पितृसत्तावादको अर्थ
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
आठ हजार वर्षदेखि मानव समाज पितृसत्तावादी रहँदै आएको विदितै छ । पितृसत्तावादी समग्र सोच र संरचनाका कारण महिलाको जीवन दासत्वपूर्ण छ । सामन्तवादी युगविरुद्ध पुँजीवादी क्रान्तिले त्यति बेलाको पितृसत्तावादलाई गम्भीर चुनौती दियो । त्यो क्रमसँगै सामन्ती समाजका पितृसत्तावादी कैयन् दासताका बन्धनहरू चुँडालिए ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![पितृसत्तावादको अर्थ](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2022/ped/aahuti-0782022034732-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
पुँजीवादी समाजको तीव्र विकाससँगै पितृसत्तावादले नयाँनयाँ आकार ग्रहण गर्दै गयो र आज विश्वव्यापी रूपमा पुँजीवादी समाजको पनि एउटा मुख्य समस्याका रूपमा पितृसत्तावादी सोच र संरचना उपस्थित भइरहेको छ । पितृसत्तावादी शोषण र उत्पीडनविरुद्ध संसारभरि साना–ठूला संघर्षहरू चल्दै आएको पनि करिब दुई सय वर्ष पुग्न लाग्यो, अझै जारी छ । नेपालमा पनि राणा शासनको उत्तरार्द्धदेखि सुरु भएको पितृसत्तावादविरोधी संघर्षले करिब सय वर्ष गुजारिसकेको छ । रूपमा हेर्दा केही कट्टरपन्थी इस्लाम समाजबाहेक सबैतिरका विश्वसमाजमा पितृसत्तावादी सोच र संरचनालाई गलत ठान्ने वैचारिकी हावी हुँदै गएझैं लाग्छ तर यथार्थमा त्यस्तो सोच एवं संरचना कमजोर हुँदै गएको छैन । नेपालमा पनि विगत सय वर्षको लोकतान्त्रिक–राजनीतिक–सामाजिक रूपान्तरणको प्रक्रियापश्चात् आज सबैजसो जाति वा समुदायमा पितृसत्तावादी शोषण र उत्पीडनविरुद्ध ओठे समर्थन व्याप्त हुन पुगेको छ तर त्यो ओठे समर्थन वा वकालतमै मूलतः सीमित छ भन्दा फरक पर्दैन । आधारभूत सोच, संरचना र व्यवहारमा पितृसत्तावाद नै गजधम्म हावी छ । नेपालमा पितृसत्तावादविरुद्धको संघर्षमा दुई पुस्ताले आफ्नो जीवन गुजारिसकेका छन् । राणाकालमा त्यस्तो संघर्ष सुरु गर्ने पुस्ता पहिलो थियो । पञ्चायतकालमा विकसित भई पञ्चायतलाई अन्त्य गर्ने दोस्रो पुस्ता हो । त्यसै गरी पञ्चायतकालमै जीवन सुरु गरी गणतन्त्र स्थापनासम्म आइपुग्ने तेस्रो पुस्ता छ तर यो अब गतिहीन भइसकेको छ । यो पुस्तासँग जीवन बाँकी छ तर नयाँ युगीन आवश्यकतामा आफूलाई ढाल्न सक्ने ल्याकत देखा पर्दैन । यस स्थितिमा पितृसत्तावादविरोधी नयाँ संघर्षको जिम्मेवारी नयाँ चौथो पुस्ताको काँधमा मूल रूपमा आएको यथार्थ छर्लंगै देखिन्छ । यो चौथो पुस्ता अर्थात् गणतन्त्र स्थापनाको आसपासदेखि जीवन सुरु गरेको पुस्ता आफ्नो जीवनको समृद्धिका निम्ति पितृसत्तावादसँग मुठभेड गर्नुपर्ने अवस्थाबाट गुज्रिन बाध्य भएको छ ।
