न्यायाधीश-वकिल घूस संवाद न्यायका लागि घातक- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्यायाधीश-वकिल घूस संवाद न्यायका लागि घातक

प्रधानन्यायाधीश र न्यायपरिषद्ले न्यायाधीश–वकिलबीचको संवाद घटना न्यायपालिकामा भ्रष्टाचार रहेछ, ध्यान पुगेनछ, कडा कानुन रहेनछ, अनुसन्धान गर्ने निकाय पनि रहेनछ, चुकेका रहेछौं भन्दै ‘वेक अप कल’ का रूपमा लिएका छौं भनेर सार्वजनिक गर्नुपर्‍यो । जिम्मेवारीमुक्त हुन खोज्नु भएन ।
बलराम केसी

न्यायपालिका विवादमुक्त हुन सकेन । एकपछि अर्को विवाद आउने क्रम जारी छ । २०७८ सालमा सर्वोच्च अदालत आफैं विवादित बन्यो । २०७९ सालमा पनि सुरुमै न्यायाधीश–वकिलबीच थुनुवालाई छुटाउनेबारेको संवाद सार्वजनिक भयो । यो गम्भीर विषय हो ।

न्यायाधीश र वकिलबीच विचाराधीन मुद्दाबारे दस मिनेट लामो संवाद आपत्तिजनक छ । यसले नेपालको न्यायपालिका शुद्ध छैन, न्याय किनबेच हुन्छ र बिचौलियाहरू सक्रिय रहेछन् र केही न्यायाधीश पनि बिचौलियासँग मिलेका रहेछन् भन्ने देखाउँछ । यस्ता घटना सितिमिति सार्वजनिक हुँदैनन् । सार्वजनिक भएको घटनाले यस्तो हुँदो रहेछ भन्ने थाहा भयो । प्रधानन्यायाधीश र न्यायपरिषद् मात्र हैन, अब सर्वोच्च अदालतका सबै न्यायाधीश सुधारका लागि सक्रिय हुनुपर्‍यो । कुनै न्यायाधीशसँग सुधारका केही योजना छ भने आफैं प्रधानन्यायाधीश हुँला अनि लागू गरौंला भनेर बस्न भएन, न्यायपालिकाको बचाउका लागि अहिल्यै लागू गर्नुपर्‍यो ।

संवादले कम्तीमा पाँच विकृति देखायो

न्यायको मर्म : पहिलो ‘हामी कसैलाई न्याय बेच्दैनौं’ र ‘हामी कसैलाई न्याय इन्कार गर्दैनौं’ भन्ने न्यायको पवित्र मान्यतामै प्रहार गर्‍यो र न्यायको किनबेच देखायो । दोस्रो, संवादले भ्रष्टाचार देखायो । तेस्रो संवादले अदालतको अवहेलना गर्‍यो । चौथो, संवादले न्यायाधीशहरूको आचारसंहिता उल्लंघन गर्‍यो । पाँचौं, संवादले चोलेन्द्रशमशेर राणालाई समेत शंकाको घेरामा पार्‍यो । न्यायपालिकाप्रति आस्था र विश्वास घटने काम त भयो नै एम्नेस्टी इन्टरनेसनल वा ट्रान्सपरेन्सी इन्टरनेसनल वा अन्य आईएनजीओले अर्को वर्षको प्रतिवेदनमा नेपाललाई अझ तल झार्ने भए । संवादले न्यायपालिकामा भ्रष्टाचार छ, न्याय महँगो छ, न्यायमा बिचौलियाको भूमिका रहेछ र न्यायमा किनबेच हुन्छ भन्ने पनि देखायो ।

यी विकृति र विचलनहरू नेपाली समाजमा मात्र होइनन् अपितु विदेशमा पनि थाहा हुने भयो । संवादले चोलेन्द्रशमशेर राणाविरुद्ध नेपाल बारको १७ बुँदे आरोप र न्याय मूर्ति हरिकृष्ण कार्कीको प्रतिवेदनलाई पनि पुष्टि गर्‍यो । यस्ता घटनाले न्यायपालिकालाई विवादित बनाउँछ । यो संवाद भर्खरै उम्रेको होइन । वर्षौंदेखि थपिँदै थपिँदै जम्मा भएर थुप्रिएकाले विस्फोट भएको मात्र हो । यसका लागि प्रत्यक्ष–अप्रत्यक्ष, धेरथोर अगाडिका सबै नेतृत्वले पनि जिम्मा लिनुपर्छ किनभने न्यायपालिका सुधार्ने नेपालको संविधानको धारा १३६ हो तर कुनै नेतृत्वले यसलाई प्रयोग नै गरेनन् । न्यायपालिकामा भ्रष्टाचार पुरानो रोग हो । २०३४/०३५ सालतिरको सर्वज्ञरत्न तुलाधर र राष्ट्रिय पञ्चायतबीचको अवहेलना विवादको जरिया ‘भ्रष्टाचार’ शब्दको थियो । तत्कालीन सर्वोच्च अदालतलाई यो शब्द नै अमान्य भयो । भ्रष्टाचार शब्द बोल्ने तत्कालीन राष्ट्रिय पञ्चायतको सदस्यले कुनै न्यायाधीश वा कुनै मुद्दा तोकेर आरोप लगाएका थिएनन् । तिनले सामान्य रूपले न्यायपालिकामा पनि भ्रष्टाचार छ भनेका थिए तर सर्वोच्च अदालतलाई ‘भ्रष्टाचार’ शब्द नै अपमानजनक लाग्यो र कारबाही अगाडि बढायो । विचारणीय कुरा के थियो भने, राष्ट्रिय पञ्चायत पनि संसद् नै थियो । राष्ट्रिय पञ्चायत पनि त्यति बेलाको विधायिका भएकाले आजको संसद्मा जस्तो राष्ट्रिय पञ्चायत सदस्यहरूलाई संसद्‌मा बोल्ने विशेषाधिकार प्राप्त थियो । संसारमा कहीं पनि न्यायपालिका भन्दैमा भ्रष्टाचार नहुने भन्ने हुँदैन, भ्रष्टाचार हुन्छ तर त्यसलाई संकोच नमानी नलुकाइ कडा कानुन बनाएर सजाय गर्ने र रोकथाम गर्ने गरिन्छ । त्यसबेलाको घटना सम्झँदा भ्रष्टाचार शब्दको नामसम्म लिन नहुने वातावरण थियो त्यो ‘ह्याङओभर’ ले न्यायपालिकालाई आजसम्म छाडन सकेन । करिब १२ वर्ष अगाडि नेपाल बारको अध्यक्ष हुँदा वरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीले एक कार्यक्रममा प्रसंगबस ‘न्यायालयमा भ्रष्टाचार छ’ भन्दा झन्डै उहाँलाई कारबाही भयो ।

