फोहोरबारे शिक्षा खोइ ?

अव्यवस्थित फोहोर हाम्रो शिक्षाले जीवन नछोएको टड्कारो उदाहरणका हो ।
टीका भट्टराई

नवनिर्वाचित नगरपालक बालेन शाहलाई फोहोरको थुप्रोले समाचारका थप सुर्खीमा चढायो । कसैलाई भिलेन पनि बनायो । सिसडोल र बन्चरेडाँडा शीर्ष खबरमा रहे तर यो नौलो विषय होइन । सम्भवतः मनपरि भूउपयोगपछिको जथाभावी फोहोर काठमाडौं मात्र होइन, सबै सहरी क्षेत्रको समस्या हो ।

फोहोरबारे शिक्षा खोइ ?

फोहोरको मात्रा कम मात्र हो, यो समस्या गाउँ–गाउँमा पनि पुगिसकेको छ । फरक यति मात्र हो, गाउँमा सड्नेगल्ने फोहोर र नसड्ने फोहोर खासगरी प्लास्टिक मिसिँदैन । यथार्थमा फोहोर विश्वकै पनि वातावरणीय समस्यामध्ये एक हो । विश्वमा नै फोहोरमध्ये सड्नेगल्ने फोहोर ६० प्रतिशत जस्तो हुने गर्छ भने काठमाडौंमा केही वर्ष अगाडिको एक अध्ययनले यो अनुपात दुई तिहाइ रहेको अनुमान गरेको थियो । यसको मतलब के हो भने, फोहोर छुट्याइयो भने मात्र पनि फोहोरको ठूलो मात्रा घट्न सक्छ । फोहोर घटाउनु संकट पर सार्नु हो ।

प्राविधिक रूपले फोहोरको मात्रा घटाउन फोहोर पोल्नु एउटा प्रभावकारी उपाय मानिन्छ । सिंगापुरजस्तो सहरी देश यसको अग्रणी प्रयोगकर्ता हो । स्विडेन त्यो फोहोर जलाउने प्रक्रियामा विद्युत् उत्पादन उद्योग नै चलाउँछ । यतिसम्म कि दहन मेसिन चालू राख्न आफ्नो देशको फोहोरले नपुगेर बेलायत लगाएका देशबाट फोहोर आयात पनि गर्छ । यी हाम्रो धरातलमा अलि परका र भविष्यको चिन्ता गर्ने ती देशका आगामी समस्या पनि हुन् तर स्विडेनले भने उसको शतप्रतिशतजस्तै फोहोर पुनः प्रयोग गर्ने बताइन्छ । शिक्षासहित फोहोर वर्गीकरण र प्रशोधन नै यस्ता ‘सफलता’ को एक साँचो हो ।

फोहोर छुट्याउने र नछुट्याउनेलाई जरिवाना गर्ने कुरा नेपालमा केही समयअघिदेखि सुरु गरिएको प्रयास हो । काठमाडौंमा सिसी र कागजको पुनः प्रयोग गर्ने अग्रणी उद्योग पनि सञ्चालनमा छन् तर तिनको मात्रा उत्पादन र अव्यवस्थाको तुलनामा नगन्य छ । मल बनाउने केही प्रयत्नहरू पनि भएका छन् तर ती पनि अवर्गीकरणको पीडाले ग्रस्त छन् । अन्यथा फोहोर व्यवस्थापनका हाम्रा प्रयत्न फोहोर फाल्ने र फोहोर आँखाबाट हटाउनेमा नै सीमित छन् । यो त ठोस फोहोरको कुरा मात्रै हो । अझै पनि हाम्रा घरहरूको चर्पीजन्य फोहोर ढल हुँदै खोलामा नै पुग्छ । कुनै पनि ठाउँमा यसको व्यवस्थापनका लागि त प्रतिबद्घ जनदस्ता नै चाहिएला । त्यो कुरा पछि ।