यसरी हेर्दा प्रस्ट देख्न सकिन्छ, पितृसत्तावादविरुद्धको संघर्षलाई आजको युगको आवश्यकता अनुसार अघि बढाउने हो भने गणतन्त्र स्थापना आसपासदेखि हुर्केको नयाँ पुस्ताका युवाहरूको वैचारिक तथा राजनीतिक चेतनाको वैज्ञानिकीकरणलाई नै मुख्य निसानामा राख्नु आवश्यक हुन गएको छ । त्यसका लागि पितृसत्तावादको राजनीतिक, आर्थिक र सांस्कृतिक समग्र पक्षको सही बुझाइ विकसित गर्न यसका आधारभूत अवधारणाहरूको बुझाइबाट सुरु गर्नु सही हुनेछ । पितृसत्तावादका मूल रूपमा तीन वटा अवधारणा छन्, जसका आधारमा महिलामाथिका शोषण र उत्पीडनलाई नैतिक वैधता दिइँदै आएको छ ।
महिला सुन्दर प्रजातिको अवधारणा
पितृसत्तावादले महिलालाई सुन्दर प्रजाति र पुरुषलाई बलवान् प्रजातिका रूपमा चित्रण गर्छ । यो अवधारणा यति शक्तिशाली बनिसकेको छ, कतिपय भौतिकवादीसमेत अलमलमा पर्ने गरेका छन् । वास्तवमा यो निकै ठूलो भ्रम हो । यो अवधारणा पितृसत्तावादी व्यवस्थाले लगातार रटाएर सृजना गरेको विभ्रमबाहेक केही होइन । महिला र पुरुष विपरीतलिंगी हुन्, त्यसैले उनीहरू एकआपसमा यौनिक रूपमा आकर्षित हुन्छन् । पुरुष र महिला दुवै एकअर्काप्रति आकर्षित हुन्छन् । दुवैलाई दुवै राम्रो लाग्छ, आकर्षित गर्छन् । त्यसको व्याख्या गर्ने अधिकार केवल पुरुषले मात्र पायो, महिलाले पाइन । पुरुषले मात्र व्याख्या गर्ने भएकाले उसलाई महिला सुन्दर लागेकाले महिलालाई सुन्दर लेख्यो । सबै शास्त्रमा पुरुषले लेख्दै जाँदा त्यो अवधारणा बन्यो । त्यसै गरी महिलालाई बलजफ्ती शासन गर्न पुरुषले बल प्रयोग गरेकाले र अन्ततः दासत्वका कारण त्यो पुरुषको अत्याचार संस्कारका रूपमा महिलाले स्वीकार गरेकाले पुरुष बलवान् वा शक्तिशाली भन्ने अवधारणा स्थापित भयो । यदि महिलाले पनि सुरुदेखि चित्रण गर्ने अधिकार राख्थे भने यो अवधारणा बन्न सम्भवै थिएन ।
सुन्दर सामाजिक रूपमा बन्ने एउटा मान्यता हो । कुनै पनि समाजले के सुन्दर वा कुरूप भन्ने आम मान्यता बनाएको हुन्छ तर सुन्दरता सम्बन्धी व्यावहारिक प्रयोग भने व्यक्तिगत रूपमा हुन पुग्छ । व्यक्तिगत रूपमा यस कारण कि, हरेक व्यक्ति खास परिस्थितिमा बाँचिरहेको हुन्छ । त्यसैले त एक समयमा राम्रो लागेको मानिस अर्को परिस्थितिमा घीनलाग्दो समेत बन्न पुग्छ किनभने व्यक्तिगत परिस्थिति बदलिएको हुन्छ । महिला सुन्दर प्रजाति हो भने पुरुष पनि सुन्दर प्रजाति हो । पुरुष शक्तिशाली हो भने महिला पनि आफ्नो विशेषतामा शक्तिशाली नै हो । सुरुका चरणमा पुरुषले मात्र व्याख्या गर्नाले महिला