कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मदनलाई कसरी सम्झिने ?

मदन भण्डारीले जोडेको वामपन्थी एकता हतारमा गरिएको सत्ताको एकता थिएन । मदनले २०४६ सालमै वाम आन्दोलनलाई विशिष्ट ढंगले एकीकृत गर्नुपर्छ भन्ने भावना बोध भएर यो प्रस्ताव अघि सारेका थिए ।
गोपाल खनाल

मदन भण्डारीलाई एमालेका तत्कालीन महासचिव भनेर सम्झँदा आदर्श नेताको चरित्र हावी हुन्छ, सिद्धान्त र व्यवहार दुवै कोणमा । जब मदनलाई जनताको बहुदलीय जनवाद (जबज) का प्रणेता मानिन्छ, उनको बढी सैद्धान्तिक, यथार्थवादी दार्शनिक, उदार व्यावहारिक चरित्र सामुन्नेमा आउँछ । त्यसो त, महासचिव र सिद्धान्तकार मदनलाई पारदर्शी पातलो सीमाले मात्र विभाजित गरेको छ ।

मदनलाई कसरी सम्झिने ?

कम्युनिस्ट पार्टीमा सबै महासचिव सिद्धान्तकार हुँदैनन्, हुन सक्दैनन् पनि । कम्युनिस्टको पहिलो घोषणापत्र लेखे पनि कार्लमार्क्स कम्युनिस्ट नेता होइनन्, महान् दार्शनिक हुन् । लेनिन दार्शनिक होइनन्, मार्क्सवादी सिद्धान्तकार र ‘एक्सन’ नेता हुन् । त्यही मार्क्सवाद पढेर र लेनिनको संगत गरेका जोसेफ स्टालिनलाई कम्युनिस्ट शासकभन्दा अधिनायकवादी शासक भन्दा हुन्छ ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) कै छाताभित्र माओत्सेतुङ सम्मानका साथ ‘चेयरम्यान’ का रूपमा चिनिए जब कि उनी अनुदार मार्क्सवादी थिए । पहिलो सर्वहारावर्गको अधिनायकत्व स्थापित गरेको भन्दै स्टालिन मान्ने र स्टालिनलाई नमानेको भन्दै निकिता ख्रुस्चेवलाई संशोधनवादी भन्ने पनि माओ नै । यद्धपि, उत्तरार्द्धमा ख्रुस्चेव र माओबीच हार्दिक सम्बन्ध सुधार भयो । तर नितान्त भिन्न देङ स्याओ पिङ चिनियाँ आर्थिक क्रान्तिका नायकका रूपमा चिनिए । नेपालमा सीपी मैनाली, झलनाथ खनाल, माधव नेपाल माले/एमालेका महासचिव र अध्यक्ष भए, तर सिद्धान्तकार हुन सकेनन्, अहिले कम्युनिस्ट नामधारी नयाँ पसलका मालिकजस्ता भएका छन् ।

मसाल, मशाल, एकता केन्द्र, माओवादी हुँदै एमाओवादी केन्द्रसम्म आइपुग्दा प्रचण्ड महासचिव र अहिले सुप्रिमो नै छन् तर रणनीतिक लक्ष्य गायब छ र कार्यनीतिमा चरम अवसरवाद देखिन्छ । उनी यति लचक छन् कि एकै समय उनी एमालेका अध्यक्ष ओलीलाई अध्यक्ष मान्छन् भने कांग्रेस सभापति देउवालाई काँध थाप्छन् र उनीमार्फत देशमा समाजवाद स्थापना हुने विश्वास राख्छन् । अरू कम्युनिस्ट नेतातिर खासै प्रवेश गर्नु नै पर्दैन । चीनलाई अलग गरेर हेर्दा, विश्व कम्युनिस्ट आन्दोलनका कर्ताहरू क्रान्तिताका बढी आदर्शवादी र जनवादी देखिन्छन् तर जब सत्तासीन हुन्छन् शासक बन्छन् र कम्युनिस्टप्रति वितृष्णाका कारक बन्छन् । पश्चिम बंगालमा ३४ वर्ष सत्ता चलाएका भारतीय मार्क्सवादीको त अहिले समूल नष्ट भयो ।

