२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

मलाशय क्यान्सर उपचारमा : अभूतपूर्व’ सफलता

इम्युनोथेरापीमा आधारित ‘डोस्टारलिमाब’ औषधिबाट एक विशिष्ट उपप्रकारको मलाशय क्यान्सर लागेका शतप्रतिशत बिरामी लाभान्वित भएको पत्ता लागेको छ । नेपालका क्यान्सर रोगीहरूलाई यस्ता औषधिको उपलब्धता सुनिश्चित गर्न सरकारले छिट्टै पहल गर्नुपर्छ ।
रञ्जन मिश्र

केही अघिसम्म क्यान्सर लागेको थाहा पाउनु मृत्युको सूचना पाउनुसरह थियो । अहिले विकास भइरहेका नयाँ उपचार विधिहरूले केही प्रतिशत बिरामीलाई भए पनि मृत्युको मुखबाट फिर्ता ल्याएका छन् ।

मलाशय क्यान्सर उपचारमा : अभूतपूर्व’ सफलता

सबै क्यान्सरलाई निर्मूल पार्ने ‘सम्पूर्ण’ उपचार नबन्ला तर क्यान्सरलाई ससाना उपसमूहमा छुट्टाएर तिनको विशिष्टताका आधारमा औषधि विकास गरेमा लक्षित समूहले लाभ उठाउन सक्ने र समष्टिमा क्यान्सरविरुद्धको युद्ध जित्न सकिने विश्वास गर्न थालिएको छ । न्युयोर्कको स्लोन केटरिङ क्यान्सर सेन्टरमा जारी क्लिनिकल परीक्षणले इम्युनोथेरापीमा आधारित ‘डोस्टारलिमाब’ औषधिबाट एक विशिष्ट उपप्रकारको मलाशय क्यान्सर लागेका शतप्रतिशत बिरामी लाभान्वित भएको पत्ता लागेको छ । ‘न्यु इङ्ल्यान्ड जर्नल अफ मेडिसिन’ मा प्रकाशित उक्त परीक्षण अहिलेसम्म जम्मा १२ बिरामीमा मात्र सम्पन्न भए पनि सम्भवतः यो पहिलो परीक्षण हो जसमा औषधिले सबै बिरामीमा पूर्ण प्रतिक्रिया देखाएको छ । यस्तो नतिजाले क्यान्सर बिरामीमा नयाँ आशा पलाएको छ ।

क्यान्सर इम्युनोथेरापी के हो ?

यो नवीनतम उपचार विधि हो, जसमा क्यान्सर कोशिकाहरूलाई मार्न हाम्रो प्रतिरक्षा प्रणालीका कोशिकाहरू, विशेष गरी टी–कोशिकाहरूलाई प्रयोग गरिन्छ । टी–कोशिका सेता रक्तकोशिकाहरूमध्येको एक विशेष प्रतिरक्षा कोशिका हो जसले क्यान्सर कोशिकालाई पहिचान गर्छ र मार्छ । क्यान्सर कोशिकाहरूले सामान्य कोशिकाको तुलनामा कि उत्परिवर्तित प्रोटिन बनाउँछन् कि त सामान्य प्रोटिन नै असामान्य मात्रामा बनाउँछन् । त्यस्ता प्रोटिनबाट नव–प्रतिजन बन्छन् र टि–कोशिकाहरूले तीनै नव–प्रतिजनका आधारमा क्यान्सर कोशिकाहरूलाई सामान्य कोशिकाहरूबाट छुट्ट्याउन सक्छन् । त्यसपश्चात् टी–कोशिकाहरूले क्यान्सर कोशिकाहरूविरुद्ध प्रतिरक्षा प्रतिक्रिया जनाउँछन् । तर क्यान्सरको विकास तथा विस्तारसँगै टी–कोशिकाहरूको क्यान्सर पहिचान गर्ने तथा नष्ट गर्ने क्षमतामा शिथिलता आउँछ । इम्युनोथेरापी विधिमा यसरी शिथिल भएका टी–कोशिकाहरूलाई पुनः जागृत बनाई क्यान्सरलाई परास्त गरिन्छ । २०१८ मा नोबेल पुरस्कार प्रदान गरिएको यो अभूतपूर्व उपचार विधिको विकास क्यान्सर उपचारमा एक कोसेढुंगा साबित भएको छ ।