प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको कार्यकालपछि नेपालको न्यायपालिकामा विस्तारैविस्तारै विकृति, विसंगति र बिचौलियाको प्रवेश हुन थाल्यो । फाटफुट भ्रष्टाचारको गन्ध, घटना र संकेतहरू महसुस गर्न थालियो । यस्तो देखेर पंक्तिकारले सर्वोच्च अदालतको न्यायाधीश हुँदै च्याम्बरबाट मिडियासँग ‘न्यायपालिकामा भ्रष्टाचार छिरेको छ, कारबाही गर्ने कानुन–निकाय भएन’ भनेर पटक–पटक अन्तर्वार्ता दिएको थियो । अदालतमा भ्रष्टाचार छ भन्ने पंक्तिकारको अन्तर्वार्ता न्यायाधीशहरूलाई स्वीकार्य भएन । पंक्तिकारलाई त्यतिबेलै न्यायाधीशले गरेको भ्रष्टाचारमा कारबाही गर्ने कडा कानुन, अनुसन्धान गरी मुद्दा चलाउन छुट्टै निकाय नभएकाले जबसम्म ती दुई विषयमा सुधार आउँदैन तबसम्म भ्रष्टाचार कम हुने होइन, बढ्छ भन्ने महसुस भएको थियो । वास्तवमा ती कुरा आवश्यक थिए । माहोल यस्तो थियो कि भ्रष्टाचार शब्द बोल्न पनि नहुने र सुधारका लागि योजना पनि नबनाउने ।

२०७२ सालमा संविधान लागू हुँदा भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक संवैधानिक व्यवस्था गर्न राम्रो अवसर थियो । संविधानसभाले सुझावका लागि संविधानको पहिलो मस्यौदा सार्वजनिक गर्‍यो । मस्यौदामा न्यायिक भ्रष्टाचार नियन्त्रणका लागि झन्डैझन्डै २०४७ को संविधानको व्यवस्था नै सारिएको थियो, जुन असफल सिद्ध भइसकेको थियो । न्यायिक भ्रष्टाचारमा न्यायपरिषद्लाई अनुसन्धानकर्ता र अभियोक्ता ‘प्रोसेक्युटर’ बनाउने व्यवस्था नै कानुनी शासनमा हास्यास्पद थियो । त्यतिबेलाको सर्वोच्च अदालतको नेतृत्व र न्यायाधीशहरूले अदालतमा हुने भ्रष्टाचार नियन्त्रणका लागि शक्तिपृथकीकरण सिद्धान्तअनुसार न्यायपरिषद्लाई ‘प्रोसेक्युटर’ बनाउन मिल्दैन/हुँदैन भनेर सुझाव दिएनन्, सुझाव त दिए तर आफ्नो अवकाशको उमेर ६५ बाट बढाएर ७० वर्ष पुर्‍याउने र संवैधानिक अदालत नराख्ने व्यक्तिगत स्वार्थ र चाहनाको । उनीहरूले न्यायपालिको सुधारको मतलब गरेनन् । त्यसैको परिणाम हालै सार्वजनिक भएको न्यायाधीश वकिलबीचको संवाद हो ।

न्यायको ‘लोगो’

संवादले न्यायको ‘लोगो देवी’, न्यायाधीश पद, आचरण, शपथ तथा वकिल पेसाको अपमान, अवमूल्यन र बदनाम गर्‍यो । न्यायको ‘लोगो देवी’ आँखा चिम्लेकी, बायाँ हातमा तौल समातेकी, दायाँ हातमा तरवार लिएकी देवीको रूप हो । विश्वभरको न्यायको ‘लोगो देवी’ यही हो । देवीले मुद्दाको पक्षहरूको अनुहार देखिन् भने निष्पक्षतामा असर गर्न सक्छ भनेर आँखा चिम्लेकी हुन् । बायाँ हातमा तराजु बोकेको ध्यानपूर्वक गम्भीर भएर कुरा सुनेपछि दुवै पक्षको प्रमाणहरू तौल गर्नका लागि हो । कान खुला राख्नुको मतलब दुवै पक्षका वकिल र साक्षीहरूका कुरा ध्यानपूर्वक सुन्नका लागि हो । दायाँ हातमा तरवार उचालेर प्रहार गर्न ठीक अवस्थामा रहनुको मतलब तराजुमा तौल गरिएको प्रमाण जसको बढी छ, उसलाई न्याय दिन र प्रमाण नभएकालाई सजाय गर्नका लागि हो । हाम्रो न्यायपालिका पनि तिनै देवीको लोगोबाट निर्देशित छ । संवादले ‘लोगो’ को धब्जी उडायो ।

