सडक व्यापारीलाई गरी खान देऊ- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
सम्पादकीय

सडक व्यापारीलाई गरी खान देऊ

सम्पादकीय

काठमाडौंका सडक किनारमा सानोतिनो इलम गरी जीविका चलाउनेप्रति नगर प्रहरीले देखाउने रौद्र रूप नौलो होइन । महानगरले सडकमा मञ्चन गरिरहने यस्तो उपद्रव एक नियमित आकस्मिकता हो, जसको सिकार सडकलाई गरिखाने थलो बनाउन बाध्य दीनहीन नागरिकमध्ये कहिले को हुन्छ, कहिले को ।

शुक्रबार मात्रै मकै बेच्ने एक जोडीलाई बालुवाटार नजिक महानगरपालिका अन्तर्गतको नगर प्रहरीले लछारपछार गरी उनीहरूको ठेलागाडा लिएर गएको घटनाले यतिबेला धेरैको कन्पारो तताइरहेको छ । घटनासम्बन्धी तस्बिर तथा दृश्यहरू सामाजिक सञ्चालमा ‘सेयर’ गर्दै मानिसहरूले यसलाई महानगरको संवेदनहीन कार्य भनेका छन् । हुन पनि, सम्बन्धित व्यवसायीको अनुनय–विनय सुन्दै नसुनी नगर प्रहरीले जबर्जस्ती मकैका घोगासहितको ठेलागाडा ट्रकमा हालिरहेको उक्त दृश्यले जोकोहीको आँखा बिझाउँछ । वर्गीय पक्षधरताका हिसाबले मात्र होइन, मानवीय हृदय भएको कसैले पनि महानगरको यो शैलीलाई न्यायोचित मान्न सक्दैन ।

यस्ता घटनाबाट स्वाभाविक रूपमा प्रश्न उठेको छ, देशका सर्वसाधारणले जीविकाको आधार खोज्नै नपाउने भए, आखिर सडक कसको हो ? फेरि, सामान्यतः यस्ता व्यापारीले न सडकै ढाकेर व्यापार गर्ने हुन्, न मानिस हिँड्ने फुटपाथ पूरै छेकेर । कथं उनीहरूले गाडी र बटुवालाई व्यवधान पुर्‍याएका रहेछन् भने पो त्यसो गर्न नदिनु महानगरको जिम्मेवारी हो, यद्यपि त्यस क्रममा पनि महानगरको व्यवस्थापन कार्य सर्वथा शिष्ट हुन जरुरी छ । तर अरूलाई असजिलो नपारीकन आफ्नो व्यवसाय गरिरहेकालाई महानगरले घरीघरी यसरी सत्ता–हुज्जत गर्न किमार्थ मिल्दैन; यस्तो कार्यलाई कुनै पनि दृष्टिले जायज ठहर्‍याउन सकिँदैन ।

काठमाडौं महानगरले बुझ्नुपर्छ- यी व्यापारीहरूले सडक–फुटपाथ कब्जा गरेका होइनन्, त्यहाँ आफ्नो जीविकाको आधार खोजेका मात्र हुन् । र, यो चलन संसारभरकै सहरहरूमा विद्यमान छ । मूलतः फुटपाथका पसलहरू सहरी अनौपचारिक अर्थतन्त्रका एउटा हिस्सा नै हुन् । भनिराख्नै पर्दैन, सहरमा धनी मात्र बस्दैनन्, यहाँ सबै वर्गका मानिसहरू हुन्छन् । सहरमा जसरी फुटपाथमा सामान बेचेर कतिले आफ्नो घर चलाइरहेका हुन्छन्, त्यसरी नै कतिपय मानिसहरू सहजै र सस्तो सामानका निम्ति फुटपाथमै आश्रित हुन्छन् । यसरी फुटपाथ अर्थतन्त्रसित प्रत्यक्ष–परोक्ष लाभान्वित हुनेको संख्या ठूलै हुन्छ । त्यसैले फुटपाथ व्यापारीलाई निषेध होइन, उनीहरूलाई व्यवस्थापन गर्नुपर्ने खाँचो छ; उनीहरूलाई उचित विकल्प दिनु आवश्यक छ । बरु उनीहरूलाई कसरी र कुन हदसम्म औपचारिक अर्थतन्त्रसित जोड्न सकिन्छ, त्यतातिर भने ध्यान दिनु वाञ्छनीय छ ।

