परम्परा बिर्संदै नयाँ पुस्ता

पछिल्लो समय हाम्रो संस्कृतिलाई पाश्चात्य परम्पराले विस्थापन गर्न थालेको देखिनु दुर्भाग्यपूर्ण छ ।
रामेश्वरी पन्त

अहिलेको भूमण्डलीकरणको युगमा सूचना र प्रविधिले विश्वलाई यति सानो बनाइदिएको छ कि यो हरेक व्यक्तिको मुठ्ठीमा अट्छ । यसैले पनि हरेक राष्ट्रका आफ्नो मौलिक सांस्कृतिक विविधतालाई आयातित परम्परा र संस्कारले विस्थापन गर्न थालेको छ । ‘अरूका हेर्नु, आफ्ना जोगाउनु’ उक्तिलाई भुलेर आजका पुस्ताले ‘आफ्ना भुल्नु, अरूका भित्र्याउनु’ भनेजस्तो गरिरहेको पाइन्छ ।

पछिल्लो समय हाम्रो विशिष्ट परम्परा, संस्कार र संस्कृतिलाई पाश्चात्य र अन्य आयातित संस्कृति र परम्पराले विस्थापन गर्न थालेको देखिनु दुर्भाग्यपूर्ण छ । विस्थापनको चिन्ता एकातिर छ अर्कातिर यी आयातित परम्परा अत्यन्त खर्चिला र तडकभडकपूर्ण हुनाले समाजमा आर्थिक भार थपिन पुगेको मात्र होइन, वर्गीय असमानतासँगै यस्ता परम्परा अनुसार चल्नैपर्ने सामाजिक दबाब पनि बढिरहेको छ, यसले सामाजिक विकृतिकै रूप लिइरहेको छ ।

आधुनिक बन्ने नाममा हामीले हाम्रा पूर्वजले तय गरेका जन्मदेखि मृत्युसम्मका संस्कारलाई भुल्यौं । गर्भको शिशु सकुशल जन्मियोस् भन्दै गर्भवतीलाई परिवारका मान्यजन लगायतले दही–च्युरा खुवाउने परम्पराको ठाउँ आज पश्चिमाहरूको ‘बेबीसावर’ ले लिएको छ । बच्चा जन्मिसकेपछि फेरि ‘पास्नी’ गरिँदैन अचेल, ‘बेबी फिडिङ सेरेमनी’ गरिन्छ धुमधामले । पैसा हुनेले लाखौं रुपैयाँ खर्च गरेर पार्टी दिन्छन्, नहुनेलाई दबाब पर्छ ।

त्यस्तै उहिले छोराछोरीको बिहे एक दिन हुन्थ्यो, अहिले कम्तीमा दुईदिन र बढीमा एक हप्तासम्म हुने गरेको पाइन्छ । उहिले हाम्रो परम्परा अनुसार छोराछोरीको बिहेको कुरा छिनेपछि बिहे पक्का गर्नका लागि जनैसुपारी गर्ने गरिन्थ्यो र लगन हेरेर परम्परा र चलनचल्ती अनुसार हाम्रा मौलिक बाजा (पञ्चे वा नौमती) बजाएर बेहुली लिन बेहुलासहित भएर जन्ती बेहुलीको घरमा जाने चलन थियो । तर अहिले यो चलनले अर्कै रूप लिएको देखिन्छ । उहिले विवाहलाई परम्पराको रूपमा लिइन्थ्यो, अहिले फेसन र क्षमता प्रदर्शनका रूपमा स्थापित भएको छ ।

