितिमा तोक्ने प्रचलन थियो । त्यस्ता समितिहरूमध्येको एक भवन निर्माण समिति पनि थियो र आज पनि छ कि जस्तो देखियो । पंक्तिकारले पटकपटक फुलकोर्टमा न्यायाधीशलाई कुनै पनि प्रशासकीय काम गर्न समितिमा राख्न हुँदैन भनेर आवाज उठाएको थियो तर संविधान हेरिएन, परम्परा मात्र हेरियो । खिलराज रेग्मीलाई देवानी संहिता मस्यौदा गर्न र कल्याण श्रेष्ठलाई फौजदारी संहिता मस्यौदा गर्न पठाइयो । दुवै जना समितिमा बसे । केही समयपछि ती दुईले तयार पारेका मस्यौदा अनुमोदनका लागि फुलकोर्टमा पेस भए । ‘सर्वोच्च अदालतको बहालवाला न्यायाधीशले मस्यौदा गर्नु गलत हो, यो काम कानुन आयोग वा संसद्को हो, अधिकार अतिक्रमण भयो; त्यसैले गलत भएको कुरालाई समर्थन गर्न हुँदैन’ भनेर विरोध गरी पंक्तिकारले माइन्युटमा हस्ताक्षर गरेन । सर्वोच्च अदालतमा प्रशासनिक काममा पनि न्यायाधीशलाई सम्मिलित गर्ने गलत परम्परा थियो । न्यायाधीशबाट जटिल संवैधानिक विवादको व्याख्या गरेर ल्यान्ड मार्क फैसला गर्नुपर्नेमा प्रशासनिक काममा लगाइने परम्परा बन्द नभएको भए बन्द गर्नुपर्‍यो ।

न्यायाधीशको काम न्यायिक मात्र हो, प्रशासनिक होइन । न्यायाधीशले इजलासबाट न्यायिक अधिकार प्रयोग गरेर सबै पक्ष र कानुन व्यवसायीका कुरा सुनेर संविधानसँग बाझिएको कानुन अमान्य गर्छ । रिट निवेदनमा कारण देखाउ आदेश गर्छ । अन्तरिम आदेश दिने–नदिने निर्णय गर्छ । बन्दी प्रत्यक्षीकरण, परमादेश, उत्प्रेषण, प्रतिशेध र अधिकारपृच्छा लगायत अन्य आदेश जारी गर्छ । मुद्दाको सुरुआती कारबाही गर्छ । झगडिया झिकाउँछ । साधक जाँच्छ । पुनरावेदन सुन्छ । उच्च अदालतको फैसलाको पुनरावेदन जाँच्छ । आफ्नै अदालतको फैसलाको पुनरवलोकन गर्छ । संविधानको व्याख्याको गम्भीर मुद्दामा उच्च अदालतले सर्वोच्च अदालतबाट फैसला हुन आवश्यक छ भनेर पठाएमा फैसला गर्छ । उच्च अदालतबाट गम्भीर मुद्दामा व्याख्या गर्नुपर्नेछ भने झिकाएर फैसला गर्न सक्छ । संघीयतासँग सम्बन्धित मुद्दा संवैधानिक इजलासबाट हेर्छ । न्यायाधीशको न्यायिक काममा मात्र उन्मुक्ति हुन्छ, प्रशासनिकमा होइन ।

सर्वोच्च अदालत र अख्तियारका कामहरू स्पष्ट छन् । सर्वोच्च अदालतले संविधानको व्याख्या गर्छ । अख्तियारले भ्रष्टाचारमा अनुसन्धान गर्छ, प्रमाण भेटेमा अभियोग लगाएर मुद्दा दर्ता गर्छ । विद्यमान कानुन अनुसार सर्वोच्च अदालतले अख्तियारलाई न्यायाधीशको न्यायिक काममा बाहेक प्रशासनिक कामको भ्रष्टाचार वा प्रशासनिक कामको अनियमिततामा मात्र छानबिन गर्ने अधिकार हुन्छ भन्नुपर्छ । भवन निर्माण प्रशासनिक काम भएकाले अख्तियारलाई अधिकार छैन भन्दा समाजमा कानुनी शासनविपरीतको सन्देश जान्छ ।

