कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वप्नशील नेतृत्वको प्यास

देउवाको व्यक्तिगत कीर्तिमानले पार्टी, जनता र देशलाई नै कीर्तिमानी बनाउने कुनै कार्य रच्न सकेको छैन । एक्काइसौं शताब्दीसुहाउँदो नेतृत्व उनीबाट सम्भव छैन ।
शंकर तिवारी

शेरबहादुर देउवाको पञ्चम सत्तारोहणको एक वर्ष पूरा भएको छ । असहज परिस्थितिमा संविधानको जटिलताका बीच फेरि प्रधानमन्त्री बनेपछि देउवाले तय गरेको घोषित प्राथमिकता खोप लगायत पूरा भएका छन् भने अर्थतन्त्र उकास्न ठोस कदम चाल्न सफलता मिलेको छैन । सिंहदरबार सम्हालेका उनलाई पार्टीको राजपाठ पनि लगालग दोस्रो पटक हात लागेको छ । तर सरकार र पार्टी नेतृत्वमा मिलेको सफलता उनले कसरी प्रयोग गरिरहेका छ्न्, के यही शैलीको निरन्तरता आजको आवश्यकता हो त भन्नेबारेमा यो लेख केन्द्रित रहनेछ ।

स्वप्नशील नेतृत्वको प्यास

देउवा पहिलो पटक प्रधानमन्त्री हुँदा ५० वर्ष पनि पुगेका थिएनन् । नेपाली कांग्रेसमा ५० वर्ष नपुग्दै प्रधानमन्त्री हुने यस्तो दुर्लभ अवसर बीपी कोइरालालाई मिलेको थियो । बीपीले प्राप्त त्यो अवसरलाई अधिकतम सदुपयोग गरेका थिए । तर देउवाका हकमा कसैले पनि त्यो भन्न सक्दैन । पटक–पटक उनी खराब प्रतिमानहरू कायम गर्दै सिंहदरबारबाट बाहिरिएका थिए । सुशासन र नैतिक बलले शासन गर्नुपर्नेमा पूराका पूरा भागबन्डा गरेर संख्या गन्दै व्यक्ति–व्यक्ति रिझाउने खेलमा उनी तल्लीन रहेको बेला संसदीय राजनीतिको अँध्यारो कालखण्डको सुरुआती जग बसेको थियो । तर यही मेलोमा सिंहदरबारको भित्तामा फोटो झुन्ड्याउन सफल भएपश्चात् पार्टीमा समकक्षी साथीहरूमाझ उनको वरिष्ठता यति अग्लो बन्यो कि उनले फर्केर हेर्नुपरेको छैन ।

गिरिजाप्रसाद कोइरालाले पहिलो पटकजस्तो नैतिकता देखाउँदा देउवा फेरि सोही कालखण्डमा दोस्रो पटक प्रधानमन्त्री बन्न पुगेका थिए । दोस्रो पटक भने देउवालाई सत्ताबाट बर्खास्त गरिएको थियो, असंवैधानिक रूपमा । उनीमाथि दरबारलाई किस्तीमा राखेर संविधान बुझाएको आरोप लाग्यो । त्यसपछि पनि उनी तेस्रो पटक प्रधानमन्त्री बने, गोर्खाली राजाको न्यायस्वरूप । उनका यी तीनै कार्यकाल विवाद र अक्षमताका पर्याय बन्न पुगे । तेस्रो पटक त सत्ताबाट गलहत्तिएर उनी शाही आयोगको चिसो छिँढीमा पुग्नुपरेको थियो । २०६२/६३ अगाडिका यी सबै घटनाक्रम उनलाई नै पनि सम्झनाका तरेलीमा अप्रिय लाग्दा हुन् !

