परम्परा बिर्संदै नयाँ पुस्ता

पछिल्लो समय हाम्रो संस्कृतिलाई पाश्चात्य परम्पराले विस्थापन गर्न थालेको देखिनु दुर्भाग्यपूर्ण छ ।
रामेश्वरी पन्त

अहिलेको भूमण्डलीकरणको युगमा सूचना र प्रविधिले विश्वलाई यति सानो बनाइदिएको छ कि यो हरेक व्यक्तिको मुठ्ठीमा अट्छ । यसैले पनि हरेक राष्ट्रका आफ्नो मौलिक सांस्कृतिक विविधतालाई आयातित परम्परा र संस्कारले विस्थापन गर्न थालेको छ । ‘अरूका हेर्नु, आफ्ना जोगाउनु’ उक्तिलाई भुलेर आजका पुस्ताले ‘आफ्ना भुल्नु, अरूका भित्र्याउनु’ भनेजस्तो गरिरहेको पाइन्छ ।

परम्परा बिर्संदै नयाँ पुस्ता

पछिल्लो समय हाम्रो विशिष्ट परम्परा, संस्कार र संस्कृतिलाई पाश्चात्य र अन्य आयातित संस्कृति र परम्पराले विस्थापन गर्न थालेको देखिनु दुर्भाग्यपूर्ण छ । विस्थापनको चिन्ता एकातिर छ अर्कातिर यी आयातित परम्परा अत्यन्त खर्चिला र तडकभडकपूर्ण हुनाले समाजमा आर्थिक भार थपिन पुगेको मात्र होइन, वर्गीय असमानतासँगै यस्ता परम्परा अनुसार चल्नैपर्ने सामाजिक दबाब पनि बढिरहेको छ, यसले सामाजिक विकृतिकै रूप लिइरहेको छ ।

आधुनिक बन्ने नाममा हामीले हाम्रा पूर्वजले तय गरेका जन्मदेखि मृत्युसम्मका संस्कारलाई भुल्यौं । गर्भको शिशु सकुशल जन्मियोस् भन्दै गर्भवतीलाई परिवारका मान्यजन लगायतले दही–च्युरा खुवाउने परम्पराको ठाउँ आज पश्चिमाहरूको ‘बेबीसावर’ ले लिएको छ । बच्चा जन्मिसकेपछि फेरि ‘पास्नी’ गरिँदैन अचेल, ‘बेबी फिडिङ सेरेमनी’ गरिन्छ धुमधामले । पैसा हुनेले लाखौं रुपैयाँ खर्च गरेर पार्टी दिन्छन्, नहुनेलाई दबाब पर्छ ।

त्यस्तै उहिले छोराछोरीको बिहे एक दिन हुन्थ्यो, अहिले कम्तीमा दुईदिन र बढीमा एक हप्तासम्म हुने गरेको पाइन्छ । उहिले हाम्रो परम्परा अनुसार छोराछोरीको बिहेको कुरा छिनेपछि बिहे पक्का गर्नका लागि जनैसुपारी गर्ने गरिन्थ्यो र लगन हेरेर परम्परा र चलनचल्ती अनुसार हाम्रा मौलिक बाजा (पञ्चे वा नौमती) बजाएर बेहुली लिन बेहुलासहित भएर जन्ती बेहुलीको घरमा जाने चलन थियो । तर अहिले यो चलनले अर्कै रूप लिएको देखिन्छ । उहिले विवाहलाई परम्पराको रूपमा लिइन्थ्यो, अहिले फेसन र क्षमता प्रदर्शनका रूपमा स्थापित भएको छ ।