जनैसुपारीलाई ‘इन्गेजमेन्ट’ ले विस्थापन गरेको छ । एउटा मध्यमवर्गीय परिवारले धुमधामले गर्न सक्ने विवाहको खर्चभन्दा बढी खर्च गरेर अनेक तडकभडकसाथ इन्गेजमेन्ट सम्पन्न हुन्छ । त्यसपछि हाम्रो मौलिक परम्परामै नभएको ‘मेहेन्दी रस्म’ र ‘हल्दी रस्म’ सुरु हुन्छ । विवाहको दुई दिनअघि बेहुलीको घरमा बेहुलासहित भएर गानाबजानासहित ‘मेहेन्दी रस्म’ पूरा हुन्छ । फेरि विवाहको अघिल्लो दिन बेहुलाको घरमा बेहुलीसमेतको उपस्थितिमा त्यसै गरी नाचगानसहित ‘हल्दी रस्म’ पूरा हुन्छ । जबकि यस्ता ‘रस्म’ मा हुने खर्चले एउटा सामान्य परिवारको छोराछोरीको विवाह सम्पन्न हुन सक्छ । त्यसपछि अर्को दिन त्यस्तै खर्चिलो बेहुलाबेहुलीको ‘फोटोसुट’ सम्पन्न हुन्छ । अहिलेको विवाहमा गरिने खर्च र तामझाम हेर्दा कतिपय नेपाली आर्थिक सम्पन्नताले भरिपूर्ण भएको प्रतीत हुन्छ । यस्तो लाग्छ, देशको अर्थतन्त्र टाट पल्टिन लागेको कुरा बकवास मात्र हो । हुन त देशको अर्थतन्त्र कमजोर हुँदै गए पनि समाजमा पैसा कमाउने र प्रदर्शन गर्नेको होडबाजी बढिरहेको देखिन्छ । सम्पन्नले ठूलाठूला तारेहोटलमा आफ्ना छोराछोरीको बिहे गर्छन्, त्यसको सामाजिक दबाब विपन्न र निम्नमध्यमवर्गीय परिवारमाथि पर्छ । अनि ऋण काढेर हुन्छ कि, जग्गा धितो राखेर वा एक टुक्रा बेचेरै हुन्छ, छोराछोरीको विवाह कम से कम पनि कुनै पार्टी प्यालेसमा सम्पन्न गर्नैपर्छ । फेरि पार्टी पनि सुहाउँदो गर्नैपर्छ नत्र ‘कुरा काट्नेहरूको’ डर हुन्छ ।

अचेलका छोराछोरीहरूले विवाह गर्ने उमेरसम्म उच्चशिक्षा हासिल गरिरहेका हुन्छन् । तर उनीहरूको शिक्षामा मौलिकता र पहिचानको महत्त्व समेटिँदैन । अहिलेका विवाह मागीभन्दा पनि प्रायः रोजी देखिन्छन् । सन्तानले आफ्ना जीवनसाथी आफैं रोजिदिँदा बाबुआमालाई बुहारी वा ज्वाइँ खोज्ने पिरलो त कम हुन्छ नै कतिपय अवस्थामा सन्तानको रोजाइलाई स्विकार्नुपर्ने मात्र होइन, उनीहरूको रुचि अनुसारको तरिकाले विवाह सम्पन्न गर्नुपर्दा आइपर्ने सामाजिक र आर्थिक जटिलतालाई तिनै सन्तानले बुझिदिएका हुँदैनन् ।

प्रेमविवाहमा केटा र केटीका परिवारको आर्थिक हैसियत समान नै हुन्छ भन्ने छैन । यस्तो अवस्थामा सम्पन्न परिवारको केटाले विपन्न परिवारको केटीसँग विवाह गर्दा केटीका बाबुआमामा पर्न गएको आर्थिक भार र मानसिक तथा सामाजिक दबाब देख्दा शीक्षित भनिएका ती सन्तानको विवेकप्रति दया लागेर आउँछ । प्रेम विवाहमा हरेक कुरा हुनेवाला जीवनसाथीलाई भन्न सकिन्छ नै । यस्तो अवस्थामा आफ्ना बाबुआमाको आर्थिक हैसियत सामान्य भएको र विवाह पनि सामान्य किसिमले नै सम्पन्न गरौं भन्ने र राजी गराउने हिम्मत आजका छोरीले गर्न सकेको देखिँदैन । न त केटाले आफ्ना बाबुआमालाई हुनेवाली जीवनसाथीको परिवारको आर्थिक हैसियत सामान्य भएकाले विवाह पनि सामान्य किसिमले नै गरौं भन्न सक्छ । बरु केटातर्फकाले भन्छन्, ‘बिहेमा हाम्रो इज्जत राखिदिनुहोला है !’ अनि ऋण काढेरै भए पनि छोरीको बिहे सम्पन्न गर्न बाबु बाध्य हुन्छ । उता शिक्षित भनिएकी छोरीले ‘हामी दुई परिवार मिलेर सामान्य टीकाटाला गरौं, यसमा हुने खर्चले मेरो बिहे गर्न मद्दत पुग्छ’ भनेर हुनेवाला जीवनसाथीलाई भन्न सक्दिन । आफ्नो परम्परामा नभएका मेहेन्दी र हल्दीको तामझाम नगरौं भन्न सक्दिन । किनकि उसलाई पनि आफ्नो हैसियतभन्दा समाजको पीर छ ।