जननेता मदनको राजकीय जिम्मेवारीको अनुभव जनताले गर्न पाएनन् । महासचिव भएको र सिद्धान्तको प्रतिवादनको केही वर्षमै अल्पायुमै षड्यन्त्रपूर्वक हत्या भएका कारण सत्तासीन मदनलाई राष्ट्रले बेहोर्न पाएन । तर खुला र सक्रिय राजनीतिको छोटो अवधिमा घरेलु मात्रै होइन, विश्व कम्युनिस्ट आन्दोलनमा जुन योगदान उनले गरे, त्यसले दशकौंसम्म कम्युनिस्टहरूको मार्गको रेखाङ्कन गरेको छ । कम्युनिस्टका लागि उनले बाटो बनाइदिएका छन्, पहिल्याउँदै यात्रा गर्दा मात्र पनि दुर्घटनाबाट बच्ने सम्भावना छ । कम्युनिस्टइतर शक्तिलाई पनि उनले ठोस परिस्थितिको ठोस विश्लेषण गरेर अघि बढ्न प्रेरित गरेका छन् ।

उपलब्धिबाट थपतिर

जब राजनीतिमा मौलिक सिद्धान्तको प्रतिपादन हुँदैन वा मौलिक एजेन्डा स्थापित गर्न सकिँदैन, राजनीति अघि बढाउने आधारका लागि इतिहासको खोजी हुन्छ । बीपी कोइराला र मदन भण्डारीहरूलाई पढ्ने त्यही कारणले हो । सायद, मदनकै अवधारणा बमोजिम हुनुपर्छ राजावादी राप्रपा, जनवादी विप्लव र अलगाववादी सीके राउतहरू पनि संविधानकै उपलब्धिबाट आफ्ना माग सम्बोधन गर्ने बाटामा आइपुगेका छन् । मदन भण्डारीले २०४७ को संविधानमाथि २७ बुँदे लिखित असहमति राखेर संविधानभित्रैबाट थप उपलब्धि प्राप्ति गर्न सकिने निष्कर्ष निकालेका थिए, यो पार्टीका रूपमा मालेको निष्कर्ष थियो । आखिर मुलुकको कम्युनिस्ट कित्ता व्यवहारतः ३१ वर्षपछि पनि यही बहुदलीयताको सिद्धान्तको मार्गमा छ ।

राजा र हिन्दुराष्ट्रबिना देश बाँच्दैन भन्ने राप्रपा, सर्वहारा वर्गकै जनवादी राज्यसत्ता स्थापित गर्छु भन्ने विप्लव र अलग मधेश देशको निर्माणबिना मधेशीको आत्मसम्मान पुनःस्थापित गर्न सकिँदैन भन्ने सीकेले यही संविधान र मूलधारे राजनीतिबाटै त्यो सम्भव देख्ने अवस्थाको निर्माणमा जबजको व्यावहारिक साझेदारी छ । त्यस्तै, १० वर्षे भूमिगत जनयुद्ध गरी जनवाद अर्को भाषामा सर्वहारा वर्गको सत्ता स्थापना गर्ने लक्ष्य राखेको माओवादी अन्ततः बहुदलीय जनवादकै अनुयायी देखियो । जबजको स्वीकारोक्तिले पहिचान लोप हुन्छ भन्ने लघुताभास पाल्दा मात्र एक्काइसौं शताब्दीको जनवादको जामा पहिरियो । त्यसको एउटा जल्दोबल्दो प्रमाण २०७५ जेठ ३ मा एमाले र माओवादीले एकीकरणको घोषणा गर्दा जबज र २१ औं शताब्दीको जनवादको अस्पष्ट सिद्धान्त त्यागेर भविष्यमा व्याख्या गर्ने सर्तमा जनताको जनवादको साझा सैद्धान्तिक मार्गदर्शन अपनाउनु ।

२०४७ को संविधान स्विकारेर त्यसैको आलोचनात्मक समर्थन गर्दै जनतामा आफ्नो विचारसहित अघि बढेको एमाले अहिले मूल शक्तिका रूपमा स्थापित भयो भने संसदीय व्यवस्था उखेलेर फाल्ने भन्दै भूमिगत सशस्त्र विद्रोहमा लागेको माओवादी ठूलो क्षतिपछि अन्ततः मदनकै बाटामा आयो । आखिर ब्यालेटमार्फत नै अर्को शक्ति बन्यो । त्यसैले प्रश्न त उठ्छ १७ हजारको बलिदान र एउटा पुस्ताको राजनीतिक समयको हत्यापछि फेरि उही पुरानै ‘दक्षिणपन्थी संसदीय भास’ को राजनीतिमा ?