जनैसुपारीलाई ‘इन्गेजमेन्ट’ ले विस्थापन गरेको छ । एउटा मध्यमवर्गीय परिवारले धुमधामले गर्न सक्ने विवाहको खर्चभन्दा बढी खर्च गरेर अनेक तडकभडकसाथ इन्गेजमेन्ट सम्पन्न हुन्छ । त्यसपछि हाम्रो मौलिक परम्परामै नभएको ‘मेहेन्दी रस्म’ र ‘हल्दी रस्म’ सुरु हुन्छ । विवाहको दुई दिनअघि बेहुलीको घरमा बेहुलासहित भएर गानाबजानासहित ‘मेहेन्दी रस्म’ पूरा हुन्छ । फेरि विवाहको अघिल्लो दिन बेहुलाको घरमा बेहुलीसमेतको उपस्थितिमा त्यसै गरी नाचगानसहित ‘हल्दी रस्म’ पूरा हुन्छ । जबकि यस्ता ‘रस्म’ मा हुने खर्चले एउटा सामान्य परिवारको छोराछोरीको विवाह सम्पन्न हुन सक्छ । त्यसपछि अर्को दिन त्यस्तै खर्चिलो बेहुलाबेहुलीको ‘फोटोसुट’ सम्पन्न हुन्छ । अहिलेको विवाहमा गरिने खर्च र तामझाम हेर्दा कतिपय नेपाली आर्थिक सम्पन्नताले भरिपूर्ण भएको प्रतीत हुन्छ । यस्तो लाग्छ, देशको अर्थतन्त्र टाट पल्टिन लागेको कुरा बकवास मात्र हो । हुन त देशको अर्थतन्त्र कमजोर हुँदै गए पनि समाजमा पैसा कमाउने र प्रदर्शन गर्नेको होडबाजी बढिरहेको देखिन्छ । सम्पन्नले ठूलाठूला तारेहोटलमा आफ्ना छोराछोरीको बिहे गर्छन्, त्यसको सामाजिक दबाब विपन्न र निम्नमध्यमवर्गीय परिवारमाथि पर्छ । अनि ऋण काढेर हुन्छ कि, जग्गा धितो राखेर वा एक टुक्रा बेचेरै हुन्छ, छोराछोरीको विवाह कम से कम पनि कुनै पार्टी प्यालेसमा सम्पन्न गर्नैपर्छ । फेरि पार्टी पनि सुहाउँदो गर्नैपर्छ नत्र ‘कुरा काट्नेहरूको’ डर हुन्छ ।

अचेलका छोराछोरीहरूले विवाह गर्ने उमेरसम्म उच्चशिक्षा हासिल गरिरहेका हुन्छन् । तर उनीहरूको शिक्षामा मौलिकता र पहिचानको महत्त्व समेटिँदैन । अहिलेका विवाह मागीभन्दा पनि प्रायः रोजी देखिन्छन् । सन्तानले आफ्ना जीवनसाथी आफैं रोजिदिँदा बाबुआमालाई बुहारी वा ज्वाइँ खोज्ने पिरलो त कम हुन्छ नै कतिपय अवस्थामा सन्तानको रोजाइलाई स्विकार्नुपर्ने मात्र होइन, उनीहरूको रुचि अनुसारको तरिकाले विवाह सम्पन्न गर्नुपर्दा आइपर्ने सामाजिक र आर्थिक जटिलतालाई तिनै सन्तानले बुझिदिएका हुँदैनन् ।

प्रेमविवाहमा केटा र केटीका परिवारको आर्थिक हैसियत समान नै हुन्छ भन्ने छैन । यस्तो अवस्थामा सम्पन्न परिवारको केटाले विपन्न परिवारको केटीसँग विवाह गर्दा केटीका बाबुआमामा पर्न गएको आर्थिक भार र मानसिक तथा सामाजिक दबाब देख्दा शीक्षित भनिएका ती सन्तानको विवेकप्रति दया लागेर आउँछ । प्रेम विवाहमा हरेक कुरा हुनेवाला जीवनसाथीलाई भन्न सकिन्छ नै । यस्तो अवस्थामा आफ्ना बाबुआमाको आर्थिक हैसियत सामान्य भएको र विवाह पनि सामान्य किसिमले नै सम्पन्न गरौं भन्ने र राजी गराउने हिम्मत आजका छोरीले गर्न सकेको देखिँदैन । न त केटाले आफ्ना बाबुआमालाई हुनेवाली जीवनसाथीको परिवारको आर्थिक हैसियत सामान्य भएकाले विवाह पनि सामान्य किसिमले नै गरौं भन्न सक्छ । बरु केटातर्फकाले भन्छन्, ‘बिहेमा हाम्रो इज्जत राखिदिनुहोला है !’ अनि ऋण काढेरै भए पनि छोरीको बिहे सम्पन्न गर्न बाबु बाध्य हुन्छ । उता शिक्षित भनिएकी छोरीले ‘हामी दुई परिवार मिलेर सामान्य टीकाटाला गरौं, यसमा हुने खर्चले मेरो बिहे गर्न मद्दत पुग्छ’ भनेर हुनेवाला जीवनसाथीलाई भन्न सक्दिन । आफ्नो परम्परामा नभएका मेहेन्दी र हल्दीको तामझाम नगरौं भन्न सक्दिन । किनकि उसलाई पनि आफ्नो हैसियतभन्दा समाजको पीर छ ।

विवाहले आर्थिक भार थोपरिरहेको छ । त्यसो त, अहिलेका पुस्तालाई मौलिक परम्परा र संस्कारभन्दा आयातित संस्कार मन पर्छ । त्यसमाथि बाबुआमाले पनि ‘सन्तानको रहर पुर्‍याइदिने’ नाममा सकीनसकी विवाहलाई भड्किलो बनाइरहेका छन् । के यसरी विदेशी परम्पराको अपनाइरहँदा हाम्रो विशिष्ट परम्परा र पहिचानलाई जीवित राख्न सकौंला ?

प्रकाशित : श्रावण ५, २०७९ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?