हाल क्यान्सर उपचारमा विशेष गरी दुई प्रमुख इम्युनोथेरापी मोडालिटी स्वीकृत गरिएका छन् । पहिलो, रोगीहरूबाट प्रतिरक्षा प्रणालीका टी–कोशिकाहरू अलग्याएर प्रयोगशालामा ‘क्रिस्पर’ प्रविधि प्रयोग गरेर आनुवंशिक परिमार्जन गरिन्छ जसले गर्दा टी–कोशिकाहरू क्यान्सर कोशिकाहरूलाई चिन्न मात्र हैन, मार्न पनि सक्षम पारिन्छ । यसरी परिमार्जन गरिएका टी–कोशिकाहरूलाई पुनः बिरामीको रक्तसञ्चारमा समाहित गराइन्छ ताकि तिनले क्यान्सरलाई नष्ट गर्न सकून् । यस प्रकारको उपचारलाई ‘कार–टी’ थेरापी भनिन्छ, जुन ब्लड क्यान्सरमा निकै फाइदाजनक साबित भएको छ । अर्को, क्यान्सर कोशिकालाई मार्न असमर्थ भएका हाम्रा शरीरका टी–कोशिकाहरूलाई बाहिरबाट एन्टिबडीमा आधारित औषधि पठाएर फेरि क्यान्सरलाई मार्न सक्ने बनाइन्छ । यस्तो प्रकारको इम्युनोथेरापीलाई ‘इम्युन चेकप्वाइन्ट ब्ल्केड’ थेरापी भनिन्छ ।

जति खेर पनि टी–कोशिकाहरू सक्रिय हुनु शरीरका लागि हानिकारक हुन्छ । यस्तो अवस्थालाई ‘अति सक्रियता’ भनिन्छ जुन बेला हाम्रो प्रतिरक्षा प्रणालीले आफैं शरीरका सामान्य कोशिकाहरूविरुद्ध ‘स्वतः प्रतिक्रिया’ देखाएर मार्न थाल्छन् । प्रतिरक्षा प्रणालीको अधिक सक्रियता रोकी सन्तुलनमा राख्न हाम्रो शरीरले एक संयन्त्र विकास गरेको छ । क्यान्सर कोशिकाले त्यो संयन्त्रलाई अंगीकार गरेर क्यान्सरको विस्तार र वृद्धिमा प्रयोग गर्छ । खास गरी क्यान्सर कोशिकहरूको सतहमा पाइने पीडीएल प्रोटिनसँग टी–कोशिकाहरूको सतहमा पाइने पीडी–वन फ्रोटिनले अन्तर्त्रिया गर्दा टी–कोशिकाहरूले अवरोध संकेत पाउँछन्, जसले टी–कोशिकाहरूमा निष्क्रियता निम्त्याउँछ । ‘इम्युन चेकप्वाइन्ट ब्ल्केड’ थेरापीमा टी–कोशिकाको सक्रियतामा अवरोध संकेत सिर्जना गर्ने फ्रोटिनहरूलाई बाह्य एन्टिबडीको सहयोगमा अन्तर्त्रिया गर्न दिइँदैन र टी–कोशिकाहरूको क्यान्सर–विरोधी कार्यहरू पुनःस्थापित गरिन्छ ।