कानुनी शासनमा शासन मानिसबाट होइन, कानुनबाट गरिन्छ । कानुनभन्दा माथि कोही हुँदैन । प्रधानन्यायाधीश र न्यायाधीशहरू पनि संविधानप्रति उत्तरदायी हुनुपर्छ । संविधानको धारा १५३(६) ले उच्च र जिल्ला अदालतका न्यायाधीश एवं धारा २३९(२) ले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरूलाई अख्तियारको अधिकारक्षेत्रबाट उन्मुक्ति दिएको भाग ११ को न्यायिक अधिकारको प्रयोगमा मात्र हो । भाग ११ मा तीनै तहका न्यायाधीशहरूको न्यायिक अधिकारको व्यवस्था छ । न्यायिक अधिकार प्रयोग गर्दा स्वतन्त्र भएर फैसला गर्न पाउनुपर्छ भनेर न्यायाधीशहरूलाई अख्तियारको पकडबाट बाहेक गरिएको हो । न्यायिक काममा भ्रष्टाचार गरेमा उच्च र जिल्ला अदालतका न्यायाधीशहरूलाई न्यायपरिषद्बाट र सर्वोच्च अदालतका न्यायाधीशहरूलाई संघीय कानुन बमोजिम कारबाही हुने हुनाले अख्तियारलाई बाहेक गरिएको हो । भवन निर्माण न्यायिक काम होइन, प्रशासनिक हो । अदालतभित्रको प्रशासनिक काममा भएको भ्रष्टाचारमा कारबाही गर्ने छुट्टै निकाय संविधानले व्यवस्था गरेको देखिँदैन । कानुनी शासन भन्ने हो भने, प्रशासनिक काममा अदालतमा भएको भ्रष्टाचारमा कारबाही नहुने तर अन्य निकायमा हुने हो भने धारा १८ समानताको हक उल्लंघन हुन्छ । त्यसैले या अदालतभित्रको प्रशासनिक भ्रष्टाचारका लागि छुट्टै कानुन बनाउनुपर्‍यो, होइन भने अख्तियारको अधिकारक्षेत्रलाई बाहेक गर्नुभएन ।

भवन निर्माण सम्बन्धमा अख्तियारको पत्राचारलाई लिएर सर्वोच्च अदालतका केही न्यायाधीशहरूले हामी भ्रष्टाचारको पोषक होइनौं भन्ने राम्रो सन्देश दिए । अरू कुनै कारणले होइन, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथिको १७ बुँदे आरोपले गर्दा मात्र न्यायाधीशहरूले अब एक पटक एक ढिक्का भएर भन्नुपर्छ, ‘हामी भ्रष्टाचार नगर्ने मात्र होइनौं, न्यायपालिकामा भ्रष्टाचार छिर्न पनि दिँदैनौं । प्रमाण भएको मुद्दामा भ्रष्टाचारीलाई छाड्दैनौं । हामीलाई कानुनी शासन, संविधानवाद र संविधानको धारा १८ को समानताको हक थाहा छ । हामीलाई उन्मुक्ति चाहिँदैन । हामी उन्मुक्ति खोज्दैनौं । हाम्रो न्यायिक अधिकार प्रयोगमा आन्तरिक छानबिन हामीलाई सह्य हुन्छ तर अख्तियार लगायत बाहिरी कुनै पनि निकायको प्रवेश सह्य हुँदैन ।’ यस्तो सन्देशले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र सर्वोच्च अदालतका अन्य न्यायाधीशको मात्र होइन, सिंगो न्यायपालिकाको इज्जत, प्रतिष्ठा र सम्मान बढ्छ । न्यायपालिकाप्रति जनताको विश्वास ह्वात्तै बढ्छ । यसले अदालतको पारदर्शिता, न्यायिक सुशासन र जनताप्रतिको उत्तरदायित्व बढाउँछ ।

अन्त्यमा, कायम मुकायम प्रधानन्यायाधीश कार्कीले छोटो अवधिमै रामप्रसाद श्रेष्ठबाहेक अरूभन्दा प्रशंसनीय काम गरेका छन् । कायम मुकायम हुनासाथ कार्कीको भनाइ थियो, ‘अब खल्तीबाट चिट झिकेर न्यायाधीश नियुक्ति गर्ने दिन गए ।’ निर्देशिका जारी गरेर उनले बोलेको कुरा पूरा गरे । थन्काइएका उजुरीहरू केलाउँदै गए । विवादित न्यायाधीशलाई प्रक्रिया पूरा गरेर कारबाही गरे । कार्कीले सर्वोच्च अदालत सम्हालेदेखि ‘बेन्च सपिङ’ सुनिएको छैन, कानुन व्यवसायीको कुनै गुनासो सुनिँदैन । नेपाल बार र सर्वोच्च बारले आन्दोलन फिर्ता लिएर सहयोग गरे । कार्कीका यस्ता कामले पूर्वप्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठलाई सम्झाउँछन् । गणेश रेग्मीको रिट पर्नुताका ५२ जनाको संवैधानिक आयोगमा नियुक्तिविरुद्ध परेको रिटमा देखिएको क्रियाकलाप र साउन ८ को रिट खारेज हुन्छ भन्ने आरोपले अदालतको बदनाम गर्न खोजिएको त होइन ? शंका हुन्छ । यसबाट न्यायपालिका सुधारमा धेरै अवरोध छन् भन्ने देखिन्छ ।

कार्की आफैं कायम मुकायम छन्, सायद केही महिनापछि उमेरहदका कारण अवकाश पाउलान् । यी अडचनको बावजुद उनीबाट भएका साहसिक र उल्लेखनीय सुधारको स्वतन्त्र न्यायपालिकाप्रेमी सबै नेपालीले स्वागत गर्नुपर्छ । आशा गरौं, साउन ८ को उपर्युक्त समाचारको अब कति विलम्ब नगरी गहिरिएर छानबिन हुन्छ र कार्की नेतृत्वको सर्वोच्च अदालत बिचौलिया भेट्टाउन सफल हुनेछ ।

