कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आत्ममोह र प्रतिशोधभन्दा परका बीपी

आगतमा बीपीले स्थापना गरेको नेपाली कांग्रेसले आफूलाई कहाँ उभ्याउनेछ भन्ने कुराले हाम्रो अर्थराजनीति र आम नागरिकको समृद्धिको चाहना पूरा गर्ने सफल हुने/नहुने निर्क्योल गर्नेछ ।
मीनेन्द्र रिजाल

आज बीपी स्मृति दिवस हो । महाप्रस्थानको ४० वर्षपछि पनि उहाँको आदर्श जीवन र संघर्षले हामीलाई कर्तव्यपथमा अविचलित भावका साथ अघि बढिरहन अभिप्रेरित गर्दछ । स्मृति दिवसको अवसरमा उहाँबारे थुप्रै लेख, संस्मरण र विचार सम्प्रेषित हुनेछन् । तसर्थ, उहाँको समग्र राजनीतिक उत्तरदानको विषयमा चर्चा गर्ने मेरो उद्देश्य होइन ।

आत्ममोह र प्रतिशोधभन्दा परका बीपी

तथापि उहाँबाट जानेका एक–दुई विषय र प्रसंग उल्लेख गर्न चाहन्छु । मलाई लाग्छ, समकालीन नेपाली राजनीतिमा यो चर्चाको प्रासंगिकता होला । सुरु आफैं संलग्न रहेको एउटा घटनाक्रमबाट गर्दछु ।

२०३८ सालको कुरा हो, म नेपाल विद्यार्थी संघको केन्द्रीय उपसभापति थिएँ । विद्यार्थी राजनीतिको विषयमा नेतृत्वसँग मेरो असहमति रह्यो । त्यही असहमतिका आधारमा मैले गरेको निर्णयलाई लिएर म संघको सदस्यबाट निलम्बित भएँ । त्यो घटनाको आफ्नै महत्त्व त छैन, तथापि सो विवादलाई निरूपण गर्न उहाँले भन्नुभएको एउटा वाक्य शिक्षाप्रद र प्रेरणादायी रह्यो । बीपीले संघका सभापति विमलेन्द्र निधि र महामन्त्री दिलबहादुर घर्तीलाई बोलाएर सो कारबाही प्रतिशोधपूर्ण रहेको भन्दै त्यसलाई फिर्ता गर्न निर्देशन गर्नुभयो । त्यसपछि कारबाही फिर्ता गर्ने प्रक्रिया र निर्णयको बेग्लै प्रासंगिता होला । तर प्रजातान्त्रिक राजनीतिमा प्रतिशोधको भावना अनुचित हो भन्ने उहाँको वाणीले मलाई सधैं दिशाबोध गरेको छ र त्यसपछि आज चार दशकपछिसम्म पनि आफूमा यो भाव नहराओस् भन्नेमा म सचेत छु । मैले यो प्रसंग यस अर्थमा पनि चर्चा गर्न उपयुक्त ठानेको हुँ कि समकालीन नेपाली राजनीति, अझ विगत चार वर्षका घटनाक्रम मूलतः दुइटा सोचबाट प्रभावित छन् । पहिलो सोच आत्ममोहको र दोस्रो प्रतिशोधको ।