सबभन्दा बढी प्रयोगमा ल्याइएको ‘इम्युन चेकप्वाइन्ट ब्ल्केड’ इम्युनोथेरापी विधि मेलानोमा र एक प्रकारको फोक्सोको क्यान्सर लगायत केही ठोस ट्युमरहरूमा सफल साबित भएको छ । छालाको र फोक्सोको क्यान्सर क्रमशः यूबी प्रकाश वा निकोटिनजस्ता कार्सिनोजेनसँगको प्रतिक्रियामा लाग्ने हुँदा यी ट्युमरहरूमा उत्परिवर्तनको मात्र बढी हुन्छ, जसले गर्दा यी क्यान्सरका कोशिकाहरूमा टी–कोशिकाहरूले पहिचान गर्न आवश्यक पर्ने नव–प्रतिजनहरू बन्ने विश्वास गरिन्छ । यसले गर्दा टी–कोशिकाहरूले क्यान्सर कोशिकालाई सहजै पहिचान गर्न सक्छन् र यदि टी–कोशिकालाई इम्युनोथेरापीको माध्यमबाट पुनः सक्रिय गराएमा क्यान्सर कोशिकाहरूलाई निर्मूल गर्न सकिन्छ । कुनै कुनै क्यान्सरमा भने विभिन्न कारणबाट डीएनएमा पर्न जाने क्षतिलाई ठीक गर्ने प्रोटिनहरू आफैं उत्परिवर्तित भएका हुन्छन् । यस्ता क्यान्सरको डीएनएमा उत्परिवर्तनहरूको मात्रा धेरै हुने र धेरै नव–प्रतिजन बन्ने हुँदा टी–कोशिकाहरूलाई सक्रिय बनाउने इम्युनोथेरापी बढी फलदायी हुने विश्वास गरिन्छ । यदि क्यान्सर कोशिकाको डीएनएमा थोरै मात्रामा उत्परिवर्तन जम्मा भएमा उत्परिवर्तित प्रोटिन बन्ने र तीबाट नव–प्रतिजन बन्ने सम्भावना कम रहन्छ, यस्ता क्यान्सरमा इम्युनोथेरापी त्यति प्रभावकारी नहुने ठानिन्छ ।

मलाशय क्यान्सरमा प्रारम्भिक सफलता

अधिकांश तेस्रो चरणमा रहेका मलाशय क्यान्सरका बिरामीहरूमा अमेरिकामा चलिरहेको क्लिनिकल परीक्षणमा ‘डोस्टारलिमाब’ औषधिले शतप्रतिशत बिरामीमा क्यान्सर निको भएको देखिएको छ । यो उपचारका लागि डीएनएमा आउने एक विशेष प्रकारको क्षतिलाई ठीक गर्ने संयन्त्रमा त्रुटि भएका क्यान्सर बिरामीहरू छानिएको थियो । सामान्यतया यस्ता रोगीहरूको क्यान्सर कोशिकाहरूमा उच्च मात्रामा डीएनएमा उत्परिवर्तन जम्मा हुन्छन् । नतिजास्वरूप शरीरको प्रतिरक्षा प्रणालीले प्रतिक्रिया गर्न सक्ने प्रतिजन बन्छन् जसका आधारमा टी–कोशिकाहरूले क्यान्सर कोशिकाहरूको पहिचान गर्न सक्छन् । जब यस्ता बिरामीमा डोस्टारलिमाब आषधि चलाइन्छ, तब टी–कोशिकाहरूको सतहमा हुने पीडी–वन प्रोटिनलाई क्यान्सर कोषिकामा हुने पीडीएल फ्रोटिनसँग अन्तर्त्रिया गर्नबाट रोक्छ, जसले गर्दा टी–कोशिकाहरू पुनः क्यान्सर नस्ट गर्न सक्ने बन्छन् । उक्त दोस्रो चरणको क्लिनिकल परीक्षणमा बिरामीलाई ६ महिनासम्म डोस्टारलिमाब दिइएको थियो र कम से कम अर्को ६ महिनासम्म निगरानीमा राखिएको थियो । उक्त निगरानी अवधिमा विभिन्न विधिबाट परीक्षण गर्दा बिरामीहरूमा क्यान्सरको अवशेष नभेटिएको बताइएको छ ।

प्रायः मलाशयको क्यान्सरका बिरामीलाई पहिले केमोथेरापी वा रेडियोथेरापीबाट उपचार गरिन्छ र पछि मलाशयलाई शल्यक्रिया गरेर फालिन्छ । यस्तो उपचार विधि लगभग २५ प्रतिशत बिरामीमा मात्र प्रभावकारी भएको पाइन्छ तथा ती बिरामीले पीडादायी जीवनयापन गर्नुपर्ने हुन्छ । डोस्टारलिमाबको क्लिनिकल परीक्षणमा भने शतप्रतिशत बिरामीमा सकारात्मक प्रतिक्रिया पाइएको छ । साथै यस परीक्षणमा भाग लिएका बिरामीहरूलाई निगरानी अवधिमा न त शल्यक्रिया गर्नुपरेको छ न त अन्य उपचारको आवश्यकता नै परेको छ । करिब १० प्रतिशत मलाशय क्यान्सरका बिरामीमा मात्र यो उपप्रकारका क्यान्सरका हुने भएकाले धेरै बिरामी यो औषधिबाट लाभान्वित हुने छैनन् । तर यो जस्तो आनुवंशिक पृष्ठभूमि अन्य प्रकारका क्यान्सर बिरामीमा पनि पाइने हुँदा यस औषधिबाट तिनले पनि लाभ लिन सक्ने ठानिएको छ । यो सानो क्लिनिकल परीक्षणबाट प्राप्त नतिजाहरू थप प्रमाणित गर्न अध्ययनको दायरा विस्तार गर्न आवश्यक छ ।