केसी सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन् ।

प्रकाशित : श्रावण २७, २०७९ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्

न्यायाधीश-वकिल घूस संवाद न्यायका लागि घातक

प्रधानन्यायाधीश र न्यायपरिषद्ले न्यायाधीश–वकिलबीचको संवाद घटना न्यायपालिकामा भ्रष्टाचार रहेछ, ध्यान पुगेनछ, कडा कानुन रहेनछ, अनुसन्धान गर्ने निकाय पनि रहेनछ, चुकेका रहेछौं भन्दै ‘वेक अप कल’ का रूपमा लिएका छौं भनेर सार्वजनिक गर्नुपर्‍यो । जिम्मेवारीमुक्त हुन खोज्नु भएन ।
बलराम केसी

न्यायपालिका विवादमुक्त हुन सकेन । एकपछि अर्को विवाद आउने क्रम जारी छ । २०७८ सालमा सर्वोच्च अदालत आफैं विवादित बन्यो । २०७९ सालमा पनि सुरुमै न्यायाधीश–वकिलबीच थुनुवालाई छुटाउनेबारेको संवाद सार्वजनिक भयो । यो गम्भीर विषय हो ।

न्यायाधीश र वकिलबीच विचाराधीन मुद्दाबारे दस मिनेट लामो संवाद आपत्तिजनक छ । यसले नेपालको न्यायपालिका शुद्ध छैन, न्याय किनबेच हुन्छ र बिचौलियाहरू सक्रिय रहेछन् र केही न्यायाधीश पनि बिचौलियासँग मिलेका रहेछन् भन्ने देखाउँछ । यस्ता घटना सितिमिति सार्वजनिक हुँदैनन् । सार्वजनिक भएको घटनाले यस्तो हुँदो रहेछ भन्ने थाहा भयो । प्रधानन्यायाधीश र न्यायपरिषद् मात्र हैन, अब सर्वोच्च अदालतका सबै न्यायाधीश सुधारका लागि सक्रिय हुनुपर्‍यो । कुनै न्यायाधीशसँग सुधारका केही योजना छ भने आफैं प्रधानन्यायाधीश हुँला अनि लागू गरौंला भनेर बस्न भएन, न्यायपालिकाको बचाउका लागि अहिल्यै लागू गर्नुपर्‍यो ।

संवादले कम्तीमा पाँच विकृति देखायो

न्यायको मर्म : पहिलो ‘हामी कसैलाई न्याय बेच्दैनौं’ र ‘हामी कसैलाई न्याय इन्कार गर्दैनौं’ भन्ने न्यायको पवित्र मान्यतामै प्रहार गर्‍यो र न्यायको किनबेच देखायो । दोस्रो, संवादले भ्रष्टाचार देखायो । तेस्रो संवादले अदालतको अवहेलना गर्‍यो । चौथो, संवादले न्यायाधीशहरूको आचारसंहिता उल्लंघन गर्‍यो । पाँचौं, संवादले चोलेन्द्रशमशेर राणालाई समेत शंकाको घेरामा पार्‍यो । न्यायपालिकाप्रति आस्था र विश्वास घटने काम त भयो नै एम्नेस्टी इन्टरनेसनल वा ट्रान्सपरेन्सी इन्टरनेसनल वा अन्य आईएनजीओले अर्को वर्षको प्रतिवेदनमा नेपाललाई अझ तल झार्ने भए । संवादले न्यायपालिकामा भ्रष्टाचार छ, न्याय महँगो छ, न्यायमा बिचौलियाको भूमिका रहेछ र न्यायमा किनबेच हुन्छ भन्ने पनि देखायो ।