अहिले ठोस फोहोरकै कुरा गरौँ । हाम्रो ध्यान फोहोरको मात्रा घटाउनेतर्फ पर्याप्त गएको छैन । फोहोर घटाउने तीन तरिका (थ्री आर) छन् ः उपभोग नै घटाउने (रिड्युस), सम्भाव्य फोहोरको पुनः प्रयोग गर्ने (रियुज) र पुनः प्रशोधन (रिसाइकल) गर्ने । यीमध्ये पुनः प्रशोधन बढी प्राविधिक र शासकीय विषय हो भने उपभोग कम गर्ने र पुनः प्रयोग गर्ने धेरै शैक्षिक विषय हुन्, मानिसको व्यवहार फेर्ने यस विषयसम्बन्धी चर्चा यस लेखको मुख्य प्रयोजन हो ।

शिक्षितले कस्ता फोहोर फाल्छन् ?

फोहोर व्यवस्थापन वातावरणीय शिक्षाको प्राथमिकताको विषय हो । अव्यवस्थित फोहोर हाम्रो शिक्षाले जीवन नछोएको टड्कारो उदाहरणका हो । घरको पृष्ठभूमि र फोहोर उत्पादनसँगको सम्बन्ध मसिनोसँग हेरिएको छैन तर एक तहको विश्वासका साथ के भन्न सकिन्छ भने सडकमा पाइने प्लास्टिकजन्य फोहोरका ठूलो स्रोत शिक्षित अर्थात् लेखपढ गरेका भनिने व्यक्तिहरू हौं । कमसे कम विद्यालय तह पास गरेका व्यक्तिहरू नै हुन् जो गाडीबाट पानीको बोतल सडकमा जताततै फाल्छन् । (हामी हाम्रो क्षमता शुद्घ पानी जनसाधारणलाई उपलब्ध गराउनेभन्दा प्लास्टिकको बोतलको पानी उपलब्ध गराउँदा र खाँदा गर्व गर्ने विडम्बना आफ्नै ठाउँमा छ) यिनीहरू आार्थिक रूपमा विपन्न व्यक्तिहरू पनि होइनन् । विपन्नहरू पनि यदाकदा खालान्, फाल्लान् पनि तर एरेटेड पेय नियमित खाने पनि अलि सम्पन्न वर्ग नै हो । उमेरका हिसाबले पनि तिनीहरू अलि पाकै हुन् । अहिले व्यापक रूपमा धार्मिक चाडपर्व मनाउनेहरू पनि यस समूहमा पर्लान् । यस समूहमा साना पसलेहरू र खुद्रा व्यापारी पनि पर्छन् । यसको अध्ययन जरुरी छ । जे भए पनि हामी धेरैजसो जताततै आफैं फोहोर फालेर नगरपालिकाले फोहोर व्यवस्थापन गर्न सकेन भन्नेहरू नै छौं । कतिलाई खास फोहोर के हो भन्ने थाहा पनि छैन । सरकारकै वरिष्ठदेखि नगरपालिकाका सफाइ कर्मचारीहरूसम्म पनि प्लास्टिकचाहिँ छाडेर झार मात्र उखेल्दै हिँड्छन् ।

विपन्न र कम उमेर समूहका व्यक्तिहरू धेरै चाउचाउ खाने र मिल्काउनेमा पर्छन् । कुहिने वस्तु पनि प्लास्टिकका थैलामा राखेर फाल्नेमा यिनीहरू पनि पर्छन् । सम्भवतः यो दूर भविष्यका दृष्टिले समेत फोहोर शिक्षाका लागि ध्यान दिनुपर्ने समूह हो । महत्त्वपूर्ण कुरा के हो भने, यसको ठूलो समूह विद्यालय जान्छ जहाँ उनीहरूलाई एकै पटकजस्तो सम्बोधन गर्न सकिन्छ ।

फोहोर शिक्षाका उपायहरू

सड्नेगल्ने फोहोर प्रांगारिक मलमा परिणत गर्न समय, शिक्षा र स्थान भएका मानिस चाहिन्छन् । यस दिशामा केही स्वस्फूर्त र उत्प्रेरणा दिने काम सुरुवाती चरणमा छ । यसलाई सुदृढ गर्नु जरुरी छ । यसलाई व्यवस्थित गर्न थप अध्ययन र थप राजनैतिक इच्छा शक्ति चाहिन्छ । तल अहिलेकै अवस्थामा फोहोरबारे शिक्षा कसरी प्रवर्द्धन गर्न सकिन्छ बयान गरिएको छ:

१. सबैभन्दा ठूलो र सम्बोधन गर्ने पद्धति बनाउन सकिने समूह स्कुलका विद्यार्थीहरू हुन् । यसलाई विभिन्न रूप र समूहमार्फत् गर्नुपर्ने हुन्छ । पहिलो त यसलाई स्थानीय पाठ्यक्रमको एक महत्त्वपूर्ण एकाइका रूपमा राखेर विद्यार्थीसँग यसबारे कुराकानी गर्ने र फोहोर तह लगाउने प्रयत्न गरेका विद्यार्थीलाई प्रत्यक्ष रूपमा अंक दिन पनि सकिन्छ । यसका लागि स्थानीय पाठ्यक्रम निर्माण वा संशोधन गरी शिक्षकलाई तालिम दिनुपर्छ । साधारण विद्यालयको पाठ्यक्रममा पनि पर्याप्त सम्बोधन गर्ने ठाउँ छ । अहिले कति शिक्षामा ध्यान दिन्छु भन्ने नेताहरू पनि भवन र भौतिक साधनकै कुरामा जोड दिन्छन् । समग्रमा यस किसिमको शैक्षणिक गतिविधि नै यथार्थमा शिक्षा हो । यस प्रक्रियाले अरू शैक्षणिक गतिविधिमा पनि सुधार ल्याउन सक्छ । पक्कै पनि बाटामा फालिने फोहोरमा उल्लेखनीय कटौती हुन्छ ।

२. अर्को त गापा/नपाका पदाधिकारीहरू विद्यालयमै गई यसबारे विद्यार्थीसँग कुराकानी गर्न सक्छन् । वडा अध्यक्षले अगुवाइ गरी हप्ताको एक वा दुई दिन एक दुई घण्टाका लागि विद्यालयसँग समय मागे नदिने कुरै हुँदैन । उनीहरूलाई पनि यसबारे अभिमुखीकरण चाहिने हुन सक्छ । पायक परे मेयर वा उपमेयर पनि यदाकदा यस्तो काममा जान सक्छन् ।

३. काठमाडौंको कुरा गर्दा मेयर उपमेयर दुवै ‘प्रदर्शन’ पेसासँग सम्बन्धित छन् । विद्यालयपछिका तन्नेरीहरू सम्बोधन गर्नुपर्ने अर्को समूह हो । फोहोरका बारेमा तन्नेरीहरूसँग युवा उपमेयरको प्रस्तुति निकै प्रभावकारी हुन सक्छ । पक्कै पनि उनीहरू धेरै गर्न भ्याउँदैनन् । सधैं पालिकाका पदाधिकारीहरूको यस्तो पृष्ठभूमि पनि हुँदैन तर उनीहरू यसको सुरुवात गर्न सक्छन् । यी दुई प्रयत्नले एकाध वर्षभित्रै नतिजा देखाउन थाल्छ ।