सुन्दर प्रजातिको अवधारणा जन्मिए पनि आजसम्म आइपुग्दा यो अवधारणा महिलालाई शोषण–उत्पीडन गर्न भावभूमि तयार पार्ने एउटा गतिलो हतियार बन्न पुगेको छ । यो अवधारणाले आफू सुन्दरी भए मात्र आफ्नो जीवन सहज हुन्छ भन्ठान्ने गम्भीर विचलनमा महिलालाई पुर्याउँछ । महिला आफ्नो सापेक्षतामा सधैं सुन्दर नै थिई तर यसले जीवनभर सुन्दरी बन्न खोजिरहने अनन्त झमेलामा महिलालाई फसाइदिन्छ । त्यस झमेलामा उल्झेको दिमागमाथि टेकेर आज पुँजीवादले सौन्दर्य प्रशाधनका सामान र फेसनको बिक्रीबाट अनन्त लुट मच्चाउने अवसर पाएको छ । आफू सुन्दरी बन्ने ध्याउन्नमा जेजस्तो पहिरन पनि पहिरिएर शारीरिक रूपमा कमजोर हुन महिला तयार हुन्छे । संसारका सबै सभ्यताका महिला–पुरुष जस्तोसुकै रूपरंगका भए पनि तिनीहरूले एकअर्कालाई सुन्दर देखेरै जोडी बाँधेका हुन्थे र आज पनि जोडी बाँधिरहेका छन् भन्ने साधारण सत्यलाई समेत बिर्सने हालतमा सुन्दरी बन्ने लालसाले पुर्याउँछ । जबसम्म महिला सुन्दर प्रजातिवाला षड्यन्त्रकारी अवधारणाबाट महिलाहरू निस्कनेछैनन्, तबसम्म पुरुषलाई बलवान् शक्तिशाली बनिरहन कसैले रोक्न कसरी सक्छ र ? त्यसैले महिला सुन्दर प्रजाति भन्ने अवधारणा खारेज गर्नैपर्छ ।
जन्मले महिला कमजोरको अवधारणा
पितृसत्तावादको अर्को मुख्य अवधारणा हो— महिला जन्मिँदै पुरुषभन्दा शारीरिक र बौद्धिक रूपमा कमजोर हुन्छन् । आजको समयमा औपचारिक शिक्षाबाट शिक्षित महिलाहरू चाहिँ कुन निष्कर्षमा पुगिसकेका देखिन्छन् भने, जन्मँदै बौद्धिक रूपमा समेत महिला कमजोर हुन्छन् भन्ने कुरा सत्य होइन । शारीरिक रूपमा महिला कमजोर हुन्छन् भन्ने विषयमा चाहिँ थुप्रै भ्रम बाँकी छन् । के सही भने, महिला र पुरुषको शारीरिक बनावटमा थुप्रै कुरा फरक छन्, यसकारण कि प्राकृतिक रूपमा उनीहरूका दायित्वहरू फरक छन् । फरक–फरक विशेषताका चीजलाई एकै सन्दर्भमा तुलना गर्नु वितण्डावाद हो जुन वैज्ञानिक पद्धति होइन, कलम र तरबारमा कुन ठूलो भनेजस्तै वाहियात प्रश्न हो । कलम र तरबारका काम नै फरक छन्, तिनलाई एउटै कामका निम्ति तुलना गर्नै मिल्दैन । यदि तुलना गरिन्छ भने विकृत निष्कर्ष निस्कन्छ । फरक दायित्वका वस्तुहरू आ–आफ्नो कामका निम्ति महत्त्वपूर्ण हुन्छन् । यो पो सही तरिका हो । महिलाको शरीर प्रजननका निम्ति पाठेघर र स्तनपानका निम्ति स्तनसहितको छ । पुरुषको त्यो दायित्ववाला शरीर छैन । तब कुन शक्तिशाली भनेर तुलना गर्नै मिल्दैन । आज पितृसत्तावादको राज चलेझैं मातृसत्तावादको राज चलेको हुन्थ्यो भने त्यति बेला ‘पुरुषको शरीर कमसल हो किनभने त्यसले पेटमा बच्चा हुर्काउन सक्दैन, छाती पनि सपाट छ, झोल्लिएका यौनांग कति कुरूप’ जस्ता अवधारणा बन्थे होलान् । के ती सही हुन्थे त ? पक्कै पनि सही हुँदैनथे ।
