नारामै सीमित लैंगिक समानता- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नारामै सीमित लैंगिक समानता

सुशीला शर्मा

काठमाडौँ — बेलायती राजकुमार ह्यारीसँग विवाह गरेकी चर्चित कलाकार मेगन मार्कलले केही वर्षअघि आफू कसरी लैंगिक असमानताको विरोधी भएँ भनेर लामो मन्तव्य दिएकी थिइन्, जसको संक्षिप्त रूप यस्तो छ- ‘ एघार वर्षको हुँदा मलाई टेलिभिजनमा देखाइएको भाँडा माझ्ने साबुनको विज्ञापनले बिझाएको थियो । विद्यालयमा हेरेको उक्त विज्ञपनमा अमेरिकाका महिलाहरू चिल्ला भाँडाका कारण हैरान छन् भनिएको थियो ।

यो देखेर मेरो कक्षाका केटा साथीहरूले महिलाको कामै भाँडा माझ्ने हो भने, यस्तो कुरा सुनेर म छक्क परें, रिस पनि उठ्यो । विद्यालयबाट फर्केपछि मैले बुबालाई यो कुरा सुनाएँ । उहाँले यो विषयमा चिठी लेख्न सुझाव दिनुभयो । सुझाव अनुरुप मैले त्यसबेलाको प्रथम लेडी, चर्चित बाल कार्यक्रमको प्रस्तोता र उक्त विज्ञापन कम्पनीका प्रमुखलाई चिठी लेखेँ । चिठी पठाएको केही हप्तापछि, मलाई तीनै जनाबाट जवाफ आयो । त्यसपछि मेराबारे समाचार पनि बन्यो । म रातारात अभियानकर्मी भएँ । पछि विज्ञापनमा सबै मानिस चिल्ला भाँडाबाट हैरान छन् बज्न थाल्यो ।’

हुन त लैंगिक समानता समाजपिच्छे फरक हुन सक्छन् । समाजमा विद्यमान मनोविज्ञान तथा सांस्कृतिक मूल्य र मान्यताका आधारमा लौंगिक समानता निर्भर हुन्छ । समानतासँगै वर्गीयता पनि आउँछ । तर पनि मान्छेमान्छेको समानताभित्र पनि महिला र पुरुषबीचका असमानताका कतिपय अवस्था विश्वमै उस्तैउस्तै छन्, जुन घरायसी कामकाजदेखि नै सुरु हुन्छ । मेगनले सानै उमेरमा ‘चिल्ला भाँडा टल्काउने काम केवल महिलाको हो’ भनेर सिकाउने विज्ञापनबाट महिला पुरुषको तुलनामा असमान छन् भन्ने अनुभूत गरिन् । यस्तो चेतना हरेक समाजका बालबालिका, किशोरकिशोरीमा हुनु आवश्यक छ । यो प्रेरणा हामीले पनि मेगनबाट किन नलिने ? बालबालिका, किशोरकिशोरीलाई प्रश्न गर्न प्रोत्साहन किन नगर्ने ?

हाम्रोजस्तो विकासोन्मुख देशमा गरिबी झाँगिइरहेको छ, धार्मिक तथा सांस्कृतिक मूल्यमान्यता र पितृसत्तात्मक सोचका कारण महिला र पुरुषको भूमिकालाई अझै समानताको कसीमा राखेर हेर्न सकिराखिएको छैन । हाम्रा हुर्काइ र समाजले दिएको लैंगिक भूमिका निभाउँदानिभाउँदै महिला नै असमानतालाई आफ्नो कर्तव्य र जिम्मेवारी ठानेर जीवन बिताइरहेका छन् । नबोलेर वा सहेर बसिरहेका छन् ।

लैंगिक असमानता सम्पन्न, मध्यम र निम्न मध्यम सबै खाले परिवार र समुदायमा पाउन सकिन्छ । मानिलिऊँ, कुनै मजदुरको परिवारमा श्रीमान्श्रीमती दुवै ज्याला मजदुरी गर्छन् । उनीहरू बेलुका घर फर्कंदा, श्रीमान् आराम गर्न खाटमा पल्टिन्छन् तर उस्तै काम गरेर सँगै घर फर्केकी श्रीमतीले भान्साका सबै कामधन्दा गर्नुपर्छ । यस्तोमा महिला र पुरुषबीच समानता भयो त ? यो कार्य विभाजन आखिर समाजले नै गरेको हो ।

पुरुषहरूले परिवारप्रति जिम्मेवारी छोराछोरीका लागि पैसा कमाइदिने भन्ने मात्र भएको ठान्छन् । अनि घरायसी र परिवारका रेखदेख, भातभान्साका कामलाई आइमाईको काम भनेर पन्छिन्छन् । यस्तै चलन परिवार, समाज हुँदै देशको राजनीति तथा आर्थिक व्यवस्थामा पनि हावी भइरहेको छ । चाहे ती श्रमिक महिलालाई दिइने कम ज्याला हुन् या विज्ञापनमा महिलाको भूमिकालाई केवल घरेलु कामदारका रूपमा प्रस्तुत गर्ने सवालमै किन नहोऊन् ? निम्नवर्गीय परिवारमा यदि समानताको व्यवहार र भाव छैन भने महिलाहरू झन् दोहोरो मारमा पर्छन् । एकातर्फ गरिबी र श्रम गर्नुपर्ने बाध्यता अर्कातर्फ अवहेलना पनि । अनि निम्नवर्गीय आवाज पनि सहुलियत वर्गले नै उठाउन थाल्दा कतिपय वास्तविक समस्या मुखरित हुन सकेका छैनन् ।