मेरो मनमा एउटा प्रश्न बारम्बार आउँछ, यदि हाम्रो राजनीतिमा प्रतिशोध र आत्ममोह प्रधान विषय नभएको भए आज नेपालको सरकार कस्तो अझ भनौं कसको हुने थियो ? यो प्रश्नको उत्तर मेरो मनमा लागेजस्तो नै भएको भए, आगामी आम निर्वाचनको तयारीमा दलहरू जुट्ने प्रक्रिया र चुनावी मुद्दा के हुने थिए होलान् ? अझ सीधा–सपाट भन्ने हो भने स्वाभाविक आरोह–अवरोहको पृष्ठभूमिमा नेपालमा वामपन्थी राजनीतिक आन्दोलन (मैले यहाँ दल भन्न खोजेको होइन) को औचित्यबारे मोटामोटी उद्देश्य जे भए पनि एउटा उत्तर फेला पर्ने थियो कि थिएन होला ? म क्रियाशील रहेको दल नेपाली कांग्रेसले बीपीसितको सहवास र उहाँको प्रेरणा पाएका अग्रज नेताहरूका कारण अहिलेसम्म बिनाकुनै पनि गम्भीर चुनौती विरासतमा पाएको नेपाली राजनीतिको प्रजातान्त्रिक स्थान सुरक्षित रहने थियो कि थिएन ? यी प्रश्नहरूको उत्तर अगामी आम निर्वाचनमा दलहरूबीच बन्ने–टुट्ने रसायन वा त्यसको परिणामस्वरूप प्राप्त हुने जय–पराजयमा मात्र सीमित वा अन्तर्निहित छ भन्ने ठान्नु सर्वथा अनुपयुक्त हो । तर आगतमा बीपीले स्थापना गरेको नेपाली कांग्रेसले आफूलाई कहाँ उभ्याउनेछ भन्ने कुराले हाम्रो अर्थराजनीति र आम नागरिकको समृद्धिको चाहना पूरा गर्ने कार्यको सफलता प्रभावित हुने निश्चित छ । बीपीले आफ्नो जीवनको उत्तराखण्डमा परिभाषित गर्नुभएझैं शान्ति, अहिंसा, ग्रामीण स्वावलम्बन आदिको प्रजातान्त्रिक समाजवादी आन्दोलन र त्यसलाई गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायत उहाँका उत्तराधिकारी नेताहरूले समयक्रमसँगै विकसित गर्दै स्वरूप प्रदान गर्नुभएको संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र समाजवादको राजनीतिक मूलधारको नेतृत्व प्रदान गर्न नेपाली कांग्रेस सफल होला ? या आधुनिकता र चकाचौध पार्ने प्रविधिले नेपाली मन र मस्तिष्कको क्षितिजमा विस्तारित वा उजागृत गरेको समृद्धिका केही मूर्त र केही अपरिमेय चाहना पूरा गर्ने ऐतिहासिक जिम्मेवारी बहन गर्न सक्ला, बीपीको कांग्रेसले ? आजका दिनमा यी प्रश्नहरूको उत्तर र उपाय दुवै खोज्नु अपरिहार्य छ ।

आत्ममोहको राजनीतिबारे प्रशस्त चर्चा भएकै छ । म यहाँ फगत बीपीले महाभारतको लडाइँलाई पार्श्वमा राखेर उपन्यासकी मूल पात्र मोदिआइनमार्फत ‘ठूलो होइन असल मानिस बन्नू’ भनी दिनुभएको सन्देश स्मरण गर्न चाहन्छु । बीपीले जीवनकालमै प्राप्त त्यति ठूलो मान सम्मान, ख्याति र अर्चनाका बावजुद पनि आफूलाई अभिमानी होइन राष्ट्र निर्माणमा योगदान गर्ने अविश्रान्त यात्रीका रूपमा प्रस्तुत गर्नुभयो । यिनै सन्दर्भहरूमा आत्मबञ्चना, आत्मश्लाघा र राजनीतिक अपराजेयताको भावले गाँजिएको समकालीन नेपाली राजनीतिका घटनाक्रम नियालिरहेकी भए यतिबेला बीपीकी मोदिआइनले के भन्थिन् होला ?

अब अर्को प्रसंगमा केही चर्चा गरौं । २०३७ मा सम्पन्न जनमतसंग्रहमा समसामयिक सुधारसहितको पञ्चायती व्यवस्थालाई विजयी तुल्याइयो, प्राविधिक रूपमा झिनो मतले बहुदलीय राजनीति पराजित भयो । क्रान्तिकारी होइन, स्वाभाविक विकासको मेलमिलापको बाटोबाट संवैधानिक राजतन्त्रात्मक प्रजातान्त्रिक राजनीतिलाई संस्थागत स्वरूप दिन सक्ने नयाँ संविधानको पक्षमा हुनुहुन्थ्यो बीपी । तर यो बाटामा अघि बढ्न तत्कालीन राजतन्त्रका संस्था र संरचनाका बाधक थिए भन्ने निष्कर्ष थियो, बीपीका अनुयायी र उहाँको दलका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईको ।