महानगरको नवनिर्वाचित नेतृत्व स्वयंकै यस्तो जोरजुलुमका निम्ति निर्देशन त पक्कै थिएन/छैन होला, तर नगर प्रहरीको यस्तो कार्यव्यवहारबाट समग्र महानगरको सोच तथा तल्लो तहका व्यापारी–व्यवसायीलाई हेर्ने उसको दृष्टिकोणमाथि भने अवश्य पनि प्रश्न उठ्छ । तसर्थ, महानगर नेतृत्व यस मामिलामा संवेदनशील हुनैपर्छ, र नगरका कार्यसूचीमा फुटपाथ व्यवसायी व्यवस्थापनको विषयलाई पनि प्राथमिकताका साथ राख्नुपर्छ । महानगरले यसको व्यवस्थापनका अनेक विकल्पहरू पहिल्याउनुपर्छ । कतिले यस्तो व्यापारका निम्ति सडकबाहेकको वैकल्पिक स्थान सुझाउने गरेका छन्, तर बिक्रेताहरूलाई यस्ता वैकल्पिक स्थान छनोट गरिदिँदा उनीहरूको इलम यथा रूपमा चल्न सक्छ/सक्दैन भन्नेतर्फ पनि विचार गर्नुपर्छ ।

साँघुरो फुटपाथ भएका र अति व्यस्त सडकमा पक्कै पनि यस्तो व्यवसायलाई प्रतिबन्ध नै लगाउन सकिन्छ । तर सबका सब सडकमा यसलाई रोक्नु न मुनासिब हुन्छ न व्यावहारिक नै । त्यसैले सडककै छेउछाउ पनि कुन बेला, कहाँ–कहाँ मात्रै र कुन रूपमा यस्तो व्यवसाय गर्न दिइने भनेर महानगरले व्यवस्थित मापदण्ड नै जारी गर्नु उचित हुन्छ । बिक्रेताका अधिकार, उनीहरूले पालना गर्नुपर्ने नियम, महानगरले दण्डित गर्न सक्ने अवस्था र दण्डको प्रकृति पनि यस्तो मापदण्डमा सविस्तार खुलाइनुपर्छ । पैदलयात्रुलाई असहज त यस्ता व्यापारीले भन्दा पनि कतिपय स्थानमा सटरभन्दा निकै अघिसम्म सामान राख्ने पसले र फुटपाथमै पार्किङ गर्ने सवारीधनीले पुर्‍याइरहेका छन् । महानगरको ध्यान त्यसतर्फ पो बढी जानुपर्छ; खालि ‘जो होचो उसको मुखमा घोचो’ भनेजसरी निमुखाहरूलाई मात्रै खेद्नु कदापि हुँदैन ।

अर्को यथार्थ, नगर प्रहरीले फुटपाथका सामान बेच्नेहरूसित घूस असुलिरहेको तथ्य खुला रहस्यजस्तै छ, जसलाई यही पछिल्लो घटनाले पनि फेरि उजागर गरेको छ । पाँच हजार रुपैयाँ दिन नमानेपछि आफूहरूमाथि ज्यादती गरिएको यो जोडीको आरोप छ । यही आरोपका आधारमा पनि यस्ता घूस प्रकरणमाथि महानगरले छानबिन गर्नुपर्छ । यसो गर्नु किन पनि जरुरी छ भने, यो क्षेत्रमा घूसकै कारण पनि समस्या थपिएको छ । घूस दिनेहरू जथाभावी बेचिरहन्छन्, नदिनेहरू नगर प्रहरीको वक्रदृष्टिको सिकार बन्छन् । र, महानगरले यस्ता प्रहरीलाई कार्यक्षेत्रमा खटिँदा सबैसित शिष्ट व्यवहार गर्न पनि प्रशिक्षित गर्नुपर्छ । ऊनीहरूको त्रूर तथा निर्दयी व्यवहारकै कारण महानगरले आफ्नो समग्र छवि धमिल्याउनु हुँदैन ।

हिजो चुनावअघि ‘गरिबको चमेली बोल्दिने कोही छैन’ गीतमा आफ्ना शब्द जोडेर र्‍याप गाउने गरेका वर्तमान मेयर बालेन्द्र शाहको आज तिनै गरिबहरूका यस्ता सवालप्रति ध्यानाकर्षण हुनैपर्छ ।

प्रकाशित : असार १९, २०७९ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्

पर्मले धानेको रोपाइँ

ज्यालादारीमा खर्च गर्न नसक्ने परिवारलाई आलोपालो सघाउने चलनले खेतीपाती सहज
भानुभक्त निरौला