विवाहले आर्थिक भार थोपरिरहेको छ । त्यसो त, अहिलेका पुस्तालाई मौलिक परम्परा र संस्कारभन्दा आयातित संस्कार मन पर्छ । त्यसमाथि बाबुआमाले पनि ‘सन्तानको रहर पुर्‍याइदिने’ नाममा सकीनसकी विवाहलाई भड्किलो बनाइरहेका छन् । के यसरी विदेशी परम्पराको अपनाइरहँदा हाम्रो विशिष्ट परम्परा र पहिचानलाई जीवित राख्न सकौंला ?

प्रकाशित : श्रावण ५, २०७९ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्

एकै पालिकामा २६ हेलिप्याड

सडक सञ्जालको पहुँचबाहिर रहेको गोरखाको चुमनुव्रीका बासिन्दालाई उपचार र खाद्यान्नलगायत आधारभूत आवश्यकतामा हेलिकोप्टरकै भर
हरिराम उप्रेती

गोरखा — योजना फर्स्योट र सामाजिक सुरक्षा भत्ता वितरणका लागि चुमनुव्री गाउँपालिकामा असार २८ गते हेलिकोप्टरबाट ५ करोड रकम ढुवानी भयो । भौगोलिक रुपमा विकट चुमनुव्रीमा छिटो र सुरक्षित पैसा पुर्‍याउने अर्को विकल्प कुमारी बैंकसँग थिएन । हेलिकोप्टरबाट पैसा झरेपछि बल्ल योजनाका बजेट भुक्तानीको चाप बढ्यो । 

योजना भुक्तानी, सामाजिक सुरक्षा भत्ता र नियमित बैंकिङ सेवा सञ्चालनका लागि बैंकले हेलिकोप्टर नै चार्टर गर्दै आएको छ । सडक सञ्जालको पहुँचबाहिर रहेको चुमनुव्रीका स्थानीय आकस्मिक रूपमा हुने बिरामी उद्धार तथा अत्यावश्यक कामका लागि हेलिकोप्टरकै भर गर्छन् ।

सुत्केरी, बिरामी र अत्यावश्यक काममा आउजाउ गर्नेलाई महँगो शुल्क तिरेर हेलिकोप्टरमा उड्नुपर्ने बाध्यता छ । यही विकट भूगोलमा विकासका योजनामा स्थानीय हेलिप्याडको माग अघि सार्छन् । योजना संकलनका क्रममा हेलिप्याड प्राथमिकतामा पर्छ । चुमनुव्रीमा वडा, गाउँपालिका र स्थानीयकै सक्रियतामा २६ हेलिप्याड बनिसकेका छन् । पछिल्लो ५ वर्षमा १२ हेलिप्याड बनेको गाउँपालिका योजना शाखाको अभिलेख छ ।

गत आर्थिक वर्ष चुमनुव्री–३ फिलिमस्थित गङरङमा ४ लाखको लागतमा हेलिप्याड निर्माणाधीन छ । व्यक्तिको जग्गा ७ वर्षका लागि वार्षिक २५ हजार रुपैयाँ भाडामा लिएर हेलिप्याड बनाइएको वडाध्यक्ष रामकुमार गुरुङले बताए ।