यी विकृति र विचलनहरू नेपाली समाजमा मात्र होइनन् अपितु विदेशमा पनि थाहा हुने भयो । संवादले चोलेन्द्रशमशेर राणाविरुद्ध नेपाल बारको १७ बुँदे आरोप र न्याय मूर्ति हरिकृष्ण कार्कीको प्रतिवेदनलाई पनि पुष्टि गर्‍यो । यस्ता घटनाले न्यायपालिकालाई विवादित बनाउँछ । यो संवाद भर्खरै उम्रेको होइन । वर्षौंदेखि थपिँदै थपिँदै जम्मा भएर थुप्रिएकाले विस्फोट भएको मात्र हो । यसका लागि प्रत्यक्ष–अप्रत्यक्ष, धेरथोर अगाडिका सबै नेतृत्वले पनि जिम्मा लिनुपर्छ किनभने न्यायपालिका सुधार्ने नेपालको संविधानको धारा १३६ हो तर कुनै नेतृत्वले यसलाई प्रयोग नै गरेनन् । न्यायपालिकामा भ्रष्टाचार पुरानो रोग हो । २०३४/०३५ सालतिरको सर्वज्ञरत्न तुलाधर र राष्ट्रिय पञ्चायतबीचको अवहेलना विवादको जरिया ‘भ्रष्टाचार’ शब्दको थियो । तत्कालीन सर्वोच्च अदालतलाई यो शब्द नै अमान्य भयो । भ्रष्टाचार शब्द बोल्ने तत्कालीन राष्ट्रिय पञ्चायतको सदस्यले कुनै न्यायाधीश वा कुनै मुद्दा तोकेर आरोप लगाएका थिएनन् । तिनले सामान्य रूपले न्यायपालिकामा पनि भ्रष्टाचार छ भनेका थिए तर सर्वोच्च अदालतलाई ‘भ्रष्टाचार’ शब्द नै अपमानजनक लाग्यो र कारबाही अगाडि बढायो । विचारणीय कुरा के थियो भने, राष्ट्रिय पञ्चायत पनि संसद् नै थियो । राष्ट्रिय पञ्चायत पनि त्यति बेलाको विधायिका भएकाले आजको संसद्मा जस्तो राष्ट्रिय पञ्चायत सदस्यहरूलाई संसद्‌मा बोल्ने विशेषाधिकार प्राप्त थियो । संसारमा कहीं पनि न्यायपालिका भन्दैमा भ्रष्टाचार नहुने भन्ने हुँदैन, भ्रष्टाचार हुन्छ तर त्यसलाई संकोच नमानी नलुकाइ कडा कानुन बनाएर सजाय गर्ने र रोकथाम गर्ने गरिन्छ । त्यसबेलाको घटना सम्झँदा भ्रष्टाचार शब्दको नामसम्म लिन नहुने वातावरण थियो त्यो ‘ह्याङओभर’ ले न्यायपालिकालाई आजसम्म छाडन सकेन । करिब १२ वर्ष अगाडि नेपाल बारको अध्यक्ष हुँदा वरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीले एक कार्यक्रममा प्रसंगबस ‘न्यायालयमा भ्रष्टाचार छ’ भन्दा झन्डै उहाँलाई कारबाही भयो ।

प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको कार्यकालपछि नेपालको न्यायपालिकामा विस्तारैविस्तारै विकृति, विसंगति र बिचौलियाको प्रवेश हुन थाल्यो । फाटफुट भ्रष्टाचारको गन्ध, घटना र संकेतहरू महसुस गर्न थालियो । यस्तो देखेर पंक्तिकारले सर्वोच्च अदालतको न्यायाधीश हुँदै च्याम्बरबाट मिडियासँग ‘न्यायपालिकामा भ्रष्टाचार छिरेको छ, कारबाही गर्ने कानुन–निकाय भएन’ भनेर पटक–पटक अन्तर्वार्ता दिएको थियो । अदालतमा भ्रष्टाचार छ भन्ने पंक्तिकारको अन्तर्वार्ता न्यायाधीशहरूलाई स्वीकार्य भएन । पंक्तिकारलाई त्यतिबेलै न्यायाधीशले गरेको भ्रष्टाचारमा कारबाही गर्ने कडा कानुन, अनुसन्धान गरी मुद्दा चलाउन छुट्टै निकाय नभएकाले जबसम्म ती दुई विषयमा सुधार आउँदैन तबसम्म भ्रष्टाचार कम हुने होइन, बढ्छ भन्ने महसुस भएको थियो । वास्तवमा ती कुरा आवश्यक थिए । माहोल यस्तो थियो कि भ्रष्टाचार शब्द बोल्न पनि नहुने र सुधारका लागि योजना पनि नबनाउने ।

२०७२ सालमा संविधान लागू हुँदा भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक संवैधानिक व्यवस्था गर्न राम्रो अवसर थियो । संविधानसभाले सुझावका लागि संविधानको पहिलो मस्यौदा सार्वजनिक गर्‍यो । मस्यौदामा न्यायिक भ्रष्टाचार नियन्त्रणका लागि झन्डैझन्डै २०४७ को संविधानको व्यवस्था नै सारिएको थियो, जुन असफल सिद्ध भइसकेको थियो । न्यायिक भ्रष्टाचारमा न्यायपरिषद्लाई अनुसन्धानकर्ता र अभियोक्ता ‘प्रोसेक्युटर’ बनाउने व्यवस्था नै कानुनी शासनमा हास्यास्पद थियो । त्यतिबेलाको सर्वोच्च अदालतको नेतृत्व र न्यायाधीशहरूले अदालतमा हुने भ्रष्टाचार नियन्त्रणका लागि शक्तिपृथकीकरण सिद्धान्तअनुसार न्यायपरिषद्लाई ‘प्रोसेक्युटर’ बनाउन मिल्दैन/हुँदैन भनेर सुझाव दिएनन्, सुझाव त दिए तर आफ्नो अवकाशको उमेर ६५ बाट बढाएर ७० वर्ष पुर्‍याउने र संवैधानिक अदालत नराख्ने व्यक्तिगत स्वार्थ र चाहनाको । उनीहरूले न्यायपालिको सुधारको मतलब गरेनन् । त्यसैको परिणाम हालै सार्वजनिक भएको न्यायाधीश वकिलबीचको संवाद हो ।

