किन हुनुपर्छ पूर्ण समानुपातिक निर्वाचन प्रणाली ?- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किन हुनुपर्छ पूर्ण समानुपातिक निर्वाचन प्रणाली ?

पूर्ण समानुपातिक भएका देशहरूमा आर्थिक र सामाजिक समानता बढी हुने गरेको छ । राजनीतिमा अतिवाद हुने सम्भावना कम हुनुका साथै प्रतिनिधिमूलक लोकतन्त्रको उच्चतम अभ्यास हुन्छ ।
सौरेन्द्रबहादुर शाह

समानुपातिक निर्वाचन प्रणालीमा निर्वाचित प्रतिनिधिको संख्या सम्बन्धित राजनीतिक दलले पाएको मतका आधारमा निर्धारण गरिन्छ । २०७२ सालको नेपालको संविधानपछि संघ र प्रदेशसभामा ४० प्रतिशत प्रतिनिधि समानुपातिक प्रणालीबाट आउने व्यवस्था छ । तर यतिले नपुगेर निर्वाचन प्रणाली पूर्णरूपमै समानुपतिक हुनुपर्ने माग कतिपय राजनतिक दलभित्रैबाट पनि उठ्ने गरेको छ । 

पूर्ण समानुपातिक प्रणालीमा सबै मतको प्रतिनिधित्व हुने गरी र दललाई खसालेको मतका आधारमा संसद्मा संख्या निर्धारण हुन्छ । र, पूर्ण समानुपातिक संसदको आधारभूत सिद्धान्त सबै मतदाताको कदर हो । प्रत्यक्ष निर्वाचन प्रणाली (पहिलो हुने, निर्वाचित हुने) मा भने सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार निर्वाचित हुन्छन् । अरु उम्मेदवारको मत एक प्रकारले ‘खेर’ जान्छ । यो निर्वाचन प्रणालीका धेरै खराबी छन्, जसमध्ये एक हो- सबै नागरिकको मतको प्रतिनिधित्व नहुनु । सबैभन्दा धेरै मत आउने उम्मेदवार संसद्मा जान्छन् तर सोही क्षेत्रमा अरु उम्मेदवारको मतको काहीं पनि प्रतिनिधित्व हुँदैन । साथै, राज्यका संयन्त्रको सञ्चालनमा ठूला राजनीतिक दलहरूको एक प्रकारको ‘सिन्डिकेट’ स्थापित हुने सम्भावना हुन्छ । नेपालको राजनीतिमा ठूला दलहरूले ‘सिन्डिकेट’ का रूपमा व्यवहार गरेका उदाहरण पर्याप्त छन् । सबै मतको प्रतिनिधित्व हुने हुनाले पूर्ण समानुपातिक प्रणाली संसारभरि सबैभन्दा धेरै लोकतान्त्रिक देखिएको छ ।

अन्तर्राष्ट्रिय अभ्यास

दक्षिण अमेरिका, युरोपका धेरै र दक्षिण पूर्वी एसिया र अफ्रिकाका केहीसहित पूर्ण समानुपातिक निर्वाचन प्रणाली ८५ देशमा छ । समानुपातिक प्रणाली मुख्य दुई प्रकारका हुन्छन्- बन्द सूची र खुल्ला सूची । बन्द सूची अहिले नेपालले अवलम्बन गरेको मिश्रित निर्वाचन प्रणालीको ४० प्रतिशत समानुपातिकको भाग हो, जसमा राजनीतिक दलले विधायिकाका लागि उम्मेदवारको सूची निर्वाचन आयोगलाई चुनाव पहिल्यै बुझाउँछ र दल आफैंले उम्मेदवारका क्रम संख्या निर्धारण गर्छ, यसमा मतदाताले उम्मेदवारलाई होइन दललाई मत हालेका हुन्छन् ।

