कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

आबेनोमिक्स र जापानी अर्थतन्त्र

घट्दो जनसंख्याबाट श्रम बजारमा देखिएको संकटलाई कम गर्न महिला रोजगारीलाई बढावा दिएको आबेनोमिक्सले जापानी अर्थतन्त्रलाई बढी खुला बनाउँदै लग्यो । 
सञ्जय आचार्य

गत साता जुलाई ८ का दिन जापानी पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली हानी हत्या गरियो । जापानी जलसेनाका पूर्वसैनिक एक सनकी व्यक्तिले चुनावी सभालाई सम्बोधन गरिरहेका उनलाई पछाडिबाट गोली हानी हत्या गरेको थियो ।

आबेनोमिक्स र जापानी अर्थतन्त्र

हत्या गरिसकेपछि पनि शान्त र सामान्य देखिएको ४१ वर्षीय तेत्सुया यामागामीले सिन्जो आबेको राजनीतिक दल र उसका नीतिहरूप्रति आफूलाई कुनै जानकारी र सरोकार नरहेको तर आफ्नी आमाले सिन्जो आबेसम्बद्ध एक धार्मिक संस्थालाई दिएको आर्थिक सहयोग (डोनेसन) ले परिवारमा आर्थिक संकट आइपरेकाले प्रतिकारस्वरूप आबेलाई गोली हानेको प्रतिक्रिया दिएको जापानी समाचारपत्र क्योदो न्युजले लेखेको छ । उसले केही महिनादेखि उक्त धार्मिक संस्थाका कार्यकारीहरूलाई आक्रमण गर्ने योजना बनाएको तर पछि आफ्नो प्रयास सिन्जो आबेतर्फ सोझ्याएको रहेछ । आबेलाई गोली हान्ने योजना बुनिरहेको यामागामीले अघिल्लो दिन मात्रै ओकायामा सहरको चुनावी सभामा पनि उक्त प्रयास गरेको बताएको छ तर नारा सहरमा भने उसले त्यो दुर्घटना गराउन सकेको देखिन्छ । जापानमा गोलीकाण्ड बिरलै हुने गर्छ त्यहाँ स्वचालित बन्दुक राख्ने अधिकार पनि सामान्यतया नागरिकलाई हुँदैन । त्यहाँ सन् २०२१ मा गोली लागेर एक जनाको हत्या भएको थियो भने त्यही साल अमेरिकामा ४५ हजार जनाको गोली काण्डमा ज्यान गएको थियो ।

जापानमा दोस्रो विश्वयुद्धपछि सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेका एक उदीयमान राजनेताको यो अप्रत्याशित अवसानले जापानी अर्थतन्त्र र राजनीतिमा आबेको भूमिका र नीतिहरू के थिए भन्ने प्रश्न धेरैको मनमा उब्जिएको छ । यस आलेखमा यसैको बारेमा प्रकाश पार्ने जमर्को गरिएको छ ।

जापानी राजनीतिमा सिन्जो आबे

सिन्जो आबेको परिवार नै राजनीतिक पृष्ठभूमिको थियो । उनका हजुरबुबा निसी नोबुसुके सन् १९५७ देखि १९६० सम्म जापानका प्रधानमन्त्री थिए भने बुबा सिनतारो आबे सन् १९८२ देखि १९८६ सम्म जापानका विदेशमन्त्री । जापान र अमेरिकामा शिक्षा प्राप्त सिन्जो आबे १९८० मा लिबरल डेमोक्र्याटिक पार्टीसँग जोडिए र सन १९८२ मा आफ्नै बाबु विदेशमन्त्री हुँदा उनको सचिव बने । त्यसपछि उनले आफूलाई पूर्ण रूपले पार्टी जीवनमा समर्पित गरे । तर सन् १९८० दशकको उत्तरार्द्धदेखि जापानी राजनीतिले कुनै लय पक्डिएको थिएन । सन् १९८७ देखि २०१२ सम्मको २५ वर्षको अवधिमा जापानमा १८ बटा सरकार प्रमुखहरू भए । सन् २००६ मा प्रधानमन्त्री जुनिचिरो कोइजुमीको कार्यकाल समाप्त भएपछि आबे पार्टी नेतृत्वमा पुगे । लिबरल डेमोक्र्याटिक पार्टीले सरकारको नेतृत्व गरिरहेको हुनाले आबे प्रधानमन्त्री बने । तर यो पहिलो कार्यकाल उनका लागि त्यति सुखद रहेन । प्रधानमन्त्री भएको एक वर्षमै उनले स्वास्थ्यको कारणले राजीनामा दिए । सन् २०१२ मा भएको निर्वाचनमा फेरि लिबरल डेमोक्र्याटिक पार्टीले चिनाव जितेपछि उनी दोस्रो पटक प्रधानमन्त्री बने ।