सामान्यतया कानुनका दृष्टिमा सबै नागरिक समान हुन्छन् । ‘सबै नागरिक समान हुनुपर्छ’ भन्ने प्राकृतिक न्यायको सिद्धान्त हो, मानव अधिकार हो । तर हाम्रो समाजमा मानिसले मानिसलाई वर्ग, धर्म, वर्ण, उत्पत्ति, जातजाति, शारीरिक अस्वस्थता या महिला भएकै आधारमा गर्ने विभेद कायमै छ । कानुनले यस्तो विभेद पूर्ण रूपमा उन्मूलन गरिदिएको भए पनि व्यवहारमा जारी छ । यस्तो विभेद कुनै प्रथा वा परम्पराभन्दा कम छैन ।

मेगनले जस्तो असमानताको अनुभूति र त्यसबारे सम्बन्धित पक्षलाई सोच्न र परिवर्तन गर्न बाध्य पार्ने शक्ति निर्माण गर्न अवश्य पनि शिक्षा, रोजगारी, राजनीति र निर्णायक तहमा महिला उपस्थितिको खाँचो छ हाम्रोमा । विभिन्न अप्ठेरामाझबाट पनि नेपालको महिला आन्दोलनले कैयौं अन्तर्राष्ट्रिय कानुनलाई टेकेर कानुनी व्यवस्थालाई समान बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ । तर अझै महिला समानताका क्षेत्रमा गर्नुपर्ने थुप्रै काम बाँकी छन् ।

महिला समानताका व्यावहारिक पक्षलाई घरदेखि नै लागू गर्न हरेक परिवारमा महिला–पुरुष दुवै मिलेर काम गर्नुपर्ने चेतनाको विकास हुनुपर्छ । परिवार तहदेखि नै यस्तो अभ्यास सुरु भए महिलाले आफू पनि पुरुषसरहको नागरिक भएको अनुभव गर्न पाउँछन् । हरेक कमलाई महिला भएकैले या पुरुष भएकैले राम्रो–नराम्रोभन्दा पनि दक्षतासाथ मिलेर पूरा गर्नु नै लैंगिक समानता हो । योसँगै हाम्रा राजनीतिक नेतृत्वले समानताको आवाजलाई सुनिदिने निश्चितता भने गर्नैपर्छ । महिला–पुरुष समानताका प्रमुख तत्त्व भनेका आर्थिक, शैक्षिक र राजनीतिक सहभागितामा समान अवसर नै हो ।

प्रकाशित : असार २१, २०७९ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्

महिला सहभागिता हर क्षेत्रमा चुनौतीपूर्ण

सुशीला शर्मा

लैंगिक अधिकारका सवाल स्थापित गर्न राजनीतिको भूमिका महत्त्वपूर्ण हुन्छ । तर, राजनीतिमा महिलाको उपस्थिति बलियो हुन सकेको छैन । राजनीति होस् वा कुनै क्षेत्र, महिला सहभागिताका लागि सामाजिक–सांस्कृतिक व्यवधान पर्खाल बन्ने गर्छन् । समाजमा महिला हिंसा तथा विभेद व्याप्त छ ।

नेपालमा जहानियाँ राणा शासनविरुद्धको आन्दोलनका बेलादेखि नै महिलाहरू प्रत्येक राजनीतिक तथा सामाजिक विद्रोहमा सशक्त रूपमा संलग्न छन् । कानुनतः महिलाका अधिकार र सहभागितालाई पनि सुनिश्चित गरिएको छ । राजनीतिक दलहरूले कनीकुथी कानुनी प्रावधान पूरा गर्न वा देखाउनकै लागि भए पनि महिलालाई आफ्ना गतिविधिमा सहभागी गराउँछन् । तर, प्रमुख पदहरू भने महिलाको भागमा पर्दैनन् । यस पटकको स्थानीय तह चुनावमा पनि महिलालाई कार्यकारी भूमिकामा ल्याइएन ।

अघिल्लो स्थानीय निर्वाचनमा विभिन्न पदमा रहेर काम गरिसकेका महिला प्रतिनिधिहरूलाई यो पटक जिम्मेवारी दिइएन । अनुभव बटुलिसकेका महिलालाई पनि दलहरूले टिकट दिएनन् । गठबन्धनका नाममा भाग मिलाउँदा, महिला प्रतिनिधित्व नै पहिलेका तुलनामा कम भयो । राजनीतिमा मात्र होइन, अन्य क्षेत्रमा पनि महिलाको हालत उस्तै छ ।