सोलुखुम्बु — नेचासल्यान–१ की सीता बस्नेतलाई असार लागेयता एक दिन फुर्सद छैन । उनलाई पर्म तिर्न भ्याइनभ्याइ छ । २० जनाको समूहमा आलोपालो रोपाइँ गर्नकै लागि उनले पर्म लगाइरहेकी छन् । उनी बिहानभरि घरको धन्दा गरेर १० बज्नासाथ घुम बोकी रोपाहार बनेर छिमेकीकहाँ जान्छिन् । ‘म कम्तीमा २० दिन अरूको रोपाइँमा जान्छु, अनि मेरोमा २० जना आएर एकै दिनमा रोपाइँ सकिदिनुहुन्छ,’ बस्नेतले भनिन् । 

सोलुखुम्बुको नेचासल्यानमा रोपाइँ गर्दै किसान । तस्बिर : भानुभक्त निरौला/कान्तिपुर

हुर्किएदेखि नै असारमा पर्म गर्ने गरेका स्थानीय ७५ वर्षीय रत्न राई रोपाइँका बेला गोरु दाउने, दाँदे लाउने तथा आली लगाउने काम गर्थे । उनी उमेर ढल्किँदै गएयता धानको बीउ काड्छन् । ‘म सानो हुँदादेखि घरमा बुबाआमा नै मेलापात र पर्म जाने भनेर दिउँसो छिमेकीको मेलामा जानुहुन्थ्यो,’ उनले भने, ‘म यो उमेरसम्म पुग्दा पनि अर्मपर्म गरेर नै गाउँका सबैको रोपाइँ सक्ने गरेका छौं ।’ बयोवृद्ध राईलाई पर्मेली परम्परा कहिले सुरु भयो भन्ने यकिन छैन ।

पहाडमा खेतीपाती सुरुवातबाटै एकअर्कालाई सघाउने चलन बसेको हुनुपर्ने उनलाई लाग्छ । ‘बाउबाजेहरूले पनि पर्म गर्ने गरेको सुनाउँथे,’ उनले भने ।

सोलुखुम्बुको दक्षिणी क्षेत्रमा रोपाइँको रौनक निकै पृथक् छ । जसको खेतमा रोपाइँ हुने हो, त्यहाँका गराहरू बिहानैदेखि पानीले डम्म पारिन्छन् । जब १० बज्छ अनि एउटा छिमेकी हलगोरु लिएर जोत्न थाल्छ, अर्को हल लिएर दाँदे लाउन थाल्छन्, अर्का फ्याउरी लाउँछन् । अनि बाउसेहरू घरघरबाटै कोदाली ल्याएर आउँछन्, खेत छेउभित्ता खनेर आली लाउँछन् ।

अनि सुरु हुन्छ रोपाहारको काम । ब्याडबाट बीउ ल्याउने अनि असारे गीत गाउँदै धान रोप्ने । अनि एक जना रोपाहार भने आलीमा भटमास रोप्दै बाउसे पछ्याइरहेको देखिन्छ । नेचा सल्यान–३ की सीता शर्मा असार–साउन रोपाइँमै बित्ने बताउँछिन् । यस क्षेत्रमा अहिलेको वर्षायामको समयमा जाने जोकोहीले पनि सामूहिक खेतीको अवलोकन र प्रभावकारी पर्मेली प्रथालाई नजिकबाट नियाल्ने मौका पाउँछन् ।

घरमा धेरै जनशक्ति नभएकाले पैसा तिरेर खेतालाका रूपमा मान्छे लगाएर धान रोप्ने गरे पनि स्थानीय ९० प्रतिशत कृषकले भने पर्मबाटै रोपाइँ सक्छन् । स्थानीयका अनुसार असारमा धान रोप्न मात्रै होइन, मंसिरमा धान भित्र्याउन पनि यहाँका कृषक पर्म नै लगाउने गर्छन् । ‘असारमा धान रोपेको पर्मको हिसाबकिताब मंसिरसम्म राख्ने गरिन्छ,’ सोलु दूधकुण्ड–११ तिंलकी गोमा बस्नेतले भनिन्, ‘असारमा तिर्न बाँकी रहेको पर्म धान काटेर पनि तिर्ने चलन छ ।’ उनका अनुसार पर्मेली प्रथामा लैंगिक विभेद भने हट्दै गएको छ । ‘पहिला रोपाइँमा एउटा बाउसे (पुरुष) एक दिन आएबापत एउटा रोपाहार (महिला) दुई दिन पर्म तिर्न जानुपर्थ्यो, अहिले भने एक बाउसे बराबर एक रोपाहारले नै पर्म तिर्ने गरिन्छ,’ उनले भनिन् ।

प्रकाशित : असार १९, २०७९ ०६:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×