न्यायाधीशको पद

संविधानले जिल्ला न्यायाधीशलाई पनि संवैधानिक पदाधिकारी बनायो । सर्वोच्च र उच्च अदालतको न्यायाधीशलाई मात्र संवैधानिक पदाधिकारी बनाइन्छ । समाजले न्यायाधीशलाई विश्वास गरेर न्यायको प्रतीक मान्छ । इजलासमा प्रवेश गर्दा महान्याधिवक्ताजस्तो उच्च र सम्मानित पदले पनि झुकेर सम्मान गर्छ । कुनै विदेशको प्रधानन्यायाधीश कुनै अर्को देशको भ्रमणमा गएछ र उसलाई त्यही देशको प्रधानन्यायाधीश आफैंले इजलासमा लिएर गएछ भने ती दुवैले जिल्ला न्यायाधीश भए पनि झुकेर सम्मान गर्छन् । जिल्ला न्यायाधीशले ‘श्रीमान्’ भन्ने मान पाउँछन् । न्यायाधीशको पद नियुक्ति हुनासाथ शपथ खाएको नखाएको मतलब हुँंदैन । तटस्थ, स्वतन्त्र, निष्पक्ष, इमानदार, अनुशासित, निष्ठावान् र चरित्रवान् हुनुपर्छ । न्यायाधीशले वकिलसँग थुनामा परेकालाई छुटाउन संवाद र रकम मोलमोलाई गर्छ भन्ने त कल्पनासम्म पनि गरिँदैन ।

सरकारले संसद्मार्फत् कानुन बनाउँछ । कानुनमा अपराधको परिभाषा र सजायको व्यवस्था गरिन्छ । कानुनमा न्यायाधीशमाथि भर र विश्वास गरेर सजाय गर्ने तजबिजी अधिकार खुला राखिन्छ । कानुनमा यति नै सजाय गर्नू भनेर नतोक्नुको मतलब न्यायाधीश इमानदार, निष्ठावान् र न्यायको मर्म बुझेको हुन्छ; शपथ पालना गर्छ; न्याय किनबेच गर्दैन र ठीक ठाउँमा स्वविवेक प्रयोग गर्छ भनेर हो । सानो अपराधमा कडा सजाय गर्दैन, कडा अपराधमा स्वार्थमा परेर वा सस्तो लोकप्रियताका लागि कम सजाय गर्दैन भन्ने मान्यतामा न्यायाधीशलाई स्वविवेकीय अधिकार दिइएको हुन्छ । स्वतन्त्र न्यायपालिका भनेकै न्यायाधीशलाई कतैबाट पनि दबाब, प्रभाव वा प्रभोलनमा नपारी स्वविवेकमा काम गर्न दिने हो । न्यायाधीशले पूर्पक्षका लागि कसैलाई थुन्दा वा छाड्दा ऊ न्यायको मान्य सिद्धान्तबाट निर्देशित हुन्छ । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ६७ मा थुनछेकसम्बन्धी व्यवस्था छ । गम्भीर अपराध छ, थुनामा नराख्दा आरोपित व्यक्ति भाग्न सक्छ वा आरोपीले साक्षीहरूलाई धम्काएर, थर्काएर वा प्रभावमा पारेर, विपरीत बकाएर, मुद्दामा असर पार्न सक्छ वा अर्को अपराध गर्न सक्छ वा प्रमाण लोप हुने काम गर्न सक्छ भनेर, थुनामा राख्छ भन्ने मान्यतामा न्यायाधीशलाई स्वविवेकीय अधिकार दिइएको हो । न्यायाधीश आचरण र शपथबाट बाँधिन्छ तजबिजी अधिकारको दुरुपयोग गर्दैन । पदैले न्यायाधीशलाई निष्ठावान् र इमानदार बनाएको हुन्छ भन्ने न्यायको मान्य सिद्धान्त नै हो । संविधान र कानुनी व्यवस्थाले न्यायाधीशमाथि ठूलो विश्वास गरेको छ तर संवादले न्यायलाई विश्वासघात गर्‍यो नि ?

वकिल

वकिल सम्मानित पद हो । वकिल नै एक दिन न्यायाधीश बन्छ । सुरुमा उसले इजलासमा उभिएर न्यायाधीशसमक्ष न्याय माग्छ । लामो समय न्याय माग्ने अभ्यास गरेर अनुभव बढाउँछ । त्यही अनुभवले एक दिन वकिल आफैं न्यायाधीश बनेर न्याय दिने ठाउँमा पुग्छ भन्ने मान्यता हो । बेलायतमा ‘आफ्टर अ लङ स्ट्यान्डिङ इन द वार वान इज सेन्ट टु सिट वन दि बेन्च’ भनिन्छ । जटिल मुद्दामा जटिल कानुन व्याख्या गर्नुपर्‍यो भने पक्ष–विपक्षको वकिलबाट मात्र न्यायाधीश स्पष्ट हुन सकेन भने उसले बारबाट एमिकस क्युरीका रूपमा वकिल मगाएर बहस गर्न लगाएर कानुनको व्याख्या र मुद्दाको फैसला गर्छ । न्यायाधीशले आफूभन्दा माथिल्लो अदालतको न्यायाधीश वा अरू न्यायाधीशसँग सल्लाह गर्दैन । संवादले वकिल पदको बद्नाम र अवमूल्यन गर्‍यो ।

