कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘वीरताको चिनो, वीरको सन्तान’

दार्जिलिङमा कथिएको नेपालीत्वको संकथन टिपेर पञ्चायती सत्ताले आफ्नो सबैभन्दा बलियो र प्रभावी भाष्य बनाएर प्रसार गर्‍यो ।
उज्ज्वल प्रसाई

करिब दुई दशक पहिलेको घटना हो । काँकरभिट्टा बसपार्क छेउको सार्वजनिक जमिन निजीमा रूपान्तरण गर्ने जबर्जस्त प्रयत्न भए । विवादमा पारिएको खाली जमिनको एक अंशमा बगैंचा बनाउने र त्यहाँ महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक स्थापना गर्ने योजना बनाइयो ।

‘वीरताको चिनो, वीरको सन्तान’

जमिन हडपिएला भन्ने भयले हुन सक्छ, हतारहतार ठिक्क उचाइ भएको सिमेन्टको खाँबो उभ्याइयो र त्यसमाथि देवकोटाको सानो आकारको अर्धकद सालिक राखियो । नामकरण गरियो- देवकोटा पार्क । इँटा रङको त्यो सानो मूर्ति परबाट हेरेर कसको भनी ठम्याउन गाह्रो हुन्थ्यो ।

देवकोटा बास गराइएको सार्वजनिक जग्गामा आफ्नै नाउँ लेखाउन चाहनेमध्ये कसैले होला, एक रात त्यो सानो सालिकमा हथौडा बजारेछ । सबेरै बसपार्कतिर पुग्ने मान्छेले देखे, सिमेन्टका साना देवकोटा घाइते भई पल्टेका छन् । त्यस्तो ‘नकाम गर्ने अपराधी’ पत्तो लगाउनुपर्ने र सजाय दिनुपर्ने भन्दै विरोध गरियो । दिउँसो जुलुस निकालियो, आइन्दा यस्ता अपराध गरे गहकिलो प्रतिकार हुने चेतावनीसहित जुलुसले काँकरभिट्टा बजार परिक्रमा गर्‍यो । जुलुसमा सहभागी हुन करिब २० किलोमिटर पर बस्ने प्राज्ञिक व्यक्तित्व दान खालिङलाई निम्त्याइयो । सम्भवतः नजिकैको धुलाबारी क्याम्पसमा कक्षा लिन आएका खालिङलाई उनका विद्यार्थीले जुलुसमा सहभागी गराएका थिए ।

जुलुसपछि काँकरभिट्टा माविको प्राङ्गणमा आयोजित सानो सभालाई खालिङले सम्बोधन गरे । अलिकति परिहास, थोरै व्यङ्ग्य, र काँकरभिट्टावासीलाई चुनौती दिँदै उनले भने, ‘भन्ने बेलामा महाकवि भन्ने ! महा भनेको त ठूलो होइन, एकदम ठूलो ? हाम्रो सारै ठूलो कवि भनेको होला नि महाकवि भनेर, हैन ? अनि बनाउने बेलामा चैं इत्रु पितुर्के मूर्ति बनाउने ? त्यसैले हेपेर फुटाइदिएछ कुन फटाहाले ! महाकवि भनेपछि त यत्ति ठूलो हेमानको अग्लो मूर्ति बनाउनु, अनि कसैले छुने आँटै गर्दैन नि !’ ‘इत्रु पितुर्के’ भन्दा खालिङले आफ्ना दुई औंलाले संकेत गरेका थिए भने ‘हेमानको यत्ति ठूलो’ भन्दा दुई हातले फराकिलो आयातन बनाएर देखाएका थिए ।

खालिङको व्यङ्ग्यले छोएर हो कि, केही वर्षको अन्तरालमा काँकरभिट्टामा धमाधम अग्ला, ठूला र परैबाट चिनिने सालिकहरू स्थापना गरिए । कालो कोट पहिरिएका अग्ला र सुकिला देवकोटा पुरानै थान्कामा उभिए, दक्षिणतिर कलेजको प्राङ्गणमा भानु आफ्नो परिचित टोपीसहित खडा भए । खालिङ सरले भनेझैं त्यसउप्रान्त न देवकोटा, न भानु, हेमानका सालिकमा हथौडा बजार्ने दुःसाहस कसैले गरेको छैन । यी कोही घाइते भएका छैनन् ।

