कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फोहोर व्यवस्थापनमा नागरिकको साथ

फोहोर व्यवस्थापनको दीर्घकालीन तरिका भनेको स्रोतमै कुहिने र नकुहिने गरी फोहोर छुट्याउने र त्यसको पुनर्प्रयोग नै हो । फोहोरलाई आम्दानीको स्रोत बनाउनु पनि उत्तिकै जरुरी छ ।
शान्ता मरासिनी

गत फागुनदेखि नउठेको फोहोर जेठको अन्तिम साता बल्ल उठ्ने वातावरण बन्यो । तत्कालका लागि समस्या टरे पनि फोहोर व्यवस्थापनका क्षेत्रमा धेरै काम गर्न बाँकी छ, केही भई पनि रहेको छ ।

फोहोर व्यवस्थापनमा नागरिकको साथ

पछिल्लो समय काठमाडौं महानगरसँगै देशैभरिका सहरहरूको फोहोर व्यवस्थापनबारे निकै चर्चा भइरहेको छ, महनगरले यस्तोयस्तो काम गर्नुपर्छ भन्ने उपाय पनि सुझाइन्छ । तर फोहोर व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी महानगरको मात्र होइन । हरेक नागरिकले यसका लागि आआफ्नोतर्फबाट जिम्मेवारीका साथ काम गर्नुपर्छ ।

फोहोर व्यवस्थापन बहुआयामिक र अन्तरसम्बन्धित विषय हो । अहिले विशेष गरी सहरी क्षेत्रका पालिकाहरूलाई यो चुनौती बनिरहेको छ । बस्ती विकास हुँदै छन् । फोहोर थन्काउने ल्यान्डफिल साइट र मानव बस्तीको दूरी साँगुरिँदै गएको छ । यसको अर्थ मानिसले आफूले उत्सर्जन गरेको फोहोर आफैं व्यवस्थापन गर्नुपर्छ । तर धेरैलाई फोहोर व्यवस्थापन नगरपालिकाले गर्छ भन्ने भ्रम हट्न सकेको छैन । र, यो भ्रम नै पालिकाको पनि टाउको दुखाइको विषय बन्दै गइरहेको छ । हाम्रो सबैभन्दा ठूलो कमजोरी भनेको घरघरमा फोहोर व्यवस्थापन गर्न नसक्नु नै हो । प्रत्येक व्यक्ति संवेदनशील नहुँदा यस्तो भएको हो । फोहोर घरबाहिर वा बाटामै फाल्ने असभ्य संस्कृति छ हाम्रो । फलफूल पसल गर्छौं, फोहोर बाटामै थुप्य्राउँछौं । फोहोर लुकाउनुपर्‍यो भने पोका पारेर गल्लीमा फाल्छौं ।

काठमाडौंको हकमा, वर्षौंअघिदेखि नुवाकोटको बन्चरेडाँडामा यहाँका फोहोर थुपारिँदै आइएको छ । यहाँका सबै पालिका मिलेर फोहोर व्यवस्थापन गर्न सकेका छैनन्, यदि संयुक्त रूपमा काम गर्ने हो भने उपत्यकाका सबै पालिकाले एउटै योजना बनाउनुपर्छ । अर्को ल्यान्डफिल साइट फोहोर व्यवस्थापनको असाध्यै महँगो तरिका पनि हो । यसको निर्माण र सञ्चालनका लागि निकै ठूलो रकम खर्च गर्नुपर्छ । अहिले तत्काल यसलाई विस्थापित गर्न नसके पनि क्रमशः यसलाई हटाउँदै लौजानुपर्छ ।

फोहोर व्यवस्थापनको दीर्घकालीन तरिका भनेको स्रोतमै कुहिने र नकुहिने गरी फोहोर छुट्याउने र त्यसको पुनर्प्रयोग नै हो । नागरिकले कुहिने र नकुहिने फोहर छुट्याए महानगरले पनि छुट्टाछुट्टै गाडीमा लैजान्छन् । अहिले महानगरले दुवै फोहोर एउटै गाडीमा हालेर लैजाने गरेको देखिन्छ, त्यसैले पनि नागरिकले फोहोर छुट्ट्याउन अल्छी गरिरहेका छन् । अब फोहोर लिनका लागि दुई प्रकारका गाडीको व्यवस्था गर्नुपर्छ अथवा सातामा दुई दिन फोहोर लिने गरेको छ भने फरकफरक दिन कुहिने र नकुहिने फोहोरका लागि गाडी पठाउनुपर्छ । टोलटोलमा फोहोरका लागि कन्टेनर राख्दा, दुवै खालको राख्नुपर्छ । स्रोतमै फोहोरलाई छुट्याउन सकियो भने कुहिनेलाई जैविक मलका रूपमा प्रयोग गर्न सकिन्छ । औषधिजन्य फोहोरलाई विश्व स्वास्थ्य संगठनको मापदण्डअनुरूप सुरक्षित व्यवस्थापन गर्नुपर्छ । ल्यान्डफिल साइटमा जैविक मल बनाउने कारखाना स्थापना गर्ने योजना ल्याउनुपर्छ । मललाई काठमाडौं नजिकका खेतीयोग्य जमिन भएका भक्तपुर, नुवाकोट, काभ्रेपलाञ्चोक, धादिङ लगायत जिल्लामा बिक्री गर्न सकिन्छ ।