शताब्दीऔं अगाडि इजलास आजको जस्तो व्यवस्थित थिएन । न्यायाधीश, वकिल, मुद्दाका पक्षहरू, साक्षी, दर्शक, अदालतका कर्मचारी, सुरक्षा दिनेहरू र अन्य को कहाँ बस्ने बार लगाएर छुट्टाइएको थिएन । ठूलो हल नै इजलास थियो । को वकिल, को कर्मचारी र को मुद्दाको पक्ष छुट्टिँदैन्थ्यो । यसलाई व्यवस्थित गर्ने योजना बन्यो । बार छेकबार लगाएर छुट्याउने व्यवस्था भयो । बारले न्यायाधीश बस्ने खास इजलास त्यसमुनि कर्मचारी बस्ने गरी छुट्याइयो । साक्षी, मुद्दाका पक्षहरू, दर्शक र वकिलको पनि ठाउँ छुट्याइयो । वकिलहरू भने भेला भएर छुट्याइएको बारभित्र नबस्ने निर्णय गरे । त्यही बार अर्थात् छेकबार शब्दबाट बार एसोसिएसन नामको जन्म भएको हो । वकिल नभई मुद्दाको कारबाही अगाडि बढदैन ।

पक्ष वकिल राख्न नसक्ने रहेछ भने, पक्षका तर्फबाट सरकारी खर्चमा वकिल राखेर गरिएको मुद्दा कारबाहीले मात्र वैधता पाउँछ । अमेरिकातिर हेर्ने हो भने, सरकारका तर्फबाट महान्यायाधिवक्ताले मुद्दा चलाउँछ । आरोपीलाई प्रतिरक्षा गर्न सरकारले नै ‘पब्लिक डिफेन्डर अफिस’ खडा गरेर वकिलबाट मुद्दाको प्रतिरक्षा गराउँछ । अमेरिकाबाटै बलात्कार मुद्दामा मिरन्डा वारनिङ विकास भएको हो । यसको मुख्य तत्त्व कसैलाई पक्रनु साथ प्रहरीले उसलाई वकिल राख्ने क्षमता छ वा छैन सोध्नुपर्छ र राख्न चाहन्छ तर आर्थिक अभाव छ भने प्रहरीले नै वकिल राखेर मात्र ऊसँग सोधपुछ गर्न पाइन्छ भन्ने हो । वकिल उपलब्ध नगराए कारबाही बदर हुन्छ । हाम्रो संविधानले पनि थुनुवालाई वकिल राख्ने व्यवस्था गरेको छ । १५ वर्ष वकालत गरेका कानुनविद सर्वोच्च अदालतको न्यायाधीशका लागि योग्य हुन्छ र न्यायाधीश नियुक्ति गर्ने न्यायपरिषद्मा एक सदस्य वकिल हुन्छ । त्यत्रो मर्यादित पेसाले न्यायाधीशसँग थुनुवा छुटाउन रकम मोलमोलाइ गरेको संवादले वकिल पेसाप्रति नै आस्था घटायो ।

वकिलको शक्ति र तागत भ्रष्टाचार; भनसुन; न्यायाधीशसँग हिमचिम, संगत, नजिकपन, दोस्तान तथा चाकडी होइन र हुनु हुँदैन । निष्ठावान् वकिल र न्यायाधीशले त्यस्तो गर्दैनन् । वकिलको तागत कानुनको व्याख्या गर्न, प्रमाणको मूल्यांकन गर्न, आफ्नो पक्षको साक्षीको बकपत्र हुँदा मुद्दालाई सघाउ पुग्ने खालको जवाफ आउने प्रश्न गर्न सक्ने क्षमता र विपक्षीको साक्षीको जिरह गर्दा सक्कली साक्षी पनि भुक्किएर शंकाजनक जवाफ आउने प्रश्न गर्न सक्ने जिरहको कला हो । संवादबाट बेलाबेलामा नेपाल बार एसोसिएसनले ‘न्यायपालिकाको विसंगति, विकृति र भ्रष्टाचारमा न्यायाधीशको मात्र होइन वकिलको पनि त्यत्तिकै भूमिका छ’ भन्ने गरेको कुरा पुष्टि हुन आयो ।

आचरण

संवादले न्यायाधीश र वकिल दुवैबाट आचरण उल्लंघन भयो, जसको मात्रा हेर्ने हो भने न्यायाधीशबाट १०० पूर्णाङ्कमा १०० नै पाउने गरी भयो भने वकिलले कम्तीमा डिस्टिङ्सन पाउने गरी उल्लंघन भयो । संवादले गम्भीर ‘फौजदारी अदालतको अवहेलना भएको छ ।’