४. अर्को, धार्मिक नेताहरूसँग संवाद महत्त्वपूर्ण छ । अब पवित्रता नयाँ दृष्टिले परिभाषित गर्नुपर्छ । यसमा पालिकाहरूले लामा, गुरु, पुरोहित, मौलाना, बिजुवासँग विशेषज्ञहरूसहित संवाद गर्नुपर्छ । अब जताततै फोहोर फाल्नु अधर्म हो ! व्रत बसेर जुसको कार्टन उत्पादन गर्नु अझ जताततै फाल्नु त किमार्थ धर्म ठहरिन्न । उपभोग कम गर्न पनि यो समूहलाई थप उत्प्रेरित गर्न सकिन्छ । नसड्नेनगल्ने फोहोर ननिकाल्नु नै एउटा व्रत हो । रमादानको उपवास होस् या एकादशीको व्रत । भिक्षुहरूले उपवास मात्र होइन, प्रदूषण बढाउने खाना पनि अस्वीकार गर्ने आवश्यकता होला । पक्कै पनि वाग्मतीको पानी सेचन गर्नेले चर्पीको फोहोर ढल हालेर धर्म हुँदैन । नेपालजस्ता देश उपभोगका दृष्टिले अग्रपंक्तिमा नपरे पनि सहरी यथार्थले विश्वमा कार्बन उत्सर्जन र प्रदूषणका समस्या समाधान नगरी जलवायु परिवर्तनको समस्या समाधान हुँदैन भन्ने कुरा स्पष्ट पारेको छ । दिगो विकास लक्षले एउटा (लक्ष्य नं. १२) उपभोग कम गर्ने पनि राखेको छ ।

५.सड्नेगल्ने फोहोर पुनः प्रयोग गर्न सक्ने अलि पाको र तुलनात्मक रूपमा समृद्ध समूह हो । यो समूहसँग अझ पनि केही खेतीपातीको पृष्ठभूमि बाँकी छ । यो समूहलाई अलिकति धार्मिक नेतामार्फत् सम्बोधन गरिएला । अझ खासगरी उनीहरू स्वास्थ्यप्रति बढी संवेदनशील हुने उमेरमा पनि पुगेका हुन्छन् । उनीहरूसम्म डाक्टरमार्फत् पुग्न सकिन्छ । यस क्षेत्रमा भगवान् कोइराला वा प्रकाश रेग्मी वा महेश मास्के वा अरुणा उप्रेतीजस्ता चिकित्सक लागिपरी पनि रहेका धेरैको जानकारीमा छन् । यस्ता डाक्टरसम्म पुग्नु र यस्ता डाक्टरको संख्या बढाउनु जरुरी छ । यसले बहुपक्षीय फाइदा हुन्छ र डाक्टरहरू यो विषय सजिलोसँग बुझ्न सक्छन् । यस्तो शिक्षाको कामसँगै वडामार्फत् सानो ठाउँमा खेती गर्न सकिने सेवा सल्लाह उपलब्ध गराइनु आवश्यक हुन्छ । यसका लागि स्वयंसेवीहरू प्रिचालन गर्न पनि सकिन्छ ।

हामीले निरन्तर सहरभित्र र नजिक पनि खाली जग्गा गुमाइरहेछौं । ठाउँठाउँमा इच्छुक परिवारलाई सानो टुक्रा खेती गर्न जग्गा भाडामा दिएर लगाउने पद्धति युरोपमा सयौं वर्षअघिदेखि नै चलिरहेको छ । यसलाई एलटमेन्ट भनिन्छ । काठमाडौं उपत्यकामा ठाउँ कम भए पनि नयाँ सहरहरूले यसो गर्न सक्छन् । अहिलेको ‘स्मार्ट सिटी’ भनेको बिजुली र इन्टरनेट भएको कंक्रिट छोपेको भुइँ मात्र होइन । एलटमेन्टको अलि राज्य व्यवस्थित एउटा मोडेल क्युबाका सहरमा देख्न सकिन्छ जहाँ फोहोर व्यवस्थापनभन्दा पनि सहरमा खाद्य उत्पादन गर्ने आवश्यकताका कारण गरिएको हो । ससाना मोहल्लाहरूमा फोहोर जम्मा गरी मल बनाउने र बाँड्ने काम गर्न सकिन्छ । यसले केही व्यक्तिहरूलाई रोजगारी दिनुका साथै खाद्य आयात घटाउन र पोषणमा सुधार ल्याउन पनि मद्दत मिल्छ । यसलाई अर्गानोपोनिक्स भनिन्छ र वामपन्थसँग मोह हुनेहरूले यसलाई अझ आत्मीयतापूर्वक हेर्न सक्लान् ।

लेखक शिक्षा नीति तथा अभ्यास केन्द्रसँग सम्बन्धित छन् ।

प्रकाशित : असार २९, २०७९ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?