यस भेगमा ठूला सालिक स्थापना गर्नुअघि जान्नेसुन्नेहरू सधैं भन्थे, ‘ऊ त्यहाँ पर नक्सलबारीमा भानुको सालिक छ, सिलिगुढीमा त दुदुइटा छ । माथि दार्जिलिङको चौरास्तामा झन् कति राम्रो सालिक छ । त्यहाँ त अझ भानु जयन्तीमा रामायण पाठ गरेर धुमधाम कार्यक्रम गर्छन् । हाम्रातिर कसैलाई चासो छैन, राष्ट्रियता सारै कमजोर भो ।’ अरू कसैले सिक्किम र असममा देखेका भानुका कथा हाल्थे । कोहीकोही भने बंगालतिरका बंगाली कलाकारले बंगाली नै जस्तो देखिने भानुको मूर्ति बनाएको भनेर गुनासिन्थे । नेपाली भाषामा रुचि भएका र साहित्यबारे गफ गर्न मन पराउने शिक्षकहरू यताका विद्यार्थीलाई भानु देखाउन पारि भारत लैजान्थे । मैले पनि पहिलो पटक भानुको सालिक नक्सलबारी बजारको सिरानमै देखेको हो ।

त्यसो त दान खालिङ पनि भारतकै दार्जिलिङको सुकेपोखरीमा जन्मेर हुर्के–बढेका थिएÙ बीपी कोइरालाबाट प्रभावित भएर सातसाले क्रान्तिमा सामेल हुन नेपाल आए । आफ्नो न्वारानको दानियल नामलाई दानमा रूपान्तरण गरिदिने लक्ष्मीप्रसाद देवकोटा हुन् भनेर उनैले सुनाएथे । राणा शासनको अन्तपछि उनी साहित्य र अध्यापनमा लागे, दार्जिलिङ आउजाउ गरिरहे । प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ बनेर केही समय काठमाडौं बसेका उनलाई यहाँ त्यति न्यानो व्यवहार गरिएन भनिन्छ । शक्तिकेन्द्रमा आसन जमाएर बसेका लेखक र प्राज्ञहरूले उनलाई दार्जिलिङे बाहिरिया भनेर हेपे भन्नेहरू अहिले पनि भेटिन्छन् । उनी झापा फर्किए । धेरै वर्ष पढाए, साहित्यमा रुचि भएकालाई हौस्याए, र लेखे । जीवनको उत्तरार्द्धमा बुढ्यौली र रोगले थलिएपछि उनी सिलिगुढी बस्ने बहिनी र आफन्तकातिर गए । जीवनको उर्वर समय नेपालमा बिताएका खालिङ सर दार्जिलिङ पुगेरै बिते ।

खालिङ सर जन्मेको र बितेको दार्जिलिङमै कथिएको हो नेपालीत्वको संकथन । त्यही टिपेर पञ्चायती सत्ताले आफ्नो सबैभन्दा बलियो र प्रभावी भाष्य बनाएर प्रसार गर्‍यो । इतिहासवेत्ताहरूले यसबारे खोजबिन गरेर प्रशस्त प्रमाण प्रस्तुत गरिसकेका छन् । बलभद्रीय वीरताको गाथा रच्ने र भानुभक्तलाई राष्ट्रिय प्रतीकका रूपमा फैल्याउने उपक्रमबारे इतिहासकार प्रत्यूष वन्तका केही लेखहरू पढे पुग्छ । हिन्दी र मराठी, गुजराती र कन्नडजस्ता अनेक भाषाले आफ्नो पहिचान र सामर्थ्य प्रकट गरेको देखेका नेपालीभाषी दार्जिलिङे विद्वान्ले ‘नेपाली साहित्य सम्मेलन’ जस्ता अनुष्ठान रचेर गरेका कामबारे प्रशस्त लेखिइसकिएको छ । गोर्खे र पर्वते भनेर चिनिने भाषालाई भारतमा नेपाली भनाउन गरेको प्रयत्न पनि कम रोचक छैन ।

उहिले दार्जिलिङमा सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला, पारसमणि प्रधान (सूधपा) लगायतले हुर्काएको नेपाली राष्ट्रवादको प्रभाव खालिङ सरमा पनि जबर्जस्त उपस्थित थियो । त्यसभन्दा अलग रहेर उनले केही लेखेको वा बोलेको सम्झना छैन । खालिङ सरभन्दा धेरै पछि सन् ७०, ८० र ९० को दशकमा भारतका विभिन्न ठाउँबाट शिक्षित र दीक्षित भएर आउने थुप्रै नेपालीभाषी लेखक, शिक्षक, पुजारी, पत्रकार, राजनीतिक कार्यकर्ता र अरू पेसा–व्यवसायका आम मान्छेले सोही संकथनका प्रभाव लिएर आए । भारतमा प्रवासी वा अल्पसंख्यक नागरिकका रूपमा तिनले आफ्नो पहिचानका लागि संघर्ष गर्न बनाएका अनेक प्रतीक र चिह्नका महत्ता यता आएर पनि गाइरहे । दौरा–सुरुवालको महत्त्वबारे सधैं चनाखो भइरहे, नेपाली भाषाको श्रीवृद्धिका निम्ति चिन्तातुर रहिरहे, रीतिथिति र चाडपर्वका महत्ताप्रति उसैगरी हुरुक्क बनिरहे ।