२०६२/६३ पछि सत्ताको सोपान उक्लन उनलाई एक दशक बेसी पर्खनुपर्‍यो । चौथो सत्तारोहणमा उनले अपेक्षाकृत रूपमा परिपक्वता देखाए । प्रचण्डसँग सत्ता साझेदारी गर्दै नयाँ संविधानलाई संस्थागत गर्ने तीन तहका निर्वाचन गर्न नेतृत्वदायी भूमिका खेले । सुशासन र नागरिकलाई सेवा प्रवाहमा भने उनको शैली बदलिएन । ०६२ सालअगाडिको कालखण्डलाई माथ गर्ने गरी उनले आईजी काण्ड रच्ने र प्रधानन्यायाधीशलाई महाभियोग लगाउने काम गरे । चुनावका मुखमा भएका यस्ता शासकीय विफलताले सहरी इलाकामा कांग्रेसको जनमत घट्न विशेष भूमिका खेल्यो । तर यो कुराको वस्तुनिष्ठ मूल्यांकन पार्टीभित्र कहिल्यै भएन । आफैंले नेतृत्व गरेको निर्वाचनबाट पराजित हुँदा पनि त्यसको जिम्मेवारी उनले केन्द्रीय कार्यसमिति हुँदै आम कार्यकर्ताको पोल्टामा हालिदिने कार्य गरे । नेतृत्व हस्तान्तरणको चौतर्फी दबाबलाई उपेक्षा गर्दै उनी पार्टी सत्तामा रहिरहे । भाग्यमानीको भूतै कमारो भनेजस्तै उनको भागमा पञ्चम पटक सत्तारोहण गर्ने अवसर यही सबभन्दा लज्जास्पद चुनावी पराजय भएकै कालमा मिल्यो ।

कोभिड महामारीलगत्तै रूस–युक्रेन युद्धले आक्रान्त हुन पुगेको विश्व अर्थतन्त्रको बाछिटाबाट नेपाल मुक्त हुने कुरा थिएन । तर त्यसलाई कम गर्न सरकारी तदारुकताले सहयोग पुर्‍याउन सक्थ्यो, त्यो दिशामा उनले अर्थमन्त्रीलाई उपयोग गर्न र सरकारलाई चलायमान बनाउन सकेनन् । गभर्नर प्रकरणमा बिदा भइसक्नुपर्ने अर्थमन्त्री बजेट प्रकरणमा मात्रै सरकारबाट बिदा भएका छन् । अर्थतन्त्र दबाबमा भएको बेला अर्थ मन्त्रालय आफूसँगै राखेर उनले अर्थतन्त्रलाई तदर्थवादमा सीमित राख्ने संकेत गरेका छन् । गभर्नरले खुलेआम रूपमा देश श्रीलंका बन्ने मार्गमा अग्रसर भएको वक्तव्य दिइरहेका छन् । जनस्तरमा अर्थतन्त्रलाई लिएर भय व्याप्त छ । मुद्रास्फीतिका कारण गरिबीको रेखामुनि रहेका नागरिकहरूलाई दुई छाकका निम्ति चुलो बाल्न मुस्किल हुन लागेको छ । संघीयता कार्यान्वयनका लागि अत्यावश्यक खुड्किलो मानिएको कर्मचारी समायोजन र व्यवस्थापनमा दिगो कदम चालिएको छैन । ओलीको कार्यकालभन्दा संघीयताप्रति देउवा सरकार ज्यादा संवेदनशील छ भन्ने आधार देखिएको छैन ।

देउवाका पाँचै शासनकालको एउटा खास विशेषता छ । परिस्थितिजन्य चापका अलवा उनमा सर्वथा नयाँ सोच र योजनाको अभाव देखिन्छ । शासकीय सुधार र परिवर्तनका लागि नयाँ कार्यक्रम तय गर्नेभन्दा पनि दैनिक प्रशासन मात्र चलाएर दंग पर्ने कल्पनाविहीन शैली उनको ट्रेडमार्क बन्न पुगेको छ । जनजीविकासँग सम्बन्धित विषयमा आम नागरिकलाई राहत दिने रचनात्मक क्रियाकलापको खोजीभन्दा विगतको कमजोरीको निरन्तरता नै उनका निम्ति प्रिय देखिन्छ । २०४७ को संविधान अन्तर्गत बनेको पहिलो मिलीजुली सरकारदेखि अहिलेसम्म उनले चार पटक मिलीजुली अर्थात् गठबन्धन सरकारको नेतृत्व गरेका छन् । २०५७ सालमा भने उनले नेपाली कांग्रेसको एकमना सरकारको नेतृत्व गरेका थिए । एकल होस् वा संयुक्त, सरकारको रूपरंग जेजस्तो भए पनि उनको तदर्थवादी कार्यशैलीमा कुनै बदलाव आएको छैन ।