युरोपका अधिकांश देशले भने समानुपातिकअन्तर्गत खुल्ला सूची अभ्यास गर्छन् । खुल्ला सूचीमा पनि दललाई नै मत हाल्ने हो तर यसमा दलको सूचीअनुरूप आफ्नो उम्मेदवारको प्राथमिकतालाई व्यक्त गर्न सकिन्छ । समानुपातिकअन्तर्गत खुल्ला सूचीमा केही हदसम्म मतदाताले आफूलाई मन परेको उम्मेदवारको वर्गीकरण गर्न सक्छन् र सर्वाधिक लोकप्रिय उम्मेदवार संसद्मा चुनिन्छन् । दललाई मत हालेकै आधारमा चुनिने भए पनि यसमा आफूलाई मन परेको उम्मेदवारलाई छान्ने अधिकार बन्द सूचीजस्तो राजनीतिक दललाई नभएर मतदाताकै हातमा हुन्छ । यस कारण पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा गएको खण्डमा खुल्ला सूचीको अवधारणा अपनाए मतदाताको अझ प्रतिनिधत्व हुने थियो । फिनल्यान्ड, बेल्जियम र स्विट्जरल्यान्डलगायत देशमा यस्तै अभ्यास छ ।

पूर्ण समानुपातिकका फाइदा

क) समाजको विभिन्न क्षेत्रको प्रनिधित्व हुन्छ साथै सबै मतदाताको कदर पनि । पूर्ण समानुपातिकमा समाजको विभिन्न तप्काबाट संसद्मा प्रतिनिधित्व हुने सम्भावना अरू निर्वाचन प्रणालीको तुलनामा धेरै छ, जसको उदाहरण पूर्ण समानुपातिक प्रणाली भएका धेरै देश हुन् । यो प्रणाली भएका युरोप र दक्षिण अमेरिकाका देशहरूको संसद्मा महिला, जनजाति, अल्पसंख्यकलगायतको प्रतिनिधित्व तुलनात्मक रूपमा प्रत्यक्ष निर्वाचित प्रणालीभन्दा राम्रो हुने गरेको छ । पूर्ण समानुपातिकको संरचनाले मुख्य राजनीतिक दलहरूभन्दा पृथक, वैकल्पिक र स्वतन्त्र विचार भएका मोर्चाको पनि संसद्मा तुलनात्मक रूपमा उल्लेख्य प्रतिनिधत्व गर्ने गरेको छ । फरक सोच राख्ने दल/समूहले मुख्य राजनीतिक दलको एकाधिकारलाई प्रतिकार गर्छ । समाजको विभिन्न तह–तप्काबाट अवाज उठ्यो भने मात्र सबै नागरिकको पहुँचको संसद् हुनेछ । र, अरु निर्वाचन प्रणालीको तुलनामा पूर्ण समानुपातिकले समाजका सबै क्षेत्रको प्रतिनिधत्वको सुनिश्चिता गर्छ । जस्तो अमेरिकाको तल्लो र माथिल्लो दुवै सदनमा प्रत्यक्ष निर्वाचन प्रणाली छ । हार्वर्ड विश्वविद्यालयका कानुनका प्राध्यापक लानी गुइनियरकको निष्कर्ष छ- पूर्ण समानुपातिक निर्वाचन प्रणालीले मात्र राजनीतिमा अमेरिकाका अल्पसंख्यकको असल प्रतिनिधित्व हुन्छ ।

ख) चुनावी खर्च र चुनिएका प्रतिनिधिले आफ्नो निर्वाचन क्षेत्रलाई मात्र हेर्ने ‘रोग’ को उपचार पनि पूर्ण समानुपातिक प्रणालीले गर्छ । २०७४ सालको संघ र प्रदेशको चुनावमा प्रत्येक्षतर्फबाट उठेको उम्मेदवारले करोडौं खर्च गर्नुपर्‍यो र आसन्न चुनावमा उम्मेदवारहरूले कति खर्च गर्लान् अनुमान लगाउन पनि कठिन छ । करोडौं खर्च गरेर जितेपछि संसद्‌मा जाँदा जनसरोकारभन्दा आफ्नो ‘लगानी’ उठाउने विषय प्राथमिकतामा पर्ने भयो अनि यस्तो सांसद र संसद्ले कस्तो काम गर्छन् भन्ने हाम्रो अगाडि प्रस्टै छ । मन्त्री भएपछि आफ्नो निर्वाचन क्षेत्रमा मात्र बजेट विनियोजन गर्ने ‘रोग’ ले पनि नेताहरू ग्रसित छन् । देश–प्रदेश समग्रको मन्त्री भएको आभास हुनुको साटो आफ्नो निर्वाचन क्षेत्र वा जिल्लाको मात्र जिम्मेवारीबोध हुनु ठूलो दुर्भाग्य हो । पूर्ण समानुपातिक संसद् भयो भने एक त उम्मेदवारले चुनावमा करोडौं खर्च गर्नुपरेन अर्को मन्त्री हुने व्यक्तिको निश्चित निर्वाचन क्षेत्र नहुने भएकाले समग्र देश–प्रदेशको हितमा काम गर्न बढी प्रोत्साहित हुनु स्वाभाविक हो ।