शपथ

कानुनी शासन बसेको देशमा शपथको ठूलो मान्यता हुन्छ, यसको उल्लंघन गरिँदैन । नेपालमा शपथ रीत पुर्‍याउन मात्र खुवाइन्छ । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले औपचारिक शपथ ढाँचाभन्दा फरक भएकाले शपथबाट बाँधिन भोलिपल्ट ह्वाइटहाउसमा राष्ट्रपतिलाई बोलाएर ढाँचाबमोजिमको शपथ खाए । हामीकहाँ पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको शपथको ‘त्यो पर्दैन’ भाइरल भएको थियो । शपथ खाँदा उहाँले शपथ खुवाउने राष्ट्रपतिले पढेको शब्द पढ्नुभएन । त्यसपछि अध्यादेश जारी गरेर खाएको शपथलाई वैधानिकता दिने आँट गर्नुभएको सार्वजनिक छ । यस सन्दर्भमा न्यायमूर्तिबाट शपथ उल्लंघन हुनु सामान्य नै मान्नुपर्ला ।

प्रधानन्यायाधीश र न्यायपरिषद्ले न्यायपालिकामा भ्रष्टचार रहेछ, ध्यान पुगेनछ, कडा कानुन रहेनछ, अनुसन्धान गर्ने निकाय पनि रहेनछ, चुकेका रहेछौं भन्दै यो घटनालाई ‘वेक अप कल’ का रूपमा लिएका छौं भनेर सार्वजनिक गर्नुपर्‍यो । न्यायाधीश नियुक्तिमै त्रुटि रहेछ भनेर महसुस गर्नुपर्‍यो, जिम्मेवारीमुक्त हुन खोज्नुभएन ।

नियुक्ति संसारभरि नै कार्यपालिकीय अधिकार हो । नेपालमा मात्र प्रधानन्यायाधीशले अध्यक्षता गरेको पाँच सदस्यीय न्यायपरिषद्बाट न्यायाधीश नियुक्ति गरिन्छ । आजसम्म न्यायाधीश नियुक्तिमा कुनै मापदण्ड बनेन । खल्तीबाट चिट झिकेका आधारमा नियुक्ति गर्दै आइयो । अपुरो परिषद्बाट भागबन्डा तथा सोर्स–फोर्सका आधारमा मध्यरातमा नियुक्ति गर्ने विकृति पनि विकास भयो ।

न्यायपालिका अहिले समस्याग्रस्त छ । सर्वोच्च अदालतमा मात्र तीस हजारभन्दा बढी मुद्दा छन् । प्रधानन्यायाधीश निलम्बित छन् । न्यायपालिकाजस्तो राज्यको महत्त्वपूर्ण अंग स्थायी नेतृत्वविहीन छ । न उनी राजीनामा दिन्छन् न संसद्ले महाअभियोगको कार्य अगाडि बढाउँछ । राजनीतिक दलहरू जिम्मेवार बन्नुका सट्टा रमिते बनेका छन् । न्यायाधीश वकिल संगतले भ्रष्टाचार पुष्टि गर्छ । न्यायपरिषद्प्रति समाजको आस्था र विश्वास छैन । संवादले न्यायपालिकामा बिचौलिया छिरेको पुष्टि गर्छ । अचेल अदालतप्रति आस्था यति घटेको छ कि निजी क्षेत्रले वा सरकारले नै अर्को अदालत गठन गर्न सक्ने भए सेवाग्राही आजको अदालत छाडेर नयाँ अदालत जान्थे । भ्रष्टाचार बढ्दो छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुद्दा चलाउँछ । अदालतबाट सफाइ पाउँछन् ।

कार्यकारी अधिकार सम्पन्न सरकार हेर्ने हो भने, गतमहिना मात्र नयाँ गाडी खरिद गर्न रोक लगाउने र पेट्रोल आयात कम गरेर खर्च कम गर्ने रे भनेर आइतबार बिदा गर्ने निर्णय गर्‍यो । केही दिनपछि आइतबार बिदाको निर्णय फिर्ता लिइयो । १५ दिन पनि बित्न नपाउँदै पूर्वविशिष्ट भनिएकाहरूलाई आजीवन आवास, गाडी, इन्धनलगायत सुविधा दिने भनी सार्वजनिक भयो । समाचारअनुसार सुविधा दिँदा एक जनालाई एक करोड रुपैयाँ खर्च हुन्छ । सरकारको ताल यस्तो छ । जनताको एक मात्र भर र आश न्यायपालिकामा मात्र बाँकी छ । त्यसैले न्यायपालिका विवादित बन्नुभएन सुधार हुनुपर्‍यो । आजको अवस्थामा न्यायपालिका सुमधुर तरिकाले चल्न सक्दैन । संविधान नयाँ भए पनि न्यायपालिकाको हकमा २०४७ कै निरन्तरता हो । त्यसैले न्यायपालिकासम्बन्धी अध्ययन र मूल्यांकन आवश्यक छ । किनभने अधिकार वा प्रजातन्त्रका लागि अब तेस्रो आन्दोलन आवश्यक छैन यदि आन्दोलन हुने नै भयो भने केही वर्षयता देखिएको न्यायायिक विचलन, असन्तुष्टि र न्यायमा छिरेको भ्रष्टाचार कारण नबनोस् । गम्भीर भएर सोच्ने बेला आएको छ ।