भूमिगत विद्रोहको तयारी गरेका यिनै शक्तिले २०४८ सालको चुनाव बहिष्कार गर्नुपर्छ भन्ने माहोल बनाउने कोसिस गर्दा त्यसका विरुद्ध मदनले अडान लिएका हुन् । र, संसदीय निर्वाचनमार्फत नै समाजको नेतृत्व गर्न सकिन्छ र त्यस भित्रै अधिकतम अधिकारको प्रयोग गरी आफ्ना विचार विस्तार गर्ने सकिन्छ भनेर मदनले आह्वान गरेको बिर्सनु हुँदैन ।

आन्तरिक प्रजातन्त्र

कम्युनिस्ट पार्टीभित्र प्रायः उठ्ने अर्को महत्त्वपूर्ण प्रश्न आन्तरिक प्रजातन्त्रको अभ्यास हो । हुन त पार्टी संगठनको प्रजातन्त्रीकरण, भ्रातृ संगठनको आवधिक अधिवेशन र निर्वाचन, मुद्दामा यथोचित बहसलाई आधार मान्दा नेपालका कम्युनिस्ट नामका पार्टीभन्दा देउवा कांग्रेस प्रजातान्त्रिक देखिँदैन । कम्युनिस्टमा व्यक्तित्वको टकराव बढी छ भने आन्तरिक विद्रोहको अभ्यास पनि । अहिले नेपालका सबै मुख्य पार्टीका रहेको एउटा समानता भनेको मुख्य नेतृत्व अर्थात् प्रमुखलाई चुनौती दिने अवस्था नहुनु । त्यसैले कम्युनिस्ट भन्नेबित्तिकै आन्तरिक प्रजातन्त्रको निषेध र कांग्रेस भन्दैमा गजबको आन्तरिक बहस भन्ने अवस्था कम्तीमा अहिले नेपालमा विद्यमान छैन ।

जहाँसम्म मदनको प्रसंग छ, उनी खुला बहसलाई आह्वान गरेर त्यसैमार्फत कम्युनिस्ट पार्टी अघि बढ्न सक्नुपर्छ भन्ने मान्यतामा अडिग देखिन्थे । सायद, जनवादी केन्द्रीयताको वास्तविक अभ्यास यही थियो । ‘२०४७ को संविधानमा मालेको धारणा’ नामक सानो पुस्तिकाको एक ठाउँमा भण्डारीले भनेका छन्, ‘हाम्रो पार्टीले अघि सारेका विचारहरूप्रति टीकाटिप्पणी गर्नुहोस्, हाम्रो आलोचना गर्नुहोस् ।’ यसो भन्नुको अर्थ नेतृत्वमा आलोचना सुन्ने क्षमता हुनुपर्छ र त्यसो हुँदा पार्टी गतिशील हुन्छ भन्ने हो । पार्टीभित्र दृष्टिकोणका कारणले होस् वा व्यक्तित्वको टकराव नै छ भने पनि आन्तरिक बहसमार्फत समाधान गर्न सकिन्छ भन्ने निष्कर्ष हो ।

मदन प्रायः व्यक्तिभन्दा प्रवृत्तिमाथि प्रहार गर्थे । त्यसैको एक उदाहरण थियो– राजा रहने र नरहने कुराले मात्रले तात्त्विक फरक ल्याउन सक्दैन भन्ने मान्यता । राजा नरहने तर सामन्तवाद, दलाल नोकरशाही कायम रहने हो भने परिवर्तन आउँदैन भन्नु वास्तवमै सही थियो भन्नलाई त्यसयताका विकासक्रम नै पर्याप्त छन् । संवैधानिक र निरंकुश राजा हटाएकै डेढ दशक हुँदा पनि समृद्धि र विकासले अपेक्षित लय नलिनुको दोष अब हुँदै नभएको उक्त संस्थालाई थोपरेर हुँदैन । र, सत्य के पनि हो भने जन्मँदै राजा हुने व्यवस्थाको पुनःस्थापनाको सपना नदेख्नुमै देशको कल्याण छ ।

वामपन्थी एकता

नेकपा बन्यो, भत्क्यो । नेकपाको निर्माण देशकै आवश्यकता थियो तर सत्तास्वार्थमा समान हिस्सेदारी खोज्दा भत्क्यो । कसैको बलमिच्याइँ भयो, कसैले हैसियत बिर्स्यो, जेहोस् कम्युनिस्ट मिल्दा झन्डै दुइतिहाइ आयो, फुट्दा सिट शक्ति घट्यो । फेरि थप घट्न पनि सक्छ । मदनले जोडेको वामपन्थी एकता हतारमा गरिएको सत्ताको एकता थिएन । मदनले २०४६ सालमै वाम आन्दोलनलाई विशिष्ट ढंगले एकीकृत गर्नुपर्छ भन्ने भावना बोध भएर यो प्रस्ताव अघि सारेका थिए । अन्ततः त्यो एकतामा पुग्छ भन्ने सोच उनको थियो । नभन्दै माले र मार्क्सवादी मिलेर एमाले बन्यो । राष्ट्र बदल्ने सोच हुँदा एकतामाथि व्यक्तिगत स्वार्थ हावी हुँदैन ।