ग) पूर्ण समानुपातिक निर्वाचन प्रणालीले आर्थिक समानता बढाउँछ साथै विपन्न वर्गको सशक्तीकरण पनि गर्छ । पूर्ण समानुपातिक प्रणाली भएका देशहरूमा असमानता कम भएको पाइन्छ । जस्तो, युरोपका पूर्ण समानुपातिक अपनाएका देशहरूमा अमेरिका र क्यानाडाको दाँजोमा समानता अभिवृद्धिका नीतिहरू धेरै हुने गरेका छन् । प्रत्यक्ष निर्वाचन प्रणाली भएका देशहरूमा सांसदले आफ्नो निर्वाचन क्षेत्रको र त्यो पनि निर्वाचन क्षेत्रमा प्रभावशाली व्यक्तिहरूको मात्र कुरा सुन्ने परिपाटी बसेको हुन्छ जबकि पूर्ण समानुपातिक प्रणालीमा समाजका सबै वर्ग र क्षेत्रको सल्लाह लिन केही हदसम्म सांसद बाध्य हुने सम्भावना हुन्छ । प्राध्यापक/शोधकर्ता जुलियन बर्नाउर र नाथली गिगरले दर्जनौं देशका निर्वाचन प्रणालीको विश्लेषण–शोध गरेर पूर्ण समानुपातिक निर्वाचन प्रणालीले समाजमा आर्थिक समानता बढाउनुका साथै विपन्न वर्गको सशक्तीकरण गर्छ भन्ने निष्कर्ष निकालेका छन् । यो प्रणाली अपनाएका देशहरूको तुलनात्मक रूपमा सार्वजनिक शिक्षा, स्वास्थ्य र अरु सामाजिक सुरक्षाको बजेट पनि धेरै हुन्छ । समग्रमा पूर्ण समानुपातिक भएका देशहरूमा प्रत्यक्ष निर्वाचन प्रणालीभन्दा आर्थिक र सामाजिक समानता बढी हुने गरेको छ ।

यीबाहेक पूर्ण समानुपातिक निर्वाचन प्रणालीका अरु फाइदा पनि छन् । जस्तो राजनीतिमा अतिवाद हुने सम्भावना कम हुन्छ, विभिन्न राजनीतिक दलहरूमाझ एकजुट भएर राष्ट्रको बृहत् हितका लागि काम गर्ने परिपाटी बस्छ, प्रतिनिधिमूलक लोकतन्त्रको उच्चतम अभ्यास हुन्छ, राजनीतिज्ञहरूलाई मतदाताप्रति उत्तरदायी बनाउँछ अनि ठूलो दलको ‘सिन्डिकेट’ पनि तोड्छ ।

समग्र राजनीति र सेवा प्रवाहमा सकारात्मक परिवर्तन ल्याउन पनि नेपालको निर्वाचन प्रणालीमा व्यापक परिवर्तन अपरिहार्य छ । त्यसका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नु उत्तम विकल्प हो, यसैले परिवर्तन गर्छ । आर्थिक क्रान्तिका लागि राजनीतिमा व्यापक सुधार आवश्यक छ र त्यो निर्वाचन प्रणालीको पुनर्संरचनाका जगमा टेकेर मात्र सम्भव छ । तर पूर्ण समानुपातिक निर्वाचन प्रणाली आफैंमा पूर्ण भने हुँदैन त्यहाँ पनि सुधारहरू गर्दै लैजानुपर्छ । जस्तो, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, मन्त्री तथा सांसदहरूको अवधिको सीमा, सांसद मन्त्री हुन नपाउने, संघ–प्रदेश दुवैमा सांसद संख्यामा कटौती गर्ने, कार्यकालभन्दा पहिला सांसद फिर्ता बोलाउने अधिकार (राइट टु रिकल) वा कुनै पनि दललाई मतदान नगर्ने अधिकार अनि विदेशमा भएका लाखौं लाख नागरिकका लागि मतदान हक सुनिश्चित हुनुपर्छ ।