हेनरी किसिन्जरको हालै मात्र नेतृत्वसँग सम्बन्धित किताब प्रकाशित भएको छ ‘लिडरसिप : सिक्स स्टडिज इन वर्ल्ड स्ट्रेटेजी’ नामको । उनी भन्छन्— कुनै पनि नेतृत्वले विगत र आगतको बीचमा रहेर सोच्ने र आफूले अंगीकार गरेको मान्यता र आकांक्षाको बीचमा रहेर कार्य गर्ने गर्छ । त्यसका लागि चुनौती भनेको समाजको इतिहास अनि क्षमताको ठोस वस्तुस्थितिमा आधारित यथार्थ मूल्यांकन गर्न सक्नु हो । उनीहरूले विगतबाट के पाठ सिकेका छन् र भविष्यबारे के सपना देखेका छन् भन्नेबीच सन्तुलन राखेर कार्य गर्नुपर्छ जुन स्वाभाविक रूपमा अनुमानमा आधारित र अनिश्चित हुन्छ । अन्तरमनले तय गरेको दिशाले नै उसको उद्देश्य मुताबिकको रणनीति बनाउन सहज गराउँछ ।

देउवाको शैली हेर्दा यस्तो लाग्छ कि उनी सत्तामा पुगेपछि ‘घुम्ने मेचमाथिको’ त्यस्तो ‘मान्छे’ बन्न पुगिहाल्छन, जसलाई आफ्नो परिवेशमा आएको नयाँ बदलावबारे केही अन्दाजै हुँदैन । सरकारमा पुग्न लगाउने उनको ध्यान त्यहाँ पुगेपछि के गर्ने भन्नेमा पनि हुन्थ्यो भने कथा अर्कै हुन्थ्यो । किसिन्जरले भनेजस्तो अन्तरमनको आवाज र त्यो अनुरूपको रणनीति तय गर्नमा उनको दिलचस्पी छैन । नयाँ नेपालको योभन्दा ठूलो दुःखान्त अर्को हुन सक्दैन ।

हिजो देउवा पहिलो पटक प्रधानमन्त्री हुँदा उनका पुत्र भर्खर दुई महिना लागेका थिए, आज तिनै पुत्रलाई बजेट/राजस्व दरमा चलखेल गरेर फाइदा हुने गरी नीतिगत भ्रष्टाचार भएको आरोप लागेपछि इन्कारी वक्तव्य निकालिएको छ । पहिलो कार्यकालमा श्रीमती आरजु राणालाई ‘लो प्रोफाइल’ मै राखिएको थियो, अहिले देउवा बिनासल्लाहकार चलिरहेका छन् । २०४७ सालको संविधानलाई बदनाम गराउने कालखण्डको नेतृत्व गरेका उनी गणतान्त्रिक संविधानलाई लयमा ल्याउन सफल हुँदाहुँदै पनि अहिले ओली जसरी नै शासकीय विफलतातर्फ उन्मुख देखिन्छन् ।

आज नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा देउवालाई आइडल मानेर हुर्केको पुस्ताको बहुमत छ । योभन्दा ठूलो गौरव देउवाका लागि अर्को नहुनुपर्ने हो । अर्को अकाट्य तथ्य के हो भने, पार्टी महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई आफ्नो आइडल मान्ने पुस्ता पनि पार्टी पंक्तिमा पालिका प्रमुखदेखि जिल्ला सभापतिमा आइसक्यो । देउवाले गणतन्त्रकालका दुइटा चुनावी सरकारको नेतृत्वकर्ताका रूपमा पुर्‍याएको योगदानको कदर गर्दै कांग्रेस पार्टीले मात्र होइन देशले नै उनले विश्राम लिएको हेर्न चाहन्छ । देउवाको व्यक्तिगत कीर्तिमानले पार्टी, जनता र देशलाई नै कीर्तिमानी बनाउने कुनै कार्य रच्न सकेको छैन 