दोस्रो पटक सत्तामा आउँदा आबेका अघिपछि समस्यैसमस्या थिए । जापानी अर्थतन्त्रमा छाएको मन्दीबाट मुलुकलाई कसरी बाहिर ल्याउने भन्ने पुरानै समस्या थियो भने २०११ को मार्चमा तोहोकु क्षेत्रमा आएको भीषण सुनामी र भूकम्पले जापानमा आणविक विकिरणको समस्या पनि थपिएको थियो । आबेले पहिला तोहोकु प्रिफेक्चरको पुनर्निर्माणको कार्यक्रम बनाए भने त्यसै अन्तर्गतको मौद्रिक र वित्तीय रणनीतिलाई केन्द्रीय सरकारको आर्थिक नीतिको रूपमा विकास गरे, जसलाई समयक्रममा आबेनोमिक्स भन्न थालियो । जापानी राजनीतिमा उनको नेतृत्वले लामो समयदेखि खड्किरहेको आवश्यकता पूर्ति गर्‍यो । त्यहाँको अस्थिर राजनीतिक परिवेशलाई सिन्जो आबेले तोडे । जापानले आठ वर्ष एउटै नेताको नेतृत्व पायो । त्यो पनि स्वास्थ्यको कारणले उनी आफैंले नेतृत्व हस्तान्तरण गरेका थिए ।

आबेले आफूलाई एक राष्ट्रवादी नेताको रूपमा उभ्याए । दोस्रो विश्वयुद्धपछि जापानको ओकिनावा टापुमा तैनाथ अमेरिकी सैनिकहरूलाई बिस्तारै फिर्ता गर्नेतर्फ राजनीतिक पार्टीहरूको बीचमा बहस सुरु गराए । जुनिचिरो कोइजुमी सरकारका पालामा मन्त्री बनेका आबेले झन्डै दुई दशकअघि उत्तर कोरियाले बन्धक बनाएका दर्जनौं जापानीहरूलाई कूटनीतिक प्रयासले घर फिर्ता गराए भने उत्तर कोरियाले बारम्बार जापानी समुद्रमा परीक्षण गर्ने आणविक अस्त्रलाई निस्तेज गराउन जापानी आत्मरक्षा सैनिक शक्ति (सेल्फ डिफेन्स फोर्स) लाई सक्रिय बनाउने प्रस्ताव अघि सारे । यी प्रस्तावहरूमा व्यापक घरेलु समर्थन पाएका उनी चिनियाँ मामिलामा भने विवादित बने । जापानी नियन्त्रणमा रहेको चीनमा कार्यरत जापानी सैनिकहरू, जो समयक्रममा मारिए, को सम्झनामा बनेको यासुकुनी बौद्ध मन्दिरमा दर्शन गर्न गएपछि चीनसँग उनको सम्बन्ध बिग्रियो र यस घटनाको धेरैतिरबाट आलोचना पनि भयो । तर उत्तर कोरिया, अमेरिका र चीनसँगको नीतिका कारण उनी एक राष्ट्रवादी नेताको रूपमा भने चिनिए ।

आबेनोमिक्स

पहिलो पटक सन् २००६ मा प्रधानमन्त्री बनेका आबेको उक्त कार्यकाल केवल एक वर्षको मात्रै रह्यो । दोस्रो कार्यकाल सन् २०१२ बाट सुरु भयो जसमा उनी नयाँ सोच र कार्यक्रमका साथ आए । सन् २००० को सुरुआती समयदेखि नै जापानी अर्थतन्त्रमा समस्याहरू देखापरिसकेका थिए । त्यहाँ घट्दो जनसंख्या, जापानी मुद्रा येनको बढ्दो विनिमय दर र घट्दो निर्यात, घरेलु बजारमा घट्दो मूल्य स्तर,

बढ्दो बेरोजगारीजस्ता समस्याहरूले जापानी अर्थतन्त्रको मन्दी लामो र पीडादायक बनेको थियो । सन् २०११ को सुनामी र आणविक दुर्घटनाले लामो आर्थिक मन्दीलाई झन् कष्टकर बनायो । यिनै समस्याहरूको भुमरीभित्र सन् २०१२ को आम निर्वाचनमा लिबरल डेमोक्र्याटिक पार्टीले सानदार बहुमत प्राप्त गरेपछि उनी दोस्रो पटक प्रधानमन्त्री बने । आबेको दोस्रो सत्तारोहण केही नयाँ सोच र कार्यक्रमहरूका साथ आयो । उनको सुधार कार्यक्रमहरूको उद्देश्य दस वर्षमा जापानीको प्रतिव्यक्ति आय १५ हजार डलरले वृद्धि गर्ने लक्ष्य राखियो । यसका लागि जापानी नागरिकहरूको खुद आय (कर तिरिसकेपछिको) वार्षिक ३ प्रतिशतले वृद्धि हुनुपर्ने देखियो । आबेले यसका लागि तीन प्रमुख नीतिहरू अगाडि सारे:

१) खुकुलो मौद्रिक प्रणाली : यस अन्तर्गत आबे सरकारले अर्थतन्त्रमा मुद्राप्रदाय वृद्धि गरेर ब्याजदर घटाउने नीति लियो । ब्याजदरलाई झन्डै शून्यको स्तरमा राखियो भने वास्तविक ब्याजदर ऋणात्मक बन्यो । बढ्दो मुद्राप्रदाय (बजारमा छोडिएको मुद्रा, वाणिज्य बैंकहरूले केन्द्रीय बैंकमा राख्नुपर्ने अनिवार्य मौज्दात, र वासलातमा गणना गरिएको लामो अवधिको सरकारी ऋणपत्र) ले बिस्तारै येनको विनिमय दर घट्ने आशा गरियो ।

२) अप्रत्यक्ष करका दरहरूलाई बढाइयो । यसबाट वस्तु र सेवाको मूल्य बिस्तारै उकालो लाग्न थाल्यो । वार्षिक दुई प्रतिशतको मूल्य वृद्धिको लक्ष्य राखियो । सरकारी राजस्वमा भएको बढोत्तरीले पूर्वाधारमा लगानी बढायो भने बढ्दो सार्वजनिक ऋणलाई नियन्त्रण गर्‍यो ।

३) वैदेशिक लगानीमा गएका धेरै जापानी कम्पनीहरूलाई जापानमै उत्पादन गरेर निर्यात गर्नेतर्फ प्रोत्साहिन गरियो । घट्दो जनसंख्याबाट श्रम बजारमा देखिएको संकटलाई कम गर्न महिला रोजगारीलाई बढावा दिइयो भने दक्ष कामदारहरूलाई जापानमा रोजगारीका लागि केही खुकुलो बनाइयो । आबेनोमिक्सको यो तेस्रो स्तम्भले जापानी अर्थतन्त्रलाई बढी खुला बनाउँदै लग्यो ।

रूपमा यी तीन नीतिहरूलाई आबेनोमिक्स नाम दिइए पनि सारमा जापानी बजारमा घट्दो मूल्यस्तरलाई नियन्त्रण गरी आर्थिक वृद्धि दरलाई माथि उकास्ने आबेनोमिक्सको प्रमुख उद्देश्य थियो ।

सन् २०१० दशकको सुरुआती वर्षहरूसम्म जापानी अर्थतन्त्रका मूलभूत समस्याहरू अर्थतन्त्रको संरचनागत समस्या हुन् कि गलत मौद्रिक नीतिहरूसँग सम्बन्धित छन् भन्नेमा जापानी अर्थशास्त्री र नीति निर्माताहरूका बीचमा लामो विवाद र छलफलहरू हुने गर्थे । तर आबेनोमिक्सले यी समस्याहरूलाई गलत मौद्रिक नीतिहरूको दृष्टिकोणबाट हेर्‍यो । बैंक अफ जापान (केन्द्रीय बैंक) ले शून्य ब्याजदरका साथै कुल मुद्राप्रदायलाई दोब्बर गरायो ।

यी नीतिगत प्रयासहरूसँगै केही परिवर्तनहरू पनि देखापरेका छन् । आबेनोमिक्सका नीतिहरू लागू भएपछि सुरुआती वर्षहरूमा जापानी मुद्रा येनको विनिमय दर केही अवमूल्यन भयो तर पनि अन्तर्राष्ट्रिय व्यापारमा खासै सुधार भने भएन । कर्पोरेट मुनाफामा व्यापक वृद्धि भयो तर त्यसले लगानीमा कत्तिको सुधार गर्‍यो भन्ने विश्लेषण हुन बाँकी नै छ । अप्रत्यक्ष करहरूमा गरिएको वृद्धिले घरेलु मागलाई तल झार्‍यो तर कच्चा पदार्थको रूपमा प्रयोग हुने वस्तुहरूको उत्पादन बढ्न गै आर्थिक गतिविधिहरूमा केही बढोत्तरी भयो र ज्यालादर पनि बढ्न थाल्यो । बर्सेनि लाखौं महिलाहरू श्रम बजारमा थपिँदै आए । महत्त्वपूर्ण उपलब्धि भनेको बेरोजगारीको स्तर केही वर्षमा साढे तीन प्रतिशतमा झर्‍यो ।