अन्य देशमा पनि सकेसम्म स्रोतमै फोहोर छुट्याइन्छ । भारतको विभिन्न सहरहरूमध्ये गुजरातलाई सफा सहरका रूपमा चिनिन्छ । जहाँ समुदाय र टोलस्तरमा फोहोर व्यवस्थापन गर्नेलाई महानगरले नगद अनुदान दिने गर्छ । कम्पोस्ट मल बनाउने प्लान्टहरू स्थापना गरिएका छन् । फोहोर संकलन गर्न सार्वजनिक निजी साझेदारीको मोडेल अपनाइएको छ । यी सबै काम प्रभावकारिताका साथ सम्पन्न गर्न महानगरको ५० प्रतिशत, केन्द्र सरकार र प्रदेश सरकारको २५/२५ प्रतिशत सेयर तोकी प्राधिकरण गठन गरिएको छ, यसले बनाउने नियमको कडाइका साथ पालना गरिन्छ । नागरिकको पनि यस्ता योजनालाई साथ दिन्छन् । यस्तो नीतिका कारण गुजरात नमुना सहर बन्न पुगेको हो । पछिल्ला वर्षहरूमा गुजरातवासीहरूले सफा सहरको अवधारणालाई संस्कृति नै बनाइसकेका छन् । बालबालिकाले पनि आमाबाबुले गाडीमै केरा खाए बोक्रा ब्यागमा राख्न सुझाउँछन् ।

युरोपको स्विडेनले छिमेकी देशसँग फोहोर किनेर ऊर्जा उत्पादन गर्छ । फोहोर पुनर्चक्रण गरेर वार्षिक १० करोड डलर कमाउँछ र त्यहाँ एक प्रतिशत फोहोर मात्र ल्यान्डफिल साइटमा जान्छ भनिन्छ । हालैको एक अनुसन्धान अनुसार बंगलादेशको ढाका सहरको ५० प्रतिशत मात्र फोहोर उठ्छ । त्यहाँ महानगरको संकलन क्षमता ७६ प्रतिशत मात्र रहेको छ । स्रोतमै फोहोर व्यवस्थापन गर्ने कामलाई त्यहाँको सरकारले प्राथमिकता दिइरहेको छ । फोहोर व्यवस्थापका लागि नागरिकको बानी सुधारेर त्यसलाई आम्दानीको स्रोत बनाउन हामीले पनि यस्ता प्रयासहरू अनुसरण गर्नु जरुरी छ ।

काठमाडौंको फोहोरको व्यवस्थापन दिगो रूपमा गर्छु भन्नेहरूको कमी छैन । पहिलेका जनप्रतिनिधिहरूले पनि यसै भन्थे तर काम हुन सकेन । अब भने नागरिक पनि फोहोर व्यवस्थापनका योजनामा सजग भए, पालिकालाई साथ दिनुपर्छ । नवनिर्वाचित जनप्रतिनिधिहरूको पनि अब मुख्य कार्यभार फोहोर व्यवस्थापन हुनुपर्छ ।

फाहोरको दीर्घकालीन समाधानका विविध पक्षका बारे विश्वविद्यालय/अनुसन्धान केन्द्रबाट गतिलो अध्ययन हुनुपर्छ । काम गर्दैगर्दा पनि त्यस्ता अध्ययन काम लाग्छ । महानगरले पनि फोहोर व्यवस्थापका पक्षबारे विविध अध्ययन गर्नु आवश्यक छ । त्योबाहेक नागरिकलाई कसरी फोहोर व्यवस्थापनमा सँगै लैजाने भन्नेमा पनि उत्तिकै काम गर्नुपर्ने देखिन्छ । फोहोर संकलनका लागि क्रियाशील जनशक्तिको सेवा सुविधा र सुरक्षाको व्यवस्था गर्नुपर्छ । घरमै फोहोर व्यवस्थापन गर्नेलाई नगद अनुदान दिन सकिन्छ । वडातहमै फोहोर व्यवस्थापन प्रोत्साहन गर्न सामूहिक सरसफाइ अभियानलाई व्यापक बनाउनुपर्छ ।

प्रकाशित : असार ३१, २०७९ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?