‘फिलिम बस्ती नजिकैको हेलिप्याडमा हेलिकोप्टर बस्दा अन्नबालीमा धेरै क्षति पुर्‍यायो,’ गुरुङले भने, ‘विकल्पमा अर्को हेलिप्याड बनाएका हौं ।’ फिलिममा बनेको हेलिप्याडबाट सिर्दिबास हेल्थपोस्ट पुग्न पनि सहज हुने स्थानीयको विश्वास छ । ‘इमरजेन्सी बिरामी बोक्न हेली आइरहन्छ,’ उनले भने, ‘दुर्गम ठाउँमा पहिले नै सचेत भएर स्थानीयलाई पायक पर्ने गरी हेलिप्याड नबनाए पछि दुःख पाउने पनि यहीँका जनता हुन् ।’

छिटो उद्धारका लागि हेलिकोप्टरबाहेक अन्य विकल्प नरहेकाले पनि टोलटोलमा पायक पर्ने गरी हेलिप्याड आवश्यक देखिएको स्थानीय बताउँछन् । वडाध्यक्ष गुरुङका अनुसार वडा नम्बर ३ मा मात्र ६ ठाउँमा अस्थायी र स्थायी हेलिप्याड छन् । जगत बगर, पाङसिङ, न्याक, सरजुङ र पाती गाउँमा हेलिप्याड रहेको उनले सुनाए । ‘हेल्थपोस्टमा उपचार सम्भव नभए जाने भनेको काठमाडौंका अस्पताल हो, हिँडेर जान लागे ३ दिनमा पुगिन्छ,’ चुमनुव्री–३ देवलकी मन्दरी गुरुङले भनिन्, ‘जति खर्च लागे पनि हेलिकोप्टरमा गए छिटो पुगिन्छ, बचिन्छ कि भन्ने आस पनि भयो ।’

चुमनुव्रीको सबैभन्दा माथिल्लो सामागाउँ र साम्दोका स्थानीयलाई पैदल सदरमुकाम वा काठमाडौं पुग्न परे कम्तीमा चार दिन लाग्छ । धार्चे गाउँपालिकास्थित माछाखोलासम्म पैदल आएका स्थानीय माछाखोलाबाट गाडीमार्फत गन्तव्यमा पुग्छन् ।

चुमनुव्री–७ को एउटै वडामा ९ वटा हेलिप्याड छन् । छेकम्पारको छेकम, झोङ, नाक्युलेरु, लामागाउँ, लार, फुर्वे, निले, छुले र पाङदुरमा छुट्टाछुट्टै हेलिप्याड गएको पाँच वर्षमा निर्माण भएको गाउँपालिका योजना शाखा प्रमुख वेदप्रकाश ढकालले बताए । एउटा हेलिप्याड करिब तीन लाख रुपैयाँमा बनाइएको हो । वडा नम्बर ५ को क्र्याक र बिहीमा दुईवटा छन् । वडा नम्बर २ को ल्होमा सांसद विकास कोषको १५ लाख, लिहीमा गाउँपालिकाकाको १० लाख र स्योमा तीन लाख लागतमा हेलिप्याड निर्माण भएका हुन् । वडा नम्वर २ को स्यालामा पनि एउटा हेलिप्याड यसअघि नै प्रयोगमा छ । वडा नम्बर ४ मा स्थानीयको सक्रियतामा बनेको हेलिप्याड प्रयोगमा छ भने वडा १ को सामागाउँमा दुई र साम्दोमा १ हेलिप्याड प्रयोगमा छन् ।

‘वडा नम्बर ७ मा टोल स्तरबाटै योजना माग भएर हेलिप्याड बनेका हुन्,’ योजना शाखा प्रमुख ढकालले भने, ‘वडा ६ को चुम्लिङमा अस्थायी हेलिप्याड छ, चुम्चेतमा बनाउनुपर्नेछ ।’ विकट भौगोलिक बनावटले पनि हेलिप्याडको अवश्यकता बढेको उनको भनाइ छ । ‘कुन बेला के हुन्छ, के पर्छ भन्न सकिन्न, हेलिप्याड नहुँदा कसको बारीमा बस्ने भन्ने समस्या थपिन्छ,’ उनले भने, ‘आवश्यकता देखेर नै हेलिप्याडको योजनालाई प्राथमिकता दिएका हौं ।’

प्रकाशित : श्रावण ५, २०७९ ०८:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×