आबेनोमिक्सको प्रभाव

आबे सरकारको यी दीर्घकालीन रणनीतिहरूको निर्माण केही वरिष्ठ जापानी अर्थशास्त्रीहरूले गरेका थिए । येल विश्वविद्यालयका प्राध्यापक कोइची हामादा यसका प्रमुख डिजाइनर थिए ।

पर्यटन क्षेत्रले भने सोचेजस्तो रूपले गति लिन सकेन । सन् २०१४ देखि आर्थिक गतिविधिहरू फेरि सुस्ताउन थाले भने सन् २०२० को वर्ष आउँदा नआउँदै कोरोना संकट आइलाग्यो । बर्सेनि विदेशी पर्यटकको संख्या दोब्बर बनाउँदै लैजाने योजना पनि सफल हुन सकेन ।

बेरोजगारीको दरलाई तल झार्न आबेका नीतिहरूले काफी हदसम्म सफलता प्राप्त गरे तर बजारमा दक्ष कामदारहरूको भन्दा पनि अदक्ष र अर्धदक्ष कामदारहरूको रोजगारी वृद्धि भयो जसले आर्थिक असमानता बढाउँदै लग्यो । अर्कोतिर आर्थिक गतिविधिहरू ज्ञान अर्थतन्त्र (नलेज इकोनोमी) को दिशामा लक्षित भएनन् जसले गर्दा उत्पादन वृद्धिसँगै निर्यातमा ठोस सुधार हुन सकेन । कामदारहरूको संख्यात्मक वृद्धि भए पनि रोजगारीमा सुरक्षाको प्रत्याभूति हुन नसकेको कतिपयले टिप्पणी गरेका छन् । तर आबेनोमोक्सले यसलाई फरक दृष्टिकोणबाट हेरेको छ । पूर्ण बेरोजगार र अर्ध बेरोजगारलाई श्रम बजारमा ल्याउनु ठूलो उपलब्धि हो । सुरुको समयमा निश्चय नै यसले अस्थायी र कम ज्यालादरका रोजगारीहरू सिर्जना गर्छ । रोजगारीलाई नियमित र कामदारलाई दक्ष बनाउने दोस्रो चरणका प्राथमिकता हुनुपर्छ ।

प्राध्यापक कोइची हामादा भने आबेनोमिक्सका धेरै सकारात्मक प्रभावहरू देख्छन् । श्रम बजारमा भर्खर प्रवेश गर्नेहरूका लागि वातावरण अस्थिर र कठिन हुनु स्वाभाविक छ । यो सबै आर्थिक गतिविधिहरूमा लागू हुन्छ । उनका विचारमा औद्योगिक सुधार र लैंगिक समानता मूलतः कठोर राजनीतिक प्रतिबद्धताबिना पूरा हुन सक्दैनन् । जापानी स्टक मार्केट (निक्केई) मा आएको सुधार नै आबेनोमिक्सको सुरुआती सफलता हो । सन् २०१२ मा ९ हजार को हाराहारीमा रहेको निक्केई सूचकांक सन् २०१५ मा २० हजार नाघेको थियो । साथै विगत ३० वर्षमा पहिलो पटक लगातार आठ चौमासिकहरूमा जापानी आर्थिक वृद्धिदर धनात्मक बन्न पुगेको थियो । कोरोना महामारीसँगै मात्र जापानी अर्थतन्त्र केही शिथिल हुन पुगेको हो यसलाई विश्व अर्थतन्त्रमा परेको प्रभावको रूपमा हेर्नुपर्छ ।

जे होस् एक सनकी सैनिकको हातबाट अप्रत्याशित मृत्युवरण गरेका सिन्जो आबेको निधनले अत्यन्त शान्त र अनुशासित समाजमा अपराधहरू कुन शिराबाट कसरी प्रवेश गर्छन् भन्ने मात्रै देखाएको छैन सुरक्षित समाजमा पनि सुरक्षा सतर्कता अनिवार्य हुन्छ भन्ने सन्देश पनि दिएको छ । साथै लामो आर्थिक मन्दीबाट गुज्रिएको विश्वको एक विशाल अर्थतन्त्रलाई संकटबाट बाहिर निकाल्ने राजनेता आबेलाई आबेनोमिक्सको अवधारणाबाट विश्वले सम्झिरहनेछ ।

आचार्य त्रिविमा अर्थशास्त्रका प्राध्यापक हुन् ।

प्रकाशित : श्रावण १, २०७९ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?