के कुरा सही हो भने, एकै जातिका महिला–पुरुषमध्ये महिलाको उचाइ थोरै होचो र शारीरिक बल थोरै कम हुने गर्छ तर त्यति हुनेबित्तिकै महिला शोषित र उत्पीडित हुनुपर्ने हो र ? संसारको प्रत्येक मानिस अर्कोभन्दा कि अग्लो छ कि होचो छ, शारीरिक रूपमा कम बलियो छ या बढी बलको छ । यस्तो महिला–महिलाबीच र पुरुष–पुरुषबीच पनि छ । उनीहरूबीच उत्पीडनको समस्या त्यसै आधारमा त छैन । अर्को कुरा, युरोप वा अफ्रिकाका महिलाहरू साधारणतया जापानका पुरुषभन्दा अग्ला छन् । ती अग्ला महिलाले होचा भएकै कारण जापानी पुरुषहरूलाई शोषण–उत्पीडन गर्न मिल्छ ? सक्छन् ? सक्दैनन् । जनावर समाजमा भाले ठूलो होस् या पोथी, त्यसका आधारमा कुनै उत्पीडन हुँदैन, हुनुपर्ने आवश्यकतै छैन । मानव समाजमा शारीरिक रूपमा सुरुदेखि धेरथोर असमानता छ । पुरुष–पुरुषबीच, महिला–महिलाबीच र महिला–पुरुषबीच तर त्यो भिन्नताले जीवनमा पार्ने अप्ठ्यारोलाई प्रविधिको सहाराले सजिलोमा बदल्ने गरिएको छ । जहाँ प्राकृतिक रूपमा समस्या हुन्छ, त्यहाँ भौतिक समानताका निम्ति प्रविधिको प्रयोग गरिन्छ । जस्तै— अग्लो मान्छेले सुन्तला हातले टिप्यो, होचोले भ्याएन भने होचो मान्छेले लट्ठी प्रयोग गरेर बराबर काम गर्छ । त्यहाँ एकले अर्कालाई दमन गर्नुपर्ने आवश्यकतै छैन । महिला र पुरुषबीच उचाइ र भौतिक बलमा जुन अन्तर हुन्छ, त्यसलाई समान बनाउन हजारौं वर्षदेखि आवश्यक प्रविधि प्रयोग हुँदै आएको छ । व्यावहारिक जीवनमा हेर्दा पनि प्रस्ट हुन्छ, थुप्रै श्रीमती अग्ला–बलिया हुन्छन् तर होचा–निर्बलिया लोग्नेहरूको कहर काट्न बाध्य हुन्छन् । यति मात्र किन र, १२ वर्षको छोराले ४० वर्षकी आमामा हैकम जमाइराखेको हुन्छ ! त्यसकारण शरीर कमजोर भएकाले महिलाहरू शोषित–उत्पीडित हुन् भन्ने अवधारणा पूरै गलत छ । बरु पुरुषमा रहन पुगेको एकलौटी सम्पत्ति, सत्ता र संस्कृतिको बलमा महिलाको शरीर कमजोर भन्ने अवधारणा लादिएको हो र महिलाभित्रै पनि त्यो अवधारणाको घातक खील बस्न पुगेको मात्र हो ।
महिला भोग्या हुन् भन्ने अवधारणा
सामन्तवादी पितृसत्ताले लामो समय लगाएर शास्त्रीयकरण गरी महिला भोग्या हुन् अथवा पुरुषले भोग्नका निम्ति निर्मित हुन् भन्ने अवधारणा जनजनमा संस्कारका रूपमा प्रशिक्षित गर्यो । त्यसलाई पुँजीवादले पनि कायमै राखेको छ । सीधा कुरा त के हो भने, महिला भोग्या हुन् भने पुरुष पनि भोग्या हुन् । किनभने दुवैबिना त यौन वा प्रजनन सम्भव छैन । तर यो भोग्याको