। एक्काइसौं शताब्दी सुहाउँदो नेतृत्व उनीबाट सम्भव छैन । अब उनले गर्ने कार्य भनेकै पार्टीलाई पहिलो बनाउन सघाएर विश्राम लिने हो, सपना पक्रन सक्ने नयाँ पुस्तालाई सरकारको नेतृत्व सुम्पेर । त्यसका लागि चुनावअगावै पार्टीभित्र र बाहिर प्रधानमन्त्रीका लागि सर्वेक्षण गरेर नयाँ अनुहारलाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गर्न सकिन्छ । नीति अधिवेशनमार्फत थिति बसालेर त्यो पहलकदमी लिन सकिन्छ । सिंगो देश देउवाबाट मात्र एक पटक इमानदार त्यागको व्यग्र प्रतीक्षामा छ । स्थानीय चुनावयता बदलावका लागि उठेको आवाज उनको कार्यकारीबाट स्वतःस्फूर्त बहिर्गमनका लागि अन्तस्करणको आवाज बन्न पुगोस् ताकि आफू जीवित हुँदै कांग्रेसबाट केही नयाँ अनुहारहरू प्रधानमन्त्री बनेको हेरेर देउवाले अभिभावकत्वको मज्जा लिन सकून् ।

कांग्रेसको आन्तरिक जीवन र पुरातनबाट नयाँ युगको राजनीतितर्फ जान लागेको संक्रमणकाललाई सहज बनाउने कि नबनाउने ? गठबन्धनको सभापति हुने कि कांग्रेसको ? गठबन्धनसँग सौदा देउवाले पार्टीको बलियो पक्षलाई लिएर गर्ने कि कमजोर पक्षलाई ? यस्ता प्रश्नका बीच कांग्रेस थप एउटा चुनाव हार्न तयार हुनुपर्छ तर आफ्नो शक्तिको अवमूल्यन स्विकार्न तयार हुनु हुन्न । कांग्रेसको अहिलेको आन्तरिक सत्तासंघर्षमा ताजुबलाग्दो परिस्थिति देखा परेको छ । अघाएकाहरू नै छिटो खानुपर्छ, डाँडावारि खानुपर्छ भनिरहेका छन र त्यसको नेतृत्व देउवाले गरेका छन् । तर सत्ताको चास्नी चाट्न नपाएकाहरू भने डाँडापारि गएर खाने भन्दै छन् र त्यसको नेतृत्व कोइराला समूहका नेताहरूले गरिरहेका छन् । यस्तो विरोधाभासपूर्ण अवस्था कसरी आइपुग्यो, त्यसबारे पार्टी सभापतिका हैसियतले देउवाले विचार गर्नैपर्छ ।

कांग्रेसको समृद्ध इतिहासमा यसका कुनै पनि नेताले आफू र आफ्नो नेतृत्वलाई विकल्पहीन सोच्ने गरेका थिएनन् । यो कुरा बीपी कोइरालादेखि गणेशमान सिंह हुँदै गिरिजाप्रसाद कोइरालाका हकमा समेत लागू हुन्छ । कांग्रेसको बही खातामा आर्जित यस्तो समृद्ध परम्परालाई एकाएक गरिब बनाएर देउवा भने कृषकाय उमेरमा पनि आफू विकल्पहीन भएको भ्रम पालिरहेका छन् । अब छैटौं/सातौं पटक प्रधानमन्त्री बन्ने उनको ज्योतिषीको भविष्यवाणी चरितार्थ बनाउनुभन्दा देउवाले गणतान्त्रिक चेतनाले ओतप्रोत पुस्ताले देखेको नयाँ नेपालको सपना पूरा गर्न सम्मानजनक रूपमा मार्गप्रशस्त गर्नुपर्छ ।

आफ्नो समय सकिएको संकेत आफैंले बुझ्नुभन्दा महान् कार्य केही हुँदैन, अरूले बुझाउनुपर्‍यो भने त्योभन्दा पीडादायी केही हुँदैन ।

अमेरिकामा विख्यात राष्ट्रपतिको पंक्तिमा सबै युद्धकालमा नेतृत्व गरेका राष्ट्रपतिहरूको नाम आउँछ । शान्तिकालमा सबभन्दा सफल राष्ट्रपति जोन एफ केनेडीलाई मानिन्छ । नेपाललाई शान्तिकालको विकास र समृद्धिको नेतृत्व गर्ने केनेडी चाहिएको छ । केनेडीले नयाँ सपना मात्र देखाएनन् तिनलाई साकार पनि गरेका थिए । देउवाले सत्ताको साँचो सुम्पँदै गर्दा त्यो साँचो नेपाली केनेडीको हातमा परोस् !

प्रकाशित : असार ३०, २०७९ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?