भ्रष्टाचार विकृति, विसंगतिको नियन्त्रण गरी न्यायपालिकालाई शंकामुक्त गर्न नेतृत्व इमानदार, लगनशील हुनु आवश्यक छ । देशमा प्रजातन्त्र छ । अदालत स्वतन्त्र, निष्पक्ष र बलियो नभई प्रजातन्त्र र मौलिक हकको रक्षा हुँदैन, यसको रक्षा स्वतन्त्र न्यायपालिका खासगरी सर्वोच्च अदालतबाट हुन्छ । संविधानले न्यायपालिकालाई प्रभावकारी बनाउने अधिकार र जिम्मा प्रधानन्यायाधीशलाई मात्र दियो । सरकारले गर्न मिल्दैन । कुनै प्रधानन्यायाधीशले पनि संविधानको धारा १३६ जगाएनन् । सबै प्रधानन्यायाधीशले ‘चलता है’ अवधि बिताए । आमनिर्वाचन आउँदै छ । यसै वर्षभित्र नयाँ जनादेशसहितको सरकार गठन हुन्छ । प्रधानन्यायाधीश सर्वोच्च अदालतको अन्य न्यायाधीश र न्यायपरिषद्ले आजको विवादित न्यायपालिकालाई कसरी मुक्त गर्ने र कसरी सुधार्ने भन्ने अध्ययन गर्न अधिकार सम्पन्न शक्तिशाली उच्च स्तरीय आयोग गठन गरेर संविधानको कुन–कुन धारा कसरी संशोधन गर्ने, किन गर्ने, नयाँ कानुन कस्तो बनाउने भन्ने प्रतिवेदन लिएर बस्नुपर्‍यो । ताकि सरकार गठन हुनासाथ प्रतिवेदन बुझाएर सुधार अगाडि बढाउन सकियोस् ।

नेपालमा कुनै कुराको अध्ययन गर्नुपर्‍यो भने खोजीखोजी अवकाश भएका पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्ने रोग लागेको छ । अवकाश भएकाहरू जसले पदमा हुँदा संविधानको धारा १३६ प्रयोग गरेनन्, अवकाश भएपछि बुढेसकालमा कसरी प्रयोग गर्लान् ? त्यसैले अध्ययन समिति बनाउँदा बहालवाला न्यायाधीशलाई लिनुपर्‍यो र ऊ केही वर्षपछि आफैं प्रधानन्यायाधीश बनेर प्रतिवेदन कार्यान्वयन गर्न बाध्य होस् । त्यस्तै व्यक्तिको अध्यक्षतामा समिति बनाउनुपर्‍यो ।

केसी पूर्वन्यायाधीश हुन् ।

प्रकाशित : असार २२, २०७९ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्

चुनावी गठबन्धनको गतिविज्ञान

सिद्धान्त, ‘स्पेस र कन्स्टिच्युएन्सी’, जनाधार, मताधार, पृष्ठभूमि केही नमिल्ने बेमेलको गठबन्धनबाट कांग्रेसलाई दीर्घकालमा त लाभ हुने छैन नै, अहिले पनि पुनः गठबन्धन सरकारको नेतृत्व गर्ने अवसर मिल्छ भन्ने पक्का छैन ।
जैनेन्द्र जीवन

२०७४ सालको स्थानीय चुनावको तुलनामा हालै सम्पन्न स्थानीय चुनाव हेर्दा चुनावी गठबन्धनबाट सबभन्दा बढी फाइदा माओवादी केन्द्रलाई भएको स्पष्टै छ । पूर्वानुमानभन्दा धेरै अर्थात् १२१ पालिका प्रमुख उसले जितेको छ । ३२९ पालिका प्रमुखमा जितेर देशको सबभन्दा ठूलो र पुरानो दलको प्रतिष्ठा फर्काउन सफल कांग्रेसलाई पनि राम्रै फाइदा भएको छ ।

२० मात्र पालिकामा जिते पनि नेकपा एसलाई पनि फाइदै भएको हो; किनकि उनीहरूले बाहिर गुनासो गरेझैं फाइदा नभएको भए, वा अझ कांग्रेसबाट संस्थागत रूपमै धोका भएको भए पोखरा र हेटौंडाजस्ता महत्त्वपूर्ण नगरपालिकाको प्रमुख उसले जित्ने थिएन (हो, कांग्रेसका कार्यकर्ताले कतैकतै गठबन्धनको सहमतिविपरीत मत अवश्य हाले । जुन उनीहरूको व्यक्तिगत र भावनात्मक निर्णय थियो, पार्टीको संस्थागत निर्णय थिएन) । जनता समाजवादीले ३० पालिका प्रमुख मात्र जित्नुको दोष पनि गठबन्धनको होइन । आफ्नो छुट्टै राजनीतिक ‘स्पेस र कन्स्टिच्युएन्सी’ भएको त्यस दल नेतृत्वको प्रदेश सरकारको कमजोर कार्यसम्पादन, पार्टीको अन्तरकलह, अन्तरघात र टुटफुटको पहिलेदेखिका शृंखला त्यसका कारण हुन् । अघिल्लो स्थानीय चुनावमा ३९६ पालिका प्रमुखमा जितेको एमाले यसपाला २३० मा खुम्चनुको कारक तत्त्व धेरै हदसम्म ऊ आफैं हो भने ऊविरुद्ध माथि उल्लेखित गठबन्धन बन्नु पनि एउटा कारण हो ।