सामुदायिक विद्यालयमा थुप्रै वर्षदेखि पढाइरहेकी, मैले चिनेकी एक शिक्षिकाको शैक्षिक योग्यता, अध्यापन अनुभव लगायतले प्रधानाध्यापक हुने योग्यता पुग्छ । उनी प्रधानाध्यापकको दाबेदारका रूपमा आफूलाई प्रस्तुत गर्न तयार भइन्, गरिन् पनि । तर, विद्यालयको व्यवस्थापन समितिका सदस्यहरू, समाजका अगुवा तथा राजनीतिक दलका स्थानीय नेताहरूले उनको साहसलाई फिटिक्कै रुचाएनन् । हरतरहले उनलाई असहयोग र अस्वीकार गरिरहे । हुन त, उनको चिनजान समाजका गण्यमान्यहरूसँग राम्रै छ, पहुँच पनि छ । परिवारका सदस्य त्यसमा पनि विशेष गरी श्रीमान्ले उनको पेसालाई समर्थन नै गर्छन् । तैपनि महिलालाई निर्णायक तहमा हेर्न चाहँदैन या कमजोर ठानेर भरोसा गर्दैन हाम्र्रो पुरुषप्रधान समाज । उनले आम महिलाले जस्तै भातभान्साका सारा काम गर्दै, निकै दौडधुप गरेर थकान सहेरै उक्त स्थान हासिल गरेकी हुन् । देशभरि यस्ता महिला कति होलान् !

केहीअघि राजधानीमा भएको पुस्तक विमोचन कार्यक्रमा एक शिक्षित र सरकारी जागिरे महिलाले भन्दै थिइन्, ‘राजनीतिमा आउन महिलाहरूको आर्थिक पक्ष निकै बलियो हुनु जरुरी छ ।’ उनको तर्क थियो- वडा सदस्य होस् या अध्यक्ष–प्रमुख पद, महिला उम्मेदवारहरूले चुनाव लड्न लाखौं रुपैयाँ खर्च गर्नुपर्छ । त्यसमाथि सम्पत्तिको स्वामित्व पनि नभएका, कमाइ पनि कम भएका महिलालाई त राजनीतिमा आउन झनै कठिन छ । उनको यस्तो भनाइ केही हदसम्म सही हो । महिला, विशेष गरी निम्नवर्गीय महिलाहरूले राजनीतिमा आउन आर्थिक रूपमा बलियो हुनुपर्छ । तर, दुई छाक टार्न, विद्यालय–कलेज जान पनि निकै धौ–धौ भइरहँदा, आर्थिक रूपमा कसरी मजबुत हुने भन्ने प्रश्न उठ्छ ।

गाउँठाउँमा अहिले सहकारी लगायतका आर्थिक कारोबार गर्ने संस्थाहरू थुप्रै छन् । महिला यस्ता संस्था–समूहमा सक्रिय छन् । कतिपय स्थानमा त महिलाको नाममा भएका समूहहरू निरक्षरता र आवश्यक तालिमकै अभावमा पुरुष सदस्यले चलाइदिएका उदाहरण पनि छन् । वित्तीय संस्थाहरूमा महिलाहरू सहभागी हुँदा बचतको महत्त्वबारे केही न केही बुझेकै छन् । तर त्यही बचत पनि श्रीमान्ले या अरू कसैले दिएमा मात्र गर्नुपर्ने स्थिति छ । आम्दानीका स्रोत नै नभएकाले बचतको शाब्दिक अर्थ नै नबुझ्ने महिलाहरू पनि हाम्रै समुदायमा छन् । आर्थिक अवस्था सुदृढ हुनका लागि रोजगारीका बाटाहरू खुल्नुपर्ने हो । कृषि नै आधार मानेर, महिलाको उत्पादकत्व र आर्थिक उपार्जन बढाउन जमिनमा स्वामित्व बढाउनुपर्छ । जमिन नै नहुने महिलाका लागि खेर गैरहेका वा प्रयोगमा नआएका जमिनमा व्यावसायिक खेती गर्न प्रोत्साहन गर्न सकिन्छ । यसले महिलाको आर्थिक वृद्धि हुने र सामाजिक–राजनीतिक गतिविधिमा उपस्थिति पनि बढ्ने थियो ।

महिलाहरूलाई शैक्षिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा सम्मानजनक उपस्थिति गराउनु अहिलेको आवश्यकता हो । त्यसका लागि उनीहरूको आर्थिक अवस्था उकास्न तथा रोजगारी क्षमता बढाउन विभिन्न सीपमूलक तालिम दिन सकिन्छ । त्यस्तै महिला शिक्षामा पनि ध्यान दिनुपर्छ । समाजमा विद्यमान लैंगिक विभेदले पनि महिलाहरूलाई अघि बढ्नबाट रोकिरहेको छ । राजनीतिमा महिलाहरूको सक्रियताले महिलाका समस्यालाई निराकरण गर्दै लैजान सकिन्छ ।

प्रकाशित : जेष्ठ ५, २०७९ ०७:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×