कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालबालिकाको हुर्काइमा परिवार

रूपा पुरी

बालबालिकाको हेरचाहका लागि अभिभावक तथा समाजको भूमिका महत्त्वपूर्ण हुन्छ । एउटा परिवारका लागि बालबालिका हुर्काउनु निकै महत्त्वपूर्ण कार्य हो । सामाजिक र पारिवारिक प्रणाली तथा संस्कारको प्रभाव बालबालिकाको कलिलो मस्तिष्कमा गढेर बसेको हुन्छ ।

बालबालिकाको हुर्काइमा परिवार

किताबबाहिरका यस्ता विषय नै बालबालिकाको शिक्षाका आधार हुन् । उनीहरूले आफूवरिपरिका मान्छेले गरेका व्यवहारबाट सिक्छन् । यस अर्थमा बालबालिकाका लागि घर पहिलो पाठशाला हो भने बा–आमा पहिलो शिक्षक । त्यसैले घर तथा बाआमाको जिम्मेवारी विद्यालयको भन्दा बढी छ ।

बालबालिकालाई घरमा अरूले बोलेको शब्द तथा गरेको कार्यले गहिरो प्रभाव पार्छ । सुसंस्कारले बालबालिकामा सकारात्मक ऊर्जा भरिनुका साथै व्यक्तित्व विकासमा निखारता ल्याउँछ । उनीहरूले सिक्ने भनेकै बाआमाको व्यवहारबाट हो । बालबालिकाको व्यक्तित्वको निर्माण बाआमाको माया, हेरचाहले बनाउँछ । साथै सामाजिक नीति–नियम, चालचलनको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।

बाआमाले ‘विद्यालय पठाएको छु’ भनेर जिम्मेवारीबाट पन्छिने अनि शिक्षकले पनि ‘लब्धाङ्कपत्रमा नम्बर ल्याएको छ’ भनेर गर्व गर्ने चलनले बालबालिकाको हुर्काइमा समस्या भइरहेको छ । बालबालिकामा व्यावहारिकका साथै भावनात्मक ज्ञानको कमी देखिएको छ । यसले समाजमा विकृति बढाइरहेको छ, बालबालिकालाई सही बाटोमा हिँडाउन सकिएको छैन । त्यसैले बाल विकासमा देखिएका यस्ता कमजोर पक्षलाई सुदृढ गर्दै लगेमा मात्र बालबालिकामा चौतर्फी ज्ञानको विकास हुनका साथै समाजको भविष्यमा पनि त्यसले सकारात्मक प्रभाव पार्छ ।

बाल विकासको गतिविधिमा हरेक अभिभावक सचेत हुनु जरुरी छ । उनीहरूको नियमित गतिविधि नियाल्नुपर्छ । व्यावहारिक पाटोबाहेक शारीरिक स्फुर्तिका लागि विभिन्न कसरत तथा योगहरू सिकाउन सकिन्छ । उनीहरूको खानपिनका बारेमा चासो राख्न सकिन्छ । आज हामी आफ्ना बच्चालाई हर सुखसुविधा दिन चाहन्छौं, आफूले भोगेका दुःख सन्तानले भोग्न नपरोस् भन्नेमा सचेत छौं । तर यसो भन्दैमा उनीहरूको माग र आवश्यकताभन्दा धेरै सुविधा पनि दिनु हुन्न । बालबालिकालाई के चाहिन्छ, के चाहिँदैन भन्ने ख्याल गर्नुपर्छ । परिवारले सकारात्मक ऊर्जा दिन प्रयास गर्नुपर्छ । उनीहरूमा आत्मविश्वास भरिदिन पनि यो आवश्यक छ । बालबालिकाको मनोविज्ञानलाई आकार दिने हरेक गतिविधिमा उत्तिकै ध्यान दिनुपर्छ । यसैले उनीहरूको भविष्य निर्धारण गर्छ । समाजको उन्नति पनि यसैमा भर पर्छ । सक्षम बालबालिकाले नै भोलि देशको भविष्य उज्यालो बनाउने हुन् ।

बालबालिकालाई राम्रो गरे ‘राम्रो भन्ने’ र नराम्रो गरे, ‘तिमीले गलत गर्‍यौ’ भनेर औंल्यादिनुपर्छ । यस्तो भन्दा उनीहरूले बुझ्ने भाषामा, ठूलो स्वर नगरी भन्नुपर्छ । कुटपिट र शारीरिक यातना त झन् दिनै हुन्न । बालबालिकाका हरेक गल्तीलाई औंलाइदिने, राम्रो भए स्याबासी दिने र नराम्रा भए किन नराम्रो भयो भनेर स्पष्टसँग बुझाउने गरे परिवारभित्र उनीहरूले आफूलाई सहज महसुस गर्छन्, उनीहरूलाई यसले प्रेरणा पनि दिन्छ ।

यस्तै घरबाहेक हाम्रा बालबालिकाकाले विद्यालयमा कस्तो ज्ञान लिइरहेका छन् भन्नेमा पनि अभिभावक र शिक्षकले ध्यान दिनुपर्छ । ती ज्ञान कतिको व्यावहारिक छ भन्ने मुख्य कुरा हो । जस्तो हाम्रो देश कृषिप्रधान भएर पनि यहाँ विशेषतः सहरी भेगका बालबालिकाले तरकारी तथा फलफूलका बोट चिन्दैनन्, तिनलाई धान कसरी फल्छ भन्ने थाहा छैन । सिजनअनुसारका फलफूल तथा तरकारी पनि विद्यार्थीले चिन्दैनन् भने हामीले बालबालिकालाई सही पाठ्यपुस्तक पढाइरहेका छैनौं । त्यस्तै किसानले अन्न उब्जाउन कति मिहिनेत गरेका छन् भनेर पनि सिकाउनुपर्छ, व्यावहारिक ज्ञान पुस्तकबाटै पाएदेखि त्यो बढी फलदायी हुन्छ । बालबालिकालाई सानै उमेरदेखि घोकाउने गरिन्छ, जति राम्ररी घोकाउन सक्यो त्यति नै उनीहरू सक्षम छन् भन्ने पारिन्छ, जुन गलत अभ्यास हो । यसको अन्त्य हुनुपर्छ ।

मान्छे उमेरले सानो होस् वा ठूलो, सिक्ने कुरा कहिल्यै सिद्धिँदैन । अभिभावकले पनि बालबालिकाबाट सिक्न सक्छन्, अझ उनीहरूलाई कसरी हुर्काउने भन्ने जानकारी तथा ज्ञानका लागि थप मिहिनेत गर्नुपर्छ । बालबालिका हुर्काउनु भनेको अभिभावकले पनि सिक्ने अवसर पाउनु हो । यसलाई अभिभावकले जति गम्भीर रूपमा लिन्छन्, त्यति नै बालबालिकाको हुर्काइ सही दिशामा जान्छ ।

अन्त्यमा, परिवार बालबालिकाका लागि अत्यन्त महत्त्वपूर्ण पाठशाला हो । उनीहरूको भविष्यलाई कस्तो बनाउने भन्ने पनि परिवारमा हुने गतिविधिमा निर्भर हुन्छ । त्यसैले अभिभावकले गर्ने गतिविधि सकारात्मक हुनुपर्छ, बालबालिकालाई निर्देश गर्ने खालको हुनुपर्छ, यसका लागि अभिभावकले पनि सिक्ने कुराहरू धेरै हुन्छन् ।

प्रकाशित : असार २८, २०७९ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?