न्यायको ‘लोगो’

संवादले न्यायको ‘लोगो देवी’, न्यायाधीश पद, आचरण, शपथ तथा वकिल पेसाको अपमान, अवमूल्यन र बदनाम गर्‍यो । न्यायको ‘लोगो देवी’ आँखा चिम्लेकी, बायाँ हातमा तौल समातेकी, दायाँ हातमा तरवार लिएकी देवीको रूप हो । विश्वभरको न्यायको ‘लोगो देवी’ यही हो । देवीले मुद्दाको पक्षहरूको अनुहार देखिन् भने निष्पक्षतामा असर गर्न सक्छ भनेर आँखा चिम्लेकी हुन् । बायाँ हातमा तराजु बोकेको ध्यानपूर्वक गम्भीर भएर कुरा सुनेपछि दुवै पक्षको प्रमाणहरू तौल गर्नका लागि हो । कान खुला राख्नुको मतलब दुवै पक्षका वकिल र साक्षीहरूका कुरा ध्यानपूर्वक सुन्नका लागि हो । दायाँ हातमा तरवार उचालेर प्रहार गर्न ठीक अवस्थामा रहनुको मतलब तराजुमा तौल गरिएको प्रमाण जसको बढी छ, उसलाई न्याय दिन र प्रमाण नभएकालाई सजाय गर्नका लागि हो । हाम्रो न्यायपालिका पनि तिनै देवीको लोगोबाट निर्देशित छ । संवादले ‘लोगो’ को धब्जी उडायो ।

न्यायाधीशको पद

संविधानले जिल्ला न्यायाधीशलाई पनि संवैधानिक पदाधिकारी बनायो । सर्वोच्च र उच्च अदालतको न्यायाधीशलाई मात्र संवैधानिक पदाधिकारी बनाइन्छ । समाजले न्यायाधीशलाई विश्वास गरेर न्यायको प्रतीक मान्छ । इजलासमा प्रवेश गर्दा महान्याधिवक्ताजस्तो उच्च र सम्मानित पदले पनि झुकेर सम्मान गर्छ । कुनै विदेशको प्रधानन्यायाधीश कुनै अर्को देशको भ्रमणमा गएछ र उसलाई त्यही देशको प्रधानन्यायाधीश आफैंले इजलासमा लिएर गएछ भने ती दुवैले जिल्ला न्यायाधीश भए पनि झुकेर सम्मान गर्छन् । जिल्ला न्यायाधीशले ‘श्रीमान्’ भन्ने मान पाउँछन् । न्यायाधीशको पद नियुक्ति हुनासाथ शपथ खाएको नखाएको मतलब हुँंदैन । तटस्थ, स्वतन्त्र, निष्पक्ष, इमानदार, अनुशासित, निष्ठावान् र चरित्रवान् हुनुपर्छ । न्यायाधीशले वकिलसँग थुनामा परेकालाई छुटाउन संवाद र रकम मोलमोलाई गर्छ भन्ने त कल्पनासम्म पनि गरिँदैन ।

सरकारले संसद्मार्फत् कानुन बनाउँछ । कानुनमा अपराधको परिभाषा र सजायको व्यवस्था गरिन्छ । कानुनमा न्यायाधीशमाथि भर र विश्वास गरेर सजाय गर्ने तजबिजी अधिकार खुला राखिन्छ । कानुनमा यति नै सजाय गर्नू भनेर नतोक्नुको मतलब न्यायाधीश इमानदार, निष्ठावान् र न्यायको मर्म बुझेको हुन्छ; शपथ पालना गर्छ; न्याय किनबेच गर्दैन र ठीक ठाउँमा स्वविवेक प्रयोग गर्छ भनेर हो । सानो अपराधमा कडा सजाय गर्दैन, कडा अपराधमा स्वार्थमा परेर वा सस्तो लोकप्रियताका लागि कम सजाय गर्दैन भन्ने मान्यतामा न्यायाधीशलाई स्वविवेकीय अधिकार दिइएको हुन्छ । स्वतन्त्र न्यायपालिका भनेकै न्यायाधीशलाई कतैबाट पनि दबाब, प्रभाव वा प्रभोलनमा नपारी स्वविवेकमा काम गर्न दिने हो । न्यायाधीशले पूर्पक्षका लागि कसैलाई थुन्दा वा छाड्दा ऊ न्यायको मान्य सिद्धान्तबाट निर्देशित हुन्छ । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ६७ मा थुनछेकसम्बन्धी व्यवस्था छ । गम्भीर अपराध छ, थुनामा नराख्दा आरोपित व्यक्ति भाग्न सक्छ वा आरोपीले साक्षीहरूलाई धम्काएर, थर्काएर वा प्रभावमा पारेर, विपरीत बकाएर, मुद्दामा असर पार्न सक्छ वा अर्को अपराध गर्न सक्छ वा प्रमाण लोप हुने काम गर्न सक्छ भनेर, थुनामा राख्छ भन्ने मान्यतामा न्यायाधीशलाई स्वविवेकीय अधिकार दिइएको हो । न्यायाधीश आचरण र शपथबाट बाँधिन्छ तजबिजी अधिकारको दुरुपयोग गर्दैन । पदैले न्यायाधीशलाई निष्ठावान् र इमानदार बनाएको हुन्छ भन्ने न्यायको मान्य सिद्धान्त नै हो । संविधान र कानुनी व्यवस्थाले न्यायाधीशमाथि ठूलो विश्वास गरेको छ तर संवादले न्यायलाई विश्वासघात गर्‍यो नि ?