आगामी कात्तिक मसान्ततिर हुने प्रदेशसभाको ३३० र प्रतिनिधि सभाको १६५ सिटको चुनावमा यो गठबन्धन कायम राख्ने कि नराख्ने, राखे कुन ‘मोडालिटी’ अपनाउने भनेर यतिखेर कांग्रेस वृत्तमा ठूलै विवाद छ । हुन त स्थानीय र आगामी चुनावको तुलना हुँदैन; यी दुवैका उद्देश्य, प्रयोजन, संरचना र महत्त्व भिन्न छन् । अधिकार क्षेत्र र कामकर्तव्यका हिसाबले स्थानीय समस्या र स्थानीय मुद्दाकै सेरोफेरोमा हुने पालिका चुनावमा स्थानीय जनमा भिजेको र स्थानीय समस्याको समाधान दिन सक्ने उम्मेदवारले जित्ने स्थिति रहन्छ । त्यही क्रममा यस पालाको चुनावमा निर्दलीय उम्मेदवार पनि केही महत्त्वपूर्ण पालिकामा मेयर चुनिएका छन् । प्रदेश र प्रतिनिधिसभाको चुनाव ऐनकानुन बनाउने, राष्ट्रियस्तरका नीतिनियम बनाउने र केन्द्र, प्रदेशको सरकार बनाउने अधिकारयुक्त प्रतिनिधिका लागि हुने चुनाव हो । अहिलेको स्थितिमा त्यसमा एक–दुई सिटको जितहारले पनि सरकारको नेतृत्व गर्ने कि प्रतिपक्षमा बस्ने, देशमा राजनीतिक स्थिरता हुने कि नहुनेजस्ता अहं कुरा निर्धारण हुन्छ । जुन कुरा स्थानीय तहको चुनाव सम्बन्धमा लागू हुँंदैन । तर स्थानीय चुनावको परिणामले ६ महिनापछि हुने प्रदेश, प्रतिनिधिसभाको चुनावको परिणामको संकेत भने गरेको छ । त्यसैले होला फाइदाबाट उत्साहित कांग्रेसको उच्च नेतृत्व आगामी चुनावमा पनि गठबन्धनलाई कायमै राख्ने पक्षमा माओवादी र नेकपा एस जत्तिकै लागिपरेको छ । लामो समयदेखिका प्रतिस्पर्धी पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल यो मुद्दामा एक ठाउँमा उभिएका छन् । तर पार्टीको एउटा सशक्त पंक्तिको दलील भने गठबन्धन गर्नु हुँदैन र कांग्रेसले एक्लै चुनाव लड्नुपर्छ भन्ने छ । यद्यपि चुनावको परिणामपछि यो पंक्ति र दलील दुवै केही कमजोर भएका छन् ।

कांग्रेसलाई गठबन्धनबाट फाइदा होला त ?

एक, सिद्धान्त, ‘स्पेस र कन्स्टिच्युएन्सी’, जनाधार, मताधार, पृष्ठभूमि केही नमिल्ने बेमेलको गठबन्धनबाट कांग्रेसलाई दीर्घकालमा त लाभ हुने छैन नै, अहिले पनि पुनः गठबन्धन सरकारको नेतृत्व गर्ने अवसर मिल्छ भन्ने पक्का छैन । कारण, एक त त्यस्तो बहुमत नआउन सक्छ । आएछ भने पनि गठबन्धनमा सामेल दलहरूले, खासगरी कम्युनिस्ट दलहरूले पाँच वर्षभित्र कुनै समय पनि एमालेसँग पार्टी एकता गरेर वा कार्यगत एकता गरेर कांग्रेसलाई जिल्याउँदै ऊबाहेकको (संयुक्त) सरकार बनाउने सम्भावना बलियो छ ।

दुई, त्यस्तो चुनावी गठबन्धन गर्दा त्यसबाट पार्टी कमजोर देखिने, वा कमजोर भएको सन्देश जाने र त्यसबाट पार्टीका समर्थक एवं कार्यकर्ताहरूको मनोबल गिर्ने सम्भावना छ, जसको प्रत्यक्ष असर चुनाव परिणाममा पर्नेछ ।

तीन, कांग्रेसका स्थानीय नेता कार्यकताको आफैं चुनाव लड्ने आकांक्षा र जित्ने आकलनविपरीत कांग्रेसले अरु दलका उम्मेदवारलाई समर्थन गर्नुपर्ने ठाम र स्थिति धेरै हुनेछन् गठबन्धनमा, जसबाट ती स्थानमा बागी उम्मेदवार उठ्ने स्थिति आउन सक्नेछ । मतदाता र समर्थक भोट हाल्न नआउने र कार्यकर्ता निष्क्रिय बस्ने अवस्था आउन सक्नेछ । त्यसो भएमा गठबन्धनका दलहरूसँग असमझदारी बढ्ने जोखिम हुनेछ ।

चार, कांग्रेस एक्लैले चुनाव लड्दा पनि बहुमत आउन सक्ने सम्भावना नभएको होइन । यद्यपि त्यसका लागि अहिले भइरहेका कांग्रेसका संघीय, प्रादेशिक र अझ खासगरी स्थानीय सरकारहरूको कार्यसम्पादन देखिने गरी राम्रो हुनुपर्‍यो । र पार्टी सभापतिको अहिलेकै तदर्थवादी कार्यशैलीमा पनि व्यापक सुधार हुनुपर्‍यो । जुन अलि टाढाकै कुरा देखिन्छ ।

उसो भए कांग्रेसलाई गठबन्धनबाट फाइदा के त ? मुख्य फाइदा, गठबन्धन नगर्दा कम्युनिस्टहरू मिल्नेछन् । आउने चुनाव पूर्व पार्टी एकता नै गरिहाल्न सम्भव नभए पनि उनीहरूबीच धेरै ठाउँमा चुनावी तालमेल हुनेछ । त्यसको लाभ कांग्रेसको प्रमुख प्रतिस्पर्धी एमालेलाई र घाटा कांग्रेसलाई हुनेछ । त्यसैले पनि गठबन्धनका अरु घटक गठबन्धन कायम राख्न इच्छुक हुन्जेल यो पटकलाई गठबन्धन कायमै राख्नुमै कांग्रेसलाई फाइदा हुने देखिन्छ । तालमेल हुन नसक्ने ठाउँ जतिमा आपसी सहमतिबाटै ‘मित्रवत् प्रतिस्पर्धा’ गर्न त सकिने नै भयो ।