कुनै पनि प्रणाली त्रुटिरहित हुँदैन तर निष्पक्ष ढंगले लाभ–हानि हेर्ने हो भने पूर्ण समानुपातिक निर्वाचन प्रणालीले नेपालको लोकतन्त्रलाई अझ बलियो बनाउनुका साथै आर्थिक र सामाजिक रूपमा कमजोर तप्काको पनि सशक्तीकरणमा टेवा पुग्नेछ ।

प्रकाशित : असार ८, २०७९ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्

आयोडिनको थपघट र थाइरोइड

ढुण्डीराज पौडेल

अहिले नेपालीले आवश्यकताभन्दा बढी आयोडिन खाइरहेको तथ्य विभिन्न अनुसन्धानबाट उजागर भइरहेका छन् । आयोडिन, महत्त्वपूर्ण शारीरिक प्रक्रियाहरूको सुसञ्चालन र थाइरोइड हर्मोनको उत्पादनमा अनिवार्य एक प्रकारको लवण हो ।

केही दशकअघिसम्म आयोडिनको कमीका कारण संसारभर ठूलो जनसंख्या, गलगाँड एवं थाइरोइड हर्मोनको अभावमा सृजित जन्मजात एवं अन्य विकारबाट ग्रस्त थियो । नेपालको पहाडी भूभागका बासिन्दाको घाँटीमा ठुल्ठूला गलगाँडहरू देखिन्थे जसलाई ‘इन्डेमिक गोइटर’ भनिन्छ । आयोडिनको अभावमा थाइरोइड ग्रन्थीभित्र अस्वाभाविक उत्तेजना पैदा हुँदा गलगाँडका साथै कोषहरू अनियन्त्रित रूपमा विभाजित भई एक प्रकारको क्यान्सर (फोलिक्युलर) समेत हुने सम्भावना रहन्थ्यो ।

नुनको आयोडिनीकरणसँगै यसको कमीबाट हुने रोगहरू न्यून हुँदै गएका छन् । तर त्यही लवणको अत्यधिक सेवनबाट पनि थाइरोइड ग्रन्थीसम्बन्धी विभिन्न रोगबाट ग्रस्त भएका संकेत देखिएका छन् । दैनिक रूपमा बच्चालाई ९०, वयस्कलाई १५० र गर्भवतीलाई २५० माइक्रोग्राम भए पुग्ने आयोडिन सोभन्दा बढी हुन गए विभिन्न शारीरिक विकृति एवं जटिलता पैदा हुने सम्भावना रहन्छ । वयस्कले प्रतिदिन ११०० माइक्रोग्रामभन्दा बढी आयोडिन सेवन गरे हानिकारक हुने सम्भावना हुन्छ ।

आयोडिनीयुक्त नुनबाहेक शल्यक्रियामा प्रयोग गरिने रसायन, विभिन्न मल्हमदेखि सीटी स्क्यान एवं रोग अनुसन्धानका प्रविधि, कर्न्ट्यास्ट आदि परीक्षणमा प्रयोग हुने रसायनमा पनि प्रशस्त आयोडिन हुने गर्छ । अचम्म त के छ भने, शरीरमा आयोडिनको कमी हुँदा सृजित हुने थाइरोइडसम्बन्धी समस्या सो लवण अत्यधिक मात्रामा शरीरमा जम्मा हुँदा पनि पैदा हुन सक्छन् । जस्तो, सो लवण कमी हुँदा कतिपयमा हर्मोनको मात्रा कम हुने (हाइपोथाइरोइडिज्म) हुन्छ भने कतिपयमा त्यही हर्मोन नै बढी हुने (हाइपरथाइरोइडिज्म) समस्या पैदा हुन्छ । यसो हुनुका पछि व्यक्तिमा अन्तर्निहित अन्य थाइरोइड ग्रन्थी या विभिन्न हर्मोनसम्बन्धी खराबी, थाइरोइडको अटोइम्युनलगायत जिम्मेवार छन् ।