वकिल

वकिल सम्मानित पद हो । वकिल नै एक दिन न्यायाधीश बन्छ । सुरुमा उसले इजलासमा उभिएर न्यायाधीशसमक्ष न्याय माग्छ । लामो समय न्याय माग्ने अभ्यास गरेर अनुभव बढाउँछ । त्यही अनुभवले एक दिन वकिल आफैं न्यायाधीश बनेर न्याय दिने ठाउँमा पुग्छ भन्ने मान्यता हो । बेलायतमा ‘आफ्टर अ लङ स्ट्यान्डिङ इन द वार वान इज सेन्ट टु सिट वन दि बेन्च’ भनिन्छ । जटिल मुद्दामा जटिल कानुन व्याख्या गर्नुपर्‍यो भने पक्ष–विपक्षको वकिलबाट मात्र न्यायाधीश स्पष्ट हुन सकेन भने उसले बारबाट एमिकस क्युरीका रूपमा वकिल मगाएर बहस गर्न लगाएर कानुनको व्याख्या र मुद्दाको फैसला गर्छ । न्यायाधीशले आफूभन्दा माथिल्लो अदालतको न्यायाधीश वा अरू न्यायाधीशसँग सल्लाह गर्दैन । संवादले वकिल पदको बद्नाम र अवमूल्यन गर्‍यो ।

शताब्दीऔं अगाडि इजलास आजको जस्तो व्यवस्थित थिएन । न्यायाधीश, वकिल, मुद्दाका पक्षहरू, साक्षी, दर्शक, अदालतका कर्मचारी, सुरक्षा दिनेहरू र अन्य को कहाँ बस्ने बार लगाएर छुट्टाइएको थिएन । ठूलो हल नै इजलास थियो । को वकिल, को कर्मचारी र को मुद्दाको पक्ष छुट्टिँदैन्थ्यो । यसलाई व्यवस्थित गर्ने योजना बन्यो । बार छेकबार लगाएर छुट्याउने व्यवस्था भयो । बारले न्यायाधीश बस्ने खास इजलास त्यसमुनि कर्मचारी बस्ने गरी छुट्याइयो । साक्षी, मुद्दाका पक्षहरू, दर्शक र वकिलको पनि ठाउँ छुट्याइयो । वकिलहरू भने भेला भएर छुट्याइएको बारभित्र नबस्ने निर्णय गरे । त्यही बार अर्थात् छेकबार शब्दबाट बार एसोसिएसन नामको जन्म भएको हो । वकिल नभई मुद्दाको कारबाही अगाडि बढदैन ।

पक्ष वकिल राख्न नसक्ने रहेछ भने, पक्षका तर्फबाट सरकारी खर्चमा वकिल राखेर गरिएको मुद्दा कारबाहीले मात्र वैधता पाउँछ । अमेरिकातिर हेर्ने हो भने, सरकारका तर्फबाट महान्यायाधिवक्ताले मुद्दा चलाउँछ । आरोपीलाई प्रतिरक्षा गर्न सरकारले नै ‘पब्लिक डिफेन्डर अफिस’ खडा गरेर वकिलबाट मुद्दाको प्रतिरक्षा गराउँछ । अमेरिकाबाटै बलात्कार मुद्दामा मिरन्डा वारनिङ विकास भएको हो । यसको मुख्य तत्त्व कसैलाई पक्रनु साथ प्रहरीले उसलाई वकिल राख्ने क्षमता छ वा छैन सोध्नुपर्छ र राख्न चाहन्छ तर आर्थिक अभाव छ भने प्रहरीले नै वकिल राखेर मात्र ऊसँग सोधपुछ गर्न पाइन्छ भन्ने हो । वकिल उपलब्ध नगराए कारबाही बदर हुन्छ । हाम्रो संविधानले पनि थुनुवालाई वकिल राख्ने व्यवस्था गरेको छ । १५ वर्ष वकालत गरेका कानुनविद सर्वोच्च अदालतको न्यायाधीशका लागि योग्य हुन्छ र न्यायाधीश नियुक्ति गर्ने न्यायपरिषद्मा एक सदस्य वकिल हुन्छ । त्यत्रो मर्यादित पेसाले न्यायाधीशसँग थुनुवा छुटाउन रकम मोलमोलाइ गरेको संवादले वकिल पेसाप्रति नै आस्था घटायो ।