विक्रम संवत्को पचासको दशकमा काँकरभिट्टाका विद्यालयमा अध्यापन गराउने नेपाली भाषा र साहित्यका शिक्षकहरू प्रायः भारतमै हुर्केका र पढेकाहरू थिए । अंग्रेजी पढाउनेहरू उताबाट आउनु त झन् सामान्य नै भइहाल्यो । कोही असमका कलेजमा नेपाली साहित्य मेजर बनाएर बीए गरेका थिए भने, कोही नक्सलबारीबाटै टेम्पो चढेर यता आएर नेपाली पढाउनेहरू थिए । त्यसै गरी नेपाली साहित्यमा एमए गरेर प्राज्ञिक व्यक्तित्वको पहिचान बनाएका धेरै मान्छे सिलिगुढीको उत्तर बंगाल विश्वविद्यालयबाट डिग्री हासिल गर्नेहरू थिए । कतिपय यी शिक्षक अहिलेसम्म स्थानीय शिक्षण संस्थामा कार्यरत नै छन् । यी सबैमा दार्जिलिङ र असमजस्ता ठाउँमा खिपिएको भाषा, राष्ट्र, पहिचान र जातीयताको बुझाइ जब्बर छ ।

त्यति मात्र होइन, रूपनारायण सिंहको ‘भ्रमर’ र अच्छा राई रसिकको ‘लगन’ बाट नेपाली साहित्यको पहिलो परिचय पाउनेको संख्या पूर्वी नेपालमा उल्लेख्य छ । सहजै उपलब्ध र सजिला साहित्यमा प्रकाश कोविद र सुवास घिसिङ पढेर हुर्कनेको संख्या पनि नगण्य छैन । कोविदहरूबाट प्रभावित भएर साहित्य लेख्न सुरु गर्नेहरू पनि धेरै होलान् भन्ने सहजै अनुमान गर्न सकिन्छ । अगमसिंह गिरिका गीत र कविता गाएर हुर्कनेहरू झन् कतिकति । अम्बर गुरुङ र गोपाल योञ्जनहरूले पञ्चायतको इच्छा बमोजिम नेपाली राष्ट्रवाद प्रवर्द्धन गर्न बनाएका गीतसंगीत अद्यापि पूर्वी नेपाल र उत्तरपूर्वी भारतका नेपाली बस्तीमा उत्तिकै प्रख्यात छन् । पछिल्ला दशकमा तुलसी घिमिरेका सिनेमा र गीतबाट प्रसारित उस्तै राष्ट्रवादको प्रभाव पनि छँदै छ । ‘वीरताको चिनो, वीरको सन्तान/ सहिदको रगत, लाहुरेको निसानी’ गाउँदै नगाई हुर्कनेहरू कति होलान् र ?

धेरै वर्षपहिले मेरा एक भारतीय नेपालीभाषी आफन्तले लक्ष्मीप्रसाद देवकोटा रचित ‘बंगाली बाबु’ कथा मुख मिठ्याउँदै सुनाएको स्मृति अझै ताजै छ । कथामा वर्णित वीर गोर्खालीले खुकुरी नचाएर एक बंगाली विद्वान्को सातो टिपेको सुनाउँदा ती आफन्त औधी फुर्केर हाँसेका थिए । उनले त्यसरी सुनाएको केही दशकपछि मात्रै मैले देवकोटाको सो कथा पढ्न पाएको थिएँ । अहिले कल्पन्छु, दार्जिलिङका चिया बगानका मालिक बनेका बंगालीहरूसँग रिसाएका कति नेपालीभाषी शिक्षकले यता नेपाल आएर देवकोटाको सोही कथाबाट गोर्खाली वीरताको गाथा बुझाए होलान् आफ्ना विद्यार्थीलाई । कथाको गोर्खाली पात्र भन्छ, ‘हाय गोर्खाली खुकुरी ! हाय काठमाण्डु ! तँ कति भीषण रहिछस् !’

यसरी भारत र नेपालबीच सन् १९५० पछिका दशकमा भएका बौद्धिक विनिमयका समग्र चित्र खिच्न सजिलो छैन । बनारस, कलकत्ता, दार्जिलिङ, असम, सिलोङ लगायत क्षेत्र र नेपालका विभिन्न ठाउँबीच गरिएका आइजाइले नेपालको सार्वजनिक जीवनमा पारेका प्रभावहरू खोतल्ने काम रोचक भने पक्कै हुँदो हो । यस्तो खोजले नेपाली बौद्धिकीको निर्माणबारे नयाँ ज्ञान पनि सतहमा ल्याउन सक्ला । अहिले लेखिइरहेकामा साहित्यका विषयदेखि राजनीतिमा बेलाबेला उठ्ने पहिचानका अनेक गुत्थी फुकाउन पनि यस्ता खोजले पक्कै सघाउनेछ । ‘वीरताको चिनो, वीरको सन्तान’ गाउँदै भए पनि यी आवश्यक खोजबिन गर्न सकिन्छ ।

प्रकाशित : असार ३१, २०७९ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?