अध्यक्ष ओलीले अहिले विनिर्माण गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकांक्षामा मदनको सपनाको अंश छ । जबजले सैद्धान्तिक आधार नपाउँदै संविधानमाथि राखिएको आलोचनात्मक समर्थन र वामपन्थी एकतामार्फत भविष्यको नेपालको कल्पनाभित्र यो जनआकांक्षा सन्निहित थियो । त्यसो त ओली आफैंले ‘समृद्धि नेपाल, सुखी नेपाली’ को आकांक्षामा टंकप्रसाद आचार्यको समेत सोच प्रतिविम्बित भएको स्विकारेका छन् ।

मदनले देशलाई जिम्मा लगाएको राजनीतिक सम्पत्ति फेरि पनि जबज नै हो । कम्युनिस्टका लागि यो कम्युनिस्ट घोषणापत्रको नेपाली संस्करण थियो । वास्तवमा जबजप्रति अधिक स्वामित्व ग्रहण गर्नेले यसलाई जडसूत्रवादी र यान्त्रीकरण गर्न खोजेको देखिन्छ भने आजाद आलोचकहरूले हैसियत बिर्सेर विद्वान् पल्टिन आलोचना गर्ने गरेको देखिन्छ । मार्क्सवाद लेनिनवादको मार्गदर्शनलाई कायम राख्दा त्यसको प्रगतिशील रूपान्तरणमा मदनको जोड देखिन्छ । समाजवाद र साम्यवादको आदर्शलाई सधैं अनुसरण गर्नुपर्ने धारणा उनको छ । तर आजका कम्युनिस्टले प्रमाणित गरेको सत्य के हो भने साम्यवाद अब असान्दर्भिक भइसक्यो । मदन सोचेजस्तो वास्तविक वाम एकता हुँदा सम्भव थियो सायद तर अब समयले त्यतातिर अनुमति दिन सक्दैन ।

अर्को, अहिलेका कम्युनिस्ट समाजवादी हुन्, साम्यवादी होइनन् । कम्युनिस्टको आधारभूत चरित्र वर्गीय पक्षधरतालाई तिलाञ्जली दिएका र प्रजातान्त्रिक समाजवादीलाई गुरु थापेका पार्टीले साम्यवादकै अपमान गरेका छन् । समाजवाद स्थापनाको लक्ष्य त कम्युनिस्टका दस्तावेजमा मात्र होइन, संविधानसभाद्वारा निर्मित यो संविधानमै छ । पुँजीवादको घोडा चढेर समाजवाद ल्याउने एजेन्डा मुलुकको साझा एजेन्डा नै भयो, भलै समाजवादको व्याख्या फरक छ । कम्युनिस्टहरूको मार्क्सवादी समाजवाद र कांग्रेसको प्रजातान्त्रिक समाजवाद । गजब के छ भने कम्युनिस्टले सत्ता नेतृत्व गर्दा होस् वा कांग्रेसले, समाजवादको उनीहरूले दाबी गरेको मोडलको अभ्यासको भएको देखिँदैन ।

जनवादी व्यवस्था कस्तो हुने त्यसको रूपरेखा आफूलाई क्रान्तिकारी ठान्ने कम्युनिस्ट नेताले दिन सकेका छैनन् । जब रूपरेखाको अन्दाजसमेत छैन भने मार्क्स र एङ्गेल्सको सन् १८४८ को घोषणापत्रका केही पाठ रट्दैमा जनवादी भइँदैन । र, एउटा ढुक्कका साथ भन्न सकिन्छ, यिनै विद्यमान कम्युनिस्टबाट नेपालमा जनवादी व्यवस्था आउँदैन । कम्युनिस्टको अन्तर्राष्ट्रिय जाति हुनेछ भनेर गीत गाउने तर देशलाई १४ जातीय राज्यमा विभाजन गर्ने प्रस्ताव ल्याउने प्रचण्डपथ देखेकै हो । र, त्यही देशलाई विभिन्न जातजातिमा विभाजन गर्ने क्रान्तिकारी प्रस्ताव रोक्ने पनि अर्का कम्युनिस्ट नेता ओली नै हुन् । जातीय राज्य बनाउन चाहने कम्युनिस्ट कि जातीय राज्य बनाउनु हुँदैन भन्ने कम्युनिस्ट ?

बुझाइ र संश्लेषणका कोण फरक हुन्, मूल मुद्दा मदनलाई कसरी सम्झिने भन्ने मात्र हो ।

प्रकाशित : असार १४, २०७९ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?