वकिलको शक्ति र तागत भ्रष्टाचार; भनसुन; न्यायाधीशसँग हिमचिम, संगत, नजिकपन, दोस्तान तथा चाकडी होइन र हुनु हुँदैन । निष्ठावान् वकिल र न्यायाधीशले त्यस्तो गर्दैनन् । वकिलको तागत कानुनको व्याख्या गर्न, प्रमाणको मूल्यांकन गर्न, आफ्नो पक्षको साक्षीको बकपत्र हुँदा मुद्दालाई सघाउ पुग्ने खालको जवाफ आउने प्रश्न गर्न सक्ने क्षमता र विपक्षीको साक्षीको जिरह गर्दा सक्कली साक्षी पनि भुक्किएर शंकाजनक जवाफ आउने प्रश्न गर्न सक्ने जिरहको कला हो । संवादबाट बेलाबेलामा नेपाल बार एसोसिएसनले ‘न्यायपालिकाको विसंगति, विकृति र भ्रष्टाचारमा न्यायाधीशको मात्र होइन वकिलको पनि त्यत्तिकै भूमिका छ’ भन्ने गरेको कुरा पुष्टि हुन आयो ।

आचरण

संवादले न्यायाधीश र वकिल दुवैबाट आचरण उल्लंघन भयो, जसको मात्रा हेर्ने हो भने न्यायाधीशबाट १०० पूर्णाङ्कमा १०० नै पाउने गरी भयो भने वकिलले कम्तीमा डिस्टिङ्सन पाउने गरी उल्लंघन भयो । संवादले गम्भीर ‘फौजदारी अदालतको अवहेलना भएको छ ।’

शपथ

कानुनी शासन बसेको देशमा शपथको ठूलो मान्यता हुन्छ, यसको उल्लंघन गरिँदैन । नेपालमा शपथ रीत पुर्‍याउन मात्र खुवाइन्छ । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले औपचारिक शपथ ढाँचाभन्दा फरक भएकाले शपथबाट बाँधिन भोलिपल्ट ह्वाइटहाउसमा राष्ट्रपतिलाई बोलाएर ढाँचाबमोजिमको शपथ खाए । हामीकहाँ पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको शपथको ‘त्यो पर्दैन’ भाइरल भएको थियो । शपथ खाँदा उहाँले शपथ खुवाउने राष्ट्रपतिले पढेको शब्द पढ्नुभएन । त्यसपछि अध्यादेश जारी गरेर खाएको शपथलाई वैधानिकता दिने आँट गर्नुभएको सार्वजनिक छ । यस सन्दर्भमा न्यायमूर्तिबाट शपथ उल्लंघन हुनु सामान्य नै मान्नुपर्ला ।

प्रधानन्यायाधीश र न्यायपरिषद्ले न्यायपालिकामा भ्रष्टचार रहेछ, ध्यान पुगेनछ, कडा कानुन रहेनछ, अनुसन्धान गर्ने निकाय पनि रहेनछ, चुकेका रहेछौं भन्दै यो घटनालाई ‘वेक अप कल’ का रूपमा लिएका छौं भनेर सार्वजनिक गर्नुपर्‍यो । न्यायाधीश नियुक्तिमै त्रुटि रहेछ भनेर महसुस गर्नुपर्‍यो, जिम्मेवारीमुक्त हुन खोज्नुभएन ।

नियुक्ति संसारभरि नै कार्यपालिकीय अधिकार हो । नेपालमा मात्र प्रधानन्यायाधीशले अध्यक्षता गरेको पाँच सदस्यीय न्यायपरिषद्बाट न्यायाधीश नियुक्ति गरिन्छ । आजसम्म न्यायाधीश नियुक्तिमा कुनै मापदण्ड बनेन । खल्तीबाट चिट झिकेका आधारमा नियुक्ति गर्दै आइयो । अपुरो परिषद्बाट भागबन्डा तथा सोर्स–फोर्सका आधारमा मध्यरातमा नियुक्ति गर्ने विकृति पनि विकास भयो ।

न्यायपालिका अहिले समस्याग्रस्त छ । सर्वोच्च अदालतमा मात्र तीस हजारभन्दा बढी मुद्दा छन् । प्रधानन्यायाधीश निलम्बित छन् । न्यायपालिकाजस्तो राज्यको महत्त्वपूर्ण अंग स्थायी नेतृत्वविहीन छ । न उनी राजीनामा दिन्छन् न संसद्ले महाअभियोगको कार्य अगाडि बढाउँछ । राजनीतिक दलहरू जिम्मेवार बन्नुका सट्टा रमिते बनेका छन् । न्यायाधीश वकिल संगतले भ्रष्टाचार पुष्टि गर्छ । न्यायपरिषद्प्रति समाजको आस्था र विश्वास छैन । संवादले न्यायपालिकामा बिचौलिया छिरेको पुष्टि गर्छ । अचेल अदालतप्रति आस्था यति घटेको छ कि निजी क्षेत्रले वा सरकारले नै अर्को अदालत गठन गर्न सक्ने भए सेवाग्राही आजको अदालत छाडेर नयाँ अदालत जान्थे । भ्रष्टाचार बढ्दो छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुद्दा चलाउँछ । अदालतबाट सफाइ पाउँछन् ।