अवधारणाले पहिलो रोजाइ र निर्णयका निम्ति पुरुषलाई अग्राधिकार दिन्छ । यौनमा पुरुषलाई विशेष अधिकार प्रदान गर्छ र महिलाका यौनजन्य विशेषतालाई विचलन देख्न सिकाउँछ । आज पुरुषले प्रथम नजरमै किन महिलाका अंगहरूमा आँखा पुर्याउँछ ? महिला बौद्धिकता किन पुरुषलाई स्वतः कमजोर लाग्छ ? किनभने पितृसत्ताले पुरुषलाई महिला भनेका भोग्या हुन् भनी प्रशिक्षित गरेको छ । जसरी बलि दिन तयार पारिएको पशुले नमान्दा मानिसलाई रिस मात्र उठ्छ, बाँच्नका निम्ति पशुले गरेको प्रयत्न फगत झन्झट मात्रै लाग्छ, त्यसै गरी यौन प्रस्ताव अस्वीकार गर्ने महिला पुरुषलाई रिसउठ्दी लाग्छे किनभने भोग्याको अवधारणाबाट पुरुष संस्कारबद्ध भएको हुन्छ । बलात्कारमा गर्व गर्ने पुरुषको वैचारिकी यही भोग्याको अवधारणा हो । यो भोग्याको अवधारणावाला पितृसत्ताले यौन क्षमतामा तन्दुरुस्त महिलालाई कामुक ठान्छ, पुरुषको कामुकतालाई भने शक्तिको नाम दिन्छ । यस प्रकारको पितृसत्तावादका यी तीन वटा मुख्य अवधारणाबारे प्रशिक्षित गर्नु र त्यसविरुद्ध सैद्धान्तिक एवं व्यावहारिक पहलका साथ अघि बढ्नु आजको समग्र क्रान्तिकारी आन्दोलन र महिला मुक्ति आन्दोलनको एउटा मुख्य चुनौती हो ।
पितृसत्तावाद हरेक वर्ग–समाजलाई निरन्तरताका निम्ति एउटा औजार बन्दै आएको छ । यो समग्र प्रणालीमा व्यक्त हुन्छ, एकाध पक्षमा होइन । पितृसत्तावाद अर्थतन्त्र, राजनीति, सामाजिक संगठन र संस्कृति समग्रमा छ । यो आजको पुँजीवादी व्यवस्थाको एउटा खाँबो हो । पितृसत्ताविरुद्ध किस्ताकिस्तामा लडेर विजयी हुन सम्भव छैन । घरेलु हिंसालाई एक किस्ता खतम गरौं, अर्को किस्ता बलात्कार नामेट गरौं अनि त्यसपछि राजनीतिभित्रको पितृसत्तासँग लडौंला भन्ने नीतिले काम गर्नेवाला छैन । किनभने घरेलु हिंसाविरुद्ध मात्र लड्दा घरेलु हिंसा जन्माउने विभिन्न कारक सक्रिय रूपमा बढिरहेका हुन्छन् । अर्को कुरा, आजको पितृसत्तावाद सामन्तवादी होइन, पुँजीवादी पितृसत्तावाद हो । यसभित्र जति सामन्तवादी तत्त्वहरू छन्, तिनलाई पनि पुँजीवादले आफूमा समाहित गरेर अपनाइसकेको छ । अब पुँजीवादी व्यवस्थाभित्र सुधार गरेर पितृसत्तालाई खतम पार्न सम्भव छैन किनभने एउटा विषयमा सुधार गर्न खोज्दा हजार विषयमा पितृसत्तालाई बलवान् बनाउने संरचना र वैचारिकी क्रियाशील भैरहने परिस्थिति बनिसकेको छ । तसर्थ, पितृसत्तावादविरुद्धको संघर्ष समग्र पुँजीवादी सामाजिक व्यवस्थाविरुद्धको संघर्षका रूपमा बुझ्दा र विकसित गर्दा मात्र पितृसत्तावादलाई वास्तविक अर्थमा बुझ्नु ठहर्छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)