थाइरोइड ग्रन्थीका गिर्खा र क्यान्सर

खाने नुनको आयोडिनीकरणपश्चात् पनि विभिन्न कारणले समुदायमा थाइरोइड ग्रन्थीमा गिर्खाहरू पैदा हुने समस्यामा वृद्धि भइरहेको छ । अमेरिकालगायतका विकसित देश एवं भारतमा समेत घाँटीको अल्ट्रासाउन्ड (भिडियो एक्सरे) का माध्यमबाट गरिएको जाँचपड्तालमा करिब १५ देखि २५ प्रतिशत वयस्कमा थाइरोइड ग्रन्थी बढेको पाइएको छ । तीमध्ये ५–१५ प्रतिशतसम्ममा थाइरोइड क्यान्सर भएको अनुमान छ । क्यान्सरमध्ये पनि बहुसंख्यक (८० प्रतिशत) विस्तारै बढ्ने, कम आक्रामक, प्यापिलरी प्रकारको भएकाले सीमित प्रभावित व्यक्तिहरू मात्रै लक्षणयुक्त हुने सम्भावना रहन्छ, बहुसंख्यकमा कुनै लक्षण नै देखिन्न । आन्तरिक रूपमा कोषभित्र आणुवंशिक उत्परिवर्तन (जेनेटिक म्युटेसन) का कारण कम खतरापूर्ण क्यान्सर बढी आक्रामक बन्न पुगे मृत्युदर बढ्न सक्नेतर्फ सचेत हुन आवश्यक छ । त्यसैले त्यस्ता बिरामीलाई निगरानीमा राख्न आवश्यक हुन्छ, ताकी समयमै शल्यक्रिया गर्न सकियोस् ।

थाइरोइडका गिर्खाहरूको निदान

स्तनमा उत्पन्न गिर्खाजस्तै घाँटीको अग्र एवं अन्य भागमा गिर्खाहरू दुई हप्तासम्म भेटिए समयमै क्यान्सर भए नभएको यकिन गर्न आवश्यक छ । उल्ट्रासोनोग्राफी (भिडियो एक्सरे) र सँगै सियोद्वारा कोषहरूको समूह तानेर परीक्षण (एफएनएसी) गर्न सकिन्छ । यो प्रविधिबाट थाइरोइड क्यान्सरका विभिन्न प्रकारमध्ये ८० प्रतिशतसम्म प्यापिल्लरी समूहको कम खतराजनक र कम आक्रामक ( क्लास्सिकल) भेरिएन्ट्सको क्यान्सर भए नभएको ठम्याउन सकिन्छ ।

एफएनएसीबाट खतराजनक बढी आक्रामक प्रकारको र प्यापिल्लरीभन्दा फरक र कडा प्रकारको ‘फोल्लिक्युलर’ क्यान्सर हो होइन छुट्याउन सकिन्न । त्यसैले एफएनएसीमा आक्रामक क्यान्सर देखिएन भने पनि अल्ट्रासाउन्डले आक्रामक प्रकारको क्यान्सरको शंका देखाउँछ, घाँटीमा सम्बन्धित लिम्फ ग्रन्थीहरू बढेको देखिए कडाखाले आक्रामक क्यान्सरको शंका गर्नुपर्ने हुन्छ ।

थाइरोइड ग्रन्थीका क्यान्सरको उपचार

सबै थाइरोइड क्यान्सर आक्रामक हुँदैनन् । त्यसैले क्यान्सर भन्नेबित्तिकै त्रसित हुनुपर्ने आवश्यकता छैन । बहुसंख्यक थाइरोइड क्यान्सर कम आक्रामक र नबढ्ने प्रकारका हुन्छन् । सानो एक–डेढ सेमीसम्म आकारको, रेडियो विकिरणबाट प्रभावित नभएको, एफएनएसी परीक्षणबाट प्यापिलरी समूहको कम खतराजनक क्लास्सिकल उपसमूहको र भिडियो एक्सरेमा ट्युमर ग्रन्थी भित्रै सीमित छ भने यस्तो गिर्खा क्यान्सरै भए पनि तुरुन्तै शल्यक्रिया गर्न आवश्यक नहुन पनि सक्छ । बरु त्यस्ता बिरामीलाई निगरानीमा राख्नुपर्ने हुन्छ । यदि बढी खतरापूर्ण या आक्रामक प्रतीत हुन पुगे, सम्बन्धित लिम्फ ग्रन्थीमा फैलिए पूरै थाइरोइड र लिम्फ ग्रन्थी पनि निकाल्नुपर्ने हुन्छ ।