कार्यकारी अधिकार सम्पन्न सरकार हेर्ने हो भने, गतमहिना मात्र नयाँ गाडी खरिद गर्न रोक लगाउने र पेट्रोल आयात कम गरेर खर्च कम गर्ने रे भनेर आइतबार बिदा गर्ने निर्णय गर्‍यो । केही दिनपछि आइतबार बिदाको निर्णय फिर्ता लिइयो । १५ दिन पनि बित्न नपाउँदै पूर्वविशिष्ट भनिएकाहरूलाई आजीवन आवास, गाडी, इन्धनलगायत सुविधा दिने भनी सार्वजनिक भयो । समाचारअनुसार सुविधा दिँदा एक जनालाई एक करोड रुपैयाँ खर्च हुन्छ । सरकारको ताल यस्तो छ । जनताको एक मात्र भर र आश न्यायपालिकामा मात्र बाँकी छ । त्यसैले न्यायपालिका विवादित बन्नुभएन सुधार हुनुपर्‍यो । आजको अवस्थामा न्यायपालिका सुमधुर तरिकाले चल्न सक्दैन । संविधान नयाँ भए पनि न्यायपालिकाको हकमा २०४७ कै निरन्तरता हो । त्यसैले न्यायपालिकासम्बन्धी अध्ययन र मूल्यांकन आवश्यक छ । किनभने अधिकार वा प्रजातन्त्रका लागि अब तेस्रो आन्दोलन आवश्यक छैन यदि आन्दोलन हुने नै भयो भने केही वर्षयता देखिएको न्यायायिक विचलन, असन्तुष्टि र न्यायमा छिरेको भ्रष्टाचार कारण नबनोस् । गम्भीर भएर सोच्ने बेला आएको छ ।

भ्रष्टाचार विकृति, विसंगतिको नियन्त्रण गरी न्यायपालिकालाई शंकामुक्त गर्न नेतृत्व इमानदार, लगनशील हुनु आवश्यक छ । देशमा प्रजातन्त्र छ । अदालत स्वतन्त्र, निष्पक्ष र बलियो नभई प्रजातन्त्र र मौलिक हकको रक्षा हुँदैन, यसको रक्षा स्वतन्त्र न्यायपालिका खासगरी सर्वोच्च अदालतबाट हुन्छ । संविधानले न्यायपालिकालाई प्रभावकारी बनाउने अधिकार र जिम्मा प्रधानन्यायाधीशलाई मात्र दियो । सरकारले गर्न मिल्दैन । कुनै प्रधानन्यायाधीशले पनि संविधानको धारा १३६ जगाएनन् । सबै प्रधानन्यायाधीशले ‘चलता है’ अवधि बिताए । आमनिर्वाचन आउँदै छ । यसै वर्षभित्र नयाँ जनादेशसहितको सरकार गठन हुन्छ । प्रधानन्यायाधीश सर्वोच्च अदालतको अन्य न्यायाधीश र न्यायपरिषद्ले आजको विवादित न्यायपालिकालाई कसरी मुक्त गर्ने र कसरी सुधार्ने भन्ने अध्ययन गर्न अधिकार सम्पन्न शक्तिशाली उच्च स्तरीय आयोग गठन गरेर संविधानको कुन–कुन धारा कसरी संशोधन गर्ने, किन गर्ने, नयाँ कानुन कस्तो बनाउने भन्ने प्रतिवेदन लिएर बस्नुपर्‍यो । ताकि सरकार गठन हुनासाथ प्रतिवेदन बुझाएर सुधार अगाडि बढाउन सकियोस् ।

नेपालमा कुनै कुराको अध्ययन गर्नुपर्‍यो भने खोजीखोजी अवकाश भएका पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्ने रोग लागेको छ । अवकाश भएकाहरू जसले पदमा हुँदा संविधानको धारा १३६ प्रयोग गरेनन्, अवकाश भएपछि बुढेसकालमा कसरी प्रयोग गर्लान् ? त्यसैले अध्ययन समिति बनाउँदा बहालवाला न्यायाधीशलाई लिनुपर्‍यो र ऊ केही वर्षपछि आफैं प्रधानन्यायाधीश बनेर प्रतिवेदन कार्यान्वयन गर्न बाध्य होस् । त्यस्तै व्यक्तिको अध्यक्षतामा समिति बनाउनुपर्‍यो ।

केसी पूर्वन्यायाधीश हुन् ।

प्रकाशित : असार २२, २०७९ ०८:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×