मेलमिलापको बाटोबाट संवैधानिक राजतन्त्रसँगसँगै राजनीतिक आधारभूमिमा प्रजातन्त्रको पक्षमा रहेको परिवर्तनको चाहनालाई संवैधानिक रूपमा संस्थागत गर्ने दिशामा बीपी प्रतिबद्ध र अविचलित हुनुहुन्थ्यो । त्यसबेला प्रतिबन्धित भन्ने लेखेर दलहरूले आफ्ना गतिविधि सञ्चालन गर्न पाउने अवस्था थियो । यो परिस्थिति सदुपयोग गर्दै बीपीले देशभरिका आठ प्रमुख स्थानमा पार्टीको बैठक राख्नुभएको थियो । पहिलो बैठक झापामा राखिएको थियो । तर आफ्नो

राजनीतिक विश्लेषण र त्यसप्रतिका आस्थावान् दृढ प्रतिबद्धताका कारण बीपीका कार्यवाहक सभापति भट्टराई झापा बैठकमा जान तयार हुनुहुन्थेन । बीपी आफ्नो दललाई एकताबद्ध राख्न चाहनुहुन्थ्यो, भट्टराईप्रति पनि विश्वास थियो । र, उहाँको सम्मानमा कुठाराघात नगरी अघि बढ्न चाहनुहुन्थ्यो । त्यसैले भट्टराईलाई झापा नगए पनि आफ्नो विराटनगरको घरमा पाहुना भएर जानका लागि बीपीले आग्रह गर्नुभयो । बीपीले गणेशमानजी, परशुनारायणजी र गिरिजाबाबुसँग बैठकमा आफू झापा जाने कुरा राख्नुभयो । साथै, विराटनगरमा कोइराला निवासकी मूल गृहणीसमेत रहनुभएकी नोना कोइरालाले पनि भट्टराईलाई विराटनगर आउन आग्रह गर्नुभयो । अत्यन्त सादगीपूर्ण रूपमा आफ्ना भान्जाको घरमा बसोबास गर्ने भट्टराईलाई नोना कोइरालाले आफैंले रेखदेख गर्ने कुरामा आश्वस्त तुल्याउनुभयो । विराटनगरसम्म जान भट्टराई तयार हुनुभयो । विराटनगर पुग्दासम्म बीपीसँगको लामो राजनीतिक सहवास, उहाँको नेतृत्व र संस्कृतिप्रतिको अविचलित विश्वासका कारण भट्टराईले झापा भेलामा आफू पनि सहभागी हुने निर्णय गर्नुभयो ।

झापा मात्र होइन, त्यसपछिका अरू सातवटा भेलामा पनि भट्टराई कार्यवाहक सभापतिका रूपमा सहभागी हुनुभयो । आठवटा भेला नसकिँदै राजाले मेलमिलाप होइन तथाकथित निर्विकल्प पञ्चायतको निर्दलीय संविधान घोषणा गरे । त्यसपछिको राजनीति र बीपीको उत्तराधिकारीका रूपमा भट्टराईले पुर्‍याउनुभएको योगदानबारे हामी सबै परिचित छौं ।

बीपी र उहाँका सहयात्री नेताहरूमा रहेको तर सतहमा खासै नदेखिएको र त्यति चर्चा पनि नहुने यस्ता थुप्रै विशिष्ट मानवीय गुणहरूले नेपाली कांग्रेस निर्माण र चिरपर्यन्तसम्म यसलाई जीवित राख्न पुर्‍याएको ऊर्जाबारे चिन्तन गर्न आजका नेता र भोलि नेता हुने महत्त्वाकांक्षा राख्ने सबैलाई यो स्मृतिले अभिप्रेरित गरोस् ।

प्रकाशित : श्रावण ६, २०७९ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?