शल्यक्रियापश्चात् थाइरोइडको कोष छुट्टिएको क्यान्सरका निम्ति रेडियोआयोडिनबाट स्क्यानिङ गरी बाँकी रहेको तन्तुलाई उच्छेदन गर्न आवश्यक हुन्छ । साथै थाइरोइडबाट मात्रै निःसृत हुने विशेष प्रकारको प्रोटिन (थाइरोग्लोब्युलिन) को पनि मार्करको रूपमा परीक्षण गर्नुपर्ने हुन्छ ।

थाइरोइडको शल्यक्रिया गर्दा एकातिर क्यान्सरयुक्त कोषको तन्तु नरहोस् भन्नेतर्फ हेक्का राख्नुपर्ने हुन्छ भने अर्कोतिर थाइरोइड ग्रन्थी निकाल्दा मुटु मांसपेसी, नसालगायतका अंगको सुसञ्चालनका लागि आवश्यक खनिज क्याल्सियमको नियमन गर्ने पाराथ हर्मोन निष्कासन गर्ने पाराथाइरोइड ग्रन्थीहरूलाई बचाउन अपरिहार्य रहन्छ । त्यसैगरी विशेषगरी स्वरयन्त्र एवं सास नलीलाई संचालन गर्ने नसा पनि काटिन सक्छ । तर सावधानी अपनाए यस्ता जटिलताबाट बचाउन सकिन्छ ।

क्यान्सरका कारणको निवारण

अन्य जस्तो मुख, घाँटी, फोक्सो, सास नली, खाने नली आदि अंगका क्यान्सरको कारण अल्कोहल एवं धूमपानसहितका सुर्तीजन्य वस्तु रहेको प्रमाणित भएको छ । विशेषगरी एक्सरेलगायतका रेडियोधर्मी विकिरण, आणुवंशिकता, आयोडिन घटीबढी हुँदा थाइरोइड ग्रन्थीमा पर्न सक्ने असर, अटोअन्टिबडी पैदा भई थाइरोइडका कोषहरूमा पर्न सक्ने प्रतिक्रिया आदि थाइरोइड क्यान्सरको कारण मानिएका छन् ।

थाइरोइड क्यान्सरका मुख्य कारक नमानिए पनि फोक्सो एवं गलाको क्यान्सर धूमपान, मुख र जिब्रोको क्यान्सरहरू खैनी, गुटखा, सुपारीजस्ता वस्तुका कारण हुने गरेको तथ्य वैज्ञानिक अनुसन्धानबाट सिद्ध भइसकेको छ । निकोटिनमा ६ सय प्रकारका र त्यसलाई जलाएर धूमपानका रूपमा प्रयोग गर्दा ७ हजार प्रकारका रसायन भेटिन्छन्, तीमध्ये ६९ प्रकारका रसायनले क्यान्सर गराउँछन् । नाक, घाँटी स्वरयन्त्र हुँदै फोक्सोसम्म फैलिने चुरोटको धूवाँले कोषहरूलाई क्यान्सर युक्त बनाउन सक्छन् । अझै सँगै अल्कोहल खादा यस्तो सम्भावनालाई धेरै गुणा बढाउँछ ।

थाइरोइड क्यान्सरको स्तरीय शल्यक्रियापश्चात् आवश्यक पर्नेहरूलाई रेडियोआयोडिन, स्क्यानिङ एवं थाइरोग्लोबुलिनको परीक्षण आदि पनि सहज रूपमै परीक्षण गर्ने व्यवस्था हुनुपर्छ । थाइरोइड एवं अन्य नाक, कान, घाँटीसम्बन्धी दक्ष जनशक्तिको बढिरहे पनि त्यो अझै पर्याप्त छैन । त्यसैले यस्तो जनशक्तिको आवश्यकता पूर्ति गर्न तालिम एवं उच्च अध्यापनको खाँचो छ । क्यान्सर अस्पतालहरूको प्रवर्द्धनको आवश्यकता छ । मोफसलका अस्पतालहरूमा पनि क्यान्सर उपचारको प्रबन्ध मिलाउनु जरुरी छ ।

प्रकाशित : असार ८, २०७९ ०८:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×