नेपालमा क्यान्सर इम्युनोथेरापी कहिले ?

अझै पनि केमोथेरापी, शल्यक्रिया र रेडियोथेरापीजस्ता परम्परागत उपचार विधिहरूमा सीमित रहेको नेपालमा निकट भविष्यमै क्यान्सररोगीहरूलाई इम्युनोथेरापी उपलब्ध हुने सम्भावना कमै छ । भारतमा समेत इम्युनोथेरापीको प्रयोग प्रारम्भिक चरणमा छ । इम्युनोथेरापीको लागत सामान्यतया हजारौ डलर पर्छ । प्रायः स्वास्थ्य बिमाले इम्युनोथेरापी समेट्दैनन् । तसर्थ, बिरामीहरूले क्लिनिकल परीक्षणहरूमा भाग लिएर यी औषधि प्राप्त गर्छन् । अहिले इम्युनोथेरापीको प्रभावकारिता मूल्यांकन गर्न सयौं क्लिनिकल परीक्षण चलिरहेका छन् र ती अध्ययनका आधारमा विभिन्न क्यान्सरका उपप्रकारहरूमा त्यस्ता औषधि अनुमोदित भएका छन् ।

नेपालका क्यान्सर रोगीहरूलाई यस्ता औषधिको उपलब्धता सुनिश्चित गर्न सरकारले छिट्टै पहल गर्नुपर्छ । विदेशबाट इम्युनोथेरापी आयात गर्दा प्रायः नेपाली क्यान्सर रोगीहरूको खरिद क्षमताभन्दा बाहिर हुन सक्छ । तर, सही नीति बनाएर, नेपाली वैज्ञानिकलाई संलग्न गराएर तथा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाहरूसँग सहकार्य गरेमा यस्ता औषधि नेपालमा सहजै विकास गर्न सकिन्छ । क्लिनिकल परीक्षणमा प्रयोग गरिएको इम्युनोथेरापी औषधि एक चिकित्सीय एन्टिबडी हो । चिकित्सीय गुणस्तरको नबनाए पनि अनुसन्धानमा प्रयोग हुने एन्टिबडी नेपालमा विभिन्न कम्पनीले वर्षौंदेखि उत्पादन गर्दै आएका छन् । धेरै नेपाली वैज्ञानिक तथा डाक्टरहरू विदेशमा चिकित्सीय एन्टिबडीहरूको विकासमा र क्लिनिकल परीक्षणमा संलग्न छन् । यदि यस्ता विशेषज्ञहरूलाई नेपालका उद्यमीहरू तथा अस्पतालहरूसँग जोडेर आवश्यक स्रोत र कानुनको व्यवस्था गरेको खण्डमा नेपालमै इम्युनोथेरापी विकास गर्न सकिन्छ । तत्कालका लागि नेपालले विदेशमा भइरहेका क्लिनिकल परीक्षणहरूमा यहाँका क्यान्सर रोगीहरू भाग लिन सक्ने गरी नीति ल्याउन सक्छ । साथै नेपालजस्ता विकासोन्मुख देशका लागि यी महँगा औषधिहरू सस्तोमा ल्याउन सरकारले लबिइङ गर्न सक्छ ।

मिश्र अमेरिकाको एमआईटीमा कार्यरत क्यान्सर वैज्ञानिक हुन् । उनी दाना–फार्बर/हार्वर्ड क्यान्सर सेन्टर अन्तर्गतको डिम्बग्रन्थि क्यान्सर अनुसन्धान कार्यक्रममा पनि सम्बद्ध छन् ।

प्रकाशित : श्रावण १, २०७९ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?