फेरि गठबन्धन गर्नै हुन्न भन्ने कुरा अबको राजनीतिमा हुँदैन । प्रजातन्त्रको पुनर्स्थापनापछि देशको राजनीतिको सबभन्दा मुख्य विकृति भनेकै पालैपालो सरकारमा गएका कांग्रेस र एमालेको बीचमा स्वस्थ प्रतिस्पर्धाभन्दा पनि अर्कोको अवसानमा मात्र

आफ्नो अस्तित्व र उन्नति देख्ने मानसिकता र कार्यव्यवहार हो । त्यसैले हिजोसम्म मिलेर चुनाव लड्ने त के उनीहरू मिलेर सरकार बनाउने भन्ने पनि दुर्लभ कुरा थियो । आज एमालेबाटै छुट्टिएको कम्युनिस्ट घटक र एमाले भन्दा उग्र कम्युनिस्ट घटक लगायतसँग सफल चुनावी गठबन्धनसमेत गर्दै कांग्रेसले संयुक्त सरकार हाँक्नु भनेको कांग्रेस कम्युनिस्ट दुवै थरीको ‘जिरो सम’ मानसिकतामा आएको परिवर्तन, सहिष्णुता, लचकता र व्यावहारिकताको परिचायक हो । हो, सत्ता र पदका लागि मात्र गठबन्धन गर्दै, फेर्दै हिँड्नु अनैतिक हो । तर मूलतः आफ्नो बहुमतको सरकार टिकाउन नसकेका ओलीका काम र बोलीव्यवहारकै परिणामस्वरूप परिस्थितिको बाध्यताले गठबन्धन बनेकाले यसबाट अरु राम्रो नराम्रो जे भएको भए पनि प्रतिस्पर्धी दलहरूबीचसमेत गठबन्धन र सहकार्यको संस्कृतिको विकास भने भएको छ ।

गठबन्धनको ‘मोडालिटी’ का हकमा, पहिले जितेको निर्वाचन क्षेत्र जितेकै दललाई छाड्ने र पहिले एमालेले जितेको निर्वाचन क्षेत्रमा दलहरूको हैसियत हेरी भागबण्डा लाउने फर्मुला गठबन्धनका घटकहरूबीच विचाराधीन छ भन्ने बुझिन्छ । तर यो ‘हैसियत’ को वस्तुनिष्ठ निर्धारण नै मुख्य समस्या हुने स्थिति छ । गठबन्धन सफल हुने नहुने, दलका स्थानीय कार्यकर्ता र मतदाताको त्यसमा सहयोग हुने नहुने कुरा यै फर्मुलाको इमानदार व्याख्या र कार्यान्वयनमा भर पर्नेछ । कांग्रेसलाई एउटा निश्चित संख्या छाड्ने, त्यसमा ऊ नमाने माओवादी केन्द्र र नेकपा एसको मात्र गठबन्धन बनाउने, र अझ कांग्रेसबाहेकका अरु बाँकीको गठबन्धन बनाउने गरी उनीहरूले कांग्रेस उपर दबाब बढाएको चर्चा पनि छ । यस्तो त्रिपक्षीय भिडन्तको स्थिति आएमा त्यसको सबभन्दा ठूलो लाभ एमालेलाई मिल्नेछ । जुन स्थितिमा माओवादी र एसको एमालेसँगको एकता झनै टाढाको विषय हुनेछ । किनकि एक्लै सरकार बनाउन सक्ने गरी आफैं बलियो भएको अवस्थामा एमालेलाई यिनीहरूसँग एकता गररिहनु अनावश्यक लाग्ने मात्र होइन, उसले यिनीहरूलाई समस्या र शिरदर्दका रूपमा बुझ्नेछ । उसले यिनीहरूबाट पूर्ण आत्मसमर्पण मात्र स्वीकार गर्नेछ ।

शेरबहादुर र रामचन्द्रका ‘ट्र्याक रेकर्ड’ हेर्ने हो भने उनीहरूका सबल पक्षभन्दा दुर्बल पक्ष कता हो कता धेरै छन् । तर यो गठबन्धनको पक्षपोषण उनीहरूले आफ्नो दल र लोकतन्त्रका खातिर गरेका हुन कि गठबन्धन गर्नै हुन्न भन्ने कांग्रेसजनका शंका र आरोपझैं आफू प्रधानमन्त्री र राष्ट्रपति हुनेजस्ता स्वार्थका लागि गरेका हुन्, यसको फैसला इतिहासले मात्र गर्न सक्छ; अहिले कसैले गर्न सक्दैन । हो, उनीहरूले गठबन्धनविरोधी पार्टीजनलाई पनि गठबन्धनका पक्षमा आउन ‘कन्भिन्स’ चाहिँ गर्नै पर्छ । लोकतन्त्रमा असन्तोषको व्यवस्थापनमै हो नेतृत्वले आफ्नो कौशल देखाउने, पेलेर त तानाशाहीमा मात्र चल्छ ।

प्रकाशित : असार २२, २०७९ ०८:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×